Tag: प्रचण्ड–नेपाल समूह

  • प्रदेश १ मा फैसलाको असरः होला त शेरधन राईको संकटमोचन ?

    प्रदेश १ मा फैसलाको असरः होला त शेरधन राईको संकटमोचन ?

    विराटनगर । सर्वोच्च अदालतको फैसलाबाट साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा आएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई राहत मिलेको छ । अविश्वास प्रस्तावको सामना गर्न डराइरहेका उनी अब आफ्नो पक्षमा बहुमत पुग्नेमा आशावादी देखिएका छन् ।

    कुल ९३ सदस्य रहेको प्रदेश १ मा साविकको एमाले एक्लैको ५१ सिट रहेको छ । माओवादी केन्द्रको १६ सिट रहेको छ । अदालतले तत्कालीन एमाले र माओवादीको एकता भंग गरिदिएपछि मुख्यमन्त्री राई डेञ्जर जोनबाट बाहिर निस्केका छन् ।

    नेकपाका संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले अदालतको फैसलापछि प्रदेश १ मा एमालेको एकलौटी सरकार रहेको दाबी गरे । मुख्यमन्त्री राईले दलभित्र विश्वासको मत लिएर एमालेको सरकारलाई निरन्तरता दिने उनको भनाइ छ ।

    ‘फैसलापछि पार्टी आ-आफ्नो भएकाले अविश्वासको प्रस्तावको औचित्य समाप्त भयो’ उनले भने ।

    नेकपा विभाजनपछि गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रस्तावमाथि छलफल गर्न चैत २ गते संसद् बैठक बोलाइएको छ । तर विभाजनले वैधानिकता नपाउँदै आइतबार सर्वाेच्च अदालतले नेकपालाई पुरानै अवस्थामा फर्काएको छ । पुरानै अवस्थामा फर्काएपछि तत्कालीन एमालेबाट निर्वाचित शेरधन राई बहुमतमा छन् ।

    प्रदेशमा नेकपाका ६७ जना प्रदेशसभाका सदस्य छन् । यसमध्ये तत्कालीन नेकपा एमालेको ५१ र माओवादी केन्द्रका १६ जना हुन् । फैसलापछि प्रदेशमा नेकपा एमालेको बहुमत देखिएको छ । तर माधव नेपाल समूहले के गर्छ भन्ने प्रष्ट भइसकेको छैन ।

    तत्कालीन एमालेभित्र माधव नेपाल समूह ओली समूहभन्दा बलियो थियो । नेपाल पक्षमा ३० र ओली समूहसँग २१ सदस्य थिए । तर २०७४ माघ २६ गते संसदीय दलको निर्वाचनमा ओली समूहका शेरधन राईले २६ मत ल्याउँदै दलको नेतामा निर्वाचित भए । नेपाल समूहका भीम आचार्यले २४ मत पाएका थिए । तत्कालीन एमालेको संसदीय दलको निर्वाचनमा खसेको एक मत बदर भएको थियो ।

    तीन वर्षपछि ओली समूहका राईसँग ३० जना सदस्य पुगेका छन् । प्रचण्ड–माधव समूहसँग सभामुख र उपसभामुखसहित ३७ जना प्रदेशसभा सदस्य छन् ।

    प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य रहेकोमा नेकपाको ६७, नेपाली कांग्रेसका २१, समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक–एक जना सदस्य छन् । सर्वाेच्चको फैसलापछि पनि मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावबाट पछि नहट्ने योजनामा प्रचण्ड–माधव समूह देखिएको छ ।

    प्रचण्ड–माधव समूहका नेता इन्द्र आङ्बोले भने, ‘अदालतको फैसलापछि पनि हाम्रो अवस्था उस्तै रहन्छ । अविश्वासको प्रस्तावबाट पछि फर्कने अवस्था छैन ।’

    उनले अदालतको फैसलाबाट केही अन्याेल छाएको भए पनि आजकै दिनमा नेकपा एमाले र माओवादी केन्द्र बेग्लाबेग्लै पार्टी हुने अवस्था नरहेको बताए । निर्वाचन आयोगमा दर्ता भएका दलहरु संविधानमा खारेज हुने अवस्था नरहेकाले तत्काल एमाले र माओवादी अस्तित्वमा आउने सम्भावना नरहेको उनको भनाइ छ ।

