Tag: प्रहरी
-

छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु
काठमाडौं । सुनसरी र ओखलढुंगाका छुट्टाछुट्टै स्थानमा डुबेर दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरीमा पाँच वर्षीय बालक र ओखलढुंगामा २५ वर्षिय युवकको डुबेर मृत्यु भएको हो ।सुनसरीको इटहरी १५ आवाधी मधेसामा रहेको पोखरीमा डुबेर स्थानीय बच्चु चौधरीका ५ बर्षीय छोरा रोहित चौधरी अचानक पोखरीमा डुब्दा तत्काल उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।घर नजिकै रहेको पोखरीमा अन्य बालकहरुसंगै खेल्दै गर्दा चौधरी अचानक पोखरीमा डुबेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।त्यस्तै गरी ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–९ का २५ वर्षीय ज्ञान प्रसाद पहाडी स्थानीय मोलुङ खोलाको पानीमा डुबी रहेको अवस्थामा मृत फेला परेका छन् ।शनिवार बेलुका ५ बजे घरबाट हिँडेका पहाडीको खोजतलास गर्ने क्रममा उनी साँझ पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका थिए ।घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -

६ जना एसपीको काज सरुवा, तीन जिल्लाका प्रमुख फेरिए
काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ ।
तीन जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । चितवनमा नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा विरेन्द्र शाही पुगेका छन्।
चितवनमा रहेका ओम अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दियामा रहेका इश्वर कार्की प्रहरी प्रधान कार्यालय र महोत्तरीमा रहेका दिनेश आचार्यको अपराध महाशाखामा सरुवा भएको छ ।
-

प्रहरीमा २ हजार भन्दा बढी जनशक्ति माग (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) सम्म स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
प्रहरीले लोकसेवाको सहमतिमा आज गोरखापत्रमा सूचना जारी गर्दै धोबी, कुचिकार, सिलाइरबुनाइ, हजाम, भान्छे, प्रहरी जवान र प्रहरी निरीक्षकका लागि २ हजार ३२० जना माग गरेको हो ।
जसमा सबैभन्दा बढी प्रहरी जवानका लागि १ हजार ९७१ कोटा छ । प्रहरी जवानमा १ जार ६३ खुलातर्फ पदपूर्ति हुनेछ, भने बाँकी सिट समावेशी समूहका लागि छुट्याइएको छ ।
यसैगरी, १४६ जना प्रहरी निरीक्षक भर्ना गरिने भएको छ । जसमा ७९ सिट खुलातर्फ र बाँकी समावेशी समूहतर्फ रहेको छ ।
प्रहरीमा १६३ जना भान्छे मागिएको छ । त्यस्तै, धोबी, कुचिकार, सिलाइरबुनाइ र हजाममा १०र१० सिट छुट्याइएको छ ।
फागुन १९ गतेदेखि दरखास्त फारम बुझाउन सकिनेछ ।

-

छांगरुमा प्रहरी बसेको ५१ वर्षपछि सुविधासम्पन्न भवन निर्माण गरिँदै
दार्चुला । त्रिदेशीय सीमा नजिकैको व्यासको छांगरुस्थित नीतिकुण्डमा नेपाल प्रहरी बसेको ५१ वर्षपछि नयाँ भवन निर्माण सुरु गरिएको छ । सीमा सुरक्षा, अपराध नियन्त्रण र स्थानीयवासीको सुरक्षामा खटिएको प्रहरीका लागि नयाँ सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको हो ।
नेपाल प्रहरी पहिलोपटक २०२७ मा छांगरु सीतापुलमा बसेको थियो । प्रहरी यसअघि छ महिना व्यासको छांगरु र छ महिना दुम्लिङ झर्ने गरेकामा गत वर्षबाट बाह्रै महिना छांगरुमा बस्न थालेको छ ।
प्रहरीले पुरानो चुहिने भवनमा बसेर ड्युटी गर्नुपरेको थियो । छांगरुमै बाह्रै महिना बस्ने सशस्त्र प्रहरीका लागि भवन निर्माण सुरु गरिएको एक वर्षपछि नेपाल प्रहरीको पनि भवन निर्माण गरिन लागेको हो । भवन निर्माणका लागि निर्माण व्यवसायी, प्रहरी पुगेर भवन निर्माण शुभारम्भ गरेका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले निर्माण हुने भवनको शिलान्यास गरेका छन् ।
पुरानो जीर्ण भवनमा बस्दै आएका प्रहरीका लागि दुईतले ११ कोठे भवन निर्माण सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए भवन निर्माणको शिलान्यास गरिएको छ । अबको दुई वर्षभित्र भवन निर्माण सक्नुपर्ने छ । भवन निर्माणका लागि कूल दुई करोड दुई लाख ८५ हजार ५१९ लागतमा एलबी एण्ड एबी प्रालि धनगढीसँग गत वैशाख ७ गते ठेक्का सम्झौता गरिएको थियो ।
भवन निर्माण २०८० वैशाख ६ गते सक्नुपर्ने सम्झौतामा उल्लेख छ । भवन निर्माण गर्न सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बजेट विनियोजन गरेको हो । यो क्षेत्रमा मङ्सिरपछि हिमपात हुने हुँदा भवन निर्माणको काम गर्न सकिँदैन । अहिले निर्माण व्यवसायीले जगको काम सुरु गर्ने तयारी गरेको छ । भवन निर्माणका लागि चाहिने ढुङ्गा, गिट्टी सरियाको व्यवस्थापन गरिएको छ ।
भवन निर्माणका लागि आवश्यक तीन हजार ५०० क्युफिट काठका लागि गत भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत दिएको छ । सामुदायिक वनले भने काठ दिन नसकिने जनाएको छ । भवनमा काठको प्रयोग बढी हुने र छांगरुमा चिसो हुने भएका कारण न्यानो हुने गरी भवन निर्माण गरिन लागेको प्रनाउ भट्टले बताए ।
छांगरुको नीतिकुण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी बस्ने गरेका छन् । विगतमा पुरानो जीर्ण भवनमा प्रहरी नबस्दा तस्करले भेडा–बाख्रा राख्ने गरेका थिए भने भवनमा आगो लगाइदिने गर्थे । रासस
-

