Tag: प्रेम आले

  • तीन क्यासिनोलाई मन्त्री आलेको पाँचदिने अल्टिमेटम: जसरी पनि ९० करोड बक्यौता तिर्नू, नत्र कारबाही

    तीन क्यासिनोलाई मन्त्री आलेको पाँचदिने अल्टिमेटम: जसरी पनि ९० करोड बक्यौता तिर्नू, नत्र कारबाही

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका छन् ।

    पटक–पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि ती क्यासिनो सञ्चालकले रोयल्टी र नवीकरण बापतको बक्यौता नतिरेपछि आलेले मन्त्रीस्तरीय निर्णयबाट अल्टिमेटम दिएका हुन् ।

    आर्थिक वर्ष २०७६–७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको पर्यटन विभागले जनाएको छ ।

    विभागले सार्वजनिक सूचना जारी गरी रक इन्टरनेशनल प्रालि काठमाडौंको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौंको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (¥याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड बक्यौता रहेको जनाएको छ ।

    रोयल्टी र नवीकरणबापतको बक्यौता पाँच दिनभित्र नबुझाए कारबाहीको चेतावनी दिइएको छ ।

  • मन्त्री आलेको चेतावनीपछि क्यासिनोले तिरे ७६करोड रोयल्टी, एक अर्ब उठाउन ताकेता

    मन्त्री आलेको चेतावनीपछि क्यासिनोले तिरे ७६करोड रोयल्टी, एक अर्ब उठाउन ताकेता

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्ने चेतावनी दिएपछि १७ वटा कम्पनीले बक्यौता बुझाएका छन् ।

    पर्यटन विभागका अनुसार सोमबार सेन्ट्रल मिडिया प्रालिले पाँच करोडमध्ये चार करोड रुपैयाँ बक्यौता बुझाएसँगै मन्त्री प्रेम आलेको चेतावनीपछि ७६ करोड ४५ लाख रुपैयाँ राजस्व उठेको छ ।

    अब एक अर्ब ११ करोड ८४ लाख ४७ हजार उठ्न बाँकी रहेको विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिए । मन्त्री आलेको निर्देशनपछि विभागले क्यासिनो रोयल्टी नतिर्ने क्यासिनो सञ्चालको तीनपुस्ते विवरण सार्वजनिक गरेको थियो ।

    अब ६ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ । तीमध्ये एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको दुईवटा होटलमा गरेर १४ करोड छ । बैंक जमानत रहेकाले असूलउपर गर्न समस्या नरहेको जोशीले बताए ।

    त्यस्तै सेन्ट्रल मिडिया प्रालिले १८ करोड ९० लाख छ । ह्याप्पी आवर प्रालि, होटल याक एण्ड यति (क्यासिनो रोयल), रक इन्टरनेशनल, ओरियन्टल होटल्ससमेत गरी जम्मा एक अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ ।

    यसैबीच मन्त्री आलेले क्यासिनो सन्चालनको रोयल्टीबापत बुझाउने पर्ने ८१ करोडभन्दा बढी राजस्व नतिरी भारतमा लुकेर बसेका क्यासिनो किङ राकेश बाद्वालाई इन्टरपोल लगाएर भए पनि नेपालमा ल्याएर कानूनबमोजिम कारबाही गर्ने बताएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै आलेले अर्बौ रुपैयाँ राजस्व नतिर्नेहरुको विवरण कार्यालयमा पठाइएको र जायजेथाबाट असूलउपर हुने बताए ।

  • एक्सनमा मन्त्री आले- नारायणहिटी प्रकरणमा छानबिन समिति गठन, तीन दिनभित्र प्रतिवेदन दिन निर्देशन

    एक्सनमा मन्त्री आले- नारायणहिटी प्रकरणमा छानबिन समिति गठन, तीन दिनभित्र प्रतिवेदन दिन निर्देशन

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका प्रक्रियाको छानबिनका लागि समिति गठन गरेका छन् ।

    मन्त्रीस्तरीय निर्णयबाट उनले विहीवार पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुईटेलको संयोजकत्वमा छानविन समिति गठन गरेका हुन् ।

    समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य छन् ।

    तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिइएको मन्त्री आलेले नेपाल प्रेसलाई बताए । समितिको सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी छन् ।

  • सीईओ रेग्मीलाई मन्त्रीको चेतावनी- चारवटा गाडी बेचेर प्रेम आलेको इमान खरिद गर्ने नसोचे हुन्छ (भिडिओ)

    सीईओ रेग्मीलाई मन्त्रीको चेतावनी- चारवटा गाडी बेचेर प्रेम आलेको इमान खरिद गर्ने नसोचे हुन्छ (भिडिओ)

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नो मन्त्रालय अन्तर्गतका संस्थाहरूमा जताततै विकृति रहेको भन्दै सम्हाल्नै गाह्रो परेको गुनासो गरेका छन् ।

    नेपाल पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा मन्त्री आलेले हाल छानबिनमा रहेको सीईओ धनन्जय रेग्मीबाट संस्था चल्न नसक्ने बताए ।

    मन्त्री आलेले हालै लण्डनमा आयोजित विश्व पर्यटन मेलामा सीईओ रेग्मीका कारण नेपालकै बेइज्जत भएको भन्दै आफ्नो इमान किन्न खोजेको आरोप लगाए । विगतमा जस्तो काले-काले मिलेर खाउँ भाले भन्ने तरिकाले अब काम नहुने भन्दै अब प्रेम आलेको स्टाइलमा काम हुनुपर्ने बताए ।

    मन्त्री आलेले पर्यटन बोर्डका निलम्बित सीईओको हर्कतबारे यसो भने:

