Tag: प्रदेश २ सरकार

  • मुख्यमन्त्री राउतले विश्वासको मत लिने, प्रदेशसभा बैठक डाक्न प्रदेश सरकारको सिफारिस

    मुख्यमन्त्री राउतले विश्वासको मत लिने, प्रदेशसभा बैठक डाक्न प्रदेश सरकारको सिफारिस

    जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् । प्रमुख सत्तारुढ दल जसपा विभाजन भएका कारण मुख्यमन्त्री राउतले विश्वासको मल लिन लागेका हुन् ।

    मुख्यमन्त्री राउतले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक डाकिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले असोज २० गते प्रदेशसभा बैठक आव्हानका लागि प्रदेख प्रमुखसमक्ष सिफारिस गरेको छ ।

    सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले असोज २० गतेकै बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिनेछन् ।

    अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रको संयुक्त सरकार छ । एक मात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीको समर्थन पनि सरकारलाई छ । सरकारमा जाने तयारीमा रहेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि राउतलाई विश्वासको मत दिने तयारी गरिरहेको छ ।

    प्रदेश २ मा १०४ सांसद छन् । अहिले सभामुखसहित जसपाका ३९, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ८, एकीकृत समाजवादीका १३ र नेपाल संघीय समाजवादी पार्टीका १ गरी कुल ८० सांसदको सरकारलाई समर्थन प्राप्त छ ।

    १०४ सदस्यीय प्रदेशसभामा ८० जनाको समर्थन रहेकाले मुख्यमन्त्री राउत विश्वासका मत पाउनेमा ढुक्क छन् । नवगठित लोसपा र नेकपा एमाले मात्र सरकारको विपक्षमा छ ।

  • प्रदेश २ सरकारविरुद्धको रिटमा अन्तरिम आदेश अस्वीकार

    प्रदेश २ सरकारविरुद्धको रिटमा अन्तरिम आदेश अस्वीकार

    जनकपुरधाम । प्रदेश २ सरकारका नवनियुक्त तीन मन्त्रीको नियुक्ति बदर गरी सरकारलाई समावेशी बनाउन परेको रिटमा उच्च अदालत जनकपुरधामले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

    न्यायाधीशद्वय विनोद शर्मा र हरिप्रसाद बगालेको संयुक्त इजलासले ‘अन्तरिम आदेश जारी नहुने’ आदेश दिएका हुन् ।

    मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’बाट गरिएको मन्त्रिपरिषद् विस्तार समावेशी सिद्धान्तको आधारमा नभएको भन्दै अधिवक्ता राजकुमार महासेठले अदालतमा रिट हालेका थिए ।

    जसपाको आन्तरिक विवादका कारण उपेन्द्र यादव पक्षका मुख्यमन्त्री राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरी जेठ २६ मा काँग्रेसलाई सरकारमा सामेल गराएका थिए ।

    काँग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई भौतिक पूर्वाधार विकासमन्त्री, ओमप्रकाश शर्मालाई खानेपानी तथा उmर्जा विकासमन्त्री र वीरेन्द्र सिंह महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री बनाइएको छ ।

    तीनै मन्त्रीको नियुक्ति उत्प्रेषणको आदेशबाट बदर गर्न र गठन वा पुर्नगठन गर्दा संविधानबमोजिम समानुपातिक समावेशीको सिद्धान्तका आधारमा मात्र गर्नू/गराउनू भनी विपक्षीको नाममा परमादेशलगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गर्न अधिवक्ता महासेठले माग गरेका थिए ।

    रिटमा प्रदेश प्रमुख राजेश झा ‘अहिराज’, मुख्यमन्त्री राउत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नवनियुक्त तीनै मन्त्रीलाई विपक्षी बनाएइएको थियो ।

  • प्रदेश २ मन्त्रिपरिषद् समावेशी बनाउने रिट : छलफलका लागि विपक्षीलाई बोलाइयो

    प्रदेश २ मन्त्रिपरिषद् समावेशी बनाउने रिट : छलफलका लागि विपक्षीलाई बोलाइयो

    जनकपुरधाम । प्रदेश २ को मन्त्रिपरिषद् समावेशी बनाउन परेको रिटमा उच्च अदालत जनकपुरले विपक्षीलाई झिकाउने आदेश दिएको छ ।