कोरोनाबाट प्रहरी अस्पतालमा १२० जनाको मृत्यु, साढे १० हजार प्रहरी संक्रमित
काठमाडौं । विश्वभर फैलिएको कोभिड-१९ बाट नेपाल प्रहरी अस्पतालमा अहिलेसम्म एक सय २० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले बुधबार पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराएको हो ।
प्रहरी प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरका अनुसार प्रहरी अस्पतालमा उपचारका क्रममा आठजना प्रहरी, २७ जना पूर्वप्रहरी, २६ जना प्रहरीका परिवार र ५९ जना सर्वसाधारणको ज्यान गएको छ । यद्यपि, कोरोना नियन्त्रणमा नेपाल प्रहरी सक्रिय रूपमा खटिएर सफलता प्राप्त गर्न सफल भएको प्रहरी प्रवक्ता कुँवरले दावी गरे ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म १० हजार पाँच सय ४१ जना प्रहरी कर्मचारीमा कोभिड-१९ को संक्रमण भएको छ । जसमध्ये १० हजार तीन सय ८ जना कोरोना संक्रमणमुक्त भइसकेका, १७ जनाको मृत्यु भएको र दुई सय १६ जना उपचाररत रहेका छन् । अहिलेसम्म नेपाल प्रहरीका ६० हजार पाँच सय ९७ जना प्रहरी कर्मचारीले पहिलो चरणको र ४८ हजार चार सय ४५ जनाले दोस्रो चरणको खोप लगाइसकेका छन् ।
नेपाल प्रहरी अस्पतालमा दुई हजार आठ सय ६६ बहालवाला प्रहरी कर्मचारी र सात हजार सात सय १८ जना सर्वसाधारण नागरिक तथा पूर्वप्रहरी कर्मचारी गरेर १० हजार पाँच सय ८४ जनालाई कोभिडविरुद्धको खोप लगाइएको छ ।
कोरोना महामारी नियन्त्रणका लागि नेपाल प्रहरीका ४१ हजार दुई सय ९२ जना परिचालित भएकामा ११ हजार दुई सय ७२ अहिले पनि खटिएका छन् । कोरोना रोकथामका लागि सीमानाकामा नेपाल प्रहरीका तीन सय ९४ वटा चेकपोष्टमा तीन हजार तीन सय ९४ जना प्रहरी कर्मचारी खटिएका र सात सय ९७ वटा हेल्थ डेस्क स्थापना गरी कार्य सञ्चालन गरिएको छ ।
कोभिड-१९ सम्बन्धी ३२ हजार छ सय २४ वटा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको र त्यसबाट १७ लाख १३ हजार सात सय ९५ जनालाई सचेत गरिएको छ । गैरस्वास्थ्य क्षेत्र र प्रयोजनमा प्रयोग भएका चार हजार ४३ भरेको र छ हजार छ सय ८४ वटा खाली गरेर जम्मा १० हजार सात सय २७ थान अक्सिजन सिलिण्डर संकलन गरेर वितरण गरिएको छ ।
२०७८ वैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञा अवज्ञा गर्ने चार लाख ३६ हजार २५ जनालाई होल्ड गरेर छोडिएको र निषेधाज्ञा अवज्ञा गरी सवारी चलाउने एक लाख ९० हजार आठ सय ९६ वटा सवारीसाधनलाई कारवाही गरिएको छ ।
नेपाल प्रहरी अस्पतालको एक सय ५० बेड क्षमताबाट स्तरोन्नती गरी तीन सय बेड क्षमतापछि दुई सय ६४ बेड कोभिड डेडिकेटेट आईसोलेसन बेड, ८० बेड क्षमताको एचडीयु, २० वटा भेन्टिलेटरसहित ३० बेड क्षमताको आईसीयू तयार गरी सेवा प्रदान गरिएको छ ।
-