    प्रचण्ड–नेपाल समूहमा को–को

    १० भीम आचार्य (एमाले) २ इन्द्र आङ्बो (माओवादी) ३ राजेन्द्र राई (एमाले) ४ सुनिता चौधरी (एमाले) ५ कृष्णकुमारी राई (एमाले) ६. सरिता थापा (एमाले) ७ उपेन्द्र घिमिरे (एमाले) ८. लीलाबल्लभ अधिकारी (एमाले) ९. विजय विश्वास (माओवादी) १०. सावित्रा जोशी (एमाले) ११. नारायणबहादुर मगर (माओवादी) १२. धीरेन्द्र शर्मा (माओवादी) १३ राजन राई (एमाले) १४. जीवन घिमिरे (एमाले) १५. सौभाग्यवती देवी राई (माओवादी) १६. सावित्रा रेग्मी (एमाले) १७. यसोदा अधिकारी (एमाले) १८. खिनु लङ्वा लिम्बू (एमाले) १९. कुसुम श्रेष्ठ (माओवादी) २०. कुशल लिम्बू (माओवादी) २१. गणेश काङ्बाङ (एमाले) २२. मोहनकुमार खड्का (माओवादी) २३. झलकसिंह दर्लामी (एमाले) २४. लक्षुमन तिवारी (एमाले) २५. बलबहादुर साम्सोहाङ (एमाले) २६. पूर्णप्रसाद राई (माओवादी) २७. पूर्णप्रसाद राजवंशी (माओवादी) २८. उमिता विक (माओवादी) २९. होमकुमारी साँवा (एमाले) ३०. सीता थेबे (माओवादी) ३१. रामकुमार राई (माओवादी) ३२. पदमकुमारी गुरूङ (एमाले) ३३. तुलसी न्यौपाने (एमाले) ३४. सरस्वती पोखरेल (माओवादी) ३५. गुलेफुन खातुन (एमाले)

    सभामुख प्रदीप भण्डारी (एमाले)

    ओली समूहमा

    १. शेरधन राई (एमाले ) २. हिक्मतकुमार कार्की (एमाले) ३. जगदिश कुसियैत (एमाले) ४. रामबहादुर मगर (माओवादी) ५. अम्बिरबाबु गुरुङ (एमाले) ६. बुद्धिकुमार राजभण्डारी (एमाले ) ७. सर्वध्वज साँवा (एमाले) ८. नीलम बस्नेत (एमाले) ९. ज्ञानेश्वर राजवंशी (एमाले) १०. एकराज कार्की (एमाले) ११. हिराकुमार थापा (एमाले) १२. अर्जुन राई (एमाले) १३. बृखबहादुर प्रधान (एमाले) १४ बसन्तकुमार बानियाँ (एमाले) १५. आशारत्न जवेगु (एमाले ) १६. अम्बिका थापा (एमाले ) १७. विमल कार्की (एमाले) १८. तेजमान कन्दङ्वा (एमाले ) १९. काजीमान कागते (एमाले) २०. इन्द्रमणि पराजुली (एमाले) २१. विनादेवी राई (एमाले) २२. बसन्तीदेवी यादव (एमाले) २३. श्रीप्रसाद मैनाली (एमाले) २४. गोपालचन्द्र बुढाथोकी (एमाले) २५. जसमाया गजमेर (एमाले) २६. उषाकला राई (एमाले) २७. राजकुमार ओझा (एमाले) २८. उत्तमकुमार बस्नेत (एमाले) २९. निरन राई (एमाले) ३०. कला घले (एमाले) ३१. टंक आङबुहाङ (माओवादी )

  • प्रचण्डको अभिव्यक्तिले जन्माएका ‘अनकम्फर्टेबल’ प्रश्नहरु

    प्रचण्डको अभिव्यक्तिले जन्माएका ‘अनकम्फर्टेबल’ प्रश्नहरु

    काठमाडौं । अदालतले गरेको संसद पुनःस्थापनासँगै विभाजित नेकपाको प्रचण्ड-नेपाल समूहले सरकारमा जान खुट्टा उचालिसकेको छ । यो व्यग्रतासँगै उक्त समूहका एक अध्यक्ष प्रचण्ड भने आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।

