Tag: प्रधानमन्त्रीलाई खुलापत्र

  • प्रधानमन्त्रीज्यू, देशको एउटा मेजर सर्जरी गरिदिनुस्

    प्रधानमन्त्रीज्यू, देशको एउटा मेजर सर्जरी गरिदिनुस्

    प्रिय प्रधानमन्त्रीज्यू,

    अन्तरमनमा अविच्छिन्न रूपमा कुरा खेल्न थालेपछि, अभिव्यक्त गरी आफ्नै मनलाई हलुंगो बनाउन यहाँलाई यो पत्र लेख्दैछु । अचेल हजुरको पक्ष भएर बोल्न र लेख्न ठूलै साहस जुटाउनुपर्ने अवस्था छ, लखेटिने संभावनाको कारण । जनस्तरबाट त केही हुँदैन तर ‘मिडिया’ ले जरूर लखेट्छ । व्यक्ति केपी ओली मन नपरेको कारण आफ्नै देशका प्रधानमन्त्रीको हुर्मत लिन कुनै कसर बाँकी नराख्ने ‘मिडिया’ ले हामीलाई भेट्यो भने त कत्लेआम नै गर्छ भन्ने गहिरो छाप मेरो मनमा परेको छ ।
    म एक सामान्य सरकारी कर्मचारी हुँ, जो विगत १२ वर्षदेखि सुब्बा पदमा कार्यरत छु । हुन त हजुरले नै नियुक्त गरी पठाएको ‘हाकिम’ बाट म बहुतै प्रताडित छु तर त्यसको बदला केपी ओलीलाई गाली गरेर लिने अतिरञ्जनामा म विश्वास गर्दिनँ । मैले मेरो वास्तविक नाम र तस्वीर सार्वजनिक गर्दा त्यसले मेरो कार्यालयको अवयवहरूमा नकारात्मक प्रभाव पर्न सक्ने भयका कारण छद्म नाम प्रयोग गरी यो पत्र लेखेको छु ।

    प्रिय प्रधानमन्त्रीज्यू,

    हजुर पहिलोपटक प्रधानमन्त्री भएदेखि नै लखेट्न थालेको मिडियाले अहिलेसम्म पनि आफ्नो स्वरुप बदलेको छैन । कारण के हो मलाई थाहा छैन । राष्ट्रिय स्वार्थ प्रवद्र्धनको पक्षमा मिडियाले यसो गरिरहेछ भन्ने मानौं भने पनि मेरो पुस्ताले हजुर जति अडान भएको नेता अरू देखेको छैन । जनताको पक्षमा काम भएन भनेर मानौं भने फेरि यत्तिको काम त यसअघि कहिल्यै भएको थिएन भन्ने आभास मलाई छ । भ्रष्टाचारका काण्डहरू भनेर कहिलेकाहीं जबर्जस्त माहोल बनाउन खोजिन्छ, तर अपुष्ट हल्लाहरूको पछि लागेर स्वार्थपूर्ण बदख्वाईंका लागि परिचालित हुन सचेत नागरिकको रूपमा मेरो मनले मान्दैन । यसो लेखिरहँदा, प्रश्न स्वाभाविक रूपमा उठ्छः के त्यसो भए रामराज्य छ त ? निःसन्देह छैन ।

    जनअपेक्षाहरूको तुलनामा परिपूर्ण अत्यन्त न्यून नै छ तर सरकारी नीतिनियम र प्रयासहरू आधुनिक समाज निर्माण उन्मुख छन् कि छैनन् भन्ने कुरालाई पूर्णतः नजरअन्दाज गर्न मिल्दैन । मैले देख्दा त धेरै कुरा सुधारोन्मुख देख्छु । विकासका अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले पछिल्लो समय निरन्तर सुधार गर्दै गइरहेछ । देशका ऐन नियम कानूनहरू आधुनिक समाजसापेक्ष हुने गरी निर्माण र संशोधन हुँदै गइरहेछन् । लगानीमैत्री वातावरण निर्माणका लागि सुधारका कार्यहरू भइरहेका छन् । कृषि र पर्यटनमा कायापलटको संभावना देखिंदै छ । भौतिक संरचनाहरूको निर्माण र पुनर्निर्माणले गति प्राप्त गरेको छ ।

