Tag: प्रधानमन्त्री ओली

  • जाँदाजाँदै ओलीले सम्झनलायक काम के-के गरे ? (सूचीसहित)

    जाँदाजाँदै ओलीले सम्झनलायक काम के-के गरे ? (सूचीसहित)

    काठमाडौं । केपी ओलीले पहिलोपटक प्रधानमन्त्रीबाट हट्दै गर्दा संसदमा भनेका थिए, ‘देशी विदेशी मिलेर चक्रव्यूह रचिएको छ तर कलियुगको अभिमन्यूले चक्रव्यूह तोड्नेछ । ..यो नै अन्तिम होइन शुरूआत मात्र हो, हामी फेरि फर्किनेछौं जनताको आदेश लिएर ।’

    ओलीले त्यसबेला चक्रव्यूह तोडेर कलियुगका अभिमन्यूको रूपमा पुनः करिव दुई तिहाईको जनादेशसहित सिंहदरबारमा फर्किए । तर, उनको दोस्रो इनिङ भने शुरूदेखि नै भद्रगोलपूर्ण रह्यो ।

    नगर्नु एकता गरेपछि उनले नेकपा जोगाउन सक्नुपर्थ्यो । प्रचण्ड र माधव नेपालमध्ये एकजनाको साथ लिएको भए उनी बलियो हुन्थे । तर, त्यसो हुन सकेन र नेकपा हुँदै आज एमाले पनि विभाजित अवस्थामा हुँदा एमालेको माधव नेपाल समूहकै कारण उनी सत्ताच्यूत हुन पुगे ।

    केपी ओली आज सर्वोच्च अदालतको परमादेशबाट बिदाई हुँदा चौतर्फी रूपमा उनको विरोधमात्र भइरहेको छैन, उनको पालामा सम्पन्न भएका, थालिएका र तीव्रता लिएका मुलतः विकास निर्माणका कामहरू भने उनी प्रधानमन्त्रीबाट हटेको धेरै वर्षपछि पनि सम्झनयोग्य नै छन् ।

    राजनीतिक रूपमा ओलीको आलोचना गर्ने धेरै ठाउँ होलान् तर ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने उनको एजेण्डा हो, जसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि चीनका राष्ट्रपति सी जिनपिङसम्मले ‘रिकग्नाइज’गरे ।

    केपी ओलीमा ५ वर्षभित्रै केही गरौं, जुन कामले आफूलाई सधै सम्झाइरहोस् भन्ने नै थियो तर त्यस अनुसार उनले आफ्नो पार्टी व्यवस्थापन गरेनन् । एक्लै हिँड्न खोज्दा ओलीले ५ वर्ष शासन चलाउन त पाएनन् नै, सोचेजस्तो काम गर्न पनि सकेनन् ।

    तर, पनि उनले साढे तीन वर्षमा जति काम गरे, राजनीतिक विवादहरूलाई बाहिर राखेर विश्लेषण गर्दा केही सम्झनायोग्य काम गरेका छन् । राजनीतिक रूपमा पृथकतावादी र हिंसात्मक युद्धमा गएका समूहलाई राज्यका मूल प्रवाहमा ल्याउने चुनौतिपूर्ण काममा सफलता पाए ।

    उनको एक्लो प्रयास थियो,सानातिना सशस्त्र समूहलाई पनि हतियारसहित मूल प्रवाहमा ल्याए । मुलुकको नक्साबाट गायब भएको अतिक्रमित भूमि समेटेर राजनीतिक नक्सा जारीमात्र गरेनन्,त्यसकारण भारतसँग उनको सम्बन्ध समेत नराम्ररी बिग्रियो ।

    यसबीचमा ओलीले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको उपस्थिति देखिने र सुनिने बनाएकै हुन् । सार्क सम्मेलन आयोजना हुन सकेन तर विमस्टेक आयोजना गरे । खोप कूटनीतिमा उनले राष्ट्रपतिसमेत लगाएर सफलता पाए । नयाँ सरकारले धेरै मेहनत गर्न नपर्ने गरी खोपको व्यवस्थापन गरेर गएका छन् ओली ।

    यसबीचमा संविधानको पूर्णकार्यान्वयन भएको छ । संविधान जलाएकाहरूलाई पालैपालो सरकारमा ल्याएर ओलीले संविधान सर्वस्वीकार्य बनाएकै हुन् । एसिड आक्रमणकारी र बलात्कारीलाई कडा सजाय दिने कानून ल्याएर उनले सामाजिक न्यायको पक्षमा उल्लेख्य काम गरे ।

    सामाजिक सुरक्षामा उनले प्राथमिकता दिए र ५ वर्षभित्र ५ हजार वृद्धभत्ता पुर्‍याउने घोषणा अनुरूप तेस्रो वर्षमा ४ हजार पुर्‍याए । भुकम्पपछिको पुन:निर्माण लगभग टुंग्याएर गएका छन् ओली ।

    मेलम्ची खानेपानी, माथिल्लो तामाकोशीजस्ता आयोजनाहरूको कामलाई उनले आफ्नो कार्यकालमै टुंग्याउन तदारुकता दिएर सम्भव भयो । देशभरका स्थानीय तहमा १५ शय्याका अस्पताल एकै दिन शिलान्यास भए र सम्भवतः अर्को वर्ष अधिकांश निर्माण हुनेछन् ।

    धेर्रै ठूला पूर्वाधार विकासका आयोजनाहरू ओलीले अघि बढाएका छन् । अब जुन सरकार आए पनि ती आयोजना रोकिन सक्दैनन् ।

    ओलीलाई सम्झाउने केही कामहरु यस्ता छन् ।

  • माधवको अपत्यारिलो दावी र ओलीको टर्रो जवाफ

    माधवको अपत्यारिलो दावी र ओलीको टर्रो जवाफ

    काठमाडौं । एमालेको एकताका लागि वार्तालापहरू चल्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो केही दिन मौन बसे । छिन्नभिन्न बन्न लागेको एमालेलाई एकीकृत बनाउने अन्तिम प्रयासस्वरूप उनले आफूलाई ‘कुलिङ पिरियड’ मा राखेको अनुमान पनि गरियो ।

    तर, आज मदन भण्डारीको जन्मजयन्तीमा डेढ घण्टा लामो सम्वोधन गर्दा ओली जुनरूपमा प्रस्तुत भए, त्यसले एकताको सम्भावना निकै पर धेकेलिएको प्रतीत हुन्छ । कम्तीमा माधव नेपाल र केपी ओली एउटै पार्टीमा अटाउँदैनन् भन्ने प्रष्ट आभास ओलीको अभिव्यक्तिबाट भएको छ ।

    त्यसो त ओली र नेपालबीच पार्टीमा विवाद बढेसँगै तल्लो स्तरको आरोप-प्रत्यारोप चल्दै आएको हो । र पनि नेपाली राजनीतिमा नेताहरूबीच आज बाझाबाझ गर्ने र भोलि गम्लङ्ग अंगालो मार्ने आम प्रवृत्ति छ । त्यसैले माधव नेपाल अन्ततः एमालेमा फर्किन्छन् भनेर नेता-कार्यकर्ताको ठूलो पंति अझसम्म आशावादी थियो । एमालेले महाधिवेशन आयोजक कमिटी भंग गर्ने तयारी गरेको समाचारले पनि उनीहरूमा थप आशाको सञ्चार गरेको थियो । तर, आजको आक्रमक भाषणले ओलीको बेग्लै मनस्थिति देखाएको छ । ओली र नेपाल दुवै पक्षले आदर्श मान्ने पार्टीका भूतपूर्व महासचिव मदनकुमार भण्डारीकै जन्मजयन्तीका दिन एकता पक्षधर पार्टी पंतिमा चिन्ता थपिएको छ ।

    त्यसो त वरिष्ठ नेता नेपालले आफू ओलीसँग मिल्न नसक्ने स्पष्ट संकेत बारम्बार गर्दै आएका हुन् । दुई दिनअघि मात्रै पत्रकार सम्मेलनमा उनले आफूलाई प्रधानमन्त्री पदकै लागि अफर आएको तर आफूले विपक्षी गठवन्धनलाई धोका नदिने बताएका थिए ।

    ओलीबाट प्रधानमन्त्री पदको अफर आएको’ नेपालको अभिव्यक्तिले एमालेको संस्थापन पक्ष तरंगित बनेको थियो । प्रधानमन्त्री पद जोगाउनकै लागि साम दाम दण्ड भेद सबै उपाय लगाइरहेका ओलीले नेपाललाई यस्तो अफर गरेको कुरा पत्यारिलो त थिएन । तर, पनि पार्टी एकताका लागि हदैसम्म लचिलो भएर प्रस्ताव राखी पो हाले कि भन्ने संशय संस्थापनका नेता-कार्यकर्तामा व्याप्त थियो । आजको भाषणबाट ओलीले त्यसलाई चिरिदिएका छन्, त्यो पनि अत्यन्त कठोर भाषामा ।

    ओलीले भने, ‘माधव नेपालजस्तो मान्छेलाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?’

