Tag: प्रदेश १ सभा

  • प्रदेशसभा बैठक स्थगित गर्न सभामुखसमक्ष एमालेले पनि पठायो पत्र

    प्रदेशसभा बैठक स्थगित गर्न सभामुखसमक्ष एमालेले पनि पठायो पत्र

    विराटनगर । मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची सार्वजनिक भएको प्रदेश १ सभाको आजको बैठक स्थगित गर्न सत्तारुढ नेकपा एमाले संसदीय दलले माग गरेको छ ।

    एमालेका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले सभामुखलाई पत्र लेखेर कात्तिक १५ सम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका हुन् ।

    मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आजको बैठकमा मतदान गर्ने कार्यसूची तय भएको थियो ।

    यसअघि आफ्ना केही सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिने सूचना पाएपछि नेपाली कांग्रेसले पनि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयमा लिखित निवेदन दिएको थियो ।

    कांग्रेसले प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई पत्र बुझाएपछि एमालेले पनि आफ्नो पार्टीको १०औँ महाधिवेशनअन्तर्गतका कार्यक्रम देखाएर प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको हो ।

  • कांग्रेसका केही सांसदले फ्लोर क्रस गर्ने सूचनापछि प्रदेशसभा बैठक रोक्न माग !

    कांग्रेसका केही सांसदले फ्लोर क्रस गर्ने सूचनापछि प्रदेशसभा बैठक रोक्न माग !

    काठमाडौं । आफ्ना केही सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिने सूचना पाएपछि नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयमा लिखित निवेदन दिएको छ ।

    मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने प्रयोजनका लागि मध्यान्ह प्रदेशसभा बैठक बस्दैछ । यसबीचमा कांग्रेसका केही सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले आजको बैठक रोक्न माग गरेको हो ।

    यद्यपि कांग्रेसको निवेदनमा भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को भ्रमणमा आउन लागेकाले आजको बैठक सार्न माग गरिएको छ ।

    ९२ सदस्यीय प्रदेशसभामा एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् । उनलाई वहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । तर विभाजनपछि एमालेका ४१ जनामात्र सांसद छन् ।

    राप्रपा र अन्य सानादलसहित कांग्रेसका केही सांसदको समेत समर्थन लिएर आचार्यले सत्ता टिकाउन प्रयास गरेको सूचना विपक्षी गठबन्धनले पाएको छ ।

    विपक्षी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार छन् । सभामुख प्रदीप भण्डारीले प्रदेशसभा बैठक रोक्ने वा नरोक्ने निर्णय गर्नुअघि दलहरूसँग परमार्श गर्ने भएका छन् ।

  • उदयपुरकी कृशला हत्याको छानविन छिटो गर्न प्रदेशसभामा माग

    उदयपुरकी कृशला हत्याको छानविन छिटो गर्न प्रदेशसभामा माग

    काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका- ६ की १६ वर्षीया कृशला चौधरीको एसिड प्रयोग गरेर हत्या गरिएको भन्दै प्रदेश १ सभामा घटनाको छानविन र कारवाहीमा प्रहरीले ढिलासुस्ती गरेको कुरा उठेको छ ।

    प्रदेशसभा सदस्य सुनीताकुमारी चौधरीले कृशलालाई चुरे जंगलमा एसिड हानेर हत्या गरिएको दावी गरिन् । ‘अनुसन्धानमा प्रहरीले चासो देखाएको छैन । तत्काल दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दछु ।’

    ८ दिन अघि हराएकी चौधरीको उदयपुर त्रियुगा नगरपालिका-६ स्थित मोहनपुर जंगलमा शव भेटिएको थियो । उनको हत्यामा संलग्न आशंका तीनजना पक्राउ परेका छन् ।

    फरक प्रसंगमा सांसद चौधरीले फ्रिफायर र पब्जीका कारण विद्यार्थीहरू बिग्रिएको भन्दै यस्ता खेलहरूमा प्रतिबन्ध लगाउन माग गरिन् ।
    उनले भनिन्,’सरकार युवाहरूलाई रोजगार देऊ । पब्जी र फ्रिफायरमा नुभुलाऊ ।’

  • प्रदेश १  मा प्रदेश सभा बैठक बोलाउने तयारी

    प्रदेश १ मा प्रदेश सभा बैठक बोलाउने तयारी

    बिराटनगर । प्रदेश १ को प्रदेश  बैठक बोलाउने तयारी सुरु भएको छ । बैठक बोलाउने तयारी स्वरुप मंगलबार प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेतासँग छलफल गरेका हुन् ।

