Tag: पोखरा

  • पोखरामा गठबन्धनका आचार्य करिब एक हजार मतले अगाडि, उपमेयरमा मतान्तर कम

    पोखरामा गठबन्धनका आचार्य करिब एक हजार मतले अगाडि, उपमेयरमा मतान्तर कम

    पोखरा । पोखरा महानगरपालिका मेयरमा गठबन्धनका उम्मेदवार नेकपा एसका धनराज आचार्यले ८०७९ मत ल्याउँदा एमालेका कृष्ण थापाले ६९४३ मत पाएका छन् ।

    त्यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ८३७६ र एमालेकी मन्जुदेवी गुरुङले ७८९६ प्राप्त गरेका छन् ।

    यहाँ अहिलेसम्म १९५६० मत गणना भएको छ ।

  • पोखरामा एमालेको पकड भनिएको क्षेत्रमा गणना हुँदा गठबन्धनको अग्रता

    पोखरामा एमालेको पकड भनिएको क्षेत्रमा गणना हुँदा गठबन्धनको अग्रता

    पोखरा । पोखरा महानगरपालिकामा गठबन्धन उम्मेदवारले मतान्तर बढाएका छन् । १७ सय मत गणना गर्दा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ९ सय २ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ७ सय ३ मत पाएका छन् ।

    अहिले वडा नम्बर १, २ र १२ को गणना भैरहेको छ । वडा नम्बर १ एमालेको पकड रहेको वडा हो ।

  • अन्ततः कास्की कांग्रेसले पोखराको मेयरमा नेकपा एसलाई स्वीकार्यो, उपमेयरमा मात्रै नाम सिफारिस

    अन्ततः कास्की कांग्रेसले पोखराको मेयरमा नेकपा एसलाई स्वीकार्यो, उपमेयरमा मात्रै नाम सिफारिस

    काठमाडौं । नेपाली कांग्रेसले पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीलाई स्वीकारेको छ । गण्डकी प्रदेश कार्यसमितिले बिहीबार उपमेयरको नाम मात्रै केन्द्रमा सिफारिस गरेको छ । यहाँ मेयरका लागि १८ र उपमेयरमा १० जना आकांक्षी थिए । तर गठबन्धनमा मेयर एकीकृत समाजवादीले पाउने भएपछि मेयर छोडेर उपमेयरको नाम मात्रै पठाइएको हो ।

    प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले उपमेयरका आकांक्षीको मात्रै नाम पठाउने निर्णय गरेको हो । सिफारिस हुनेमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसी छन् ।

    पोखरा महानगर समितिले संकलन गरेर प्रदेशलाई सिफारिस गरेकै नाम प्रदेशले केन्द्रमा पठाएको हो । अहिले कांग्रेसभित्र मेयर छोडेर उपमेयरमा रस्साकस्सी बढेको छ ।

  • पोखरामा एमालेले मतदानबाट मेयर-उपमेयरका उम्मेदवार छान्दै, आजै मतदान

    पोखरामा एमालेले मतदानबाट मेयर-उपमेयरका उम्मेदवार छान्दै, आजै मतदान

    पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेदवार खोज्ने भएको छ । लामो छलफलमा समेत सहमति नभएपछि शुक्रबार मतदानको तयारी गरिएको हो । मनोनयन समेत शुक्रबार नै हुनेछ ।

    यसअघि आकांक्षाका रुपमा नाम टिपाएकाहरु बाहेकले समेत मनोनयन गर्न पाउने छन् । सचिवालय बैठकले निर्वाचन मण्डल गठन गरेको छ । एमाले निकट अधिवक्ताहरू कमल अर्याल, जुना गुरुङ, भगवती पहारी र यामबहादुर खत्री सम्मिलित निर्वाचन मण्डल बनाइएको हो । निर्वाचन मण्डलले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिसकेको छ भने शुक्रबार बिहान मनोनयनको कार्यक्रम छ । यसअघि मंगलबार आकांक्षीको नाम टिपिए पनि पुनः नयाँ प्रक्रियाबाट मनोनयन गर्न लागिएको हो ।

    मेयरमा १२ जनाले आकांक्षा देखाएका थिए भने उपमेयरमा ११ जनाको नाम टिपिएको थियो । मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीसहित वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), व्यवसायी पुष्पज्योती ढुंगाना, पुष्पराज अधिकारी, महानगरका पुर्व अध्यक्ष दिपक पौडेल, बालासिंह काउचा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीमबहादुर कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीले आकांक्षा देखाएका थिए ।

    उपमेयरका लागि एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री, पत्रकार सुष्मा पौडेल, वडाध्यक्ष शोभामोहन पौडेल र जीवन आचार्य, बामदेव ढुंगाना, टिकाराम पंगेनी, व्यवसायी संजीव बहादुर कोइराला, देवका पहारी ९त्रिपाठी०, बलराम गायक (गन्दर्भ) र हरिमाया गुरुङले नाम दर्ता गराएका थिए ।