    उनी यतिमा मात्रै रोकिएनन् । उनले नेपाललाई ‘लाजसरम पचेको मान्छे’ को संज्ञासमेत दिए ।

    ‘उनले भने, ‘मान्छे यतिसम्म पनि पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, पार्टी सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हिँड्ने अनि आफूलाई एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजसरम पचेको मान्छे,’ ओलीले भने ।

    मदन भण्डारीको चर्चा गर्ने क्रममा पनि ओलीले नेपालमाथि विभिन्न आरोप लगाए । माधव नेपाल मदन भण्डारीको ‘विरोधी’ भएको उनको परोक्ष दावी थियो । मदन भण्डारीका लेखहरूको संग्रह प्रकाशित गर्दा वाचश्पति देवकोटालाई कारवाही गरेकोदेखि दासढुंगामा दुर्घटना भएको गाडीलाई संग्रहालयमा राख्न नदिएकोसम्म आरोप उनले नेपालमाथि लगाए ।

    ‘अहिले मदनको जन्मजयन्तीमा विज्ञप्ति निकालेर राजनीतिक फाइदा लिन मात्र खोजेका हुन्,’ ओलीले भने ।

    नेपाललाई प्रचण्डको पुच्छरको संज्ञा दिए । नेपाल भविष्यमा प्रचण्डको पार्टीमा मिसिनुको विकल्प नरहेको उनले दावी गरे ।

    निसानामा कांग्रेसदेखि सर्वोच्चसम्म

    ओलीले आजको सम्बोधनमा कसैलाई बाँकी राखेनन् । कांग्रेसलाई उनले प्रचण्डपथमा हिँडेको आरोप लगाए । कांग्रेसका एक प्रदेश सांसदले आफू नाथुराम गोड्से बन्न तयार रहेको भनेर दिएको अभिव्यक्तिलाई ईंगित गर्दै उनले सो आरोप लगाएका थिए ।

    ओलीले भने, ‘नेपाली कांग्रेसका नेताहरू नै नाथुराम गोड्से खोजी गर्ने, भेटिएन भने आफैं हुने भन्ने तहमा पुगेको भनेपछि प्रचण्डपथ नै अँगालेको हो ।’

    कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने उत्कट इच्छाका कारण लोकतान्त्रिक मार्ग छोडेको ओलीले बताए । प्रचण्डको लहैलहैमा लागेर देउवाले पनि सरकारको कदमलाई ‘कु’ र प्रतिगमन भनेको उनले गुनासो गरे ।

    देउवालाई उनले प्रश्न गरे, ‘यदि जनतामा जानु कु हो भने १७ सालको लोकतान्त्रिक अभ्यास थियो ? माघ १९ के थियो ? उहाँलाई लोकतान्त्रिक विधिबाट सत्ता हस्तान्तरण गरिएको थियो ? असोज १८ के थियो ? कु थियो कि थिएन ? त्यतिबेला कु भन्ने शब्द उहाँको मुखबाट आउने हिम्मत किन भएन ?’

    केही जाली-फटाहा टिपेर कृत्रिम र अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री बन्न खोजेको आरोप ओलीले देउवामाथि लगाए ।

    विपक्षी गठवन्धनका अर्का नेता एमाओवादी अध्यक्ष प्रचण्डलाई पनि ओलीले कठोर प्रहार गरे । जनयुद्धकालका जघन्य अपराधहरूलाई खोतल्दै उनले प्रचण्डलाई छेपारोको संज्ञा दिए । गणतन्त्रका लागि जनयुद्ध लडेर बैंक लुटेको, बच्चादेखि वृद्धसम्मको हत्या गरेको र अहिले आएर राष्ट्रपतिभन्दा राजा ठीक भन्न थालेको ओलीको आरोप थियो ।

    ‘कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्ने, कहिले हाम्रा लोकतान्त्रिक छिमेकी देशहरू के हेरेर बसेका छन् किन हस्तक्षेप गर्दैनन् भन्ने, कहिले गणतन्त्र ल्याउने मै हुँ भन्ने र अहिले गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्ने । छेपारोले रंग फेर्छ त ।’

    प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई पनि आलोचनामा ताने । सर्वोच्चमा समेत प्रचण्डपथ प्रवेश गरेको आरोप उनले लगाए ।

    सर्वोच्चमा हालै बहसका क्रममा एक अधिवक्ताले बोलेको विषयलाई उप्काएर प्रधानमन्त्रीले न्यायाधीसहरूमाथि प्रश्न उठाएका थिए ।

    अधिवक्ता रमण श्रेष्ठलाई ईंगित गर्दै उनले भने, ‘प्रचण्डको एउटा कार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीको हत्या गर्ने कुरा गर्दा न्यायमूर्तिहरूले किन रोक्न सक्नुभएन ? हिंसालाई प्रोत्साहन गर्ने काम अदालतमा गर्नु हुन्न अथवा विद्वान अधिवक्ताजी तपाईं आफ्ना मुख सम्हाल्नुस भनेर न्यायमूर्तिहरूले सुझाव पनि राख्न सक्नुहुन्न ? आश्चर्य लाग्छ ।’

    सर्वोच्चले गरेका फैसलाहरूको पनि ओलीले खुलेर आलोचना गरे । कानून एकातर्फ र सर्वोच्चको फैसला अर्कोतर्फ हुन थालेको उनको टिप्पणी थियो ।

    महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटी नमान्ने अदालतको आदेशबारे उनले भने, ‘केन्द्रीय समितिका विभिन्न नाम हुन सक्छन् । जसलाई कार्यकारी अधिकार दिइएको छ, त्यही नै केन्द्रीय समिति हो । यति कुरा पनि बुझिँदैन ?’

    ओलीले फैसला जे आए पनि त्यसलाई स्वीकार्नुको विकल्प नरहेको बताए ।

  • ओलीको टिप्पणी- प्रचण्ड ‘छेपारो’ जस्तो (भिडियाे)

    ओलीको टिप्पणी- प्रचण्ड ‘छेपारो’ जस्तो (भिडियाे)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिद्धान्तको नभइ अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गरेका छन् ।

    लोकतान्त्रिक शासन प्रणालीविरुद्ध नै शसस्त्र युद्ध गरेर ठूलो मानवीय क्षति पुर्‍याएका प्रचण्डले कहिले गणतन्त्र आफूले ल्याएको त कहिले गणतन्त्रभन्दा राजा नै राम्रो भन्दै हिँडेको ओलीले बताए । दाहालले छेपारोले जस्तो गरी स्वार्थ र परिवेश अनुसार धारणा बदल्दै हिँडेको आरोप लगाए ।

    ओलीले भने, ‘प्रचण्डले अस्ति राष्ट्रपति भन्दा त राजै राम्रो के के भने क्यार .. मान्छेले छक्क माने । किन छक्क मान्ने छेपारोले रंग एकएकछिनमा फेर्छ त । खैरो मुढामा गयो भने खैरो खैरो खालको रंग बनाउँछ । अर्को हरियोमा गयो भने हरियो हरियो रंग बनाउँछ । अलि कालो बोक्रो भएको ठाउँमा पुग्यो भने कालोकालो बनाउँछ । छेपारोले रंग फेर्छ त । कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छ कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकीहरू के हेरेर बसेका छन् ? किन हस्तक्षेप गर्देनन् भन्छ । कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छ । कहिले गणतन्त्रभन्दा त राजतन्त्रै राम्रो भन्न पुग्छ । कहिले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गर्छ । ‘

    प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल ‘निलवर्ण संघार’ कथाको पात्रजस्तो चरित्र भएको दावी गरे । प्रचण्डको काम नै देशलाई बर्बाद गर्ने भएको भन्दै उनले प्रचण्डलाई पनि पृथकतावादीलाई राजनीतिको मूलधारमा ल्याएजस्तै लोकतान्त्रिक मार्गलाई ल्याउन जरुरी रहेको बताए ।

     

  • प्रधानमन्त्रीको दावी- नेताहरू अराजक बन्दै छन्, देशको लागि अनिष्ठ भइरहेको छ

    प्रधानमन्त्रीको दावी- नेताहरू अराजक बन्दै छन्, देशको लागि अनिष्ठ भइरहेको छ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ठ हुने काम भइरहेको बताएका छन् ।

    तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको बताए ।

    माधवकुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसको प्रभाव पर्नु स्वभाविक भएको ओलीको टिप्पणी छ । उनले भने, ‘तीनले खाएको सपथ झुटो हो, तीनका सपथ बेइमानी हो । तीनका सपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ । अहिले तीनले खाएका सपथ सम्झनुहोस् त । तीनले कहाँ कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरू हुन्छन् । नेतृत्व तह अनुशासनहीन र अराजकता उत्रिन्छ । सम्मानीय राष्ट्रपतिज्यूकोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । शरम छैन । जब नेतृत्व तह यस्तो हुन्छ माथिबाटै धमिलो पानी बगेपछि तल संग्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भईरहेको छ । यो चिन्ताको विषय छ ।’

    राजनीतिक दल र तीनका नेताहरु अनुशासनहीन, अराजक, पार्टी निर्देशनविपरीत फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्के उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको प्रधानमन्त्री ओलीले बताए ।

    आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलीय अनुशासन, मर्यादा, प्रणाली संसदीय प्रणालीविरुद्ध भएको टिप्पणी गरे ।

    विभिन्न चरणको आन्दोलन र राजनीतिक योगदानका कारण संवैधानिक र कानूनी हिसाबले राज्यका सबै अंगमा महिलाको ३३ प्रतिशत सुनिश्चितताको उपलब्धी प्राप्त भएपनि कतिपयलाई यही उपलब्धि चित्त नबुझेकोप्रति प्रधानमन्त्रीको गुनासो छ ।

  • विपक्षीलाई प्रधानमन्त्रीको जवाफ- न्यायलाई प्रभावित पार्न मोर्चा कस्नुको अर्थ हुँदैन

    विपक्षीलाई प्रधानमन्त्रीको जवाफ- न्यायलाई प्रभावित पार्न मोर्चा कस्नुको अर्थ हुँदैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पछिल्लो कदमविरुद्ध विपक्षी सर्वोच्च अदालत जान लागेकोप्रति टिप्पणी गर्दै यसलाई न्याय प्रभावित पार्न मोर्चा कसेको रूपमा अर्थ्याएका छन् ।

    ओलीले यस्तो मोर्चाबन्दीले न्याय प्रभावित पार्न खोज्नुको कुनै अर्थ समेत नभएको बताए। ‘अब मोर्चा कसेर मुद्दा हाल्ने रे,’ आइतबार पत्रकारहरूसँग बालुवाटारमा आयोजित अन्तरक्रियामा उनले भने, ‘एकजनाले मुद्दा हाले पनि त्यही हो, धेरैले मुद्दा हाले पनि सच्चाइ, सच्चाइ नै हो । न्यायलाई प्रभावित पार्न मोर्चा कस्नुको कुनै अर्थ हुँदैन । न्यायलाई त्यसरी प्रभावित पार्न खोज्नु हुँदैन ।’

    संविधानको धारा ७६ (५) बमोजिम आफूहरूको दावीलाई अस्वीकार गरेको भन्दै विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत अदालतमा जाने तयारी गरिरहेका छन् ।

    ओलीले आफूलाई पहिले विश्वासको मत पाइन्छ भन्ने नलागे पनि तत्कालै घटनाक्रममा परिवर्तन आएपछि प्रधानमन्त्रीको दावी गरेको बताए । ‘मैले अगाडि विश्वास गरेको थिइनँ कि विश्वासको मत पाउँछु भन्ने । तर, कहिलेकाहीँ राजीनामा चाँडै परिवर्तन हुन्छ । परिस्थितिमा तत्कालै परिवर्तन हुन्छ । त्यसै भएपछि मैले हाम्रो १२१ र जसपाको ३२ गरेर १५३ को दावी गरेको हुँ ।’

    वैकल्पिक सरकार बन्न नदिन विपक्षीले फर्जी हस्ताक्षर बुझाएको दावी गर्दै उनले यही कारण राष्ट्रपतिमा अलमल भएको दावी गरे। ‘वैकल्पिक सरकार बन्न नदिनँ उहाँहरूले फर्जी हस्ताक्षरसहितको दुषित कागज राष्ट्रपतिकहाँ पेस गर्नुभयो । दुवैतिर एउटै मान्छेको हस्ताक्षर पुगेपछि राष्ट्रपतिलाई अलमल भयो ।’

    ओलीले संविधानको धारा ७६ (५) मा संसदका कुनै पनि सदस्यले प्रधानमन्त्रीमा दावी गर्न मिल्ने भए पनि त्यहाँ दलीय अनुशासन लागू नहुने भन्ने कुरा गलत भएको बताए । ‘यो दलीय व्यवस्था हो,’ उनले भने, ‘यो व्यक्तिगत नाच नाच्ने व्यवस्था होइन । तर, उहाँहरुले व्याख्या गर्नुभयो- राजनीतिमा अनुशासनहीन र अराजक ‘सोलो डान्स’लाई मान्यता दिनुपर्छ ।’

  • प्रधानमन्त्री ओलीको आरोप- कांग्रेस पनि ‘प्रचण्ड पथ’ मा हिँड्न थाल्यो (भिडियो)

    प्रधानमन्त्री ओलीको आरोप- कांग्रेस पनि ‘प्रचण्ड पथ’ मा हिँड्न थाल्यो (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रलाई हिंसामार्फत सत्ता कब्जा गर्न लागि परेको शक्ति भन्दै नेपाली कांग्रेस पनि त्यसको पछि लागेको बताएका छन् ।

    आइतबार बालुटावारमा प्रेस चौतारीआवद्ध पत्रकारहरूसँगको अन्तरक्रियामा ओलीले कांग्रेस ‘प्रचण्डपथ’ मा हिँडेको समेत टिप्पणी गरे। ‘अहिले त आफूलाई प्रजाततन्त्रवादी भन्ने पार्टी पनि प्रचण्डपथमा हिँडे जस्तो लाग्छ,’ उनले भने, ‘मलाई नेपाली कांग्रेसको बोली सुनेर आश्चार्य लागेको छ । नेपाली कांग्रेस उत्तेजना र आवेशमा प्रचण्ड पथमा लाग्यो ।’

    कांग्रेस नेतृ पुष्पा भुसालले ओलीले गराएको चुनावमा कांग्रेसले भाग नलिने बताएको भन्दै त्यसप्रति आक्रोस पोखे। ओलीले भने, ‘मलाई ताजुब के लाग्यो भने, मैले हिजो पुष्पा भुसालले बोलेको संचार माध्यममा हेरेँ, ‘केपी ओलीले गरेको चुनावमा भाग नलिने रे । कसले गराएको चुनावमा भाग लिने ? यो कुन प्रजातन्त्रको परिभाषाभित्र पर्छ ?’

    ओली माओवादी केन्द्र लोकतान्त्रिक प्राणालीविरुद्ध हिंसामा लागेको र त्यसमा सफल हुने नदेखेपछि चाल बदलेको बताए।

    ‘उहाँहरू हिंसाको बाटोमा हिँड्नु भएको हो,’ उनले भने, ‘उहाँहरू लोकतान्त्रिक प्रणालीका विरुद्ध बलजफ्ती सत्ता कब्जा गर्ने र तानाशाही लाद्ने उद्देश्यले हिंसामा लाग्नु भयो । नसकिने भएपछि पैताला बदल्नु भयो । चाल बदल्नु भयो ।’

  • उपेन्द्रलाई ओलीको जवाफ – माखेसाङ्लो भनेको झिँगाको साङ्लो होइन (भिडियो)

    उपेन्द्रलाई ओलीको जवाफ – माखेसाङ्लो भनेको झिँगाको साङ्लो होइन (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिलाई बंग्याएर छुद्र राजनीतिक प्रचार गरिएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्तावउपर उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले झूठो राजनीति नगर्न र भ्रम नफिँजाउन आग्रह गरे ।

    मधेस आन्दोलनलाई ‘माखे साङ्लो’ भनेको भनी जसपा अध्यक्ष उपेन्द्र यादवले लगाएको आरोपको ओलीले रोष्टमबाटै खण्डन गरे । ‘नेपालको राजनीति माखे साङ्लो जस्तो भयो भनेको थिएँ । मान्छेलाई माखा भन्यो भनेर हल्ला चलाइयो । मैले त्यतिबेलै स्पष्ट पारे । माखेसाङ्लो भनेको झिँगाको साङ्लो होइन । एक प्रकारको यन्त्र हो, त्यो जटिल हुन्छ’, ओलीले भने ।

    उनले आफ्ना अभिव्यक्तिलाई गलत ढंगले व्याख्या गरेर जनतालाई भ्रममा पार्न खोजिएको बताए । ‘अर्कै प्रसंगमा मैले केही आँप झरेर बोट खाली हुँदै भनेको थिएँ । मरेका शहीदलाई दुई/चार आँप झर्‍यो भन्यो भनेर तराईमा झूठो प्रचार गरियो । यस्तो छुद्र राजनीति नगरौं’, ओलीले प्रष्ट्याए ।

    उनले आफूविरुद्ध मिथ्या आरोपको खेती भइरहेको भन्दै सरकारले गरेका कामलाई मजाक नसम्झिन आग्रह समेत गरे ।

  • एमाले नेताहरूसहित प्रधानमन्त्री ओली देउवा निवासमा

    एमाले नेताहरूसहित प्रधानमन्त्री ओली देउवा निवासमा

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवासँग छलफलका लागि देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

    उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर देउवा निवास पुगेका ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बताइएको छ ।

    जेठ ६ गते तय गरिएको वागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेले बादललाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।

    प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकेका छन् । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्षसँग छलफल गरिरहेको छ ।

    प्रधानमन्त्री भएपछि ओली आफैं देउवा निवास पुगेको सम्भवतः पहिलो पटक हो ।

  • प्रधानमन्त्री ओलीले ‘फ्युचर अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्ने, जयशंकर र इमरान खान पनि वक्ता