    शुक्रबार एउटा टेलिभिजन अन्तरवार्तामा प्रचण्डले नेकपा (आफ्नो समूह), कांग्रेस र जनता समाजवादी पार्टी सम्मिलित पार्टी ‘भारतका लागि सबैभन्दा कम्फर्टेबल हुने’ बताएका थिए । केहीबेरमै अन्तरवार्ताको क्लिप्स सामाजिक सञ्जालमा भाइरल भयो । अहिलेसम्म पनि यसमाथि आलोचनाको क्रम रोकिएको छैन । सामाजिक सञ्जालमा धेरैले ‘प्रचण्डको भारतपरस्त चरित्र उदांगो बनेको’ टिप्पणी गरेका छन् । ओली समर्थकहरुका लागि त प्रचण्डको अभिव्यक्ति ‘वरदान’ नै भएको छ ।

    सुरुमा प्रचण्डले अन्तरवार्तामा बोलेका शब्दहरु जस्ताको तस्तै :
    मेरो भनाइ के छ भने नेपाली कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिलेर जाँदा चेक एन्ड ब्यालेन्स पनि हुन्छ देशको राजनीति । सन्तुलनमा बस्छ । सबै छिमेकीहरुसँगको सम्बन्ध पनि राम्रो भएर जान्छ । भारत र चीनसँग पनि राम्रो सन्तुलन हुन्छ । अझ भारतसँग हाम्रो विशिष्ट सम्बन्ध छ । हाम्रो इतिहास र भूगोल, संस्कृति, धर्म, परम्परा, अर्थतन्त्र, पानीढलो, खुला बोर्डर.. सबै कारणले भारतसँग राम्रो समझदारी नबनाइकन पनि नेपालमा स्थायित्व र विकास त हुँदैन । त्यसैले म के देख्छु भने नेपाली कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका निम्ति पनि योभन्दा कम्फर्टेबल समीकरण हुँदैन । चीनका निम्ति पनि यो कम्फर्टेबलै हुन्छ । अनि यति राम्रो सम्भावना छ, यो सम्भावनामा जानुपर्यो भनेर भनेको छु फेरि ।

    ऋषि धमलाले तीन पार्टी मिलेर सरकार बन्नेमा कति विश्वस्त हुनुहुन्छ ? भनी सोधेको प्रश्नमा प्रचण्डको यस्तो उत्तर आएको थियो । ‘कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका निम्ति पनि योभन्दा कम्फर्टेबल समीकरण हुँदैन’ भन्ने वाक्यांशले प्रचण्ड विवादमा परेका हुन् । यसमा उनी उम्कन सक्ने ठाउँ पनि छैन । उनको अभिव्यक्तिले ओलीइतर गठबन्धन भारतका लागि अनुकूल हुन्छ भन्ने स्पष्ट अर्थ लाग्छ । घुमाउरो रुपमा चाहिं प्रचण्डले आफ्नो समूहलाई ‘भारतनिकट’ भनेर स्वीकारेका छन् ।

    त्यसो त उनले चीनको नाम पनि लिएका छन् । ‘चीनको लागि पनि कम्फर्टेबलै हुन्छ’ भनेर उनले सन्तुलन मिलाउने प्रयास मात्र गरेका हुन् भनेर बुझ्न कठिन छैन ।

    तितो सत्य !
    प्रचण्डको अभिव्यक्ति तितो भए पनि सत्य भएको एकथरीको बुझाइ छ । कांग्रेसलाई भारतीय मिडियाहरुले नै ‘भारत पक्षधर पार्टी’ भनेर चित्रित गर्दै आएका छन् । इतिहास कोट्याउने हो भने कांग्रेस भारतकै छत्रछायाँमा हुर्केको देखिन्छ । यो पार्टीका वीपी कोइरालादेखि सुशील कोइरालासम्मले भारतमा आश्रय लिएका थिए । कांग्रेसको नेतृत्वमा भएको २०४६ सालको आन्दोलनलाई भारतीय नेताहरुले भौतिकरुपमै साथ दिएका हुन् । त्यसयता पनि विभिन्न घटनाक्रममा कांग्रेसको भारतप्रति झुकाव देखिंदै आएको छ ।