कैलालीका ९ प्रहरी कारबाहीमा, १० लाई सम्मान
कैलाली । कैलालीमा पछिल्लो १९ दिनमा ९ प्रहरीमाथि कारवाही भएको छ ।
असार १६ गते कैलालीमा प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक विश्व अधिकारीले आचारसंहिता विरुद्धका गतिविधिहरू गर्ने ९ जना र उत्कृष्ट काम गर्ने १० जनालाई सम्मान गरेका हुन् ।
कारबाहीमा पर्नेमा अधिकांश डिउटीको समयमा मदिरा सेवन गर्नेहरु रहेको प्रहरी स्रोतले बताएको छ ।
‘उनीहरूलाई तत्कालको लागि चेतावनी दिइएको हो । यसपछि पनि थप लापरबाही भए कडा कारबाही हुन्छ’ एक प्रहरी अधिकारीले भने ‘प्रहरी प्रमुखले अहिले प्रहरीसेवालाई थप जिम्मेवार बनाउन खोज्नु भएको छ ।’
कारबाहीमा पर्नेमा असई हवलदार र सिपाही छन् । ५ जना कारबाहीमा परेका र अन्य ४ जना कारबाहीको प्रक्रियामा रहेको प्रहरी स्रोतले बतायो ।
राम्रो काम गरेका १० प्रहरी जवान सम्मानित भएका छन् । तीमध्ये ८ जना टीकापुरमा बालक हत्याको घटना अनुसन्धानमा खटिएका थिए ।
‘हाम्रो प्रहरीसँग हामी’जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्लामा ‘हाम्रो प्रहरीसँग हामी’ अभियान सुरु गर्ने भएको छ । प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रहरी सेवालाई थप प्रभावकारी बनाउन ‘हाम्रो प्रहरीसँग हामी’ अभियान सुरु गर्न लागेको बताए ।
धनगढीमा पत्रकारहरूसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै आइतबार प्रहरी उपरीक्षक अधिकारीले आफ्नो अभियानबारे जानकारी दिएका थिए ।
‘हामी अब फरक फरक बिधाका व्यक्तिहरूसँग अन्तरक्रिया गरेर प्रहरी सेवालाई प्रभावकारी बनाउन लाग्छौँ’ उनले भने ‘त्यो अभियानको सुरु आजबाट भएको छ ।’
उनले कैलालीमा पछिल्लो समय लागूपदार्थको दुव्र्यसनीका घटना बढिरहेको भन्दै ‘भविष्य बचाउ’ अभियानसमेत सुरु गर्न लागेको बताए ।
कैलाली प्रहरीले अब लागूपदार्थ सेवन गर्ने र कारोबार गर्नेहरुविरुद्ध कडा रुपमा प्रस्तुत हुने समेत उनले दाबी गरे । उनले प्रहरी सेवा लिन आउनेहरूको अभिलेखीकरण समेत राख्ने बताए ।
‘प्रहरीमा सेवा लिन आउनेहरूको तथ्याङ्क राख्ने व्यवस्थासमेत गरेका छौँ’ उनले भने, ‘यसबाट नागरिक कति सन्तुष्ट छन् भन्ने थाहा हुन्छ ।’
-

हिरासतबाट निस्केपछि सपनाले भनिन्, पुरुष प्रहरीले हातपात गरे
काठमाडौं । सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा पक्राउ परेका हाम्रो टिम नेपालका अभियन्ताहरु रिहा भएका छन् । हिरासतमुक्त भएपछि उनीहरुले निशुल्क खाना खुवाउने अभियान जारी रहने बताए ।
अभियन्ता विमल पन्तले प्रहरीले धरपकड गर्दा अमानवीय व्यवहार गरेको आरोप लगाए ।
उनले भने, ‘हामीले असहायको सेवा गर्दै गर्दा महानगरपालिकाले हामीमाथि धावा बोलेको छ । अब चुनावमा भोट दिँदा मानवीयता भएको व्यक्तिलाई भोट दिएर मेयर बनाउन काठमाडौंवासीलाई आग्रह गर्दछु ।’ प्रहरीको कारवाहीबाट हाम्रो टिमलाई लाखौंको क्षति भएको उनले बताए ।
‘हामीसँग लत्ताकपडा, त्रिपाल, खाद्यान्न लगायत १० लाखको सामना थियो । त्यो सबै क्षति भएको छ । तर हाम्रो अभियान रोकिँदैन,’ पन्तले भने ।
हाम्रो टिमकी अर्की अभियन्ता सपना रोकामगरले आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाइन् ।
उनले भनिन्, ‘महिला प्रहरी हुँदा हुँदै पुरुष प्रहरीले मलाई हातपात गरे । मेरो छातिमा हात राखे । म एकपटक सास फेर्न नसकेर फेन्ट पनि भएँ ।’
-