    प्रधानमन्त्री ओलीले ‘फ्युचर अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्ने, जयशंकर र इमरान खान पनि वक्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ ६ र ७ मा आयोजना हुने ‘एसियाको भविष्य’ विषयक छलफल सत्रलाई भर्चुअलरुपमा सम्बोधन गर्ने भएका छन् ।

    जापानको प्रतिष्ठित मिडिया हाउस निक्केइ इन्कर्पोरेसनले आयोजना गर्ने उक्त सत्रलाई प्रधानमन्त्री ओलीसहित पाकिस्तानी प्रधानमन्त्री इमरान खान, मलेसियाली पुर्बप्रधानमन्त्री महाथिर बिन मोहम्मद, थाइल्यान्डका प्रधानमन्त्री प्रत्युत चान चाले समेत सम्बोधन गर्नेछन् ।

    भारतीय विदेशमन्त्री एस जयशंकर र सिंगापुरका उपप्रधानमन्त्री हेङ स्वी किटसहित अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलका एसिया मामिला हेर्ने पूर्व बरिष्ठ निर्देशक इभान मेडेइरोस समेत वक्ता छन् ।

    आयोजक संस्था निक्केइ इन्कर्पोरेसनले आफ्नो वेबसाइटमा कोभिड महामारीपछि विश्वको पुनर्उत्थानमा एसियाको भूमिकाबारे छलफल केन्द्रित हुने उल्लेख गरेको छ ।

    शान्ति, स्थायित्व र विविधतालाई संरक्षण गर्दै भविष्यमा आउन सक्ने महामारी र अन्तर्राष्ट्रिय मुद्दामा हातेमालो गर्नेबारे छलफल हुने समेत उल्लेख छ । एसियाको भविष्य शीर्षकमा हुने यो २६ औं सम्मेलनका लागि गतवर्ष पनि प्रधानमन्त्री ओलीलाई निम्तो आएको थियो ।

    कोभिडका कारण गतवर्ष हुन नसकेको यो छलफलमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

  • पुनः लकडाउन गर्नुपर्ने स्थिती नआओस्, संक्रमणको गति रोक्नैपर्छ : प्रधानमन्त्री ओली

    पुनः लकडाउन गर्नुपर्ने स्थिती नआओस्, संक्रमणको गति रोक्नैपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको पचपन्नौँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापार घाटा घटाउन उल्लेखनीय सफलता प्राप्त नभए पनि त्यसमा क्रमिक सुधार आएको बताए ।

    मजदूरका समस्या नरहेका बन्द, हडताल सधैँका लागि बन्द भएको र मुलुक आर्थिक विकासका साथै सामाजिक क्षेत्रको विकासका लागि दृढ सङ्कल्पका साथ अघि बढिरहेको बताउँदै मुलुकमा व्यापारको वातावरण बनेकाले ढुक्क भएर औद्योगिक विकासमा लाग्न उद्यमी व्यवसायीलाई आह्वान गरे । उनले भने –“सरकार व्यवसायी, रोजगारदाता र मजदूरहरुबीचको सुमधुर सम्बन्धबाटै औद्योगिक उन्नयन हुने भएकाले समस्या भए समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध छ ।”

    प्रधानमन्त्री ओलीले वैदेशिक लगानीका रुपमा ठूलो धनराशि मुलुकमा भित्रियोस् भन्ने उद्देश्यले सरकारले न्यूनतम वैदेशिक लगानीमा सीमा तोकेको स्पष्ट गर्दै खुद्रा लगानीबाट समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार तुल्याउन कठिन हुने बताए । उनले प्राविधिक र वित्तीय रुपमा सुदृढ उद्योग व्यवसायबाट नै आर्थिक समृद्धिको लक्ष्य हासिल हुने विचार व्यक्त गर्दै देश विकासको बाटोमा अग्रसर हुन उद्योग व्यवसायी मात्र नभई हरेक पेशा र व्यवसायका व्यक्ति अघि बढ्नुपर्नेमा जोड दिए ।

    संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेका दिगो विकासका लक्ष्य हासिल गर्न सरकार लागिपरेको र त्यस निम्ति दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न जरुरी भएको बताउँदै उनले वर्तमान सरकार स्पष्ट दृष्टिकोण र मार्गचित्र तयार गरी अघि बढिरहेको बताए । प्रधानमन्त्रीले देशको औद्योगिक विकासका बाधक, ऐननियम र कानून प्रतिकूल भए तिनलाई समयानुकूल संशोधन र परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गर्दै साझा सङ्कल्पका साथ राष्ट्र निर्माणमा जुट्न आग्रह गरे ।

    उनले रोजगारीका अवसर सृजना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी-व्यवसायीलाई आह्वान गर्दै लगानीकर्तालाई पनि उत्पादकत्व वृद्धिका निम्ति अभिप्रेरित गर्न अनुरोध गरे । “प्रक्रियाको जञ्जालबाट सरलीकरणतर्फ जान जरुरी छ, एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँछौँ, प्रशासनिक झन्झट पनि अन्त्य गर्छौँ”, महासङ्घका अध्यक्ष शेखर गोल्छाले स्वागत मन्तव्यका क्रममा उद्योगी–व्यवसायीले व्यहोर्नुपरेका कठिनाइसम्बन्धी गुनासोको जवाफमा प्रधानमन्त्रीले त्यस्ता व्यवधान चिरेर छाड्ने दृढता व्यक्त गरे ।

    कोरोना भाइरस पुनः प्रकट भएकामा गम्भीर चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सबैलाई सचेत रहन तथा सावधानी अपनाउन आग्रह गरे । “समयमै सचेतना अपनाऔँ, पुनः बन्दाबन्दी गर्नुपर्ने परिस्थिति नआओस्, सङ्क्रमणको गति जसरी पनि रोक्नुपर्छ”, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेका सुरक्षाका उपाय र निर्देशनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै उनले भने ।

    उनले महासङ्घको प्रकाशन ‘राष्ट्रिय आर्थिक रुपान्तरण-२०३०’ पुस्तक सार्वजनिक गर्नाका साथै निर्यात व्यापार, पर्यटन, निर्माण, उत्पादनका क्षेत्रमा योगदान गरेका उद्योगीहरुलाई सम्मान पनि गरे ।

    मुलुकको अर्थतन्त्रमा करीब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सरकारको लक्ष्यलाई हरतरहले साथ दिइरहेको बताउँदै अध्यक्ष गोल्छाले आर्थिक रुपान्तरणका कार्यक्रमहरुलाई कार्यान्वयन गर्न सरकारीस्तरबाट पनि सहयोग हुनुपर्नेमा जोड दिए ।

    अर्थतन्त्रमा २२ प्रतिशत योगदान गरेको र २० लाख जनालाई रोजगारी उपलब्ध गराइरहेको साना तथा मझौला उद्योगका समस्या समाधानका साथै औद्योगिक उन्नयनका निम्ति निजी क्षेत्रले सरकारी सहयोगको अपेक्षा गरेको उनले बताए ।

    महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्वाधानको क्षेत्रमा लगानी बढाउन सके आर्थिक विकासमा टेवा पुग्ने विचार व्यक्त गर्दै अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नुपर्ने बताए । नेपाललाई समुन्नत राष्ट्रमा रुपान्तरण गर्न एक/दुई वर्षको परिश्रमले नपुग्ने भएकाले त्यसका लागि एक दशककै दृष्टिकोण, प्रस्ट योजना र प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताए ।

  • महन्थ ठाकुरले भने–हाम्रो मुद्दा प्रधानमन्त्री ओलीको पासमा गइसकेको छ

    महन्थ ठाकुरले भने–हाम्रो मुद्दा प्रधानमन्त्री ओलीको पासमा गइसकेको छ

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरी लगायतको मुद्दा फिर्ताको प्रक्रिया अघि बढिसकेको हुनाले आफूहरु अहिले सरकार गठनबारे छलफलमा नरहेको बताएका छन् ।

    कांग्रेस सभापति शेर बहादुर देउवाको आह्वानमा भएको तीन दलीय बैठकमा भाग लिएर फर्किने क्रममा ठाकुरले सरकार बनाउने प्रस्ताव पहिलो पटक देउवाले राखेको र त्यसबारे पार्टीमा छलफल हुने बताए ।

    ठाकुरले भने–सरकार बनाउने प्रस्ताव आएको छ,हामीले पार्टीभित्र कुनै छलफल गरेको छैन,हाम्रो मुद्दा प्रधानमन्त्री ओलीले अगाडि बढाउनुभएको छ । उहाँको पासमा गइसकेको छ । उहाँहरुले हामी पनि गर्छौं भन्नुभएको छ । तर यसबारेमा छलफल गर्न बाँकी छ ।

    ठाकुरले आफ्ना नेता कार्यकर्तामाथिको मुद्दा फिर्ताको प्रक्रियामा गइसकेकाले थप छलफल गरिने बताए ।

  • आफू शासनमा पुग्न नपाएपछि प्रतिगमनको स्यालहुइँया : प्रधानमन्त्री ओली

    आफू शासनमा पुग्न नपाएपछि प्रतिगमनको स्यालहुइँया : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश प्रगतिको दिशामा अगाडि बढिरहेका बेला प्रतिगमन भयो भन्दै स्यालहुइया नमच्चाउन चेतावनी दिएका छन् । उनले आफूलाई अझै राम्रोसँग काम गर्न नदिइएको बताए ।

    मेलम्ची खानेपानीको उद्घाटन कार्यक्रममा बोल्दै ओलीले भने, ‘अब जनताको चेतना जागेका बेला कसैले पनि प्रतिगमन भयो भन्ने स्याल हुइया नमच्चाउँदा हुन्छ । के हो यो प्रतिगमन भन्या ? ख्यालठट्टा हो ? किन अनावश्यक स्यालहुइँया मच्चाइँदैछ ? जनता अल्मल्याउने ? कोही शासनमा पुग्दा क्रान्ति हुने, कोही पुग्न नपाए प्रतिगमन ?’

