Tag: प्रदेश-२

  • प्रदेश २: नाम जानकी र राजधानी जनकपुरधाम तोक्न एमालेको प्रस्ताव

    प्रदेश २: नाम जानकी र राजधानी जनकपुरधाम तोक्न एमालेको प्रस्ताव

    जनकपुरधाम । प्रदेश २ को नाम जानकी र राजधानी जनकपुरधाम तोक्न नेकपा एमालेले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ ।

    एमालेका संसदीय दलका नेता शत्रुधन महतोले आज उक्त प्रस्ताव दर्ता गराएका छन् । पार्टीको निर्णय बमोजिम प्रस्ताव दर्ता गराएको एमाले सांसद प्रमोद यादवले जानकारी दिए ।

    यसअघि पनि एमालेले प्रदेशको नाम जानकी र राजधानी जनकपुरधाम प्रस्ताव नै दर्ता गराएको थियो ।

    नेपाली कांग्रेसले भने अहिलेसम्म प्रदेशको राजधानी र नामका विषयमा प्रस्ताव दर्ता गराएको छैन । प्रदेशको नाम मिथिला-भोजपुरा र राजधानी जनकपुरधाम प्रस्ताव दर्ता गराउने कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले जानकारी दिए ।

    सतत्तारूढ जसपा र नेकपा माओवादी केन्द्रले भने प्रदेशको नाम मधेस र राजधानी जनकपुरधामलाई तोक्न अलग-अलग प्रस्ताव दर्ता गराएका छन् ।

    प्रदेशसभा गठन भएको साढे तीन वर्ष वितिसक्दा पनि राजधानी र नाम पनि टुंगो लगाउन नसकेको भन्दै सरकारको व्यापक आलोचना भएपछि प्रदेशसभा सचिवालयले वैशाख ९ दिउँसो ३ बजेसम्मको समय दिँदै वैशाख २ मा प्रस्ताव दर्ताको आह्वान गरेको थियो ।

    प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाई बहुमत चाहिने कानूनी व्यवस्था छ । तर, राजधानीबाहेक प्रदेशको कुनै नामको प्रस्तावमा दुईतिहाई बहुमत पुग्ने अवस्था छैन । सहमति जुट्न नसके फेरि पनि सबै प्रस्ताव फेल हुने सम्भावना देखिएको छ ।

    प्रदेशसभामा कूल १०७ सांसद छन् । जसमध्ये आफ्ना चार सांसदलाई माओवादी केन्द्रले पदमुक्त गरिसकेका छन् । अहिले सत्तारूढ जसपाका ५५, माओवादी केन्द्रका ७, एमालेका २१, कांग्रेसका १९ र नेपाल समाजवादी पार्टीका एक सांसद छन् ।

    प्रस्ताव पारित गराउन १०३ सांसदको दुईतिहाई ६९ सांसद चाहिन्छ । सत्तारूढ जसपा र माओवादी केन्द्रका सांसद जोड्दा ६२ पुग्छ । मधेस प्रदेश पारित गर्न अझै ७ सांसद आवश्यक पर्छ ।

  • प्रदेश २ मा भोलि सार्वजनिक विदा

    प्रदेश २ मा भोलि सार्वजनिक विदा

    जनकपुरधाम । प्रदेश २ सरकारले रामनवमीको दिन भोलि सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै रामनवमीको अवसरमा सार्वजनिक बिदा दिएको जनाएका छन् ।

    कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड र सरकारले जारी गरेको निर्देशनहरुको पालना गर्न पनि प्रदेशवासीसँग मुख्यमन्त्री राउतले अनुरोध गरेका छन् ।

    रामनवमीको अवसरमा भव्य कार्यक्रम हुने जनकपुरस्थित राम मन्दिर र जानकी मन्दिरमा पछिल्ला २ वर्षमा कोरोना कहरको प्रभाव परेको छ ।

  • प्रदेश २ : नाम र स्थायी राजधानीको प्रस्ताव दर्ता गराउन सात दिने सूचना

    प्रदेश २ : नाम र स्थायी राजधानीको प्रस्ताव दर्ता गराउन सात दिने सूचना

    जनकपुरधाम । प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न प्रदेश २ को प्रदेशसभाले सूचना निकालेको छ ।

    प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवद्वारा जारी सूचनामा स्थायी राजधानी र नाम तोक्ने प्रस्ताव दर्ता गर्न वैशाख ९ गते दिनको ३ बजेसम्मको समय दिइएको छ ।

    झण्डै ६ महिनापछि चैत ३० मा बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी र सतारूढ दलकै सांसदहरूले पनि स्थायी राजधानी र नाम तोक्न नसकेकोमा सरकारको आलोचना गरेका थिए । सोही कारण सरकारको आग्रहमा प्रदेशसभाले बिहीबार नै प्रस्ताव दर्ता गराउन सूचना जारी गरेको बुझिएको छ ।

    प्रदेशसभा गठन भएको साढे तीन वर्ष वित्न लाग्दा पनि नाम र स्थायी राजधानी तोक्न नसक्दा प्रदेश सरकारको जताततै आलोचना भइरहेको छ ।

    प्रदेश २ लाई ‘दुई नम्बरी’ भनेर मजाक उडाउने गरेको प्रसंग कतिपय सांसदले पटक-पटक प्रदेशसभा बैठकमै उठाएका छन् । यही कारणले प्रदेश प्रमुख राजेश झाले ‘ कृपया, २ नम्वर प्रदेश होइन्, प्रदेश नम्वर २ भन्ने बानी बसालौं’ सूचना नै आफ्नो कार्यकक्षमा टाँसेका छन् ।

    यसअघि ०७६ चैत ४ मा प्रदेश २ को प्रदेशसभामा नामसम्बन्धी चार प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ प्रस्ताव दर्ता भएको थियो । तर दलहरुबीच सहमति नजुट्दा प्रदेशसभामा मतदान नै भएपनि दुई तिहाई बहुमत नपुगेपछि सबै प्रस्ताव अस्वीकृत भएको थियो ।

    सतारूढ जसपाले प्रदेशको नाम ‘मधेश’, तत्कालीन नेकपाले ‘मिथिला भोजपुरा’ र कांग्रेसले ‘जानकी’ राख्नुपर्ने प्रस्ताव गरेका थिए । यद्यपि केही सांसदबाहेक सबै दल स्थायी राजधानी जनकपुरधामलाई तोक्नुपर्नेमा सहमत भएका थिए । तर, प्रदेशको नाम मधेश नराख्दा सत्तारूढ दलले चलाखीपूर्ण तरिकाले राजधानीको प्रस्ताव पनि फेल गराइयो ।

    प्रदेश २ मा कुल १०७ सांसद थियो । एमाले प्रवेश गरेका आफ्ना चार सांसदलाई माओवादीले पदमुक्त गरेपछि अब १०३ सांसद बाँकी छन् ।

  • शहीद परिवारको दबाबपछि प्रदेश सरकारद्वारा मधेस शहीद प्रतिष्ठान गठन

    शहीद परिवारको दबाबपछि प्रदेश सरकारद्वारा मधेस शहीद प्रतिष्ठान गठन

    जनकपुरधाम । प्रदेश २ सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको छ । शहीद परिवारको पटक पटकको दवावपछि बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठान गठन गरेको हो । प्रतिष्ठान संचालनको मापदण्ड निर्देशक समितिले गर्ने तय गरिएको छ ।

    आन्तरिक मामिला तथा कानून मन्त्री अध्यक्ष रहने समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र समाजिक विकास मन्त्रालयका सचिव तथा मधेसी शहीद परिवारहरु मध्येबाट एक जना महिलासहित दुई जना सदस्य रहने बताइएको छ ।

    समितिको कार्यकारी निर्देशक सदस्य सचिव रहनेछन् । शहीद परिवारबाट दुई जना सदस्यको मनोनित गर्ने अधिकार निर्देशक समितिका अध्यक्ष अर्थात आन्तरिक मामिला तथा कानून मन्त्रीलाई दिइएको छ ।

    मधेस आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपांग भएकाहरुको लागि समाजिक सुरक्षाको प्रबन्ध तथा व्यवस्थापन गर्न प्रतिष्ठानको गठन गरिएको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

