कुनै–कुनै विषय यस्ता हुन्छन्, जसमा दिगमिग लागी–लागी पनि कलम चलाउनैपर्ने वाध्यता आइपर्छ । एक महिलाको गर्भावस्थाजस्तो नितान्त निजी विषयमा सार्वजनिक टिप्पणी लेख्दै गर्दा यस्तै सकस भइरहेको छ । नायिका प्रियंका कार्कीको भुँडी प्रदर्शनलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘नयाँ जनवादी क्रान्ति’ सरह मानेर महिमामण्डन नगरिदिएको भए सायद यो ब्लग लेखिने थिएन ।
कुनै समय यस पङ्तिकारको फेभरेट लिस्टमा थिइन् प्रियंका । अभिनयमा अब्बल, नाच्न पारंगत, रुप–जिउडाल चट्ट मिलेकी, सबै हिसाबले एक परिपूर्ण नायिका । चलचित्रबाहिर पनि उत्तिकै सशक्त प्रस्तुति दिनसक्ने उनको क्षमताले थप प्रभावित थिएँ । आफ्नै बलबुतामा उनले नेपाली चलचित्रमा उच्च स्थान बनाइन् । लामो समय नम्बर एक नायिकाको ताज भिरिन् ।
तर, प्रियंकाप्रति मेरो मनमस्तिष्कमा रहेको पुरानो छवि अहिले नराम्ररी केरमेट भइसकेको छ । जसै उनी आयूष्मान देशराज जोशीसँग प्रेममा परिन्, पचाउनै नसकिने उत्ताउला हर्कतहरु देखाउन थालिन् । प्रियंका र आयूष्मानको जोडीले प्रेम प्रदर्शन गर्ने नाममा सार्वजनिक स्थानहरुमै उछृङ्खलता र अश्लिलताको भरपुर प्रसार गर्यो । सामाजिक सञ्जालमा झन् बढी प्रदूषण फैलाए उनीहरुले । त्यहीँबाट प्रियंकाको करिअरमा पनि डाउनफल सुरु भयो ।
जसै प्रियंका गर्भवती भइन्, त्यसपछि सुरु भयो उत्ताउलोपन र उछृङ्खलताको अर्को चक्रवात् । आफ्ना डाइ हार्ड फ्यानहरुलाई समेत दिक्क पार्ने गरी उनले आफ्नो ‘बेबी बम्प’ को भद्दा प्रदर्शनी सुरु गरिन् ।
खैर, अब उनीहरु अब वैधानिकरुपमै श्रीमान–श्रीमती भइसकेका छन् । पहिलो विवाह छोटो समयमा असफल भएको चोट प्रियंकाले सायद भुलिन् होला । उनको निजी जीवनले नयाँ लय समात्यो । तर, लयभंग भएको करिअर भने लिकमा फर्किन सकेन । केही वर्षदेखि उनलाई ठूलीआमा, फुपू टाइपका रोलहरुमा बढी अफर आउन थालेका छन् ।
प्रियंका–आयूष्मान विवाहपछि सामाजिक सञ्जालमा अलिकति अमनचयन कायम भएको थियो ! केही समय उनीहरु आफ्नै दुनियाँमा रमाए । विवाहलगत्तै देशव्यापी लकडाउन भएकाले घरमै हनिमुन मनाए उनीहरुले । नतिजास्वरुप प्रियंका दुई जिउकी भइन् । देशराज परिवारमा नयाँ सदस्य थपिने तय भयो ।
जसै प्रियंका गर्भवती भइन्, त्यसपछि सुरु भयो उत्ताउलोपन र उछृङ्खलताको अर्को चक्रवात् । आफ्ना डाइ हार्ड फ्यानहरुलाई समेत दिक्क पार्ने गरी उनले आफ्नो ‘बेबी बम्प’ को भद्दा प्रदर्शनी सुरु गरिन् । आफ्नो भुँडीलाई उनले सामाजिक सञ्जालमा यत्रतत्र छताछुल्लै पारिन् ।
प्रियंकाले पहिलोपटक सुखद खबर बाँड्ने क्रममा ‘वी आर प्रिग्नेन्ट’ (हामी गर्भवती भयौं) लेखेर केही अनौठो गर्ने छनक दिइसकेकी थिइन् । केही दिनपछि उनले नाइटोबाट जुस पिएको भद्दा तस्वीर पोष्ट गर्दै आफ्नो गर्भावस्थामाथि आफैंले मजाक सुरु गरिन् । यही बीचमा प्रियंकाको अत्याउने खालको अन्तरवार्ता आयो, जसमा उनले आफू कसरी गर्भवती भएँ भनेर सप्रसंग व्याख्या गरेकी छन् । सम्भवत यस्तो अभिव्यक्ति तपाईंले दुनियाँका बोल्डभन्दा बोल्ड अभिनेत्रीहरुको मुखबाट पनि सुन्न पाउनुभएको थिएन ।
प्रियंकाले यस्तो भनेकी थिइन्ः