    कसैका व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा ‘संविधान मासियो, गणतन्त्र-संघीयता ध्वस्त पारियो’ भन्दै हल्ला गरिएको ओलीले बताए ।

    सर्वोच्चबाट संसद पुनर्स्थापना भए पनि यसले कुनै काम गर्न नसकेको उनको भनाइ छ ।

    ‘संसद विभिन्न स्वार्थका तानातानको थलो भएको छ । केही बलिया व्यक्तिका स्वार्थका तानातानको थलो संसद हुनुहुँदैन,’ ओलीले भने ।

    उनले थपे, ‘मैले पहिले भनेको थिएँ, सरकारलाई काम गर्न दिइएको छैन । अहिले पनि काम गर्न दिइया छैन ।’

  • प्रधानमन्त्री ओलीद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

    प्रधानमन्त्री ओलीद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेका छन् ।

    भारतीय राष्ट्रपतिको मंगलबार दिल्लीस्थित एम्स अस्पतालमा बाइपास सर्जरी गरिएको थियो ।

    भारतीय रक्षामन्त्री राजनाथ सिंहले कोविन्दको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको ट्वीट गर्दै संलग्न चिकित्सकलाई धन्यवाद दिएका छन् ।

    प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपतिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

  • प्रधानमन्त्री ओलीलाई सर्वोत्कृष्ट गीतकारको अवार्ड प्रदान

    प्रधानमन्त्री ओलीलाई सर्वोत्कृष्ट गीतकारको अवार्ड प्रदान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट गीतकारको अवार्ड पाएका छन् । उनले बालुवाटारमा निम अवार्डको प्रमाणपत्र ग्रहण गरे ।

    आफूले रचना गरेको ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि निम अवार्ड ग्रहण गरेका हुन् । अवार्डका तर्फबाट ओलीलाई प्रमाणपत्र प्रदान गर्न निर्देशक मोहन निरौला, मनोज भेटवाल लगायत बालुवाटार पुगेका थिए ।

    प्रधानमन्त्री ओलीको रचना, किरण क्रिएसनको प्रस्तुति, युवा नेता रमेश पौडेलको संयोजन तयार भएको उक्त गीतमा मलिना राई र शान्तिराम राईको स्वर तथा संगीत छ ।

  • प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको प्रतिक्रिया–अदालतको फैसला मान्छौं (भिडियो)

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको प्रतिक्रिया–अदालतको फैसला मान्छौं (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला मानेर अघि बढ्ने प्रतिक्रिया दिएका छन् । संसद भवनमा केहीबेर बसेर बाहिरिने क्रममा सञ्‍चारकर्मीसँग कुरा गर्दै ओलीले अदालतले जे फैसला गरेको छ त्यसलाई मान्ने बताए ।

    ओलीले भने, ‘हामीले हिजो पनि सर्वोच्च अदालतको फैसला मानेका हौं र अब पनि जे फैसला आएको छ त्यसलाई मान्छौं । पूर्णपाठ मैले हेर्न पाएको छैन ।’

    अदालतले एमाले र माओवादीलाई पहिलेकै अवस्थामा फर्काइदिएको छ । ओली प्रसन्न मुद्रामा संसदमा छिरेका थिए । ओली पक्षले अदालतको फैसलालाई आफ्नो जितको रूपमा लिएको छ । ओलीपक्षीय सांसद महेश बस्नेतले फेसबुकमा संसदभित्र आफू बसेको फोटो राख्दै एमालेको सांसदको रूपमा संसदमा प्रवेश भनेका छन् ।

  • क्यान्सर अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री आज झापा आउँदै

    क्यान्सर अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री आज झापा आउँदै

    विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली मोरङ र झापामा हुने दुई कार्यक्रममा सहभागी हुन आज प्रदेश-१ आउँदै छन्।

    प्रधानमन्त्री ओली झापाको विर्तामोडस्थित बीएण्डसी अस्पताल परिसरमा निर्माण भएको पूर्वाअञ्चल क्यान्सर अस्पतालको उद्घाटनको कार्यक्रम रहेको छ ।

    नवनिर्मित अस्पताल भवनको उद्घाटनपछि मोरङको उर्लबारीमा एकीकृत सन्थाल वस्ती निर्माणको शिलान्यास गर्ने कार्यक्रम रहेको नेकपाको केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए ।

    प्रधानमन्त्री ओली पूर्ब झापा र मोरङमा रहदा राजनीतिक भेटघाटको कुनै कार्यक्रम तय नभएको पनि नेता ढकालले जानकारी दिए । प्रधानमन्त्री आजै काठमाडाैं फर्कनेछन् ।

    झापाको विर्तामोडमा बीएण्डसी अस्पताल परिसरमा ६०० करोडको लगानीमा क्यान्सर उपचार सेवाकाको लागि अस्पताल निर्माण भएको हो ।

    अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पतालमा गुणस्तरीय सेवा र सुलभरुपमा उपलब्ध हुने भएकाले अब क्यान्सर उपचारका लागि विदेश धाउनु नपर्ने बताए ।

    सञ्चालक प्रसाईका अनुसार तीन सय श्ययाको स्वीकृति पाएको सो अस्पतालमा क्यान्सर उपचारका आगि आवश्यक रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत सम्पूर्ण सेवा उपलब्ध रहेको छ ।

    प्रधानमन्त्रीले शिलान्यास गर्ने एकीकृत सन्थाल वस्ती शहरी विकास मन्त्रालयले निर्माण गर्न लागेको हो ।उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा सन्थाल एकीकृत वस्ती विकास गर्ने लागिएको हो ।

    मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कुल १३२ वटा घर निर्माण गर्न लागेको हो । पुरै वस्ती निर्माणका लागि ३० करोड रकम खर्च हुने जनाइएको छ ।

    सन्थाल एकीकृत वस्ती विकास कार्यक्रमको लागि उक्त समुदायमा गएर गरिएको सर्भेक्षणअनुसार उक्त नगरपालिकामा १०६ परिवार सन्थाल र २६ परिवार उराव जातिको जग्गा नभएको र २७ परिवार सन्थाल जातिको घर बनाउन पुग्ने आफ्नै जग्गा भए पनि आफ्नो घर बनाउन नसक्ने स्थिति रहेको छ ।

  • प्रधानमन्त्रीले पोखरामा गरे प्रदेश प्रशिक्षण प्रतिष्‍ठानको शिलान्यास

    प्रधानमन्त्रीले पोखरामा गरे प्रदेश प्रशिक्षण प्रतिष्‍ठानको शिलान्यास

    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गरेका छन् ।

    सोमबार पोखरा सभागृहमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न आइपुगेका ओलीले केही बेरअघि प्रतिष्ठानको शिलान्यास गरेका हुन् ।

    पोखरा १ नदीपुरमा ४ हजार ९ सय ६४ वर्गमिटर क्षेत्रफलमा ३३ कोठाको प्रतिष्ठान निर्माण गरिनेछ । ३३ करोड २१ लाख लागत अनुमान रहेको प्रदेशसभासँगै निर्माण हुने सो भवनमा बहुउद्देश्यीय बैठक कक्ष, क्लास रुम, डाइनिङ हल, पार्किङको सुविधान हुने बताइएको छ ।

  • प्रधानमन्त्री ओलीले झापा पुगेर गरे कमल पुलकाे उद्घाटन

    प्रधानमन्त्री ओलीले झापा पुगेर गरे कमल पुलकाे उद्घाटन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गरेका छन् ।

    गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर छ ।

    सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको सो पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाडौं १६ करोड ६२ लाख ६४ हजार ९७५ मा लिएको थियो । विसं २०७२ माघ ६ गते ठेक्का सम्झौता भएको सो पुल हालै निर्माण सम्पन्न भएको हो ।

    झापाका चार पुलको उद्घाटनपछि प्रधानमन्त्री ओलीले चीन नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले बताए ।

    प्रधानमन्त्री ओलीले आजै मदन भण्डारी लोकमार्गका निर्माण हुने ३१ पुलको एकैचोटि शिलान्यास गर्ने कार्यक्रम छ ।

  • ओलीले भने- प्रचण्ड र माधव हल बाँधेर मैकहाँ आइपुग्न बेर छैन

    ओलीले भने- प्रचण्ड र माधव हल बाँधेर मैकहाँ आइपुग्न बेर छैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको सम्भावित फैसला राजनीतिक अस्थिरतालाई मलजल गर्ने गरी नआउने विश्वास व्यक्त गरेका छन् ।

    राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफू जस्तोसुकै परिस्थिति सामना गरेर आएको व्यक्ति भन्दै जे फैसला आए पनि डटेर अघि बढ्ने बताए ।

    ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने भन्दै कथम् कदाचित भएछ भने पनि प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्ने सम्भावना एक प्रतिशत पनि नरहेको बताए । पार्टी फुटाएर बहुमतको सरकार ढाल्ने र अरुलाई प्रधानमन्त्री बनिदेऊ भन्दै हल बाँधेर हिंड्ने अवस्थामा प्रचण्ड-माधव पुगेको ओलीको टिप्पणी छ ।

    प्रधानमन्त्रीले भने, ‘काल्पनिक रूपमै भने पनि लौ प्रतिनिधिसभा पुनःस्थापना भएछ रे, त्यसपछि विचरा प्रचण्ड, माधवजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिंड्नुहुन्छ । प्रधानमन्त्री भइदिनुस् भन्दै कहिले उत्तर, कहिले दक्षिणतिर जानुहुन्छ । खोजेर हिंड्दा हिंड्दै मैकहाँ आइपुग्न बेर छैन ।’

    ओलीले देशलाई अस्थिरतातर्फ लैजाने फैसला अदालतले गर्छ भन्ने आफूलाई विश्वास नरहेको बताए । उनले सूर्य चिन्ह आफूले २०४७ सालमा निर्वाचन आयोगमा दर्ता गराएको भन्दै प्रचण्ड फर्केर पेरिसडाँडा गइसकेकाले चिन्ह कसले पाउँछ भन्ने विवाद नै नरहेको बताए ।

  • अवहेलना मुद्दामा प्रधानमन्त्री लिखित जवाफ लिएर सर्वोच्च जाँदै

    अवहेलना मुद्दामा प्रधानमन्त्री लिखित जवाफ लिएर सर्वोच्च जाँदै

    काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज आफैं उपस्थित हुने भएका छन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा बहसलाई तमासा भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो ।

    गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायाधाीशहरु तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

    बाटोको म्याद बाहेक एक साताभित्र उपस्थित हुन भने पनि अदालतले प्रधानमन्त्री निवासमा मंगलबार मात्र म्याद तामेल गरेको थियो । यसअघि चार पूर्व प्रधानन्यायाधीश बुधबारै अदालतमा गएर म्याद बुझी लिखित जवाफ पेश गरिसकेका छन् ।

    सर्वोच्चले पूर्वप्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष प्रचण्डलाई पनि अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

  • नाकाबन्दीको सामना गर्नुपर्ने अवस्था अन्त्य भयो : प्रधानमन्त्री ओली

    नाकाबन्दीको सामना गर्नुपर्ने अवस्था अन्त्य भयो : प्रधानमन्त्री ओली

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीनवर्षे कार्यकालको उपलब्धीको चर्चा गर्दै नेपाल अन्तराष्ट्रिय स्तरमा देखिने, सुनिने, बोलाइने र पत्याइने मुलुकको रुपमा स्थापित भएको दाबी गरेका छन् ।

    ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ नारासहित अघि बढेको परराष्ट्र नीतिको कारण यो कुरा सम्भव भएको उनको टिप्पणी छ । आफ्नो कार्यकालमा १२ बाट कुटनीतिक सम्बन्ध स्थापना हुने मुलुकको संख्या १६८ पुगेको र १५ मुलुकसँग द्धिपक्षीय परामर्श संयन्त्र स्थापना भएको उनको भनाई छ ।

    हिंसाविरुद्धको समिति (सिड) र मानवअधिकार परिषदमा नेपाल दोस्रोपटक निर्वाचित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विभिन्न देशमा आफ्नो भ्रमण र विभिन्न मुलुकका सरकार एवं राष्ट्र प्रमुखको नेपाल आगमनलाई समेत उनले उपलब्धीको रुपमा चर्चा गरेका छन् ।

    ‘चीनका राष्ट्रपतिको नेपाल भ्रमण २३ वर्षपछि भयो । भारतका प्रधानमन्त्रीको एउटै कार्यकालमा ४ पटक नेपाल भ्रमण भयो’ ओलीले उपलब्धीको रुपमा उल्लेख गरेका छन् ।

    चीनसँगको यातायात पारबहन सम्झौतापछि नेपालको अवस्था भूपरिवेष्ठितबाट भूजडित मुलुकका रुपमा फेरिएको उल्लेख गर्दै ओलीले नेपालले नाकाबन्दीको सामना गर्नुपरेको अवस्थालाई अन्त्य गरिदिएको समेत चर्चा गरेका छन् ।

    विश्व आर्थिक मञ्चको डाभोस फोरम, अक्सफोर्ड विश्वविद्यालय, होचि मिन्ह युनिभर्सिटी, राष्ट्रसंघीय शान्ति विश्वविद्यालयजस्ता विश्व चर्चित फोरममा आफ्नो कुरा राख्न पाएको भन्दै प्रधामन्त्रीले यसलाई उपलब्धीको रुपमा समेटेका छन् ।

    कोभिड-१९ महामारीले गर्दा विश्वस्तरको नेपाली फोरम सगरमाथा संवाद रोकिएको र यसलाई सुचारु गर्ने समेत प्रधानमन्त्रीले उल्लेख गरेका छन् । जलवायु परिवर्तनविरुद्ध एकजुट भएर लड्न अमेरिका, युरोपेली युनियन, चीन र भारत लगायतका शक्तिराष्ट्रले चासो दिएका छन् ।

    जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि उनको विश्व प्राथमिकताको सन्देश लिएर बालुवाटारमा ओलीलाई भेट्न पुगेका राजदूत ¥यान्डी बेरीले सगरमाथा संवादमा सहकार्य गर्न अमेरिका तयार रहेको बताएका थिए । अमेरिकी दुतावासले जारी गरेको बाइडेन प्राथमिकताको विज्ञप्तीमा समेत सगरमाथा संवाद उल्लेख छ ।

  • निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छाड्दैनौं : प्रधानमन्त्री ओली

    निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छाड्दैनौं : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि सरकारले नछाड्ने दावी गरेका छन् । उनीहरुलाई केही समयभित्रै अदालतको कठघरामा उभ्याएर सजाय दिइने उनले बताए ।

    बुटबलमा आयोजित जनसभालाई सम्वोधन गर्दै ओलीले भने, ‘निर्मला र भागरथीका हत्यारालाई पानी मुनि गए पनि छोडिने छैन । दुई–चार दिन उम्किएलान् । डरले थर्कमानको जिन्दगी बिताए पनि, लुके पनि सजाय घट्नेवाला छैन । उनीहरुलाई पूराका पूरा सजाय गरेर छोड्नेछौं ।’

    ओलीले अहिले शान्ति सुरक्षाको स्थिति आमरुपमा राम्रो भएको दावी गरे । ‘हिजो ईंट्टाभट्टामा जलाउनेहरुलाई मन्त्री बनाइयो, आज हामीले हत्कडी लगाएर झ्यालखानमा हालेका छौं । १२ वर्षअघिका अपराधिलाई जेलमा हालेका छौं भने अहिलेका अपराधि पनि उम्किन पाउने छैनौं’ ओलीले भने ।

  • ओलीले नारा लगाउँदै भने- अस्थिरता होइन चुनाव चाहियो (भिडियो)

    ओलीले नारा लगाउँदै भने- अस्थिरता होइन चुनाव चाहियो (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता अन्त्यका लागि चुनावमा जानु आवश्यक भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षद्वारा आयोजित जनसभामा उनले चुनावको पक्षमा नारासमेत लगाए ।

    ‘तपाईंहरुले सबै काठमाडौंवासीले एकस्वरमा भन्नुस्, अस्थिरता कि चुनाव ?’ ओलीले सोधे । (भीडबाट चुनाव-चुनाव आवाज आउँछ ।)
    त्यसपछि ओली आफैं नारा लगाउन थाले ।

    ‘अस्थिरता होइन, चुनाव चाहियो… अस्थिरता होइन, चुनाव चाहियो… ।’

    नारा लगाइसकेर भने, ‘अब सबैले सुने होला । अब देश चुनावतर्फ गयो, गयो । अब चुनावले फैसला गर्छ, कसको सरकार बन्नुपर्छ ’, ओलीले अगाडि थपे, ‘निर्वाचन हुँदा देश संकटमा पर्छ रे, जनताले आफ्नो फैसला दिँदा देश संकटमा पर्छ ? केही मान्छेहरूले कुनामा बसेर षडयन्त्र गरेर अरुका लागि काम गर्दा देश संकटमा पर्ने हो ।’

