Tag: प्रदेश नं.२

  • डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारद्वारा राहत घोषणा

    डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारद्वारा राहत घोषणा

    धनुषा । पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप एक/एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

    धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका-६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिताको मृत्यु भएको थियो ।

    मृत्यु भएका पाँच बालिकाका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप प्रतिपरिवार एक लाख रुपैयाँ दिने घोषणा सरकारका तर्फबाट नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादवले गरे । मन्त्री यादव निर्वाचित धनुषाको क्षेत्र नं ३ भित्रै घटना भएको पालिका हो । प्रादेशिक अस्पतालमा मृतक बालिकाको शव परीक्षणपश्चात परिवारलाई जिम्मा लगाउने बेला अस्पताल पुगेर मन्त्री यादवले पीडित परिवारजनलाई शनिबार भेटेर समवेदना प्रकट गर्दै राहत रकमको घोषणा गरेका हुन् ।

    त्यसैगरी क्षेत्र नं ३ कै सङ्घीय सरकारमा नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद तथा निर्वतमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमेत भएका जुली महतोले गाउँमै पुगेर पीडित परिवारहरुसँग भेटघाट गर्दै व्यक्तिगत तर्फबाट पाँच परिवारलाई प्रतिपरिवार किरिया खर्चस्वरूप १० हजार रुपैयाँ सहयोग गरीन् ।

    महतोले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित तथा शोकाकुल परिवारजन र गाउँवासीप्रति समवेदना प्रकट गरीन् । उनले भनिन्, ‘मैले यहाँका जनप्रतिनिधि, प्रहरी प्रशासनसहित प्रदेश सरकारसँगसमेत क्षतिपूर्तिका लागि आग्रह गरेकी छु ।’

    यसअघि उक्त क्षेत्रबाट निर्वाचित सांसद तथा नेपाल सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो, नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले विज्ञप्ति तथा समाजिक सञ्जालमार्फत शोक सन्देश जारी गरी घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजन र गाउँवासीप्रति समवेदना प्रकट गरेका थियो ।

    मृतक पाँचै जनाको शव परीक्षणपश्चात गाउँ लगेर अन्तिम संस्कार गरिएको छ । गरिब विपन्न परिवारका बालिकाहरुको एकै ठाउँमा एकैपटक मृत्यु हुँदा अहिले गाउँ शोकमा डुबेको छ ।

  • विद्युत् प्रणाली सुधार गर्न प्रदेश नं २ मा चार अर्ब लगानी

    विद्युत् प्रणाली सुधार गर्न प्रदेश नं २ मा चार अर्ब लगानी

    काठमाडौं । प्रदेश नं २ का आठै जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच प्रदेशमा ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करीब ४ अर्बको ठेक्का सम्झौता भएको हो ।

    प्राधिकरणले गरेको अन्तरर्राष्ट्रिय टेन्डरमा टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन हुने आयोजनालाई पाँच चरणमा विभाजन गरिएको छ । प्रदेशको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहितका ३३/११ केभी, १६ दशमलव छ एमभिए क्षमताका ८ वटा सबस्टेशनको निर्माण गरिने निर्देशनालयले जनाएको छ ।

    यसैगरी ३३/११ केभी, आठ एमभिए क्षमताका दुईवटा सबस्टेशनको निर्माण गरिनेछ । ती सबस्टेशनको क्षमता १४८ दशमलव आठ एमभिए हुनेछ । साथै प्रदेशका जिल्लामा ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन र एक हजार सर्किट किलोमिटर ४०० भोल्टको नयाँ लाइन निर्माण गरिनेछ । आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले तीन करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एसियाली विकास बैंक (एडिबि)मार्फत सञ्चालित हुनेछ ।

    प्राधिकरणका तर्फबाट सम्झौतापत्रमा आयोजना प्रमुख विमल चौधरी (चरण १), रोशन खड्का (चरण २ र ४), रन्धीर पाठक (चरण ३) र अमित भगत (चरण ५), लेखा प्रमुख विष्णुप्रसाद आचार्य, इन्जिनीयर वसन्त नेपाल र विषम विनोद खनालले तथा टाटा प्रोजेक्टका तर्फबाट महाप्रबन्धक श्यामनारायण मित्तल र मनोजकुमार पटनायकले हस्ताक्षर गरेका थिए । आयोजनाको निर्माण ठेक्का सम्झौता कार्यान्वयनमा आएको ९० दिन अर्थात् ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    काम सम्पन्न भएपछि प्रदेशको विद्युत् प्रसारण र वितरण प्रणालीमा सुधार आई हाल सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग र घरायसी ग्राहकले पर्याप्त तथा विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने आयोजनाका संयोजक बोधराज ढकालले बताए । उनले उच्च प्राथमिकताको आयोजना भएकाले निर्धारित समयभन्दा पहिले नै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।

    -रासस

  • महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रलाई प्रदेश प्रमुख डा.अहिराजको सहयोग

    महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रलाई प्रदेश प्रमुख डा.अहिराजको सहयोग

    काठमाडौं । प्रदेश नं.२ प्रदेश प्रमुख डा.राजेश अहिराजले पदभार ग्रहण गरेपछि पहिलो महिनाको पारिश्रमिकको आधा रकम महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् ।

    बुधबार डा. अहिराजले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगी आधा महिनाको तलब बराबरको रुपैयाँ सहयोग गरेका छन् ।

    प्रदेश प्रमुख डा.अहिराजले राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण निरीक्षण गर्नुका साथै छलफल समेत गरेका छन् । उनले महावीर पुनलाई प्रदेश २ मा पनि आविष्कार केन्द्रको स्थापनाका लागि प्रस्तावसमेत गरेको नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले जानकारी दिएका छन् ।

    उपाध्यायको पहलमा प्रदेश प्रमुख डा.अहिराजले सो सहयोग गरेका हुन् । आविष्कार केन्द्रका सञ्चालक पुनले प्रदेश २ मा पनि राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न इच्छुक रहेको बताउँदै त्यसका लागि जग्गा र बजेटको आवश्यकता औंल्याए ।

    नेपाल सरकारका पूर्वसचिव उपाध्यायका अनुसार प्रदेश प्रमुख डा.अहिराजले प्रदेश २ मा आविष्कार केन्द्र स्थापनार्थ हरेक सहयोग गराउने प्रतिबद्धतासमेत जाहेर गरेका थिए । जग्गा उपलब्ध गराउनेदेखि सरकारसँग बजेटका लागि पनि पहल गर्ने आश्वासन दिएका थिए ।

    साथै, प्रदेश प्रमुख डा.अहिराजले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक पुनलाई प्रदेश २ भ्रमणका लागि निम्तोसमेत दिएका थिए ।