Tag: प्रदिप ज्ञवाली

  • एमालेका बैठक सकियो, कारवाहीबारे निर्णय भएन

    एमालेका बैठक सकियो, कारवाहीबारे निर्णय भएन

    काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक सकिएको छ । बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका निम्ति निरन्तर प्रयास गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले बताए ।

    हिजोको बैठकले शेरबहादुर देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । उनीहरुले स्पष्टीकरणको जवाफ नदिए पनि कारवाही गर्ने विषयमा कुनै निर्णय गरेको छैन ।

    ज्ञवालीका अनुसार आजको बैठकमा विभिन्न प्रदेशको प्रतिनिधित्व गर्ने नेताहरुले पार्टीको दिशा र भविष्यका विषयमा रिपोर्ट पेश गरेका थिए ।

    २४ घन्टे स्पष्टीकरणको जवाफ नदिएको विषयमा पत्रकारले प्रश्न गर्दा ज्ञवालीले २४ घन्टा पूरा नभएको भन्दै पन्छाए । सांसदहरुले स्पष्टीकरणको पत्र पाएको २४ घन्टासम्म पर्खिने उनको भनाइ थियो । पत्र अहिलेसम्म नपाएको विषयमा उनले भने, ‘पुग्दै होला ।’ बैठक बुधबार ३ बजे बस्ने गरी सकिएको छ।

  • एमालेले भन्यो- अदालतको आदेशले राजनीतिलाई थप जटिल बनाउँछ

    एमालेले भन्यो- अदालतको आदेशले राजनीतिलाई थप जटिल बनाउँछ

    काठमाडौं । सत्तारुढ नेकपा एमालेले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन बदर गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले राजनीतिलाई थप जटिलतातर्फ धकेल्ने टिप्पणी गरेको छ ।

    अदालतको आदेशपछि नेपाल प्रेससँग संक्षिप्त कुरा गर्दै एमाले प्रवक्ता प्रदिप ज्ञवालीले अन्तरिम आदेशलाई अप्रत्याशित भन्दै अदालत यस्ता विषयमा प्रवेश गर्दा राजनीति थप जटिलतातर्फ धकेलिने बताए ।

    अदालतका निर्णयहरुलाई एमालेले सधैं मानेको तर यस्ता आदेश र फैसलाहरुले ल्याउने जटिलताबारे विचार विमर्श हुनुपर्ने बताए ।

  • सल्लाहमै बाहिरिएको हुँ, केही भन्नु छैनः प्रदिप ज्ञवाली

    सल्लाहमै बाहिरिएको हुँ, केही भन्नु छैनः प्रदिप ज्ञवाली

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज आफ्नो मन्त्रीपरिषद्मा व्यापक हेरफेर गर्दै जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याए ।

    यस क्रममा केही प्रभावशाली मन्त्रीहरु सरकारबाट बाहिरिएका छन् । जसमध्ये परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीप्रति सामाजिक सञ्जालमा सहानुभूति दखिएको छ ।

    शालिन र बौद्धिक छविका कारण धेरैले रुचाएका मन्त्री ज्ञवाली सरकारबाट हट्ने कुरा धेरैका लागि अनपेक्षित रह्यो । उनी प्रधानमन्त्री आलीका विश्वासपात्र समेत मानिन्छन् । तर, ओलीले आश्चर्यजनक निर्णय लिँदै ज्ञवालीलाई बिदा गरेर रघुवीर महासेठलाई उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनाएका छन् ।

    पूर्वमन्त्री ज्ञवालीसँग हामीले यसबारेमा बुझ्न खोज्दा उनले धेरै बोल्न चाहेनन् । संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू सल्लाहमै बाहिरिएको बताए ।

    ज्ञवालीले भने, ‘सबै सल्लाहअनुसार नै भएको हो । म सल्लाहमै बाहिरिएको छु । यसबारेमा धेरै केही भन्नु छैन ।’

  • सबैको पद यथावत् छ, विशेष बैठकले पेरिसडाँडाबाट फर्किएकालाई सहज बनाइदिएको हो : प्रवक्ता ज्ञवाली

    सबैको पद यथावत् छ, विशेष बैठकले पेरिसडाँडाबाट फर्किएकालाई सहज बनाइदिएको हो : प्रवक्ता ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पद यथावत् रहेको प्रष्ट पारेका छन् । महाधिवेशन आयोजक समिति गठन गर्दा पदाधिकारी नरहने भए पनि अहिलेसम्म सबै पदाधिकारी यथावत् रहेको ज्ञवालीले नेपाल प्रेसलाई बताए ।