    आकांक्षीहरुले पुनः मनोनयन गर्नुपर्ने भएपछि पहिले नाम टिपाएकाभन्दा बाहिरकाले समेत मनोनयन दर्ता गर्न पाउने छन् । एमालेको आन्तरिक बैठकमा बहालवाला सांसदलाई मेयर उपमेयरमा छेक्ने प्रयास भएको छ । बैठकका सहभागीहरुले कडा रुपमा उनीहरुको विरोध गरेको एक नेताले बताए ।

    २०७४ को निर्वाचनमा पनि आन्तरिक प्रतिस्पर्धाबाटै मेयर र उपमेयरको नाम टुंग्याइएको थियो ।

  • बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयका शैक्षिक कार्यक्रम ‘आईएसएमटी कलेज’ पोखरामा

    बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयका शैक्षिक कार्यक्रम ‘आईएसएमटी कलेज’ पोखरामा

    काठमाण्डौं । विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको आईएसएमटी कलेजले बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू आईएसएमटी कलेज पोखरामा पनि सञ्चालन गर्ने भएको छ । शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पुरा भइसकेको आईएसएमटी कलेज पोखराले जनाएको छ ।

    बेलायतका प्रमुख सहरहरूलगायत हङकङमा समेत सन्डरल्याण्ड विश्वविद्यालयको आफ्नै कलेज रहेका छन् । यो विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरुमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ । सन् २००१ मा बेलायतको पत्रिका ‘द गार्डियन’का अनुसार सन्डरल्याण्ड विश्वविद्यालयका बेलायतको नयाँ विश्वविद्यालय मध्ये पहिलो नम्बरमा पर्न सफल भएको जनाएको थियो ।

    सन् २००५ मा ‘टाइम्स हाइअर एजुकेसन’को ‘वेस्ट स्टुडेन्टस एक्सपेरियन्स’ मा शीर्ष स्थान हासिल गर्न सफल भएको थियो । भने, सन् २०१९ मा टाइम्स हाइअर एजुकेसनकै युरोपियन टिचिङ र्‍यांकिङमा २०१औं स्थानमा पर्न सफल भएको थियो । सोही विश्वविद्यालयको शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीले स्वदेशमै स्थानीय पर्यटकीय सहर पोखरमा नै बेलायतको डिग्री प्राप्त गरी शैक्षिक लाभ लिन सक्ने सन्डरल्याण्ड विश्वविद्यालयका ले जनाएको छ ।

    आईएसएमटी ग्रुप अफ सन्डरल्याण्ड विश्वविद्यालयबाट संबन्धन पाउने पहिलो नेपाली शैक्षिक संस्थासमेत हो ।

  • पोखराको वायु उच्च प्रदूषण, सेती किनारमा जलाइएको शवको धुवाँ मुख्य कारक

    पोखराको वायु उच्च प्रदूषण, सेती किनारमा जलाइएको शवको धुवाँ मुख्य कारक

    काठमाडौं । पोखरामा वायु प्रदूषण बढेको छ । पोखराको गण्डकी माध्यमिक विद्यालय क्षेत्रमा राखिएको स्टेशनले प्रदूषणको मापन दर अत्याधिक देखिएपछि वातावरण विभागको टोलीले त्यस क्षेत्रको निरीक्षण गरेको छ ।

    निरीक्षणको क्रममा सेती नदी किनारमा जलाइएका शवको धुवाँले प्रदूषण बढेको टोलीको निष्कर्ष छ । ‘आर्यघाटनको शवदाहको धुवाँले बढी प्रदूषण देखिएको छ । त्यसलाई रोक्न हामीले योजना सुरू गरेका छौं’, विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जानकारी दिए ।

    यसअघि तराईका मुख्य सहरमा वायु प्रदूषण उच्च हुने भए पनि पोखराको प्रदूषण यसरी बढेको थिएन । विभागको तथ्यांकअनुसार पोखरामा पार्टिकुलेट म्याटर २.५ आकारको धुलोको प्रदूषण २४ घण्टामा २०५ माइक्रोग्राम प्रति घनमिटर पुगेको छ । यसअघि २३० सम्म पुगेको थियो ।
    यो प्रदूषणले मानव शरीरमा असर पुग्ने विज्ञको भनाइ छ । प्रदूषण वृद्धि हुनुमा चिसो छल्न दाउरा बढी जलाउने गर्नाले बढी प्रदूषण हुने गरेको विभागले जनाएको छ ।

    वायुको गुणस्तर स्वास्थ्यका लागि अतिहानिकारक तहमा पुगेको भन्दै वातावरण विभागले आवश्यकताबिना बाहिरी क्षेत्रमा हिँड्डुल नगर्न अनुरोध गरेको छ । सरकारले २४ घण्टामा वायुको गुणस्तरलाई ४० माइक्रोग्राम प्रति घनमिटरसम्मलाई राष्ट्रिय मापदण्ड तोकेको छ ।

