Tag: प्रधानमन्त्री रोजगार कार्यक्रम

  • प्रधानमन्त्री रोजगार कार्यक्रमः श्रमिकको ज्याला बढ्यो, बिमा अनिवार्य

    प्रधानमन्त्री रोजगार कार्यक्रमः श्रमिकको ज्याला बढ्यो, बिमा अनिवार्य

    काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा पुस ३० गते बसेको मन्त्रीपरिषद् बैठकले निर्देशिका संसोधन प्रस्ताव स्वीकृत गरेको श्रम, राेजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल प्रेसलाइ जानकारी दिए ।

    कार्यक्रम सञ्चालन निर्देशिका संशोधन स्वीकृति भएसँगै कार्यक्रममार्फत सञ्चालित योजनामा काम गर्ने श्रमिकले पाउने पारिश्रमिक बढेको छ भने सबै श्रमिकको बिमा अनिवार्य भएको छ । स्वीकृति भएको निर्देशिकमा केही नयाँ प्रावधान थपिएको मन्त्रालयका प्रवक्ताको जिम्मेवारीमा रहेका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक डण्डुराज घिमिरेले बताए ।

    उनका अनुसार मन्त्रालयले श्रमिकको दैनिक ज्याला कम्तिमा पाँच सय ७७ रुपैयाँ हुनेछ । गत साउनबाट सरकारले बढाएको न्यूनतम ज्यालाको दरअनुसार नै कार्यक्रममा आवद्ध श्रमिकको ज्यालादर निर्धारण गरिएको हो । ‘पारिश्रमिक कम भएको गुनासो आएकाले हामीले बढाउने प्रस्ताव गरेका थियौं, सोहीअनुसार निर्णय भएको छ’, उनले भने ।

    यसअघि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तरगत सञ्चालित योजनामा बेरोजगार युवाले दैनिक रुपमा पाँच सय १७ रुपैयाँ ज्याला पाउँदै आएका थिए ।

    पाँच लाखको सामूहिक दुर्घटना बिमा

    सरकारले कार्यक्रमअन्तर्गतमा आवद्ध श्रमिकको पाँच लाख रुपैयाँको सामूहिक कार्यस्थल दुर्घटना बिमाको व्यवस्था पनि गरेको छ । सहसचिव घिमिरेका अनुसार रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएकामध्ये रोजगारीमा खटिने दुई लाख श्रमिकको काममा खटिएका एक सय दिनको सामूहिक कार्यस्थल दुर्घटना बिमा लागू हुनेछ ।

    निर्देशिका अनुसार श्रमिकको बढेको ज्याला र बिमा संशोधित निर्देशिका राजपत्रमा प्रकाशित भएकै दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिमाका लागि चालू आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ ।

    रोजगार संयोजक हटाइने

    संशोधित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ अनुसार काम नै नगरेर जागिर मात्र खाएर बस्ने रोजगार संयोजकलाई हटाइनेछ । रोजगार संयोजकलाई स्थानीय तहले कार्यसम्पादन मूल्यांकनका आधारमा हटाइने नयाँ व्यवस्था थप गरिएको सहसचिव घिमिरेले जानकारी दिए । यसअघि निर्देशिकामा रोजगार संयोजकको कार्यसम्पादन मूल्यांकन गर्ने तथा हटाउने व्यवस्था गरिएको थिएन ।

    विवरण नराख्ने स्थानीय तहको अनुदान रोक्का वा कटौती गरिने

    रोजगार व्यवस्थापन सूचना प्रणालीमा कार्य प्रगति विवरण नराख्ने स्थानीय तहलाई पठाइने प्रधानमन्त्री रोजगार कार्यक्रमको सशर्त अनुदान रकम रोक्का वा कटौती गर्न सकिने व्यवस्था पनि थपिएको छ । मन्त्रालयका अनुसार यस वर्ष रोजगार व्यवस्थापन सूचना प्रणालीमा देशभरबाट सात लाख आठ हजार ४२ युवा बेरोजगार सूचीमा सूचीकृत भएका छन् । यो संख्या गत वर्ष नै प्रधानमन्त्री रोजगारका कार्यक्रममा आबद्ध हुनका लागि आवेदन दिएका बेरोजगारको हो ।

    चालू आर्थिक वर्षमा रोजगार कार्यक्रमका लागि सरकारले १२ अर्ब तीन करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अहिलेसम्म ३२ करोड ९३ लाख ९८ हजार ६ सय २९ रुपैयाँ मात्रै खर्च भएको छ ।

    कार्यक्रममार्फत यस वर्ष न्यूनतम दुई लाख युवालाई एक सय दिनको रोजगारी दिने राष्ट्रिय लक्ष्य लिएको छ । प्रणालीकै तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ हजार ५ सय ८५ जनाले दुई लाख ९२ हजार दुई सय तीन दिन यस कार्यक्रममार्फत् रोजगारी प्राप्त गरेका छन् । यसअनुसार एक जनाले अनुपातमा ४४ दिन रोजगारी प्राप्त गर्ने गरेको छ ।

    मुलुकभरका सात सय ५३ मध्ये ५ सय २७ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालित छ ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम अघि सारेका हुन् । बेरोजगारलाई वर्षमा कम्तिमा पनि सय दिन दिन रोजगारी दिने यो कार्यक्रम २०७५ सालदेखि सञ्चालित छ ।

  • प्रधानमन्त्री रोजगार कार्यक्रम: पूरा भएन सरकारी लक्ष्य, वर्षमा एक लाख ७० हजारले पाए काम

    प्रधानमन्त्री रोजगार कार्यक्रम: पूरा भएन सरकारी लक्ष्य, वर्षमा एक लाख ७० हजारले पाए काम

    काठमाडौं । गत आर्थिक वर्षमा दुई लाख युवालाई कम्तिमा एक सय दिनको रोजगारी दिने सरकारको लक्ष्य पूरा हुन सकेन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाका अनुसार तोकिएको लक्ष्यको ८४ दशमलव ८६ प्रतिशत मात्र सफलता हाँसिल भएको छ ।

    महाशाखाका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत मुलुकभरमा दुई लाख युवालाई कम्तिमा पनि एक सय दिन रोजगारी दिने बजेटमार्फत नै घोषणा गरिएको थियो । तर घोषणा गरिएको भन्दा १५ दशमलव १३ प्रतिशतले कम अर्थात एक लाख ६९ हजार सात सय २५ युवाले रोजगारी पाए ।