    उनका अनुसार प्रतिष्ठानले शहीद परिवार, घाइते भई अपांग भएकाहरुको लागि स्वास्थ्य, शिक्षा, रोजगारी, जीवन निर्वाह भत्ता, आर्थिक उन्‍नत्ति आदि सम्बन्धी कार्ययोजना तयार गरी कार्यान्वयन गराउने, शहीद पार्क निर्माणको लागि स्थानको छनोट लगायत पीडितहरु लक्षित रोजगारमूलक तथा सीपमूलक कार्यक्रमहरु संचालन गर्ने छ ।

    दुईदिन अगाडी मात्र शहिद परिवारहरुले प्रतिष्ठान गठन गर्नसहितका माग पुरा गर्न र नगरिए आन्दोलन गर्ने चेतावनी दिएको थियो । मधेस आन्दोलनको बलमा प्रदेश–२ मा बनेको सरकारले पहिलो बैठकबाट शहीद परिवारको रोजगारी दिनेसहितका निर्णय गरेको थियो । तर उक्त निर्णय अहिलेसम्म पूर्णरुपमा कार्यान्वयन हुन सकेका छैन् ।

    यस्तै आन्दोलनका बेला मधेसी दलले मधेस सरकार बनेपछि शहीद परिवारलाई ५० लाख दिने घोषणा गरेको थियो । तर सरकार बनेपछि बजेट अभावको कारण देखाउँदै निर्णय कार्यान्वयण नगर्दा शहिद परिवारहरु आक्रोशित बनेका छन् । पछिल्लो समय शहीद परिवारले आन्दोलनको धम्की दिएपछि प्रदेश सरकार प्रतिष्ठान गठन गर्न बाध्य भएको हो ।

    यस्तै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमडीको पठनपाठन प्रारम्भ गर्नको लागि प्रदेश सरकारले ९ करोड ३२ लाख १० हजार अनुदान दिने निर्णय पनि गरेको छ ।

  • प्रदेश २ : एमालेमा लागेका माओवादीका चार सांसद पदमुक्त

    प्रदेश २ : एमालेमा लागेका माओवादीका चार सांसद पदमुक्त

    जनकपुरधाम । सर्वोच्चबाट नेकपा एकता बदर भएपछि नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश-२ सभाका चार सांसद पदमुक्त भएका छन् ।

    माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरले एमालेमै बस्ने अडान लिएपछि माओवादीले कारवाही गरेको हो ।

    झण्डै ६ महिनापछि बसेको प्रदेश २ सभा बैठकमा सभामुख सरोजकुमार यादवले नेकपा माओवादी केन्द्रले चार सांसदलाई पदमुक्त गरेको पत्र पढेर सुनाएका हुन् ।

    शुक्रवार चारै सांसदलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलको विधान र राजनीतिक दल सम्बन्धी ऐनले तोकेको दायित्व जानी जानी उल्लंघन किन गरेको भन्दै २४ घण्टै स्पष्टीकरण सोधेका थिए ।

    स्पष्टीकरणको जवाफ नदिएपछि उनीहरू चारैजनालाई सांसद पदबाट मुक्त गरिएको पत्र माओवादीले सभामुखलाई पठाएको थियो ।

    राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ को ‘ख’ बमोजिम माओवादी केन्द्र त्याग गरेको देखिएको सभामुख यादवलाई माओवादी केन्द्रले पठाएको पत्रमा भनिएको छ ।

    पदमुक्तको खबर पाएपछि उनीहरू चारैजना प्रदेशसभा बैठकमा उपस्थित भएनन् । पदमुक्त भएका मण्डल माओवादी केन्द्रका संसदीय दलका नेता थिए । चारजना पदमुक्त भएपछि प्रदेशसभामा अब माओवादी केन्द्रका ७ जनामात्र बाँकी छन् ।

  • माओवादी छाडेर एमालेमा गएका प्रदेश–२ का ४ सांसद कारबाही भोग्न तयार

    माओवादी छाडेर एमालेमा गएका प्रदेश–२ का ४ सांसद कारबाही भोग्न तयार

    जनकपुरधाम । सर्वोच्चबाट नेकपा एकता बदर भएपछि नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश–२ को प्रदेशसभामा चार सांसद माओबादीमा नफर्किने बरु कारबाही भोग्न तयार हुने निर्णयमा पुगेका छन् ।

    माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीरले सांसद पद गुमे पनि एमालेमै बस्ने बताएका छन् ।

    शुक्रवार चारै सांसदलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २४ घण्टै स्पष्टीकरण सोधेका थिए । तर उनीहरु कोही पनि स्पष्टीकरणको जवाफ दिएनन् । सांसद मण्डलले भने, ‘स्पष्टीकरण बुझाउँदिन, कारबाहीबाट डराएको छैन ।’

    पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिए पनि कारबाही गर्ने भएपछि उनीहरु स्पष्टीकरणको जवाफ नदिने निष्कर्षमा पुगेका छन् । स्पष्टीकरण नबुझाएपछि सम्भवतः आजै उनीहरुले सांसद पद गुमाउनेछन् ।

    झण्डै ६ महिनापछि प्रदेश–२ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रदेशसभा बैठकमा पनि सहभागी नहुने उनीहरुले बताएका छन् । साँसद मण्डलले भने, ‘म त प्रदेशसभा बैठकमा जादिनँ । साथीहरु पनि जानुहुन्न होला ।’

    प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् । जसमध्ये चार साँसद एमालेमा पुगेपछि माओवादी कमजोर बन्ने निश्चित छ । उनीहरुलाई पदमुक्त गरेमा माओवादीका मात्र ७ सांसद प्रदेशसभामा रहनेछन् ।

    सांसद मण्डल माओवादी केन्द्रका संसदीय दलका नेता थिए । तर उनी एमालेमा पुगेपछि सांसद भरत प्रसाद साहलाई माओवादी केन्द्रले शुक्रवार नै संसदीय दलका नेता चयन गरिसकेको छ । आजको प्रदेशसभा बैठकमा साहले नै संसदीय दलका नेताको मान्यता पाउनेछन् ।

    यस्तै नेकपा एमालेमा पनि विवाद देखिएको छ । एमालेका २१ सांसदमध्ये माधव नेपाल पक्षका १३ सांसदले बहुमतको आधारमा संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेका छन् ।

    मण्डल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् । नयाँ संसदीय दलका नेतामा महतोलाई चयन गरिएको कुरा सभामुख सरोज कुमार यादवलाई पत्रमार्फत जानकारी गराइसकेको सांसद प्रमोद यादवले जानकारी दिए ।

  • प्रदेश २: नेपाल पक्षले महतोलाई बनायो संसदीय दलको नेता, मण्डल हटाइए

    प्रदेश २: नेपाल पक्षले महतोलाई बनायो संसदीय दलको नेता, मण्डल हटाइए

    जनकपुरधाम । नेकपा एमालेको माधव नेपाल पक्षले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ ।

    आइतबार जनकपुरस्थित प्रदेशसभा परिसरमा रहेको संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल पक्षका सांसदहरुको महतोलाई नेता चयन गरेका हुन्। मण्डल एमालेको संस्थापन पक्षका हुन्।

    यस्तै बैठकले रवीन्द्र बैठालाई उपनेता, सुन्दर विश्वकर्मालाई प्रमुख सचेतक र बेची लुङ्गेलीलाई सचेतकमा चयन गरेको छ ।

    ६ महिनापछि भोलि बस्न लागेको प्रदेशसभा बैठकअघि नेपाल पक्षले संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक गरेको हो।

    प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् । जसमध्ये १३ सांसद नेपाल पक्षमा लागेका छन् ।

    सभामुखलाई पत्र

    त्यस्तै महतोलाई संसदीय दलका नेता चयन गरिएको पत्र सभामुख सरोज कुमार यादवलाई बुझाएको सांसद प्रमोद यादवले जानकारी दिए । उनका अनुसार भोलिको प्रदेशसभा बैठकमा नेकपा एमालेको संसदीय दलका नेताको भूमिका महतोले निर्वाह गर्ने छन् ।

    माओवादी केन्द्र र नेकपा एमाले एकिकरण भएपछि पनि संसदीय दलका नेता मण्डल नै चयन भएका थिए ।

    तर नेकपामा विवाद भएपछि माधव नेपाल र प्रचण्ड एक ठाउँमा उभिएको बेला महतोलाई संसदीय दलको नेता चयन गरिएको थियो ।

  • सोमबार प्रदेश २ सभाको बैठक बस्दै

    काठमाडौं । प्रदेश २ मा करीब छ महीनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको छ ।

