Tag: पोर्चुगल

  • अली दाईको कीर्तिमान तोड्दै रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता!

    अली दाईको कीर्तिमान तोड्दै रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता!

    काठामाडौं । पन्ध्र वर्षअघि इरानी महान् फुटबलर अली दाईले बनाएको १ सय ९ गोलको कीर्तिमान भङ्ग गर्दै पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बनेका छन् । विश्व कप छनोटको समूह ‘ए’ अन्तर्गत बुधबार राति पोर्चुगलको स्टाडियो अल्गार्भमा आयरल्यान्डविरुद्ध ८९औं मिनेटमा गोल गर्दै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १ सय १० गोलको कीर्तिमान बनाएका हुन् ।

    रोनाल्डोले जुलाईमा सम्पन्न यूईएफए युरो २०२० को समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध पेनाल्टीमा गोल गर्दै दाईसँगको कीर्तिमान बराबरी गरेका थिए ।

    त्यसपछि ३६ वर्षीय पोर्चुगिज कप्तान रोनाल्डोलाई विश्व फुटबलको त्यो कीर्तिमान एकलौटी बनाउन मात्रै एक गोल आवश्यक थियो । र, विश्वकप २०२२ छनोट अन्तर्गत आयरल्यान्डविरुद्धको खेलमा त्यो अवसर उनलाई जुर्यो ।

    र, विपक्षी खेलाडीले ब्रुनो फर्नान्डेजमाथि गरेको फाउलमार्फत पाएको पेनाल्टीलाई गोलमा परिणत १४औं मिनेटमा कीर्तिमान बनाउने मौका थियो । तर, त्यो पेनाल्टीलाई १९ वर्षीय आइरिस गोलकिपर गाभिन बुजुनुले असफल पारिदिएका थिए ।

    तर, निर्धारित समयको खेल सकिन १ मिनेट बाँकी रहँदा गोन्कालो गुइडेजको क्रसमा हेडरमार्फन् गोल गर्दै गर्दै पाँच पटकका बालोन डी’अर विजेता रोनाल्डोले अर्को एउटा दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

    रोनाल्डोले सन् २००४ जुन १२ मा पोर्चुगलका लागि पहिलो गोल गरेका थिए । घरेलु मैदानमा भएको युरो २००४ को समूह चरणको त्यो खेलमा पोर्चुगल १–२ गोलको नतिजामा पराजित भएको थियो ।

    त्यसको १० वर्षपछि सन् २०१४ जुन २६ मा ब्राजिलमा भएको विश्वकपको समूह चरणमा घानाविरुद्ध उनले ५०औं गोल गरेका थिए । त्यस्तै, सयौं गोल रोनाल्डोले सन् २०२० सेप्टेम्बर ८ मा यूईएफए नेसन्स लिगअन्तर्गत स्वीडेनविरुद्धको खेलको ४५औं मिनेटमा गरेका थिए ।

    सुपर स्टार रोनाल्डोले आज गरेको गोलसँगै उनलाई विश्व फुटबलको नयाँ उचाईमा पुर्याएको छ । रोनाल्डोले पोर्चुगलबाट पहिलो हाफमा ४४ गोल गरेका छन् । तीमध्ये १ देखि १० मिनेटसम्म १० गोल, ११ देखि २० मिनेटसम्म ३ गोल, २१ देखि ३० मिनेटसम्म १४ गोल, ३१ देखि ४० सम्म १० र ४१ देखि पहिलो हाफको अन्त्यसम्म ७ गोल गरेका छन् ।

    दोस्रो हाफमा भने रोनाल्डोको गोलसंख्या अझै लोभ लाग्दो छ । उनले दोस्रो हाफमा मात्र पोर्चुगलका लागि ६६ गोल गरेका छन् ।

    रोनाल्डोले ४६ देखि ५५ मिनेटसम्म ९ गोल, ५६ देखि ६५ सम्म १५ गोल, ६६ देखि ७५ सम्म ८ गोल, ७६ देखि ८५ सम्म १९ गोल र ८६ पछि निर्धारित समयको अन्त्यसम्म १५गोल गरेका छन् ।

    रोनाल्डोले आफ्ना ११० गोलमध्ये २५ गोल बायाँ खुट्टाले गरेका छन् भने ५९ गोल दायाँ खुट्टाले गरेका छन् । बाँकी २६ गोल भने रोनाल्डले हेडरमार्फत गरेका छन् । पोर्चुगिज, इङ्लिस र इटालियन फुटबलमा राज गरेका रोनाल्डोले १० गोल डाइरेक्ट फ्रि–किकमार्फत गरेका छन् । यस्तै ८५ गोल ओपन प्लेमा र बाँकी १४ गोल पेनाल्टीमार्फत गरेका छन् ।

    रोनाल्डोले एन्डोरा, हंगेरी र लक्जमबर्गविरुद्ध सर्वाधिक ६/६ गोल गरेका छन् । उनलाई गोलका लागि सर्वाधिक असिस्ट दिने खेलाडीको श्रेय रिकार्डो क्वारेज्मा र जुवाओ माउटिन्होलाई संयुक्त रूपमा जान्छ । उनीहरू दुवै खेलाडीले रोनाल्डोलाई ८/८ गोलका लागि असिस्ट दिएका छन् । त्यस्तै नानी र बर्नार्डो सिल्भाले ६/६ असिस्ट दिएका छन् ।

    पोचुर्गिज महान् खेलाडी रोनाल्डो १०० अन्तर्राष्ट्रिय गोलको आँकडा पार गर्ने दोस्रो खेलाडी हुन् । उनले पोर्चुगलबाट १८० खेलमा ११० गोल गरेका छन् ।

    रोनाल्डोले पोर्चुगलबाट ९ ह्याट्रिक समेत गरेका छन् । अलि दाईले भने ८ ह्याट्रिक गरेका थिए । त्यो मध्ये पहिलो ह्याट्रिक उनले नेपालविरुद्ध १९९६ मा गरेका थिए ।

    रोनाल्डोले भने सन् २०१३ मा उत्तरी आयरल्यान्डविरुद्ध पहिलो ह्याट्रिक गरेका थिए । त्यस्तै आठौं र नवौं ह्याट्रिक लिथुवानियाविरुद्ध २०१९ मा गरेका थिए ।

    पहिलो हाफको अन्त्यदेखि नै आयरल्यान्डविरुद्ध ०-१ गोलले पछि परेको पोर्चुगलका लागि रोनाल्डोले इन्जुरी समयमा पुन: एक गोल थप्दै नाटकीय जित दिलाएका थिए ।

    पोर्चुगलका लागि विजयी गोल गरेका रोनाल्डोले जर्सी खोलेर खुशी मनाउँदा पहेँलो कार्डको सामना गर्नुपरेको थियो ।

  • रोनाल्डोले जित्छन् युरो २०२० को गोल्डेन बुट ? गोल बराबरी भए के हुन्छ ?

    रोनाल्डोले जित्छन् युरो २०२० को गोल्डेन बुट ? गोल बराबरी भए के हुन्छ ?

    काठमाडौं । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले जारी युरो २०२० गरेका पाँच गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालिन सर्वाधिक गोलकर्ता अलि दाईसँगको कीर्तिमान बराबरी गरे ।

    युरो २०१६ जितेपछि व्यावसायिक फुटबलका सफल खेलाडी रोनाल्डोको अन्तर्राष्ट्रिय खेल जीवन पनि सन्तोषजनक नै छ । साविक विजेता पोर्चुगल जारी युरोको अन्तिम-१६ मा बेल्जियमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । यो सिजन पोर्चुगल खाली हात प्रतियोगिताबाट बाहिरिए पनि कप्तान रोनाल्डोले भने व्यक्तिगत उपाधि हासिल गर्ने सम्भावना प्रवल छ ।

    के रोनाल्डोले गोल्डेन बुट जित्छन् ?