    लण्डनमा आयोजित विश्व पर्यटन मेलामा १६ देशका मन्त्री थिए । नेपालबाट मेरै नेतृत्वमा गयौं । तर, सीईओको धन्दा चाहिँ जाँड खाने र रमाइलो गर्नेमात्र रहेछ । अन्तिममा त्यो फोरममा मैले बोल्न पाइन । त्यो त मुलुकुक बेइज्जत भयो । म इरिटेड भएँ । यस्तो साँढेलाई सीईओ बनायो भने संस्था चल्छ ? केही कुरा तपाईंहरूका मागका विषयमा छलफलमा हुँदा पनि बोर्ड सदस्यले यस्तो नगरौं संस्था डुब्छ भन्दा आज तपाईं रिसाउनुभयो जाउँ हिँड्नु रक्सी खान भन्ने उनको चलन रहेछ । दुःखको साथ भन्न चाहान्छु लण्डनमा हुँदा ६ बजे कार्यक्रम भन्यो साढे ७ मा सुरू भयो । डेढ घण्टा म चिसोमा उभिएँ । सबैले स्याम्पेन खाइरहेका छन् । म नखाने मान्छे साइडमा बसे । हाम्रो साँढेले पनि भटाभट मगाइरहेको छ । आफ्नै आँखाले देखिरहेको छु । मलाई पनि खा भन्छ । पहिलाको मन्त्री जस्तो ठान्या होला प्रेम आलेलाई । लण्डनमा पुरानो व्यवसायी हुनुहुन्छ नेपाली साथी । उहाँले डिनरमा बोलाउनुभयो । त्यहाँ गइसकेपछि भटाभट ह्वीस्की तानेको छ । के कामको लागि आएको भन्ने मतलबै छैन । यस्तो मान्छेलाई सीईओ बनाइएर चल्छ ? चारवटा गाडी टोयोटाको बेचेर प्रेम आलेको इमान खरिद गर्ने कुरा नसोचे पनि हुन्छ ।

    डब्लुटीएममा जाँदा सबैभन्दा सानो स्टल हाम्रो थियो । त्यसमा पनि गैंडा भएपछि अट्न पनि गाह्रो । मैले सुन्दैछु लण्डन जाँदा बोर्डको ८० लाख खर्च भयो भनेर बिल पेस भएको छ रे । त्यहाँ खानसमेत मैले पकेटबाट व्यहोरेको छु । बस्न लागि सचिवज्यू र दूतावासमा बसेका छौं । होटल र खानामा एक रूपैयाँ खर्च भएका छैन । असी लाख बील आयो भन्नुभएको छ, असी लाख कसरी आयो ? मेरो टिकट मन्त्रालयले व्यहोरेको छ । छानविन होस् । छानबिन गर्नुस् र कानुनी दायरमा ल्याउनुस् । त्यो धन्दा अब चल्नेवाला छैन ।

    कार्यक्रममा मन्त्री आलेले आफू इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने प्रष्ट पार्दै विकृतिविरुद्ध साथ दिन आग्रह गरे । उनले पर्यटन विभागको पछिल्लो सेटिङवाला ठेक्का रद्द गराएको सुनाउँदै भने, ‘विगतदेखि नै यस्तै थियो हजुर भन्छन् । विगतमा काले-काले मिलेर भाले खाए होलान, तर अब आयो प्रेम आले ।’

    हालै त्रिभुवन विमानस्थलभित्र सरसफाइको टेण्डर निस्किएकोमा ३ करोड २३ लाखलाई नदिएइर ३ करोड ७२ लाखको ठेकेदारलाई दिन लागिएकोमा आफूले हस्तक्षेप गरेको मन्त्री आलेले सुनाए ।

    उनले भने, ‘स्पेसिफिकेशन मिलेन भनेर ४९ लाख कम कबोल गर्नेलाई दिएनन् । मैले भनेँ, ट्वाइलेट सफा गर्न के को स्पेशिफिकेशन ? ३ करोड ७२ लाखवालाले हातको साटो टाउकोले सफा गर्ने हो ? यस्तो अब चल्नेवाला छैन ।’

  • मन्त्री आलेले थालेको सुधारः रोकिएला विमानस्थलभित्र ट्याक्सीको ठगी ?

    मन्त्री आलेले थालेको सुधारः रोकिएला विमानस्थलभित्र ट्याक्सीको ठगी ?

    काठमाडौं । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको त्रिभुवन विमानस्थलभित्र अनेकन बेथितिका चाङ छन् । तीमध्ये यात्रुहरूले भोग्नुपरेको साझा समस्या हो, ट्याक्सीको ठगी ।

    विमानस्थलबाट ओर्लिएर बाहिरी सडकसम्मको दूरी मुस्किलले ५ सय मिटर छ । लगेजसहित आउनेहरूलाई १०-१५ मिनेट पैदल हिँडेर त्यहाँसम्म आइपुग्न कठिन हुन्छ । त्यसैले ट्याक्सी प्रयोग गर्नुपर्ने वाध्यता पर्छ । र, यस्ता यात्रुहरूबाट ट्याक्सीहरूले मनोमानी भाडा असुल्ने गरेका छन् ।

    यही जनगुनासोलाई सम्बोधन गर्दै आजबाट सरकारले विमानस्थलभित्रै यात्रुवाहक बस सेवा सञ्चालनमा ल्याएको छ । त्यो पनि नि:शुल्करूपमा । अब ट्याक्सीलाई महंगो भाडा नतिरिकन विमानस्थल टर्मिनलबाट सडकको गोल्डेन गेटसम्म आइपुग्न सकिन्छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले २० दिनभित्र विमानस्थलको आन्तरिक टर्मिनलबाट यात्रुवाहक बस सेवा सुरू गर्न निर्देशन दिएका थिए । त्यसबमोजिम आजदेखि नि:शुल्क यात्रु बोक्न ३ वटा हायसहरू सञ्चालन गरिएका छन् । सेवा शुभारम्भका क्रममा मन्त्री आले आफैं विमानस्थलमा पुगेर हायस चढेका थिए ।

    पहिले पनि ट्याक्सीले यात्रु ठगेको भन्दै विमानस्थलले प्रहरीलाई संचालनका लागि एउटा हायस दिएको थियो । मन्त्री आलेको निर्देशनपछि प्रहरीलाई दिएको सो हायससमेत फिर्ता ल्याएर सेवा सुरु भएको हो । सार्वजनिक खरिद ऐन अनुसार बस खरिद गर्न समय लाग्ने भएकाले आफैंसँग भएको हायस चलाइएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

    ‘प्रहरीलाई विमानस्थलभित्र आवतजावत गर्न सहज होस् भनेर दिएको हायस फिर्ता ल्याएर विमानस्थलको आन्तरिक टर्मिनलभित्रै सेवा दिएका हौं,’ उनले भने ।