    प्रधानमन्त्रीले आफूले गरेको संसद विघटन असंवैधानिक नभएको दाबी गरे । अन्य देशका दृष्टान्त पनि उनले पेस गरे । ‘बेलायतमा लिखित संविधान छैन, त्यहाँ प्रधानमन्त्रीले संसद विघटन गर्ने भनेर कतै लेखेको छैन । तर, प्रधानमन्त्रीले अस्ति भर्खर संसद विघटन गरेर चुनाव गराउनुभो । यसरी काम गर्न दिइएन भने प्रधानमन्त्रीले संसद विघटन गर्छ । ताजा जनादेश लिन्छ । हाम्रै बलमा संसदमा आएर हामीलाई नै काम गर्न नदिने, अनि सरकारले काम गरेन भनेर आलोचना गर्ने प्रवृत्तिको जवाफ चुनावबाट खोज्नुपर्छ ।’

  • माधव नेपाललाई ओलीको आरोपः भूमि आयोग बनेपछि छाती पिटीपिटी रुदै हुनुहुन्छ (भिडियो)

    माधव नेपाललाई ओलीको आरोपः भूमि आयोग बनेपछि छाती पिटीपिटी रुदै हुनुहुन्छ (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको इतर समूहका अध्यक्ष माधवकुमार नेपालले देशमा भूमिहीनको समस्या समाधानमा अवरोध गरेको आरोप लगाएका छन् ।

    कृषि क्षेत्रका समस्या समाधान गर्न बनेको आयोगमाथि नेपालले मुद्दा हाल्न लगाएर काम गर्न नदिएको उनको दावी छ । किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘विगतमा उहाँले कृषि क्षेत्रका समस्या समाधान गर्न बनको आयोगलाई कामै गर्न दिनुभएन । यसपटक पनि आयोग बनेपछि छाती पिटीपिटी रोइरहनुभएको छ ।’ नेपाललाई कृषि क्षेत्रको ज्ञान र अनुभव केही नभएको ओलीले टिप्पणी गरे ।

    ‘उहाँले कहिल्यै हलो समातेको छैन । नजोति खान पाएपछि किन जोत्नुपरो । धान कसरी रोप्छन् थाहा छैन । उहाँले रोपेको छैन । उहाँ किसानका समस्या, कृषि क्षेत्रका समस्या बुझ्नै चाहनुहुन्न । अनि आफ्ना मान्छे परेनन् भनर एकजना वकीललाई मुद्दा हाल्न लगाउनुभो’ ओलीले भने ।

    उनले थपे, ‘मैले हिजो साथीहरूलाई एउटा प्रश्न सोधेको थिएँ । नेपालमा कृषि समस्या समाधानमा वाधा हाल्ने एउटा नेताको नाम बताउनुस् त । उहाँहरूले सही जवाफ दिनुभएको थियो । तपाईंहरुलाई पनि सोध्छु । कोहो वाधक ?’ (सहभागीले एक स्वरमा माधव नेपाल भनेपछि… ) ‘हो, सही आयो । सप्पै एकैचोटि पास हुनुभयो । कति छर्लंग छ कुरो । दुईमतै छैन । कसैको फरक मत छैन । माधव नेपाल हो जसले किसानका समस्या समाधान गर्न आफ्नै मन्त्री दलबहादुर राना, शारदा सुवेदी मेरो होइन भन्नुभयो । मेरो मान्छे होइन, त्यसकारण यो हुँदैन भन्नुभयो ।’

    ‘यसपटक पनि खुब रोक्न खोज्नुभएको थियो, पर्नुभो फेला पद्मा अर्यालको । मुद्दा हाल्न खोज्नुभएको थियो । तमासा गर्नुभएको थियो । पद्मा अर्याललाई बोलाएर हप्काउन खोज्नुभयो । मेरा मान्छे र तेरा मान्छे भन्ने हो भने को हुन् तपाईंका मान्छे ? देवी ज्ञवाली कसका मान्छे ? मेरो त होइन, जात थर ठाउँ गोत्र केही मिल्दैन ’, ओलीले भने ।

  • प्रधानमन्त्री ओलीले भने -काम गर्न नदिनेहरू साइड लागे, पार्टी शुद्धीकरण भयो

    प्रधानमन्त्री ओलीले भने -काम गर्न नदिनेहरू साइड लागे, पार्टी शुद्धीकरण भयो

    जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैबाट आफूलाई काम गर्न नदिएर अस्थिरता ल्याउन खोजिएपछि संसद विघटन गरेको बताएका छन् ।

    शहीद स्वर्गीय हेमनारायण यादवको स्मृति दिवसलाई सिरहामा सम्बोधन गर्दै ओलीले भने, ‘काम गर्न नदिनेहरू साइड लागे । पार्टी शुद्धीकरण भयो ।’

    उनीहरूले बिगार्ने र भत्काउने काममात्र गरे । हामी देश बनाउने दिशामा अगाडि बढेका छौं । हिमाल, पहाड, तराई सबै ठाउँमा एकनासले विकास हुन्छ ।

    संसद विघटन संवैधानिक भएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने, ‘चुनाव हुन्छ, समयमै हुन्छ । निर्वाचन आयोग र अदालतलाई धम्क्याउने काम भइरहेको छ । तर, ढुक्क हुनुस् संसद पुन:स्थापना हुँदैन । चुनावमा अस्थिरता ल्याउनेलाई तह लगाउनुपर्‍यो तपाईंहरूले ।’

    प्रचण्ड-माधव पक्षको आन्दोलनप्रति लक्षित गर्दै ओलीले अब आन्दोलनमा कोही नअलमलिने बताए । उनले भने, ‘अस्ति प्रचण्डले अब शाकाहारी आन्दोलन गरेर काम छैन भनेछन् । चिकेन चिल्ली खान खोज्या हो ?’ अब नरभक्षी आन्दोलन गर्ने अवस्था छैन, गर्न पनि दिंदैनौं ।’

  • संवैधानिक अंगका पदाधिकारीलाई ४५ दिनपछि स्वतः नियुक्ति हुनबाट रोक्ला सभामुखको पत्रले ?

    संवैधानिक अंगका पदाधिकारीलाई ४५ दिनपछि स्वतः नियुक्ति हुनबाट रोक्ला सभामुखको पत्रले ?

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्ले संवैधानिक निकायमा गरेको नियुक्ति सम्बन्धी सिफारिस फिर्ता पठाएका छन् ।

    सापकोटाले आइतबार मुख्य सचिव, नेपाल सरकार तथा सचिव र संवैधानिक परिषद्लाई पत्र लेखेर नियुक्ति सिफारिस फिर्ता पठाएका हुन् ।

    ३० मंसिरमा सरकारले अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएपनि बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त बैठकमा सभामुख उपस्थित भएका थिएनन् ।

    सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भए पनि परिषद्को बैठक बसेर भिविन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

    सभामुखले फिर्ता पत्र फिर्ता गर्नुका आठ कारण उल्लेख गरेका छन् । जसमा प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाई समिति जीवित नरहेको, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउने काम नै विधिशास्त्र अनुसार नभएको र बैठकबारे आफूलाई जानकारी समेत नदिएको उल्लेख गरेका छन् ।

    संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीको दफा २६ मा संसदीय सुनुवाइ समितिले सम्बन्धित निकायबाट पत्र प्राप्त गरेको मितिले ४५ दिनभित्र निर्णय दिनुपर्ने र नदिए प्रस्तावित उम्मेदवारको नियुक्तिमा कुनै बाधा नहुने उल्लेख छ ।

    संसद सचिवालयलाई सुनुवाइका लागि ५ पुसमा पत्र प्राप्त भएको छ । २० माघमा संसदीय सुनुवाइका लागि संवैधानिक परिषद्ले संसद सचिवालयमा पत्र दर्ता गराएको ४५ दिन पुग्दैछ ।

    यस्तो अवस्थामा संवैधानिक परिषद्ले विभिन्न ११ संवैधानिक निकायमा गरेका नियुक्ति के होलान् भन्ने प्रश्न छ ।

    प्रधानमन्त्री निकटक एकजना नेता भने संवैधानिक परिषद्बाट भएको नियुक्तिलाई अघि बढाउन समस्या नहुने बताए । संसद विघटन हुनुअघि नै सुनुवाईका लागि संसद सचिवालयमा संवैधानिक परिषदको पत्र दर्ता भइसकेकाले ४५ दिन भित्र समितिको निर्णय हुन नसकेको आधार बनाइ नियुक्त गर्न सकिने ती नेताको भनाइ छ ।

    ‘संवैधानिक परिषद्ले निर्णय गर्याे, त्यो निर्णयलाई संसदमा पठाइयो’ उनको भनाइ छ, ‘विघटन हुनुभन्दा अगाडि त्यो संसदमा दर्ता भयो । सभामुखको उत्तरबाट पनि त्यो कुरा देखिन्छ । संसद विघटन भइसकेकाले उहाँले त्यसलाई समितिमा पठाउन सक्नु भएन । तर, समिति समाप्त हुनुअघि नै संवैधानिक परिषद्ले सुनुवाइका लागि पत्र पठाइसकेको थियो । त्यसकारण ४५ दिनभित्र समितिले निर्णय दिन नसेको आधारमा टेकेर नियुक्त गर्न सकिन्छ ।’

    विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव पक्षका सांसद एवम कानूनका जानकार रामनारायण बिडारी भने सुनुवाई नगरी नियुक्त गर्न नमिल्ने तर्क गर्छन् ।