रक्सी चोरेको आरोप लागेपछि असईसहित तीन प्रहरी निलम्बित
जनकपुरधाम । निषेधाज्ञाका बेला बन्द रहेको पसलबाट रक्सी चोरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय सिरहाले असईसहित तीन प्रहरीलाई निलम्बन गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवानद्वय अन्नु कुमार राय र नरेशकुमार राय निलम्बनमा परेका हुन् । चोरीको आरोप लागेपछि तीनै जनालाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी शालिग्राम शर्माले जानकारी दिए ।
लहान नगरपालिका-२३ गढिया चोकमा रहेको पूजा मदिरा पसलमा जेठ ९ मा होहल्ला भइरहेको थाहा पाएपछि प्रहरी टोली पुगेको थियो । प्रहरीलाई देखेपछि पसल सञ्चालकसहित सबै भागे । त्यसपछि तिनै प्रहरीले पसलबाट भाेड्का निकालेर चाैकी फर्किएकाे सीसीटिभी क्यामरामा कैद भएकाे थियाे । ।
पुलिसले भोड्का चोरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । डीएसपी शर्माले भने, ‘तीन हाफमात्र चोरेका रहेछन् । तर बर्दीमा भएको बेला पसलबाट मदिरा पकेटमा राख्नु आचरण विपरित कार्य हो । त्यसैले निलम्बन गरी अनुसन्धान थालेका छौं ।’
-
गाई काटेको अभियोगमा २ जना पक्राउ
सिरहा । सिरहाको लहान प्रहरीले गाई काटेको अभियोगमा दुईजना पक्राउ गरेको छ ।
लहान नगरपालिका-२ स्थित मिलन चौकमा गाई काटेको भन्दै स्थानीयवासीले दिएको उजूरीका आधारमा स्थानीय दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अन्य व्यक्तिहरुको समेत संलग्नता भएकाले पक्राउ परेका दुवै जनाको नाम गोप्य राखिएको छ । मासु प्रयोजनका लागि गाई काटेको भन्दै स्थानीयवासीले प्रहरीमा उजूरी दिएपछि पक्राउ गरिएको प्रहरीले बतायो ।
घरमूली फरार भए पनि उहाँको पत्नी र सालोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए । पक्राउ परेका दुवैमाथि अनुसन्धान सुरु गरिएको छ ।
-

हराएकी भारतीय महिलाको उद्धार
सप्तरी । भारतबाट हराएकी एक महिलालाई प्रहरीले उद्धार गरेर आज परिवारको जिम्मा लगाएको छ ।
अठार दिनदेखि बेपत्ता भारतीय महिलाको खोजी गरी स्थानीय प्रहरीको पहलमा ती महिलाको उद्धार गरिएको हो ।
भारत विहार राज्य सहरसा जिल्ला बैजनाथपुर ग्राम पञ्चायत वडा नम्बर -११ निवासी ४२ वर्षीया संगीतादेवी मेहतालाई परिवारको जिम्मामा लगाए प्रहरीले जनाएको छ ।
सप्तरी, बोदेबर्साइन नगरपालिकाका सहयोगमा शत्रुध्नन चोकमा अलपत्र अलपत्र अवस्थामा प्रहरी र स्थानीयवासीले उद्धार गरेको सोही ठाउँका उमेशकुमार साहले जानकारी दिए ।
-

निषेधाज्ञा तोडेको भन्दै मजदुरमाथि प्रहरीको लाठी
सुर्खेत । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले मजदुरहरूलाई कुटपिट गरेको छ ।
निषेधाज्ञाको पहिलो दिन वीरेन्द्रनगरको मंगलगढी चोक नजिकै तीनजना मजदुरमाथि प्रहरीले लाठी बर्साएको हो । वीरेन्द्रनगर-४ रेडियो नेपालनजिक बस्दै आइरहेका शिव नेपालीसहित तीनजनालाई बिहानै प्रहरीले लाठी वर्षाएको हो ।
‘पलाटे चोक र यरिचोकको प्रहरीले मजदुरलाई जान छुट छ भनेको थियो । त्यही अनुसार बुलबुलेनजिकै ज्याला मजदुरी गर्न जान लाग्दा भ्यानबाट प्रहरी ओर्लेर प्रहरीकै अनुमतिमा आएको भन्दाभन्दै लाठी बर्सायो’शिवले भने, ‘श्रीमती मानशोभा नेपाली, अजय गिरी र मलाई बेस्सरी पिट्यो ।’
‘काम गर्न दिन्छन् कि भन्ने लागेर हामी घरबाट निस्केका थियौं । चोकमा खटिएका प्रहरीलाई सोध्दा काम गर्न जानुहोस् भनेर उहाँहरूले भन्नु भएको हो ’, उनले भने ।
दुई छाक टार्न काम गर्नैपर्ने बाध्यता भएको भन्दै आफूहरूलाई रोगभन्दा भोक ठूलो भएकोले काम गर्ने वातावरण बनाइदिनुपर्ने उनीहरूको माग छ ।
यसबारे बुझ्न खोज्दा सुर्खेत प्रहरी प्रमुख राजेन्द्रप्रसाद भट्टको फोन उठेन ।
-