    अब नि:शुल्क बस सेवा संचालनमा आएपछि यात्रुहरू ट्याक्सीबाट नठगिने ठाकुरको दाबी छ ।

    ‘सबै ट्याक्सी चढ्न सक्षम हुँदैनन् । धेरै यात्रुहरू आफूले ल्याएको भारी बोकेर नै बाहिरी सडकसम्म आउने गरेका थिए । अब यात्रुले नि:शुल्क हायस चढ्न पाउँनेछन्,’ उनले भने ।

    हायसको अगाडिको सिट सामान हाल्नका लागि झिकिएको छ । एउटा हायसमा १० जना यात्रु हटाउँछन् । अब अन्तर्राष्ट्रिय विमानबाट आएर झरेका यात्रुहरू आन्तरिक टर्मिनलमा आउन चाहे भने पनि त्यसैले ओसार्ने व्यवस्था मिलाउने तयारीमा विमानस्थल लगेको छ ।

    पछिल्लो समय विदेशबाट आउने यात्रुहरूलाई तातो र चिसो पिउँने पानीको पनि व्यवस्था गरिएको छ । मन्त्रीको निर्देशनमा नै विदेशबाट आउने यात्रुलाई पिउँने पानी र बस्ने व्यवस्था गरेको ठाकुरले बताए ।

  • विमानस्थलभित्रै नि:शुल्क यात्रुवाहक बस सेवा ( तस्बिरहरु)

    विमानस्थलभित्रै नि:शुल्क यात्रुवाहक बस सेवा ( तस्बिरहरु)

    काठमाडौं । विमानस्थलभित्र सञ्चालन हुने ट्याक्सीहरुले यात्रु ठगेको जनगुनासोपछि पर्यटन मनत्रालयले बिमानस्थलको आन्तरिक टर्मिनलभित्रै यत्रुवाहक बस सवा सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आज उक्त सेवाको शुभारम्भ गरे ।

    सेवा शुभारम्भ गर्दै मन्त्री आले स्वयम् यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका थिए । रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री प्रेम आले यात्रुले भरिएको माइक्रो बसमा बसेर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन् ।

    विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो ।

    विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
    निशुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ ।

  • पर्यटनमन्त्री आलेको प्रतिबद्धता -डडेलधुरामा एयरपोर्ट बन्छ, चाहिए जति बजेट छुट्टिन्छ

    पर्यटनमन्त्री आलेको प्रतिबद्धता -डडेलधुरामा एयरपोर्ट बन्छ, चाहिए जति बजेट छुट्टिन्छ

    डडेलधुरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले डडेलधुरामा एयरपोर्ट बन्ने बताएका छन् । सदरमुकाममा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एयरपोर्ट निर्माणका लागि आफूले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

    उनले डडेलधुराको अजयमेरू गाउँपालिका-१ पुइलेकमा विमानस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री आलेले मंगलबारदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक नलविक्रम थापाको प्राविधिक टोलीले सर्भे गरिरहेको जानकारी गराए ।

    उनले आफू काठमाडौं फर्किएलगत्तै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) का लागि २५ लाख बजेट विनियोजन गर्ने पनि बताए । ईआईएको काम सकिएलगत्तै विमानस्थल निर्माणका लागि जति बजेट चाहिए पनि मन्त्रालय त्यसको व्यवस्थापनमा लाग्ने आलेको भनाइ छ ।

    उनले भने भने, ‘प्रधानमन्त्रीज्यूले छिटोभन्दा छिटो काम अघि बढाउनुपर्‍यो भन्नुभएको छ । तपाईंहरू ढक्क हुनुहोस् डडेलधुरामा एयरपोर्ट बन्छ ।’

  • मन्त्री प्रेम आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल एयरलाइन्सको उडान सुरू

    मन्त्री प्रेम आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल एयरलाइन्सको उडान सुरू

    काठमाडौं । नेपाल वायुसेवा निगमले धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा उडान सुरू गरेको छ ।

    आजदेखि धनगढी विमानस्थलबाट डोटीको दिपायल र बझाङमा उडान सुरू गरेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले निगमलाई उडान नियमति गर्न निर्देशन दिएका थिए ।

    मन्त्री प्रेम आलेले बाढी पहिरोले सडक अवरुद्ध भएका पहाडी जिल्लाका जनताको माग र आवश्यकता अनुसार नेपाल एयरलाईन्सले तत्काल डोटी र बझाङमा हवाई सेवा शुरु गर्न लागेको बताए ।

    प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा बाढी पहिरो प्रभावित पहाडी जिल्लामा भ्रमणमा भ्रमणमा उच्चस्तरीय टोलीलाई डोटी र बझाङका जनताले हवाई सेवा तत्काल सञ्चालन गर्न आग्रह गरेका थिए । सरकारका तर्फबाट मन्त्री आलेले तत्काल पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्ने प्रतिबद्धता गरेका थिए । सोही प्रतिबद्धता आफूले पुरा गरेको मन्त्री आलेले बताए ।

    दुवै रुटमा नियमित उडान हुने उनले बताए । उनका अनुसार धनगढीदेखि डोटी २ हजार ६१५ र डोटीबाट धनगढी आउन २ हजार ५१५ भाडा दर कायम भएको छ ।

    त्यस्तै धनगढीदेखि बझाङको ३ हजार ९९५ र बझाङदेखि धनगढी आउँदा ३ हजार ८९५ भाडा दर कायम गरिएको भट्टले बताए ।

    बेमौसमी वर्षात्‌सँगैको बाढीपहिरोले पहाडी जिल्लाका राजमार्गहरू अवरुद्ध भएका बेला नेपाल एयरलाइन्सले सुरू गरेको उडानले सहज हुने भन्दै स्थानीय उत्साही भएका छन् ।

  • माधवपक्षीय बैठकमा प्रेम आलेको प्रश्न- मैदानमा कमाण्डरलाई छाडेर सिपाही भाग्न मिल्छ ?

    माधवपक्षीय बैठकमा प्रेम आलेको प्रश्न- मैदानमा कमाण्डरलाई छाडेर सिपाही भाग्न मिल्छ ?

