Tag: प्रदेश २ सभा

  • प्रदेश २ : प्रदेशसभा बैठकमा एमाले र माओवादी सांसदको अवरोध

    प्रदेश २ : प्रदेशसभा बैठकमा एमाले र माओवादी सांसदको अवरोध

    जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक नेकपा एमाले र माओवादी केन्द्रले अवरुद्ध पारेको छ ।

    सभामुख सरोजकुमार यादवले बैठक शुरू गरेलगत्तै एमाले र माओवादीका सांसदहरू उभिएर अवरोध गरेका थिए । उनीहरुले अगामी आर्थिक वर्षको बजेट मन्त्रीको निर्वाचन क्षेत्र केन्द्रित ल्याइएको भन्दै सच्याउन माग गरेका छन् ।

    एमाले सांसद सुन्दरबहादुर विश्वकर्माले बजेट पक्षपात र असन्तुलित रहेको बताए । उनले भने, ‘रातो किताव पढ्नेलाई पनि लाज लाग्छ । प्रदेश सरकारको बजेट जस्तो नभएर एउटा निर्वाचन क्षेत्र र नगरपालिकाको बजेट जस्तो भएको छ ।’ उनले रातो कितावलाई ‘ब्ल्याक बुक’को संज्ञा दिए ।

    यस्तै नेकपा माओवादी केन्द्रका सांसद दीलिप साहले मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मनपरी ढंगले बजेट राखेको भन्दै आपत्ति जनाए । उनले भने, ‘शहीदले देखाएको बाटो बिराएर बजेट ल्याइएको छ । यो शहीदप्रति नै ठूलो अपमान हो ।’

    उनले पनि रातो बुकलाई ‘कालो बुक’ भन्दै अबण्डा रकम राखेकोमा आपत्ति जनाए । उनले प्रश्न गरे, ‘अवण्डा रकम गल्ती भर्न राकिएको हो ?’ उनले अब अति भो भन्दै बदनामको भार बोक्न साक्षी बस्न नसक्ने चेतावनी दिए ।

    बजेटलाई समानुपातिक र सन्तुलित बनाउनुपर्ने उनले माग गरे । उनले चेतावनी दिए, ‘मन्त्रीको क्षेत्रमा मात्र विकास गरेर हुँदैन । समानुपातिक हिसावले बजेट विनियोजन होस् । नभए हामीले सदन चल्न दिदैनौं ।’

    सांसदद्वय विश्वकर्मा र साहले मन्तव्य राखिसकेपछि सभामुख सरोज यादवले बस्न आग्रह गरे । तर, उनीहरू बस्न नमानेपछि सभामुख यादवले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

  • प्रदेश २ : सांसद विकास कोष रकमको लफडाले प्रदेशसभा बैठकमा ढिलाइ

    प्रदेश २ : सांसद विकास कोष रकमको लफडाले प्रदेशसभा बैठकमा ढिलाइ

    जनकपुरधाम । सांसद विकास कोषको रकम बढाउने विषयमा सहमति नजुट्दा प्रदेश २ प्रदेशसभा बैठक बस्न ढिला भएको छ ।

    दिउँसो १ बजेका लागि डाकिएको प्रदेशसभा बैठक अहिलेसम्म शुरू भएको छैन । प्रतिपक्षी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग सत्तारुढ दलका नेताहरू आन्तरिक छलफल गरिरहेका छन् ।

    प्रतिपक्षी दल एमाले र माओवादीका सांसदले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई अढाई करोड बजेट दिनुपर्ने माग गरेका छन् । यो मागमा सत्तापक्षका अधिकांस सांसद सहमत छन् । यो विषय टुंगो नलगाए बैठक शुरू गर्दा अवरुद्ध गर्ने चेतावनी प्रतिपक्षी दलले दिएपछि सरकार सकसमा परेको छ ।

    असार १ मा आर्थिक मामिला तथा कानून मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको अगामी आर्थिक वर्षको बजेटमाथि छलफलका लागि यसअघि डाकिएको दुई वटा बैठक स्थगित गरिएको थियो ।