    रोनाल्डो गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन् । र, इटाली तथा इङ्ल्यान्डको फाइनल मात्र बाँकी रहँदा दुवै टोलीका खेलाडीले रोनाल्डोलाई उछिन्ने सम्भावना कम छ । चार खेल खेलेर बाहिरिएको पोर्चुगलका लागि रोनाल्डोले पाँच गोल ठोकिसकेका थिए ।

    रोनाल्डोको पाँच गोलको आँकडा चेक रिपब्लिकका प्याट्रिक शिकले पनि बराबरी गरेका छन् । तर, रोनाल्डोको नाममा एक असिस्ट पनि जसले गर्दा गोल्डेन बुटको दौडमा रोनाल्डो नै अगाडि छन् ।

    रोनाल्डोलाई पछ्याइरहेका अर्का फरवार्ड हुन्, इङ्लिस कप्तान ह्यारी केन । उनले पनि चार गोल गरिसकेका छन् र फाइनलमा त्यो संख्या अझै बढाउने सम्भावना छ ।

    केनले रोनाल्डोलाई उछिन्नका लागि दुई गोल वा एक गोल र एक असिस्ट गर्नुपर्नेछ ।

    यस्तै, तीन गोल गरेका अर्का इङ्लिस फरवार्ड राहिम स्टर्लिङ पनि यो सूचीमा धेरै पछाडी छैनन् । तर, अब बाँकी एउटा मात्र खेलमा उनलाई कम्तिमा पनि ह्याट्रिक तथा दुई गोल र एक असिस्ट आवश्यक छ ।

    सिरो इम्मोबिले र लोरेन्जो इन्सिग्नेसँगै इटालीका भने धेरै खेलाडीले दुई/दुई गोल गरेका छन् । इटालियन खेलाडीहरूलाई एकै खेलमा ह्याट्रिकले पनि नपुग्ने भएकाले फाइनलमा उनीहरूले रोनाल्डोलाई पछाडि पार्ने सम्भावना एकदमै कम छ ।

    बराबरी हुँदा नियम के छ ?

    युरोपियन च्याम्पियनसिपको सामान्य नियम भनेको सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट जित्छ । यदि दुई वा त्यो भन्दा धेरै खेलाडीले बराबरी संख्यामा गोल गरे भने सर्वाधिक असिस्टको गणना हुन्छ ।

    गोल र असिस्ट पनि बराबरी भयो भने कुन खेलाडीले थोरै समय खेलेको कुरा महत्त्वपूर्ण हुन्छ ।

    जारी युरोमा रोनाल्डोले ३६० मिनेट मात्रै खेलेका छन् । त्यसैले केन र स्टर्लिङको तुलनामा थोरै समय खेलेकाले उनको सम्भावना प्रवल छ ।

  • युरो २०२० का १० सर्वाधिक गोलकर्ता

    युरो २०२० का १० सर्वाधिक गोलकर्ता

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण एक वर्षपछि धकेलिएको युरो २०२० को समूह चरण र अन्तिम १६ का खेलहरू सकिइसकेका छन् । पहिलो चरणबाट १६ टोली र नकआउटबाट ८ गरी क्वार्टरफाइनल समिकरण पनि पूरा भइसकेको छ ।

    केही रोमाञ्चक नकआउट खेलहरूबाट २०१२ पछिका युरो र विश्वकप विजेता सबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । प्रतियोगिताको साविक विजेता पोर्चुगल बेल्जियमसँग १–० गोलको नतिजामा पराजित हुँदै बाहिरियो भने २०१४ विश्वकपको च्याम्पियन जर्मनीलाई इङ्ल्यान्डले २-० को नतिजामा पराजित गर्दै घर फर्काइदियो ।

    यस्तै, २०१८ विश्वकपको च्याम्पियन फ्रान्स स्वीट्जरल्यान्डसँग पेनाल्टी सुटआउटमा ५-४ को पराजय बेहोर्दै बाहिरिएसँगै अब पछिल्लो दशकमा ठूला प्रतियोगिता जितेको स्पेन मात्र बाँकी छ ।

    क्वार्टरफाइनलका खेलहरू शुक्रबारदेखि सुरु हुनेछन् । तर, सुरुआती चरणमै केही खेलाडीले पर्याप्त गोल गरिसकेका छन् ।

    अन्तिम १६ पछि युरो २०२० मा सर्वाधिक १० गोलकर्ताको सूची यस्तो छ ।

    • क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) ५ गोल
    • प्याट्रिक शिक (चेक रिपब्लिक) ४ गोल
    • करिम बेन्जिमा (फ्रान्स) ४ गोल
    • एमिल फोर्सबर्ग (स्विडेन) ४ गोल
    • रोबर्ट लेवान्डोस्की (पोल्यान्ड) ३ गोल
    • ह्यारिस सेफेरोभिच (स्वीट्जरल्यान्ड) ३ गोल
    • राहिम स्टर्लिङ (इङ्ल्यान्ड) ३ गोल
    • रोमेलु लुकाकु (बेल्जियम) ३ गोल
    • जर्जिनियो विज्नाल्डम (नेदरल्यान्ड्स) ३ गोल
  • साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरो २०२० को क्‍वार्टरफाइनलमा

    साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरो २०२० को क्‍वार्टरफाइनलमा

    काठमाडौं । साविक विजेता पोर्चुगलविरुद्ध १-० गोलको कठिन जित निकाल्दै विश्व नम्बर एक बेल्जियम युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ ।

    अन्तिम १६ अन्तर्गत आइतबार राति भएको खेलमा बेल्जियमका लागि थ्रोगन हाजार्डले ४२औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।

    प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा थोमस मिनुएरको पासमा हाजार्डले गरेको गोलसँगै बेल्जियमले अग्रता लिएको थियो ।

    दोस्रो हाफमा बराबरी गोलका लागि निरन्तर प्रयास गरे पनि क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले पुनरागमन गर्न नसक्दा प्रतियोगिताबाटै बाहिरिनु पर्‍यो ।

    जितसँगै क्‍वार्टरफाइनलमा पुगेको बेल्जियमले ३ जुलाईमा इटालीसँग खेल्ने छ ।

  • पोर्चुगल र बेल्जियमको लडाइँमा लुकाकु भर्सेज रोनाल्डो

    पोर्चुगल र बेल्जियमको लडाइँमा लुकाकु भर्सेज रोनाल्डो

    काठमाडौं । युरो २०२० को क्‍वार्टरफाइनल प्रवेशका लागि विश्व नम्बर एक बेल्जियम र युरोपियन च्याम्पियनसिपको साविक विजेता पोर्चुगल भिड्दै छन् । नेपाली समयअनुसार आइतबार राति १२:४५ बजे स्पेनको सेभियामा हुने खेलमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो र बेल्जियन फरवार्ड रोमेलु लुकाकुमाथि सबैको नजर हुनेछ ।

    यी दुई खेलाडीले मात्रै जारी युरोमा ८ गोल गरिसकेका छन् । जारी युरोका सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका रोनाल्डोले तीन खेलमा पाँच गोल गरिसकेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमै सर्वाधिक गोलकर्ताको कीर्तिमान एकलौटी बनाउन अब एक गोल मात्रै बाँकी छ ।

    टिम न्यूज

    आजको खेलमा लेस्टर सिटीका मिडफिल्डर योरी टिलेमन्स बेल्जियन टोलीमा फर्किन सक्नेछन् । टिलेमन्सले बेल्जियमबाट सुरुआती दुई खेलमा सुरुआती ११ मा स्थान बनाएका थिए भने फिनल्यान्डविरुद्धको खेलमा अनुपस्थित थिए ।

