काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको सेनापतिको कार्यकाल १ हजार दिन पुरा भएको अवसरमा जंगी अड्डामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा “सेना कमाण्डका १ हजार दिन” नामक डकुमेन्ट्री प्रदर्शनी गरिएको नेपाली सेनाले जनाएको छ ।

त्यसै अवसरमा प्रधानसेनापती थापाले नेपाली सेनाको नयाँ निर्माण भएको झण्डाको झण्डोत्तोलन र नेपाली सेनाको नयाँ कमाण्ड संरचना अनुसारका कमाण्डको झण्डा तथा आदर्श वाक्य प्रयोगमा ल्याएका थिए भने दुई जना रथीबाट गएको १ हजार दिनमा भएका उपलब्धीको समिक्षात्मक प्रस्तुतीकरण गरिएको थियो ।

‘फौजको प्रश्न सेनापतिलाई कार्यक्रम’ को दौरान महारथी थापाले सबै दर्जाबाट राखिएका जिज्ञासाको सम्बोधन, केन्द्रीय तहबाट संचालन भएका युद्धकार्य तथा पेशागत प्रतियोगितामा उत्कृष्ट हुने पृतना तथा बाहिनीलाई पुरस्कार प्रदान, ‘१ हजार दिन परिवर्तनका पहलकदमी’ शिर्षकको पुस्तक तथा सिपाही पाक्षिक अतिरिक्ताङ्कको विमोचन तथा प्रत्यक्ष प्रसारण मार्फत नेपाली सेनाको सम्पूर्ण युनिटलाई विशेष सम्बोधन समेत गरेका थिए ।
यसै अवसरमा महारथी थापाले जङ्गी अड्डा हाताभित्र रहेको पृथ्वी नारायण शाह अनुसन्धान केन्द्र को प्राङ्गणमा नवनिर्मित राष्ट्र निर्माता पृथ्वी नारायण शाहको पूर्णकदको शालिक अनावरण गरेका थिए भने वहुपयोगी बिरुवाको वृक्षारोपण समेत गरेका थिए । उक्त कार्यक्रमको निरन्तरता स्वरुप आयोजना गरिएको “पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम” को अवसरमा महारथी थापाले विभिन्न संचार माध्यममा आबद्ध संचारकर्मीसँग अन्तरक्रिया तथा उनिहरुको जिज्ञासालाई समेत सम्बोधन गरेका थिए ।