    प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जीत यादवका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो ।

    संसद् बैठकअघि कार्यव्यवस्था समितिको बैठक बोलाइए पनि सदस्यको टुङ्गो लाग्न नसक्दा बैठक बस्न नसकेको प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए ।

    नेकपा पार्टी विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको हो ।

    पाँचौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय छ । अन्य विषयमा दलसँग छलफल भइरहेको यादवले जानकारी दिए ।

    माओवादी केन्द्रको संसदीय दलको नेतामा साह

    प्रदेश २ मा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेको छ । पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो । यस्तै उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र सचेतकमा रुवि कर्ण चयनभएको छ ।

    तत्कालीन नेकपा एमालेसँग एकीकरण हुनुअघि माओवादीको दलको नेतामा रामचन्द्र मण्डललाई चयन गरिएको थियो तर पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मण्डल प्रधानमन्त्री ओलीको खेमामा लागेका अहिले भरत साहलाई दलका नेताका रुपमा चयन गरिएको प्रमुख सचेतकमा चुनिएका दिलीप साहले जानकारी दिए।

    ओली समूहमा लागेका मण्डलसहित चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत पेरिसडाँडा बैठकले गरेको प्रमुख सचेतकमा चुनिएका साहले जानकारी दिए ।

    मण्डलसहित कुन्दन साह, ज्वाला साह र मो समीर अन्सारी ओली खेमामा लागेका छन् । उनीहरु चार जनालाई स्पष्टीकरण सोधिने र त्यसपछि प्रक्रिया पूरा गरी सांसदबाट हटाउने तयारीसमेत पार्टीले गरेको सचेतक साहले जनाए ।

    प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् । प्रदेशको पाँचौँ अधिवेशनको पहिलो बैठक चैत ३० गते सोमबार दिनको १ बजे आह्वान गरिएको छ ।

  • प्रदेश २ का चारजना माओवादी सांसद एमालेमा, प्रचण्डले सोधे स्पष्टीकरण (पत्रसहित)

    प्रदेश २ का चारजना माओवादी सांसद एमालेमा, प्रचण्डले सोधे स्पष्टीकरण (पत्रसहित)

    जनकपुर । नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका माओवादीका चारजना प्रदेशसभा सदस्य एमालेमै रहने भएका छन् । माओवादी संसदीय दलका नेता नै एमालेतिर लागेपछि पार्टीले चारैजनालाई कारवाही प्रक्रिया अघि बढाएको छ ।

    एमालेमा लाग्ने चारमध्ये तीनजना प्रत्यक्ष निर्वाचित छन् । रामचन्द्र मण्डल धनुषा १ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । बारा क्षेत्र नम्बर ३ को क बाट निर्वाचित ज्वालाकुमारी साह र रौतहट ३ को ख बाट निर्वाचित कुन्दनप्रसाद कुशवाह पनि एमाले भएका छन् ।

    बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमाले बनेका छन् । उनीहरु चारैजनालाई २४ घण्टे स्पष्टिकरण सोधिएको माओवादी संसदीय दलका प्रमुख सचेतक दिलिप साहले नेपाल प्रेसलाई बताए ।

    उनले भने, ‘शुक्रवार बेलुका नै स्पष्टिकरण पत्र पठाइसकिएको छ । तर उहाँहरुले जवाफ अहिलेसम्म पठाउनुभएको छैन । अब पद रिक्त गराउने प्रक्रियामा जान्छौं ।

    दलका नेता मण्डलसहित चारैजनालाई माओवादी अध्यक्ष प्रचण्डले नै हस्ताक्षर गरेर स्पष्टिकरण सोधिएको छ । चैत २७ गतै नै सोधिएको स्पष्टिकरणको जवाफ उनीहरुले दिएका छैनन् ।

    अन्य पार्टीमा गतिविधि गरिरहेकाले उनीहरुलाई पदमुक्त गरिने माओवादी केन्द्रले जनाएको छ ।सोमवार प्रदेश २ को प्रदेशसभा बैठक पनि बस्दैछ । प्रदेशसभा बैठक अघि नै चारै साँसदलाई पदमुक्त गरिने एक नेताले जानकारी दिए ।

    रामचन्द्र मण्डल नेकपा माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता थिए । तर एमालेतिर लागेपछि उनलाई हटाएर माओवादी केन्द्रले शुक्रवार मात्रै भरतप्रसाद साहलाई संसदीय दलका नेता चयन गरेको छ ।

    संसदीय दलका उपनेता रहेका दिलिप साहलाई प्रमुख सचेतक र जगत यादवलाई दलका उपनेता चयन गरिएको छ । प्रदेशसभामा माओवादीका ११ सांसद रहेकोमा चारजनालाई कारवाही गरेपछि ७जनामा सिमित हुने भएको छ ।

    माओवादीले राजनीतिक दल सम्बन्धी ऐनको प्रयोग गरि एमालेमा प्रवेश गरेका चारजना प्रतिनिधिसभा सदस्यको पद रिक्त गराइसकेको छ । त्यस्तै प्रदेश १ र लुम्बिनीका तीनजा प्रदेशसभा सदस्यको पद रिक्त भइसकेको छ भने राष्ट्रियसभाका दुईजना र सुदूरपश्चिमका एकजना सदस्यको पद रिक्त गराउने प्रक्रियामा छ ।

  • प्रदेश २ः माओवादी दलको नेतामा भरत साह, प्रमुख सचेतकमा दिलिप साह चयन

    प्रदेश २ः माओवादी दलको नेतामा भरत साह, प्रमुख सचेतकमा दिलिप साह चयन

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ मा संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक चयन गरेको छ । दलका नेता रामचन्द्र मण्डल नेकपा एमालेमा लागेपछि भरतप्रसाद साहलाई चयन गरिएको हो ।

    त्यस्तै दलको उपनेतमा सांसद जगत यादव र प्रमुख सचेतकमा दिलिप साह चुनिएको माओवादी केन्द्रले जनाएको छ ।

    दलका नेता साह महोत्तरीबाट निर्वाचित भएका हुन् । यादव समानुपातिक सांसद हुन् भने प्रमुख सचेतक साह सिरहाबाट प्रत्यक्ष निर्वाचित सांसल हुन् । उनी साह यसअघि दलका उपनेता थिए ।

    माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय गरिएको प्रमुख सचेतकमा चयन भएका यादवले जानकारी दिए । काठमाडौंस्थित पार्टी कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरिएको उनले बताए ।

    संसदीय दलको नेताबाट हटाइएका मण्डल, कुन्दन साह, ज्वाला साह र मो. समिर अन्सारी माओवादी केन्द्र छाडेर एमालेमा गएका हुन् । उनीहरुलाई स्पष्टीकरण सोधिने र त्यसपछि प्रक्रिया पूरा गरी सांसदबाट हटाउने माओवादीको तयारी छ ।

    प्रदेश २ मा माओवादी केन्द्रका ११ र नेकपा एमालेका २१ सांसद छन् ।

  • पत्रकार महासंघ प्रदेश-२ मा चौतारी र प्रेस मञ्चको गठबन्धन विजयी

    पत्रकार महासंघ प्रदेश-२ मा चौतारी र प्रेस मञ्चको गठबन्धन विजयी

    जनकपुरधाम । नेपाल पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा प्रेस मञ्चका राजेश कुमार कर्ण विजयी भएका छन् ।

    प्रदेश २ मा जनता समाजबादी पार्टी समर्थित प्रेस मञ्च र एमाले सम्बद्ध प्रेस चौतारीको गठबन्धन बनेको थियो । कर्णले कांग्रेस सम्बद्ध प्रेस युनियन र नेकपा माओबादी केन्द्र सम्बद्ध प्रेस संगठनका संयुक्त उम्मेदवार नवलकिशोर यादव (बाबा)लाई चार मतान्तरले पराजित गरे । कर्णले ३ सय ४६ मत ल्याए ।

    उपाध्यक्षमा प्रेस चौतारीका रामानन्द गुप्ता विजय भए । उनले प्रेस संगठनका उम्मेदवार राजु विश्वकर्मालाई पराजित गरेका हुन् ।

    यस्तै महिला उपाध्यक्षमा प्रेस संगठनकी ज्योती झा विजयी भइन् । महिला उपाध्यक्षमा प्रेस संगठनबाटै माला कर्णले पनि उम्मेदवारी दिएकी थिइन् । जसका कारण संगठनमा कसलाई आधिकारिक मान्नेमा विवाद भएको थियो । पछि झालाई आधिकारिकता दिएपछि उनलाई जित्न सजिलो भएको हो ।