  • ‘न्यु इअर इभ’मा पोखरामा सडक महोत्सव हुँदै

    ‘न्यु इअर इभ’मा पोखरामा सडक महोत्सव हुँदै

    पोखरा । अङ्ग्रेजी नयाँ वर्षमा पोखरालाई गन्तव्यस्थलका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले अगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ ।

    रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको हो ।

    रेवानका अध्यक्ष लक्षमण बरालले भने,‘कोरोनाको मारमा परेको पर्यटनलाई चलायमान बनाउन र पोखरालाई नयाँ वर्षको गन्तव्यस्थलका रूपमा सडक महोत्सवको आयोजना गर्दै आएका छौँ, यस वर्ष पनि महोत्सवले पनि आन्तरिक पर्यटक पोखरा आउने विश्वास लिएका छौँ ।’

    दुई दशकभन्दा बढी समयदेखि पोखराको पर्यटन प्रवद्र्धन र विकासमा टेवा पु¥याउँदै आएको सडक महोत्सव विभिन्न राजनीतिक अस्थिरता,  २०७२ को भूकम्प, नाकाबन्दीजस्ता समस्याका बाबजुद पनि ‘सडमै खाऊँ सडकमै रमाऊँ’ भन्दै २३आँै संस्करणको तयारीमा जुटेको महोत्सवका संयोजक नरेश भट्टराईले जानकारी दिए ।

    उनले गत वर्ष कोभिड–१९ को महामारीमा पनि स्वास्थ्य सतर्कतासहित महोत्सव आयोजना गरेको जनाउँदै अहिले कोरोनाको त्रास कम हुँदै गएको र अधिकांशले खोपसमेत लगाएकाले महोत्सव अझ सफल हुने विश्वास व्यक्त गरे।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढ्दै गएको र सडक महोत्सवपछि नेपालमा विदेशी पर्यटकको आगमन पनि बढ्दै जाने विश्वास व्यक्त गरे । उनले पोखरा सुरक्षित र खुला भन्ने सन्देश पनि महोत्सवबाट जाने बताए।

    आयोजकका अनुसार पोखरा सडक महोत्सव कोभिड हेल्थ प्रोटोकललाई ध्यान दिँदै पोखराको सकरात्मक सूचना प्रवाह गरी पर्यटन प्रवद्र्धनको उद्देश्यसहित विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन गरेर मनाइने छ ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, डुङ्गा दौड, वेटर रेस, टग अफ वारजस्ता प्रतियोगिता व्यवस्था गरिएको छ । पोखराको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ । महोत्सव सम्पन्न गर्न संस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराई, सचिव भीष्मराज पौडल र सहकोषाध्यक्ष रोशनजङ्ग कार्की, सहसंयोजक रहने गरी विभिन्न उपसमिति गठन गरिएको छ । रासस

  • पोखरा: दोस्रो काठमाडौं कि रहरलाग्दो सहर ?

    पोखरा: दोस्रो काठमाडौं कि रहरलाग्दो सहर ?

    पोखरा । नेपालमा सबैभन्दा धेरै मान्छे मर्ने कारणमध्ये सडकमा हुने दुर्घटना सातौं नम्बरमा पर्छ । आर्थिक वर्ष २०७७÷०७८ मा सडकमा भएको दुर्घटनाबाट दुई हजार ५०० भन्दा बढी मान्छेको मृत्यु भएको छ । २० हजार ६४१ दुर्घटनामा ६ हजार ४४८ गम्भीर घाइते भए भने १८ हजार ६०० साधारण घाइते भएको तथ्यांक ट्राफिक प्रहरीसँग छ ।

    यसले ६ लाखभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ । नेपाल प्रहरीका पूर्वएआईजी तथा ट्राफिक व्यवस्थापनविज्ञ विनोद सिंह भन्छन्, ‘सडक दुर्घटनामा विशेष गरी युवापुस्ता गुमाएका छौं । यो चिन्तित हुनुपर्ने विषय हो ।’

    गण्डकीमा यही तथ्यांक फरक छ । गएको आर्थिक वर्षमा ४०५ दुर्घटनाबाट २२२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७६÷०७७ र २०७५÷०७६ मा क्रमशः यो संख्या ४३१ दुर्घटनाबाट २२३ को मृत्यु तथा ४६० दुर्घटनाबाट २५८ को मृत्यु भएको छ ।

    तथ्यांकमा हेर्दा दुर्घटना र मृत्यु संख्या कम भए पनि यो चिन्ताजनक तथ्यांक हो । हालसम्मको आँकडा हेर्दा वर्षेनि गाडी भित्रिने क्रम पनि उत्तिकै बढेको छ । गत साउनसम्मको रिपोर्टअनुसार गण्डकीमा मात्रै दुई लाख ११ हजार ७६३ दुई पांग्रे र ६३ हजार ७४२ वटा चार पांग्रे गाडी दर्ता भएको यातायात व्यवस्था कार्यालय गण्डकीले जनाएको छ ।