    न्यायाधीश विनोद शर्माको इजलासले विपक्षीलाई असार १६ गते झिकाउने आदेश दिएको हो ।

    बिहीबार अधिवक्ता राजकुमार महतोले उच्च अदालतमा प्रदेश २ मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उत्प्रेषणयुक्त परमादेशको मागसहित रिट दर्ता गराएका थिए । रिटमा प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’, मुख्यमन्त्री लालबाबु राउत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नवनियुक्त तीन मन्त्रीलाई विपक्षी बनाइएको छ ।

    मुख्यमन्त्री राउतले जसपा महन्थ ठाकुर पक्षका मन्त्रीलाई बर्खास्त गरी काग्रेसलाई तीन मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गरेका थिए । जेठ २६ मा विस्तारित मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार विकास मन्त्रीमा रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकास मन्त्रीमा ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्रीमा वीरेन्द्र सिंह छन् ।

    रिटमा नवनियुक्त तीनै मन्त्रीलाई उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ ।

  • प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

    प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

    जनकपुरधाम । प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । जेठ २७ मा प्रदेश प्रमुख डा. राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

    प्रदेश सरकारको नीति तथा कार्यक्रममा साँसद शिवचन्द्र चौधरी, सुन्दर बहादुर विश्वकर्मा, दिलिप साह र सिता गुरुङले संशोधन प्रस्ताव दर्ता गराएका थिए। दुई दिनसम्म चलेको छलफलको अन्त्यमा आज मुख्यमन्त्री लालबाबु राउतले सदनमा उठेको सवालको सम्बोधन गरे ।

    मुख्यमन्त्रीको आश्वासनपछि साँसद विश्वकर्मा, गुरुङ र चौधरीले संशोधन प्रस्ताव फिर्ता लिए । तर साँसद साहले संशोधन प्रस्ताव लिएनन् । उनको संशोधन प्रस्ताव सभामुख सरोज कुमार यादवले ध्वनी मतको आधारमा अस्वीकृत गरे । त्यसपछि सभामुख यादवले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन् ।

    मुख्यमन्त्री राउतले कोरोनाको तेस्रो लहरको पूर्व तयारीमा जुटिसकेको, संसद विकास कोष खारेज नगर्ने, पर्सा राष्ट्रिय निकुञ्जलाई चितवन राष्ट्रिय निकुञ्ज जस्तै व्यवस्थापन मिलाएर पर्यटक भित्र्याउने, सरकारी अस्पतालका डाक्टरको तलब बढाएर लगाम कस्ने जस्ता प्रतिवद्धता जनाएका छन् ।

  • प्रदेश २ : सरकार नै अवैध स्यानिटाइजर बाँड्दै

    प्रदेश २ : सरकार नै अवैध स्यानिटाइजर बाँड्दै

    जनकपुरधाम । प्रदेश २ सरकारले पत्रकारलाई अवैधरूपमा निर्माण भएको ह्याण्ड स्यानिटाइजर वितरण गरेको पाइएको छ । नेपाल पत्रकार महासंघ प्रदेश समितिको पहलमा प्रदेश सरकारले ८ सय पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

    दुई वटा ह्याण्ड स्यानिटाइजर, मास्क, फेस सिल्ड र ग्लोब्ससहितको स्वास्थ्य सामग्री प्याकेजमा राखेर बाँडिएको थियो । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले चार दिन अगाडि नेपाल पत्रकार महासंघ प्रदेश कमिटीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको र अहिले महासंघले जिल्ला शाखामार्फत् पत्रकारहरूलाई वितरण भइरहेको छ ।