प्रधानमन्त्री र ‘रअ’ प्रमुखको नक्कली सम्झौता प्रकरण किन बन्यो फौजदारी अभियोग ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्चर संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीच चार बुँदे सहमति भएको भन्दै २ वैशाखमा एउटा ‘फेक सहमति पत्र’ सार्वजनिक गरियो ।
शुरुमा ‘उज्यालो नेटवर्क डटकम’ नामक अनलाइनमा ‘रअ प्रमुख र ओलीबीच लिपुलेकको कुरा नउठाउनेदेखि एमसीसीमा मोदीले सघाउनेसम्मको सहमति’ शीर्षकमा समाचार प्रकाशित भयो । र, त्यही समाचारलाई मुलधार बाहेकका अन्य केही न्यूज पोर्टलले पनि साभार गरे ।
यो विषयमा प्रहरीले समाचार प्रसारण अनलाइन मिडियामा छापा मार्यो भने प्रेस काउन्सिलले समाचार प्रकाशन भएको भोलिपल्ट २४ घण्टे स्पष्टीकरण सोध्यो।
सहमति पत्र साँचो भएको प्रमाणित गर्न नसकेपछि शुरुमै समाचार प्रकाशन गर्ने उज्याले नेटवर्कले सो समाचारलाई हटाएर ‘असावधानीका कारण समाचार प्रकाशित हुन गएको’ भन्दै ८ बैशाखमा क्षमा माग्याे । र, अन्य अनलाईले पनि यही व्यहोरामा क्षमा प्रकाशन गरे ।
तर, ८ दिनपछि यही प्रकरणमा प्रहरीले उज्यालो नेटवर्कका कार्यकारी सम्पादकलाई कार्यालयमै गएर नियन्त्रणमा लिएपछि यो विषय पुनः चर्चामा छ।
प्रहरीको मुद्दा र दावी
‘विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुर’सम्बन्धी मुद्दाको पक्राउ पुर्जी थमाएर कार्यकारी सम्पादक अनिश तामाङलाई पक्राउ गर्यो । महानगरीय प्रहरी परिसर टेकुले सम्पादक विवेक लोप्चनको मोबाइल पनि प्रहरीले अनुसन्धानका लागि भन्दै लिएर गयो ।
महानगरीय प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंह समाचार लेखेको विषय मात्रै नभइ ‘साइबर क्राइम’ र किर्ते पनि गरेकाले फौजदारी अभियोग लगाएर तामाङलाई पक्राउ गरेको दावी गर्छन् ।
सिंह भन्छन्, ‘प्रधानमन्त्रीका बारेमा हुँदै नभएका फेक कागज बनाएर गलत समाचार प्रकाशन गरेर उनीहरुले ‘साइबर क्राइम’ पनि गरेका छन् । किर्ते पनि गरेका छन् । राज्यविरुद्ध नभएको गुप्तचरी सूचना संप्रेषण गर्नुहुँदैन । त्यही कसुरमा समातेको हो ।’
प्रेस काउन्सिलमा यो विषयमा सहमति भइसकेको छ नि भन्ने प्रश्नमा उनी फौजदारी मुद्दामा माफी मागेको वा सहमति गरेको कुराको खासै अर्थ नहुने बताउँछन् ।
‘फौजदारी मुद्दामा कहीं माफी मागेको वा सहमति गरेको कुराले धेरै अर्थ राख्दैन,’ सिंहको भनाइ छ, ‘त्यो पनि हाम्रो मिसिलमा राख्छौं तर त्यसले हाम्रो अनुसन्धानमा केही फरक पार्दैन ।’
प्रहरीले प्रधानमन्त्रीको दस्तखत किर्ते गरेको अभियोग समेत लगाउने तयारी गरेको छ । दुई देशबीचको सम्बन्धमै खलल पुग्ने आपत्तिजनक र संविधानले निषेध गरेको नक्कली कागज बनाएर हस्ताक्षर किर्ते गरेको अभियोग समेत लगाइएको छ ।
अदालतको आदेश यस्तो छ
यो विषयमा उच्च अदालत पाटनले समेत अन्तरिम आदेश दिएको छ। ९ बैशाखमा अदालतले दिएको आदेशमा प्रकाशित समाचारको खण्डन समेत गरिसकेको भन्दै धरपकड नगर्न भनिएको छ । तर, उक्त आदेशमा फौजदारी मुद्दामा भने अनुसन्धान गर्न पाउन सकिने उल्लेख गरिएको छ।
मुख्यन्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले दिएको आदेशमा भनिको छ– ‘यसमा समाचार प्रकाशन गर्ने संस्था समेतबाट प्रकाशित समाचारको खण्डन गरिसकेको भन्ने हुँदा फौजदारी मुद्दाको अनुसन्धान तहकिकात गर्ने विषयमा बाहेक समाचार छापेकै आधारमा कानून विपरित हुने गरी निवेदकलाई धरपकड गर्ने कार्य नगर्नु नगराउनू ।’
उच्च अदालतले पाटनले गरेको आदेश आफूहरुले अहिलेसम्म नपाएको एसएसपी सिंहको दावी छ। आफूहरुले म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिसकेको भन्दै यी सबै विषयमा अदालतले निर्णय लिने बताउँछन् ।
प्रहरी स्रोतले उच्च अदालतले दिएको सोही आदेशकै आधारमा फौजदारी कसुरमा कारवाही गर्न नरोकिएकाले पक्राउ गरि कारवाही अघि बढाइएको जनाएको छ ।
प्रेस काउन्सिल र महासंघद्वारा विरोध
तामाङलाई पक्राउ गरेकोप्रति प्रेस काउन्सिल र पत्रकार महासंघले विरोध जनाएको छ। प्रेस काउन्सिलका कार्यबहाक अध्यक्ष गोपाल बुढाथोकी समाचार लेखेका संस्थाले माफी माग्दै समाचार समेत हटाइ सकेको भन्दै त्यस विषयमा पुनः धरपकड गर्न नमिल्ने बताउँछन् ।
‘उज्यालो नेटवर्कलगायतका नौ वटा संचार माध्यममाथि प्रेस काउन्सिलले कारवाही गरेर ती संस्थाहरूले क्षमा माग्दै समाचार सामग्री समेत ‘डिलिट’ गरेको अवस्था हो, बुढाथोकीले फेसबुकमा आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै भनेका छन्, ‘पत्रकारले लेखेकै आधारमा प्रहरी धडपकड, पक्राउ गर्न मिल्दैन र नगरियोस् भन्ने माग गर्दछु ।’
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल माफी मागिसकेको र अदालतले समेत पक्राउ गर्न जरुरी नभएको भनेर आदेश दिइसकेको भन्दै पुनः पक्राउ गर्नु प्रेस स्वतन्त्रताको उल्लंघन भएको बताउँछन् ।
‘यो अवस्थामा मिडिया हावसमा गएर पत्रकारलाई लछारपछार गरेर पक्राउ गर्नु भनेको प्रेस स्वतन्त्रता माथिको ठाडो प्रहार हो,’ पोखरेल भन्छन्, ‘ पत्रकारलाई आतङ्कित पार्ने नियत हो । यो कुनै पनि हालतमा स्वीकार्य हुन्न । यसकाविरुद्ध हामी कानूनी लडाइँ पनि लड्छौं । र, राज्यलाई यस्ता गतिविधि नगर्न दवावमुलक अभियान पनि हामी अगाडि बढाउँछौं ।’
पोखरेल यो विषयमा विद्युतीय कारोबार ऐन र देशद्रोह जस्तो कानूनलाई आकर्षसित गर्न नमिल्ने तर्क गर्छन् । ‘विद्युतीय कारोबार ऐनको दफा हालेर, देशद्रोह जस्तो कानूनलाई आकर्षित गरेर जबरजस्ती तर्साउने काम भएको छ,’ उनी भन्छन्, ‘समाचारमा उल्लेख भएका विषयका सन्दर्भमा ती आर्कषित हुनुपर्ने कानूनहरु होइनन् ।’
‘फौजदारी मुद्दामा पक्राउ गरिएको हो’
एसएसपी अशोक सिंह, प्रुमख
महानगरीय प्रहरी परिसर, टेकुप्रधानमन्त्रीका बारेमा गलत समाचार प्रकाशन गरेर उनीहरुले ‘साइबर क्राइम’ पनि गरेको छ । किर्ते पनि गरेको छ । राज्यविरुद्ध नभएको गुप्तचरी सूचना संप्रेषण गर्नुहुँदैन । त्यही कसुरमा समातेको हो ।