    वुल्भ्सका डिफेन्डर नेलसन सेमेडो फ्रान्सविरुद्धको खेलमा सामान्य घाइते भएका थिए । तर, उनले आजको खेलमा भने पुनरागमन गर्ने सम्भावना प्रवल देखिन्छ ।

    अन्तिम खेलमा फ्रान्सविरुद्ध सुरुआती-११ मा नपरेका ब्रुनो फर्नान्डेज बेल्जियमविरुद्ध टोलीमा पुनरागमन गर्ने आशामा छन् ।

    यहाँसम्मको यात्रा

    फिफा बरियताको शीर्ष स्थानमा रहे पनि बेल्जियमले अहिलेसम्म विश्व फुटबलका ठूला प्रतियोगिता जितेको छैन ।

    नेदरल्यान्ड्स र इटालीसँगै रोबर्टो मार्टिनेजको बेल्जियम समूह चरणबाट सर्वाधिक तीन अंक हासिल गर्ने तेस्रो टोली हो ।

    इटाली र डच टोलीले तीनै खेल घरेलु मैदानमा खेलेका थिए । तर, बेल्जियमले भने दुई खेल रुसमा र एक खेल कोपनहेगन डेनमार्कमा खेलेको थियो ।

    युरो २०१६ को च्याम्पियन पोर्चुगलले तेस्रो स्थानमा समूह चरण टुङ्ग्याएर पनि नकआउटमा स्थान बनाएको थियो ।

    जर्मनीसँग ४-२ ले पराजित भएको पोर्चुगलले हंगेरीलाई ३-० ले पराजित गरेको थियो भने फ्रान्ससँग २-२ गोलको बराबरी खेलेको थियो ।

    फरवार्डको लडाईँ कसले जित्ला ?

    विश्वकप २०१८ पछि लुकाकुले बेल्जियमका लागि २१ खेलमा २३ गोल र ४ असिस्ट ठोकिसकेका छन् ।

    इन्टर मिलानका फरवार्ड लुकाकुले समूह चरणका तीन खेलमा पनि तीन गोल गरिसकेका छन् । ती मध्ये दुई गोल उनले रुसविरुद्धको खेलमा गरेका थिए ।

    पोर्चुगिज स्टार रोनाल्डो युरोपियन च्याम्पियनसिपकै सर्वाधिक गोलकर्ता हुन् । त्यती मात्रै नभएर उनी ठूला प्रतियोगिता (युरो र विश्वकप)मै सर्वाधिक २१ गोल गर्ने खेलाडी हुन् । उनले गत हप्ता मात्रै जर्मनीका पूर्व खेलाडी मिरोस्लभ क्लोससँगको कीर्तिमान एकलौटी बनाएका थिए ।

    यसअघिका दुई तीनमध्ये दुई खेलमा दुई/दुई गोल गरेका रोनाल्डो उत्कृष्ट फर्ममा छन् । अहिलेसम्म युरोपियन च्याम्पियसिपको इतिहासमा कसैले पनि एकै संस्करणका तीन खेलमा दुई गोल गरेको छैन ।

    ‘उनको उमेरमा अझै पनि उनी चम्किरहेका छन्, म उनी जस्तै उपलब्धि हासिल गर्न चाहन्छु,’ ३६ वर्षीय रोनाल्डोबारे २८ वर्षीय बेल्जियन फरवार्ड लुकाकुले भनेका छन् ।

    म्याच फ्याक्ट्स

    • यी दुई टोलीको ठूला प्रतियोगितामा यो पहिलो भेट हो ।
    • सबैखाले प्रतियोगितामा गरी बेल्जियमविरुद्धका पाँच खेलमा पोर्चुगल अपराजित छ । तीमध्ये तीन खेलमा जित तथा दुई बराबरी खेलेको छ ।
    • बेल्जियमले अन्तिम पटक पोर्चुगललाई १९८९ को सेप्टेम्बरमा विश्वकप छनोटमा ३-० गोलको नतिजामा पराजित गरेको थियो ।
    • रोबर्टो मार्टिनेजको नेतृत्वमा खेलेका बेल्जियमले पछिल्ला ५८ खेलमध्ये दुई खेलमा मात्रै गोल गर्न सकेको छैन ।
    • जारी युरो २०२० मा बेल्जियमबाट १३४ मिनेट मात्रै खेलेका केभिन डी ब्रुयनाले एक गोल र दुई असिस्ट गरिसकेका छन् ।
    • युरो २०२० तीन खेलमा पोर्चुगलले ६ गोल खाइसकेको छ । यो २०१६ मा उपाधि जित्दा फर्नान्डो सान्तोषको टोलीले प्रतियोगिताभर खाएको भन्दा एक गोल धेरै हो ।
    • लगातार दोस्रो पटक पोर्चुगल समूह चरणबाट तेस्रो टोलीको रूपमा नकआउटमा पुगेको हो । यसअघि २०१६ मा पनि यसरी नै नकआउटमा पुगेर उपाधि उचाल्न सफल भएको थियो ।
    • समूह चरणका तीन खेलमा ४ अंक मात्र हासिल गर्नु युरोको साविक विजेता टोलीको २००८ मा ग्रीसपछि सबैभन्दा कमजोर पुनरागमन हो ।
  • युरो २०२०: नकआउट चरण आजदेखि

    युरो २०२०: नकआउट चरण आजदेखि

    काठमाडौं । युरोपियन च्याम्पियनसिप (युरो २०२०)को नकआउट चरण आजदेखि सुरु हुँदैछ । जुन १२ देखि युरोपका ११ शहरमा जारी प्रतियोगिताको पहिलो चरणबाट १६ टोलीले प्रि-क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् ।

    सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरी लिग चरणबाट शीर्ष दुई र उत्कृष्ट नतिजा भएका चार टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । बाँकी ८ टोली भने समूह चरणबाटै बाहिरिसकेका छन् ।

    पहिलो चरणको समूह एबाट इटाली, वेल्स र स्वीट्जरल्यान्डले नकआउटमा स्थान बनाएका छन् । त्यस्तै, समूह बीबाट बेल्जियम र डेनमार्क तथा सीबाट नेदरल्यान्ड्स, अस्ट्रिया र युक्रेनले नकआउटमा स्थान बनाउँदा समूह डीबाट इङ्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक छनोट भएका छन् ।

    समूह ईबाट स्वीडेन र स्पेन तथा समूह एफबाट फ्रान्स जर्मनी र पोर्चुगलले नकआउटमा स्थान बनाएका छन् ।

    क्वार्टरफाइनल प्रवेशका लागि शनिबार राति हुने खेलमा ९:४५ बजे वेल्स र डेनमार्क भिड्ने छन् । त्यस्तै, राति १२:४५ मा हुने खेलमा इटाली र अस्ट्रिया भिड्नेछन् ।

    आइतबार राति नेदरल्यान्ड्स र चेक रिपब्लिक तथा बेल्जिम र पोर्चुगल भिड्नेछन् । सोमबार राति भने क्रोएसिया र स्पेन तथा फ्रान्स र स्वीट्जरल्यान्ड भिड्नेछन् ।

    मंगलबार राति भने इङ्ल्यान्ड जर्मनी तथा स्वीडेन र युक्रेन भिडेसँगै क्वार्टरफाइनल समीकरण सकिनेछ ।

  • अन्तर्राष्ट्रिय फुटबलको सर्वाधिक गोलकर्तामा रोनाल्डोले बराबरी गरे अलिको कीर्तिमान

    अन्तर्राष्ट्रिय फुटबलको सर्वाधिक गोलकर्तामा रोनाल्डोले बराबरी गरे अलिको कीर्तिमान

    काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालिन सर्वाधिक गोलकर्ता इरानी खेलाडी अलि दाईको कीर्तिमानसँग बराबरी गरेका छन् ।

    फ्रान्स विरुद्ध जारी समूह एफको तेस्रो चरणको खेलमा दोस्रो गोल गरेसँगै स्टार फरवार्ड रोनाल्डोले अलिको १०९ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

    युरो २०२० मा मात्रै रोनाल्डोले पाँच गोल गरिसकेका छन् । हंगेरीविरुद्धको खेलमा दुई गोल गरेका रोनाल्डोले दोस्रो खेलमा जर्मनीविरुद्ध एक गोल गरेका थिए ।

    त्यस्तै अहिले जारी खेलमा फ्रान्सविरुद्ध उनले दुई गोल गरिसकेका छन् ।

     

  • युरो २०१६ को ‘टाइटल विनिङ’ गोल गरेका एडर कहाँ छन् ?