‘आयूष्मानले के भने भने, ल ठीक छ । अब डिसेम्बरमा बेबी पाउने हो भने अप्रिल–मेतिर ट्राइ गर्नुपर्यो नि त । तर, अप्रिल–मेमै फर्स्ट ट्राइ नगरौं । अगाडि पनि ट्राइ गर्दै जाउँ न । अप्रिल मेमा ट्राइ गर्नेवित्तिकै प्रेग्नेन्ट हुन्छ भन्ने त छैन । सो लेट्स ट्राइ कपल अफ टाइम्स भनेर, हाम्रो चैं फर्स्ट ट्राइ थियो क्या यो, जुन हामीले ट्राइ गर्यौं । ल अब चाहिँ ट्राइ गर्न स्टार्ट गर्ने, विस्तारै ट्राइ गर्दै जाने, डिसेम्बरमा बेबी पाउने गरी । त्यो केसमा चाहिँ हामी यस्तो लक्की भयौं कि फस्ट ट्राइमै प्रेग्नेन्ट भयौं क्या ।’
प्रियंकाले भनेको ‘ट्राइ’ को तात्पर्य श्रीमानसँगको यौनसम्पर्क हो । कुनै पनि पुरुष महिलाबीचको यौनसम्पर्कभन्दा निजी विषय संसारमा अरु के होला ? अनि पहिलो यौनसम्पर्कमै सफल भयौं भनेर सञ्चारमाध्यममा छाती पिट्नु्भन्दा हाँस्यास्पद संसारमा अरु के होला ?
दुनियाँलाई मनोरञ्जन दिने अर्को अन्तरवार्ता पनि आयो प्रियंकाको:
‘अस्ति एकचोटि मलाई एकजनाले भन्नुभयो, खाटमा पल्टेर सबैतिर छाम । अनि जहाँ कडा पार्ट छ, त्यो चाहिँ टाउको हो भनेर सिकाउनुभाकोथ्यो । आयूष र म खाटमा पल्टेर छामेर कहाँ कडा भेट्टाउँछ भनेर ट्राइ गर्यौं क्या‘ ।’
प्रियंकाका तस्वीर र अन्तरवार्ताहरुमा नकारात्मक प्रतिक्रिया र गालीगलौजको जति वर्षा भए पनि उनी रोकिइनन् । उल्टो झन्–झन् हौसिँदै गइन् । तरह–तरहले भुँडी फिँजाएर दिनदिनै सार्वजनिक प्रदर्शन गर्दै आफ्नो मातृत्वमाथि मजाक गरिरहिन् ।
सम्भवतः अब केही दिनभित्रमै यो सिलसिला टुंगिने छ । प्रियंका पहिलो बच्चा जन्माउने संघारमा छिन् । उनलाई अग्रिम शुभकामना ।
०००
प्रियंकाको भुँडी अहिलेसम्म सञ्चारमाध्यमको पेज थ्रिका गसीप मात्रै बनिरहेका थिए । तर, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनको प्रशंसामा ट्विट गर्दै यसलाई मूलधारकै बहसमा तानिदिएका छन् । सामाजिक सञ्जालमा अनेक तर्कका बिस्कुन लगाएर पक्ष र विपक्षमा माथापच्ची जारी छ ।
एकथरिले प्रियंकाको भुँडी प्रदर्शनलाई नेपालमा माओवादी समस्यापछिकै ठूलो राष्ट्रिय समस्याझैं मानेर टाउको दुखाइरहेका छन् । अर्काथरिले चाहिँ माओवादीले गरेको १० वर्षे जनयुद्धभन्दा ठूलो क्रान्ति प्रियंकाले गरेजसरी उनको जयजयकार गरिरहेका छन् । जे होस, सामाजिक सञ्जाल प्रयोगकर्तालाई राजनीतिबाहेक कुनै विषयले ध्यान खिचेको छ भने त्यो प्रियंकाको भुँडीले नै हो ।
गर्भावस्थामा ठूलो भुँडी देखाएर यसअघि पनि थुप्रै सेलिब्रिटीहरुले प्रिग्नेन्सी फोटोसुट गरेकै थिए । तर, प्रियंकाजति विवादमा उनीहरु यसकारण आएनन् कि उनीहरुले यसरी ‘अत्याएका’ चाहिँ थिएनन् । अहिले अर्की नायिका ऋचा शर्मा पनि गर्भवती छन् । तर उनले आफ्नो भुँडीलाई बारम्बार सार्वजनिक स्थानमा तेर्स्याएर भाइरल बन्ने चेष्टा गरेकी छैनन् ।
भुँडी प्रदर्शनलाई आधुनिकता र महिला सशक्तीकरणको बिम्बका रुपमा ब्याख्या गर्नेहरुप्रति चाहिँ टिठ लागेर आउँछ । यो सोच र समझको न्यूनताको परिणाम हो ।
नेपाली महिलाको सबैभन्दा ठूलो गहना नै हो लज्जा । यसो भन्दा कतिपय क्रान्तिकारी, महिलावादीलाई पारो तात्छ । तर, यथार्थ यही हो कि कुनै चिजलाई जब लुकाएर राखिन्छ, त्यसप्रतिको कौतुहल र महत्व बढ्छ । जब उदांगो बनाइन्छ, महत्व स्वतः घट्छ । कुनै युवतीलाई विकिनीमा भन्दा सारीचालोमा बढी ग्ल्यामरस किन देखिन्छ ?