यो फौजदारी मुद्दा हो । यसमा अदालतको ‘स्टेअर्डर’ लागू हुँदैन । मुद्दा समाचार लेखेको आधारमा पनि हुन्छ । त्यो कागजात उहाँहरुले कसरी निकाल्नुभयो, त्यसमा अब अनुसन्धान हुन्छ ।
देशकै प्रधानमन्त्रीविरुद्ध यसरी ‘फेक न्यूज’ निकाल्नु भएन । त्यसमा ‘साइबर क्राइम’ पनि भएको छ । यो फौजदारी अभियोग हो । फौजदारी अभियोग लगाएर अदातलमा म्याद थप गर्न पठाइएको छ ।
जिल्ला अदालतले म्याद थप गर्ने विषयमा उच्च अदालतले ‘स्टेअर्डर’ गरेको कुरा पनि हेर्ला । तर, उच्च अदालतको पत्र हामीलाई प्राप्त भएको छैन् । त्यो पत्र परिसरमा आउनुपर्यो ।
उहाँलाई जिल्ला अदालतमा पुर्याएर हामीले म्याद थप गर्न पठाएका छौं । त्यही बहस हुन्छ । म्याद थप गर्ने, नगर्ने विषयमा न्यायाधीहरुले भन्नुहोला ।
प्रेस काउन्सिलमा उहाँहरुबीच एउटा सहमति भएको रहेछ । फौजदारी मुद्दामा कहीँ माफी मागेको वा सहमति गरेको कुराले धेरै अर्थ राख्दैन । त्यो पनि हाम्रो मिसिलमा राख्छौं तर त्यसले हाम्रो अनुसन्धानमा केही फरक पार्दैन ।
फौजदारी अभियोग लगाएर प्रक्राउ गरेँ भन्नु बनावटी कुरा
विपुल पोखरेल
अध्यक्ष, पत्रकार महासंघसमाचार लेखेको विषयमा यति धेरै ढंगले तर्साउन पाइँदैन । यो प्रेस काउन्सिलको क्षेत्राअधिकार हो । समाचारमा केही चित्त बुझेन प्रेस काउन्सिलले हेर्ने हो । यो विषयमा प्रेस काउन्सिलले हेरर आफ्नो निरुपण दिइसकेको छ । र, त्यसपछि उनीहरूले असावधानीवस यो गरियो भनेर भनिसकेका छन् ।