    युरो २०१६ को ‘टाइटल विनिङ’ गोल गरेका एडर कहाँ छन् ?

    काठमाडौं । युरो २०१६ को फाइनल अगाडिसम्म एडर पोर्चुगिज टोलीकै सबैभन्दा कम प्रसिद्ध खेलाडी थिए । यद्यपि, फाइनलमा घरेलु टोली फ्रान्सलाई १–० ले पराजित गरेर पोर्चुगलले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्दा एक मात्र निर्णायक गोल गरेका एडर पोर्चुगिज टोलीका ‘हिरो’ सावित भए ।

    आज पाँच वर्षपछि युरो २०२० को समूह एफको अन्तिम चरणको खेलमा पोर्चुगल र फ्रान्स भिड्दैछन् । आजको खेल प्रतियोगितामा अगाडि बढ्नका लागि पोर्चुगलका लागि फाइनल जत्तिकै महत्त्वपूर्ण छ । र, धेरैका लागि त्यो फाइनलको अरिरिक्त समयमा विजयी गोल गरेका पोर्चुगिज फरवार्ड कहाँ छन् भन्ने कौतुहलता जागेको छ ।

    कहाँ छन् एडर ? युरो २०१६ का हिरो कहाँ व्यावसायिक फुटबल खेल्छन् ?

    त्यो विजयी गोलसँगै एडरले पोर्चुगिज फुटलबको इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरमा लेखे । यद्यपि, करिब पाँच वर्षपछि एडर युरो २०२० का लागि घोषणा भएको पोर्चुगिज टोलीमा परेनन् ।

     

    View this post on Instagram

     

    A post shared by Eder Lopes (@ederlopesoficial)

    एडर रुसी क्लब लोकोमोटिभ मस्कोबाट व्यावसायि फुटबल खेल्छन् । ३३ वर्षीय एडरले गत सिजन २८ खेलमा २ गोल र एक असिस्ट मात्रै गर्न सकेका थिए । सन् २०१८ मा रुस पुगेका एडरले त्यसअघिका दुई सिजन फ्रेन्च क्लब लिलेमा बिताएका थिए ।

  • दबाबमा रहेको पोर्चुगलको फ्रान्सविरुद्ध कठिन परीक्षा

    दबाबमा रहेको पोर्चुगलको फ्रान्सविरुद्ध कठिन परीक्षा

    काठमाडौं । फ्रान्स युरो २०२० को समूह चरणबाट अन्तिम १६ मा पुग्नका लागि सुरक्षित अवस्थामा छ । र, बुधबार राति हुने पोर्चुगलविरुद्धको खेलेका नजिताले त्यसमा धेरै फरक नपर्ने फ्रान्सका मुख्य प्रशिक्षक डिडियर देसच्याम्पले शान्तिपूर्वक भनेका छन् । तर, प्रशिक्षक देसच्याम्पको त्यो अभिव्यक्ति विपरित हंगेरीको पुस्कस एरिनामा फ्रेन्च टोली युरोपियन च्याम्पियनलाई पराजित गर्न आफ्ना सबै अस्त्र प्रयोग गर्ने तयारीमा छ ।

    फ्रान्सलाई युरो २०१६ को फाइनलमा घरेलु मैदानमा उपाधि जित्नबाट रोकेको पोर्चुगल फ्रेन्च साइडको सम्भावित सबैभन्दा ठूलो प्रतिद्वन्दी हो । तर, फ्रेन्च प्रशिक्षक देसच्याम्पले आफ्ना खेलाडीको ध्यान पोर्चुगल प्रतिद्वन्दी हो, र, त्यसलाई समूह चरणबाटै बाहिर निकाल्नुपर्छ भन्ने नरहेको बताएका थिए ।

    विजय, आत्मविश्वास र ‘मोमेन्टम’ सिर्जना गर्नु विश्वकप विजेता टोलीका लागि पर्याप्त हुने देसच्याम्पले बताएका थिए । तर, पछिल्लो समयमा प्रशिक्षक देसच्याम्पले भने भन्दा फ्रेन्च टोलीको मनोबल फरक प्रतित हुन्छ । पछिल्लो पत्रकार सम्मेलनमा फ्रेन्च कप्तान हुगो लोरिसले ‘पोर्चुगिज टोलीले यो खेलमा गुमाउन सक्ने कुरा धेरै भएको’ चार पटक भनेका थिए ।

    फरनान्डो सान्तोषको टोलीलाई भने प्रतियोगितामा अगाडि बढ्नका लागि सकारात्मक नतिजाको खाँचो छ । समूह चरणका दुई खेलमा लगातार पराजित हुनु पोर्चुगललाई तेस्रो स्थानमा थन्क्याउन सक्नेछ । र, अन्य समूहको नतिजामा भर परेर समूहबाटै बाहिरिनु पर्ने पनि हुनसक्छ ।

    ‘हामी हंगेरीलाई बिर्सिन सक्दैनौं,’ पोर्चुगिज प्रशिक्षक सान्तोषले भने । यदि मार्को रोसीको हंगेरीले म्युनिखमा जर्मनलीलाई पराजित गर्‍यो र फ्रान्ससँग पोर्चुगल हार्‍यो भने साविक विजेता पोर्चुगिज साइड चौथो स्थानमा रहेर घर फर्किने निश्चित छ ।

    ‘हाम्रो लक्ष्य भनेको सम्भावित सबैभन्दा उत्कृष्ट नतिजा हासिल गर्नु हो,’ देसच्याम्पले भने, ‘त्यसले पोर्चुगललाई के फरकपर्छ मलाई थाहा छैन । हामी आफ्नै पक्षमा ध्यान दिइरहेका छौं ।’

    ‘यदि हामीसँग अहिले ६ अंक थियो भने पनि यो खेलका लागि मेरो सोचाइ यही हुन्थ्यो । किनभने, नकारात्मक नतिजाको प्रभाव टोलीमा पर्छ,’ देसच्याम्पले भने, ‘हामी समूह चरण पार गर्नका लागि बीमा गरेको अवस्थामा छौं । यसले हामीलाई केही शान्ति त दिएको छ । तर, हामी कसरी खेल्छौं भन्ने कुरामा यसले फरक पार्दैन ।’

    ‘अन्तिम खेल सकिएदेखि नै हामी यो खेलबारे सोचिरहेका छौं,’ उनले भने, ‘यो खेलमा फ्रेन्चलाई खुशी दिनु हाम्रो जिम्मेवारी हो । र, हामी सम्भव भएसम्म उत्कृष्ट नतिजाका लागि जानेछौं । अन्तिम १६ मा नयाँ प्रतिस्पर्धा हुनेछ । र, हामीमा प्रतियोगिताको सुरुआतदेखि नै आत्मविश्वास बढेको छ । त्यसलाई कायम राख्ने प्रयत्न गर्नेछौं ।’