    खानेपानी, बिजुलीलगायतका आधारभूत आवश्यकताको आपूर्ति दूरदराजसम्म भइरहेको छ । अझै महत्वपूर्ण त जनतामा आशाको सञ्चार गरी सकारात्मक परिवर्तन ल्याउन सकिने आधार बनेको छ । तर अचम्म, सकारात्मक परिवर्तनका कुराहरू बहुतै निर्दयीपूर्ण तरिकाले दबाएर, काल्पनिक र सस्तो विषयले समाचारको रूपमा मुख्य मान्यता पाउनु आफैंमा अतिशयोक्तिपूर्ण देखिंदैछ । निर्माणको कुरा, उपलब्धिपूर्ण कुरा केही पनि नलेखेपछि र जे छैन त्यो मात्रै लेखेपछि सर्वसाधारणले नकारात्मक धारणा बनाउने कुरा त स्वाभाविकै भयो ।

    पत्रकारिताकै विद्यार्थी भएको कारण पत्रकारिताका सामान्य सिद्धान्त, परिधि र संहिताको बारेमा मलाई जानकारी छ । तर मिसनलाई पत्रकारिताको जलप लगाएर गरिने अभ्यासले कुन हदको विध्वंस गर्न सक्छ भन्ने कुराको साक्षी अहिले नेपाली समाज भइरहेको छ भन्ने मेरो बुझाइ रहेको छ । पत्रकारिता आलोचनात्मक हुनु सिद्धान्ततः स्वीकारयोग्य कुरा हो तर आलोचनाको आवरणमा नकारात्मकता र गालीगलौज मात्र बेची निराशा छर्नु किमार्थ पनि सही होइन । तर भइरहेछ त्यस्तै । यसले नेपाली समाजको चेतनालाई पूर्णतः नकारात्मक बनाउने र एक हिसाबले मानसिक भयको शिकार बनाउने सम्भावना देखिंदैछ ।

    ‘मिडिया लिट्रेट’ व्यक्तिले त प्रायोजित समाचारहरूको नियत थाहा पाउन सक्ला तर साधारण व्यक्तिले त जे लेख्यो त्यही सत्य हो भनी पत्याउँछ र धारणा बनाउँछ । प्रश्न उठ्छ, मिडियाले ती निहत्थाहरूको बुई चढेर आफ्नो स्वार्थको प्रवद्र्धन गर्न पाउँछ कि पाउँदैन ? निहत्थाहरूको काँधमा बन्दूक राखेर केपी ओलीलाई ताकिरहेका ‘मिडिया’ ले कस्तो लोकतन्त्रको पैरवी गरिरहेका हुन्, खै ? लोकतन्त्र हो, ‘मिसन’ चलाउन पनि पाइएला तर त्यो घोषित हुनुपर्छ । निष्पक्ष पत्रकारिताको नारा दिएर ‘मिसन’ चलाउने काम लोकतन्त्र अनुकूल मान्न सकिन्न ।

    प्रधानमन्त्रीज्यू,

    निःसन्देह म तपाईंको वाक्कलाको ‘फ्यान’ हुँ, तपाईंले लिने अडानकोे ‘फ्यान’ हुँ, तपाईंको आत्मविश्वासकोे ‘फ्यान’ हुँ र तपाईंको व्यक्तित्वकोे ‘फ्यान’ हुँ । हुन त मिडियाले तपाईंलाई ‘उखान टुक्के’ भनी परिचय स्थापित गर्न खोजेको देखिन्छ तर मेरो बुझाइ भने भिन्दै छ । सार्वजनिक अभिव्यक्तिहरूमा उखान टुक्काको बिम्बात्मक प्रयोग आफैंमा एउटा कला हो, जसले आफूले अभिव्यक्त गर्न खोजेको कुरा श्रोतालाई बुझाउन सहज बनाइदिन्छ । हर कोहीमा यस्तो क्षमता हुँदैन ।

    अर्को, विरोधीहरूले तपाईंलाई अनेक तरिकाबाट लाञ्छित गर्न खोजेको देखिन्छ जसको प्रतिरक्षा तपाईंले सबैले सहजै बुझ्ने गरी गरिदिनुहुन्छ । नियतवश लगाइएका आरोपहरूको सार्वजनिक प्रतिरक्षा तपाईं आफैंले गरिदिंदा शायद आरोपित गर्नेहरूको बजार संकुचन हुन्छ । अनि भनिदिन्छन् ‘उखान टुक्के’ । खै कस्तो लोकतन्त्र हो, कस्तो स्वतन्त्रता हो– विना तथ्य कसैलाई आरोपित गरिदिने, त्यसको कतै पुष्ट्याईं हुनु नपर्ने, प्रतिरक्षा गर्नु अपराध ठहरिने र प्रचारको भरमा दोषी करार गरिने । अखबार, टिभी, रेडियो वा अनलाइन नामको कुनै माध्यम प्रयोग गरेर अरूको हुर्मत लिने कार्य के साँच्चै स्वतन्त्रता हो त ? कि स्वतन्त्रताको दुरुपयोग ? नेपाली मिडियाले प्रवद्र्धन गर्न खोजेको लोकतन्त्र हो या अराजकतन्त्र ? म त असमञ्जसमा छु ।