    गत वर्ष सात लाख ५२ हजार नौ सय ७० जना बेरोजगारको सूचीमा सूचीकरण भएका थिए । जसमा चार लाख ३४ हजार पुरुष र तीन लाख १८ हजार दुई सय एक जना महिला तथा एक सय ४१ लैंगिक तथा अल्पसंख्यक थिए ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेका अनुसार एक वर्षको अवधिमा एक लाख ६९ हजार सात सय २५ रोजगारीमा संलग्न भएका थिए । उनीहरुले मुलुकभर सञ्चालित १६ हजार दुई सय ९७ आयोजनामा औसतमा ७० दिन रोजगारी पाएको निर्देशक घिमिरेले बताए ।

    ५४ प्रतिशत रकम ज्यालास्वरुप वितरण

    सरकारले गत वर्ष दुई लाख युवालाई न्यूनतम एक सय दिन रोजगारी दिने राष्ट्रिय लक्ष्यसहित १० अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको थियो । जसमध्येबाट १० अर्ब २४ करोड ११ लाख एक हजार दुई सय १५ रुपैयाँ सबै आयोजनामा प्रविष्ट भएको हो ।

    अहिलेसम्म पाँच अर्ब ६८ करोड ५७ लाख ३४ हजार चार सय १२ रुपैयाँ मात्र ज्यालास्वरुप वितरण भएको प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाले जनाएको छ । विनियोजन भएको बजेटबाट ५४ प्रतिशत मात्र रकम ज्यालामा वितरण भएको पाइएको छ ।

    सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ३६ हजार भन्दा बढीले ७४ दिन रोजगारी पाए ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाका अनुसार सात वटै प्रदेशमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तहमध्ये ८५ स्थानीय तहका दुई हजार पाँच सय ६५ आयोजनामा ३६ हजार दुई सय ३३ जनाले २६ लाख ९५ हजार आठ सय ४६ दिन अर्थात प्रतिव्यक्तिले औसतमा ७४ दिन रोजगारी पाएका छन् ।

    दोस्रोमा प्रदेश एकका एक सय ३७ स्थानीय तहमध्ये एक सय ३५ स्थानीय तहमा सञ्चालित दुई हजार आठ सय ३६ आयोजनामा २६ हजार नौ सय ४१ जनाले १९ लाख ६१ हजार एक सय ९३ दिन अर्थात प्रतिव्यक्तिले औसतमा एक जनाले ७३ दिन रोजगारी पाएका छन् । तेस्रोमा कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ७५ स्थानीय तहमा सञ्चालित दुई हजार २८ आयोजनामा २७ हजार पाँच सय ३६ जनाले १९ लाख ८८ हजार २३ दिन औषतमा प्रतिव्यक्तिले ७२ दिन रोजगारी पाएका छन् ।

    लुम्बिनी प्रदेशका एक सय नौ स्थानीय तहमध्ये एक सय सात स्थानीय तहमा सञ्चालित दुई हजार आठ सय ३४ आयोजनामा २६ हजार एक सय ३६ जनाले १८ लाख ९५ हजार छ सय ९५ दिन औसतमा प्रतिव्यक्तिले ७३ दिन रोजगारी पाएका छन् । वागमती प्रदेशका एक सय १९ स्थानीय तहमध्ये एक सय १२ स्थानीय तहमा सञ्चालित दुई हजार छ सय ४२ आयोजनामा २४ हजार नौ सय नौ जनाले १७ लाख एक हजार एक सय ३५ औसतमा प्रतिव्यक्तिले ६८ दिन रोजगारी पाएका छन् ।

    गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ८१ स्थानीय तहमा सञ्चालित एक हजार छ सय ५२ आयोजनामा १४ हजार १७ जनाले नौ लाख ८६ हजार नौ सय चार दिन अर्थात औसतमा प्रतिव्यक्तिले ७० दिन रोजगारी पाएका छन् ।

    सबैभन्दा कम प्रदेश दुईका एक सय ३६ स्थानीय तहमध्ये एक सय ११ स्थानीय तहमा सञ्चालित एक हजार सात सय ४० आयोजनाबाट १३ हजार नौ सय ५३ जनाले छ लाख ३८ हजार नौ सय ५६ दिन अर्थात औसतमा प्रतिव्यक्तिले ४६ दिन रोजगारी पाएका छन् ।

    ४७ स्थानीय तहले विवरण उपलब्ध गराएनन्

    ४७ स्थानीय तहले विवरण नै उपलब्ध नगराएको प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैभन्दा बढी प्रदेश दुईका २५ स्थानीय तहले विवरण उपलब्ध गराएका छैनन् ।

    यस्तै बागमती प्रदेशका सात, गण्डकी प्रदेश, कर्णाली प्रदेशका चार–चार, सुदूरपश्चिम प्रदेशका तीन, प्रदेश एक र लुम्बिनी प्रदेशका दुई–दुई स्थानीय तहले विवरण उपलब्ध गराएका छैनन् ।

    १० स्थानीय तहले कार्यक्रम नै सञ्चालन गरेनन्

    सरकारले सबै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्नका लागि पहिलो चरणमा बजेट पठाए पनि सबै स्थानीय तहले भने कार्यक्रम सञ्चालन गर्न सकेनन् । महाशाखाको तथ्यांक अनुसार सात सय ५३ स्थानीय तहमध्ये १० स्थानीय तहले कार्यक्रम सञ्चालन नै गरेनन् । तर कुन स्थानीय तहले कार्यक्रम सञ्चालन नगरेका हुन् भन्ने बारेमा प्रधानमन्त्री रोजगार कार्यक्रमले जानकारी गराएको छैन ।

    सबैभन्दा बढी सडक यातायातका आयोजना सञ्चालन

    प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाका अनुसार कार्यक्रम अन्तरगत १६ हजार दुई सय ९७ वटा आयोजना सञ्चालन भएकोमा सबैभन्दा बढी सात हजार सात सय सडक यातायातका आयोजना सञ्चालन भएका छन् । दोस्रोमा सामुदायिक पूर्वाधारका दुई हजार नौ सय ६८ आयोजना सञ्चालन भएका छन् ।

    खर्च गर्न बाँकी रकम तत्काल फिर्ता गर्न स्थानीय तहलाई परिपत्र

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाले आर्थिक वर्षको अन्त्यमा स्वीकृत कार्यक्रम अनुसार खर्च हुन नसकेको बाँकी रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत मन्त्रालयको कार्यक्रम महाशाखाको खातामा अनिवार्य फिर्ता गर्न दोस्रो पटक आग्रह गरेको छ ।

  • प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत परियोजना तर्जुमा तथा व्यवस्थापन तालिम हुँदै

    प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत परियोजना तर्जुमा तथा व्यवस्थापन तालिम हुँदै

    काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत परियोजना तर्जुमा तथा व्यवस्थापन तालिम सुरु भएको छ । आजबाट १० दिनसम्म यो तालिम सञ्चालन हुने छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) ७ सय ५३ रोजगार सेवा केन्द्रका १ हजार ५०६ स्थानीय कर्मचारीहरूको लागि परियोजना तर्जुमा तथा व्यवस्थापन बारेमा १ दिनको क्षमता अभिवृद्धि प्रशिक्षण आयोजना गरिने भएको हो । अनलाइनबाट ठाउँ अनुसार तालिम भने १० दिन सञ्चालन हुने छ ।

    पीएमईपीद्वारा आयोजित सो कार्यक्रम आइएलओको सहकार्यमा ग्लोकल आफ्टर स्कुल, ग्लोकल प्रा ली को एकाइ मार्फत सन्चालन सुरु भएको हो । पीएमईपीको कार्यक्रम मुलुकमा सफल पार्नका लागि प्रत्येक स्थानीय स्तरमा १ रोजगार संयोजक र १ प्राविधिक सहयोगी कार्यरत छन् ।

    रोजगार सेवा केन्द्रका कर्मचारीहरुलाई प्रोजेक्ट साइकल व्यवस्थापनमा सम्बन्धि क्षमता अभिवृदि तालिम आयोजन भएको हो ।

    ७ सय ५३ रोजगार सेवा केन्द्रहरुका स्थानीय कर्मचारीहरुलाई परिणाममा आधारित व्यवस्थापन आधारभूत र संचारको सिद्धान्तबारे तालिम दिने लक्ष्यका साथ, ग्लोकलले कुल १ हजार ५०६ जना कर्मचारीहरुलाई दैनिक ४ समुहमा बिभाजन गरी १० दिन सम्म तालिम सन्चालन गर्नेछ । जुलाई २० देखि २९ सम्म हरेक समुहले ६ घण्टाको विस्तृत तालिम एवम प्रशिक्षन पाउनेछन ।

    उक्त तालिममा परियोजना चक्रको परिचय, प्रोजेक्ट डिजाइन र व्यवस्थापन, अनुगमन र मूल्यांकनका लागि प्रविधिहरू, सार्वजनिक रोजगार कार्यक्रमहरू, सिकाई र अनुभवहरू, रोजगार सेवा केन्द्रहरूद्वारा प्रभावकारी सेवा वितरण लगायतका बिषयहरु समावेश गरिनेछ ।

    यस प्रधानमन्त्री रोजगार कार्यक्रमलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना र आईएलओको सहयोगमा ग्लोकल प्रा।लि। को एक एकाइ, ग्लोकल आफ्टर स्कुलले प्रशिक्षण कार्यान्वयन पार्टनरका रुपमा काम गर्ने भएको छ ।

  • ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ निरन्तर प्राथमिकतामा, तर कति घट्यो बेरोजगारी ?

    ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ निरन्तर प्राथमिकतामा, तर कति घट्यो बेरोजगारी ?

    काठमाडौं । तीन वर्षदेखि सरकारले बजेटमा महत्वका साथ समावेश गरेको कार्यक्रम हो- प्रधानमन्त्री रोजगार कार्यक्रम । विज्ञहरूले आलोचना गर्दै आए पनि सरकार देशमा बेरोजगारी समस्या हल गर्न यही कार्यक्रममा निर्भर रहँदै आएको छ ।

    २०७५ सालमा प्रधानमन्त्री रोजगार कार्यक्रमको भव्य उद्घाटन गरिएको थियो । त्यसयताका तीन वर्ष लगातार यसमा बजेट थपिँदै आएको छ । आर्थिक वर्ष २०७८/७९ मा पनि यस कार्यक्रमका लागि सरकारले १२ अर्ब रुपैयाँ विनियोजन गरको छ ।

    गत वर्षको बजेटभन्दा यो ४० करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्ष सरकारले ११ अर्ब ६० करोड रुपैयाँ छुट्याएको थियो ।

    ‘सबैका लागि रोजगार : संवैधानिक अधिकार’ नारासहितको यो कार्यक्रम श्रमिकलक्षित भए पनि यसले सोचेजस्तो उपलब्धि हासिल गर्न भने सकेको देखिँदैन । सरकारले विगत तीन वर्षयता यस कार्यक्रममा २८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । वर्षेनी २ लाख बढीलाई रोजगारी दिने प्रतिवद्धता पनि जनाइएको भए व्यवहारमा यो कार्यक्रमको प्रभावकारीता न्यून छ ।

    ‘प्रधानमन्त्री रोजगार’ कार्यक्रम अन्तर्गत अहिलेसम्म ११ लाख २३ हजार ५ सय ३९ जना बेरोजगार सूचिकृत भएका छन् । उनीहरूमध्ये अहिलेसम्म २ लाख ८ हजार ३ सय ८८ जनाले रोजगारी पाएको सरकारको दाबी छ । तर, यो केवल आंशिक रोजगारी मात्र हो । यही पनि सरकारको लक्ष्य बमोजिम छैन ।

    रोजगारी पाएका भनिएका श्रमिकले वर्षभरिमा १९ दिन मात्र काम गरेका छन् । जबकि सरकारले वार्षिक न्यूनतम एक सय दिन काममा लगाउनुपर्ने जनाएको छ । ‘प्रधानमन्त्री रोजगार कार्यक्रममा अहिलेसम्म २ अर्ब १७ करोड रुपैयाँ श्रमिक ज्यालाका रुपमा खर्च भएको छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्य बमोजिम प्रभावकारिता छैन । सरकारले संघ, प्रदेश र स्थानीय तहमा सञ्चालन हुने सडक, सिँचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षरोपणलगायतका कार्यक्रममा श्रमिक खटाउने भनेको छ । तर, रोजगारीका नाममा झार उखेल्ने, नाली सफा गर्ने मामूली काममा कामदार खटाइएको आरोप लाग्दै आएको छ ।

    यस कार्यक्रमका लागि कार्यविधि एउटा भए पनि स्थानीय तहले कार्यविधि मिचेर नै धेरै काम गरेका छन् । उदाहरणका लागि सरकारले रोजगार कार्यक्रममा बढीमा ५ लाखको योजना छनोट गर्न स्थानीय तहलाई भनेको छ । र, त्यसको २५ प्रतिशतमात्र रकम निर्माण र सुरक्षा सामग्रीमा खर्च गर्न सकिने उल्लेख छ । तर, स्थानीय तहले २५ प्रतिशत बजेट नै हेलमेट, ज्याकेट, बुट, साबेल, हँसियालगायतका उपकरण किन्नमा नै खर्च गरेका छन् ।