    महासचिवमा गठबन्धनबाट प्रेस चौतारीका श्याम प्रसाद बञ्जारा, सचिवमा प्रेस युनियनका अजित कुमार सिंह, सचिव समावेशीमा प्रेस मञ्चका भोला पासवान, कोषाध्यक्षमा प्रेस मञ्चकै विश्वनाथ ठाकुर विजयी भए ।

    प्रदेश सदस्यमा प्रेस मञ्चकै अधिकांश उम्मेदवार विजयी भएका छन् । यो निर्वाचनले प्रदेश २ का जिल्लाहरुमा मञ्च पनि सशक्त संगठन बनेको प्रमाणित गरिदिएको छ ।

  • कांग्रेसको दवावपछि प्रदेश २ को प्रदेशसभा बैठक आह्वान

    कांग्रेसको दवावपछि प्रदेश २ को प्रदेशसभा बैठक आह्वान

    जनकपुरधाम । झण्डै ६ महिनापछि प्रदेश २ को प्रदेशसभा बैठक बस्ने भएको छ । आइतबार प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ ले प्रदेशसभाको पाँचौं अधिवेशन आह्वान गरेका हुन् ।

    प्रदेश मन्त्रिपरिष्दको सिफारिसमा प्रदेश प्रमुख अहिराजले यही चैत ३० गते दिनको १ बजे पाँचौँ अधिवेशनको आह्वान गरेका छन् । यसअघि कार्तिक ३ मा प्रदेशसभा बैठक बसेको थियो ।

    जनता समाजवादी पार्टीको संसदीय दलको नेता चयन हुन नसक्दा प्रदेशसभा बैठक बस्न मन्त्रिपरिषद्ले सिफारिस गरेको थिएन । अझै जसपाले संसदीय दलको नेता चयन गर्न सकेका छैन । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आफ्नै सांसदले प्रदेशसभा बैठक राख्न दबाब दिएपछि मन्त्रिपरिषद्ले सिफारिस गरेको बुझिएको छ ।

    लामो समयदेखि प्रदेशसभा बैठक बस्न नसकेको भन्दै कांग्रेस सांसद नरेश यादवले प्रदेशसभा नै विघटन गर्न माग गरेका थिए । देशको राजनीतिक घटनाक्रमका विषयमा समेत प्रदेशसभामा छलफल हुन नसकेको भन्दै कांग्रेस सांसदहरुले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

    प्रदेशसभा बैठक बस्न नसकेका कारण सरकारले खरिद गरेको पाँचवटा बससमेत सञ्चालनमा आउन सकेका छैनन् । ती बस अहिले मधेस भवनमा अलपत्र छन् ।

    प्रदेशसभाबाट कार्यविधि नबनेका कारण बस सेवा सञ्चालनमा आउन नसकेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । प्रदेशसभा बस्न नसकेर कैयौं विधेयक समेत अलपत्र छन् ।

  • प्रदेश २ कोरोनाको उच्च जोखिममा, सीमामा छैन सतर्कता

    प्रदेश २ कोरोनाको उच्च जोखिममा, सीमामा छैन सतर्कता

    जनकपुरधाम । छिमेकी देश भारतका कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएसँगै सीमा जोडिएका प्रदेश २ का जिल्ला उच्च जोखिममा छन् ।

    भारतमा मजदुरी गर्न गएकाहरू होली मनाउन घर फर्किन थालेपछि संक्रमणको जोखिम बढेको हो । सीमामा आवतजावत गर्नेहरूको भीड हुँदासम्म स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छैन । विगतमा संचालित हेल्प डेस्कहरू पनि बन्द अवस्थामा छ । नयाँ हेल्प डेस्कको तयारी पनि कसैले गरेका छैनन् ।

    खुल्ला सीमाका कारण जति कडाइ भारतबाट फर्किने सबैको परीक्षण सम्भव नहुने सुरक्षा अधिकारी बताउँछन् । सीमा क्षेत्रका बासिन्दा भारतीय बजारमा निर्भर छन् । सस्तो हुने भएकोले खाद्यान्नदेखि अधिकांश सामान लिन सीमा क्षेत्रका भारतीय बजारमा पुग्छन् । जसले जोखिम बढाएको छ ।

    प्रदेश प्रहरी प्रमुख डिआईजी धीरजप्रताप सिंहले भारतबाट फर्किने नागरिकको मुख्य नाकाहरुमा परीक्षण भइरहेको दाबी गर्छन् । तर, कुन-कुन नाकाबाट परीक्षण भइरहेको भन्ने चाहिँ बताउँन सकेनन् । होली नजिकिएसँगै भारतबाट फर्किनेहरूको संख्या बढ्न थालेपछि कोरोनो जोखिम बढेकाले सतर्कता बढाउन सीमा क्षेत्रमा खटेका सुरक्षाकर्मीलाई निर्देशन दिएको उनले जानकारी दिए । डीआईजी सिंहका अनुसार भारतबाट फर्किनेहरूमा कोभिड-१९ को लक्षण देखिए अस्पताल पठाउन भनिएको छ ।

    नेपालमा पुनः कोरोना संक्रमण फैलिन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन अनुरोध गरेपनि यस प्रदेशमा त्यसको कुनै प्रभाव परेको देखिँदैन ।

    सप्तरी, बारा, रौतहट र पर्सा प्रशासनले पनि भीडभाड नगर्न, मास्क लगाउन जस्ता सतर्कता अपना सूचना जारी गरेको छ । प्रशासनको अनुरोध भने सूचनामै सीमित बनेको छ । सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्ला प्रशासन कार्यालयले भने सूचना जारी निकालेका छैनन् ।

    धनुषाको कचुरीबाट निस्केको १५ दिने मिथिला माध्यमिकी परिक्रमा यात्रा चलिरहेको छ । परिक्रममा नेपाल र भारतका हजारौं साधुसन्त तथा श्रद्धालु सहभागी छन् । भारत र महोत्तरीको विभिन्न क्षेत्रमा भएको परिक्रमामा स्वास्थ्य मापदण्ड पालना गराउनेतर्फ प्रशासनले चासो देखाउन सकेन ।

    परिक्रमामा सहभागीहरू बिरामी पर्न थालेका छन् । बुधवार औरहीमा परिक्रमा टोलीले विश्राम गरे । त्यहाँ सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा औषधी लिनेहरूको भीड नै लागेको थियो । अधिकांशलाई ज्वरो र रुखाघोकीको समस्या देखिएको चिकित्सकले बताएका छन् ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले परिक्रमाकै कारण केही पूर्वतयारी गर्न नसकेको स्वीकारे । उनले परिक्रममा धेरै भीडभाड जम्मा हुने र बीचैमा बन्द गर्न लगाउँदा गलत सन्देश जाने भन्दै दुई दिनमात्र परिक्रमा चल्ने र त्यसपछि पूर्वतयारीमा जानकारी दिए ।

    प्रजिअ बास्तोलाका अनुसार संक्रमण नियन्त्रणका लागि प्रदेश २ का आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको पूर्वतयारी बैठक बसेर आवश्यक रणनीति र कार्ययोजना बनाउने तयारी भइरहेको छ ।

    कोरोना नियन्त्रणमा आइसकेको प्रदेश २ मा अहिले ३६ जना सक्रिय संक्रमित फेला परिसकेका छन् । सामाजिक विकास मन्त्रालयका अन्सार हालसम्म यस प्रदेशमा कोरोना संक्रमितमध्ये २०९ जनाको मृत्यु भएको छ । १६ हजार ९८४ जना संक्रमणमुक्त भएका छन् ।

  • प्रदेश २ का प्रमुखले फिर्ता गरे दुई विधेयक

    प्रदेश २ का प्रमुखले फिर्ता गरे दुई विधेयक

    जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले प्रमाणीकरणका लागि लगिएका दुई विधेयक फिर्ता पठाएका छन् ।

    प्रमाणीकरणका लागि पठाइएका स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धी विधेयक दुवै विधेयक झाले लिखित रायसहित प्रदेशसभामा फिर्ता पठाएका हुन् ।