    म ‘मिडिया’ मा छाइराख्ने सदाबहार ‘बुद्धिजीवी’ र ‘नागरिक अगुवा’ देखेर पनि साह्रै विचलित हुन्छु । विचारको विविधता त लोकतन्त्रको गहना नै हो तर एकपाखे ‘बुद्धिजीवी’ र ‘नागरिक अगुवा’, जोे आफ्ना कुत्सित नियत र कुण्ठाहरूको मात्र व्यापार गरिरहेछन्, ‘मूलधारका मिडिया’ मा उनीहरू मात्र दशकौंदेखि छाइरहने कुरा नै एक हिसाबले मिलिभगत जस्तो लाग्छ ।

    स्वाभाविक हो, मिलिभगतमा विविधता हुर्कन पाउँदैन । हिजो तपाईंले संविधान बनाउने कुरामा सक्रिय अगुवाई गर्दा पनि, नाकाबन्दीको विरुद्धमा राष्ट्रिय अडान प्रदर्शन गर्दा पनि, चीनसँग व्यापार तथा पारवाहन सन्धि गर्दा पनि, कालापानीको नक्शा जारी गर्दा पनि र अहिले प्रतिनिधिसभा विघटन गर्दा पनि, तपाईंको विरोध गर्ने पात्र उही छन् । राम्रो हुँदा राम्रो र कमजोरी हुँदा आलोचना भए पो सच्चा मानेमा विश्लेषक । एकोहोरो लखेट्ने त भेष बदलेर प्रकट हुने विरोधी हुन् । सीधै विरोध गर्न पाइने स्वतन्त्रता छ त, आवरण परिवर्तन गर्नु के जरूरी छ र ? यसर्थ, त्यस्ता विश्लेषकको ‘विश्लेषण’ तिरस्कार गर्नु बाहेक अरू के नै विकल्प हुन्छ र ?

    प्रधानमन्त्रीज्यू,

    कोरोनाको विश्वव्यापी महामारीबाट कुन समाज पो अछूत रह्यो होला र ? विश्वकै करीब एक वर्ष त खेरै गए जस्तो भयो । धनी देशहरूको तुलनामा गरीब देशहरूलाई त यो एक अभिशाप नै त थियो । तर जति नै भएन भनिए पनि कोरोना व्यवस्थापनमा नेपाल सार्कमै अब्बल प्रमाणित भएको कुरा तथ्य हो । होला, व्यवस्थापन अझै राम्रो गर्न सकिन्थ्यो होला, तर ‘राम्रो’ को त के सीमा हुन्छ र ? जति नै उत्कृष्ट भनिए पनि थप सुधारको लागि जहिले पनि ठाउँ बाँकी हुन्छ ।

    पहिलो स्वाबको परीक्षण हङकङ लगेर गर्नु परेको परिस्थितिबाट देशभित्रै दैनिक करीब २५ हजार परीक्षण गर्न सकिने गरी भएको क्षमता वृद्धि आफैंमा एउटा उपलब्धि हो । हाम्रा स्थानीय सरकारहरूले आफ्नो सीमित स्रोत, ज्ञान र क्षमताको बाबजूद गरेको व्यवस्थापनको प्रयास आफैंमा सराहनीय मानिनुपर्ने हो । उनीहरूको आत्मबल बढाइदिनुपर्ने बेला केही भएन भनेर लखेटिए मात्र । सबैले सँगै मिलेर लड्नुपर्ने महामारीको बेलालाई पनि केपी ओलीको बद्ख्वाईं गर्ने अवसरको रूपमा लिने ‘मिडिया’को नीति कुन चित्तको प्रतिबिम्बि हो, मूल्यांकनको विषय हो ।