    ‘प्रधानमन्त्री रोजगार’ कार्यक्रम ल्याउनु राम्रो भए पनि श्रमसँग सम्बन्धित विज्ञसँग बृहत छलफल नगरी सिंहदरबारको कोठाबाट रुपरेखा बनाइएकाले सफल हुन नसकेको बताउँछन् अर्थविद् केशव आचार्य । उनका अनुसार अहिले रोजगारी नपाएर युवा विदेशीएको बेलामा युवालाई विदेश जानबाट रोक्नका लागि यो कार्यक्रम अति नै उपयोगी हुने थियो ।

    र, कुनै गृहकार्यविना नै कार्यक्रम ल्याएकाले अपेक्षित सफल भएको छैन ।

    ‘कसरी रोजगार सिर्जना गर्ने, कसरी त्यसको व्यवस्थापन गर्ने, कुन वर्गलाई रोजगारी दिने आदि कुरालाई समेटेर कार्यविधि बनाएको भए हुन्थ्यो, त्यसो हुन सकेको छैन,’ उनी भन्छन् । नेपालमा पहिलै ‘युवा स्वरोजगार’ कार्यक्रम सफल नभइरहेको अवस्थामा ‘प्रधानमन्त्री रोजगार’ कार्यक्रम ल्याउँदा धेरै ध्यान पुर्‍याउन आवश्यक रहेको आचार्यको भनाइ छ ।

    ‘यहाँ त स्थानीय तहले रोजगार दिन मन लागे दिन्छन् मन नलागे दिदैंनन् । त्यसरी पनि काम सफल हुन्छ ?’ उनी प्रश्न गर्छन् । भारतको ‘माहात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार योजना’ को उदाहरण उनले दिए ।

    ‘त्यो कार्यक्रम अहिले भारतको सफल रोजगार योजनामा पर्छ । सन् २००५ मा ल्याइएको यो योजना सरकारले ऐन नियमावली नै बनाएर लागू गरेको छ । अत्यन्त पारदर्शी ढंगले कार्यक्रम सञ्चालन गरिएको छ,’ आचार्यले भने ।

    प्रधानमन्त्री रोजगार कार्यक्रममा पछिल्ला दिनको तथ्याङ्क हेर्ने हो भने आौसत १५/२० दिन मात्र रोजगारी दिइएको देखिन्छ । यो तथ्याङ्कले पनि कार्यक्रम सफल मान्न नसकिने उनको तर्क छ । ‘यो पटक पनि सरकारले कार्यविधमा सुधार नगरी कार्यक्रममा १२ अर्ब रुपैयाँ विनियोजन गर्नु भनेको रोजगार दिएँ भनेर झारा टारेको मात्र हो । यो त भत्ता बाँड्ने प्रवृत्तिभन्दा अरु केही भएन्,’ उनी थप्छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले भने प्रधानमन्त्री रोजगार कार्यक्रमलाई असफल भन्न नमिल्ने दावी गरे । पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण कार्यक्रम प्रभावित बनेको उनको भनाइ छ ।

    नीति-नियम बनाउने कुरामा मात्र मन्त्रालयको संलग्नता रहने भन्दै काफ्लेले कार्यक्रम लागू गर्ने कुरा स्थानीय निकायको जिम्मेवारी भएको तर्कसमेत गरे ।  ‘स्थानीय तहमा कसरी काम भइरहेको छ भनेर अहिलेको अवस्थामा हेर्न सकिएको छैन,’ उनले भने, ‘कोभिडको असर सकिनसाथ यो कार्यक्रमले पनि राम्रो गति लिन सक्ला ।’

    हरेक कार्यक्रम आएपछि समयसापेक्ष त्यसमा परिमार्जन जान सकिने काफ्लेको भनाइ छ ।

  • बेरोजगार व्यक्तिको विवरण सबै स्थानीय तहले बैशाख १५ गतेसम्म पठाइसक्नुपर्ने

    बेरोजगार व्यक्तिको विवरण सबै स्थानीय तहले बैशाख १५ गतेसम्म पठाइसक्नुपर्ने

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९ मा बेरोजगार व्यक्तिको विवरण पठाउने समयसिमा बैशाख १५ गतेसम्मका लागि थप गरेको छ । आगामी आर्थिक वर्षमा न्यूनतम रोजगारीमा खटिने बेरोजगार व्यक्तिको सूचिकरण २०७७ चैत मसान्तसम्म रोजगार व्यवस्थापन सूचना प्रणाली अर्थात इएमआइएसमा प्रविष्ट गर्ने व्यवस्था रहे पनि स्थानीय तहले म्याद थप गर्न आग्रह गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलयले बैशाख १५ गतेसम्म १५ दिन समय थप गरेको हो ।

    बैशाख ७ गतेको मन्त्री स्तरीय बैठकले यस्तो निर्णय गरेकाले तोकिएको समयभित्र इएमआइएस प्रणालीमा प्रविष्ट गर्न स्थानीय तहलाई आग्रह गरिएको मन्त्रालय अन्तरगतको प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार इएमआइएसमा प्रविष्ट भएको संख्याको आधारमा आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट बिनियोजन हुने छ ।

  • प्राथमिकतामा सडक निर्माण, ५२ हजारले पाए रोजगारी

    प्राथमिकतामा सडक निर्माण, ५२ हजारले पाए रोजगारी

    काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमको प्राथमिकतामा सडक निर्माणका आयोजना परेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांकअनुसार स्थानीय तहले कार्यक्रम सञ्चालनका लागि छनोट गरेका आयोजनामध्ये सडक निर्माणका आयोजना प्राथमिकतामा परेको हो ।

    स्थानीय तहले पठाएका सात हजार आठ सय २७ आयोजनामध्ये ४५ प्रतिशत अर्थात तीन हजार पाँच सय ६९ आयोजना सडक-यातायातका परेका मन्त्रालयका सहसचिव एवम् प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार सामुदायिक पूर्वाधार निर्माणका २० प्रतिशत अर्थात् एक हजार ६ सय ५९ आयोजना छानोट भएका छन् । मन्त्रालयका अनुसार सामुदायिक पूर्वाधार विकास आयोजनाअन्तर्गत सामुदायिक विद्यालय, बाल विकास केन्द्र, खेल मैदान, मठ–मन्दिरलगायतको निर्माण पर्छ ।

    त्यसपछि उर्जा, सिंचाइ तथा नदी नियन्त्रणका पाँच सय ५७, पर्यटन प्रवद्र्धनका चार सय ५१, खानेपानी तथा सरसफाईका चार सय २८, शिक्षा, युवा तथा खेलकुदका तीन सय ६० आयोजना सञ्चालनमा छन् ।