    नेपाल प्रेससँग विशेष कुराकानी गर्दै प्रवक्ता ज्ञवालीले पार्टी एकता प्रक्रियामा माओवादी केन्द्रबाट आएका नेताहरुको व्यवस्थापन नगरी नियमित बैठकमा जान नमिल्ने र प्रचण्ड छाडेर आएका नेताहरुले पनि आफूहरुलाई अध्यक्ष केपी ओलीले आह्वान गर्नुपर्ने भनेको सन्दर्भमा आज विशेष बैठकले सहज वातावरण बनाइदिएको बताए ।

    ज्ञवालीले भने- आजको केन्द्रीय कमिटी बैठक नेकपा एमाले पुनःस्थापनापछिको विशेष बैठक हो । यो २०७५ जेठ ३ गते अघिको एमाले होइन, यो नयाँ एमाले हो । यसमा एकता प्रक्रियामा आएका कमरेडहरुलाई व्यवस्थापन गरेर नियमित बैठकमा जानुपर्ने बाध्यता थियो ।

    यसका साथै पेरिसडाँडाबाट फर्किनुभएका कमरेडहरुलाई सम्बोधन गर्नुपर्ने थियो । अब नियमित बैठक बसेर यी निर्णय अनुमोदनका साथै अन्य धेरै निर्णय गर्नुपर्नेछ ।

    ज्ञवालीले अब नेकपा एमालेमा फर्केर हिजो नेकपामा जस्तै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीलाई कामै गर्न नदिने, घेराबन्दी गर्ने, गणितको खेल खेल्ने वा समानान्तर पार्टी कमिटीका अभ्यास गर्ने छुट सदाका लागि बन्द गरिएको समेत बताए ।

    ज्ञवालीले नेकपा माओवादी केन्द्रसँग एकताको च्याप्टर अहिले समाप्त भएको भन्दै नयाँ एमालेका रुपमा पार्टी अघि बढेको दाबी गरे । नेकपा एमालेको सिद्धान्त अब स्वतः जनताको बहुदलीय जनवाद भएको समेत ज्ञवालीले बताए ।

    ज्ञवालीसँगको विस्तृत अन्तर्वार्ता केहीबेरमा।

  • प्रदीप ज्ञवालीको टिप्पणी: प्रचण्ड-माधवले सोचेझैं छैन केपी ओलीलाई हटाउन

    प्रदीप ज्ञवालीको टिप्पणी: प्रचण्ड-माधवले सोचेझैं छैन केपी ओलीलाई हटाउन

    काठमाडौं । केपी ओली नेतृत्वको नेकपाका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेकपा कानूनीरूपमा विभाजन नहुँदासम्म प्रचण्ड-माधवले सोचेजस्तो प्रधानमन्त्री हटाउन सहज नरहेको दाबी गरेका छन् ।

    आइतबार सिंहदरबारमा नेपाल प्रेससँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले सर्वोच्चको फैसलालगत्तै लड्डू बाँडेर खुसी साटेकाहरूको उत्साह अब भुइँमा झरेको भन्दै ‘सोचेझैं रैनछ’ भन्ने अवस्थामा पुगिसकेको बताए ।

    ज्ञवालीले भने, ‘नेकपा कानूनीरूपमा विभाजन नहुँदासम्म संविधानको धारा ७६ (१) अनुसारको प्रक्रियाबाट सरकार फेर्न सकिन्न । उहाँहरूले सोचेजस्तो सहज छैन । धारा ७६ भित्रैबाट विकल्प खोज्ने हो भने उहाँहरू त्यो विधिमा आउनुपर्छ । उपनेतालाई दलका नेताविरुद्धको अविश्वास प्रस्ताव दिएर बैठक बोलाउन भन्नुपर्छ । त्यो नगरेसम्म उहाँहरूले अन्यत्र बैठक बसेर वैधानिक हुन्न ।

    मन्त्री ज्ञवालीले प्रचण्ड-माधव पक्षले संसदीय दलभित्रको प्रक्रियाबाट भागेर सीधै संसदमा अविश्वास प्रस्ताव लैजानलाई पनि सजिलो नरहेको विश्लेषण सुनाए । उनले सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई झन् जटिल र अस्थिर बनाइदिएको टिप्पणी गरे ।