    सौभाग्यले म कामको सिलसिलामा नियमित रूपमा काठमाडौं बाहिर जिल्लाहरूमा गइरहन्छु । यसरी घुमिहिंड्दा परिवर्तन जरूर देखिन्छ । केही न केही नवनिर्माण भइरहेको आभास मलाई हुन्छ । धेरै ठाउँमा सडक चौडा बन्दैछन्, सहायक मार्गहरूको स्तरोन्नति भइरहेछन्, पोखरा र भैरहवा विमानस्थल निर्माणको काम अन्तिम चरणमा छन्, पूर्व पश्चिम रेलमार्गको काम भइरहेछ, काठमाडौं–निजगढ फास्ट ट्रयाकमा डोजरहरू दौडिरहेकै देखिन्छ, सुरुङ मार्गको थालनी भएको छ ।

    सरकारीस्तरबाट मात्र होइन, निजीस्तरबाट पनि उत्तिकै निर्माणका कामहरू अगाडि बढेका छन्ः पर्यटनका पूर्वाधारहरू बढेका छन्, कति केबलकार परियोजनाहरू निर्माणाधीन छन्, कतिको सम्भाव्यता अध्ययन भइरहेछन्, कृषि परियोजनाहरूमा लगानी बढेको छ । कोरोना महामारी नभएको भए शायद चित्र अझै फरक हुन्थ्यो तर पनि आशा मार्नुपर्ने अवस्था छैन । विकास निरन्तर प्रक्रिया हो भन्ने मान्ने हो भने जनमानसमा आशाको सञ्चार गराउन सकिने धेरै आधारहरू बनेका छन् तर थाहा छैन किन निरन्तर रूपमा नकारात्मकताको खेती भइरहेछ । गर्नुपर्ने धेरै छन्, सत्य हो तर केही भएकै छैन भन्ने प्रचार गरिनु कुत्सित मनसाय हो । देशमा के राम्रो भइरहेछ भनेर जान्ने इच्छा भयो भने बरु यू–ट्यूबको सहारा लिनुपर्छ, ‘मूलधारका मिडिया’ मा त्यस्तो ‘कन्टेन्ट’ विल्कुल पाइँदैन । ‘मिडिया’ व्यक्ति लखेट्ने अभियानमा लाग्ने हो भने आज कोही शिकार होला, भोलि अर्को । अनि के नेपाल यस्तै अस्थिरताको घनचक्करमा परिराख्ने ?

    प्रधानमन्त्रीज्यू,

    अहिले हजुरको प्रमुख प्रतिपक्ष ‘मिडिया’ भएको छ र उसले जे–जसरी तपाईंको बदनामी गर्न सकिन्छ, उसैगरी लेखिरहेछ । सत्य कम र काल्पनिक ‘घटनाहरू’ को रिपोर्टिङ निरन्तर जारी छ । म सम्झन्छु, तपाईं पहिलो पटक प्रधानमन्त्री हुँदा जतिबेला अमानवीय नाकाबन्दीको विरुद्ध जुझारु लडाईंमा हुनुहुन्थ्यो, त्यतिबेला भूकम्पपछिको पुनर्निर्माणको विषयलाई कति अतिरञ्जित रूपमा उछाल गरिएको थियो । र जब तपाईंको बहिर्गमन भयो, त्यो विषय यसै सामसुम भइगयो । अहिले पनि निर्मला हत्या काण्डलाई कति अतिरञ्जित गरियो, छानबिनलाई कसरी मिसगाइड गरियो । हालैको कुरा गरौं न, भारतीय जी न्यूजमा तपाईंले कसरी राष्ट्रको पक्षमा अडान प्रदर्शन गर्नुभयो र त्यसलाई छोप्न सगरमाथा काण्डको रचना कसरी गरियो ।

    यद्यपि सुखद् कुरा के भने नेपाली जनतामा सचेतना बढेको छ र ‘मिडिया’ ले लेख्यो भन्दैमा पत्याउन छाडेको छ । बरु उल्टै यो ‘मिडिया’ वा ‘समाचार’ फलानाद्वारा प्रायोजित भनेर जनस्तरमै चर्चा हुन थालेको छ । लोकतन्त्रमा ‘मिडिया’ को विश्वसनीयता घट्नु निःसन्देह सकारात्मक संकेत होइन । विश्वसनीयता बढाउन, ‘मिडिया’ नेता, न्यायाधीश वा अभियानकर्ता हुनुको सट्टा तथ्यहरूको अन्वेषण र पुष्टि गर्नेतर्फ केन्द्रित हुनुको विकल्प छैन । ‘मिडिया’ को प्रयोग गरेर शासक बन्ने महत्वाकांक्षा सम्पादकहरूले त्याग्नुको विकल्प छैन । लोकतन्त्रको हिस्सेदारी सबै नेपालीको हो, ‘मिडिया’ को मात्र होइन । आतंक बन्दूकले मात्र होइन, कलममार्फत पनि फैलाउन पाइँदैन ।