    आज मन्त्री यादवले बजेटमाथि छलफलको प्रस्ताव गर्ने र त्यसपछि छलफल प्रारम्भ हुने कार्यसूची छ । साथै सदनमा उठेको प्रश्नको जवाफ पनि मन्त्री यादवले आजै दिने छन् ।

  • सांसदलाई एसएमएस पठाएर प्रदेश २ सभा बैठक स्थगित

    सांसदलाई एसएमएस पठाएर प्रदेश २ सभा बैठक स्थगित

    जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

    आज दिउँसो १ बजे बोलाइएको बैठकमा अर्थमन्त्री विजयकुमार यादवले असार १ मा प्रस्तुत गरेको बजेटमाथि छलफलको कार्यसूची थियो । प्रदेशसभा सचिवालयका अनुसार बैठकको नयाँ मिति असार २३ गते दिउँसो १ बजे तय गरिएको छ ।

    प्रदेशसभा सचिवालयले सांसदलाई मोबाइलमा सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराएको छ । बैठक स्थगितको कारण भने खुलाइएको छैन ।

  • प्रतिपक्षीसँग कुरा नमिलेपछि प्रदेश २ सभाको बैठक स्थगित

    प्रतिपक्षीसँग कुरा नमिलेपछि प्रदेश २ सभाको बैठक स्थगित

    जनकपुरधाम । स्थानीय तहको सशर्त अनुदानको विषयमा विपक्षी सांसदले विरोध जनाएपछि प्रदेश २ सभाको बैठक स्थगित भएको छ ।

    सभामुख सरोज यादवले प्रदेशसभा बैठक सुरू गरेलगत्तै प्रमुख प्रतिपक्षी तीनै दलका सांसदहरू उठेर विरोध जनाएका थिए । आफूहरूको सिफारिसमा अनुदान पठाउने सहमतिविपरीत स्थानीय पालिकामा सशर्त अनुदान पठाइएको भन्दै विरोध गरेका थिए । सो विषयमा मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिनुपर्ने अडान राखेपछि सभामुखले एक घण्टाका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए ।

    त्यसपछि सरकार पक्षबाट आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादव र अन्य मन्त्रीहरूसहित प्रतिपक्षी तीनै पार्टीका संसदीय दलका नेतासँग छलफल निष्कर्षमा नपुगेको बताइएको छ ।

    काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने, ‘भोली विहान ११ बजे सबै पार्टीका संसदीय दलका नेता र सचेतक बसेर छलफल गर्ने कुरा भएछ । सहमती भयो भने मात्र भोलिको बैठक चल्न दिन्छौं ।’

    प्रदेश सरकारका प्रवक्ता समेत रहेको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले आजको छलफल सकारात्मक रहेको बताए ।

  • सांसदले नै गरे प्रदेशसभा विघटनको माग

    सांसदले नै गरे प्रदेशसभा विघटनको माग

    जनकपुरधाम । प्रदेश २ का सांसद नरेश यादवले प्रदेशसभा विघटन गर्न माग गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरेका सांसद यादवले ६ महिनादेखि प्रदेशसभा बैठक नबसेको भन्दै सामाजिक सञ्जालमार्फत विघटन गर्नुपर्ने बताएका हुन् ।

    ‘सभामुख र सरकारको निस्क्रियताले प्रदेशसभा बैठक संचालन गर्न सकेका छैन’, उनले लेखेका छन्, ‘प्रदेशसभा औचित्यविहीन बनेको छ । त्यसैले ताजा जनादेशका लागि सम्बन्धित पक्षले अग्रसरता देखाउने अवस्था आइसकेको छ ।’

    उनले प्रदेशसभाको कुनै काम नै नरहेको हुँदा किन जनताको करबाट सेवा सुविधा लिने ? भन्दै प्रश्न गरेका छन् ।

