Tag: प्रतिनिधिसभा पुनःस्थापना

  • खुशी मनाउँदै प्रचण्ड-माधव पक्षको विजय जुलुस

    खुशी मनाउँदै प्रचण्ड-माधव पक्षको विजय जुलुस

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको नेकपा प्रचण्ड-माधव पक्षले संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै विजय र्‍याली निकालेको छ ।

    काठमाडौंको शान्तिबाटिकामा भेला भएका नेता कार्यकर्ताहरू विजय उत्सवमा सहभागी भएका छन् । विजय र्‍याली रत्नपार्क, जमल, बागबजार पुतलीसडक हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुनेछ । सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।

    मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदरको फैसलापछि प्रचण्ड-माधव पक्षीय नेकपा उत्साहित बनेको छ । खुशियालीमा आज देशभर विजय सभा गर्न जिल्ला र मातहतका कमिटीलाई बिहानै निर्देशन दिइएको थियो ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • प्रधानमन्त्रीको मूड- राजीनामा होइन संसदको सामना

    प्रधानमन्त्रीको मूड- राजीनामा होइन संसदको सामना

    काठमाडौं । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले उल्टाएपछि विपक्षीहरूले उनको राजीनामा मागेका छन् । तर, प्रधानमन्त्री केपी ओली भने राजीनामा नदिई संसद फेस गर्ने मनस्थितिमा देखिएका छन् ।

    आफूले चालेको कदम अदालतले बदर गरेपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने नेकपाको इतर पक्षले आवाज उठाइरहेको छ । यस विषयमा प्रधानमन्त्रीको औपचारिक धारणा आइसकेको छैन । तर, उनी निकट नेताहरुबाट चाहिं ओलीको राजीनामा तत्काल नआउने स्पष्ट संकेत आएको छ ।

    हिजो सर्वोच्चको फैसला आउँदा बालुवाटारमा प्रधानमन्त्रीको जन्मोत्सव चलिरहेको थियो । पार्टीका प्रमुख नेता तथा मन्त्रीहरु त्यहाँ जम्मा भएका थिए । सो जमघटपछि नेताहरुबीच भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री ओलीले राजीनामाभन्दा संसद फेस गर्ने मनसाय व्यक्त गरेको स्रोतको भनाइ छ ।

    हिजै राति प्रधानमन्त्री निकटस्थहरुले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीको राजीनामा नआउने संकेत दिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रष्ट शब्दमा प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गर्ने र तत्काल राजीनामा नदिने बताएका छन् ।

    प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन, उनले फेसबुकमा लेखेका छन् ।

    नेपाल प्रेससँग थप कुरा गर्दै थापाले भने, प्रधानमन्त्रीले अहिले राजीनामा गर्नुपर्ने कुनै कारण छैन । मनमोहन अधिकारीले हेलिकोप्टरबाट खसेर अस्पताल भर्ना हुँदाका बखत पनि बेडबाटै अविश्वास प्रस्ताव ‘फेस’ गर्नुभएको हो । ओलीले पनि ‘फेस’ गर्नुहुन्छ ।

    ओली सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने फैसलाप्रति असन्तुष्टिको भाव व्यक्त गरेका छन् । उनी लेख्छन्, ‘सरकार सञ्चालनमा गतिरोध सिर्जना हुन पुगेपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको छ । सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउनेछ । निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न ।’

    प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि त्यस्तै आशयको ट्वीट गरेका छन् । उनले भनेका छन्, ‘प्रतिनिधि सभा विघटनसम्वन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नुपर्छ । यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन ।’

    ओली निकट नेता एवम् पूर्वसभामुख सुवास नेम्वाङ प्रधानमन्त्रीले राजीनामा विषयमा केही नभनेको बताउँछन् । उनले नेपाल प्रेससँग भने, ‘अहिले त्यसबारेमा केही भन्नुभएको छैन । उहाँले सर्वोच्च अदालतको निर्णयलाई मानेर अगाडि बढ्ने भन्नुभएको छ ।’