    काठमाडौं । माधव नेपालपक्षीय एमाले केन्द्रीय कमिटी बैठकमा बिहीबार ५५ जना सदस्यले बोल्दा अन्तिम वक्ताका रूपमा प्रेम आले उभिए । आफू माधव नेपाल टिमको कान्छो सदस्य भन्दै आफूसँगै ओली टिम छाडेर आएकाहरूको राजनीतिक सुरक्षामा उनले जोड दिएका छन् ।

    शेरबहादुर देउवालाई विश्वासको मत दिने बेला ओलीको साथ छाडेर माधव नेपालतर्फ लागेका आलेसँगै ७ जना सांसदले साथ दिएपछि माधव पक्षमा २२ सांसद पुगेका थिए । आलेले विश्वासको मत दिने बेला संसदबाट बाहिरिएका १० सांसद र राजीनामा दिएका भीम रावलमाथि पनि प्रश्न उठाएको एक सदस्यले बताए ।

    आलेको भनाइ उदृत गर्दै ती सदस्यले भने, ‘माधव नेपाल हाम्रो कमाण्डर हो । युद्धको बेला कमाण्डरलाई मैदानमा एक्लै छाडेर सिपाही भाग्न मिल्छ ? फौजमा हो भने कोर्टमार्सल हुन्छ, म त्यो शब्द त प्रयोग गर्दिन तर सबै एकताबद्ध भएर माधव नेपालको पक्षमा उभिनुपर्छ ।’

    नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाट केन्द्रीय सदस्य जितेका आले २०७४ सालको चुनावताकादेखि केपी ओली पक्षमा उभिएका थिए । उनलाई ओलीले ६ महिना वनमन्त्री बनाएका थिए ।

    पछिल्लो समय ओलीसँग असन्तुष्ट रहेका उनी सातजना सांसदसहित माधव नेपाल पक्षमा लागेका थिए ।

  • आले इन्ट्रीको अन्तरकथा : आफ्नैले मैदान छाड्दा माधवलाई यसरी मिल्यो क्षतिपूर्ति

    आले इन्ट्रीको अन्तरकथा : आफ्नैले मैदान छाड्दा माधवलाई यसरी मिल्यो क्षतिपूर्ति

    काठमाडौं । असार २० गते साँझ एमाले उपाध्यक्ष भीम रावल प्रधानमन्त्री निवास बालुवाटार छिरेको खबर फैलिएसँगै पूर्वमन्त्री प्रेम आले आफूसँग नजिक सांसदहरूलाई माधव नेपाल कित्तामा लैजान छलफलमा जुटिसकेका थिए ।

    एमाले वरिष्ठ नेता नेपाल र केन्द्रीय सदस्य तथा सांसद आलेको घर कोटेश्वरमा नजिकै छ । ६ महिना नपुग्दै मन्त्रीबाट हटाइएपछि केपी ओलीसँग असन्तुष्ट रहेका आले पछिल्लो समय आफ्नो गृहजिल्ला डोटीका सशस्त्र प्रहरीका डीआईजी प्रविण श्रेष्ठको एक वर्ष म्याद नथपिएपछि अपमानित महसुस गरिरहेका थिए ।

    यसरी भयो आलेको कोटेश्वर इन्ट्री

    भीम रावलको बालुवाटार इन्ट्रीसँगै प्रेम आलेलाई ओली पक्षबाट एक्जिटको ढोका खुल्यो । प्रचण्ड-माधवनिकट कतिपय माध्यमबाटै भीम रावललाई ओलीले कार्यवाहक अध्यक्ष दिने भनेको देखि भारतीय गुप्तचरसँग मेरियट होटलमा वार्ता गरेपछि रावल फेरिएको हल्ला चलाइयो ।

    बालुवाटारमा ओलीसँग भेटेपछि रावल वार्ता कार्यदलको संयोजकको रूपमा एमाले मिलाउने वार्तामा जुटे । उता आलेको इन्ट्री माधव नेपाल निवासमा भयो । नवौं महाधिवेशन माधव प्यानलबाटै वैकल्पिक केन्द्रीय सदस्य जितेका आले २०७४ सालको चुनावमा रावलले टिकट नदिने भएपछि मात्र ओली पक्षमा लागेका थिए ।

    उनका लागि माधव नेपाल गुट नयाँ थिएन । भीम रावलबाट पनि धोखा हुन लागेको महसुस गरिरहेका बेला माधव नेपालले प्रेम आलेको प्रस्ताव सुने । जसले गर्दा उनलाई ढाडस मिल्यो ।

    आले पुनः माधव नेपाल क्याम्पमा पुगेका छन् । उनको सन्दर्भमा हिजो माधव पक्षले पनि राम्रो टिप्पणी गरेको थिएन, आज ओली पक्षले पनि गरिरहेको छैन । तर, संसदीय राजनीतिमा गणितले पनि काम गर्छ । आलेले माधव नेपाललाई गणितबाट सहयोग गरे । सायद उनी मन्त्री बन्नेछन् ।

    चरणबद्ध भेटघाटमा आलेले माधव नेपाललाई सोधे- ‘भीम रावलसँग कति सांसद छन् ? बडा रावल र छोटा रावल (भीम र झपट) मात्र होइन ? म तपाईंलाई ६ देखि १० जना सांसद ल्याइदिन्छु । हिजो पनि रावलहरूका कारण मैले तपाईंलाई छाडेको हुँ, आज तिनीहरूले धोखा दिँदैछन्, म तपाईंलाई साथ दिन्छु ।’

    आलेले विगतमा माधव नेपालनिकटका सांसदहरू बिना बुढाथोकी, यज्ञ बोगटी, गोपाल बम, पार्वती विसुंखे, गणेश पहाडीहरूलाई ओली पक्षमा लगेको भन्दै अब फेरि त्यति नै संख्या नेपाल पक्षमा ल्याइदिने बताए ।

    यसबीचमा कार्यदलमा रहेका नेताहरूबाट माधव नेपालले अपेक्षित सहयोग पाइरहेका थिएनन् । भीम रावलले मुखै फोरेर शेरबहादुर देउवालाई विश्वासको मत दिन नहुने बताइसकेका थिए । १० बुँदे सहमति माधव नेपाललाई चित्त बुझेको थिएन तर कार्यदलमा रहेका नेताहरूले त्यसलाई मान्न दबाब दिए ।

    यसरी एकपछि अर्को भरोसा आफ्ना दोस्रो तहका नेताहरूबाट टुट्दै गएका बेला नेपाललाई प्रेम आलेले ‘तपाईंलाई जति जनाले धोखा दिन्छन्, त्यसको क्षतिपूर्ति म दिलाउँछु’ भन्दै सांसदहरू लगेर भेटाउन थाले । आलेले अझै १० जना सांसद ओली पक्षबाट माधव पक्षमा ल्याइदिने वचन समेत दिएको नेपालनिकट एक एमाले नेताले बताए ।

    कसलाई आफ्नो भनूँ ?