    प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले प्रदेश प्रमुखले सुझावसहित दुई विधेयक फिर्ता पठाएको बताए । उनले भने, ‘सुझाव के दिनुभएको छ भन्न कुरा म आफैंले हेरेको छैन । प्रदेशसभामा प्रस्तुत भएपछि मात्र सार्वजनिक गर्न मिल्छ ।’

    यता, सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखले आफ्नो सुझाव दिन सक्ने तर सुझाव समेट्नै पर्छ भन्ने नभएको बताए ।

  • प्रदेश २ का प्रदेश प्रमु्ख अहिराज समकक्षी भेटघाटमा

    प्रदेश २ का प्रदेश प्रमु्ख अहिराज समकक्षी भेटघाटमा

    रुपन्देही । ‘प्रदेश प्रमुख सेरोमोनियल हो तर ईनएक्टिभ होइन’ भन्ने अभियानसहित प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराज देशका बाँकी प्रदेश प्रमुखहरुसंगको भेटघाटमा निस्किएका छन् ।

    दुईसाता अघिमात्रै प्रदेश प्रमुख नियुक्त भएका डा. अहिराज अहिले देशका अरु प्रदेश प्रमुखहरुसँगको भेटघाट र छलफलमा निस्किएका हुन् । बुधवार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवसँग भेटघाट गरेका डा. अहिराजले जानकी मन्दिर र पृथ्वीनारायण शाहको तस्विर चिनोको रुपमा प्रदेश प्रमुख यादवलाई प्रदान गरेका थिए ।

    उक्त तस्विरलाई लुम्बिनी प्रदेशका प्रमुख यादवले महत्वका साथ बैठक कक्षमा तस्विर टाँगेको र त्यो तस्विर त्यहाँ सधै रहिरहनेमा आफु विश्वस्त रहेकोसमेत बताए । प्रदेश प्रमुखको शपथग्रहणपछि कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्विर राखेर आफ्नो काम शुरु गरेपछि डा. अहिराज देशभर चर्चामा आएका थिए ।

    प्रदेश प्रमुख यादवसँगको भेटघाटपछि विहिबार बुटवलमा पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै डा. अहिराजले जसको अभियान र योगदानको कारण अहिले सिंगो नेपाल बनेको छ उनैको तस्विरलाई साक्षी राखेर आफुले काम शुरु गरेको र यो अभियान देशव्यापी बनाउने समेत बताए ।

    उनले राज्यबाट पत्ताइएका निजामती कर्मचारीहरुलाई नपत्ताएर छुटै  स्वकिय सचिवालय राख्ने पक्षमा आफु नरहेको पनि बताए । डा. अहिराजले देश र राष्ट्रभन्दा ठूलो अरु केहि नभएको र आफ्नो प्रदेशका सबै राष्ट्रसेवकहरुलाई शिरमा देश र मनमा मधेश राखेर काम गर्न आग्रह गरेको बताए ।

    प्रदेश प्रमुख सेरोमोनियल भएपनि अरु निकायभन्दा झनै एक्टिभ, अनुशासित र सतर्क हुनुपर्ने उनको भनाई छ । प्रदेश प्रमुख अभिभावक भएको र अभिभावक आफ्नो परिवारका अरु सदस्यभन्दा बढि सक्रिय, अनुशासित र सतर्क हुन नसके परिवारलाई बलियो बनाउन नसकिने भन्दै उनले प्रदेश प्रमुख सक्रिय हुन जरुरी रहेको बताए ।

    प्रदेश प्रमुखको हैसियतले हरेक क्षेत्रमाथी कसरी निगरानी गर्ने भन्नेबारे सबै प्रदेश प्रमुखहरुबीच छलफल गर्नुपर्ने उनको भनाइ छ । प्रदेश प्रमुखले गर्न मिल्ने र गर्न नमिल्ने भन्नेबारे सातवटै प्रदेश प्रमुखले एउटै धारणा बनाउने गरि टिओआर तयार गरिएको र त्यसबारे छलफल गरी साझा निष्कर्ष निकालिने पनि अहिराजले बताए ।

    हरेक प्रदेश प्रमुखले कम्तिमा महिनामा एकपटक राष्ट्रपतिलाई आफ्नो प्रदेशको बारेमा रिपोर्टिङ गर्नुपर्ने र दुई महिनामा सबै प्रदेश प्रमुखहरुले सामुहिक छलफल र रिपोर्टिङ गर्नुपर्ने आवश्यकता औंल्याए । आफु हरेक हिसाबले ७७ वटै जिल्लालाई जोड्ने अभियानमा लागेको भन्दै उनले जसको शुरुवात बुद्धजन्मस्थल लुम्बिनीबाट गरेको बताए ।

  • २ नम्बर प्रदेशभर सरकारी बस सेवा सन्चालन हुँदै

    २ नम्बर प्रदेशभर सरकारी बस सेवा सन्चालन हुँदै

    जनकपुरधाम । निजी व्यवसायीको मनोमानी कम गर्न र जनतालाई सर्वसुलभ मूल्यमा यातायात सुविधा दिन प्रदेश २ सरकारले प्रदेशभर सरकारी बस सेवा सन्चालन गर्ने भएको छ ।

    तत्कालका लागि खरिद गरी ढल्केबर ग्यारेजमा राखिएका पाँचवटा बस शनिबार जनकपुर लगिएको छ । आवश्यक पूर्वाधार, रुट निर्धारण र भाडादरसमेतको कार्यविधि तयार भएपछि यही महिनाको अन्तिमसम्ममा बस सन्चालनमा ल्याउने तयारी प्रदेश सरकारको छ ।

    प्रदेश नम्बर २ को राजधानी जनकपुरदेखि पूर्व सप्तरीसम्म र पश्चिम पर्साको वीरगन्ज महानगरपालिकासम्म बस सेवा सन्चालनमा आउनेछ । यसले प्रदेशका सबै ८ जिल्लाका जनतालाई प्रदेश राजधानी जनकपुर, मुख्य शहर वीरगन्ज लगायतका स्थानहरुमा आउजाउ सहज हुने विश्वास सरकारको छ ।

    भौतिक पूर्वाधार विकास मन्त्रालयले ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा बस खरिद गरेको छ । पुसमा बस खरिद गरेको र सम्पूर्ण कागजात तयार पार्न माघ महिनाभर लागेको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

    मन्त्री सोनलले फागुन महिनाभित्रै कार्यविधि लगायत सबै प्रक्रिया पूरा गरी बस सेवा संचालनमा ल्याउने जानकारी दिए । उनले बस संचालनका लागि विभिन्न ठाउँमा सेडहरु बनाउने, अफिसहरु संचालन गर्ने र ग्यारेजहरु संचालन गर्ने विषय कार्यविधिमै समेट्ने पनि बताए ।

    उनका अनुसार बस सेवा सञ्चालनका लागि एउटा संचालक समिति गठन गरिनेछ ।संचालक समिति नै बसको चालक, सह-चालक तथा कर्मचारी नियुक्ति गर्नेछ ।

    मन्त्री सोनलले बस संचालनमा आएपछि प्रदेशबासीको यात्रा सरल, सुलभ र सुरक्षित हुने विश्वास व्यक्त गरे । ‘अहिले निजी क्षेत्रबाट सन्चालित सार्वजनिक बसमा यात्रुहरु ठगिने, व्यावसायीले मनपरी रुपमा भाडा असुल्ने गुनासो हामीले सुन्दै आएका छौं । बस प्रदेश सरकारकै बस सेवा संचालनमा आएपछि जनताले सुविधा पाउनेछन्,’ मन्त्री सोनलले भने ।

    खरिद गरिएको बस ५० सीट क्षमताको छ । बसमा सिसिटिभी क्यामेरा र स्वचालित ढोका रहनेछन् । वाइफाइको सुविधासमेत रहने मन्त्री सोनलले जानकारी दिए ।

  • मन्त्रीहरूको सुरक्षार्थ खटेका सशस्त्र तत्काल फिर्ता नगरिने

    मन्त्रीहरूको सुरक्षार्थ खटेका सशस्त्र तत्काल फिर्ता नगरिने

    जनकपुरधाम । प्रदेश मन्त्रीहरूको सुरक्षामा खटेका सशस्त्र प्रहरी तत्काल फिर्ता नगरिने भएको छ ।

    मन्त्रीहरूको सुरक्षाको अर्को प्रबन्ध नमिलाएसम्म सशस्त्र प्रहरीले नै सुरक्षा दिने बिहिबार बसेको प्रदेश सुरक्षा समितिको बैठकले निर्णय गरेको हो ।