    प्रवक्ता ज्ञवालीले भने, ‘उहाँहरू सीधै अविश्वास प्रस्तावमा जम्प गर्नुभयो भने पनि त्यसका लागि वैकल्पिक प्रधानमन्त्रीको नाममा सहमति हुनुपर्छ । एक त नेकपा फुटेकै छैन भनेर कांग्रेस, जसपाले भनिरहेका छन् । अर्कोतिर उहाँहरूले नेकपाभन्दा बाहिरबाट प्रधानमन्त्री बनाउन लागेपछि उहाँहरुसँग भएका सांसदहरु कति त्यहाँ अडिन्छन् । यी धेरै कुरा हेर्न बाँकी छ ।’

    नेकपाको कानूनी विभाजन किन भएन ? कतै ओली पक्षको दबाबका कारण त होइन ? ज्ञवालीलाई पत्रकारले सोधेको जिज्ञासामा उनले प्रचण्ड-माधव पक्ष त्यसबाट हच्किएको दाबी गरे । उनले ओली पक्षले त विभाजनलाई स्वीकार नै नगरेको र प्रचण्डलाई अध्यक्ष कायमै राखेको बताए ।

    ज्ञवालीले भने, उहाँहरु विभाजनको औपचारिक बाटोमा किन जानुभएन भन्दा पहिलो कुरा उहाँहरू वैधानिक हामी हौं भनेर तलदेखि माथिसम्मको पार्टी कब्जा गर्न चाहनुहुन्छ । तर, दुई अध्यक्ष र महासचिवले बोलाएको बाहेक अरु बैठक वैधानिक हुन्न । दोस्रो कुरा, विभाजन गर्नका लागि अध्यक्ष र महासचिवको हस्ताक्षर अनिवार्य छैन, त्यसो गर्दा उहाँहरुले अर्को दल दर्ता गरेको मानिन्छ र उहाँहरुसँग कति सदस्य छन् भन्ने कुराले कानूनी मान्यता पाउँदैन ।’

    निर्वाचन आयोगले नेकपाको विधान अनुसार निर्णय गरेको भन्दै ज्ञवालीले सहमतिको विधान आयोगमा पेश गरेर, असहमतिबाट निकास खोज्ने तरिका नै गलत भएको ज्ञवालीले बताए ।

    मन्त्री ज्ञवालीले प्रतिनिधिसभामै उपस्थित भएर जवाफ दिन्छु र संसद फेस गर्छु भन्दा प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न उठाउनुको औचित्य नरहेको समेत बताए । उनले विगतमा मनमोहन अधिकारीले पनि प्रतिनिधिसभा पुनःस्थापनापछि संसद फेस गरेको भन्दै ओलीले मनमोहनकै बाटो अँगालेको बताए ।

    सर्वोच्च अदालतको फैसला आफूहरुले स्वीकार गरे पनि यसले मुलुकको कार्यकारीलाई कमजोर र निरीह बनाएको तथा राजनीतिलाई थप जटिल र सधैंका लागि अस्थिरताको ढोका खोलेको टिप्पणी मन्त्री ज्ञवालीले गरे ।

    उनले भने, ‘सर्वोच्चको फैसलाले राजनीतिक प्रणालीमा गम्भीर विचलन खडा गरेको छ । यसका असरहरू भविष्यमा देखिंदै जानेछन् । जनताले खोजेको स्थिरता सरकारमा हो । तर, फैसलाले संसद स्थिर हुने स्थिर सरकार भने दिन नसक्ने अवस्था ल्यायो । अदालतले सीमित सरकारको व्याख्या गरेर गम्भीर प्रश्न उब्जाएको छ ।’

  • बहिर्गमित लडाकु र सरकारबीच परिचय पत्रबारे समझदारी, सुविधा केही दिनमै टुंग्याइने

    बहिर्गमित लडाकु र सरकारबीच परिचय पत्रबारे समझदारी, सुविधा केही दिनमै टुंग्याइने

    काठमाडौं । बहिर्गमित जनमुक्ति सेना र सरकारबीच उनीहरूलाई दिने परिचय पत्रबारे समझदारी बनेको छ।

    ‘लोकतन्त्रका योद्धा’को सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न गठित कार्यदलका संयोजक एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बहिर्गमित जनमुक्ति सेनाका पदाधिकारीबीच आइतबार बिहान छलफल भएको हो ।

    मन्त्री निवास पुल्चोकमा भएको छलफलमा बहिर्गमित जनमुक्ति सेनाको संगठनका तर्फबाट १० जना सहभागी थिए । तत्कालीन माओवादीको सेना समायोजन गर्दा उमेर नपुगेको भन्दै ४ हजार ८ जनालाई ‘अयोग्य’ घोषित गरिएको थियो।