    विश्वासको मत साउन ३ को पहिलो बैठकमै लिने कुनै तयारी थिएन । तर, साउन २ गते गठबन्धनका शीर्ष नेताहरूबीच गोप्य बैठक भयो । भीम रावल, सुरेन्द्र पाण्डेलगायतका वार्ता टोलीका नेताहरूले संस्थागत निर्णयबाट मात्र विश्वासको मतबारे टुंगो लगाउनुपर्ने बताउनु र केपी ओलीको बहुमत रहेको कमिटीबाट त्यो निर्णय नहुने बुझेका नेपालले भीम रावलभन्दा प्रेम आलेको भरोसा गर्नुपर्ने अवस्था आइपुग्यो ।

    वार्ता टोलीमा रहेकासहित १० जना जति आफूनिकट सांसदले धोखा दिन सक्ने हिसाब नेपालले गठबन्धनका नेताहरूलाई सुनाए । तर, त्यसको क्षतिपूर्ति अर्कोतिरबाट हुने जानकारी पनि उनले गराइसकेका थिए । त्यसो त माधव पक्षका अदालतमा गएका २३ मध्ये १२/१३ जनाले मत दिए पनि पुग्ने अवस्था थियो ।

    तर, त्यसबीचमा वामदेव गौतमले पनि माधव नेपाललाई अप्रत्यक्ष साथ दिए । किसान श्रेष्ठले अप्रत्याशित रूपमा माधव नेपाललाई साथ दिए । प्रेम आलेले वचन पूरा गरेर सांसदको संख्या जुटाइदिएपछि माधव नेपाल ढुक्क भए र साउन ३ मै विश्वासको मत लिने निर्णयमा प्रधानमन्त्री पुगे ।

    कार्यदलमा रहेका दोस्रो तहका नेताहरूबाट आफूले साथ नपाउने बुझिसकेका नेपालले प्रेम आलेहरूबाट साथ खोजिसकेका थिए । उनी गठबन्धनमा आफ्नो शक्ति देखाउन चाहान्थे । २३ जना अदालत गएका थिए । अदालत गएका ७ जना विश्वासको मत दिने बेला नेपालसँग उभिन नसके पनि उनले ८ जना थपेर आफ्नो शक्ति देखाए ।

    बिहान एकाएक विश्वासको मत आजै लिने चर्चा चलेपछि एमाले वार्ता टोलीको दुवै पक्षका नेता माधव नेपाल निवास कोटेश्वर पुगे । उनीहरूले नेपाललाई १० बुँदे कार्यन्वयन गर्न र विश्वासको मत नदिन आग्रह गरे । तर, नेपालले आफू एक्लै भने पनि देउवालाई विश्वासको मत दिने अडान लिए ।

    भीम रावल र माधव नेपालबीच भनाभन जस्तै पर्‍यो । भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताहरूले पनि एकाएक आजै विश्वासको मत लिनुको पछाडि एमाले फुटाउने षड्यन्त्र रहेको भन्दै नेपाललाई त्यसमा नफस्न आग्रह गरे । तर, माधव नेपाल निकै अघि बढिसकेका थिए ।

    उनले आफ्नो बहुमत नरहेको र केपी ओलीले जम्मा पारेको कमिटीको निर्णय आफूले नमान्ने भन्दै १० बुँदे सहमतिमा समर्थन नरहेको बताए । त्यसो त १० बुँदे सहमतिप्रति नेपालको असन्तुष्टि रहेको र आफू ओली बराबर हस्ताक्षरसहितको दोस्रो अध्यक्ष हुनुपर्ने सर्त राखेको कुरा यसअघि नै बाहिर आइसकेको थियो ।

    कार्यदलमा रहेका दोस्रो तहका नेताहरूबाट आफूले साथ नपाउने बुझिसकेका नेपालले प्रेम आलेहरूबाट साथ खोजिसकेका थिए । उनी गठबन्धनमा आफ्नो शक्ति देखाउन चाहान्थे । २३ जना अदालत गएका थिए । अदालत गएका ७ जना विश्वासको मत दिने बेला नेपालसँग उभिन नसके पनि उनले ८ जना थपेर आफ्नो शक्ति देखाए ।

    वास्तवमा माधव नेपाललाई उनले भरोसा गरेका दोस्रो तहका नेताहरूले अन्तिम क्षणमा साथ नदिएकोमा साह्रै चित्त दुःखेको छ । उनले आफूलाई भेट्न जाने नेता कार्यकर्तासँग नामै लिएर दाहिने र देब्रे हात भनिएकाहरूले धोखा दिएको बताउने गरेका छन् । तर, त्यो धोखाको घडीमा प्रेम आलेले नेपाललाई काँध थापेको उनी आलेप्रति कृतज्ञ बनेका छन् ।

    माधव नेपालसँगै अदालतमा गएका २३ मध्ये ७जनाले विश्वासको मत नदिए पनि प्रेम आलेसहित ८ जना थपिएको भन्दै नेपालका एक निकट सहयोगीले आफ्नाबाट भएको क्षर्ति आलेबाट पूर्ति भएको टिप्पणी गरे ।

    आलेसँग गएका सांसदहरूलाई पालैपालो मन्त्री बनाउने सम्भावना रहेको छ । पहिलो चरणमा माधव नेपालले ओली समूहबाट गएकामध्ये प्रेम आले र किसान श्रेष्ठलाई मन्त्री बनाउने बताइएको छ । आलेले पर्यटन मन्त्रालय पाउने सम्भावना छ ।