अहिले प्रियंकाका समर्थकहरुको जोडदार तर्क छ, आफ्नो शरीर आफ्नो अधिकार । आफूलाई मन लागेको कामकुरा गर्दा अरुले टाउको दुखाउनु आवश्यक छैन भन्ने पाठ पढाइरहेका छन् उनीहरु । तर, उनीहरुले बुझ पचाएको कुरा के हो भने आफ्नै सम्पत्तिको गलत प्रयोग गर्यो भने पनि कानून लाग्छ । अस्ति भर्खरै आफ्नो घरको कोठा भाडामा दिन नमान्दा एक घरबेटी पक्राउ परिन् । शरीर पनि त्यही हो ।
शरीर आफ्नो हो भनेर तपाईंले यसलाई सार्वजनिक स्थानमा जथाभावि प्रदर्शन गर्न सक्नुहुन्न । सडकमा कोही नांगै हिँड्यो भने पुलिसले समात्छ । त्यहाँ किन व्यक्तिगत स्वतन्त्रताको कुरा आउँदैन ? किनकी सार्वजनिक स्थानमा नग्नता फैलाउन नपाइने कानून छ । सामाजिक सञ्जाल पनि सार्वजनिक प्लेटफर्म हो । यहाँ पनि व्यक्तिगत स्वतन्त्रताका नाममा जथाभावी पोस्ट गर्न मिल्दैन । देशको कानून विपरीतका मात्र होइन, सामाजिक मूल्य–मान्यता विपरितका, अश्लिलता एवं विकृति फैलाउने सामग्रीहरु सेन्सर हुन्छन् र हुनुपर्छ ।
भुँडी प्रदर्शनलाई आधुनिकता र महिला सशक्तीकरणको बिम्बका रुपमा ब्याख्या गर्नेहरुप्रति चाहिँ टिठ लागेर आउँछ । यो सोच र समझको न्यूनताको परिणाम हो । उदेकलाग्दो के छ भने जुन तप्का महिलाको शरीर बिकाउ माल होइन भन्दै आजको विज्ञापन बजारदेखि मनोरञ्जन उद्योगसम्मको खेदो गर्छ, त्यही तप्का भुँडी देखाउँदा महिलाको सशक्तीकरण हुने लाजमर्दो बकवास गरिरहेको छ ।
भुँडी प्रदर्शन गर्दा महिला सशक्तीकरण हुने भए, मातृत्वको सेलिब्रेसन हुने भए, स्तन/योनि पनि त देखाए भयो । त्यसो गर्दा मातृत्व सेलिब्रेसन र महिला सशक्तिकरणले झन् सगरमाथाको उचाइ नै छुन्थ्यो कि ? यही तरिकाले हौस्याउँदै जाने हो भने केही वर्षमै त्यस्तो ‘क्रान्ति’ पनि देख्न नपाइएला भन्न सकिन्न ।
०००
गर्भावस्था भनेको कुनै पनि महिलाका लागि जीवनको अविस्मरणीय कालखण्ड हो । आफूभित्र नयाँ जीवन हुर्किरहेको अनुभूतिमा प्राप्त हुने असीम आनन्दलाई एउटी आमाले मात्रै महसुस गर्न सक्छिन् । साथै, यो एउटा चुनौतिपूर्ण उपक्रम पनि हो । ९ महिनासम्म एउटा जीवनलाई पेटभित्र जोगाएर, हुर्काएर सुरक्षित जमिनमा अवतरण गराउने क्रममा हरेक आमाले कम्तिमा एकपटक मृत्युवोध गरेका हुन्छन् । त्यसैले त आमालाई जीवनदाता भनिन्छ ।
मातृत्वको पुनित खुशीलाई विभिन्न तरिकाले सेलिब्रेसन गर्ने गरिन्छ । यसमा संसारभर आ–आफ्नै संस्कृति–संस्कार छन् । नेपालीहरुका पनि आफ्नै मौलिक संस्कार छन् । बच्चा जन्माउनुअघि आमालाई दहीच्यूरा खुवाउने, बच्चा जन्मिएपछि न्वारन, पास्नी गर्ने कुराहरुका धार्मिक–सांस्कृतिक महत्व आफ्नो ठाउँमा भए पनि ती अन्ततः ‘सेलिब्रेसन’ नै हुन् ।