    आगामी बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा मुख्यमन्त्री राईले उनिहरुसँग छलफल गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदी जानकारी दिए । छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आंबो र राष्ट्रिय जनता पार्टी संसदीय दलका नेता जयराम यादवको उपस्थिति थियो ।

    छलफलका क्रममाा मुख्यमन्त्री राईले सरकारले केही दिन भित्रै संसद बैठक बोलाउन लागेको जानकारी गराएका प्रेस सल्लाहकार सुवेदीले बताए । बढ्दो रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत छलफल भएको छ । सरकारले संसदबाटै बजेट प्रस्तुत गर्ने र अनावश्यक शंका नर्गन समेत विपक्षी दलका नेतालाई मुख्यमन्त्री राईले आग्रह गरेका छन् ।

  • एउटै विधेयकमा छलफल नगरी हिउँदे अधिवेशन अन्त्य

    एउटै विधेयकमा छलफल नगरी हिउँदे अधिवेशन अन्त्य

    विराटनगर । प्रदेश १ को सभाको हिउँदे अधिवेशन एउटै विधेयकमा छलफल नगरी अन्त्य भएको छ ।

    माघ ७ गते शुरू भएको प्रदेशसभाको सातौं अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् ।

    मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेको लागि बोलाइएको थियो ।

    सरकार गिराउने र पछिल्लो समय विपक्षी दलहरूले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरू सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग गर्दै पछिल्ला बैठक अवरुद्ध गरिरहेका थिए ।

    प्रदेश सरकारले कृषि अनुदानसम्बन्धि एउटा विधेयक प्रदेशसभा सचिवालयमा लगे पनि प्रदेशसभामा त्यसले प्रवेश नपाई अधिवेशनको अन्त्य भएको छ ।

    आजको बैठकको शुरूमै प्रतिपक्षले उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए ।

    नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आफूहरूले उठाएका माग पूरा नभएसम्म विरोध जारी रहने दोहोर्‍याए ।

  • प्रदेश १ सभाको बैठक बोलाइयो

    प्रदेश १ सभाको बैठक बोलाइयो

    विराटनगर । पटक-पटक स्थगित हुँदै आएको प्रदेश १ सभाको बैठक चैत २३ गतेको लागि तय गरिएको छ ।

    आइतबार सूचना जारी गर्दै प्रदेशसभा सचिवालयले दिउँसो २ बजेका लागि बैठक डाकेको हो ।

    पछिल्लोपटक फागुन ९ मा प्रदेशसभाको बैठक बसेको थियो । त्यसपछि बोलाइएको फागुन २० र चैत २ गतेको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो ।

    मुख्यमन्त्री धेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा टेबुल भएको छ । गएको बुधवार एमाले प्रदेश १ को संसदीय दलको बैठकमा दलका नेता एवं मुख्यमन्त्री शेरधन राईले अविश्वास प्रस्तावमा तत्कालीन प्रचण्ड-माधव पक्षबाट हस्ताक्षर गरेका एमाले सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिइसकेका छन् ।

    सो बैठकमा माधव पक्षका केही सांसद उपस्थित भएर अविश्वास प्रस्तावबाट हस्ताक्षर फिर्ता लिने जानकारी गराएका थिए ।

  • प्रदेश १ : सरकारले अविश्‍वासको प्रस्ताव छल्न खोजेको कांग्रेसको आरोप

    प्रदेश १ : सरकारले अविश्‍वासको प्रस्ताव छल्न खोजेको कांग्रेसको आरोप

    विराटनगर । नेपाली कांग्रेस प्रदेश संसदीय दलले सरकार अविश्वासको प्रस्तावलाई छल्न लागिरहेको आरोप लगाएको छ ।

    पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकारलाई अविश्वासको प्रस्तावबाट नभाग्न आग्रह गरे । कार्कीले सभामुखको भूमिकाप्रति पनि आशंका गरेको छ ।

    ‘हाम्रो सरकार कहिले सदन स्थगन गरौं भनेर सभामुखलाई पत्र नै काट्छ ? मन्त्री नै सदनबाट भाग्नुहुन्छ ? कहिले सूचना टाँसेर आयु बढाइरहनु भएको छ,’ कार्कीले भने, ‘सदन भनेको जनताको थलो हो । यसलाई कसैको सेटिङमा बन्धक बनाउनु हुँदैन ।’

    आज बस्ने भनिएको प्रदेश १ सभा बैठक एकाएक स्थगित गरी मिति परिवर्तन गरिएपछि यहाँको राजनीतिक माहोल एकाएक तातेको छ ।

    मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल भएपछि बस्न लागेको प्रदेश सभा बैठक अन्तिम समयमा आएर हिजो स्थगित गरिएको थियो । आज दिउँसो १ बजे बोलाइएको बैठक चैत २ गतेसम्मलाई सारिएको छ । केन्द्र राजनीतिमा देखिएको अन्योललाई देखेर पर्ख र हेरको स्थितिमा सभामुख रहेको बताइएको छ ।

    ९ फागुनमा प्रदेश सभामा टेबल भएको अविश्वासको प्रस्तावमाथि आजदेखि छलफल अघि बढाउने तयारी थियो ।

  • प्रदेश १ : फेरि सारियो प्रदेशसभा बैठक

    प्रदेश १ : फेरि सारियो प्रदेशसभा बैठक

    विराटनगर । भोलिका लागि तय गरिएको प्रदेशसभा बैठक स्थगित गरिएको छ । चैत २ गते बैठकको नयाँ मिति तोकिएको छ ।

    प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सूचना निकालेर विशेष कारण चैत २ गते साढे १२ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराएका छन् ।

    यसअघि फागुन ९ गते बसेको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड-माधव पक्षीय नेकपाका सांसदहरूले पेस गरेको अविश्वास प्रस्ताव टेबुल गरिएको थियो ।

    सत्तापक्षीय सांसदहरूबिनै शुरू भएको त्यस दिनको बैठक फागुन २० सम्मलाई स्थगित गरिएको थियो ।

  • मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबलपछि विवाद मोडियो, अबको बाटो के ?

    मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबलपछि विवाद मोडियो, अबको बाटो के ?

    विराटनगर । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव आइतबार सरकार पक्षको बहिष्कारका बीच सदनमा टेबल भएको छ ।

    अविश्वासको प्रस्ताव पेस भएसँगै प्रदेश सभा सञ्चालनलाई लिएर विवाद अन्तै मोडिएको छ । प्रदेश सभा सञ्चालनको प्रकृया प्रदेशसभा नियमावाली विपरीत भएको भन्दै सत्ता पक्षले वैधानिकतामाथि प्रश्‍न उठाएको छ । प्रदेश १ को मुख्यमन्त्रीसहित मन्त्रीहरू ओलीपक्षीय नेकपाका छन् ।

    नेकपाकै प्रचण्ड-माधव पक्ष भने अब प्रदेश सरकार परिवर्तनको प्रक्रिया औपचारिकरूपमा शुरू भएको दाबीसहित आइतबारको प्रदेशसभा सञ्‍चालन वैधानिक भएको जिकिर गरिरहेको छ ।

    सरकार पक्षले आइतबार साँझ नै नियमावलीमा उल्लेख भएको बैठक सञ्चालन र स्थगनसम्बन्धी व्यवस्थाको बर्खिलाप हुने गरी बैठक सञ्चालन भएको विषयलाई लिएर विज्ञप्तिमार्फत आपत्ति जनाएको छ । नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले अवैधानिक रुपमा सञ्चालन गरेको बैठकमा प्रस्ताव टेबल गरिएकोले कानुनी उपचारमा जाने बताइसकेका छन् ।

    मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-माधव पक्षका नेता भीम आचार्यले सरकार परिवर्तनको प्रक्रिया शुरू भएको बताए । नेपाल प्रेससँग कुरा गर्दै आचार्यले मुख्यमन्त्री राईलाई राजनीतिक इमान्दारीता भए राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएका छन् ।

    हिजोको प्रदेशसभा बैठक स्थगित गर्न मुख्यमन्त्री राईले सभामुख प्रदीपकुमार भण्डारी प्रस्ताव गरेका थिए । तर, सभामुख भण्डारीले मुख्यमन्त्री राईको प्रस्ताव अस्वीकार गर्दै बैठक संचालन गरेका थिए ।

    आइतबारको प्रदेशसभा बैठकमा नेकपा प्रचण्ड-माधव पक्षका सांसद इन्द्र आङ्बो प्रस्तावक र लक्षुमन तिवारी समर्थक रहेको मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस भएको छ । आइतबारको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले ‘संविधानको धारा १८८ को उपधारा ४ बमोजिम तथा नियम १२९ को उपनियम १ बमोजिम मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन आएको र जम्मा ३७ जनाले संयुक्त हस्ताक्षर गरेकामा पाँचजनाले पुनः निवेदन दिई प्रस्ताव फिर्ता लिएको’ सदनसमक्ष जानकारी गराएका थिए ।

    प्रदेशसभा नियमावलीमा के छ ?

