Tag: प्रमोद खरेल

  • धरौटीमा रिहा भइन् विन्ध्यबासिनी म्युजिक संचालक, भन्छिन् –प्रमोद खरेल कपिराइटका धनी होइनन्

    धरौटीमा रिहा भइन् विन्ध्यबासिनी म्युजिक संचालक, भन्छिन् –प्रमोद खरेल कपिराइटका धनी होइनन्

    काठमाडौं । गायक प्रमोद खरेलको उजुरीका आधारमा पक्राउ परेकी विन्ध्यबासिनी म्युजिक प्रालिकी संचालक लीना रेग्मी धरौटीमा रिहा भएकी छिन् । रिहालगत्तै उनले विज्ञप्ती जारी गर्दै एल्बम ‘प्रणय’को प्रतिलिपि अधिकार आफ्नो कम्पनीमा निहित हुने दाबी गरेकी छिन् ।

    प्रहरीले उनलाई झन्डै साता लामो हिरासतपछि रिहा गरेको हो । गायक खरेलले दसवर्षदेखिको हिसाब माग्दै प्रहरीमा उजुरी दिएका थिए । वक्तव्यमा लीनाले विन्ध्यवासिनी म्युजिकसँगको सम्पत्तिमा प्रमोद खरेलको कुनै अधिकार नभएको उल्लेख गरेकी छिन् ।

    ‘गीतकार र गीतसँग सम्बन्धित विवाद भएमा आफै सुल्झाउनेछु भनेर प्रतिलिपि अधिकार धनी मानेर करार ऐन अनुसार सहमति भएको हो’ वक्तव्यमा उनले लेखेकी छिन् ।

    विन्ध्यबासिनी म्युजिक प्रालिले आफ्ना ध्वनी अड्कन, उत्पादन गीत संगीत, भिडियो, अडियो र सीडी क्यासेट सबै ५० वर्षसम्म निर्वाधरुपमा विक्री वितरण गर्न पाउने ऐनले अधिकार दिएको समेत विज्ञप्तीमा उल्लेख छ ।

    प्रमोद खरेलले उल्टै कम्पनीको अनुमति बिना ट्रयाक प्रयोग गरि विभिन्न ठाउँहरुमा प्रस्तुति दिई लाखौं आर्जन गर्दै हिँडेर गीतकार र संगीतकारको प्रतिलिपि अधिकार हनन गरेको आरोप समेत लगाइएको छ ।

  • प्रमोद खरेलको गीतमा रोयल्टी विवाद चर्कियो, ७५ जना गायकले प्रहरीमा दिए उजुरी

    प्रमोद खरेलको गीतमा रोयल्टी विवाद चर्कियो, ७५ जना गायकले प्रहरीमा दिए उजुरी

    एक म्युजिक कम्पनीसँग रोयल्टी विवाद चर्किएपछि ७५ जना संगीतकर्मीले न्याय माग्दै प्रहरी गुहारेका छन् । गायक प्रमोद खरेलले विन्ध्याबासिनी म्युजिक कम्पनीबाट एघारवर्षदेखिको हिसाब खोज्दै टेकु प्रहरीमा उजुरी दिएका हुन् । स्रष्टाले रोयल्टी पाउनुपर्ने माग गर्दै संगीतकार संघको अगुवाइमा उक्त कम्पनीविरुद्ध उजुरी दर्ता गरेका हुन् ।

    ११ वर्षअघि ‘प्रणय एल्बमका चार गीत तयार गर्दा गायक खरेल र कम्पनीबीच रोयल्टी लगायतका हिसाब किताबमा सम्झौता भएको थियो । गीत निर्माणमा सबै लगानी खरेलको थियो भने कम्पनीले उनलाई २ लाख १० हजार रुपैयाँ दिएको थियो । केही समयअघि कम्पनीले गीतको कपिराइट आफ्नो नाममा रहेको भन्दै कम्पनी रजिष्टारमा उजुरी दिएको थियो । गायक खरेलले राष्ट्रिय तथा अन्तराष्ट्रिय मंचमा गाइरहेको आरोप सहित १ करोड क्षतिपूर्ति मागिएको थियो ।

    तर, प्रस्तोता नेपाल समाजले कपिराइट स्रष्टाको हुने भन्दै कम्पनीविरुद्ध विज्ञप्ती जारी ग¥यो । लगत्तै कम्पनीका प्रमुख सुवास रेग्मीले सामाजिक संजालमै संगीतकर्मीविरुद्ध आक्रोश पोखे । विवाद चर्कँदै गएपछि संगीतकर्मीले प्रहरी गुहारेका हुन् । प्रहरीले तथ्य र प्रमाण सहि भन्दै उजुरी दर्ता गरेको संगीतकार संघका संरक्षक लक्ष्मण शेषले बताए ।

    ‘अहिले त पाँचवर्षको सम्झौता ११ वर्ष पुगिसक्यो । बाँकी ६ वर्षको आम्दानी र रोयल्टी पनि मलाई कम्पनीले दिनुपर्छ । यसका लागि म अदालत जान तयार छु’ खरेलले भने । तर, विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुवास रेग्मीले अदालतबाट प्रमाणित गरेर ल्याउन चुनौति दिएका छन् । ‘प्रचलित कानुन र प्रतिलिपि अधिकार ऐनले निर्मातालाई गायक जत्तिको अधिकार धनी पनि भन्दैन कुरा अदालतबाट प्रमाणित गरेर ल्याउनूस’ रेग्मीले भने ।

    संगीतकार संघका संरक्षण शेषले चाहिँ स्रष्टाको बौद्धिक सम्पत्ति उसको अधिकारको विषय भएको बताए । ‘स्रष्टाको अधिकारलाई जसले कुण्ठित बनाउँछ, उसले कानुनअनुसार सजाय भोग्न तयार रहनुपर्छ’ उनले भने । शिव परियार, राजेशपायल राई, सत्यराज आचार्य, इन्दिरा जोशी, अर्जुन पोखरेल, कमल खत्री, रामकृष्ण ढकाललगायतले हस्ताक्षर गरेका छन् ।