    सशस्त्र प्रहरीलाई फिर्ता गर्न प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख डीआइजी चन्द्रप्रकाश गौतम मन्त्रीहरूलाई बिहीवार नै पत्राचार गरे । त्यसलगत्तै आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सुरक्षा समितिको बैठक बोलाउन लगाए । बैठकमा मन्त्री यादवले भीआईपीको सुरक्षामा खटेका सशस्त्र प्रहरीलाई फिर्ता बोलाउने संघीय सरकारको निर्णयमा आपत्ति जनाएका थिए ।

    बैठकमा भीआईपी सुरक्षाका लागि नेपाल प्रहरी नखटेसम्म सशस्त्र प्रहरीलाई फिर्ता बोलाउन नहुने निर्णय भएको यादवले बताए । ‘सुरक्षाका लागि हामीले कहिलेसम्म नेपाल प्रहरी आउने विषयमा समन्वय गर्न प्रहरीका प्रदेश प्रमुख डीआइजी धिरजप्रताप सिंह र सशस्त्रका प्रदेश प्रमुख डीआइजी गौतमलाई जिम्मेवारी सुम्पिएका छौं’, उनले नेपाल प्रेससँग भने ।

    मन्त्री यादव भन्छन्, ‘सशस्त्र प्रहरी केन्द्र मातहतमा रहेको छ । त्यसैले फिर्ता बोलाउने निर्णय लिन सक्छ । तर, कम्तीमा समन्वय गर्नुपर्थ्यो । सुरक्षाको दोस्रो प्रबन्ध नगरी सशस्त्रलाई फिर्ता बोलाउन मिल्दैन ।’ नेपाल प्रहरीलाई नै पठाउनु छ भने पहिले पठाओस् । त्यसपछि सशस्त्रलाई फिर्ता बोलाउँदा हुन्छ । खाली राख्न त हुँदैन,’ उनले थपे ।

    प्रदेश २ सरकारले प्रहरी ऐनसमेत बनाइसकेको छ । तर, प्रहरी समायोजन नभएकाले सो ऐन कार्यान्वयनमा आएको छैन । प्रहरी समायोजन गरी अधिकार नदिनु र सशस्त्रलाई फिर्ता बोलाउने संघीय सरकारको निर्णयलाई प्रदेशमाथि हस्तक्षेप भएको मन्त्रीहरूले टिप्पणी गरेका छन् ।

    प्रदेशका मन्त्रीहरू र राज्यमन्त्रीहरूको सुरक्षाका लागि सशस्त्रका वरिष्ठ हवल्दार तथा हवल्दार गरी ३२ जना खटेका छन् । मन्त्री र राज्यमन्त्रीको सुरक्षमा २/२ जना र आन्तरिक मामिला तथा कानून मन्त्री यादवको सुरक्षामा ८ जना सशस्त्र छन् ।

  • प्रदेश २ मा आम हड्तालको प्रभाव– सडकमा टायर बालेर प्रदर्शन

    प्रदेश २ मा आम हड्तालको प्रभाव– सडकमा टायर बालेर प्रदर्शन

    जनकपुरधाम । नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालको असर प्रदेश–२ मा पनि उस्तै छ । फाट्टफुट्ट बाहेकका सवारी साधन ठप्प छ । निजी विद्यालय संचालनमा रहे पनि विद्यार्थी न्यून संख्यामा आएको शिक्षकहरु बताउँछन् ।

    प्रदेश–२ को राजधानी जनकपुरका अधिकांश पसल बन्द छन् । यस प्रदेशका अन्य जिल्ला पनि प्रभावित बनेका छन् । प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ता सिरहाको लहानस्थित राजमार्गमा विहानैदेखि टायर बालेर सडकमा छन् । राजमार्ग सुनसान देखिएको छ ।

    मोटरसाइकल पनि न्यून संख्यामा सडकमा गुडेको छ । बजारहरु विहानैदेखि सुनसान छ । सडकमा मात्र सुरक्षाकर्मी तैनाथ देखिन्छन् । प्रदेश२ मा अहिलेसम्म तोडफोड र आगजनीको घटना नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

  • लालबाबुलाई मुख्यमन्त्रीबाट हटाउने उपेन्द्रको प्रयास, ९ महिनासम्म दलको नेता चुनिएनन्

    लालबाबुलाई मुख्यमन्त्रीबाट हटाउने उपेन्द्रको प्रयास, ९ महिनासम्म दलको नेता चुनिएनन्

    जनकपुरधाम । जनता समाजवादी पार्टीका एक प्रमुख नेता  उपेन्द्र यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हटाउने प्रस्ताव राखेका छन् ।

    तत्कालीन संघीय समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका राउतलाई हटाउने उपेन्द्रको प्रस्तावले जसपामा नयाँ बहस सिर्जना गरेको छ ।

    यादवले नै मुख्यमन्त्री बनाएका राउतलाई हटाउने कुरा बाबुराम भट्टराईले अहिले रोकेका छन् । भट्टराईले मुख्यमन्त्री परिवर्तन गर्ने हो भने पनि पहिले पार्टी र सरकारको नेतृत्व टुंगो लगाउनुपर्ने भनेर ‘होल्ड’ गरेको उनीनिकट स्रोतले जनाएको छ ।

    स्रोतले भन्यो, ‘उपेन्द्रजीले मुख्यमन्त्री परिवर्तन गर्ने प्रस्ताव पहिले नै राख्नुभएको हो । बाबुरामले प्रदेशमा पार्टीको नेतृत्व साविक जसपा र समाजवादीमध्ये एउटाले गर्ने र अर्कोले सरकारको नेतृत्व गर्ने मोडालिटीमा सहमति गरौं भनेर रोकिएको हो ।’

    समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरण भएको ९ महिना बितिसक्दा पनि प्रदेश २ मा जसपाको संसदीय दलको नेता चयन गरिएको छैन । मुख्यमन्त्री राउत अहिले पनि तत्कालीन समाजवादी पार्टीको दलको नेताको हैसियतमा छन् ।

    दलको नेता चयन प्रक्रियामै विवाद भएकाले मुख्यमन्त्री फेर्ने उपेन्द्रको प्रयासले मूर्तरूप भने पाएको छैन । प्रतिनिधिसभा विघटनपछि पार्टी आन्दोलनमा केन्द्रित रहेकाले दलको नेता चयनमा ढिलाइ भएको जसपाका सांसद विन्देश्वर यादवले बताए ।

    नेपालप्रेससँग कुरा गर्दै यादवले भने, ‘मुख्यमन्त्रीले जनताको अपेक्षा बमोजिम काम गर्न सकेका छैनन् उनलाई हटाउनुपर्छ भन्ने कुरा हो । तर, संसद विघटनका कारण प्राप्त उपलब्धि नै गुम्ने खतरा बढेको छ । पहिले यसलाई बचाउनुपर्छ । त्यसैले यसतर्फ केन्द्रित भएपछि मुख्यमन्त्री फेर्नुपर्ने छलफल पनि बन्द भएको हो ।’

    दलको नेता राउत नै बन्न सकेनन् भने मुख्यमन्त्री फेरिने निश्चित छ । संसदीय दलको नेता चयन गर्नका लागि पार्टीले पाँच सदस्यीय समिति समेत बनाएको छ । समितिमा सांसदहरू मनिष सुमन, रामाशिष यादव, रानी शर्मा तिवारी, उपेन्द्र महतो र परमेश्वर साह छन् । समितिलाई विधान बनाउन जिम्मेवारी तोकिएको थियो ।

    तर, मनिष सुमनले एक्लै विधान बनाएर मुख्यमन्त्री राउतलाई बुझाए । समितिमा रहेका अन्य चार सांसदसँग सल्लाहसमेत नगरी सुमन एक्लैले विधान बनाएपछि समिति निस्क्रिय रहेको समितिका सदस्य रामाशिषले बताए ।

    पार्टी एकता भए पनि प्रदेशसभामा अहिले राजपा र समाजवादी अलग-अलग दल अस्तित्वमा छन् । १०-१५ दिनपछि दलको नेता चयन प्रक्रिया शुरू हुने मनिष सुमनले बताए ।

    संसदीय दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, सांसद मनिष सुमनलगायतको नाम चर्चामा छ ।