उच्च अदालत पाटनले निजहरुलाई पक्राउ गर्न जरुरी छैन, पक्राउ नगर्दा कुनै क्षति हुने देखिन्न, त्यसकारण पक्राउ नगर्नू भन्ने आदेश जारी गरिकसकेको छ । यो अवस्थामा मिडिया हाउसमा गएर पत्रकारलाई लछारपछार गरेर पक्राउ गर्नु भनेको प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो ।
पत्रकारलाई आतंकित पार्ने नियत हो । यो कुनै पनि हालतमा स्वीकार्य हुन्न । यसकाविरुद्ध हामी कानूनी लडाइँ पनि लड्छौं । र, राज्यलाई यस्ता गतिविधि नगर्न दवावमूलक अभियान पनि हामी अगाडि बढाउँछौं ।
हामीले चेतावनीको भाषामा तत्काल विनाशर्त साथीहरुलाई रिहाइ गर, हैन भने आन्दोलनमा जान्छौं भनेर भनिसकेका छौं । यसको सुनुवाई समयमै भएन भने हामी कडा कदम चाल्न बाध्य हुन्छौं ।
प्रहरीले फौजदारी अभियोग लगाएर प्रक्राउ गरेँ भन्नु ती सबै बनावटी कुरा हुन । समाचारको विषयलाई लिएर निरुपण खोज्ने बैधानिक प्रावधानहरु छन् । ती बाटोमा नगएर नक्कली मुद्दा खडा गरेर पत्रकारलाई आतङकित पार्ने काममा राज्य लाग्यो । यो गलत हो । यसले त आफ्नो आलोचना गर्ने हरेक मिडियालाई झुठा मुद्दा लगाएर सताउने बाटोमा राज्य हिँड्छ कि भनेर गम्भीर आशंका गर्नुपर्ने अवस्था छ ।
समाचार लेखेको आधारमा थुन्न पाइँदैन भन्ने नेपालको संविधानको ‘स्पिरिट’ हो । समाचारप्रति कसैको गुनासो भए यसरी न्यायिक निरुपण खोज्ने भन्ने प्रष्ट बैधानिक व्यवस्था छ ।
मानहानी मुद्दा लाग्न सक्ला, गाली बेइजती मुद्दा लाग्न सक्ला । यसको निरुपण खोज्ने बाटो विद्यमान कानुनले देखाइदिएको छ । त्यो भन्दा बाहेक विद्युतीय ऐनको दफा हालेर, देशद्रोह जस्तो कानूनलाई आकर्षित गरेर जबरजस्ती तर्साउने काम भएको छ। समाचारमा उल्लेख भएका विषयका सन्दर्भमा ती आर्कषित हुनुपर्ने कानून होइनन् ।
पत्रकारिता कर्ममा रहेर काम गरेको विषयलाई हामीले प्रतिरक्षा गर्छौं र त्यो हाम्रो ‘कन्सर्न’को विषय हो । पत्रकारिता कर्म भन्दा बाहिर रहेर कसले के गर्छ भन्ने कुरा चाहिँ नेपालको कानूनले जान्ने कुरा हो ।
-

ज्यान मुद्दाका फरार अभियुक्त १५ बर्षपछि पक्राउ
बझाङ । कर्तव्य ज्यान मुद्दाका फरार एक व्यक्ति १५ बर्षपछि पक्राउ परेका छन ।
जिल्लाको मष्टा गाउँपालिका-५ का ज्ञान बहादुर बोहरालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत बझाङको २०६३ माघ १९ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भई फरार रहेका थिए ।
बोहोरालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले आफ्नै घरबाट पक्राउ गरि जिल्ला अदालत बझाङ पेश गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
-
मोटरसाइकल चोर्ने दुई जना पक्राउ
सुनसरी । मोटरसाइकल चोरी गरेको आरोपमा धरानबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-८ बुद्दमार्गका रोशन मास्के र धनकुटा साँगुरीगढी गाउँपालिका-८ तातोपानी बस्ने रवि राई रहेका छन ।
उनीहरुलाई धरान उपमहानगरपालिका-१९ स्थित सडकबाट पार्किङ गरी राखेको को.१८ प ३९७९ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
धरान उपमहानगरपालिका-२० स्थित सुन्तले भन्ने ठाउँमा सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा बुधबार उनीहरुलाई धरानबाट बिष्णुपादुका हुदै धनकुटातर्फ चोरी गरि लैजादै गरेको अवस्थामा उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।
चोरी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
-

रिसको झोकमा छाेराले बुबालाई तपेसले हानेपछि…
सुनसरी । आफ्नै बुबाको हत्या अभियोगमा सुनसरी प्रहरीले एक युवालाई पक्राउ गरेको छ । बाबुको हत्या अभियोगमा बराहक्षेत्र नगरपालिका ९ का १७ वर्षीय उमेश पौडेल पक्राउ परेका प्रहरीले जनाएको छ ।
मंगलबार घरायसी विवाद हुँदा उमेशले तपेसले आफ्नै बुबा ३८ बर्षीय उपेन्द्र पौडेललाई घाईते बनाएका थिए । घाईते उपेन्द्रको नोवेल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनको मृत्यु पश्चात छाेरा उमेशलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जनाएको छ ।
-

कैलालीमा तस्कर-प्रहरी गोली हानाहान, एक घाइते
धनगढी । कैलालीमा तस्कर र प्रहरीबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् । भजनी नगरपालिका वडा नम्बर ३ स्थित नेपाल भारत सीमा क्षेत्र नजिक सोमबार साँझ तस्कर र प्रहरीबीच गोली हानाहान भएको हो
लागू औषध तस्करले नेपाल प्रहरीमाथि १ राउण्ड गोली चलाएपछि प्रहरीले पनि ३ राउण्ड जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
प्रहरीको गोली लागेर भारतको लखिमपुर खिरी जिल्ला तिकुनिया ग्रामपञ्चायत रणनगरका ४० वर्षीय दिल्लु सिँह घाइते भएका छन्।
उनको उपचार भारतमै भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनीसँगै रहेका अन्य ४ जना तस्करहरु भारत तिर भागेको उनले बताए ।
-