  • जर्मनीसँग ४-२ गोलको नतिजामा हार्‍यो पोर्चुगल

    जर्मनीसँग ४-२ गोलको नतिजामा हार्‍यो पोर्चुगल

    काठमाडौं । फ्रान्सविरुद्धको हारसँगै युरो २०२० को सुरुआत गरेको जर्मनीले समूह ‘एफ’को आफ्नो दोस्रो खेलमा पोर्चुगललाई ४-२ गोलको नतिजामा पराजित गरेको छ ।

    शनिबार राति जर्मनीको घरेलु मैदान एलिनाज एरिनामा भएको खेलको सुरुआतमा ०-१ को नतिजामा पछिपरेको जर्मनीले लगातार चार गोल फर्काएको थियो ।

    पोर्चुगलका कप्तान तथा प्रतियोगिताका सर्वकालिन सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले १५औं मिनेटमा गरेको गोलसँगै पोर्चुगलले अग्रता लिएको थियो ।

    यद्यपि, चार मिनेटको फरकमा दुई आत्मघाती गोलको शिकार भएको पोर्चुगल पहिलो हाफ सकिँदा २-१ ले पछाडि परेको थियो । रुबेन डियासले ३५औं मिनेटमा गरेको आत्मघाती गोलसँगै बराबरीमा फर्किएको जर्मनीले ३९औं मिनेटमा राफाएल गुरेरोको अर्को आत्मघाती गोलमा अग्रता दोब्बर पारेको थियो ।

    पहिलो हाफमा २-१ को अग्रता लिएको जर्मनीका लागि ५१औं मिनेटमा काइ हाभेट्जले तेस्रो गोल गरेका थिए । त्यसको ९ मिनेट नबित्दै रोबिन गोसेन्सले जर्मनीको अग्रता ४-१ मा लम्ब्याएका थिए ।

    डिएगो जोटाले ६७औं मिनेटमा गरेको गोलसँगै पोर्चुलले स्कोर लाइन ४-२ मा छोट्याए पनि हार टार्न सकेन ।

    पहिलो खेलमा हंगेरीलाई ३-० ले पराजित गरेको पोर्चुगलले समूह चरणको अन्तिम खेलमा फ्रान्सको सामना गर्नेछ । यस्तै जर्मनीले हंगेरीसँग खेल्ने छ ।

  • युरो २०२०: अब बेन्चमा थन्क्याउन नहुने ५ खेलाडी

    युरो २०२०: अब बेन्चमा थन्क्याउन नहुने ५ खेलाडी

    एजेन्सी । एक वर्ष ढिलो सुरु भएको युरो २०२० को पहिलो चरणमा प्राय देशले टिम छनोटमा रिस्क लिन चाहेनन् । तर, केही टोलीले सुरुआती-११ मा नयाँ प्रयोग गर्न खोज्दा चाहेजस्तो नतिजा निकाल्नबाट चुके ।

    हुनत खेलाडी छनोट र टोली निर्माणको सम्पूर्ण निर्णय र स्वामित्व पनि फुटबल संघले मुख्य प्रशिक्षकलाई सुम्पिएको हुन्छ । र, प्रशिक्षकहरूले आफ्नो टोली हरतरहले बलियो बनाउन कुनै कसर बाँकी राख्दैनन् ।

    यद्यपि, युरोका सुरुआती खेल हेर्ने हो भने सुरुआती-११ छनोटमा प्रशिक्षकहरू चुकेको स्पष्ट हुन्थ्यो । जसको ज्वलन्त उदाहरण स्पेनका प्रशिक्षक लुइस इनरिके हुन् । २४ जनाको टोली घोषणा गर्दा केही अपेक्षित नाम समावेश नगरेपछि चौतर्फी आलोचनाको शिकार भएका इनरिकेले पुन: एक पटक स्वीडेनविरुद्धको सुरुआती-११ लाई लिएर आलोचित हुनुपर्‍यो ।

    युरो २०२० मा सहभागी सबै टोलीले कम्तिमा एक खेल खेलिसकेका छन् । र, समूह चरणको पहिलो खेल खेलिसकेपछि केही प्रशिक्षकले यदि आफ्नो टोलीलाई नक आउटमा पुर्‍याउन सुरुआती-११ को छनोटमा पुनर्विचार गर्नुपर्ने देखिन्छ । पहिलो चरणको समाप्तिसँगै यसरी बेन्चमा राख्न नहुने पाँच खेलाडी यसरी सूचीकृत गर्न सकिन्छ ।

    गेरार्ड मोरोनो, स्पेन

    बार्सिलोनाका कप्तान लियोनेल मेसीले (३०) मात्रै स्पेनिस लालिगामा गत सिजन स्पेनिस फरवार्ड जेरार्ड मोरोनो (२३) भन्दा धेरै गोल गरेका थिए । आफनो करियरकै उत्कृष्ट फर्ममा रहेका मोरोनोले अप्रत्यासित रूपमा युरो २०२० को पहिलो खेलमा स्वीडेनविरुद्ध सुरुआती-११ मा मौका पाएनन् । मुख्य प्रशिक्षक लुइस इनरिकेले उनको स्थानमा युभेन्टसका फरवार्ड अल्भारो मोराटालाई स्ट्राइकरको जिम्मेवारी दिएका थिए । मोरेनोभन्दा मोराटालाई सुरुआती-११ मा नराख्नु उनका लागि घाटा भयो । घरेलु मैदानमा भएको खेलमा पनि फिनिसिङमा चुक्दा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिँदा ६६ मिनेट मौका पाएका मोराटाले तीन पटक मात्रै पोस्टमा आक्रमण गर्न सफल भएका थिए । तीमध्ये कुनै पनि प्रहारले विपक्षी गोलकिपरलाई अप्ठेरोमा पार्न सकेनन् ।

    यद्यपि, एक पटक गोल गर्नसके अल्भारो मोराटा आत्मविश्वासी खेलाडी हुन् । एक पटक उनले गोल गर्नसके गोलले नै उनलाई पछ्याउने छ । स्विडेनविरुद्धको बराबरीसँगै इनरिकेले पक्कै मोरोनोलाई छनोट गर्नेछन् ।

    ज्याक ग्रेलिस, इङ्ल्यान्ड

    आइतबार क्रोएसियामाथि १-० को जित हासिल गरेको इङ्ल्यान्डले विश्वकप २०१८ को बदलामात्रै लिएन, युरोपियन च्याम्पियनसिपमै पहिलो पटक उद्घाटन खेलमा पूरा तीन अंक लिन सफल भयो । वेम्ब्लीमा इङ्ल्यान्डले ऐतिहासि जित निकालेसँगै प्रतियोगितामा उत्कृष्ट सुरुआत पनि गर्‍यो । निरन्तर गोलका अवसरको खोजीमा रहे पनि इङ्लिस खेलाडीले गोल गर्नका लागि उचित मौकाका लागि धेरै समय पर्खनु परेको थियो ।

    इङ्लिस टोलीको उक्त प्रतिक्षाको फल स्वरूप राहिम स्टर्लिङ गरेको गोलसँगै पाएको थियो । गेराथ साउथगेटको आलोचना गर्न त कठिन छ । तर, पहिलो खेलको प्रदर्शन हेर्ने हो भने विपक्षी टोलीविरुद्ध फाउल जित्न र फ्रि-किकको मौका सिर्जना गर्न इङ्लिस खेलाडी त्यति सफल रहेनन् ।

    र, इङ्ल्यान्डको यो कमी पूरा गर्न ग्रेलिस एकदम उचित विकल्प हुने अनुमान सहजै गर्न सकिन्छ । किनभने, चोटका कारण १२ खेल गुमाएका ग्रेलिसले गत सिजन प्रिमियर लिगमा सर्वाधिक ११० पटक फाउल जितेका थिए । त्यस्तै, प्रभावशाली पासमा भने म्यानचेस्टर सिटीका केभिन डी ब्रुयनाले मात्रै उनलाई उछिनेका थिए ।

