Tag: प्रदीप पौडेल

  • कांग्रेस नेता पौडेललाई निमोनियाँ

    कांग्रेस नेता पौडेललाई निमोनियाँ

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल निमोनियाँबाट संक्रमित भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा निमोनियाँ पुष्टि भएपछि चिकित्सकको सल्लाहअनुसार उनी घरमै आराम गरिरहेका छन् ।

    पौडेलनिकट नेविसंघ नेता शुशिल भट्टका अनुसार महाधिवेशनलगत्तै पौडेलको घाँटीमा समस्या देखिएको थियो । स्वास्थ्यमा असहजता भएपछि परिक्षण गराउँदा निमोनियाँ देखिएको भट्टले जानकारी दिए ।

    पौडेल केही समयअघि कोरोनाबाट पनि संक्रमित भएका थिए । कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट पौडेल महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए ।

    महामन्त्रीमा पराजित भएका पौडेललाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरिसकेका छन् ।

  • हिजो ओलीले गलत गरे आज देउवाले : प्रदीप पौडेल

    हिजो ओलीले गलत गरे आज देउवाले : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफ्नै पार्टी नेतृत्वको सरकारले ल्याएको भएपनि अध्यादेश गलत भएको टिप्पणी गरेका छन् ।

    हिजो केपी शर्मा ओली नेतृत्वको सरकारले संसद छलेर अध्यादेश ल्याउँदा पनि आफूहरुले प्रतिकार गरेको भन्दै पौडेलले देउवा सरकारको कदमपनि विगतकै प्रवृत्तिको निरन्तरता भएको टिप्पणी गरे ।

    ‘असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार हो’, पौडेलले सामाजिक सञ्जालमाफर्त भनेका छन् ।

  • गगन र प्रदीपबिनै सिटौला समूहको भेला जारी

    गगन र प्रदीपबिनै सिटौला समूहको भेला जारी

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट नेता कार्यकर्ताहरुको भेला अहिले बत्तीसपुतलीस्थित सम्पर्क कार्यलयमा जारी छ ।

    १३ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका नेता सिटौलाले आसन्न महाधिवेशनबारे रणनीति बनाउन आफ्नो समूहका नेता कार्यकर्तालाई छलफलमा बोलाएका हुन् ।

    भेलामा सिटौलासहित नेताहरू उमाकान्त चौधरी, शिव हुमागाई, भीमसेन दास प्रधानलगायत उपस्थित छन् । त्यस्तै उनी निकटका अन्य नेता, भ्रातृसंस्थाका पदाधिकारीहरू पनि छन् ।

    कांग्रेसमा तेस्रो धार भनेर चिनिने सिटौला समूहबाट आगामी महाधिवेशनमा समूहगत दावेदारी दिने विषयमा भेलामा छलफल हुने बताइएको छ । ‘तल्लो तहका अधिवेशनमा कसरी प्रस्तुत हुनेदेखि महाधिवेशनमा कसरी जाने भन्नेमा छलफल भइरहेको छ’, भेलामा सहभागी एक नेताले भने ।

    सिटौला समूहका प्रभावशाली नेताहरू गगन थापा र प्रदीप पौडेल भने भेलामा सहभागी छैनन् । कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरको निधनपछि परिवारसँग भेटघाट गर्न थापा पोखरा गएका कारण भेलामा अनुपस्थित रहेका हुन् । पौडेल भने क्रियाशील सदस्यता छानविन समितिको काममा व्यस्त भएका कारण भेलामा सहभागी नभएका हुन् ।

  • प्रदीप पौडेललाई प्रवक्ताको जिम्मेवारी

    प्रदीप पौडेललाई प्रवक्ताको जिम्मेवारी

    काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रदीप पौडेललाई प्रवक्ता तोकेको छ । कांग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानविन समितिका सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

    क्रियाशील सदस्यताबारे आम चासो बढेकोले सञ्चारमाध्यमसँग आवश्यक समन्वय गर्ने जिम्मेवारीसहित पौडेललाई प्रवक्ता बनाइएको हो । समितिका कामकारवाही बारे औपचारिक धारणा सार्वजनिक गर्न पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रमेश लेखक संयोजक रहेको छानबिन समितिमा पौडेलसहित आनन्द ढुंगाना, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेका छन् ।