    मधेसी नेताहरुको बाहुल्य रहेको जनता समाजवादी पार्टीलाई आलोचकहरुले ‘भारतपरस्त’ पार्टीको संज्ञा दिने गर्छन् । सो पार्टीका शीर्ष नेताहरु भारतीय दूतावास बाक्लै धाउनेमा पर्छन् । केही समयअघि उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतोलगायत नेताहरु भारतीय नेता लालु यादवको पटांगिनीमा गएर याचना गरेको तस्वीर भाइरल भएको थियो, जसले उनीहरुको राजनीतिक चरित्रलाई उदांगो बनायाे । पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईमाथि पनि ‘प्रो इन्डियन’ को ट्याग लाग्दै आएको छ । उनले आफू प्रधानमन्त्री बन्दा भारतसँग विवादास्पद विप्पा सम्झौता गरेका थिए ।

    प्रचण्डको कुरा गर्ने हो भने पनि उनको नेतृत्वमा भएको जनयुद्धलाई भारतले साथ दिएको थियो । तत्कालीन माओवादीका मुख्य नेताहरुले लामो समय भारतमा आश्रय लिएर नेपालमा हिंसात्मक आन्दोलन गराएका हुन् । त्यो गुन तिर्नका लागि उनले भारतको हितअनुकूल काम गर्दै आएको आरोप लाग्ने गरेको छ ।

    त्यसो त नेपालमा सबै नेताहरु भारतपरस्त नै हुन् भन्ने पनि बलियो भाष्य छ । भारतको आशीर्वाद विना कोही पनि शक्तिमा पुग्न नसक्ने टिप्पणी भाष्यको अन्तर्य हो । केपी ओली पहिलोपटक प्रधानमन्त्री बन्नुअघि भारत निकट नै मानिन्थे । महाकाली सन्धि संसदबाट पारित गराउन उनको महत्वपूर्ण भूमिका थियो । नाकाबन्दीकालमा प्रधानमन्त्री बनेपछि भने उनका छवि फेरिएको थियो ।

    दोस्रोपटक प्रधानमन्त्री बनेपछि ओलीले भारतसँग सम्बन्ध सुधार्ने प्रयास गरेका हुन् । तर, भारतद्वारा कब्जा गरिएका भूभाग समेटेर नेपालको नयाँ नक्शा सार्वजनिक गरेपछि भारत उनीसँग रुष्ट छ । यद्यपि, संसद विघटनअघि भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त गोयलले बालुवाटारमै पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए । भारतकै उक्साहटमा ओलीले संसद विघटन गरेको आरोप विपक्षीहरुले लगाए । अदालतले संसद पुन:स्थापनाको फैसला गरेपछि भारतीय संस्थापनमा देखिएको खुशीले भने यो आरोप तोडिएको छ ।

    सामाजिक सञ्जालको प्रतिक्रिया :
    सामाजिक सञ्जालमा अधिकांशले प्रचण्डको अभिव्यक्तिको निन्दा गरेका छन् । केही प्रतिनिधि विचारहरु यस्ता छन्ः

     

    नेकपाको ओली समूहका थुप्रै नेता-कार्यकर्ताले प्रचण्डको अभिव्यक्तिको आलोचना गरेका छन् ।

    पूर्वमन्त्री गोकुल बास्कोटा फेसबुकमा लेख्छन् :

    नेतृ शान्ता चौधरी लेख्छिन् :

    बचाउमा संग्रौला
    नेकपा प्रचण्ड-नेपाल समूहप्रति सदाशयता राख्न केही व्यक्तिहरुले उनको अभिव्यक्तिको बचाउ गर्न खोजेका छन् । बचाउमा उभिनेमा एक छन् वाम बुद्धिजीवी खगेन्द्र संग्रौला ।

    उनले फेसबुकमा लेखेका छन् :

  • प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड-माधव समूहको आजदेखि सडक आन्दोलन शुरु

    प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड-माधव समूहको आजदेखि सडक आन्दोलन शुरु

    काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै उत्पन्न परिस्थितिले सत्तारुढ नेकपामा स्पष्ट दुई पक्षले फरक फरक पार्टीको अभ्यास शुरु गरेका छन् ।