    सडकमा हुने दुर्घटना कम गर्न सरकारले सडक विस्तारलाई जोड दिएको छ । सडक स्तरोन्नती वर्षेनि भइरहेका छन् । फराकिलो बनाउनेदेखि पक्की गर्नेसम्म सरकारको प्राथमिकता छ । तर, सडक फराकिलो बनाएर मात्र दुर्घटना कम नहुने तर्क छ, नविल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको ।

    ‘बाटोलाई राम्रो बनाएर दुर्घटना मात्र बढ्छ । दुर्घटना घटाउन हाम्रो सोचलाई राम्रो बनाउनुपर्छ । सडक बत्ती र स्मार्ट लाइट राखेर मात्र सडक स्मार्ट हुँदैन रहेछ,’ उनले भने, ‘काठमाडौं रिङरोड चार लेनको बनिसक्यो । के अहिले दुर्घटना घटेको छ त रु छैन नि । झन् बढेको छ । हामी हाम्रो सोच बदलौँ ।’

    प्रदेश सरकारसँग भएको तथ्यांकमा प्रदेशभरिमा एक हजार ४१७ किलोमिटर पक्की सडक बनेको छ भने पाँच हजार २२१ कच्ची तथा करिब एक हजार किलोमिटर ग्राभेल सडक बनेको छ । सडक निर्माणसँगै जनचेतना दुर्घटना न्यूनीकरणको प्रमुख समाधान हुने सडक सुरक्षाका जानकार नुगल वैद्यको अनुभव छ ।

    ‘थ्री ई सडकमा हुने दुर्घटना न्यूनीकरणको प्रमुख उपाय हुन् । इन्जिनियरिङ, इन्फोर्समेण्ट र एजुकेसनमा जोड दिनुपर्छ,’ उनी भन्छन्, ‘तर, सरकारले पाठ्यक्रममा यस्ता कुरा राखेको छैन । तल्लो तहबाटै सडक र यसको सुरक्षा उपायबारे पढाउनुपर्छ । विद्यार्थीलाई ज्ञान दिनुपर्छ ।’

    पोखराका चोकहरूमा २०५८ सालतिर ट्राफिक लाईट राखिएको थियो । विभिन्न आन्दोलनहरूका क्रममा ति लाइट तोडफोड भयो । चोकहरू साँघुरिँदै गएका छन् । अहिले पोखरा गण्डकी प्रदेशको राजधानी पनि हो । त्यसैले यात्रुको चाप र पर्यटकको आउजाउ बाक्लिएको छ ।

    ‘समस्या यही सरकारले मात्र उब्जाएको होइन । तर, समाधानको अवसर भने यही सरकारलाई छ । यही जनप्रतिनिधिलाई छ,’ पोखराका उपेन्द्र पौडेल भन्छन्, ‘दुःखको कुरा, काम गर्ने जाँगर भने अझै जनप्रतिनिधिमा देखिएको छैन ।’

    गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल रातदिन सडक जामका समस्या देखिरहे पनि स्रोत अभावका कारण समस्या हल गर्न नसकेको बताउँछन् ।

    ‘रातदिन देखिरहेका छौं । सच्याउन प्रयास पनि गरिरहेका छौं । सोचे अनुसार भइरहेको छैन,’ उनले भने, ‘नीति तथा कार्यक्रम र बजेटमा हाम्रो परिकल्पना र आकांक्षा राम्रो छ । हामीसँग परिकल्पना त छ, तर स्रोत अभावका कारण सोचेजस्तो काम गर्न सकिरहेका छैनौं ।’ उनले गण्डकीको विकास पोखरामा आधारित भएर गरिने बताए । ‘ग्रेटर पोखरा स्मार्ट बनाउन सके गण्डकी आफैँ राम्रो हुन्छ । स्मार्ट सहर, यातायात र स्मार्ट नागरिक बनाउन गण्डकी सरकार प्रतिवद्ध छ, सक्रिय छ’, पोखरेलले थपे ।

    पोखराले ट्राफिक चाप घटाउन रिङरोडको परिकल्पना गरेको छ । यद्यपि, कार्यान्वयनमा गएको छैन । तीन पटकसम्म रिङरोडको डिजाइन भयो । फरक समयमा फरक लम्बाइका योजना बने । ट्राफिक लाइट राख्ने योजना नयाँ जनप्रतिनिधिको पहिलो योजना थियो । उनीहरूको कार्यकाल सकिन लाग्यो, लाइट राख्ने योजना अघि बढेन ।