    समितिले असार मसान्तभित्र सदस्यता छानविन टुंग्याएर केन्द्रीय समितिलाई अन्तिम सूची बुझाउने बताएको छ । महाधिवेशन कार्यतालिकामा भने छानविन समितिलाई आजसम्मको म्याद दिइएको थियो ।

  • माधव समूह कायर रहेछ, दासत्व स्वीकार गरे : प्रदीप पौडेल

    माधव समूह कायर रहेछ, दासत्व स्वीकार गरे : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमालेको माधव नेपाल समूहले दासत्व स्वीकारेको टिप्पणी गरेका छन् ।

    ट्वीटमार्फत नेता पौडेलले सार्वजनिक मञ्चमा मूल्य मान्यताको फुइँ लगाएपनि अन्ततः कायरता प्रस्तुत भएको बताएका हुन् ।

    ‘हिम्मत नभएका असहायहरूले स्वीकार्ने दासत्व नै हो, सार्वजनिक मूल्य मान्यताका फुइँ लगाउने, गुलामी नै राजनीति देख्ने कायरहरुले फेरि प्रमाणित गरिदिए, कायरहरू सधैँ दास नै हुन लायक छन् । उनीहरू स्वतन्त्रता, लोकतन्त्र र राजनीतिक मर्यादा बुझ्दैनन्’, पौडेलले भनेका छन् ।

    फेसबुकमार्फत अर्को स्टाटसमा नेता पौडेलले गठबन्धन सरकारका लागि अंकगणित नपुग्नुलाई कांग्रेसको हारका रुपमा मान्न नसकिने बताएका छन् । कांग्रेसको लडाइँ सधैँ विवेकपूर्ण र संयमित हुने भएकाले सरकारमा नजाँदैमा हारेको अर्थमा नबुझ्न पौडेलले आग्रह गरेका हुन् ।

    ‘नेतृत्व लिनुपर्ने स्थिति आयो हामीले पहल गर्‍यौं । परिस्थिति फरक बन्यो जसपा र माधव नेपाल समूहले कुनै हिम्मत देखाउन सकेनन् । हामी लोकतान्त्रिक मूल्य मान्यताका आधारमा अघि बढिरहेका छौं । हामीसँग राजनीतिक संस्कार छ । लोकतन्त्र, संविधान र जनताका लागि जस्तोसुकै लडाइँ लड्न तयार छौं’, पौडेलले भनेका छन् ।

    उनले जनताले ५ वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएको भए पनि कम्युनिष्ट पार्टीभित्रको अराजनीतिक, अलोकतान्त्रिक र मर्यादाहीन लुछाचुँडीले गर्दा वैकल्पिक सरकारको लागि पहल गर्नुपरेको बताएका छन् । जनताले दिएको विश्वास कम्युनिष्टहरूले गुमाइसकेको भन्दै नेता पौडेलले सबैतिर असफल भइसकेको सरकारको विकल्प खोज्न सरकारले प्रयास गर्नु अन्यथा नभएको दावी गरेका छन् ।

  • कांग्रेस नेतृत्वको भूमिकामा शंका छ, ‘अर्लि इलेक्सन’ मा जानुपर्छ

    कांग्रेस नेतृत्वको भूमिकामा शंका छ, ‘अर्लि इलेक्सन’ मा जानुपर्छ

    काठमाडौं । सर्वोच्च अदालतले हिजो गरेको फैसलापछि सत्तारुढ पार्टीभित्र उत्पन्न उथलपुथललाई प्रतिपक्षी कांग्रेसले चाखपूर्वक नियालिरहेको छ । यद्यपि, यसमा औपचारिक प्रतिक्रया केही दिएको छैन ।

    नेकपा विवादलाई हेर्ने सन्दर्भमा कांग्रेसभित्र विभिन्न मतहरू छन् । पार्टीको एउटा पंक्ति केपी ओलीप्रति सहानुभूति राख्छ भने अर्को पंक्ति ओली सरकारलाई ढालिहाल्नुपर्ने अडानमा छ । यही विरोधाभासले सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउनेबारे कांग्रेसले कुनै निर्णय लिन सकेको थिएन । विकसित नयाँ सन्दर्भमा उसले नयाँ रणनीति अपनाउनुपर्ने भएको छ ।