घाइते अवस्थामा बलात्कारपछि घाँटी थिचेर भागरथीको हत्या
कैलाली । २१ माघमा विद्यालयबाट घर फर्कँदै गरेकी बैतडीे दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्याको १३ दिनपछि प्रहरीले आरोपीलाई पक्राउ गरी आज सार्वजनिक गर्दैछ ।
प्रहरीले भागरथीको हत्यामा सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत युवक रहेको र उनले वलात्कार र हत्या गरेको स्वीकारेको प्रहरी भनाई छ ।
२१ माघमा बलात्कार र हत्या भए पनि त्यसको भोलि साँझ ५ बजे मात्रै लवलेक जङ्गलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र भागरथीको शव फेला पारेको थियो ।
आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।
बलात्कार पछि घाँटी थिचेर हत्या गरेको प्रहरी अधिकारी बताउँछन् । भागरथीको बलात्कार पछि घाँटी थिचेर हत्या गरेको पोस्टमार्टम रिपोर्टले समेत पुष्टि गरिसकेको छ ।
सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले पक्राउ परेका आरोपीले घटना स्वीकार गरिसकेको बताए ।
‘आरोपी भागरथीका छिमेकी तथा सहपाठी हुन्, सो दिन विद्यालयबाट फर्किँदा बाटोमा बलात्कार तथा हत्या गरेको उनले स्वीकारेका छन्’ उनले भने ‘आज हामी सार्वजनिक गर्दैछौं ।’
घटना भएको पहिलो दिन देखिनै शङ्काको घेरामा रहेका युवकबाटै उनको हत्या भएको प्रहरी अधिकारीहरू बताउँछन् । ‘ती युवक हाम्रो उच्च निगरानीमा थिए तर, पर्याप्त प्रमाण थिएन’ अनुसन्धानमा खटिएका एक अधिकारीले भने ‘हामीले प्रमाण जम्मा गरेर उनलाई नियन्त्रण लिएका हौँ ।’
प्रहरीले अभियुक्तलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेको आरोपीले बदला लिन यो घटना गराएको प्रहरीलाई बताएका छन् ।
‘बाबुको पालाको बदला लिन भागरथीका बलात्कार गरेको बयान आरोपीले दिएका छन्,’ अनुसन्धानमा आबद्ध एक अधिकृतले भने, ‘छिमेकी दुई परिवार बिचमा पुरानो रिसइबी देखिन्छ ।’ अन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।
भागरथीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी पनि सहभागी हुँदै आएका थिए ।
निर्मला पन्तको बलात्कार र हत्या प्रकरणका क्रममा अनुसन्धानमा भएको लापरबाहीले अझै दोषी पक्राउ पर्न सकेका छैनन् । निर्मला प्रकरणमा आलोचित बनेको प्रहरीले भागरथी हत्या प्रकरणमा राहत मिलेको छ ।
१० दिन देखि प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुबेदी आफै घटना स्थलमा खटिएर अनुसन्धान गरिरहेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)बाट समेत डीएसपीको कमान्डमा प्रहरी टोली खटिएको थियो ।
-

उपत्यकाका सबै प्रहरीलाई स्ट्यान्डबाइ रहन आदेश, दुई दिन १० हजार प्रहरी खटाइने
काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव समूहले भोलि आह्वान गरेको देशव्यापी आमहड्तालमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न प्रहरीले काठमाडौं उपत्यकामा रहेको आफ्नो सम्पूर्ण जनशक्तिलाई स्ट्यान्डबाइ रहन निर्देशन दिएको छ ।
भोलि हुने प्रचण्ड–माधवको आमहड्ताल र शुक्रबार हुने ओली पक्षको आमसभाका लागि उपत्यकामा मात्रै १० हजार जनशक्ति खटाइने प्रहरी प्रधान कार्यालयको तयारी छ ।
भोलि बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि एसपीदेखि जवानसम्मलाई चुस्त पोशाकमा आ–आफ्नो कार्यालयबाट तुरुन्त परिचालन हुनसक्ने गरी स्ट्यान्डबाइ रहन प्रधान कार्यालयले निर्देशन दिएको हो । उपत्यकास्थित सम्पूर्ण प्रहरी युनिटका कर्मचारीलाई २४ घन्टे ड्युटीमा खटाइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई निषेधित क्षेत्र तोड्ने प्रदर्शनकारीलाई घुँडामुनि गोली हान्ने अधिकार दिएका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले काठमाडौंको सुरक्षा व्यवस्थापनमा कुनै कमी नहुने बताए ।
-

प्रहरीलाई दुर्व्यवहार गर्ने दुई पक्राउ
भक्तपुर । भक्तपुर नगरपालिका – ९ च्यामासिंह सूर्यमढीस्थित डिउटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका–९ च्यामासिंह सूर्यमढी बस्ने ३२ वर्षीय विजय नकर्मी र सोही ठाउँ बस्ने १९ वर्षीय रितिक प्रजापती रहेका छन् ।
सूर्यमढी बस्ने गिता कोजुको मोबाईल हराएको उजुरी परेपछि प्रहरीले मोबाइल खोजेर कोजुलाई दिने क्रममा विजय र रितिकले प्रहरीलाई एक्कासी हातपात एवं दुर्व्यवहार गरेपश्चात उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान भइरहेको छ ।