    मुख्यमन्त्री राउत तत्कालीन समाजवादी पार्टी र मन्त्री सोनल तत्कालीन राजपाका संसदीय दलका नेता हुन् । उपेन्द्रले भने राउतलाई हटाएर विजय यादवलाई मुख्यमन्त्री बनाउन चाहेका छन् ।

    राउत पार्टीभित्रको पछिल्लो विवादमा इस्तियाक राई पक्षमा लागेको बुझाइ उपेन्द्रको छ । रेणु यादव, इस्तियाक राईलगायतका नेताहरूले गत वैशाखमा समाजवादी पार्टी फुटाएर अलग दल दर्ता गर्न खोजेका थिए ।

    त्यसका लागि सहज बनाउन प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेशसमेत ल्याएका थिए । तर, चौतर्फी विरोधपछि अध्यादेश फिर्ता भएर सांसदको संख्या समेत गडबड भएपछि उनीहरूको प्रयास असफल भएको थियो ।

  • प्रदेश २ का कानूनमन्त्री यादवले लगाए कोरोना खोप

    प्रदेश २ का कानूनमन्त्री यादवले लगाए कोरोना खोप

    जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    जनकपुरस्थित प्रादेशिक अस्पतालमा आयोजित एक समारोहबीच मन्त्री यादवले खोप लगाएर प्रदेशमा अभियानको शुरूआत गरे । आजदेखि शुरू भएको देशव्यापी अभियानअन्तर्गत पहिलो चरणमा कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालकलगायतलाई खोप दिन थालिएको छ ।

    यादव पहिलो चरणको खोप अभियानको लक्षित समूहभन्दा बाहिरका खोप लगाउने पहिलो व्यक्ति हुन ।

    मन्त्री यादवले खोप लगाउँदा कुनै साइड इफेक्ट नगर्ने सन्देश दिन पनि आफैबाट खोप अभियान शुरूआत गरेको बताए । उनका अनुसार आजदेखि प्रदेश २ को वीरगञ्ज र राजविराजबाट पनि खोप लगाउन सुरु गरिएको छ ।

    वीरगञ्‍जमा मुख्यमन्त्री लालबाबु राउत र राजविराजमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले खोप अभियानको शुभारम्भ गर्ने छन् । उनीहरूले भने खोप नलगाउने बताइएको छ ।

  • प्रचण्ड–माधव पक्षले मण्डललाई हटायो, महतो दलको नेता बने

    प्रचण्ड–माधव पक्षले मण्डललाई हटायो, महतो दलको नेता बने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले प्रदेश नम्बर २ संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ ।

    मंगलबार जनकपुरमा बसेको प्रचण्ड–माधव पक्षीय बैठकले मण्डलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बहुमतले पारित गर्दै शत्रुधन महतोलाई आफ्नो पक्षको दलको नेता चयन गरेको हो।

    ‘बहुमत सदस्यले अविश्वास प्रस्ताव पारित गरे’ दलको नेता चयन भएका महतोले नेपाल प्रेस सँग भने, ‘बैठकले निर्वाचन समिति बनायो । निर्वाचन समितिले आफ्नो तालिका निकाल्यो। त्यो निकालिसकेपछि एकमात्र उम्मेदवारी पर्यो अनि सर्वसम्मत निर्णय भयो।’

    महत्तोले नेकपाका ३२ मध्ये १९ प्रदेश सांसद आफूहरुसित भएको र त्यो बहुमत भएकाले नयाँ नेताको जिम्मेवारी आफूलाई दिएको बताए।

    मण्डलविरुद्ध विरुद्ध उपनेता रामकुमार यादव समक्ष गत बुधबार नै प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । बैठकमा सहभागी नभएपछि बहुमतले अविश्वास प्रस्ताव पारित गरिएको संसदीय दलकी सचेतक बेची लुंगेलीले जानकारी दिइन् ।

    उनले मंगलबार सभामुख सरोजकुमार यादवलाई नयाँ संसदीय दलको नेता चयन भएकोबारे जानकारी गराइसकेको बताइन् । नेकपा विभाजनसँगै संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियत गुमाएको छ ।

  • प्रदेश २ मा मुख्य नेतृत्व ओलीतिर, नेता तान्न दुवै पक्ष सक्रिय

    प्रदेश २ मा मुख्य नेतृत्व ओलीतिर, नेता तान्न दुवै पक्ष सक्रिय

    जनकपुरधाम। संसद विघटनपछि विभाजित नेपाल कम्युनिष्ट पार्टीका दुवै पक्षका केन्द्रीय नेता तथा मन्त्री र पूर्वमन्त्रीहरु प्रदेश २ का जिल्लामा केन्द्रित भएका छन्। केही दिनदेखि दुवै पक्षका नेता र कार्यकर्ता तानातानमा लागेको देखिन्छ।

    एकातिर प्रचण्ड–माधव नेपालले दाबी गरेको नेकपाका केन्द्रीय नेता आ–आफ्नो जिल्ला आएर नेता कार्यकर्ता तान्न र आन्दोलनको रणनीति बनाउन व्यस्त छन् भने अर्कोतिर प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली पक्षले दाबी गरेको नेताहरु संसद विघटन संवैधानिक रहेको पुष्टि गर्न सभा सम्मेलनमा केन्द्रित बनेका छन्।

    जनयुद्ध लडेर राजनीतिमा उदाएका पूर्व माओवादी नेता प्रभु साह ओली पक्षमा लागेर शहरी विकास मन्त्री भए। शपथग्रहण गरेको एकसाता नहुँदै उनी गृहजिल्ला रौतहट आइपुगे। उनीले पूर्वसांसद समेत रहेका जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य बबन सिंहलाई पार्टीमा प्रवेश गराए। त्यसपछि आइतबार मात्रै महोत्तरी पुगेर पार्टीको सभामा सहभागी भए। साेमबार उनीसहितका नेताहरु सिरहाको सभामा सहभागी भए।

    सिरहा जिल्ला कमिटीद्वारा आयोजित सभाको प्रमुख अतिथि थिए– नेता ईश्वर पोखरेल। सो सभामा कानूनमन्त्री लीलानाथ श्रेष्ठ र पूर्वमन्त्री रघुवीर महासेठ समेत सहभागी भए। पोखरेलले मैथिली भाषामा सम्बोधन गर्दै अधिकांश समय संसद विघटन गर्नुपर्नाका कारण बताउनमा खर्चिए। उनले प्रधानमन्त्रीबाट मात्र नभएर पार्टी अध्यक्षबाट समेत हटाउने चलखेलमा प्रचण्ड र माधव नेपाल लागेपछि केपी ओलीले जनताको जनादेश लिन संसद विघटन गरेको औंल्याए।

    पूर्वमन्त्री रघुवीर महासेठले प्रधानमन्त्री ओलीले संघीयता खारेज नगर्ने दाबी गरे । उनले चुनावको विकल्प नभएको भन्दै निर्वाचनको तयारीमा लाग्न उपस्थित कार्यकर्तालाई निर्देशन समेत दिए।

    यस्तै मन्त्री प्रभु साह भने प्रचण्डमाथि खनिए। भने, ‘प्रचण्डले मधेशसँग लभ पर्यो भने । तर मधेशका लागि के गरे ? हामी नभएको भए प्रचण्डले त मधेश शब्द पनि बिर्सिसकेका हुन्थे ।’ पदलोलुपताकै कारण अहिले प्रचण्डको अगाडि र पछाडि विगतका कुनै नेता नरहेको उनको भनाइ थियो ।

    ओली नेतृत्वको नेकपाले भोलि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। भोलि मध्यान्ह रेल्वे स्टेशनबाट मन्त्री पोखरेलको नेतृत्वमा प्रदर्शन शुरु गरी पार्टी कार्यालयमा पुगेर सभा गर्ने बताइएको छ। प्रदर्शनमा ओली पक्षका पूर्वमन्त्री रघुवीर महासेठ, मन्त्रीद्वय प्रभु साह र लीलानाथ श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहने एक नेताले बताए।

    यता, प्रचण्ड–माधव पक्षका नेताहरु गाउँगाउँ पुगेर प्रधानमन्त्री ओलीको संसद विघटनको कदमविरुद्ध आन्दोलनको रणनीति बनाउन व्यस्त छन्। पूर्वमन्त्री रामचन्द्र झा धनुषामा खटेका छन्। सिरहामा पूर्वमन्त्री विश्वनाथ साह खटेका हुन्। उनकै संयोजकत्वमा ५०१ सदस्यीय संघर्ष समिति समेत बनाइएको छ। यस्तै प्रदेश २ का आठै जिल्लामा प्रदेश सांसद र केन्द्रीय सदस्यहरुलाई परिचालन गरिएको छ।