    ओली सरकारविरुद्ध कांग्रेसले कडा कदम चाल्नुपर्ने पक्षमा रहेका नेताहरूमध्ये एक हुन् प्रदीप पौडेल । केन्द्रीय सदस्य पौडेल अविश्वास प्रस्तावलाई लिएर आफ्नो पार्टीको अनिर्णयप्रति सन्तुष्ट छैनन् । पार्टीभित्र नियमित बैठक र संस्थागत धारणा निर्माण नहुँदा जनतामा गलत सन्देश गएको उनको बुझाइ छ ।

    प्रमुख प्रतिपक्षी दलका रुपमा कांग्रेसको भूमिकाप्रति पुनः टीकाटिप्पणी शुरू भइरहँदा पौडेलसँग नेपाल प्रेस का लागि नकुल अर्यालले गरेको कुराकानी प्रस्तुत छ नेपाल टकमा

    सर्वोच्च अदालतको आदेशले सत्तारुढ दलको एकतालाई भंग गरेको छ । यसले प्रतिपक्षमा रहेको कांग्रेसलाई केकति फाइदा हुने विश्लेषण गर्नुभएको छ ?

    यसमा फाइदा-घाटाको कुरा छैन । कांग्रेस नेपालको सबैभन्दा पुरानो, लोकतान्त्रिक र जनताको विश्वासमा उभिएको पार्टी हो । कुनै निर्वाचनमा हार हुने वा जित हुने विषय कांग्रेसका लागि कहिल्यै ठूलो थिएन । हाम्रो सरोकार त लोकतान्त्रिक मूल्य-मान्यता जोगाउने हो । त्यसमा कांग्रेसले न सत्तामा हुँदा सम्झौता गर्‍यो न त सत्ताबाहिर हुँदा नै सम्झौता गर्छ ।

    हाम्रो नेतृत्वले कतै प्रधानमन्त्रीसँग नै साँठगाँठ गरेको हो कि भन्ने पनि देखिएको छ । असंवैधानिक काम गर्ने प्रधानमन्त्रीको विरुद्धमा प्रमुख प्रतिपक्षी दलको नेताले कदम नचालेपछि यस्तो शंका बढी नै हाल्छ ।

    अहिले हामी राजनीतिक घटनाक्रमलाई सूक्ष्मरूपमा विश्लेषण गरिरहेका छौं । सम्मानित सर्वोच्च अदालतले विगतमा दर्ता भइसकेको नेपाल कम्युनिष्ट पार्टीको नाम खोस्ने गरी तत्कालिक एमाले र माओवादीले गरेको बलमिच्याइँलाई सच्याएको छ । हिजो सत्तामा रहँदा केपी ओली र प्रचण्डले कसरी संवैधानिक आयोगलाई प्रभाव पारेका थिए भन्ने पुष्टि भएको छ । नेकपाको नामका विषयमा सर्वोच्चले गरेको आदेश स्वाभाविक छ ।

    यद्यपि दुई कम्युनिष्ट पार्टीको एकताका सम्बन्धमा नमागिएको आदेश सर्वोच्चबाट भएको छ । यसबाट न्यायालयले राजनीतिक व्यवस्थापनको पनि जिम्मा लियो कि भन्ने देखिएको छ । मेरो विचारमा नामका विषयमा दिएको आदेश स्वाभाविक भए पनि एकता नै भएको छैन भनेर ठहर गर्नु अनुपयुक्त हो जस्तो लाग्छ ।

    समग्रमा सर्वोच्चको आदेशले हामीलाई उत्साहित होइन गम्भीर बनाएको छ । भोलिका दिनमा न्यायालयले नै ‘माइक्रो म्यानेजमेन्ट’ गर्छ कि भन्ने शंका बढेको छ । हामी नेकपा फुट्यो भनेर उत्साहित छैनौं र यसबाट हुने फाइदा हाम्रो खुशीको कारण हुँदा पनि होइन ।

    तर दुई कम्युनिष्ट पार्टीको एकता भंग हुँदा कांग्रेसलाई राजनीतिक लाभ त भयो नि ?