    फिल फोडेन इङ्लिस टोलीका युरो २०२० मा ‘गोल्डेन ब्वाइ’ हुनसक्छन् । तर, क्रोएसियाविरुद्धको खेलमा भने उनको प्रभाव देखिएन । साउथगेटले शुक्रबार हुने स्कटल्यान्डविरुद्धो खेलमा टोलीमा धेरै परिवर्तन गर्ने सम्भावना त देखिँदैन, यद्यपि, उनले ग्रेलिसलाई एक मौका दिनु उपयुक्त हुन्छ ।

    निकोला भ्लासिच, क्रोएसिया

    वेम्ब्लीमा आइतबार इङ्ल्यान्डसँग पराजित भएसँगै क्रोएसियाको खराब लयले निरन्तरता पाएको छ । विश्वकप २०१८ को उपविजेता क्रोएसियाले पछिल्ला १० मध्ये दुई खेलमा मात्र जित निकाल्न सकेको छ । र, ती दुई जित पनि युरोपेली फुटबलमा स्थापित भइनसकेका साइप्रस र माल्टाविरुद्ध निस्किएको थियो ।

    विश्वकपको उपविजेता पहिलो खेलमै पराजित भएसँगै क्रोएसियालाई शुक्रबार हुने खेलमा चेक गणतन्त्रसँग जित्नै पर्ने दबाब बढेको छ । क्रोएसियाली प्रशिक्षक ज्लाट्को डालिचलाई ह्याम्पडेनमा सशक्त प्रदर्शन गर्न निकोला भ्लासिचको उपस्थितिले पक्कै सहयोग पुग्नेछ ।

    मार्सेलो ब्रोजोभिच, माटेओ कोभासिच र लुका मोड्रिकले मिडफिल्डबाट फाइनल थर्डसम्म प्रभावकारी बल सप्लाई गर्न समस्या भइरहेको देखिन्छ । यस्तो अवस्थामा आवश्यक देखिएको मिडफिल्ड र अट्याकबीचको पुल भ्लासिच बन्न सक्छन् ।

    इङ्ल्यान्डविरुद्धको खेलमा २० मिनेट मौका पाएका भ्लासिचले क्षमताअनुसारको प्रदर्शन गर्न पर्याप्त समय थिएन । गत सिजन रसियन प्रिमियर लिगमा ११ गोल र पाँच असिस्ट गरेका भ्लासिचले २३ वटा ठूला मौका सिर्जना गरेका थिए । पहिलो खेलमा जित हासिल गरेको चेक गणतन्त्रले स्कटल्यान्डविरुद्ध १९ प्रहार सहनु परेको थियो ।

    यस्तै मौका सिर्जना भए क्रोएसियाका लागि भ्लासिचले गोल गर्ने सम्भावना पनि देखिन्छ । त्यसैले चेक गणतन्त्रविरुद्धको खेलमा उनलाई मौका दिनु उचित देखिन्छ ।

    चे आडम्स, स्कटल्यान्ड

    चेक गणतन्त्रविरुद्धको पराजयमा एन्डी रोबर्टसनले मात्रै चे आडम्सको भन्दा धेरै पास खेलेका थिए । जबकी आडम्स पहिलो हाफपछि मात्रै मैदानमा प्रवेश गरेका थिए । उक्त खेलमा स्कटल्यान्डले प्रहार गरेका १९ मध्ये १३ प्रहार आडम्सको उपस्थितिपछि मात्रै सम्भव भएका थिए ।

    गत वर्ष आडम्सले स्कटल्यान्डबाट खेल्ने घोषणा गरेपछि उनले स्कटिस टोलीको अट्याकिङ थर्डमा ल्यान्डन डाइक्ससँग सहकार्य गर्ने सम्भावना थियो । तर, प्रशिक्षक स्टिभ क्लार्कको निर्णय यसको विपरीत रह्यो ।

    यसअघिका सात खेलमा एक गोल मात्रै खाएको इङ्ल्यान्डविरुद्ध स्कटल्यान्डलाई कम चुनौती हुनेछैन । र, प्रिमियर लिगमा व्यावसायिक फुटबल खेल्ने आडम्स इङ्लिस डिफेन्डरसँग परिचित छन् । त्यसैले आडम्सको उपस्थिति स्कटल्यान्डका लागि फाइदाजनक हुन सक्छ ।

    एन्ड्रे सिल्भा, पोर्चुगल

    साविक विजेता पोर्चुगलले मंगलबार राति समूह चरणको पहिलो खेलमा हंगेरीलाई ६७ हजार दर्शकसामु उसकै मैदानमा ३-० ले पराजित गर्‍यो । उक्त खेलमा पोर्चुगलका लागि राफाएल गुरेरो र कप्तान क्रिस्टियानो रोनाल्डोले गरेका तीनै गोल सिल्भाको आगमनपछि सम्भव भएका थिए ।

    सिल्भा मैदानमा प्रवेश गरेसँगै रोनाल्डो सेन्ट्रल स्ट्राइकरबाट लेफ्ट फ्लान्कमा स्वीच भएका थिए । जसको कारण पोर्चुगिज टोली हंगेरियन डिफेन्स ब्रेक गर्न सफल भएको थियो ।

    आइनट्राच्ट फ्रान्कफर्टमा उत्कृष्ट सिजन बिताएका सिल्भाले गत सिजन बुन्डेसलिगामा २८ गोल गरेका थिए । उत्कृष्ट फर्ममा रहेका सिल्भालाई मैदानमा उतार्नु पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोषका लागि फाइदाजनक रह्यो । उनको अट्याकिङ हाफमा उपस्थितिसँगै हंगेरियन डिफेन्डर व्यस्त हुँदा रोनाल्डोले गोल गर्ने मौका पाएका थिए ।

    त्यसैले, शनिबार हुने खेलमा जर्मनीविरुद्ध सिल्भाको उपस्थितिले रोनाल्डोका लागि जर्मनीको डिफेन्सिभ हाफमा धेरै ठाउँ उपलब्ध हुन सक्छ । यसका कारण गोल स्कोरिङ र विपक्षी डिफेन्डरलाई व्यस्त राख्न पनि सिल्भा प्रभावकारी हुने भएकाले उनी सुरुआती-११ मा स्थान बनाउन डिजर्भ गर्छन् ।

    दी गार्जियनबाट
  • पोर्चुगलले लगायो नेपाललाई यात्रा प्रतिबन्ध

    पोर्चुगलले लगायो नेपाललाई यात्रा प्रतिबन्ध

    काठमाडौं । कोरोनाभाइरस संक्रमण फैलने जोखिमलाई कारण देखाउँदै युरोपेली मुलुक पोर्चुगलले नेपाललाई यात्रा प्रतिबन्ध लगाएको छ । नेपाललाई जोखिमपूर्ण मुलुकको सूचिमा राख्दै जुन १५ देखि पोर्चुगलले नेपालीलाई रोक लगाएको हो ।

    तर, पर्यटनलाई चलायमान बनाउन भन्दै पोर्चुगललाई अमेरिकी पर्यटकलाई पनि खुला गरेको छ । बेलायतसहितका युरोपेली मुलुकलाई पनि केही सर्तसहित आवागमनमा खुला गरिएको छ ।

    जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, चीन, इजरायल, न्यूजिल्यान्ड, रुवान्डा, सिंगापुर र थाइल्यान्डलाई पनि पोर्चुगलले कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट देखाए यात्रा अनुमति दिने भएको छ ।