    उक्त प्याकेजमा पर्साको आरसीपी इन्डस्ट्रिजमा उत्पादित १ सय एमएलको २/२ वटा ह्याण्ड स्यानिटाइजर राखिएको छ । जुन ह्यान्ड स्यानिटाइजर नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उत्पादन भएकोबारे स्पष्ट छैन । औषधी व्यवस्था विभागले जारी गरेको सूचना अनुसार आरसीपी इन्डस्ट्रिज कुनै निकायमा दर्ता छैन ।

    औषधी व्यवस्था विभागले ६१ उद्योगको ह्याण्ड स्यानिटाइजर मात्र प्रयोग गर्न भनेको छ । तर, त्यो सूचीमा प्रदेश सरकारले पत्रकारलाई बाँडेको स्यानिटाइजर उत्पादन गरेको आरसीपी इन्डस्ट्रिज सूचिकृत छैन । दर्ता नरहेका कम्पनीले मानव शरीरका लागि हानिकारक ह्यान्ड स्यानिटाइजर बजारमा ल्याएकोले त्यस्तो स्यानिटाइजर खरिद बिक्रीमा विभागले रोक लगाएको छ ।

    औषधि विभागबाट अनुमति नलिएको उद्योगको ह्याण्ड स्यानिटाइजर प्रदेश सरकारले पत्रकारलाई बाँडेर स्वास्थ्यसँग खेलवाड गरिरहेको स्पष्ट हुन्छ । तर, यस विषयमा धेरै पत्रकारहरू नै अनभिज्ञ देखिएका छन् । पत्रकार महासंघ प्रदेश कमिटीका एक पदाधिकारीले भने, ‘हामीलाई उपलब्ध गराएको स्यानिटाइजर गुणस्तरहीन हो वा होइन् थाहा भएन । म यसबारे बुझ्छु ।’

    पत्रकारलाई उपलब्ध गराएकै स्यानिटाइजर प्रदेश सरकारले कर्मचारी, स्वास्थ्यकर्मी र अन्य सम्बन्धित निकायलाई पनि वितरण गरेको छ । आश्चर्य त के भने अहिलेसम्म उक्त ह्याण्ड स्यानिटाइजर गुणस्तरहीन हो कि होइन भन्ने कुरामा कसैको ध्यान छैन । स्वास्थ्यजस्तो जटिल विषयमा प्रदेश सरकार जस्तो जिम्मेवार निकायको उदाशीनता स्पष्ट रूपमा झल्किन्छ ।

    गुणस्तरहीन स्यानिटाइजर वितरण गरेको विषयमा बुझ्न प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री यादवसँग पटक-पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

  • नारी दिवस: प्रदेश २ सरकारले दियो १५ सय छात्रालाई साइकल उपहार

    नारी दिवस: प्रदेश २ सरकारले दियो १५ सय छात्रालाई साइकल उपहार

    जनकपुरधाम । प्रदेश २ सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत कक्षा ८ का १५ सय बढी छात्रालाई साइकल वितरण गरेको छ ।

    १११औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा जनकपुरस्थित मधेस भवनमा प्रदेश सरकारद्वारा आयोजित समोरोहमा छात्रालाई साइकल वितरण गरिएको हो । धनुषाका २७ सामुदायिक विद्यालयका १ हजार ५२० छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

    साइकल वितरण गर्दै मुख्यमन्त्री लालबाबु राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव रहेको बताए । यसको लागि प्रदेशभरका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई साइकल वितरण गर्ने तयारी गरेको उनले बताए ।

    साइकलले समाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गर्दै मुख्यमन्त्री राउतले यसलाई रुपान्तरणको पहिलो खुड्किलाको रुपमा लिनुपर्ने बताए । शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि रहेको महिलालाई अगाडी बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उनले दोहोर्याए ।

    प्रदेशका छोरीहरुलाई शिक्षित सब्बल बनाउन बेटी पढाउ, बेटी बचाउ अभियानलाई अगाडी बढाएको मुख्यमन्त्री राउतले जानकारी दिए । महिला हिंसा, दाइजो प्रथा, वालविवाह जस्ता कुरीति विरुद्धको कानूनलाई सशक्त रुपमा पालना गरेर अघि बढनुपर्ने धारणा उनको थियो ।