    कांग्रेसलाई लाभ हुने कुराको अर्थ छैन । अदालतले दाबी नै नगरेको विषयमा फैसला दिन थालेपछि अरु मुद्दा पनि त प्रभावित हुन्छन् नि । त्यसैले अरुको पार्टी फुट्यो भनेर कांग्रेस खुशी हुँदैन । हामी त विधिको शासन पनि मान्छौं । अदालतको फैसला आंशिक रूपमा ठीक छ । नामका विषयमा जे भन्यो त्यो स्वाभाविक छ ।

    दुई पार्टीको एकता नै भंग गर्नु चै न्यायिक नभएर राजनीतिक देखियो । यसको असर त नेपालको राजनीतिले भोलिको दिनमा पनि भोग्नुपर्ने हुनसक्छ । त्यसैले क्षणिक फाइदा भन्दा दीर्घकालीन असरबारे कांग्रेस गम्भीर हुनुपर्छ । साविकको एमाले र साविकको माओवादी भनेर छुट्याउने आदेश चैं अदालतले दिनुपर्ने थिएन भन्ने लाग्छ ।

    अब कांग्रेसको राजनीतिक कार्यदिशा चैं के हो त ?

    कांग्रेसको धारणा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा बसिरहने नैतिकता छैन भन्ने नै हो । आफूले लिएको राजनीतिक कदम असफल भएपछि प्रधानमन्त्रीले विचार गर्नुपर्ने थियो । संसद विघटनजस्तो असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री जति दिन सत्तामा रहनुहुन्छ उत्ति यो संविधानलाई खतरा हुन्छ । त्यसैले कांग्रेस वर्तमान सरकारको बहिर्गमन चाहन्छ । त्यसका लागि आवश्यक पर्ने सबै राजनीतिक कदम र अग्रसरता कांग्रेसले लिनुपर्छ ।

    त्यसो भए अविश्वासको प्रस्ताव किन ल्याउन सक्नुहुन्न त ?

    कांग्रेसले अविश्वासको प्रस्ताव संसदमा पेश गर्नैपर्ने हो । प्रमुख प्रतिपक्षको रुपमा कांग्रेसको दायित्व पनि हो । यसबारे पार्टीभित्र छलफल पनि भइरहेको छ । आम कांग्रेसजनको बुझाइ पनि वर्तमान सरकार हटाउनुपर्छ भन्ने नै हो ।

    त्यसो भए अविश्वासको प्रस्ताव ल्याउन कसले रोक्यो त ?

    अरुले भन्दा पनि हाम्रै नेतृत्व लोभी भयो । कांग्रेसको नेतृत्वले अविश्वास प्रस्ताव ल्याउन किन विलम्व गरेको मैले पनि बुझ्न सकेको छैन । यसबारेमा पार्टीभित्र पर्याप्त छलफल पनि हुन दिइएको छैन । हामीले त पार्टीभित्र र बाहिर कांग्रेसले लिनुपर्ने कार्यदिशाबारे धारणा राखेकै छौं । हाम्रै कारणले कांग्रेसको निर्णय प्रभावित भइरहेको छैन । संस्थागत रूपमा वर्तमान सरकारविरुद्ध उभिनुपर्ने हो । हाम्रो नेतृत्व अनेक ढंगबाट प्रभावित भयो भन्ने लाग्छ ।

    नेतृत्व कसरी प्रभावित भयो ? तपाईंहरू पनि बोल्ने मात्रै, केही गर्न नसक्ने ?

    त्यस्तो होइन । हामीले हाम्रो धारणा राखेकै छौं । केन्द्रीय सदस्यका रूपमा हामीले निर्वाह गर्नसक्ने भूमिकामा कुनै कमी भएको छैन । कांग्रेसभित्र संस्थागत हिसाबले छलफल गर्ने र निर्णय गर्ने कामलाई अवरुद्ध पार्न खोजिएको छ । यस्तो गम्भीर विषयमा पार्टीभित्र पर्याप्त छलफल हुन नसक्नु दुःखद छ । तत्काल कांग्रेसको बैठक बोलाएर छलफल गरियोस् भनेर हामीले भन्दै आएका छौं ।

    हाम्रो नेतृत्वले कतै प्रधानमन्त्रीसँग नै साँठगाँठ गरेको हो कि भन्ने पनि देखिएको छ । असंवैधानिक काम गर्ने प्रधानमन्त्रीको विरुद्धमा प्रमुख प्रतिपक्षी दलको नेताले कदम नचालेपछि यस्तो शंका बढी नै हाल्छ । कांग्रेसले सरकारविरुद्ध अविश्वास प्रस्ताव नल्याउने हो भने जनताले पनि ओली र देउवा मिलेका रहेछन् भनेरै बुझ्छन् । त्यसैले हामी दबाब बढाउँदैछौं । कांग्रेस अनिर्णयमा रहनुहुँदैन । तत्काल समसामयिक विषयमा साझा धारणा बनाएर जानुपर्छ ।

    उसोभए कांग्रेसले कहिलेसम्म संस्थागत धारणा बनाउँछ त ?

