Tag: प्रहरी प्रधान कार्यालय नक्साल

  • निषेधाज्ञा उल्लघन गर्ने १ लाख भन्दा बढी सवारी साधन प्रहरी नियन्त्रणमा

    निषेधाज्ञा उल्लघन गर्ने १ लाख भन्दा बढी सवारी साधन प्रहरी नियन्त्रणमा

    काठमाडौं । मुलुकभरका ७७ जिल्लामध्ये अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा अहिलेसम्म निषेधाज्ञा उल्लंघन गर्ने १ लाख भन्दा बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञा उल्लघन गर्ने १ लाख १ हजार २ सय ६४ वटा साधनमध्ये ३३ हजार ३ सय ७८ वटा गाडी र ६७ हजार ८ सय ८६ वटा मोटरसाइकल रहेका प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो ।

    नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले सञ्चालन गरेको ‘ ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत अहिलेसम्म ४ लाख ४२ हजार ३ सय १ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

    कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने हालसम्म २२ हजार ५ सय ३७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २२ लाख १५ हजार ५ सय २९ रुपैयाँ जरिवाना गरिएको छ । साथै ३ लाख ६ हजार २ सय ६८ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।

    साथै देशभर गरिएका ८ हजार ९ सय ११ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत हालसम्म १३ लाख ७३ हजार ६० जनालाई सचेत गराइएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि हालसम्म ४८ हजार ३९ जना प्रहरी कर्मचारी परिचालित भएका छन् । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

  • प्रहरीको सक्रियतामा अहिलेसम्म १० हजार भन्दा बढी अक्सिजन सिलिन्डर सङ्कलन

    प्रहरीको सक्रियतामा अहिलेसम्म १० हजार भन्दा बढी अक्सिजन सिलिन्डर सङ्कलन

    काठमाडौं । नेपाल प्रहरीले देशभरका विभिन्न स्थानबाट हालसम्म १० हजार १ सय ७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ। ती मध्ये ३ हजार ५ सय ७६ वटा भरिएका र ६ हजार ५ सय ३१ वटा खाली सिलिन्डर रहेका प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो ।

    सङ्कलन गरिएका सिलिन्डरमध्ये सोमबारसम्म ९ हजार ३ सय ७८ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको नेपाल प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार ७ सय २९ वटा अक्सिजन सिलिन्डर स्टक रहेका छन् ।

    आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो । नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म उक्त सिलिन्डर सङ्कलन गरिएको हो ।

    यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डर उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।