    यस्तै पुनः निर्माणमा तीन सय दुई, कृषि, सहकारी तथा पशु विकासमा एक सय ५२, वन तथा वातावरणमा एक सय १५, स्वास्थ्यमा ४१, ठूला तथा राष्ट्रिय गौरवका आयोजना, सूचना तथा संचार प्रविधि र उद्योगमा एक÷एक र अन्यमा एक सय ९० आयोजना सञ्चालनमा छन् ।

    चार सय ७३ स्थानीय तहले मात्रै सुरु गरे आयोजना

    कार्यक्रम सञ्चालनका लागि मुलुकभरका ७ सय ५३ वटै स्थानीय तहले आयोजना छनौट गर्नुपर्छ । त्यसका लागि सबै स्थानीय तहलाई संघीय सरकारले तीन चरणमा बजेट पठाइसकेको छ । तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस)मा अहिलेसम्म चार सय ७३ स्थानीय तहले मात्र आयोजना छनोट गरेर सञ्चालन गरेका छन् ।

    सबैभन्दा धेरै आयोजना सुदूरपश्चिममा सञ्चालन, गण्डकी प्रदेश कमजोर

    तथ्यांकअनुसार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ६८ स्थानीय तहले एक हजार पाँच सय १६ आयोजना छनोट गरी आयोजना सञ्चालन गरेका छन् । दोस्रोमा लुम्बिनी प्रदेशका एक सय नौ स्थानीय तहमध्ये ७६ स्थानीय तहले एक हजार चार सय नौ आयोजना छनौट गरेका छन् ।

    प्रदेश एकका एक सय ३७ स्थानीय तहमध्येबाट एक सय एक स्थानीय तहले एक हजार तीन सय ४२, कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ५१ स्थानीय तहले एक हजार दुई सय १३, बागमती प्रदेशका एक सय १९ स्थानीय तहमध्ये ७६ स्थानीय तहले एक हजार ९८, गण्डकी प्रदेशका ८५ स्थानीय तहका ५५ स्थानीय तहले छ सय ३५ र प्रदेश दुइका एक सय ३६ स्थानीय तहमध्ये ४६ स्थानीय तहका पाँच सय दुइ आयोजना छनौट भएर सञ्चालनमा छन् ।

    सात हजार बढी आयोजनामा ५२ हजारले पाए रोजगारी

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको करिब नौ महिनाको अवधिमा स्थानीय तहमा सञ्चालित सात हजार आठ सय २७ वटा आयोजनाबाट ५२ हजार पाँच सय १८ जनाले रोजगारी पाएका छन् । जसमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १३ हजार दुइ सय ७३ जनाले रोजगारी पाएका छन् भने दोस्रोमा प्रदेश एकमा ११ हजार दुई सय ४७ रोजगारी पाएका छन् ।

    त्यस्तै कर्णाली प्रदेशका १० हजार एक सय ७२, लुम्बिनी प्रदेशका सात हजार नौ सय २८, बागमती प्रदेशमा पाँच हजार सात सय ५२, गण्डकी प्रदेशमा तीन हजार एक सय एक र सबैभन्दा कम प्रदेश दुइमा एक हजार ४५ जनाले मात्र रोजगारी पाएका छन् ।

    १०० दिन रोजगारी हुनुपर्नेमा १३ दिन मात्रै !

    मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगार एक जना युवालाई वर्षमा १०० दिन रोजगारी दिइने छ । तर कार्यक्रम सञ्चालनको नौ महिना पुग्न लाग्दा सबै आयोजना सञ्चालन भएको दिन जोड्दा चार लाख एक हजार तीन सय ८५ दिन रोजगारी सञ्चालन भएको छ । यस अवधिमा ५२ हजार पाँच सय १८ जनाले औसतमा १३ दिन रोजगारी पाएका छन् ।

    प्रदेशको हकमा सबैभन्दा धेरै दिन बागमती प्रदेशमा नौ हजार दुइ सय २९ अर्थात प्रति स्थानीय तहमा १२ दिन रोजगारी सञ्चालनमा आएको छ भने दोस्रोमा सुदूरपश्चिम प्रदेशमा एक लाख सात हजार छ सय १९ दिन रोजगारी सञ्चालनमा आए पनि औसतमा भने प्रति स्थानीय तहमा आठ दिन मात्र रोजगारी सञ्चालनमा आएको छ ।

    यस्तै प्रदेश एकमा पनि ९७ हजार नौ सय ४८ दिन रोजगारी सञ्चालन भएकोमा औसतमा प्रति स्थानीय तहमा आठ दिन नै रोजगारी दिइएको छ । लुम्बिनी प्रदेशमा ७२ हजार नौ सय ८६ दिन अर्थात औसतमा नौ दिन, गण्डकी प्रदेशमा २४ हजार पाँच सय ७७ अर्थात औसतमा सात दिन रोजगारी सृजना भएको छ ।

    कर्णाली प्रदेशमा २६ हजार पाँच सय ४४ अर्थात औसतमा दुइ दिन र प्रदेश दुइमा पनि दुइ हजार चार सय ८३ दिन अर्थात औसतमा दुइ दिन प्रत्येक स्थानीय तहमा रोजगारी सञ्चालन भएको छ ।

  • बेरोजगार साढे ७ लाख, रोजगारी पाउने १९ हजार

    बेरोजगार साढे ७ लाख, रोजगारी पाउने १९ हजार

    काठमाडौं । चालु आर्थिकको ७ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७ लाख ४३ हजारले रोजगारीका लागि आवेदन दिए । त्यसमध्ये ४ लाख २७ हजार पुरुष छन् भने ३ लाख १४ हजार महिला छन् । आवेदन दिनेमध्ये १९ हजार १ सय ९२ जनाले मात्रै काम पाएका छन् ।

    सरकारले ११ अर्ब ६० करोड रुपैयाँ बिनियोजन गर्दै यसै वर्ष मात्र थप २ लाख युवालाई न्यूनतम १ सय दिनको रोजगारी दिने घोषणा गरेको थियो । तर कार्यक्रम महाशाखाको तथ्यांक अनुसार ७ महिनामा घोषणा गरेको संख्याको २ प्रतिशत युवाले रोजगारी पाएका छन् ।

    त्यस्तै, विश्व बैंकको सहयोगमा नेपालमा रोजगारीका कार्यक्रम विस्तार गर्न १४ अर्ब रूपैयाँ ऋणसमेत यसै कार्यक्रममा खर्च गर्ने गरी सरकारले सम्झौता गरिसकेको छ । ‘युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना’ नाम गरिएको यो कार्यक्रम पनि यस वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमसँगै जोडेर सञ्चालन गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरले नेपाल प्रेसलाई जानकारी दिए ।