    प्रधानमन्त्रीज्यू,

    अन्त्यमा यहाँसँग म मेरा आफ्नै मान्यताहरू ‘सेयर’ गर्न चाहन्छु । यदि नेपालमा अहिले भइरहेको जिम्मेवारी विनाको, उत्तरदायित्व विनाको, सहभागिता विनाको, स्व–अनुशासन विनाको र सहनशीलता तथा सकारात्मकता विनाको स्वतन्त्रताको अभ्यासलाई नै लोकतन्त्र भन्ने हो भने म सख्त रूपमा लोकतन्त्र विरोधी हो । अहिले हामीले गरिरहेको अभ्यास लोकतन्त्र होइन, अराजकता हो भनेर अब पनि पहिचान नगरिने र यही राजनीतिक घनचक्करलाई अनन्तसम्म निरन्तर गर्ने हो भने यही ‘लोकतन्त्र’ ले हामीलाई सकाउँछ भन्ने भय मेरो मनमा छ । मानिसको वैयक्तित र दैनन्दिन स्वतन्त्रतापूर्ण रूपमा खुला हुनुपर्छ तर अराजकतालाई ‘तथाकथित राजनीतिक अधिकार’ को नाममा छोपिराख्ने कुरामा नियन्त्रण हुनुपर्छ । विश्लेषक सौरभले भने झैं– कृपया, देशको एउटा मेजर सर्जरी गरिदिनू । समकालमा त्यस्तो गर्न सक्ने व्यक्ति तपाईं बाहेक अरू कोही छैन ।

  • ओली ज्यू, तपाईंलाई प्रधानमन्त्री भन्न पनि लाज लाग्छ

    ओली ज्यू, तपाईंलाई प्रधानमन्त्री भन्न पनि लाज लाग्छ

    सम्माननीय प्रधानमन्त्रीज्यू,

    निर्वाचनको पूर्वसन्ध्यामा तपाईंले उम्मेदवारको हैसियतले हामीलाई मतदाताका रूपमा पत्र पठाउनुभएको थियो । आज म नागरिकका हैसियतले सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंलाई पत्र पठाउँदैछु ।

    मेरो देशका प्रधानमन्त्रीज्यूले घरघरमा खाना ल्याइपुर्याउँछन् । अब विदेशी भूमिमा सस्तो मूल्यमा परिश्रम बेचेर स्वाभिमान बेच्नुपर्दैन । दुईतिहाइको सरकार बनेपछि महिनैपिच्छे सरकार गिराउने र बनाउने खेलको अन्त्य हुन्छ भनेर म ढुक्क थिएँ ।

    तर, सोचेजस्तो नहुँदोरहेछ । हँसिया–हथौडावाहक सिम्रिक झण्डा र सूर्य मतदान चिन्हको प्रचारमा हातमा डिजे समातेर ‘सही पनि एमाले, मै पनि एमाले’ भनेर मेरो गाउँको ५९ वर्षीय हर्कबहादुर निकै फुर्तिका साथ जुटेको थियो । सम्माननीय प्रधानमन्त्रीज्यू उता शहरतिर तपाईंको पनि उखान टुक्का मिश्रित भाषणले रौनक छाएको थियो । प्रचार र भाषणबाजीमा कुनै अपुग थिएन । भोजभतेरमा कमि थिएन । जनता जुर्मुराएका थिए । यसैको फलस्वरुप दुईतिहाइसहितको सरकार बन्यो । धेरैले गर्व गरे होलान् ।

    संविधानको अपमान गर्दै सत्तास्वार्थको खेलमा नेपाली जनताको मतको हुर्मत उडाएर आफूलाई सर्वशक्तिमान बनाउने महत्वाकांक्षाले तपाईंले नयाँ नाटक मञ्चन गरेर सात दशक लामो संघर्षपछि बनेको संविधानलाई विघटन गरेर ‘कु’ गर्नुभयो । योभन्दा ठूलो अपराध के हुनसक्छ ?