    प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ मा प्रदेशसभा बैठकको सञ्चालन र स्थगनसम्बन्धी व्यवस्था छ । नियमावलीको परिच्छेद ३ मा ‘बैठकमा मन्त्रीको उपस्थिति हुनुपर्नेछ र कुनै खास विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्रीसमेत उपस्थित हुनुपर्नेछ’ भन्ने उल्लेख छ ।

    तर, आइतबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री, मन्त्री र ओलीपक्षीय नेकपाका सांसदहरूले बैठक बहिष्कार गरे । प्रचण्ड-माधव पक्षीय नेकपा र नेपाली कांग्रेसका सांसदहरू भने सहभागी थिए । एक पक्षले बैठक बहिष्कार गरेको अवस्थामा बैठक सञ्चालन र स्थगनबारे नियमावलीमा केही उल्लेख छैन ।

    पार्टी विवादको बाछिटा प्रदेशसभामा

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेसँगै ने पार्टी केन्द्रको विवादको बाछिटा प्रदेश १ मा पनि पर्‍यो ।

    मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर संकलन गरेको भन्दै अर्थमन्त्री इन्द्र आङ्बोलाई पुस १० गते बर्खास्त गरेका थिए । लगत्तै पुस १२ बिहान प्रचण्ड-माधव पक्षका मन्त्री जीवन घिमिरे, जसमाया गजमेर र विजय विश्वासले पदबाट राजीनामा दिए । सोही दिन भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरी ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहितको अविश्वासको प्रस्ताव दर्ता गरियो ।

    त्यसलगत्तै पार्टी विभाजन नभइसकेको अवस्थामा विधि विधान मिचेर आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको भन्दै दलको नेताको हैसियतले मुख्यमन्त्रीले प्रचण्ड-माधव पक्षका १६ सांसदलाई निलम्बन गरे ।

    नेकपाको प्रचण्ड-माधव पक्षले पनि मूख्यमन्त्री राईसहित ८ सांसदलाई निलम्बन गरेको जानकारी प्रदेशसभा सचिवालयमा गराएको थियो ।

    संवैधानिक व्यवस्था

    संविधानको धारा १८८ मा मुख्यमन्त्रीविरुद्ध विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था छ । उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीन दिनभत्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्छ ।

    उपधारा ४ मा प्रदेशसभामा तत्काल कायम रहेका सदस्यहरूमध्ये एकचौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेशसभाको विश्वास छैन भनी लिखितरूपमा अविश्वास प्रस्ताव पेस गर्न सक्नेछन् । तर, मुख्यमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एकपटक राखेको प्रस्ताव असफल भएको एक वर्षभित्र त्यस्तो प्रस्ताव पेस गर्न सकिने छैन ।

    उपधारा ६ मा अविश्वासको प्रस्ताव बहुमतबाट पारित भए मुख्यमन्त्री पदमुक्त हुने व्यवस्था गरेको छ ।

    तर, नेकपाको दुवै पक्षलाई प्रस्ताव पास या फेल गराउन चाहिने संख्या अपुग छ । यस प्रदेशमा अविश्वासको पक्ष वा विपक्षमा उभिन बहुमतको लागि ४७ सांसदको बहुमत पुग्नु पर्छ । बहुमतका लागि भने दुवै पक्षलाई कांग्रेसको समर्थन आवश्यक छ । प्रस्तावको पक्ष वा विपक्ष कता लाग्ने भन्नेबारे कांग्रेसले अहिलेसम्म निर्णय गरिसकेको छैन ।

    यस्तो अवस्थामा संविधानको धारा १६८ मा व्यवस्था भएको प्रदेश मन्त्रिपरिषद्सम्बन्धी व्यवस्थामा विश्वासको मत लिन नसके वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभालाई विघटन गरी ६ महिनाभित्र अर्को प्रदेशसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्ने व्यवस्था रहेको छ ।

    संविधानको धारा २३२ को उपधारा ३ मा कुनै प्रदेशमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएका राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषद् वा प्रदेशसभालाई बढीमा ६ महिनासम्म निलम्बन वा विघटन गर्न सक्ने व्यवस्था छ । त्यसलाई संघीय संसदबाट बहुमतले अनुमोदन गराउनुपर्छ ।

    तर, अनुमोदन नभए निलम्बन स्वतः निस्क्रिय हुन्छ । उपधारा ३ बमोजिम गरिएको निलम्बन भने ३५ दिनभित्र संघीय संसदको बहुमतबाट अनुमोदन नभएसम्म प्रदेशसभामा संघीय शासन लागू हुने व्यवस्था छ ।