    कार्यक्रमका गतिविधिबारे सरकार नै बेखबर

    कार्यक्रम अहिलेसम्म ७ सय ५३ स्थानीय तहमध्ये कतिमा सुरु भयो भन्नेबारे सरकार नै बेखबर छ । यस अघिका वर्षमा पनि आर्थिक वर्ष सकिनै लाग्दा कार्यक्रम सुरु हुने गरेको थियो । आर्थिक वर्ष सकिनै लाग्दा कार्यक्रम गरेपछि कार्यक्रमको प्रभावकारिता माथि प्रश्न उठ्दै आएको छ । आर्थिक वर्षको अन्तिममा कार्यक्रम सुरु हुँदा सडक, बिद्यालय, पाटी पौवा, मठ मन्दिर सरसफाइ गरेर बजेट सिध्याउने गरिएको आरोप सरकारले खेप्दै आएको छ ।

    यस वर्ष समयमा नै कार्यक्रम सुरु गर्ने योजनासहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्षको सुरुमै कार्यक्रम सञ्चालनका लागि बजेट पठाएको थियो । तै पनि अधिकांश स्थानीय तहमा अझै कार्यक्रम सुरु हुन सकेको छैन ।

    रोजगार कार्यक्रम महाशाखाका अनुसार भने अधिकांश स्थानीय तहले कार्यक्रम सञ्चालन गरिसकेका छन् । यद्यपि, कुन कुन तहमा कसरी काम भइरहेको छ भन्ने महाशाका अधिकारीहरुलाई थाहा छैन ।

    कार्यक्रम महाशाखाका कर्मचारीले भने लक्षित विपन्न बेरोजगार युवालाई न्यूनतम रोजगारी उपलब्ध गराउन आवश्यक बजेट पठाइसकेकाले काम समयमै सकिने दाबी गरिरहेका छन् ।

    दुई लाख विपन्न बेरोजगार युवालाई न्यूनतम १०० दिनको रोजगारी उपलब्ध गराउन १० अर्बभन्दा बढी रकम विनियोेजन गरिसकेकाले समयमै कार्यक्रम सुरु हुने महाशाखाको दाबी छ । महाशाखाका अनुसार ३ चरणमा गरेर ७ सय ५३ स्थानीय तहलाई १० अर्ब ३५ करोड ५६ लाख ६१ हजार रकम पठाइसकिएको छ ।

    कार्यविधिले सूचीकृत बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा १ सय दिनको न्यूनतम रोजगारी दिनुपर्ने व्यवस्था गरेको छ । न्यूनतम रोजगारी दिन नसके त्यस्ता बेरोजगारलाई न्यूनतम पारिश्रमिकको ५० प्रतिशत निर्वाह भत्ता दिनुपर्नेछ ।

    तर, सरकारले यसअघिका वर्षमा सूचीकृत सबै बेरोजगार युवालाई न न्यूनतम रोजगारी दिएको छ न निर्वाह भत्ता नै । यस वर्ष पनि सरकारले सबै सूचीकृत बेरोजगारलाई रोजगारीको दिन नसक्ने जनाइसकेको छ । रोजगारीको सुनिश्चिता गर्न नसकिएका बेरोजगारलाई निर्वाह भत्ता पनि उपलब्ध गराइने छैन ।

    अघिल्ला वर्षका कार्यक्रम पनि प्रभावकारी भएनन्

    कार्यक्रम सुरु गरिएको पहिलो आर्थिक वर्ष २०७५/०७६ मा ५ लाख बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने भन्दै सरकारले ३ अर्ब १० करोड बजेट बिनियोजना गरेको थियो ।

    तर, कार्यक्रममार्फत् करिब १ लाख ६० बेरोजगार युवाले औसत १३ दिनको रोजगारी पाए । सुरु गरिएकै वर्ष कार्यक्रमका नाममा अर्बौ रकम उपलब्धीमूलक क्षेत्रमा खर्च नभएको भन्दै आलोचना भएको थियो ।

    गत आर्थिक वर्ष २०७६-०७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि सरकारले ५ अर्ब १ करोड रुपैयाँ बिनियोजन गरेको थियो । सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेपछि प्रधानमन्त्री रोजगार कार्यक्रम उपलब्धीमूलक हुन नसकेको हो ।

    गत वर्ष ३ लाख ७० हजार ७ सय ३४ जनाले रोजगारीका लागि आवेदन दिएका थिए । विभिन्न स्थानीय तहबाट सञ्चालित ४ हजार ३ सय २ आयोजनामा २ लाख २१ हजार ६ सय १२ घरधुरीबाट १ लाख ५ हजार ६ सय ३४ जनाले १६ लाख ३९ हजार ४ सय दिन रोजगारी पाए ।

    निवेदन दिने बेरोजगारमध्ये साढे २८ प्रतिशतले औसतमा साढे १५ दिन रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रमको वेभसाइटमा उल्लेख छ ।

    दुई साताअघि रोजगार कार्यक्रम महाशाखाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७ सय ५३ वटै स्थानीय तह काम गर्न परिपत्र गरेको छ ।

    माघ २२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णयबाट न्यूनतम रोजगारीमा आवद्व गर्ने लक्षित वर्ग गरिब तथा सामान्य जीवनयापनमा कठिनाइ भएका नागरिक रहेकाले वैयक्तिक तथा पारिवारिक विवरण संकलन गर्दा यथार्थपरक र पूर्ण विवरण संकलन गर्न परिपत्रमार्फत् भनिएको छ ।

     

     

  • २ लाख युवालाई १०० दिनको रोजगारी, स्थानीय तहलाई १० अर्ब भन्दा बढी रकम

    २ लाख युवालाई १०० दिनको रोजगारी, स्थानीय तहलाई १० अर्ब भन्दा बढी रकम

    काठमाडौं । सरकारले स्थानीय तहमा बेरोजगार सूचिकृत २ लाख भन्दा बढी युवालाई रोजगारी दिनका लागि ३ अर्ब भन्दा बढी सशर्त अनुदान रकम स्थानीय तहलाई पठाएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि मुलुकभरका ६ सय ८८ स्थानीय तहलाई ३ अर्ब ४४ करोड ७० लाख सशर्त अनुदान उपलब्ध गराएको हो ।

    पुष ३ गतेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णयबाट सशर्त अनुदान उपलब्ध गराइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मातहत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाले जनाएको छ ।

    सशर्त अनुदान रकम १२ प्रकारका प्रक्रिया पूरा गरी कार्यान्वयन एवं खर्च गर्न मन्त्रालयले ती स्थानीय तहलाई परिपत्रसहित आग्रह गरिएको घिमिरेले बताए ।

    मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये आर्थिक वर्ष २०७७/०७८ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयन गर्न मंसिर १५ गतेसम्म रोजगार व्यवस्थापन सूचना प्रणालीमा बेरोजगार व्यक्तिको विवरण प्रविष्ट गरेको आधारमा ६ सय ८८ स्थानीय तहलाई रकम उपलब्ध गराइएको मन्त्रालयका सह–सचिव एवम प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए ।