    तर, ती गर्व गरेका दिन वितेको धेरै भएको छैन । अहिले एकाएक पुरानो रोगको पुनरावृत्ति भएको छ । सरकार बन्ने र ढल्नेको कुनै ठेगान हुँदैनथ्यो । प्रधानमन्त्रीज्यूको मीठो भाषणबाट प्रभावित नेपाली जनताले आफ्नो अभिमत जाहेर गर्दै दुईतिहाइ दिलाए । दुईतिहाइ बहुमतको सरकार बनेयता समय–समयमा विभिन्न काण्डहरूमा– भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद मात्र नभई किस्ताबन्दीमा संविधानको हत्या समेत गरियो । हुँदाहुँदै अन्तिममा संसद नै विघटन गरेर नेपाली राजनीतिलाई अस्थिर बनाइयो ।

    संविधानको अपमान गर्दै सत्तास्वार्थको खेलमा नेपाली जनताको मतको हुर्मत उडाएर आफूलाई सर्वशक्तिमान बनाउने महत्वाकांक्षाले तपाईंले नयाँ नाटक मञ्चन गरेर सात दशक लामो संघर्षपछि बनेको संविधानलाई विघटन गरेर ‘कु’ गर्नुभयो । योभन्दा ठूलो अपराध के हुनसक्छ ?

    प्रधानमन्त्रीज्यू,

    तपाईं गुटको रक्षक र फरक मत राख्नेका लागि यति निर्मम हुनुहुँदोरहेछ, तपाईं कसरी यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री निर्वाचित हुनुभो ? तपाईंकै शब्द सापटी लिएँ । तपाईंको यो हर्कतले मलाई पनि ताज्जुब लागेर आयो । तपाईंले पार्टीभित्रको आन्तरिक संगठनात्मक प्राविधिक व्यवस्थापन गर्न नसकेर पाँचवर्षे स्थायी सरकारको सबै सपना भुलेर नयाँ नाटक मञ्चन गर्दा कत्ति पनि लाज लागेन र ? तपाईंले त संविधानको रक्षक राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि आफ्नै रबरस्ट्याम्प बनाएर ‘श्री ६’ बन्न प्रेरित गर्नुभो । योभन्दा ठूलो अपराध के हुनसक्ला र ?

    प्रधानमन्त्रीज्यू,

    तपाईंको कर्ममा मलाई कुनै भरोसा नै थिएन किनकि गणतन्त्र ल्याउँदा उखान वाचन गरेर बयलगाडा चढेर अमेरिका पुगिंदैन भन्नुहुन्थ्यो । बयलगाडा र गणतन्त्रलाई विश्लेषण गर्ने तपाईंको यो अचेत मानसिकताबारे हामीलाई चिन्ता थियो । एक सचेत नागरिकका लागि यही काफी थियो तर, तपार्इंको झूटो भाषण र झूटा सपनालाई नेपाली जनताले चिन्न सकेनन् । त्यही भूल थियो ।

    तपाईंको भाषण एकातिर र कर्म अर्कोतिर हुँदोरहेछ । तपाईं यति गफाडी र झूटो बोल्नुहोला भन्ने विश्वास थिएन । तर, तपाईंको बोलीको ठेगान नहुँदोरहेछ । अब त मेरो देशको प्रधानमन्त्री भन्दा मेरो आफ्नै गरिमा घटेर आउँदैछ । मलाई लाज लागिरहेको छ ।

    निर्वाचनको पूर्वसन्ध्यामा तपाईंले गरेको भाषण, तपाईंका घोषणापत्रहरू सबै सुरक्षित छन् । तपाईंले समृद्धिको झूटो नारा लगाउनुभो । पानीजहाजदेखि, ग्याँसपाइपका समेत सपना बाँड्नुभो तर अहिले तपाईंका कर्म हेर्दा जताततै भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद र कमिशनको जग बसाल्नुभो । किस्ताबन्दीमा संविधानको मर्म र भावानामाथि नै धावा बोल्नुभो । काण्डैकाण्ड गर्दै नयाँ इतिहास रच्नुभो र जगहँसाउनुभो । गर्दागर्दा नेपाली मतदाताको अपमान गर्नुभो । यो व्यवस्थामाथि नै अविश्वास पैदा गराउनुभो ।

    तपाईंको भाषण एकातिर र कर्म अर्कोतिर हुँदोरहेछ । तपाईं यति गफाडी र झूटो बोल्नुहोला भन्ने विश्वास थिएन । तर, तपाईंको बोलीको ठेगान नहुँदोरहेछ । अब त मेरो देशको प्रधानमन्त्री भन्दा मेरो आफ्नै गरिमा घटेर आउँदैछ । मलाई लाज लागिरहेको छ ।