    प्रदेश २ का ३२ सांसदमध्ये २० सांसद आफ्नो पक्षमा रहेको दाबी प्रचण्ड–माधव पक्षको छ। नेकपा (ओली पक्ष) का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउन उपनेता रामकुमार यादव समक्ष १७ सांसदकाे हस्ताक्षर समेत बुझाइसकेको छ। दुई चार दिनभित्रै संसदीय दलको नेताबाट मण्डललाई हटाइसक्ने प्रचण्ड–माधव पक्षका प्रदेश सांसद शत्रुधन महतोले दाबी गरे।

  • प्रदेश २: संसदीय दलका नेता मण्डललाई हटाउन प्रचण्ड–माधव पक्षका सांसदको हस्ताक्षर

    प्रदेश २: संसदीय दलका नेता मण्डललाई हटाउन प्रचण्ड–माधव पक्षका सांसदको हस्ताक्षर

    जनकपुरधाम । विभाजित नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले नेकपा प्रदेश २ को संसदीय दल विभाजनको तयारी थालेको छ । त्यसका लागि दलका नेता सत्यनारायण मण्डललाई हटाउन लागिएको एक नेताले बताए ।

    मण्डललाई हटाउन संसदीय दलका उपनेता रामकुमार यादवलाई पत्रसमेत बुझाइसकेको प्रचण्ड–माधव समूहका नेकपा सांसद शत्रुधन महतोले जानकारी दिए । संसदीय दलको नेताबाट मण्डललाई हटाउन दुई दिन अगाडि नै उपनेता यादवलाई २० जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाइसकेको उनले बताए ।

    प्रदेश २ मा नेकपाका ३२ सांसद छन् । तत्कालीन एमालेका २१ र माओवादीका ११ सांसद थिए । एमालेका २१ मध्ये १३ जना ओली पक्षमा छन् ।

    आफ्नो पक्षमा २० जना सांसद रहेको प्रचण्ड–माधव समुहका प्रदेश सांसद महतोले दावी गरे । उनले भने, ‘हामीसँग स्पष्ट बहुमत छ । अब गलत गर्ने सांसदहरुलाई पनि कारबाही अगाडि बढाउँछौं ।’

    दुई दिनअघि मात्र ओली पक्षले पूर्व माओवादीका ६ सांसद आफ्नो पक्षमा लागेको दावी गरेको थियो । तर सांसद महतो भन्छन्, ‘तीन पूर्व माओवादीका सांसद मात्र ओलीतिर खुलेका छन् । तीन जना तटस्थ छन् । उनीहरु हाम्रो सम्पर्कमा छन् ।’

    नेकपा प्रचण्ड–माधव समूहले आज बिहान पत्रकार सम्मेलन गरी पुस १८ गतेदेखि २४ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम गर्ने निर्णय सार्वजनिक गरेको छ ।

    बिहीबार बसेको बैठकबाट आन्दोलन गर्न नेकपा प्रदेश २ का सहइन्चार्ज विश्वनाथ साहको संयोजकत्वमा १ हजार १ सदस्यीय प्रदेश संघर्ष समिति गठन गरिएको छ ।

    यस्तै पुस २५ मा जयगोविन्द साहको स्मृतिमा श्रद्धाञ्जलीसभाको आयोजना सिरहाको बस्तिपुरमा गर्ने निर्णय पनि गरिएको छ ।

  • नेकपा विवादको असर प्रदेश २ मा पनिः कुन सांसद कसको पक्षमा ? (सूचीसहित)

    नेकपा विवादको असर प्रदेश २ मा पनिः कुन सांसद कसको पक्षमा ? (सूचीसहित)

    जनकपुर । नेकपा केन्द्रको विवादको असर प्रदेशसभामा पनि परेको छ । पार्टी फुटको अन्तिम चरणमा प्रदेश नम्बर दुईको प्रदेशसभाका सदस्य पनि कित्ताकाट भएका छन् ।

    प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधर सांसदले प्रतिनिधिसभा विघटन हुनुलाई सकारात्मक लिएका छन् भने प्रचण्ड–माधव पक्षधर सांसदले गलत भनेका छन् । उक्त समूहले विरोधस्वरुप प्रधानमन्त्रीको पुत्लासमेत दहन गरेका छन् ।

    नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल ओली पक्षमा उभिएका छन् । उनले संसद भंग गर्ने ओली र राष्ट्रपतिको कदम जायज र संवैधानिक भएको दाबी गरे । उनले संसद भंग गर्नुलाई असंवैधानिक भन्नेलाई ‘मुर्ख’ भनेका छन् ।

    तत्कालीन नेकपा एमालेका संसदीय दलका नेतासमेत रहेका उनले ओलीलाई ‘शेर’को संज्ञा दिँदै भने, ‘शेरलाई पिँजडामा बन्द गरेर चारैतिरबाट भाला र खुकुरीले मार्न खोजेपछि के गर्छ ?’

    तर तत्कालीन एमालेबाटै निर्वाचित कतपय सांसद ओलीको कदमको विरोध गर्छन् । सिरहा क्षेत्र ३ (२)बाट निर्वाचित सांसद प्रमोदकुमार यादवले ओलीको कदम निरंकुश भएको टिप्पणी गरे । ओलीले लोकतन्त्र, संघीयता, गणतन्त्र र जनताको बलिदानीविरुद्धको कदम भएको उनको भनाइ छ ।

    उनले भने, ‘ड्राइभर नै त्रिशुलीमा गएर खस्यो भने के गर्ने ? जनताले विगतमा पनि संघर्ष गरेकै थियो । फेरि पनि गर्छन्’ उनले भने ।
    अर्का सांसद दिलिप साहले संसद भंग गरेर प्रधानमन्त्री ओलीले देश र जनतामाथि गद्दारी गरेको आरोप लगाए ।

    ओलीभन्दा प्रचण्ड–माधव समूह बलियाे

    प्रदेश २ मा तत्कालीन नेकपा एमालेका २१ र माओवादी केन्द्रका ११ सांसद छन् । दुवै दलबीच एकीकरण भएर नेकपा बनेपछि कुल ३२ सांसद भए ।

    तत्कालीन नेकपा एमालेका ८ सांसद प्रचण्ड–माधव समूहमा जाने लगभग निश्चित छ । २१ मध्ये अन्य केही सांसद पनि प्रचण्ड–माधवतिर लाग्ने बताइएको छ । तत्कालीन माओवादी केन्द्रका ११ सांसदले प्रचण्ड–माधव समूहलाई नै साथ दिने बुझिएको छ ।

    प्रचण्ड–माधव पक्षमा लागेका तत्कालीन माओवादीका सांसद

    १. कुन्दनप्रसाद कुशवाहा
    २. दिल्लीप्रसाद उप्रेती
    ३. दिलिपकुमार साह
    ४. प्रमिलाकुमारी यादव
    ५. फुलियादेवी सदाय
    ६. भरतप्रसाद साह
    ७. महम्मद समीर
    ८. रामकुमार यादव
    ९. रामचन्द्र मण्डल
    १०. रुबीकुमारी कर्ण
    ११. ज्वाला कुमारी साह

    प्रचण्ड–माधव समूहमा लागेका तत्कालीन एमालेका सांसद

    १. अशोककुमार यादव
    २. गोबिन्दबहादुर न्यौपाने
    ३. मन्जुकुमारी यादव
    ४. शत्रुधन महतो
    ५. शारदादेवी थापा
    ६. सीता गुरुङ
    ७. हसिमा खातुन
    ८. प्रमोदकुमार यादव

    ओली पक्षमा लागेका तत्कालीन एमालेका सांसद

    १. सत्यनारायण मण्डल
    २. सुन्दर बहादुर विश्वकर्मा
    ३. अनिता कुमारी यादव
    ४. किशोरी साह कमल
    ५. जगतारैन देवी सुडीन
    ६. नागेन्द्र राय यादव
    ७. मनोजकुमार सिंह
    ८. रबिन्द्र बैठा धोवी
    ९. लगनलाल चौधरी
    १०. बेची लुंगेली
    ११. त्रिलोकी प्रसाद
    १२. दिल्लीप्रसाद उप्रेती
    १३. मदनसेन प्रताव श्रीबास्तव