    सशर्त अनुदान रकम १२ प्रकारका प्रक्रिया पूरा गरी कार्यान्वयन एवं खर्च गर्न मन्त्रालयले ती स्थानीय तहलाई परिपत्रसहित आग्रह गरिएको घिमिरेले बताए ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाले पुष १३ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको सशर्त अनुदान बाँडफाँडसम्बन्धी पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको थियो ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्दै गर्दा प्रगति विवरण रोजगार व्यवस्थापन सूचना प्रणालीमार्फत नियमित सम्प्रेषण गर्नुपर्ने परिपत्रमा भनिएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पत्र आएलगत्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि ७ सय ३ वटै स्थानीय तहलाई परिपत्र संगै कार्यान्वयन गर्न पनि आग्रह गरिसकेको मन्त्रालयका सह–सचिव एवम प्रवक्ता बसन्त अधिकारीले नेपाल प्रेसलाई बताए ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्दै गर्दा प्रगति विवरण रोजगार व्यवस्थापन सूचना प्रणालीमार्फत नियमित सम्प्रेषण गर्नुपर्ने परिपत्रमा भनिएको छ ।

    ७ सय ५३ मध्ये मंसिर १५ गतेसम्म रोजगार व्यवस्थापन सूचना प्रणालीमा बेरोजगार व्यक्तिको विवरण प्रविष्ट नगर्ने ६५ स्थानीय तहलाई भने यो चरणमा अनुदान रकम नपठाइएको प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक घिमिरेको भनाइ छ ।

    सशर्त अनुदान रकम खर्च गर्दा अपनाउनुपर्ने प्रक्रिया

    १. सशर्त अनुदानको रुपमा हस्तान्तरण हुने रकम ज्यालाका लागि मात्र खर्च पगर्न पाइने भएकाले श्रममूलक आयोजना छनौट र सञ्चालन गर्दा आयोजनाको लागतमा साझेदारी गर्नुपर्ने भएमा स्थानीय कानून बमोजिम आयोजना व्यवस्थापन वा संसोधन गरी आयोजना सञ्चालन गर्नुपर्नेछ ।

    २. रोजगार व्यवस्थापन सूचना प्रणालीमा सुचिकृत बेरोजगार व्यक्तिमध्येबाट प्राथमिकीकरणको सूचि अनुसार क्रमशः रोजगारीमा खटाउनुपर्नेछ । पहिलो प्राथमिकतामा परेका बेरोजगार व्यक्तिलाई १ सय दिनको रोजगारी उपलब्ध गराइसके पछि मात्रै तल्लो प्राथमिकताको बेरोजगार व्यक्तिलाई रोजगारीमा खटाउनुपर्नेछ ।

    ३. सशर्त अनुदानको रुपमा प्राप्त रकम श्रमिकको ज्यालामा मात्रै खर्च गर्नुपर्नेछ । श्रमिकको दैनिक ज्याला भुक्तानी गर्दा चालु आर्थिक वर्षको लागि नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक दर ५ सय १५ रुपैयाँ अनुसार भुक्तानी गर्नुपर्नेछ । सुचिकृत बेरोजगार व्यक्तिलाई लाभग्राही परिचयपत्र जारी गरेर मात्र काममा खटाउनु पर्नेछ ।

    ४. कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७७ को दफा ७ बमोजिम प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रत्येक आयोजनामा अधिकतम बजेट २५ लाख मात्र हुनुपर्नेछ । आयोजना सञ्चालन गर्दा कामका लागि पारिश्रमिकका आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७७ को दफा ४ बमोजिम उल्लेखित क्षेत्रका आयोजना मात्र कार्यान्वयन गर्नुपर्नेछ ।

    ५. कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७७ को दफा ४ उपदफा ३ बमोजिम स्थानीय तहको योजना तर्जुमा प्रक्रिया पूरा गरेका आयोजनलाई क्रमशः कार्यान्वयन गर्दै जानुपर्नेछ ।

    ६. स्थानीय तहले प्रत्येक आयोजनाको लागत अनुमान स्वीकृत गरी कार्यान्वयन गर्नुपर्नेछ । वेरोजगार सूचिकरणको विवरण, श्रमिक समूहको हाजिरी विवरण, भुक्तानी प्राप्त गर्ने श्रमिकको नाम, प्राप्त रकम र खर्चको विवरण सार्वजनिक गर्न पर्नेछ र त्यसको सार्वजनिक परीक्षण गराउनुपर्नेछ ।

    ७. प्रधानमन्त्री रोजगार कार्यक्रमको भौतिक तथा आर्थिक प्रगति प्रतिवेदन रोजगार सूचना व्यवस्थापन प्रणाली मार्फत नियमित रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखामा पठाउनुपर्ने छ । साथै, प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण गराइ त्यसको विवरण समेत महाशाखालाई उपलब्ध गराउनुपर्नेछ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको प्रधानमन्त्री रोजगार कार्यक्रमले पहिलो चरणमा चालू आर्थिक वर्षको साउन १ गते वित्तिय हस्तान्तरण स्वरुप ७ सय ५३ वटै स्थानीय तहका १÷१ सय जना बेरोजगार युवालाई १/१ सय दिनको रोजगारी दिनका लागि ३ अर्ब ९० करोड उपलब्ध गराएको थियो ।

    त्यसपछि दोस्रो चरणमा कात्तिक २५ गते रोजगार सूचना व्यवस्थापन प्रणालीमा १ सय जना भन्दा बढी बेरोजगार युवा सुचिकृत भएको विवरण प्रविष्ट गर्ने ५ सय ६९ स्थानीय तहलाई मात्र ३ अर्ब रुपैयाँ हस्तान्तरण गरेको थियो ।

    यसरी ३ चरणमा गरेर ७ सय ५३ स्थानीय तहलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाले अहिलेसम्म २ लाख ३ सय ३ युवालाई १ सय दिनको रोजगारी दिनका लागि १० अर्ब ३५ करोड ५६ लाख ६१ हजार रुकम हस्तान्तरण गरिसकेको छ ।

     

  • प्रधानमन्त्री रोजगार कार्यक्रमः दुई लाख श्रमिकको सामूहिक बीमा

    प्रधानमन्त्री रोजगार कार्यक्रमः दुई लाख श्रमिकको सामूहिक बीमा

    काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध दुई लाखभन्दा बढी श्रमिकको सामूहिक बीमा गरेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत स्थानीय तहले सञ्चालन गरेको आयोजनामा कार्यरत श्रमिकको सरकारले बीमा गरेको हो ।