    नेपालमा पछिल्लो समय संक्रमणमा गिरावट आएपनि भारतीय भेरिएन्ट व्यापकरुपमा फैलिएको भन्दै पोर्चुगलले रोक लगाएको हो । पोर्चुगल श्रमबजारको एक महत्वपूर्ण युरोपेली गन्तव्य हो ।

  • एकै खेलमा रोनाल्डोले बनाए तीन कीर्तिमान

    एकै खेलमा रोनाल्डोले बनाए तीन कीर्तिमान

    काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो हंगेरीविरुद्धको खेलमा तीन कीर्तिमान बनाएका छन् । युरो २०२० को समूह ‘एफ’ अन्तर्गत मंगलबार बुडापेस्टमा भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलको नतिजामा पराजित गरेको थियो ।

    पोर्चुगलको जितमा दुई गोल गरेका क्रिस्टियानो रोनाल्डोले युरोपियन फुटबल च्याम्पियनसिप (युरो)को इतिहासमा दुई अद्भूत कीर्तिमान बनाए । सन् २००४ मा घरेलु मैदानमा भएको युरोबाट प्रतियोगितामा डेब्यु गरेका रोनाल्डो युरोपियन च्याम्पियनसिपको पाँच संस्करणसम्म खेल्ने पहिलो खेलाडी बनेका छन् ।

    खेल सुरु हुँदै आफ्नो नाममा एक कीर्तिमान बनाइसकेका रोनाल्डोले आजको खेलमा पोर्चुगललाई जित दिलाउन नसकेको भए पक्कै त्यसको खुशी उनमा हुने थिएन ।

    तर, ८४औं मिनेटसम्म ६७ हजार समर्थक अगाडि भएको खेलमा हंगेरीको रक्षापंक्ति पार गर्न नसकेको पोर्चुगलले अन्तिमको ६ मिनेट र इन्जुरी समममा तीन गोल गरेको थियो ।

    जसमध्ये दुई गोल रोनाल्डोको नाममा रह्यो । हंगेरियन डिफेन्डर विली ओर्बानले ८७औं मिनेटमा पोर्चुगिज खेलाडी राफा सिल्भामाथि पेनाल्टी एरियामा फाउल गरेपछि भ्रमणकारी टोलीले पेनाल्टी पाएको थियो ।

    सोही पेनाल्टीलाई गोलमा परिणत गरेका रोनाल्डो त्यो गोलसँगै युरोपियन फुटबल च्याम्पियनसिपकै सर्वकालिन सर्वाधिक गोलकर्ता बने । त्यो गोल अगाडिसम्म यो कीर्तिमान रोनाल्डो र फ्रेन्च लिजेन्ड माइकल प्लाटिनीको संयुक्त नाममा थियो । सन् १९८४ मा फ्रान्समा भएको युरोको एकै संस्करणमा ९ गोल ठोकेका प्लाटिनीको कीर्तिमानसँग रोनाल्डोले २०१६ मा बराबरी गरेका थिए ।

    तर, आजको खेलमा दुई गोल थपेसँगै त्यो कीर्तिमान रोनाल्डोले ११ गोलमा पुर्‍याएर आफ्नै नाममा एकलौटी बनाएका छन् ।

    रोनाल्डोको दुई गोल र राफाएल गुरेरोको एक गोलप्रेरित पोर्चुगलले १३ वर्षपछि ठूला प्रतियोगिताको पहिलो खेलमा जित हासिल गरेको छ । यसअघि २००८ को युरोको पहिलो खेलमा पोर्चुगलले टर्कीमाथि २-० को जित हासिल गरेको थियो ।

    त्यसयताका तीन विश्व कप र दुई युरोको पहिलो खेलमा पोर्चुगलले जित निकाल्न सकेको थिएन । साविक विजेता पोर्चुगलले २०१६ मा घरेलु टोली फ्रान्सलाई फाइनलमा पराजित गर्दै उपाधि उचालेको थियो ।

    हंगेरीविरुद्को खेलमा गोल गरेसँगै रोनाल्डो युरोको लगातार पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

  • साविक विजेता पोर्चुगलको विजयी सुरुआत: रोनाल्डोको दुई गोल

    साविक विजेता पोर्चुगलको विजयी सुरुआत: रोनाल्डोको दुई गोल

    काठमाडौं । युरोपियन च्याम्पियनसिपको साविक विजेता पोर्चुगलले मंगलबार भएको समूह ‘एफ’को पहिलो खेलमा हंगेरीलाई ३-० गोलको नतिजामा पराजित गरेको छ ।

    हंगेरीको बुडापेस्टमा ६७ हजार समर्थकसामु भएको खेलमा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा राफेल गुरेरो एक गोल गरे ।

    पहिलो हाफमा हंगेरीको रक्षापंक्ति पार गर्न नसकेको पोर्चुगलले निर्धारित समयको खेल सकिन ६ मिनेट बाँकी रहँदा पहिलो गोल गरेको थियो ।

    राफा सिल्भाको पासमा राफेल गुरेरोले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार हंगेरीका डिफेन्डर विली ओर्बानलाई ठोकिएर गोलमा परिणत भएको थियो ।

    त्यसको तीन मिनेट नबित्दै राफा सिल्भामाथि हंगेरीका डिफेन्डरले पेनाल्टी एरियामा फाउल गरेपछि पोर्चुगलले स्पटबाट अग्रता दोब्बर पार्ने मौका पाएको थियो ।

    सोही मौकाको सदुपयोग गर्दै स्टार फरवार्ड रोनालेडोले युरोपियन फुटबल च्याम्पियनसिपको इतिहासकै महत्त्वपूर्ण गोल गरे । ८५ मिनेटसम्म सम्हालिएको हंगेरीले अन्तिमको १० मिनेट सम्हालिन नसक्दा तीन गोल खायो ।

    इन्जुरी समयमा गोलमेसिन रोनाल्डोले पुन: गोल गर्दै साविक विजेताका लागि ३-० को जित सुनिश्चित गरे ।

  • क्रिस्टियानो रोनाल्डो बने युरोपियन च्याम्पियनसिपकै सर्वाधिक गोलकर्ता

    क्रिस्टियानो रोनाल्डो बने युरोपियन च्याम्पियनसिपकै सर्वाधिक गोलकर्ता

    काठमाडौं । पोर्चुगलका कप्तान तथा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियनसिप (युरो)का सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका छन् ।

    समूह ‘एफ’को पहिलो खेलमा पोर्चुगलले मंगलबार हंगेरीमाथि ३-० गोलको जित हासिल गर्दा रोनाल्डोले दुई गोल गरे । राफा सिल्भामाथि विली ओर्बानले १८ यार्ड बक्सभित्र फाउल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो ।

    सोही पेनाल्टीको सदुपयोग गर्दै रोनाल्डोले कीर्तिमानी गोल गरे । यसअघि यो कीर्तिमान फ्रेन्च लिजेन्ड माइकल प्लाटिनी र रोनाल्डको कै नाममा थियो । तर, अब यो कीर्तिमान ११ गोलमा पुगेको छ र रोनाल्डोको एकलौटी कीर्तिमान बनेको छ ।

    प्लानटिनीले १९८४ मा भएको युरोपियन च्याम्पियनसिपमा एकै संस्करणमा ९ गोल गरेका थिए ।

  • पहिलो हाफमा पोर्चुगल र हंगेरीको गोलरहित बराबरी

    पहिलो हाफमा पोर्चुगल र हंगेरीको गोलरहित बराबरी

    काठमाडौं । युरो २०२० को समूह ‘एफ’को पहिलो खेलमा साविक विजेता पोर्चुगल र हंगेरीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । हंगेरीको बुडापेस्टमा ६७ हजार समर्थकको अगाडि भएको खेलमा पोर्चुगलले घरेलु टोलीमाथि निरन्तर दबाब दिए पनि गोल गर्न सकेन ।