    यस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) ले सरकारको नेतृत्व गरिरहेको छ । तत्कालीन राजपा र समाजवादी पार्टी एकीकरणपश्चात बनेको जसपाको संसदीय दलका नेता चयन नहुँदा प्रदेशसभा बन्धक बनेको छ ।

    यसअघि कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन-पत्र बुझाएरै बैठक डाक्न माग गरेका थिए । तर, मुख्यमन्त्री राउतले चासो नदेखाएको गुनासो बढ्न थालेको छ ।

  • सर्वोच्चको फैसलापछि प्रदेश २ सभाको अंकगणित :  एमालेभित्र को बलियो ?

    सर्वोच्चको फैसलापछि प्रदेश २ सभाको अंकगणित : एमालेभित्र को बलियो ?

    जनकपुरधाम । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पार्टी ब्युँताएपछि प्रदेश २ सरकारको अंकगणित पनि बदलिएको छ ।

    १०७ सदस्य प्रदेशसभामा नेकपा एमालेका २१ र माओवादी केन्द्रका ११ सांसद थिए । एकीकरणपछि बनेको नेकपामा यो संख्या ३२ पुग्यो । पछिल्लो समयमा एमालेका १३ सांसद प्रचण्ड-माधवतिर लागे । यी सबै माधव पक्षका हुन् । माओवादी केन्द्रका ४ सांसदले केपी शर्मा ओलीलाई साथ दिए ।

    खारेज हुनुपूर्व विभाजित भएका नेकपाका सांसदहरूको अंकगणित ओलीभन्दा प्रचण्ड-माधव बलियो थियो । एमालेबाट निर्वाचित एक सांसदले भने, ‘अब हामी मूल पार्टीमै फर्किन्छौं ।’

    एमालेमा संसदीय दलका नेता सत्यनारायण मण्डल र प्रमुख सचेतक सुन्दर बहादुर विश्वकर्मा थिए । यस्तै माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डल र प्रमुख सचेतक दीलिप साह थिए । नेकपा बनेपछि पनि संसदीय दलका नेतामा मण्डल नै निर्वाचित भए भने सचेतकमा रामकुमार यादव आए ।

    प्रचण्ड-माधवले बीचमा संसदीय दलका नेता मण्डललाई हटाएर संसदीय दलका नेता शत्रुधन महतोलाई चुने । तर, पार्टी पुरानै अवस्थामा फर्किएपछि महतोले संसदीय दलका नेताको पद धरापमा परेको छ ।

    पद गएपनि केही फरक नपर्ने भन्दै महतो भन्छन्, ‘सूर्य चिन्हबाट निर्वाचित भएका छौं । पहिले पनि एमाले थिए, अहिले पनि एमाले छु । अब एमाले संसदीय दलको बैठक बस्छ । त्यसबाटै संसदीय दलका नेता नयाँ चयन गर्ने कि पुरानैलाई मान्यता दिने छलफल हुन्छ ।’

    ओलीलाई साथ दिए माओवादी केन्द्रका सचेतक मण्डल भन्छन्, ‘अब के गर्ने विषयमा छलफल भइरहेको छ । कुनै ठोस निष्कर्षमा पुगिसकेको छैन ।’ सर्वोच्चको फैसलाले संक्रमणकालको अवस्था आएकाले अहिले आफूलाई माओवादी केन्द्रको सचेतक कि ओली पक्षका नेता भन्ने आफैं अन्योलमा रहेको मण्डलले नेपाल प्रेसलाई बताए ।

    प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का ५५, नेपाली कांग्रेसका १९ र संघीय समाजवादी पार्टीका १ सांसद छन् ।

    सभामुख सरोजकुमार यादवका अनुसार निर्वाचन आयोगको पत्र प्राप्त भएपछि चालिने कदमबारे भने, ‘अब प्रदेशसभामा नेकपा पार्टी नै रहेन । त्यसैले नेकपाका संसदीय दलका नेता र प्रमुख सचेतक पनि रहँदैन ।’