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध श्रमिकको बीमा भइसकेको जानकारी गराएको हो ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा सूचीकृत रोजगारीमा खटिने दुई लाख श्रमिकको सामूहिक कार्यस्थल दुर्घटना बीमा सम्बन्धमा पुस १ गते नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच सम्झौता भइसकेको मन्त्रालयका सह–सचिव समेत रहनुभएका प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक सुमन घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि चालु आर्थिक वर्षमा मुलुकभरका ७५३ स्थानीय तहका ७ लाख ७ हजार ३०४ घरधुरीका ७ लाख ४३ हजार ९१ जना बेरोजगार व्यक्ति सूचीकृत भएका छन् ।

    घिमिरेका अनुसार पुस १ गते भएको सम्झौता अनुसार ७ महिना अर्थात् २०७७ पुष १ गतेदेखि २०७८ असार मसान्तसम्मको अवधि कायम रहने गरी रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा सूचीकृत भएकामध्ये रोजगारीमा खटिने दुई लाख श्रमिकको काममा खटाइएको १०० दिन अवधिको मात्र सामूहिक कार्यस्थल दुर्घटना बीमा गरिएको हो ।

    “प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारीमा खटिने श्रमिकको लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडबाट छुट्टै बीमालेख प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रमिक सुरक्षा बीमालेख तयार गरी श्रमिकको सामूहिक बीमाले ७ लाखसम्मको मृतक दुर्घटना बीमा, दुर्घटनाजन्य कारणबाट उत्पन्न अपांगता तथा अशक्तता बीमा र औषधि उपचार बीमा समेतलाई समावेश गरिएको छ”, कार्यक्रमका राष्ट्रिय निर्देशक घिमिरेले भने ।

    उनका अनुसार स्थायी पूर्ण अशक्तता भएमा ७ लाखसम्मको जोखिम बहन बीमालेखमा समावेश गरिएको छ भने बीमा शुल्क वापतको सम्पूर्ण रकम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यहोर्नेछ ।

    बीमा सम्झौताको प्रावधान अनुसार बीमितको बीमा रकमको भुक्तानीको लागि स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रले सहयोग गर्नुपर्नेछ । स्थानीय तह रोजगार सेवा केन्द्रबाट श्रमिक काममा खटाउँदा अनिवार्य रूपमा लाभग्राही परिचय पत्र उपलब्ध गराई, ईएमआईएसमा काममा खटिएको विवरण प्रविष्ट गरेर मात्र बेरोजगार व्यक्तिलाई रोजगारीमा खटाउनुपर्नेछ । बीमितले बीमा रकमको भुक्तानी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय वा शाखा तथा उपशाखा कार्यालयबाट बैंकिङ चेक वा बैंक खातामार्फत समेत लिन सक्ने व्यवस्था मिलाइएको प्रधानमन्त्री रोजगार कार्यक्रम शाखाले जनाएको छ ।

    कति छन् प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध श्रमिक ?

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि चालु आर्थिक वर्षमा मुलुकभरका ७५३ स्थानीय तहका ७ लाख ७ हजार ३०४ घरधुरीका ७ लाख ४३ हजार ९१ जना बेरोजगार व्यक्ति सूचीकृत भएका छन् । जसमा पुरुषको संख्या ४ लाख २७ हजार ८७७ छ भने महिलाको संख्या ३ लाख १४ हजार ३१७ जना र अन्यको संख्या १४२ छ ।

    चालु आर्थिक वर्षमा कति श्रमिकले पाए रोजगारी ?

    मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षका साढे ६ महिनाको अवधिमा स्थानीय तहमा सञ्चालित १ हजार ५२ वटा विभिन्न आयोजनामा २ हजार १११ जना श्रमिकलाई १४ हजार २१९ दिन रोजगारी दिएको छ ।

    चालु आर्थिक वर्षमा दुई लाख श्रमिकलाई वर्षमा १०० दिन रोजगारी दिने भनिए पनि अहिलेसम्म २ हजार १११ जना श्रमिकले औसतमा ६ दिन मात्र रोजगारी पाएका छन् । चालु आर्थिक वर्षमा नै १४३ जना श्रमिकलाई तालिम पनि दिएको जनाइएको छ ।

    गत आर्थिक वर्षमा कति श्रमिकले रोजगारी पाएका थिए ?

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार गत वर्ष ४ लाख ८४६ जना बेरोजगार श्रमिक सूचीकृत भएका थिए । जसमा पुरुषको संख्या २ लाख १५ हजार ३३२ रहेको थियो भने महिलाको संख्या १ लाख ८३ हजार १३१ र अन्य ६७ जना थिए ।

    गत वर्ष २ लाख २१ हजार ८११ घरधुरीका १ लाख ६ हजार २९ जनाले ४ हजार ४०१ आयोजनामा १६ लाख ३९ हजार ४८६ ले रोजगारी पाएका थिए । वर्षमा १०० दिन रोजगारी दिइने कार्यक्रमको उद्देश्य रहे पनि गत वर्ष कोभिड–१९ का कारण औसतमा एक जना श्रमिकले अनुपातमा १५ दिन रोजगारी पाएका थिए । गत वर्ष ६ जना श्रमिकले मात्र तालिम प्राप्त गरेका थिए ।

    अहिलेसम्म कति बजेट गयो स्थानीय तहमा ?

    प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई लाख श्रमिकलाई रोजगारी दिनका लागि तीन चरणमा गरेर १० अर्ब ३४ करोड स्थानीय तहलाई पठाइसकेको छ ।

    जसमा सबैभन्दा पहिले सबै स्थानीय तहलाई १०० जना युवालाई १०० दिनको रोजगारी दिनका लागि प्रति स्थानीय तहलाई ५ लाख १७ हजार अनुदान स्वरुप ७५३ स्थानीय तहलाई रु.३ अर्ब ८९ करोड ३० लाख १० हजार अनुदान उपलब्ध गराएको थियो ।

    रोजगार व्यवस्थापन सूचना प्रणाली ईएमआईएसमा १८४ स्थानीय तहले विवरण प्रविष्ट नगरेपछि कात्तिक २५ गते दोस्रो पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ती स्थानीय तहलाई छोडेर बाँकी ५६९ स्थानीय तहका ५८ हजार २७ जना सूचीकृत भएका बेरोजगार युवालाई १०० दिनको रोजगारी दिनका लागि रु.३ अर्ब अनुदान पठाएको थियो ।

    यस्तै तीन दिनअघि पुस १३ गते तेस्रो पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६६८ स्थानीय तहलाई रु.३ अर्ब ४४ करोड ७० लाख अनुदान उपलब्ध गराएको छ ।