    यद्यपि उनीहरु औपचारिक रुपमा टुक्रिसकेका भने छैनन् ।

    केपी ओलीको कदम प्रतिगामी भएको भन्दै प्रचण्ड–माधव समूहले आन्दोलनका कार्यक्रम घोषणा गर्दै सडक संघर्ष शुरु गरेको छ ।

    हिजो बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय कार्यसमिति बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलन परिचालन समितिको कमाण्डर तोकेर २५ सय सदस्य छुट्याइएको छ ।

    पहिलो चरणको आन्दोलनको पहिलो दिन आज बिहान ९ बजे माइतीघरमण्डलमा र १२ बजे निर्वाचन आयोगमा पार्टीका केन्द्रीय सदस्य र विघटित प्रतिनिधिसभा सांसदहरुको उपस्थितिमा प्रदर्शन गरिनेछ ।

    नेकपाको हिजोको बैठकले यो महिनाभरिका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

  • महासचिव टुंगो लगाउन प्रचण्ड–माधव पक्षका शीर्ष नेता छलफलमा

    महासचिव टुंगो लगाउन प्रचण्ड–माधव पक्षका शीर्ष नेता छलफलमा

    काठमाडौं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाको आज बस्ने केन्द्रीय कमिटी बैठकले पार्टीको महासचिव चयन गर्ने बताइएको छ ।

    विहान ११ बजेदेखि बबरमहलस्थित कार्की पार्टी प्यालेसमा शुरु हुने बैठकमा महासचिव चयनको एजेण्डा आउन सक्ने एक नेताले बताए ।

    महासचिवमा सहमति जुटाउन दुई अध्यक्ष सहित बरिष्ठ नेताहरु विहानैदेखि छलफलमा छन् । प्रचण्ड–माधव समूहको सचिवालय बैठक सिनामंगलस्थित एक होटलमा बसेर महासचिव चयन लगायत आजको बैठकका कार्यसूची तय गर्दैछ ।

    एकीकृत नेकपाको महासचिब बिष्णु पौडेल केपी ओली नेतृत्वमै रहेपछि उनको ठाउँमा नयाँ महासचिव चयन गर्न लागिएको हो ।

    महासचिवमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मा लगायतका नेताहरुको दावी छ ।

    प्रचण्ड निकट एक नेताका अनुसार महासचिवमा सुरेन्द्र पाण्डेको सम्भावना बढी छ । प्रचण्ड र माधव नेपाल अध्यक्ष भएकाले झलनाथ खनालको प्रस्तावमा पाण्डेलाई महासचिव बनाउन लागिएको हो ।

    उनी तत्कालीन एमालेको महासचिवमा ईश्वर पोखरेलसँग पराजित भएका थिए । प्रचण्ड र माधव नेपालको बरियता भने बराबरी रहने र बैठकको अध्यक्षता आलोपालो गर्ने सहमति भएको छ ।

    आजको बैठकले आन्दोलनका कार्यक्रम पनि तय गर्ने केन्द्रीय सदस्य बिष्णु रिजालले बताए ।

  • दलको नेता चुन्न प्रचण्ड–माधव पक्षीय संसदीय दलको बैठक बस्दै

    दलको नेता चुन्न प्रचण्ड–माधव पक्षीय संसदीय दलको बैठक बस्दै

    काठमाडौं– विभाजित नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)को संसदीय दलको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्न लागेको विघटित सांसदहरुको बैठकले दलको नेता चुन्नेछ ।

    स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दलको नेता चुन्ने एजेण्डा भएको नेपाल प्रेसलाई जानकारी दिए।

    प्रचण्ड–माधव पक्षको मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई चयन गरेको थियो।

    यो पक्षले दुई अध्यक्ष रहने र प्रचण्ड दलको नेता रहने समझदारी गरेको छ। त्यही समझदारी कार्यान्वयन गर्न विघटित प्रतिनिधिसभाका सांसदहरुको उपस्थितिमा संसदीय दलको बैठक बस्न लागेको हो।

  • ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

    ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

    काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षले केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाउने निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

    उक्त निर्णयलाई बैठकले अनुमोदन पनि गरेको छ । त्यस्तै बैठकले प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु गलत भएको निष्कर्ष निकाल्दै आन्दोलन गर्ने निर्णय पारित गरेको छ ।