    आजका दिनमा पुनः तपाईंका भाषण सम्झिंदैछु । तपाईंको समृद्धिको नारा, तपाईंको राष्ट्रियता कहाँ हरायो ? खोज्दैछु, कतै भेट्टाइनँ । आज सोध्दैछु वैशाख जेठको टन्टलापुर घाममा गिटी कुट्दै गरेकी सुत्केरी आमालाई सोधें, दीर्घरोगी भएको आर्थिक अभावमा हात फैलाइरहेको वृद्धलाई सोधें, कोरोना कहरका बीच स्वदेश फर्केर पुनः विदेशका लागि लाम लागेको युवालाई सोधें तर कतै पनि समृद्धिले छोएको भेटिएन ।

    राष्ट्रियताका सन्दर्भमा सबै घटनाक्रम हे¥यौं कतै शिर ठाडो भएन । हुँदाहुँदै पार्टीको गुटबन्दी मिलाउन, संसद विघटन र पुनःस्थापना गराउनका लागि समेत प्रत्यक्ष रूपमा रअ प्रमुख सामन्त गोयल र चाइनाकी राजदूत होउ यान्छी समेतको दौडधूपले मलाई लाग्छ तपाईंको राष्ट्रियता हाटबजारमा कौडीको मूल्यमा बेचियो । न त समृद्धि, न त राष्ट्रियता, न त स्थिर सरकार नै । तपाईंबाट के आश गर्नु ? तपाईंका हरेक वाणीहरू झूट प्रमाणित भए ।

    अझ हरेक दिन खाडी मुलुकतर्फ गएर रोजीरोटी गर्नेहरूको भीड उस्तै छ । पैसा कमाएर घरधन्दा चलाउने योजनाकार नेपाली युवाहरूको सपना बाकसमा लास बनेर फर्किएको सत्य घटनाहरू प्रधानमन्त्रीज्यूका सामु छँदैछन् । सेवा सहजता र विकास कुरेर बसेको मेरो गाउँको अवस्था उस्तै छ । काम खोज्ने कामले लखतरान परेका युवाहरूको दैनिकी पनि उस्तै छ । फेरियो त शासकहरूको मुहार, शासन भने उस्तै छ ।

    अरू बेलाभन्दा यो बेलाको सरकारमा केही भिन्नता भने देखिएको छ । केही गर्न नसके पनि प्रधानमन्त्रीज्यू आफ्नो भाषणमार्फत मतदाताहरूलाई चुड्किलासहितको सेवा प्रदान गरिरहनुभएको छ । यसमा हाम्रो गाउँका गरीब जनता सन्तुष्ट हुन सक्दैनन् ।

    गल्ती भए माफ दिनुहोला प्रधानमन्त्रीज्यू, गरीब जनता भोको पेटलाई पटुकाले कसेर सधैं चुड्किला सुनिरहन सक्दैनन् । दुर्गम बस्तीमा बस्ने दाजुभाइको सानो झुप्रो थियो । त्यो पनि यसपालिको हावाहुरीको वेगले उडाएर लग्यो । उसका लागि खुला आकाशको बास भएको छ । साना नानीबाबुहरूलाई चिसोले निमोनिया भैसकेको छ । प्रधानमन्त्रीज्यू, तपाईं पानीजहाजको कुरा गर्नुहुन्थ्यो, अझै पनि गाउँमा घण्टौं लगाएर पानी लिन पँधेरो जानुपर्छ । अब भन्नुस् म पानी जहाजको सपना देखेर पानी खान छोडिदिऊँ ?

    अरू बेलाभन्दा यो बेलाको सरकारमा केही भिन्नता भने देखिएको छ । केही गर्न नसके पनि प्रधानमन्त्रीज्यू आफ्नो भाषणमार्फत मतदाताहरूलाई चुड्किलासहितको सेवा प्रदान गरिरहनुभएको छ । यसमा हाम्रो गाउँका गरीब जनता सन्तुष्ट हुन सक्दैनन् ।

    आजकल विद्यालय पढ्ने बहिनीहरू बाहिर निस्कन डराउँछन् । उनीहरू झिसमिसेमा पँधेरोसम्म पनि जान मान्दैनन् । स्कूल कलेज पु¥याउन जानुपर्छ । आजकल उनीहरू बाघ–भालुसँग भन्दा मान्छेहरूसँग ज्यादा डराउँछन् । उनीहरूलाई सबैभन्दा ठूलो डर त यो देशको सरकारसँग लाग्छ । हाम्री गाउँकी चेलीबहिनीहरूको अविश्वास अपराधीसँगको मात्र होइन, सरकारसँगको पनि अविश्वास हो ।