    ‘प्रयास नभएका होइनन् । भइरहेका छन् । सत्य हो, रिजल्ट देखिने गरी काम बनेको छैन । हामीले स्वीकार्नुपर्छ,’ पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले भने,’ ‘काम गर्न चाहिँ छोडेका छैनौं । गर्दै छौं ।’

    पोखरामा पहिलो पटक आकाशे पुल बनेको छ, त्यो पनि बिना अध्ययन । पृथ्वीचोकमा ट्राफिक जाम बढी हुन्छ, महानगरले सिर्जनाचोकमा पुल बनायो । ठाउँ साँघुरो भएकोले गाडी जाम बढेको भन्दै तत्काल पुल हटाउनुपर्ने विज्ञहरू बताउँछन् ।

    अन्तर्राष्ट्रिय सहर र पर्यटकीय राजधानी पोखरामा हालसम्म एउटा बसपार्क बनेको छैन । गाडीहरू सडकमै पार्किङ हुन्छन् । तोकिएको समयमा काम भए आउँदो नयाँ वर्षबाट पोखरादेखि सिधै अन्तर्राष्ट्रिय उडान हुन्छ । त्यसको तयारी पोखराले गर्न सकेको छैन । धेरैको चिन्ता अब पोखरा दोस्रो काठमाडौं बन्ने कि व्यवस्थित सहर बन्ने भन्ने चासो र चिन्ता बढेको छ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखराको योजनाबद्ध विकासमा ढिलाइ भइसकेको बताए ।

    ‘३२ सालको योजनाअनुसार अहिले काम गरिरहेका छौं । त्यही बेला परिकल्पना गरिएको बसपार्क अझै बनेको छैन । जनप्रतिनिधिले त्यति आँट गर्नुपर्थ्र्यो,’ उनी भन्छन्, ‘यही अवस्था रहिरहे केही वर्षमै काठमाडौंको हालत हुन्छ । चाहेर पनि बनाउन सकिँदैन ।’

    पोखराको पृथ्वीचोक र लामे आहालमा बसपार्क निर्माण पटकपटक चर्चामा आए पनि काम अघि बढेको छैन । पोखरादेखि मुग्लिनसम्म चार लेन सडक निर्माणको भने ठेक्का लागेर काम अघि बढेको छ । सन् १९९८ मा पोखराको क्षेत्र छुट्याएर कृषिदेखि आवास क्षेत्र छुट्याइएको छ । साढे तीन तलाभन्दा अग्लो भवन नबनाउन सुझाव छ । अहिले भने दशौं तलासम्मको घरहरू बनिरहेका छन् । मापदण्ड कार्यान्वयनमा पोखरा चुकिसकेको छ ।

  • बर्ल र अमितको अर्धशतकमा काठमाडौंले दियो पोखरालाई १ सय ८३ रनको लक्ष्य

    बर्ल र अमितको अर्धशतकमा काठमाडौंले दियो पोखरालाई १ सय ८३ रनको लक्ष्य

    काठमाडौं । रायन बर्ल र अमित श्रेष्ठको अर्धशतक मद्दतमा काठमाडौं किङ्ग्स-११ ले एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तर्गत सोमबार जारी दोस्रो खेलमा पोखरा राइनोजलाई १ सय ८३ रनको लक्ष्य दिएको छ । खराब सुरुआत गरेको काठमाडौंले इनिङमा राम्रो पुनरागमन गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनको योगफल तयार गर्यो ।

    पोखरा राइनोजविरुद्ध टस हारेर ब्याटिङ गरेको काठमाडौं किङ्ग्स-११ का लागि रायन बर्ल र अमित श्रेष्ठले अर्धशतकीय इनिङ खेले ।

    त्रिवि क्रिकेट मैदानमा चौथो नम्बरमा काठमाडौंका लागि क्रिजमा उत्रिएका बर्लले ४३ बलमा २ चौका र ३ छक्कासहित ५० रनको इनिङ खेलेका थिए । त्यस्तै, अमितले ४१ बलमा ६ चौका र २ छक्कासहित ५६ रन जोडेका थिए ।

    तेस्रो ओभरमा १६ रन जोडेर दुवै ओपनरलाई गुमाएको काठमाडौंका लागि अमितले रायन बर्लसँग १०६ रनको साझेदारी गर्दै काठमाडौंको इनिङ सम्हालेका थिए ।

    काठमाडौंका लागि अन्य ब्याट्सम््यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा कप्तान सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गर्दै ११ बलमा २ चौका र ३ छक्कासहित ३१ रन जोडेर पेभेलियन फर्केका थिए । यस्तै, गुल्शन झा १ रनमा अविजित रहँदा राजु रिजाल शून्यमा पेभेलियन फर्के ।

    पोखराका लागि विवेक यादवले ३ तथा विक्रम शोब, किशोर महतो, नन्दन यादव र सहान अराचिगे ले १/१ विकेट लिए ।