    ‘सुनुवाई नगरी नियुक्ति गर्न पाइन्न भन्ने संविधानमा लेखेको छ’ बिडारीको भनाइ छ, ‘सुनुवाई गर्ने संस्था प्रधानमन्त्रीले खाइदिया छ । सिफारिस गरेको पनि प्रधानमन्त्रीले । आफैले सुनुवाई गर्न सिफारिस गर्ने, आफैले सुनुवाई गर्ने संस्था खाइदिने । त्यस्तो अवस्थामा सुनुवाई हुँदैन । सुनुवाई नभएपछि नियुक्ति हुँदैन ।’

    संसद सचिवालयमा संसद विघटनअघि नै परिषद्को निर्णय दर्ता भएको भन्ने सरकारी पक्षको दावी र संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीले ४५ दिन तोकेको बारे चाहिं उनी संविधानको व्यवस्थालाई ऐनले काट्न नसक्ने बताउँछन् ।

    बिडारीको प्रश्न छ–संविधानलाई नियमावलीले काट्छ र ? सुनुवाई हुनुपर्छ भनेर संविधानमा लेखेको छ । तिनीहरू नियुक्ति योग्य हुँदैनन् ।

    संसद सचिवालयका पूर्व सचिव सोमबहादुर थापा परिषद्को निर्णय नपुगी ४५ दिनको व्यवस्था लागू गर्न नमिल्ने बताउँछन् । सुनुवाई नगरी नियुक्त गर्दा अदालतमा प्रश्न उठ्न सक्ने भन्दै सरकारले नियुक्ति सम्बन्धी प्रक्रिया अगाडि नबढाउने श्विास व्यक्त गर्छन ।

    ‘समितिमा नपुगिकन ४५ दिनको व्यवस्था लागू गरेर नियुक्त गर्न मिल्दैन’ उनको भनाइ छ, ‘नियुक्तिको प्रयास नगर्ला सरकारले किनभने त्यो अदालतमा जान्छ । सुनुवाई समिति अस्तित्वमा रहेको अवस्थामा समितिले ४५ दिन भित्रमा कुनै जवाफ नदिएमा मात्रै स्वतः नियुक्त गर्न बाधा हुँदैन । तर, सुनुवाई नै नभइ नियुक्त नै गर्न मिल्दैन । त्यो वैध नै हुँदैन ।’

    संसद नहुँदा लामो समय संवैधानिक निकायमा नियुक्ति नभएको नजिर भएको दावी गर्दै थापाले भने, ‘सरकारले लामो समयसम्म अख्तियार, महालेखा लगायतमा तीन/चार वर्ष नियुक्ति गरेन । त्यो नगर्नुको एउटै कारण संसद थिएन ।’

    अदालतमा संवैधानिक अध्यादेश र त्यस अध्यादेश अनुसार भएको नियुक्ति विरुद्ध रिट परेको अवस्था छ । वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले अध्यादेशविरुद्ध र अधिवक्ता सन्तोष भण्डारीले नियुक्तिविरुद्ध रिट दायर गरेका छन् ।

    अदालतले यसको सुनुवाई गरेको छैन । यसमा कुनै आदेश पनि जारी गरेको छैन । अर्कोतिर सभामुखले अदालतलाई दिएको जवाफमा प्रतिनिधिसभा विघटनलाई स्वीकार गरेका थिएनन् भने आइतवारको पत्रमा प्रतिनिधिसभा विघटन भएको अवस्था स्वीकार गर्दै सुनुवाई हुन नसकेको बताएका छन् ।

  • प्रधानमन्त्रीका पाँच विकल्प: निर्वाचनदेखि संकटकालसम्म

    प्रधानमन्त्रीका पाँच विकल्प: निर्वाचनदेखि संकटकालसम्म

    प्रतिनिधिसभा विघटन भएपछि राजनीतिक वृत्तमा अन्यौल बढेको छ । सरकारले आगामी वैशाखमा संसदको चुनाव घोषणा त गरेको छ, तर धेरैलाई चुनाव हुनेमा विश्वास छैन । कतिपयले त गर्नका लागि चुनाव घोषणा भएकै होइन भनिरहेका छन् ।

    संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई शंका गर्दै कतिपयले निरंकुश र सर्वसत्तावादी शासनको अभ्यासको संज्ञा दिएका छन् । संसद विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

    अदालतले नै सरकारको कदमलाई अमान्य घोषित गरेको बाहेक अवस्थामा प्रधानमन्त्री ओली पछाडि फर्कने मनस्थितिमा देखिँदैनन् । ओलीको अबको कदम के होला ? भन्ने चासो पनि राजनीतिक वृत्तमा बढ्दो छ ।

    सरसर्ती हेर्दा प्रधानमन्त्री ओलीका सम्भावित पाँच विकल्प –

    विकल्प नम्बर एक: निर्वाचन

    धेरैलाई विश्वास छैन कि प्रधानमन्त्री केपी ओलीले निर्वाचन गराउछँन् । नेकपाको दाहाल–नेपाल समूह, कांग्रेस, जसपा, राप्रपा, विवेकशील साझाका नेताहरु र नागरिक समाजका अगुवाहरुले समेत सार्वजनिक रुपमै प्रधानमन्त्री ओलीले निर्वाचन नगराउने वा गराउन नसक्ने टिप्पणी गरिसकेका छन् ।

    प्रधानमन्त्री ओली भने आफ्नो कदम सही वा गलत के हो ? भन्ने कुरा जनमतबाटै पुष्टी हुने दावी गर्दै निर्वाचन गराउने अभियानमा छन् । तर निर्वाचनलाई सफलतासाथ सम्पन्न गराउन अदालतको फैसला भने ओलीको पक्षमै आउनुपर्छ ।

    विकल्प नम्बर दुई: मिलिजुली सरकार

    निर्वाचन आयोगको निर्णय प्रम ओलीको पक्षमा तर सर्वोच्च अदालतको निर्णय ओलीको विपक्षमा आए प्रम ओली सबै भन्दा पहिले मिलिजुली सरकारका लागि अघि बढ्नेछन् ।

    उनी प्रधानमन्त्री र सभामुखमा कांग्रेसलाई समर्थन गर्न सम्मका लागि तयार हुनेछन् । उनको पालामा रोकिएर राखिएको एमसीसी लगायतका मुद्दामा उनले सफलता पाउनेछन् । कांग्रेसकै नेतृत्वमा निर्वाचन हुनेछ । निर्वाचनको सेरोफेरोमा ओलीले फेरि दाहाल– नेपालसंग सहमति गर्न पनि सक्नेछन् ।

    विकल्प नम्बर तीन: संकटकाल

    जति अविश्वास प्रम ओलीले निर्वाचन गराउछन भन्नेमा छ, त्यति नै शंका प्रम ओलीले संकटकाल लगाउछन भन्नेमा पनि छ । तर आफ्नो पक्षमा सडकमा उल्लेख्य सहभागिता देखेका ओलीले संकटकाल लगाउने सम्भावना न्यून छ ।

    यो कदमले सबै भन्दा घाटा ओली लाई नै हुने भएकाले उनी संकटकाल लगाउने पर्ने स्थिति सिर्जना भयो भने प्रमबाट राजीनामा पनि दिन सक्नेछन् । तर निर्वाचन आयोगको निर्णय ओलीको विपक्षमा आयो भने ओलीले संकटकालको बाटो पनि रोज्न सक्नेछन् ।

    विकल्प नम्बर चार: राजीनामा

    प्रधानमन्त्री ओलीको कदमका विरुद्दमा अन्तर्राष्ट्रिय समुदायले विरोध गर्न थाले भने र नेपालमा उनको समर्थनमा भन्दा विपक्षमा आन्दोलन बढ्दै गयो भने ओलीले सत्ता छाड्न सक्छन् । त्यसका लागि उनले प्रधानमन्त्रीबाट राजीनामा दिनेछन् ।

    संसद विघटनको ३ साता बितिसक्दापनि अन्तर्राष्ट्रिय समुदाय मौन रहनु प्रम ओलीकै पक्षमा नै देखिएको छ । त्यसो त सर्वोच्च अदालतको निर्णय प्रम ओलीको विपक्षमा आए पनिले ओलीले मिलिजुली सरकारको लागि मार्ग प्रशस्त गर्न राजीनामा दिन सक्नेछन् ।

    विकल्प नम्बर पाँच: नेकपा पुनः एकीकरण

    निर्वाचन आयोगको निर्णयले पार्टी विभाजनलाई मान्यता दिएन भने नेकपा पुनः एकीकरणका लागि दुवै खेमाले पहल गर्नेछन् । त्यस्तो बेला हाल नेतृत्वमा रहेका अध्यक्षहरुले छाडने र वामदेव गौतमको नेतृत्वमा महाधिवेशन गर्ने सम्भावना पनि यथावत रहनेछ ।

    कानूनी रुपमा नेकपा विभाजन नहुँदासम्म पुनः एकीकरणको सान्दर्भिकता कायमै रहने भएकोले समय क्रममा पार्टीलाई पुनः एक बनाउन पनि ओलीकै भूमिका निर्णायक हुनेछ ।