    हंगेरीको रक्षापंक्तिमाथि सुरुआत देखि आक्रमण गरेको पोर्चुगलले गोलका लागि अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा बराबरीमै रोकिनु पर्‍यो ।

    पोर्चुगलका लागि खेलको पाँचौं मिनेटमा डिएगो जोटाले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहारमा हंगेरीयन गोलकिपर गुलाक्सी बाधक बनेका थिए ।

    कप्तान क्रिस्टियानो रोनाल्डोले १९ मिनेटमा पेपेको लामो पासमा ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार पनि सोझै गोलकिपरको हातमा गएको थियो । यद्यपि, उक्त मौकामा रोनाल्डो अफसाइड भएका थिए ।

    बर्नार्डो सिल्भाको क्रसमा रोनाल्डोले ३०औं मिनेटमा हेडरमार्फत गरेको प्रहार टार्गेटमा परेन ।

    खेलमा विरलै मात्र पोर्चुगलमाथि आक्रमणको अवसर सिर्जना गरेको हंगेरीका लागि आडम सजलाइले हेडरमार्फत ३७औं मिनेटमा गरेको प्रहार पोर्चुगिज गोलकिपर रुइ पेट्रिसियोले बचाएका थिए ।

    जर्मनी र फ्रान्ससमेत यसै समूहमा रहेकाले पोर्चुगललाई आजको खेलमा जित आवश्यक छ । यस्तै रोनाल्डोले बाँकी ४५ मिनेटमा गोल गर्न सफल भए उनी प्रतियोगिताकै सर्वकालिन सर्वाधिक गोलकर्ता बन्नेछन् । अहिले यो कीर्तिमान रोनाल्डो र पूर्व फ्रेन्च लिजेन्ड माइकल प्लाटिनीको नाममा छ ।

    दुवै खेलाडी समान ९ गोल गरेका छन् । आजको खेलमा पोर्चुगलको नेतृत्व गरिररहेका रोनाल्डो युरोको पाँच संस्करण खेल्ने पहिलो खेलाडी बनिसकेका छन् ।

  • पाँच पटक युरो खेल्ने पहिलो खेलाडी बन्दै रोनाल्डो

    पाँच पटक युरो खेल्ने पहिलो खेलाडी बन्दै रोनाल्डो

    काठमाडौं । पोर्चुगलका कप्तान तथा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियनसिपका पाँच संस्करण खेल्ने पहिलो खेलाडी बन्ने भएका छन् ।

    सन् २००४ मा घरेलु मैदानमा भएको युरोबाट डेब्यू गरेका रोनाल्डो आज हुने युरो २०२० को समूह ‘एफ’को पहिलो खेलमा हंगेरीविरुद्धको सुरुआती ११ मा समेटिएसँगै उनले कीर्तिमान बनाउने निश्चित भएको हो ।

    साविक विजेता पोर्चुगलले नेपाली समयअनुसार ९:४५ बजे हंगेरीको बुडापेस्टमा घरेलु टोलीको सामना गर्दैछ । विश्व फुटबलका धेरै कीर्तिमान आफ्नो नाममा लेखाइसकेका रोनाल्डोले यो संस्करणमा थप एक गोल गरे सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नो नाममा लेखाउने छन् ।

    अहिले पनि यो कीर्तिमान रोनाल्डो र पूर्व फ्रेन्च लिजेन्ड माइकल प्लाटिनीको नाममा छ । दुवै खेलाडीले ९/९ गोल गरिसकेका छन् । युरो २०१६ मा पोर्चुगलले हंगेरीको सामना गर्दा रोनाल्डोले दुई गोल गरेका थिए ।

  • हंगेरीविरुद्ध खराब इतिहास बदल्ने सोचमा साविक विजेता पोर्चुगल

    हंगेरीविरुद्ध खराब इतिहास बदल्ने सोचमा साविक विजेता पोर्चुगल

    काठमाडौं । युरो २०२० मा मंगलबार राति समूह ‘एफ’ अन्तर्गत हुने पहिलो खेलमा साविक विजेता पोर्चुगलले हंगेरीसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्दैछ । हंगेरीको बुडापेस्टस्थित पुस्कस एरिनामा नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुने खेलमा दुवै टोली जितका लागि तल्लीन छन् ।

    फ्रान्समा २०१६ भएको पछिल्लो संस्करणमा पनि समूह चरणमा भेटका यी टोलीले रोमाञ्चक ३-३ गोलको बराबरी खेलेका थिए । युरोको इतिहासमै लगातार दोस्रो टोली बन्ने होडमा छ । हालसम्म स्पेनले (२००८ र २०१२मा) मात्रै लगातार दुई पटक युरो जितेको छ ।

    २०१६ को युरोमा समूह चरणका कुनै पनि खेल नहारेको हंगेरीविरुद्ध उसकै मैदानमा तीन अंक खोस्नु पोर्चुगलका लागि पक्कै सहज हुनेछैन । तर, यसअघिका ६ संस्करणमा लगातार नकआउटमा पुग्न सफल एक मात्र टोली पोर्चुगल आजको खेलमा जित हासिल गर्दै सम्भावना बलियो बनाउन चाहन्छ ।

    तर, विगत हेर्ने हो भने पछिल्ला पाँच ठूला प्रतियोगिताको पहिलो खेलमा पोर्चुगलले जित निकाल्न सकेको छैन । पोर्चुगलले ठूला प्रतियोगिताको पहिलो खेल अन्तिम पटक २००८ को युरोमा जितेको थियो । उक्त खेलमा पोर्चुगलले टर्कीलाई २-० को नतिजामा पराजित गरेको थियो ।

  • कोभिड प्रभावित नेपालीलाई पोर्चुगल सरकारको राहत

    कोभिड प्रभावित नेपालीलाई पोर्चुगल सरकारको राहत

    काठमाडौं । कोभिडका कारण समस्यामा परेका केही नेपालीलाई पोर्चुगल सरकारले दोस्रो चरणको राहत वितरण गर्ने भएको छ । कोभिडको शुरुआतपछि पोर्चुगल सरकारले पहिलो चरणको आपतकालीन राज्य घोषणा गरेसँगै अवैतनिक महावाणिज्य दूत मकर हमालको नेतृत्वमा कोभिड राहत वितरण समिति गठन भएको थियो । समिति गठनपछि पहिलो चरणको राहत वितरण गरिएको थियो । उक्त राहत वितरणबाट चार सय नेपाली समुदाय लाभान्वित भएका थिए ।

    अहिले पोर्चुगल सरकारले तेस्रो चरणको आपतकालीन राज्य घोषणा गरेपछि धेरै नेपालीले रोजगारी गुमाउनु परेको छ । राहत समितिले कोभिड लागेका व्यक्ति, सुत्केरी महिला, वृद्धवृद्धा र दीर्घ रोग भएका पीडितलाई मध्यनजर गरी राहत वितरण गरिने बताएको छ ।

    राहत वितरण व्यवस्थित गर्न कोभिड राहत वितरण समितिको सचिवालयले समस्यामा परेका नेपालीको विवरण संकलन गर्न समितिका सचिवालय सदस्य तथा प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा विभिन्न संघ–संस्थाका प्रतिनिधि र पत्रकारहसहितको तथ्याङ्क सङ्कलन समिति गठन गरेको छ ।

    उक्त समितिले वास्तविक समस्यामा रहेकाहरुलाई पहिचान गर्ने र उनीहरुको अवस्थाअनुसार राहत वितरणका लागि सिफारिस गर्ने समितिका संयोजक पौडेलले जानकारी दिए । कोभिडका कारण पोर्चुगलमा तीन नेपालीको मृत्यु भइसकेको छ ।