Tag: प्रज्ञा प्रतिष्ठान

  • प्रज्ञा–प्रतिष्ठानद्वारा विशिष्ट साधकहरूलाई आजीवन तथा मानार्थ प्राज्ञ सदस्यता प्रदान

    प्रज्ञा–प्रतिष्ठानद्वारा विशिष्ट साधकहरूलाई आजीवन तथा मानार्थ प्राज्ञ सदस्यता प्रदान

    काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ साहित्यकार आनन्ददेव भट्टलगायतका विशिष्ट साधकहरूलाई आजीवन तथा मानार्थ प्राज्ञ सदस्यता प्रदान गरेको छ ।

    प्रतिष्ठानले वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट, वरिष्ठ साधक डा. तारानाथ शर्मा, वरिष्ठ कवि नरेश शाक्य,वरिष्ठ दर्शनशास्त्री प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रलाई आजीवन सदस्यताको सम्मानपत्र प्रदान गरेको हो ।

    प्रज्ञा भवनमा आयोजित कार्यक्रम समापनपश्चात कुलपति गंगाप्रसाद उप्रेतीले सदस्य सचिव प्रा. उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्रा.डा.हेमनाथ पौडेल र प्राज्ञ सभा सदस्य एवम् सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूसहित मेडिकेयर अस्पतालमा उपचाररत रहेका वरिष्ठ साधक भट्ट र चाबहिलस्थित निजी निवासमा आराम गरिरहेका वरिष्ठ साधक डा.शर्मालाई सोही स्थानमा गएर सम्मान अर्पण गरे ।

    कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले आजीवन तथा मानार्थ प्राज्ञ सदस्यता राज्यका तर्फबाट नेपाल प्रज्ञा–प्रतिष्ठानले विशिष्ट साधकलाई प्रदान गर्ने विशिष्ट सम्मान भएको बताए।

    वरिष्ठ साहित्यकार आनन्ददेव भट्टले साढे ६ दशकभन्दा लामो समयदेखि नेपाली साहित्यअन्तर्गत कविता, काव्य र समालोचनाका साथै भाषा, दर्शन, सामाजिक शास्त्र आदि विषयक्षेत्रमा सिर्जना, अनुसन्धान र प्राध्यापनका माध्यमबाट गहकिलो र विशिष्ट योगदान गरेका छन् । यस्तै

    वरिष्ठ साधक डा। तारानाथ शर्माको सात दशकदेखि साधनारत रही नेपाली साहित्यअन्तर्गत निबन्ध÷नियात्रा, कथा र उपन्याससृजना तथा समालोचनाका साथै भाषा–व्याकरणका क्षेत्रमा अध्ययन÷अनुसन्धान, सम्पादन एवम् प्रकाशनका माध्यमबाट विशिष्ट योगदान रहेको छ ।

     

  • पोखराले बनायो प्रज्ञा प्रतिष्ठान, पदाधिकारीले लिए शपथ

    पोखराले बनायो प्रज्ञा प्रतिष्ठान, पदाधिकारीले लिए शपथ

    पोखरा । पोखरा महानगरले हालै गठन गरेको ‘पोखरा प्रज्ञा प्रतिष्ठान’का नवनियुक्त पदाधिकारीले बुधबार शपथ ग्रहण गरेका छन् । प्रतिष्ठानका नवनियुक्त कुलपति पदमराज ढकाललाई महानगर प्रमुख मानबहादुर जिसीले र बाँकी पदाधिकारीलाई कुलपति ढकालले शपथ खुवाएका हुन् ।

    प्राज्ञ सदस्यमा लोकदोहोरी गायक जीवन दाहाल, जनवादी गायक कृष्ण भण्डारी, साहित्यकार प्रकाश ज्ञवाली, कलाकार मिलन शेरचन, कवि सरस्वती श्रेष्ठ र संगीतकार दिलीप गायक छन् ।

    यसअघि सदस्यमा संगीतकार तथा गायक धनबहादुर गन्धर्वको नाम सिफारिस भएको थियो । तर, गायकको माघमा निधन भएपछि उनका छोरा गायकलाई प्रतिष्ठानमा नियुक्ति गरिएको हो ।

    ११ सदस्यीय सांगठनिक ढाँचामा बनेको प्रतिष्ठानमा दुई जनाको पद रिक्त छ । ती पदमा पछि नियुक्त गरिने महानगरले जनाएको छ । प्रतिष्ठानमा दुई जना कार्यपालिका बोर्ड सदस्य समेत रहनेछन् भने महानगरकै प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने महानगर प्रज्ञा प्रतिष्ठान ऐनमा उल्लेख छ ।

    महानगर प्रमुख जिसीले पोखरा महानगरभित्रका भाषा, साहित्य, संस्कृति, कला, नाटक तथा संगीतको संरक्षण र सम्वर्धन गर्न प्रतिष्ठान स्थापना गरेको बताए । ‘पोखराको कला, साहित्य, संस्कृति लगायत सम्पूर्ण विधिको संरक्षणमा प्रतिष्ठानले सरोकारवालसँग छलफल गरेर गुरुयोजना निर्माण गरोस्’ उनले भने ।

    पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा कला, संगीत, साहित्य र संस्कृतिको उर्वर भूमि भएको बताइन् । ‘प्रतिष्ठानले सबैलाई एकीकृत गरेर महानगरको पूँजी बनाउन यसले भूमिका खेल्नुपर्छ,’ उनले भनिन् ।

    महानगरका प्रमुख प्रशासकीय अधिकृत तथा पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव महेश बरालले गण्डकी प्रदेशका साहित्य, कला, संस्कृति र संगीतलाई मूल प्रवाहमा ल्याउनलाई प्रतिष्ठानले काम गर्नुपर्ने बताए ।

    नव नियुक्त कुलपति पदमराज ढकालले प्रतिष्ठानको उद्देश्य अनुरुप अगाडि बढाउने बताए । उनले पोखरामा सिर्जना ग्राम र सांस्कृतिक ग्राम आवश्यक भएकाले ग्राम स्थापना गर्न प्रतिष्ठानले पहल गर्ने बताए ।

    पोखरा महानगरको छैठौं नगरसभाले ‘महानगर प्रज्ञा प्रतिष्ठान ऐन–२०७६’ पारित गरेको थियो । उक्त ऐनकोे दफा ८ बमोजिम प्रतिष्ठान गठन भएको हो ।

    यससँगै पोखरा महानगर आफ्नै प्रज्ञा प्रतिष्ठान गठन गर्ने गण्डकी प्रदेशको पहिलो स्थानीय तह बनेको छ । महानगरले प्राज्ञ छनोटका लागि पोखरा ७ वडाध्यक्ष रामचन्द्र बरालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।