गर्भवती हुनु गौरव हो, तर कुनै अद्भूत आश्चर्य होइन । प्रियंकाले आफ्नो मातृत्वमा जति पनि गर्व गर्न सक्छिन् । उनले एकाधपटक तस्वीर हाल्दा ठूलो कुरा थिएन ।
तर, आज आफ्नो संस्कृतिमा चित्त नबुझाएर शहरीया समाजको एउटा तप्का विदेशीहरुको अन्धानुकरणमा निमग्न छ । पैसा कहाँ फालुँ भनेजस्तो अवस्थामा रहेको यो मुठ्ठीभरको जमातले जब कुनै रिवाजलाई अंगाल्छ, अरु पनि त्यसको सिको गरेर पछिपछि दौडिन थाल्छन् । अझ सेलिब्रिटीहरुले त्यसलाई पछ्याएपछि त विजुली गतिमा तलसम्म प्रसार हुन्छ । परिणामस्वरुप आज विश्वमा भएभरका रीतिरिवाजको भारी नेपालीले बोकेर हिँड्नपरेको छ । देशकै रीतिरिवाजहरु खर्चिला भएर आमजनतालाई धान्न गाह्रो परिरहेका बेला आयातित पनि थोपरिएपछि मध्यमवर्गीय नेपालीलाई थेग्नै नसक्ने बोझ सिर्जना भएको छ ।
प्रेग्नेन्सी फोटोसुट र बेबी सावर त्यस्तै आयातित संस्कृति हुन्, जो अहिले नेपालको शहरीया जमातमा फेसन बनिरहेको छ । नेपाली मौलिकता र सस्कृतिसँग ठ्याम्मै मेल नखाने सेलिब्रेसन हुन् यी । आमरुपमा आज पनि हाम्रा दिदीबहिनीहरु गर्भावस्थाको पेटलाई छोपेरै हिँड्न रुचाउँछन् । गर्भवती महिलाको ठूलो भुँडीमा साथीभाइदेखि सासु–ससुरासम्मले पालैपालो छाम्दै, चुम्मा खाँदै गरेको दृष्य हाम्रा लागि सुपाच्य छैनन् । तर, पचाउन नसक्दा नसक्दै पनि सामाजिक सञ्जालमा ‘वाउ’, ‘लभ्ली’ भन्दै कमेन्ट गर्नुपरेको छ ।
हाम्रो आफ्नै सामाजिक, सांस्कृतिक मूल्यमान्यताहरु छन् । आधुनिकताको बर्को ओढेर आफ्ना मूल्य–मान्यताहरुलाई भत्काउँदै, आयातित संस्कृतिका पछि कुद्दै हामी आफ्नो देशलाई विदेशी मालवस्तुको बजारमा परिणत गरिरहेका छौ । विदेशबाट संस्कृति भित्रिँदा त्यससँग सम्वन्धित भौतिक वस्तुहरु पनि भित्रिन्छन् । नेपाली पैसा विदेशिन्छ । त्यसकारण देशको अर्थव्यवस्थाका लागि पनि यो प्रवृत्ति हानीकारक छ ।
०००
गर्भवती हुनु गौरव हो, तर कुनै अद्भूत आश्चर्य होइन । प्रियंकाले आफ्नो मातृत्वमा जति पनि गर्व गर्न सक्छिन् । उनले एकाधपटक तस्वीर हाल्दा ठूलो कुरा थिएन । तर, उनको प्रस्तुति यस्तो छ मानौं, मानव इतिहासमै पहिलोपटक उनले यो काम गर्दैछिन् । मानौं, उनले सामान्य बच्चा होइन, आफ्नो कोखबाट ‘एलियन’ नै पैदा गर्न गइरहेकी छन् । मानौं, उनको गर्भावस्था राष्ट्रिय उत्सवको विषय हो ।
प्रियंकाजी, भुँडी तपाईंको हो । यसलाई आफूले चाहेजसरी प्रयोगमा ल्याउन सक्नुहुन्छ । तर, यति सस्तो तरिकाले सामाजिक सञ्जालमा यसलाई फिँजाएर आफैंलाई र आफ्नो गर्भमा रहेको बच्चालाई मजाक नबनाउनुस, प्लिज । तपाईंको बच्चा भोलि बुझ्ने भएपछि आफ्ना आमाबुवाका हर्कतहरु हेरे लज्जित बन्नु नपरोस ।