    काठमाडौं आजको खेलमा जित हासिल गरे प्ले अफमा पुग्ने चौथो टोली बन्ने छ । चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स यसअघि नै प्लेअफमा पुगिसकेके छन् । आजको खेलमा काठमाडौंले जित निकाले साविक विजेता ललितपुर प्याट्रिओट्स पहिलो चरणबाटै बाहिरिने छ ।

  • ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको खेल तालिका सार्वजानिक, विजेतालाई १० लाख

    ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको खेल तालिका सार्वजानिक, विजेतालाई १० लाख

    काठमाडौं । पोखरामा हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको उद्‍घाटन खेलमा द राइजिङ क्लब धरान र स्काई गोल्स काठमाडौं भिड्ने भएका छन् ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सार्वजनिक भएको खेल तालिकाअनुसार पोखरा बहुउद्देश्यीय कभर्डहलमा असोज २ गते धरान र काठमाडौंका दुई टोली भिड्ने निश्चित भएको हो ।

    लिग २२ गतेसम्म चल्ने लिगमा १० टोलीले सहभागी हुने छन् । लिग राउन्ड रोबिन पद्दतिमा हुनेछ र शीर्ष चार टोली प्ले अफमा पुग्ने छन् । शीर्ष दुई टोलीबीच क्वालिफायर हुनेछ र क्वालिफायर विजेता सोझै फाइनलमा पुग्ने छ ।

    क्वालिफायरमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीबीच हुने इलिमिनेटरको विजेतासँग खेल्ने मौका पाउने छ । र, उक्त खेलको विजेताले क्वालिफायरको विजेता टोलीसँग फाइनलमा प्रतिस्पर्धा गर्ने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

    लिग विजेता टोलीले १० लाख र दोस्रो हुनेले ५ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ । त्यस्तै, विधागत उत्कृष्ट खेलाडी- विङ्गर (आला/पिभोट), डिफेन्डर (फिक्सो), प्रशिक्षक, उदीयमान खेलाडी र गोलरक्षकले समान २५ हजार प्राप्त गर्नेछन् ।

  • विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा (तस्वीरहरु)

    विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा (तस्वीरहरु)

    गण्डकी । झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदूर बेरोजगार बनेका छन् । गत वर्ष कोरोनाको पहिलो लहर केही साम्य भएसँगै पोखराका पर्यटन व्यवसायीमा जागेको आशा महामारीको दोस्रो लहरले भत्काइदिएको छ ।

    नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आन्तरिक पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटन सम्बद्ध सङ्घसंस्थाले प्रवद्र्धनात्मक कार्यक्रमका गतिविधि अघि बढाएका थिए । त्यसक्रममा मर्दी हिमाल पदयात्रादेखि धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न स्थानमा प्रवद्र्धनका कार्यक्रम सम्पन्न भएका थिए । कोरोनाको दोस्रो लहर बढेपछि यी सबै क्रियाकलापसमेत पुनः ठप्प बनेको पर्यटन अझै सुनसान छ ।

    पर्यटनलाई पुनः चलायमान बनाउन यतिखेर पोखराका पर्यटन व्यवसायी प्रदेश हुँदै सङ्घीय सरकारसँग खोपको सुनिश्चितताको माग गरेका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा पछिल्ला दिनमा प्रदेशका मुख्यमन्त्रीदेखि सम्बद्ध मन्त्रीलाई भेटी पर्यटन क्षेत्रलाई चलायमान बनाउन तत्काल खोपको व्यवस्था गर्न माग गरिएको छ ।

    परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई आफूहरूलाई पहिलो चरणमा होटल तथा रेष्टुरेन्टसहितका मजदूर एवं व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्धको पाँच हजार खोप तत्काल आवश्यक भएको बताउँछन् । ‘पोखरामा पर्यटन व्यवसायीका लागि भने २० हजार मात्रा खोप आवश्यक भए पनि तत्कालका लागि पर्यटन बजारमा राम्रो सन्देश दिने गरी पाँच हजार खोप व्यवस्था गर्न माग गरेका छौँ’, उनले भने ।

    गण्डकी प्रदेश सरकारले अघिल्लो वर्षमा ल्याएको एक अर्बको व्यवसाय जीवनरक्षा कोष अधिकांश साना तथा मझौला व्यवसायीको पहुँचमा नभएको दाबी गर्दै उनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको किस्ता तथा ब्याज आगामी दुईवर्षसम्म तिर्नसक्ने कुनै सम्भावना नभएकाले कर्जा तालिकालाई पुर्नतालिकीकरण गर्नुपर्ने बताए ।

    मौद्रिक नीतिमा आगामी आर्थिक वर्ष २०७८/०७९ मा पर्यटन प्राथामिकता, प्राप्त क्षेत्रका रुपमा सम्बोधन गरी हरेक बैंकले बढीमा पाँच प्रतिशत ऋण सहुलियत, व्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउनुपर्नेमा व्यवसायीको जोड छ ।