    प्रधानमन्त्रीज्यू,

    नेताले सपना देख्न र बाँड्न पनि पाइन्छ । तर, सस्तो लोकप्रियताका निमित्त तपाईंले बाँडेका सपनाहरूले गाउँका हजुरबुवा, हजुरआमाहरू सरापिरहेका छन् । हजुरले दोब्बर बनाउने भनेको वृद्ध भत्ता जतिको त्यत्ति छ । उनीहरु सधैं छाती पिटेर रोइरहेका छन् । आजकल हजुरको लागि जिन्दावाद र मूर्दावादको नारा लगाउँदै हिंडेको मेरो गाउँको हर्क छाती पिट्दै रोइरहेको छ । हजुरको कार्यकर्ताले खोलीखोलामा पुल निर्माण गरिदिने कुराले हजुरको पार्टीलाई ढुक्क भएर मतदान गरेका थिए । तर, त्यो खोलीखोला कार्यकर्ताका लागि खाने भाँडो बनेको छ । तल्लो गाउँदेखि साना नानीहरूले करिब एक घण्टाको बाटो हिंडेर स्कूल जाने दिन पनि जस्ताको तस्तै छ ।

    म आजकल सोच्न बाध्य हुन्छु– किन, यो मामिलामा तपाईं चुक्नुभयो ? सरकारको संवेदनशीलता किन हराएको हो ? निर्मलाको हत्याकाण्ड कता हरायो ? सुनकाण्ड के’भा हो ? वाइडबडी रवीन्द्रजीसँगै गएको हो कि ? अनि एउटा कलाकारले नेता र सरकारको असली चरित्रको पर्दाफास गर्दा अरिंगालहरूको धम्की आएछ । किन, लोकतन्त्रमा कलामाथि अंकुश लागेकै हो र ? होइन भने किन सरकार न्याय दिन डगमगायो ?

    प्रधानमन्त्रीज्यू,

    तपाईंको उखान टुक्का मिश्रित भाषणमा निकै मिठास थियो । बोल्ने बेला त निश्चय पनि यी कामहरू हुन्छन् जस्तो लाग्थ्यो होला । तर, आज हजुरको पार्टीलाई मतदान गरेका जनता अहिले सुन्न नमिल्ने गरी एकोहोरो गाली गरिरहेका छन् । मलाई पनि चिन्ता लाग्छ मेरो देशको प्रधानमन्त्रीको गरिमामय पदमाथि जे पायो त्यै गाली सुनेर । कहाँ हरायो प्रधानमन्त्रीज्यू तपाईंको राष्ट्रियता ? किन यो देशमा फेरि अशान्ति नै मच्चाउने खेल हो कि ? कम्युनिष्ट आन्दोलन भनेर १७ हजारका टाउका गिंडिए । फेरि पनि के खोजेको हो ?

    तपाईंको उखान टुक्का मिश्रित भाषणमा निकै मिठास थियो । बोल्ने बेला त निश्चय पनि यी कामहरू हुन्छन् जस्तो लाग्थ्यो होला । तर, आज हजुरको पार्टीलाई मतदान गरेका जनता अहिले सुन्न नमिल्ने गरी एकोहोरो गाली गरिरहेका छन् ।

    प्रधानमन्त्रीज्यू, विभिन्न अभ्यास गर्नुभो । तपाईंका कार्बन कार्यकर्ताहरू सामाजिक सञ्जालमा तपाईंले गरेको अपराधको प्रतिरक्षा गर्न फरक मत राख्नेका लागि अरिङ्गाल बन्दैछन् । तपाईं गलत गर्दै जानुहुन्छ, तपाईंका कार्बनकपीहरू तपाईंको प्रतिरक्षास्वरुप सडकमा नारा लगाउँदै हिंड्छन् । संविधानको ‘कु’ गर्नुभो तर, तपाईंका भजनगायकहरू चोकचोकमा दिपावली मनाएर हिंडेको देख्दा मलाई पनि ताज्जुब लाग्दैछ । जे गर्नुभो त्यो नेपाली जनताको आँखामा अपराधतुल्य छ ।

    नेपाली जनताको गुञ्जयमान गर्ने थलो भत्काइदिनुभो । अब योभन्दा ठूलो अपमान र अपराध के होला र ? हामीले निर्मम भए भनेर राजा फाल्यौं । तर, त्योभन्दा निर्मम ‘श्री ६’ विद्या भण्डारीज्यूलाई बनाउन प्रेरित गर्नुभयो । तपाईंको यो सर्वसत्तावादी चरित्र र महत्वाकांक्षाको नाटक मञ्चन हामी हेर्न सक्दैनांै । अब एक, दुई, तीन तपाईं झूटो बोल्न बन्द गर्नुहोस् !