    विघटनको सम्भावना टर्‍यो

    प्रदेशसभा विघटनका लागि मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग अनौपचारिक परामर्श पनि गरेको स्रोतले बताएको छ ।

    राईले विभिन्न मिडियामा अन्तर्वार्ता दिने क्रममा पनि प्रदेशसभा विघटन हुनसक्ने उल्लेख गरेका थिए । उनले सरकार ढाल्ने सहमति जुट्यो र अविश्वास प्रस्ताव प्रदेशसभामा टेबुल हुने अवस्था आए प्रदेशसभा विघटन गरिने प्रष्टसँग भनेका थिए ।

    तर, आइतबार अविश्वास प्रस्ताव टेबल भएपछि प्रदेशसभा विघटनको सम्भावना टरेको संवैधानिक कानुनका विज्ञ डा. भीमार्जुन आचार्य बताउँछन् ।

    ‘संवैधानिक कानून र संसदीय मान्यता अनुसार अविश्वास प्रस्ताव टेबल भइसकेपछि प्रदेशसभा विघटनको बाटो बन्द भयो’, आचार्यले नेपाल प्रेससँग भने,‘अब मुख्यमन्त्री राईसँग अविश्वास प्रस्तावको सामना गर्ने एकमात्र विकल्प बाँकी छ ।’

  • अविश्‍वास प्रस्ताव टेबलपछि फागुन २० सम्मलाई बैठक स्थगित

    अविश्‍वास प्रस्ताव टेबलपछि फागुन २० सम्मलाई बैठक स्थगित

    विराटनगर । सत्तापक्षीय सांसदहरूबिनै शुरू भएको बैठक फागुन २० गतेसम्मलाई स्थगित गरिएको छ ।

    सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरी फागुन २० गते नयाँ मिति तोकिएको  सदनलाई जानकारी गराएका छन् ।

    निर्धारित २ बजेको समयभन्दा झण्डै २ घण्टापछि बसेको बैठकमा प्रचण्ड-माधव पक्षका सांसद ईन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्‍वास प्रस्ताव पेस गरेका  थिए ।

    बैठक स्थगन गर्न मागको पत्र बोकेर नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी सभामुखको कार्यकक्ष पुगेका थिए ।

    मुख्यमन्त्री राईले अहिलेकै अवस्थामा बैठक अघि बढ्न नसक्ने भन्दै सूचना टाँसेर स्थगित गर्न सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएपनि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकबिनै आजको सभा संचालन गरेका थिए ।

    सभामुख भण्डारीले प्रक्रियाअनुसार अविश्वासको प्रस्ताव दर्ता भएर टेबल गर्ने कार्यसूची समेत तय भइसकेको भन्दै सधैँभरी बैठक रोकेर राख्न नसकिने मुख्यमन्त्रीसमक्ष जवाफ दिएको बताइएको छ ।

  • मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस हुने भएपछि प्रदेशसभाको बैठक बस्दै

    मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस हुने भएपछि प्रदेशसभाको बैठक बस्दै

    विराटनगर । प्रदेश १ सभाको आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेवल हुने भएको छ ।

    केहीबेरपछि शुरू हुने बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेस गर्ने कार्यसूची तय गरिएको हो । सभामुख प्रदीपकुमार भण्डारीले कार्य परामर्श समितिको बैठक नबसाई बैठक संचालनको तयारी गरेका छन् ।

    प्रदेशसभा बैठक बस्ने भएपछि नेकपाको दुवै पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्तरिक रणनीति बनाउन छलफलमा जुटेका छन् ।

    सभामुखले अविश्वासको प्रस्तावका बारेमा छलफल गराउन चाहेपछि सत्तापक्षका सांसदहरू मुख्यमन्त्री कार्यालयमा भेला भएका छन् । यता, सत्तापक्षले छुट्टै बैठक गरेपछि त्यसबाहेकका दल तथा विपक्षीहरू सभामुखसँग छलफलमा जुटेका छन् । बैठकमा सहभागी हुन प्रदेश सभा सदस्यहरु आउने क्रम जारी छ ।

    भीम आचार्यलाई मुख्यमन्त्री बनाउन माग गर्दै नेकपाका प्रदेश १ का ६६ मध्ये ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । हस्ताक्षर फिर्ता लिने सांसदको संख्या ४ पुगिसकेको छ ।