    पोखराको पर्यटनमा सम्भावना देखेर नै लगानीका लागि हात बढाएका व्यवसायीलाई एकपछि अर्को गर्दै आएको कोरोना कहरका शृङ्खलाले मर्माहत बनाएको छ । ढपक्क हिउँले ढाकिएको चाँदीजस्तै टलक्क टल्कने माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमाल, तालमा टलपल पानी पर्यटकको स्वागत गर्न नपाउँदा फिका जस्तै बनेका छन् ।

    पर्यटन क्षेत्र अझै पनि राज्यको प्राथमिकतामा पर्न नसकेको र सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्कमा रहने पर्यटन व्यवसायीलाई हालसम्म पनि कोरोनाको खोप नदिँदा आफूहरूलाई चिन्तित बनाएको व्यवसायी बताउँछन् ।

    विगतमा नियमित मात्र नभई नेपाल भ्रमण वर्ष, गण्डकी प्रदेश भ्रमण वर्ष आदिका नाममा यहाँका पर्यटन व्यवसायीले अधिकतम पर्यटक भित्र्याउने लक्ष्यका साथ ठूलै लगानीमा पूर्वाधार निर्माण गरेका थिए । जनस्तरबाटसमेत ठाउँ–ठाउँमा पर्यटन लक्षित पूर्वाधार विकासलाई निरन्तरता दिइएको छ ।

    कोरोनाका कारण देशका अधिकांश आयोजनासँगै विकास निर्माणमा पनि असर परेको अवस्थामा पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा जनस्तरबाट विशाल महादेवको मूर्ति निर्माण गरिएको छ । पुम्दीकोटमा यतिखेर ५१ फिट उचाइको महादेवको मूर्ति स्थापना गरिएसँगै सो स्थानमा आन्तरिक पर्यटक पुग्ने क्रमले गति लिन थालेको छ ।

    पछिल्ला दिनमा निषेधाज्ञा खुकुलो बन्दै गएपछि आन्तरिक पर्यटकको चाप बढ्न थालेकाले आगामी दिन यो स्थल यस क्षेत्रको महत्वपूर्ण गन्तव्यस्थल बन्ने पोखरा महानगरपालिका–२२ का वडासदस्य मातृका बरालले बताए।

    कोरोनाको डर हुँदा पनि सबैको साथ र सहयोगमा निर्माण कार्यले निरन्तरता पाउँदा महादेवको मूर्ति राख्न सम्भव भएको बताउँदै उनले विस्तारै कोरोनाको प्रभाव कम हुँदै पर्यटनमा नवीनतम् आशा र विश्वास पलाएर जाने विश्वास व्यक्त गरे ।

    समितिका अध्यक्ष एवं निर्माण समितिका संयोजक चन्द्रकान्त बरालका अनुसार पुम्दीकोटका प्रचुर पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै विशाल महादेवको मूर्ति निर्माणका लागि अभियान थालिएको थियो । पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको पुम्दीकोटबाट पोखरा उपत्यकासहित हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ ।

    पुम्दीकोटमा मूर्ति स्थापनाका साथै प्रशासनिक भवन र गुरु महाराज आश्रम पनि निर्माण भइसकेका छन् । समितिले गुरुयोजनाअनुसार आगामी दिन शान्ति आश्रम, सुमेरु पर्वत, ज्येष्ठ नागरिक मिलन केन्द्र, हरियाली बगैँचा निर्माण गर्ने लक्ष्य राखिएको छ ।

    त्यस्तै शिवलीला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर आदि पनि निर्माण गरिने जनाइएको छ । त्यस्तै मूर्ति परिसरमा गणेश, मनोरेल, १०८ धारा, पाँच फिट अग्लो शिवलिङ्ग स्थापना गरिने संयोजक बरालले जानकारी दिए ।

    कोरोनाका बाबजुद पनि स्वास्थ्य सजगता अपनाइ दैनिक २०–२५ जनाले निरन्तर काम गरेका कारण मूर्ति राख्न सम्भव भएको समितिले जनाएको छ । यहाँबाट फेवातालसहितको पोखराबजार, अन्नपूर्ण, माछापुछ्रेलगायत हिमशृङ्खला एकसाथ देख्न सकिन्छ । चाँडै नै कोरोना कहर हट्ने र पर्यटनमा आशा जगाउने बरालले बताए ।

    तथ्याङ्कअनुसार पोखराका होटेल तथा रिसोर्टमा ७०० व्यवसायी आबद्ध छन् । यस व्यवसायमा पर्यटन व्यवसायीको आफ्नो लगानी ५० अर्ब छ भने बैंकको लगानी ७५ अर्ब छ । यस व्यवसायबाट १२ हजार २९८ जनाले रोजगारी पाएका छन् । त्यस्तै रेष्टुरेन्ट तथा बारतर्फ १०० जना व्यवसायी आबद्ध छन् । यसमा रु एक अर्ब व्यवसायीको आफ्नै लगानी छ भने तीन अर्ब बैंकको लगानी छ ।