    यद्यपि आलेले भने नेपाल प्रेससँग कुरा गर्दा आफूले मन्त्रीका लागि माधव नेपाललाई साथ दिएको नभइ रावलहरूले धोखा दिएकाले विगतमा पनि माधव नेपालकै टिमको एउटा सदस्यका रूपमा साथ दिएको बताए । उनले अदालतसम्म माधव नेपालसँग गएर विश्वासको मत दिने बेला भाग्नेहरू दोगला चरित्रका व्यक्ति भएको भन्दै निर्णायक बेलामा आफू उभिएको बताए ।

    आलेले भने, ‘म त दुईपटक वनमन्त्री भइसकेँ, अब मन्त्री पाउँछु भनेर लागेको होइन । यस्तो हल्ला ती व्यक्तिले गर्दैछन् जो हिजो सधैँभरी पार्टी र सरकारको विरुद्ध लागे । मुद्दासमेत लिएर अदालत गए अहिले जितेपछि अदालतको अवहेलना गरेर मैदान छाडेर भागेका छन् । हिम्मत भए कि पक्षमा कि पार्टीको निर्णय अनुसार विपक्षमा मतदान गर्न सक्नुपर्थ्यो ।’

    आलेले नेम्वाङलाइ भनेका थिए- अर्को मान्छे खोज्नु

    २०७४ को चुनावअघि ओलीसँग नजिकिएका आलेले त्यसपछि माधव नेपाल गुट छाडेका थिए । रावलहरूका कारण आफूले ओली गुट रोजेको उनले बताउने गरेका थिए । सुदूरपश्चिममा ओलीलाई बलियो बनाउन आलेले आफ्नो ठाउँबाट सक्नेजति सबै गरेका पनि हुन् ।

    राजनीतिक रूपमा रावल नेता भए पनि मान्छे तान्ने र व्यवस्थापन गर्नेमा आले अगाडि छन् । उनले कतिपय सांसदहरूलाई पनि आर्थिक सहयोग गर्ने गरेका छन् । बालुवाटारमा राति २ बजेसम्म पनि सांसद र केन्द्रीय सदस्यहरूलाई लगेर आलेले बैठक गराउँथे ।

    आलेलाई ओलीले पछिल्लोपटक मन्त्री बनाए । तर, जसपालाई भित्र्याउने बेला उनी बाहिरिए । लीला श्रेष्ठ, वसन्त नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ निरन्तर रहँदा आफू ५ महिनामै फालिएको भन्दै उनले गुनासो गरेका थिए । निकटस्थहरूसँग ‘म २२ क्यारेट परेँ, ओली गुटको २४ क्यारेट नहुँदा फालिएँ’ भन्ने गर्थे ।

    नेकपा विभाजनकै बेला एक दिन बालुवाटारमा अनौपचारिक बैठक थियो । त्यहाँ मन्त्री नपाए सांसद भड्किने चर्चा चल्यो । तत्कालीन वनमन्त्री आलेले भने- ‘प्रधानमन्त्रीज्यू, म दुई दिनलाई भने पनि मन्त्री भइहालेँ । यदि मैले छाडेर तपाईं बलियो बन्नुहुन्छ भने म हट्न तयार छु ।’

    मन्त्रीबाट हटेलगत्तै उनले सुवास नेम्वाङलाई फोन गरेर भनेका थिए- ‘चुनाव हुने भयो भने म अब उम्मेदवार बन्दिन्, डोटीबाट कसलाई चुनाव लडाउने हो आफ्नो उम्मेदवार खोज्नुहोला । पुनःस्थापना भयो भने तपाईंहरूका सांसद आफैं जम्मा गर्नुहोला । हेड काउन्ट गर्ने बेला म तपाईंहरूसँग हुन्न ।’

    मन्त्रीबाट हटेकोमा असन्तुष्ट भए पनि आलेले गुट परिवर्तन गर्ने सोचेका थिएनन् नेताहरूले । हट्नु पर्दाको असन्तुष्टि त सबैमा छ भनेर सामान्यीकरण गरियो । तर, आले भित्रभित्रै सांसदहरूसँग छलफलमा जुटिसकेका थिए । प्रतिनिधिसभा पुनःस्थापनापछि उनले कम्तीमा ६ जना सांसदको समर्थन माधव नेपाललाई जुटाएपछि शुरूमा नपत्याएका माधव पछि ढुक्क भए ।

    यसबीचमा आले रिसाउने अर्को प्रकरण सशस्त्र प्रहरीका एक डीआईजी भए । सशस्त्रका डीआईजी प्रवीण श्रेष्ठ आलेका गृहजिल्लाबासी हुन् । उनले आलेबाट ठूलो भरोसा गरेका थिए । उनको एक वर्ष म्याद थपिँदा आईजीपी हुनेवाला थिए ।

    उनले यो कुरा प्रधानमन्त्रीलाई भने । प्रधानमन्त्रीका स्वकीयसचिव राजेश बज्राचार्ययसँग ह्वाट्एपमा भिडियो च्याट नै गर्दै आफूले सिफारिस गरेको व्यक्ति अन्यथा होइन भन्दै डोटीको बासिन्दा रहेका प्रमाण नागरिकता समेत देखाए ।

    गृहमन्त्री खगराज अधिकारी थिए । तर, प्रवीण श्रेष्ठको म्याद थप मन्त्रिपरिषद्‍मा पुगेर पनि भएन । त्यसपछि उनी झनै रुष्ट भए । प्रवीण श्रेष्ठ अहिले सर्वोच्च अदालत गएका छन् भने आले सत्तारुढ गठबन्धनमा पुगेका छन् यही प्रकरणपछि ।

    त्यसपछि आलेले माधव नेपाललाई भेटेर भनेका थिए- ‘जति सांसद ओली पक्षमा लगेको थिएँ, त्यति नै सांसद लिएर आउँछु । शुरूमा माधव नेपालले पत्याएका थिएनन् तर आलेले प्रमाणित गरिदिए ।’

    प्रेम आले रुष्ट भएको थाहा पाएका विष्णु पौडेलले उनलाई सम्झाउन खोजेका थिए । तर, आले निकै पर पुगिसकेका थिए । एक दिन पौडेलले फोन गरेर सोधे- आलेजी कहाँ हुनुहुन्छ ? आलेले जवाफ दिए- म त सडकमा छु । पौडेलले फेरि भने- हामी पनि त सडकमै छौं नि आउनुस् कुरा गरौं । तर आले बिरामी छु भन्दै गएनन् ।