    एसिड आक्रमण गर्ने, बलात्कारको घटनाका दोषी विरुद्ध कठोर कानूनको खाँचो मुख्यमन्त्री राउतले औंल्याए। कानुन संशोधन गरेर भएपनि यस्ता जघन्य अपराधलाई सार्वजनिक स्थलमा झुण्डयाउने कानूनको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

    उक्त कार्यक्रममा एसिड पीडित जनकपुरकी आरती साहलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए ।

  • प्रदेश २ सरकारको तीन वर्ष : प्रतिबद्धता बढी, काम कम (पूर्णपाठसहित)

    प्रदेश २ सरकारको तीन वर्ष : प्रतिबद्धता बढी, काम कम (पूर्णपाठसहित)

    जनकपुरधाम । प्रदेश २ सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । सपथ लिएकै दिन मुख्यमन्त्री लालबाबु राउतले पाँच ‘स’(शिक्षा, स्वास्थ्य, सिँचाइ, सुशासन र सडक) लाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका थिए । तर उनको प्रतिवद्धता कागजमै सीमित बनेको छ ।

    शिक्षा र स्वास्थ्यको अवस्था खस्कँदो छ । मल र सिँचाइको अभावमा खेतहरू बाँझो हुने क्रम बढेको छ । वर्सेनि उत्पादन घटिरहेको छ । सडकको अवस्था जर्जर छ । तीन वर्षयता बनेका केही सडकहरु पनि भत्किन थालेका छन् । गुणस्तरहीन काम भएकोले यो समस्या आएको स्थानीयको टिप्पणी छ । हरेक महिना कोही न कोही कर्मचारी घुससहित पक्राउ परेको अख्तियारको तथ्यांकले प्रदेश सरकारले सुशासन कायम गर्न नसकेको देखिन्छ ।

    मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुरस्थित मधेस भवनमा पत्रकार सम्मेलन गरी आफू नेतृत्वको सरकारले ३ वर्षमा गरेको उपलब्धिको फेहरिस्त सार्वजनिक गरे । उनले कृषि, सुशासन, सेवा प्रवाह, स्वास्थ्य, शिक्षा, वित्तीय व्यवस्थापन तथा आर्थिक सुशासन, पर्यटन, उद्योग, वन तथा वातावरण, शान्ति सुरक्षा, विपद् व्यवस्थापन र कोरोना रोकथाम तथा नियन्त्रणमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन् ।

    मुख्यमन्त्री राउतले ‘बेटी पढाऊ, बेटी बचाउ अभियान’लाई ठूलो सफलता ठानेका छन् । सोअन्तर्गत हालसम्म ६ हजार ९०६ जना छोरीलाई २० वर्षपछि ३ लाख रूपैयाँ पाउने गरी छोरी बीमा/मुद्दती खाता खोली प्रदेश सरकारबाट रकम जम्मा गरिएको छ । साथै २४१ सामुदायिक विद्यालयमा कक्षा ८ की १४ हजार छात्रालाई साइकल वितरण गरिएको छ ।

    मुख्यमन्त्री राउतले उपलब्धि ठानेको छोरीहरूको सुरक्षा, शिक्षा र सशक्तिकरणका लागि गरिएको बीमा र साइकल वितरणलाई उनको आफ्नै दल जसपाका साँसदहरूले व्यापक भ्रष्टाचार भइरहेको भन्दै सदनमै पटक-पटक छानबिनको माग गरिसकेका छन् । विपक्षी दलले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान र ‘मुख्यमन्त्री स्वच्छता अभियान’ कार्यकर्ता पोस्ने थलोमात्र बनेको भन्दै आलोचना गर्छन् ।

    स्रोत साधन, कर्मचारी र कानूनको अभावमा प्रदेश सरकारले सोचे अनुसारको काम गर्न नसकेको राउत स्वीकार्छन् । उनी भन्छन्, ‘सेवा प्रवाहमा जनशक्तिको अपर्याप्तता, संघीय कानून समयमै नबन्दा प्रदेश कानून निर्माण र कार्यान्वयनमा जटिलताजस्ता कारणले प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रदेश सरकारले कठिन परिस्थितिको सामना गर्नुपरिरहेको छ ।’ प्रत्येक वर्ष आइपर्ने विभिन्न विपद् र संक्रामक रोगको प्रकोपले पनि काम गर्न समस्या भएको उनको भनाइ छ ।