    सभामुखसहित प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । अब अविश्वास प्रस्तावको पक्षमा ३३ सांसद छन् ।

  • प्रदेश १ सभा : नेकपाको दुवै पक्षको अडानले बैठक खुलाउने वार्ता निष्कर्षविहीन

    प्रदेश १ सभा : नेकपाको दुवै पक्षको अडानले बैठक खुलाउने वार्ता निष्कर्षविहीन

    विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठक खुलाउनेबारे नेकपाको दुई पक्षबीच भएको वार्ता बिनानिष्कर्ष टुगिंएको छ ।

    मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस भएसँगै देखिएको विवाद निरुपण गर्न पहिलोपटक यी दुई पक्ष संवादका लागि जुटेका हुन् ।

    करिव २ महिनाअघि नेकपाको प्रचण्ड-माधव पक्षका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएयता मतभेद चुलिएको छ । जसको प्रभाव प्रदेशसभा बैठकमा समेत देखिँदै छ ।

    विराटनगरको एसियाटिक होटलमा १ घण्टा भएको वार्तामा दुवै पक्षले आफ्नो अडान दोहोर्‍याएपछि समस्या झन पेचिलो बनेको छ ।

    ओली पक्षले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन गरेको आग्रह प्रचण्ड-माधव पक्षका सांसदहरूले इन्कार गरेको बताइएको छ । अविश्वासको प्रस्ताव प्रदेशसभाको बैठकमा प्रक्रियामा लैजानुपर्ने अडान उनीहरूले राखेको छ ।

    वार्तामा सहभागी प्रचण्ड-माधव पक्षका नेता इन्द्र आङ्बोले सरकारको तर्फबाट आव्हान भएअनुसार आफूहरू वार्तामा बसेपनि केही निष्कर्ष ननिस्किएको जानकारी दिए ।

    ‘सरकारका तर्फबाट मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने कुरा प्रस्तावको रूपमा आयो’उनले भने,‘ सरकारको पुरानौ कुरा प्रस्तवाका रूपमा दोहोरिएकाले त्यसलाई हामीले स्वीकार गरिनौं । प्रष्टसंग अविश्वासको प्रस्ताव टेवल हुनुपर्ने हामीले भन्यौं । साझा विन्दुमा पुग्न सकिएन ।’

    वार्तामा ओली पक्षबाट आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, प्रदेशसभा सदस्य विमल कार्की, प्रचण्ड-माधव पक्षबाट इन्द्र आङ्बो, जीवन घिमिरे र लक्ष्मण तिवारी सहभागी थिए ।

    ओली पक्षले दलका नेताले कारबाही गरेका सांसदलाई बैठकमा सहभागी हुन नदिने अडान राख्दै प्रदेशसभा अवरुद्ध गरेको थियो ।

    प्रदेशसभाको हिउँदे अधिवेशन गत माघ ७ गतेबाट शुरू भएको हो । त्यसयता दुई वटा बैठक बसेपनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएका छन् । प्रदेश सभाको हिउँदे अधिवेशनको तेस्रो बैठक फागुन ९ गते तोकिएको छ ।

  • कार्यव्यवस्था समितिमा सहमति, सदनमा नाराबाजी

    कार्यव्यवस्था समितिमा सहमति, सदनमा नाराबाजी

    विराटनगर । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि पेचिलो बनेको प्रदेश १ सभाको समीकरण अझै प्रष्ट भइसकेको छैन । यद्यपी प्रदेश सभामा नेकपा ओली  र प्रचण्ड-माधव पक्षका विवादको प्रभाव निरन्तर छ ।

    आइतबार मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची भएपनि प्रदेशसभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो । अर्को  बैठक फागुन ९ लाई तोकिएको छ ।

    बैठकको शुरूमै नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नेकपा संसदीय दलबाट कारबाहीमा परेका सदस्यहरूलाई बैठकस्थलबाट बाहिर निकाल्न सभामुखको ध्यानाकर्षण गराए । ओली पक्षले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड-माधव पक्षका १६ जना सदस्यलाई निलम्बन गरेको थियो । राजभण्डारीले ती सदस्यहरुलाई बैठकमा बस्ने अधिकार नरहेको दाबी गरेका थिए ।

    सभामुख प्रदीप भण्डारीले उठिरहेका ओली पक्षका सदस्यहरुलाई बारम्बार बस्न आग्रह गरेपनि अस्वीकार भइरह्यो । लगत्तै सभामुख भण्डारीले बैठक स्थगित गरेका थिए ।