    आलेलाई ओलीले पछिल्लोपटक मन्त्री बनाए । तर, जसपालाई भित्र्याउने बेला उनी बाहिरिए । लीला श्रेष्ठ, वसन्त नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ निरन्तर रहँदा आफू ५ महिनामै फालिएको भन्दै उनले गुनासो गरेका थिए । निकटस्थहरूसँग ‘म २२ क्यारेट परेँ, ओली गुटको २४ क्यारेट नहुँदा फालिएँ’ भन्ने गर्थे ।

    आले जसरी पहिले भीम रावलसँग नमिलेर ओली गुटमा लागेका थिए । पछिल्लो समय लेखराज भट्ट, कर्ण थापा र निरु पालहरूसँग मिलेनन् । आफूलाई हटाएर नारदमुनी रानालाई आफ्नै मन्त्रालय दिएपछि आलेले ओलीलाई छाड्ने निर्णय गरिसकेका थिए, तर रावलहरूका कारण मात्र रोकिएका उनले बताउने गरेका थिए ।

    त्यसो त आलेसहितले देउवालाई विश्वासको मत दिने थाहा पाएपछि झपट रावल ‘प्रतिगामीहरू हिजो केपी ओलीको विघटनमा साथ दिए र आज केपी कमजोर भएपछि फेरि विश्वासको मत दिने भन्दैछन्’ भन्दै राजनीतिको यस्तो अनैतिक खेलमा नलाग्ने भन्दै मतदानमा भाग नलिइ बाहिरिएिका थिए ।

    परिस्थिति अन्तिममा यस्तो भयो, संसद जोगाउन भन्दै गठबन्धन बनाउने र अदालतमा जाने भीम रावलले राजीनामा दिए । संसदको स्थायित्वका लागि मुद्दा लड्ने झपट रावल अन्तिममा आफूले मुद्दा लडेर ब्युँताएको संसद र समर्थन गरेको प्रधानमन्त्रीको पक्षमा मत नदिइ संसदबाट बाहिरिए । तर, संसद विघटनको सिफारिस गर्ने मन्त्रिपरिषदका सदस्य आले रावलहरूको ठाउँमा पुगे ।

    मन्त्री हुँदाका असन्तुष्टी

    नेकपा विभाजनकै बेला एक दिन बालुवाटारमा अनौपचारिक बैठक थियो । त्यहाँ मन्त्री नपाए सांसद भड्किने चर्चा चल्यो । तत्कालीन वनमन्त्री आलेले भने- ‘प्रधानमन्त्रीज्यू, म दुई दिनलाई भने पनि मन्त्री भइहालेँ । यदि मैले छाडेर तपाईं बलियो बन्नुहुन्छ भने म हट्न तयार छु ।’

    त्यसबेला अरु कसैले आफू छाड्न तयार छु भएनन् तर आलेले भन्दा तत्कालीन प्रधानमन्त्री ओली शन्तुष्ट भएका थिए । आले मन्त्री भएपछि लगातार अभिव्यक्तिका कारण विवादमा परे । पछिल्लोपटक अक्सिजन सिलिण्डरमा फोटो राखेर निर्वाचन क्षेत्रमा पठाएको प्रकरण निकै विवादित बन्यो ।

    आलेले आफ्नो जिल्लामा अक्सिजन पठाउन तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीसँग धेरै आग्रह गरेका थिए । तर, सहयोग नपाएपछि उनी आफैंले किनेर अक्सिजन सिलिण्डर पठाए । कार्यकर्ताले त्यसमा फोटो टाँसे । आलेले व्यक्तिगत रूपमा किनेर पठाएको सिलिण्डरमा कार्यकर्ताले फोटो टाँस्नु स्वभाविक थियो ।

    त्यही प्रकरण एक दिन मन्त्रिपरिषद् बैठकमा उठ्यो । स्वास्थ्यमन्त्रीले सहयोग नगरेपछि आफूले व्यक्तिगतरूपमा किनेर पठाएको आलेले बताए । प्रधानमन्त्री ओलीले ‘अक्सिजन सिलिण्डर मन्त्रीले बोक्ने होइन’ भनेपछि आलेले ‘त्यसो भए म मेरा जनतालाई मर्न दिउँ ? ’ भनेर जवाफ फर्काएका थिए ।

    मन्त्रीबाट हटेलगत्तै उनले सुवास नेम्वाङलाई फोन गरेर भनेका थिए- ‘चुनाव हुने भयो भने म अब उम्मेदवार बन्दिन्, डोटीबाट कसलाई चुनाव लडाउने हो आफ्नो उम्मेदवार खोज्नुहोला । पुनःस्थापना भयो भने तपाईंहरूका सांसद आफैं जम्मा गर्नुहोला । हेड काउन्ट गर्ने बेला म तपाईंहरूसँग हुन्न ।’

    त्यसो त आले प्रकृति संरक्षण कोषको अध्यक्षमा योजना आयोगका सदस्य प्रधानमन्त्रीका काका पर्ने कृष्णप्रसाद ओलीलाई अध्यक्ष बनाएकोमा पनि असन्तुष्ट थिए । यसअघि वन तथा वातावरण मन्त्री कोषको अध्यक्ष हुने प्रावधान रहे पनि आफ्नो पालामा ओलीलाई नियुक्त गरेकोमा उनको भित्रभित्रै चित्त दुःखेको निकटस्थहरूलाई सुनाएका थिए ।

    बजेटमा आफूलाई र वन मन्त्रालयलाई नसोधी ढुंगा गिट्टी निकासी गर्ने कुरा राखेकोमा पनि उनी असन्तुष्ट थिए । त्यसको पक्षमा बोल्न भने पनि उनले बोल्न मानेन् । पछिल्लोपटक नेपाल वन निगम लिमिटेडको कार्यकारी अधिकृतमा खुला प्रतिस्पर्धाबाट ७४ नम्बर ल्याएका पंकज दासलाई नियुक्त नगरी ४९ नम्बर ल्याएका रामेश्वर भट्टराईलाई नियुक्त गरिएकोमा पनि उनी असहमत थिए ।

