Tag: प्रदेश इन्चार्ज

  • उपत्यका र विशेष प्रदेशसहित नेकपा एसका ८ प्रादेशिक इन्चार्ज तोकिए

    उपत्यका र विशेष प्रदेशसहित नेकपा एसका ८ प्रादेशिक इन्चार्ज तोकिए

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल पार्टी संगठनको काम अघि बढाउन प्रदेश इन्चार्ज तोकेको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा इन्चार्ज तोकेको हो ।

    नेकपा एसले जारी गरेको अन्तर पार्टी निर्देशन अनुसार प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत तोकिएका छन् । पूराना नेता बस्नेत दुई पटक सांसद भइसकेका छन् ।

    त्यस्तै प्रदेश २ को इन्चार्ज धर्मनाथ प्रसाद साह तोकिएका छन् । उनी एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा केपी ओली प्यानलबाट उपाध्यक्षको उम्मेदवार भई पराजित भएका थिए ।

    वागमती प्रदेशको इन्चार्जमा केदार न्यौपाने तोकिएका छन् । एकपटक राष्ट्रियसभा सदस्य भएका न्यौपाने पनि पूराना नेता हुन् । उनी नेकपा एसका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेका भाइ हुन् ।

    गण्डकी प्रदेशको इन्चार्जमा केशवलाल श्रेष्ठ तोकिएका छन् । वामदेव गौतम निकट श्रेष्ठ नवौं महाधिवेशनमा केपी ओली प्यानलबाट सचिव उम्मेदवार थिए ।

    लुम्बिनी प्रदेश इन्चार्जमा भागवत विश्वासी तोकिएका छन् । त्यस्तै कर्णाली प्रदेशको इन्चार्जमा प्रकाश ज्वाला तोकिएका छन् । ज्वाला नेकपा एमालेमा विद्रोहको शुरुवात गर्ने पहिलो नेता हुन् ।

    सुदूरपश्चिम प्रदेशमा भने इन्चार्ज तोकिन बाँकी छ । उर्वादत्त पन्त वा रामकुमार ज्ञवालीमध्ये एकजना इन्चार्ज तोकिने सम्भावना छ । त्यस्तै नेकपा एसले उपत्यका प्रदेशको इन्चार्जमा विश्वनाथ प्याकुरेल र विशेष प्रदेश इन्चार्जको जिम्मा विजय गुरुङलाई दिएको छ ।

    प्याकुरेल निजामति कर्मचारीको नेतृत्व गरेर आएका नेता हुन् भने गुरुङ साबिक एमाले र नेकपामा सम्पर्क समन्वय कमिटीको सहइन्चार्ज थिए ।

  • प्रचण्ड–माधव पक्षले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटायो

    प्रचण्ड–माधव पक्षले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटायो

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष)ले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटाउने निर्णय गरेको छ।

    दुई दिन बसेर साेमबार सकिएको स्थायी कमिटी बैठकले गण्डकी प्रदेश इन्चार्ज रहेका गुरुङको ठाउँमा पूर्व माओवादीका देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ। त्यस्तै लुम्बिनी प्रदेश इन्चार्ज पोखरेललाई हटाएर युवराज ज्ञवालीलाई जिम्मा दिएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले नेपाल प्रेसलाई बताए ।

    बैठकले गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई राख्ने निर्णय गरेको छ। त्यस्तै प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ। प्रदेश कमिटी सचिव गोविन्द नेपाली ओली पक्षमा लागेपछि थकालीलाई ल्याइएको हो ।

    ओली पक्षका ९ प्रदेश पदाधिकारी हटाउन छलफल जारी

    बैठकमा प्रदेश १, २, वागमती, कर्णाली र सुदूरपश्चिमका बारेमा भने केही निर्णय हुन सकेन । यी प्रदेशका ९ प्रदेश पदाधिकारी ओली पक्षतिर लागेकाले प्रचण्ड–माधव पक्षले त्यहाँ आफ्ना पक्षबाट नेतृत्व चयन गर्नुपर्नेछ।

    रिक्त नेतृत्व चाँडै नियुक्त गरिने भएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा रहेको कार्यदलले यसलाई टुंग्याउने भएको छ।

    प्रदेश १ का अध्यक्ष देवराज घिमिरे ओली पक्षतिर लागेका छन् । प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज प्रभु साह र सचिव सुमन प्याकुरेल पनि ओली पक्षतिरै लागेका छन्।

    त्यस्तै वागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेल पनि ओली पक्षतिर लागेका छन्। कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटी र सहइन्चार्ज यामलाल कँडेल पनि ओली पक्षमा लागेकाले त्यहाँ नयाँ नेतृत्व ल्याउनुपर्नेछ।

    त्यस्तै सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र सहइन्चार्ज लेखराज भट्ट पनि ओली पक्षतिरै लागेका छन्।