    सभामुखको निर्णयमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रदेश १ नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सभामुख र सरकारबीच अवैध साँठगाँठ रहेको आरोप लगाए । ‘संसदीय व्यवस्थामा सदन चलाउने जिम्मेवारी सभामुखको हो । सरकार र सभामुखबीच अवैध सेटिङ भएकोले संसद अनिर्णयको बन्दी बनिरहेको छ’, कोइरालाले प्रतिक्रिया दिए ।

    नेकपा प्रचण्ड-माधव पक्षका सांसद इन्द्रबहादुर आङ्बोले पनि सभामुखले सत्तापक्षको आवाज मात्रै सुनेर बैठक स्थगित गर्न गलत भएको बताए । उनले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेपनि सभामुख आफैं मुख्यमन्त्रीको कुर्सी जोगाउ कस्सिएको आरोप लगाए ।

    नेकपा ओली पक्षले भने नेकपा विभाजन नभइसकेको अवस्थामा कारबाही भएका सदस्यहरू बैठकमा प्रवेश गर्न नपाउने दाबी गरेको छ । बैठकपछि सत्तारूढ नेकपाका प्रमुख सचेतक राजभण्डारीले मुख्यमन्त्रीले कारबाही गरेका १६ जना सांसदलाई प्रवेश दिएपछि बैठक सञ्चालनको सहमति मान्न नसकिएको बताए ।

    ‘बैठक बस्ने भन्ने हो तर नेकपा संसदीय दलबाट निलम्बन भएकाहरू कसरी बैठकमा सहभागी हुनसक्छन् ?’, राजभण्डारीले प्रश्न गरे । उनले पार्टी कानुनीरूपमा विभाजन नभएको अवस्थामा दलको नेताले कारबाही गरिसकेका सदस्यहरू सभामा उपस्थित हुन नपाउने बताए ।

    प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीसहित ओली पक्षका ६ जना प्रदेशसभा सदस्यमात्र सहभागी भएका थिए ।

    यसअघि कार्य व्यवस्था समितिमा मुख्यमन्त्री राईविरूद्धको अविश्वासको प्रस्ताव पेस गर्ने सहमतिपछि बैठक शुरू भएको थियो । कार्यव्यवस्था परामर्श समितिमा सहभागी जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले संसद बैठक सञ्चालन गर्न दुवै नेकपा सहमत भएपनि बैठक कार्यसूचीमा प्रवेश गर्न नपाउनु दुःखद रहेको बताए ।

  • प्रदेश सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित

    प्रदेश सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित

    विराटनगर । प्रदेश १ सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । बैठक २ मिनेट बसेर स्थगित गरिएको हो ।

    आइतबार अपरान्ह २ बजे बस्नेगरी बैठक डाकिएको भएपनि कार्यसूचीबारे कार्यव्यवस्था समितिमा सहमति बन्न नसक्दा बैठक निर्धारित समयमा शुरू हुन सकेको थिएन । मुख्यमन्त्री शेरधन राईविरूद्धको अविश्वासको प्रस्ताव पेस गर्ने सहमतिपछि बैठक शुरू भएको थियो । आज मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस गर्ने एकमात्र कार्यसूची थियो ।

    बैठक शुरू भएलगत्तै नेकपा ओली पक्षका संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्रीले कारबाही गरेका अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ सांसदलाई हलमा प्रवेश दिएको भन्दै उठेर विरोध जनाएपछि सभामुख प्रदीप भण्डारीले बैठक स्थगित भएको सभामा जानकारी गराए ।

    बैठकको अर्को मिति फागुन ९ लाई तोकिएको छ ।

     

  • नेकपा आन्तरिक कलहको बन्धक बन्यो प्रदेशसभा

    नेकपा आन्तरिक कलहको बन्धक बन्यो प्रदेशसभा

    विराटनगर । नेकपाको आन्तरिक कलहका कारण प्रदेश १ सभाको बैठक अनिश्चिततातर्फ धकेलिएको छ। पार्टीको आन्तरिक विवादले प्रदेशसभा बन्धक बनाइएको भन्दै टिप्पणीसमेत बढेको छ ।

    माघ ७ देखि शुरू भएको प्रदेशसभाको हिउँदे अधिवेशन अनिश्चितकालीन स्थगित गरिएको छ । पहिलो बैठक २ मिनेट पनि नबसी स्थगित गरिएको थियो ।