    प्रदेशको नाम र राजधानीबारे छैन चर्चा

    प्रदेश सरकार गठन भएको ३ वर्ष वित्यो । तर, अहिलेसम्म प्रदेशको नाम र राजधानीको टुंगो लागेको छैन । मुख्मयन्त्री राउतले सरकारको काम सार्वजनिक गर्दा प्रदेशको नाम र राजधानी तयबारे एक शब्द निकालेनन् ।

    प्रदेशको राजधानी जनकपुरधामलाई तोक्ने विषयमा सत्तारुढ जसपा तथा प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपाबीच सहमति बनिसकेको थियो । प्रदेशको नाम के राख्नेमा विवादपछि यो विषय सदनमा पुग्यो । तर ‘मधेस’प्रदेश नाम राख्ने विषयमा नेकपा र कांग्रेसले सहमति नजनाउँदा जसपाको प्रस्ताव फेल भयो । त्यसपछि जसपाले पनि राजधानी जनकपुरधामलाई कायम गर्ने प्रस्ताव पास हुन दिएनन् ।

    नाम र राजधानीको टुंगो चुनावबाट पनि नलाग्दा करिब एक वर्षदेखि यसबारे सरकार पनि मौन देखिन्छ । कांग्रेसले प्रदेशको नाम मिथिला वा जनक राख्नुपर्ने र नेकपाले मिथिला-भोजपुरा राख्नुपर्ने अडान अझै त्यागेका छैन । प्रदेशको नाम र राजधानी टुंगो नलाग्दा मन्त्रालयहरूको स्थायी भवन निर्माण गर्ने योजना अलपत्र छ । यस प्रदेशमा उद्योग कलकारखाना खोल्न चाहने लगानीकर्ताहरू उदासीन बनेका छन् ।

    ऐन बने, कार्यान्वयन फितलो

    प्रदेश सभाबाट हालसम्म ४२ वटा विधेयक पारित भइसकेको छ । जसमध्ये ४० वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भइ ऐनको रूप लिइसक्यो । तर, कुनै पनि ऐन कार्यान्वयन हुन सकेका छैन ।

    दलित सशक्तिकरण, प्रदेश प्रहरी, निजामती कर्मचारी, सुशासनका लागि लोकपाललगायतका ऐन बनिसक्दा पनि कार्यान्व्यन गर्न चुनौती देखिएको छ । संघीय सरकारको असहयोगले ऐन कानूनहरू कार्यान्वयन गर्न नसकेको मन्त्रीहरू बताउँछन् ।

    प्रदेश लोकसेवा आयोग गठन गरेको डेढ वर्षसम्म कर्मचारी भर्ना भएका छैनन् । आयोगले २८ जना इन्जिनियर माग गरेपनि त्यसको प्रक्रिया कहिल्यैदेखि शुरू हुने अन्योल छ ।

    कोरोना जोखिम भत्ताबारे विवरण झुटो

    मुख्यमन्त्री राउतले आफ्नो उपलब्धिमा कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिएका जनशक्तिलाई जोखिम भत्ता दिएको भनेर झुटो विवरण पेस गरेका छन् ।

    कोरोना संक्रमण नियन्त्रण खटिएका प्रदेश २ का कुनै जिल्लाका जनशक्तिले जोखिम भत्ता पाएका छैन । यतिसम्म कि तलब पनि धेरैले पाउन नसकेको गुनासो गर्छन् । सिरहा अस्पताल, जनकपुरको प्रादेशिक अस्पताल, वीरगञ्जको नारायणी अस्पताल लगायतका जनशक्तिले त पटक पटक आन्दोलन गरेका छन् । तर, प्रदेश सरकार उनीहरुलाई तलब र जोखिम भत्ता उपलब्ध गराउने चासो देखाएको छैन ।