    हेर्नुस् बैठक बोलाउने जिम्मा पार्टी सभापतिको हो । संसद बैठकभन्दा अगाडि नै कांग्रेस केन्द्रीय समिति बैठक बस्नुपर्थ्याे। सर्वोच्चको आदेश आउनासाथ आकस्मिक बैठक बोलाइनुपर्थ्याे। पार्टीभित्र छलफल पर्याप्त नहुँदा जनतामा गलत सन्देश गइरहेको छ । जेहोस् अब छिट्टै बैठक बसेर निर्णय लिनुपर्छ भन्नेमा कांग्रेसका अधिकांश नेताहरू हुनुहुन्छ । छिट्टै बैठक बस्ला ।

    कांग्रेसले सरकारको नेतृत्व गर्ने सम्भावना कत्तिको छ ?

    सरकारको नेतृत्वकै लागि कांग्रेसले राजनीतिक कदम चाल्नु उपयुक्त हुँदैन । हामीले त संविधान र लोकतन्त्रको शर्तमा काम गर्दै जाने हो । त्यसक्रममा वर्तमान सरकारलाई हटाएर नयाँ सरकार गठन गर्नैपर्ने देखिएको छ । सरकार बदलेर मात्रै पनि समस्या समाधान हुने देखिंदैन ।

    मेरो विचारमा वर्तमान सरकार हटाएर ‘अर्लि इलेक्सन’ का लागि सहमतिको सरकार बनाउनुपर्छ । त्यस्तो सहमतिको सरकार वर्तमान प्रधानमन्त्रीबाहेक जोसुकैको नेतृत्वमा हुनसक्छ । कांग्रेस बाहेक अरु दलको नेतृत्वमा सरकार बनेर ‘अर्लि इलेक्सन’ हुन्छ भने पनि कांग्रेस तयार हुनुपर्छ । नेतृत्व नगरी नहुने भयो भने पनि कांग्रेसले सबैलाई मिलाएर लैजानुपर्छ ।

    विगतमा जनताले दिएको जनमतको कम्युनिष्टहरुले अवमूल्यन गरिसकेका छन् । प्रतिनिधिसभा असफल हुने सम्भावना बढ्दो छ । त्यसैले ओली सरकारको विकल्पमा बन्ने सरकारले ‘अर्लि इलेक्सन’ गर्ने गरी संविधान र लोकतन्त्र पक्षधर दलहरु एकै ठाउँमा उभिनुको विकल्प देख्दिनँ ।

  • राष्ट्रपति र प्रधानमन्त्रीको ‘सेटिङ’ ले गणतन्त्र धरापमा परेको नेता पौडेलको आरोप

    राष्ट्रपति र प्रधानमन्त्रीको ‘सेटिङ’ ले गणतन्त्र धरापमा परेको नेता पौडेलको आरोप

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रविरोधी नेता भएको आरोप लगाएका छन् ।

    नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ले रत्नपार्कमा आयोजना गरेको सभामा बोल्दै नेता पौडेलले गणतन्त्र र संविधान मन नपरेकै कारण प्रधानमन्त्री ओलीले संसद भंग गरेको बताए ।

    प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको ‘सेटिङ’ का कारण लोकतन्त्र धरापमा परेको पौडेलको टिप्पणी थियो । ‘संविधानभन्दा माथि बस्न चाहने प्रधानमत्री र राष्ट्रपतिका कारण संविधान धरापमा पार्ने काम भएको छ । पार्टीको किचलो मिलाउन नसकेर जनतालाई दुःख दिने काम भएको छ’, पौडेलले भने ।
    लोकतान्त्रिक आन्दोलनका बेला आफूहरु रत्नपार्कमा आन्दोलनका लागि भेला हुँदै गर्दा ओलीले आन्दोलनविरोधी गतिविधि गरेको स्मरण गराउँदै पौडेलले गणतन्त्र जोगाउनकै निम्ति पनि सडक आन्दोलनको विकल्प नभएको बताए ।