    मन्त्री हुँदाको सन्दर्भमा उनले औपचारिक टिप्पणी गर्न चाहेनन् । तर यति चाहिँ भने–जुन क्याबिनेटमा प्रधानमन्त्रीबाट पूर्ण रुपमा साथ,सहयोग र स्वतन्त्रता प्राप्त हुन्न त्यस्तोमा मन्त्री नहुनू राम्रो । म अब मन्त्री बन्नेहरुलाई पनि त्यहि सुझाव दिन्छु ।

    आले पुनः माधव नेपाल क्याम्पमा पुगेका छन् । उनको सन्दर्भमा हिजो माधव पक्षले पनि राम्रो टिप्पणी गरेको थिएन, आज ओली पक्षले पनि गरिरहेको छैन । तर, संसदीय राजनीतिमा गणितले पनि काम गर्छ । आलेले माधव नेपाललाई गणितबाट सहयोग गरे । सायद उनी मन्त्री बन्नेछन् ।

    हुन त भीम रावलहरूले माधव नेपालको साथ छाडेका छैनन् र छाड्ने अवस्था पनि देखिन्न । पार्टी एकताको लागि उनीहरू एक कदम पछि हटेका छन् । तर, आलेले भने यही मौकामा आफ्नो स्थान माधव नेपाल क्याम्पमा सुरक्षित गरेका छन् ।

  • प्रेम आलेको प्रष्टोक्ति- मन्त्रीको लागि धाएको छैन, ढाडको नसा च्यापिएर आराम गरिरहेको छु

    प्रेम आलेको प्रष्टोक्ति- मन्त्रीको लागि धाएको छैन, ढाडको नसा च्यापिएर आराम गरिरहेको छु

    काठमाडौं । पूर्व वनमन्त्री एवं सांसद प्रेमबहादुर आलेले मन्त्रीका लागि बूढानीलकण्ठ धाएको तथा माधव नेपाल गुटमा लाग्ने तयारीको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

    ढाडको नसा च्यापिएर घरमा आराम गरिरहेको भन्दै उनले विज्ञप्तिमार्फत आफू नेकपा (एमाले) को एकताले मात्र नेपालको राष्ट्रियता, लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनको रक्षा गर्न सकिन्छ भन्नेमा दृढ रहेको बताएका छन् ।

    ‘केही हप्तादेखि मेरो ढाडको नसा च्यापिएर ब्ल्यू लोटस अस्पताल त्रिपुरेश्वर, काठमाडौमा फिजियोथेरापी गरी आफ्नो घरमा आराम गरिरहेको अवस्थामा मेरो नाम जोडेर केही सन्चारमाध्यमले मन्त्री हुनका लागि बूढानीलकण्ठदेखि माधव नेपाल गुटमा लाग्ने तयारी गरेको समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, आलेले लेखेका छन्, ‘ म मन्त्री पद प्राप्त गर्न कुनै शक्ति केन्द्र वा नेताको घरमा गएको छैन तर नेकपा (एमाले) को एकताले मात्र नेपालको राष्ट्रियता, लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनको रक्षा गर्न सकिन्छ भन्ने मेरो दृढ़ मान्यता छ ।’

    आफ्नो प्रतिक्रियाबेगर भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको भन्दै उनले गुनासोसमेत गरेका छन् ।

  • पत्रकारले अपमान र चरित्रहत्या गरेको निवर्तमान मन्त्री प्रेम आलेको आरोप

    पत्रकारले अपमान र चरित्रहत्या गरेको निवर्तमान मन्त्री प्रेम आलेको आरोप

    काठमाडौं । निवर्तमान वन तथा वातावरण मन्त्री प्रेम आलेले आफूमाथि पत्रकार अब्दुल्लाह मियाले लगाएको आरोप झूठो रहेको भन्दै पत्रकारले आफू र आफ्नो सचिवालयसँग अनुचित लाभ लिन नपाएपछि चरित्रहत्या गरेको आरोप लगाएका छन् । निवर्तमान मन्त्री आलेले पत्रकार मियालाई टेलिफोनमा धम्की दिएको भन्दै पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखा लगायतले आपत्ति जनाएका छन् ।

    आलेले भने आफूले धम्की नदिएको तर पत्रकारबाट आफू पीडित भएको दावी गरेका छन् । आफू पत्रकारको हकहित, व्यावसायिकता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको भन्दै भविष्यमा पनि त्यसमा प्रतिबद्ध रहने आलेले प्रेस विज्ञप्तिमा भनेका छन् । उनले व्यक्तिगत अपमान र चरित्र हत्या गर्ने उद्देश्ये भ्रामक समाचार प्रकाशित नगर्न र प्रश्रय नदिन सम्बद्ध सन्चारगृहलाई आग्रह गरेका छन् ।

  • भीम रावलको गृह जिल्लामा अक्सिजन खरिद गर्न प्रेम आलेको आर्थिक सहयोग

    भीम रावलको गृह जिल्लामा अक्सिजन खरिद गर्न प्रेम आलेको आर्थिक सहयोग

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछाममा अक्सिजन खरिद गर्नका लागि व्यक्तिगततर्फबाट १ लाख रुपैयाँ सहयोग गरेका छन् । अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि उनले अस्पताललाई आफ्नोतर्फबाट एक लाख रुपैयाँ उपलब्ध गराएको मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

    अछाममा अक्सिजन अभाव भएका कारण त्यहाँका नागरिकले अक्सिजन किन्नका लागि अभियानसमेत सञ्चालन गरेका थिए । अक्सिजन नभएकै कारण जिल्लामा कैयौँ कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाएका थिए । अक्सिजन खरीद गर्न रकम प्रदान गरेपछि यहाँका कोरोना सङ्क्रमितको उपचारमा निकै राहत पुग्ने जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डा.अतुल भारद्वाजले बताए ।

    उनले भने – ‘अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा निकै समस्या भएको थियो, मन्त्रीज्यूले अक्सिजन किन्न व्यक्तिगतरुपमा रकम उपलब्ध गराएपछि अब सहज हुने छ ।’ अछाम एमालेका निष्कासिन नेता भीम रावलको निर्वाचन क्षेत्र हो । रावल र आलेबीच राजनीतिक रुपमा आरोप प्रत्यारोप चल्ने गरेको छ ।