    दोस्रो बैठकको मिति तय भएको छैन । प्रदेश सभाको बैठक नियमित गर्नेबारे दलहरूबीच संवादसम्म हुनसकेको छैन ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले कार्य व्यवस्था परामर्श समितिको बैठकमा दलहरुको तर्फबाट माघ २० सम्म प्रदेश सभाको बैठक डाक्न भद्रसहमति भएकोले सोही अनुसार पर्खाइमा रहेको बताए ।

    सहमति अनुसार अबको तीन दिनभित्र बैठक बोलाउनुपर्ने भएपनि सभामुखले मिति तय गरी सूचना ननिकालेकोमा उनले आपत्ति जनाए ।

    ‘नेकपाकाे आन्तरिक कलहमा प्रदेशसभा बन्धक बनाउन पाइँदैन’ उनले भने,‘तोकिएको समयभित्र सभा चल्नुपर्छ। त्यसो हुन नसके कांग्रेस चुप भने बस्दैन।’

    नेपाली कांग्रेस र नेकपाकै प्रचण्ड-माधव समूहका नेताहरू प्रदेश सभा बैठकलाई नियमितता दिनुपर्ने पक्षमा छन् ।

    तर, सत्तारुढ (ओली) पक्ष भने संसदमा कुनै बिजनेश पनि नलाने र संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल पनि गर्न नदिने रणनीतिमा छ ।

  • बैठक चलिरहँदा प्रदेश १ सभाबाहिर प्रचण्ड-माधव पक्षको विरोध प्रदर्शन

    बैठक चलिरहँदा प्रदेश १ सभाबाहिर प्रचण्ड-माधव पक्षको विरोध प्रदर्शन

    विराटनगर । प्रदेश १ सभाको बैठक चलिरहँदा नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ताले मुख्यमन्त्री शेरधन राईविरुद्ध सभा हलबाहिर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सो समूहले मुख्यमन्त्री शेरधन राईको राजीनामा मागेको छ । उनीहरूले संसद पुन:स्थापनाको मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिनुपर्ने नारा लगाए ।

    प्रदेशसभा परिसरभित्र र बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । प्रहरीले पूर्वमा देवकोटा चोक र पश्चिमतर्फको नाका अस्पताल चोकदेखि आवतजावतमा रोक लगाएको थियो ।

    प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक औपचारिकतामा मात्रै सीमित भएको छ । प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर आजको बैठक सकिएको थियो । सभामुख प्रदीपकुमार भण्डारी प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाएलगत्तै बैठक अनिश्‍चितकालीन स्थगित भएको जानकारी गराए । बैठकमा मुख्यमन्त्री शेरधन राई भने उपस्थित थिएनन् ।

    मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएर ओलीको खेमामा फर्किएका सांसदहरुमध्ये उदयपुरकी कला घलेबाहेक अन्य सांसद प्रदेश सभा बैठकमा अनुपस्थित थिए । जसमाया गजमेर, श्रीप्रसाद मैनाली गोपालचन्द्र बुढाथोकी र सितादेवी यादव सहभागी भएनन् ।

  • संसद बैठकमा प्रचण्ड-माधव पक्ष पनि भाग लिन पाउने, कोही बोल्न नपाउने

    संसद बैठकमा प्रचण्ड-माधव पक्ष पनि भाग लिन पाउने, कोही बोल्न नपाउने

    काठमाडौं । विभाजित नेकपाका दुवै पक्षले एकले अर्कोलाई निषेध गर्ने अवस्था आएपछि प्रदेश १ को प्रदेशसभा बैठक औपचारिक रुपमा शुरुमात्रै भएर अनिश्चितकालका लागि स्थगित हुने भएको छ ।

    सभामुख प्रदिप भण्डारीले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ६ महिनाभित्र संसदको बैठक बस्नुपर्ने संवैधानिक व्यवस्थालाई जोगाउन प्रदेश प्रमुखको पत्रमात्र पढेर सुनाउने सहमति भएको हो ।

    नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आज कुनै पनि नेताले बैठकमा सम्बोधन नगर्ने र औपचारिक रुपमा अधिवेशन शुरु गरी अर्को सूचना नभएसम्म बैठक स्थगित गर्ने सहमति भएको बताए । आजको बैठकका लागि एक मात्र कार्यसूचीमा समावेश छ।

    आजको बैठकमा मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका १६ जना नेकपाका सांसद पनि सहभागी हुने भएका छन् । राजनीतिक विषयमा पछिनै छलफल गर्दै टुंगो लगाइने उनले बताए ।

    कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी भएकी प्रचण्ड माधव पक्षकी सांसद सीता थेबेले सबै सांसदलाई बैठकमा सहभागी हुन दिने सहमति भएको बताइन् ।