    मुख्यमन्त्रीका अनुसार कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरी ५३ करोड ७६ लाख खर्च व्यवस्थापन गरिएको छ । साथै कोरोनाबाट प्रभावित बनेका किसानलाई २२ करोड बराबरको ब्याज उपलब्ध गरिएको छ । सोबाट ४८ हजार कृषिक परिवारलाई व्यवसाय संचालनमा राहत पुगेको छ ।

    ३ वर्षमा ५.५४ किलोमिटर नाला निर्माण

    प्रदेश सरकारले ३ वर्षमा ५.५४ किलोमिटर नाला निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास तथा विस्तारको सूचीमा नाला निर्माणलाई पनि समेटिएको छ ।

    यस्तै ५०.९५ किलोमिटर कालोपत्रे सडक निर्माण, ७४.९० किलोमिटर पक्की सडक ढलान, १७०.१७ किलोमिटर ग्राभेल सडक निर्माण, १४ वटा कल्भर्ट निर्माण र ५९.८१ किलोमिटर नयाँ कच्ची सडक निर्माण गरेको मुख्यमन्त्री राउतले उल्लेख गरेका छन् । उनका अनुसार ६४ प्रदेश सभा निर्वाचन क्षेत्रमा कम्तीमा ५ किलोमिटर सडक निर्माण गरी ३२० किलोमिटर सडक निर्माण गर्ने कार्यको थालनी गरिएको छ ।

    यस्तै १६४ वटा नहर प्रणाली मर्मत गरी संचालनमा ल्याएको छ । २४० वटा डीप ट्युबवेल र ३३ वटा पावरट्रिल ट्युबवेल निर्माण गरी प्रदेशका करिबि ५४३० हेक्टर थप जमिनमा सिँचाई सूविधा पुर्याएको मुख्मयन्त्री राउतले दावी गरेका छन् ।

    अनुत्पादक क्षेत्रमा बढी खर्च

    प्रदेश २ सरकारले अनुत्पादक क्षेत्रमा अत्यधिक रकम खर्चिएको छ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पोखरी, मन्दिर तथा मस्जिदहरू सौन्दर्य नाममा कैयौं रकम प्रदेश सरकारले खर्च गरेको हो । जसको चौतर्फी आलोचना भइरहेको छ ।

    मुख्यमन्त्री राउतले सार्वजनिक गरेको उपलब्धिहरूको विवरणमा भनिएको छ, ‘जानकी मन्दिरको सौन्दर्यीकरणको काम अन्तिम चरणमा पुगेको छ । धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा सम्बन्द्र्धन गर्ने उदेश्यले प्रदेश २ का विभिन्न स्थानमा रहेको सांस्कृतिक सम्पदाहरुको सौन्दर्यीकरण गर्ने कार्य भइरहेको छ ।’ तर हालसम्म सौन्दर्यीकरणको नाममा कति रकम खर्च भएको कुरा उल्लेख गरिएको छैन ।

    जसपाकै एक सांसदले भने, ‘सरकारले अनुत्पादक क्षेत्रमा ठूलो रकम खर्च गरिरहेको छ । यो आपत्तिजनक कुरा हो । प्रदेशमा बेरोजगारी समस्या समाधान गर्न उद्योग कलकारखाना, शिक्षा र स्वास्थ्यमा खर्च गर्नुपर्ने आवश्यकता छ । यसतर्फ सरकार गम्भीर हुन जरुरी छ ।’

    मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत एउटै पोखरीको सौन्दर्यीकरण गर्न ३० करोड रुपैयासम्म खर्च गरिएको छ । सबभन्दा कम ३ करोड पोखरीमा खर्च गरेको देखिन्छ । यसरी पोखरी सौन्दर्यीको नाममा ठूलो रकम खर्च गरेर प्रदेश सरकारले गल्ती गरिरहेको भन्दै प्रदेशमा चौतर्फी आलोचना भइरहेको छ ।

    हेर्नुस् उपलब्धिको पूरा विवरण-