    संगठनका अध्यक्ष रमेश बसेलले भने, ‘११ वर्षदेखि हामीले उठाउँदै आएको विषयबारे ध्यानाकर्षण गराउन एउटा प्रस्तावना बनाएका थियौं । हाम्रो र मन्त्रीज्यूको ठ्याक्कै कुरा मिल्यो । परिचयपत्र दिएर मात्रै हुन्न कि परिचय पत्र देखाएर स्वास्थ्य, शिक्षामा सुविधालगायत राज्यले त्यो परिचपत्रका आधारमा के के सुविधा दिन सक्छ भन्ने कुरा हामीले राख्यौं । उहाँले सोचेको कुरा पनि खास त्यही रहेछ ।’

    करिब आधा घण्टाको छलफलमा मन्त्री ज्ञवालीले बहिर्गमित जनमुक्ति सेनाका पदाधिकारीहरूको कुरा सुनेपछि आफ्नो भनाइ राखेका थिए। मन्त्री ज्ञवालीले बहिर्गमित जनमुक्ति सेनालाई दिइने परिचयत्र पत्रका आधारमा सरकारले दिन सक्ने सुविधाबारे पनि केही उल्लेख गरेका थिए।

    मन्त्री ज्ञवालीको भनाइ उद्धृत गर्दै अध्यक्ष बसेलले भने, ‘उहाँले मैले सोचेको पनि त्यही हो, तपाईंहरुलाई परिचयपत्र दिंदा विभिन्न सेवामा छुटको व्यवस्था, रोजगारीमा प्राथमिकता, त्यही परिचय पत्र राखेर बैंकबाट ऋण दिने लगायत राज्यले के के सुविधा दिन सक्छ त्यही अनुसार परिचय पत्रमा समावेश गरौंला भन्नुभयो ।’

    यो विषयलाई मूर्त रुप दिन एक/दुई दिनभित्रै पुनः छलफल हुने बताइएको छ ।

    ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय कार्यदलले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने शहीद परिवार, घाइते, बेपत्ता, अंगभंग भएकाको सम्मान एवं परिचयपत्रको व्यवस्थाबारे अध्ययन गरी सिफारिस गर्ने क्षेत्राधिकार पाएको छ ।

    के छ बहिर्गमित जनमुक्ति सेनाको प्रस्तवनामा ?

    संगठनले विभिन्न ९ बुँदे माग पूरा गर्न कार्यदल गर्न गनुपर्ने भन्दै त्यसको प्रस्तावना पनि मन्त्रीलाई बुझाएको हो ।

    राखिएका मागमा ‘अयोग्य’ को बिल्ला खारेज गर्नुपर्ने, समान्नयुक्त शब्द प्रयोग गनुपर्ने र परिचय पत्र प्रदान गनुपर्ने विषय उल्लेख छ। त्यस्तै विगतमा भएका सहमति पनि कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।

  • विप्लवलाई सहज वातावरण बनाइदिन सरकार सकारात्मक

    विप्लवलाई सहज वातावरण बनाइदिन सरकार सकारात्मक

    काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँगको वार्ताको लागि सकारात्मक रहेको जनाएको छ ।

    महासचिव विप्लवले वक्तव्य जारी गरी सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएकै दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वार्ता अगाडि बढ्नसक्ने परिस्थिति निर्माण भएको बताएका छन् ।

    मन्त्री ज्ञवालीले नेपाल प्रेससँग भने, ‘उहाँहरू शान्तिपूर्ण ढंगले आउँन चाहँदा सरकारले सकारात्मकरूपमा लिएको छ । यसका लागि सहज वातावरण बनाउन सरकार तयार छ ।’

    वार्ता र संवादमार्फत शान्तिपूर्ण निकासको लागि विप्लव नेकपा शीर्ष नेतृत्वसँग मन्त्रीहरू यसअघि निरन्तर अनौपचारिक सम्पर्कमा थिए ।  सल्लाहमै आज विप्लवको वक्तव्य आएको स्रोतले जनाएको छ ।

    वार्ताको वातावरण बनाउन विप्लवमाथिको प्रतिबन्ध हटाउनेतर्फ सरकारले आवश्यक निर्णय लिनसक्ने बताइएको छ ।

    जनयुद्धदेखि नै प्रचण्डसँग दूरीमा रहेका विप्लवले अहिले सरकारविरुद्ध आन्दोलन गरिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई बलियो बनाउन तिनै प्रचण्डसँग बदला लिन खोजिरहेको स्रोतले बताएको छ ।

    यो पनि पढ्नुस् : सरकारसँग वार्तामा बस्न विप्लव तयार (विज्ञप्तिसहित)