    प्रधानमन्त्रीलाई अझै ‘नयाँ गोल हान्ने चान्स’ भएको भन्ने ओली निकट नेता महेश बस्नेतको भनाइले पनि प्रधानमन्त्रीको राजीनामा नआउने संकेत गर्छ । उनले नेकपा कम्युनिष्ट पार्टीका विभाजित समूहहरु फेरि एक हुनुपर्ने भाव व्यक्त गरेका छन् ।

    बस्नेतले लेखेका छन्, ‘एक गोल पोलमा लागेर फर्केको छ, नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ । मुलुकलाई समीकरणको दिशाबाट एकीकरणको दिशामा लग्नुहोस्। विभाजनकारीहरुलाई एकताको प्रक्रियामा फर्काउनुस् । पद, पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाई सदाचारको बाटोमा हिंडाउनुहोस् । राजनीतिलाई विकृति र विसंगति मुक्त बनाउनुहोस् । हामी सबैको सशक्त र दह्रो समर्थन तपाईंलाई रहनेछ ।’

    निकटवर्तीहरूले राजीनामा नदिने संकेत गरे पनि यसबारे ओली पक्षभित्र ठोस धारणा भने ११ बजे बस्ने स्थायी कमिटी बैठकपछि बन्नेछ। ओलीले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका छन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो । नेकपामा साविकका ४४ स्थायी सदस्यमध्ये १६ जना ओली पक्षमा छन्

    पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले आफूपक्षीय स्थायी समितिको बैठक बोलाएका हुन् । यहीबाट उनले चाल्ने भावी कदमबारे ठोस निर्णय हुनेछ।

  •  प्रतिनिधिसभा पुनःस्थापनाको स्वागतमा प्रचण्ड–माधव पक्षकाे दीप प्रज्वलन

     प्रतिनिधिसभा पुनःस्थापनाको स्वागतमा प्रचण्ड–माधव पक्षकाे दीप प्रज्वलन

    काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागतमा नेकपाको प्रचण्ड–माधव पक्षले दीप प्रज्वलन गरेको छ ।

    उक्त पक्षले काठमाडौंको रत्नपार्कमा दीप प्रज्वलन गरी फैसलाको स्वागतसँगै खुशियाली मनाएको हो ।

               
  • प्रतिनिधिसभा पुनःस्थापनासँगै के भन्छन् उद्योगी व्यवसायी ?

    प्रतिनिधिसभा पुनःस्थापनासँगै के भन्छन् उद्योगी व्यवसायी ?

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुनःस्थापना गरेसँगै उद्योग व्यवसायीले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेशलाल श्रेष्ठले सर्वोच्चले गरेको फैसला सकारात्मक भएको बताए । ‘कोभिड–१९ का कारण धरासायी बनेको उद्योगधन्दामा राजनैतिक अस्थिरताले अझ प्रभावित बनाइरहेको थियो । अब संसद पुनःस्थापना भएसँगै राजनीति स्थिर होला । यसले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ’, उनले भने ।

    यसैगरी, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले भने ‘यो फैसलासँगै नेपालको व्यापार व्यवसाय सजह हुनेछ ।  संसद पुनःस्थापना नभएको भए देशले धेरै नै आर्थिक भार बोक्नु पर्थ्याे। अब केही सहज होला,’ उनले भने ।

    यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोहरले सर्वोच्चको यो निर्णयले उद्योग व्यापारीलाई खुशी नै तुल्याएको बताए । ‘हामी उद्योगीले राजनैतिक कुरामा बोल्न मिल्दैन तर, सर्वोच्चको यो निर्णय ठीक छ’, उनले भने ।

    संवैधानिक इजलासमा करिब दुई महिना लामो सुनुवाइपछि सबैलाई ‘सरप्राइज’ दिंदै अदालतले आजै आफ्नो फैसला सुनाएको हो ।

    दुवै पक्षको बहस र एमिकस क्युरीको राय फागुन ७ गते सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फैसला कुनै पनि दिन आउन सक्ने बताएका थिए । दुवै पक्षको बहस नोट फागुन १० गते पेश भएको थियो ।