    ट्रेकिङ एजेन्सिजतर्फ १५९ व्यवसायी आबद्ध भएका छन् र यसमा व्यवसायीको आफ्नै ३२ करोड लगानी छ । यसमा ४२ करोड ९७ लाख ६० हजार बैंकको लगानी छ । यसबाट एक हजार २७२ जनाले रोजगारी पाएका छन् । ट्राभल्स एजेन्सिजतर्फ १८१ जना व्यवसायी आबद्ध भएकामा उनीहरूको आफ्नै लगानी ७९ करोड ७५ लाख ५० हजार छ भने १८ करोड ६० लाख ९५ हजार रुपैयाँ बैंकको लगानी छ ।

    पोखरामा पर्यटन सम्बद्ध प्याराग्लाइडिङ तथा अल्ट्रालाइट, ट्रेकिङ इक्युपमेन्ट सप, इम्ब्रोडयरी एण्ड गार्मेन्ट सप, पर्यटक यातायात व्यवसायी, गाउँ पर्यटन, पर्वतारोहण आदिमा व्यवसायीको करौडौँ रुपैयाँ लगानी छ भने बैंकको लगानी पनि त्यत्तिकै रहेको छ । पोखरामा सबै किसिमका पर्यटनसम्बद्ध व्यवसायमा झण्डै २१ हजार जनशक्तिले रोजगारी पाएका छन् । कोरोना कहरका कारण व्यवसाय नै बन्द हुँदा यस क्षेत्रमा खटिने जनशक्तिलाई कसरी जोगाउने भन्ने चिन्ता छ ।

    पोखराका साथै गण्डकी प्रदेशका विभिन्न जिल्लाका गाउँमा घरबास कार्यक्रमअन्तर्गत पनि ठूलै लगानी भइसकेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले बताए । कोरोनाको कहर विस्तारै कम हुँदै जाने र पर्यटन क्षेत्र चलायमान हुने विश्वासका साथ गाउँ पर्यटनलाई प्रविधिमैत्री बनाउन पहल गरिएको उनले बताए ।

    प्रदेशमा सञ्चालित घरबास सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको सहयोग एवं गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको संयोजनमा हालै होमस्टे मोबाइल एप सेवा सञ्चालनमा ल्याइएको छ ।

    ‘प्रदेशभित्रका घरबासलाई अनलाइन प्रविधिमार्फत बुकिङ गर्न मिल्ने, पैसा तिर्न मिल्ने सुविधा एवं सबै घरबासबारे बुझ्न मिल्ने गरी होमस्टे मोबाइल एप सञ्चालनमा ल्याएका हौँ’, उनले भने ।

    मोबाइल एप पहिलो चरणमा यो भिटोफ गण्डकी प्रदेशबाट सञ्चालन हुने र सम्बन्धित होमस्टे सक्षम भएपछि उनीहरूले नै सञ्चालन गर्ने व्यवस्था मिलाइने छ । एपमार्फत हाल ५० वटा होमस्टे बुकिङ गर्न मिल्ने छ भने अन्य २५४ होमस्टेका विवरण त्यहीबाट जानकारी लिन सकिने छ । पोखराको पर्यटनलाई विसं २०७२ को विनाशकारी भूकम्पसहित त्यसयता भएका नाकाबन्दी, टर्किस् एयरको जहाज दुर्घटना, अन्नपूर्ण क्षेत्रको हुदहुद आँधी, डेङ्गु, बर्डफ्लू, बाढीपहिरोजस्ता धेरै घटनाक्रमले प्रभावित पारे पनि यति लामो समयसम्म प्रभावित भएको भने पहिलो पटक हो ।

    पछिल्ला वर्षमा सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटक आएका थिए भने सन् २०१९ मा ११ लाख ९७ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२० को भने सुरुआतदेखि नै कोरोना कहरका कारण पर्यटक आवागमन प्रभावित बनेको छ । नेपाल आउने पर्यटकमध्ये पोखरा क्षेत्रमा करिब ४० प्रतिशत आउने गरेका छन् ।

    हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्य पोखरा बास बसेका थिए । त्यस समयमा पोखरामा त्यस्तो पर्यटकीय पूर्वाधार केही बनिसकेको पनि थिएन । त्यसको एक दशकपछि सन् १९६० देखि पोखरामा ‘हिप्पी’ पर्यटकको आगमन भएसँगै यहाँको पर्यटकीय गतिविधि बढेको पाइन्छ । सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्दा पनि उनीहरूले आउँदाजाँदा बस्ने ठाउँ पोखरा नै रोजेका थिए । हिप्पी पर्यटकको आगमनपछि थलिएको पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि विस्तारै फस्टाउन थालेको हो ।

    माछापुच्छे« हिमालको छायाँ देखिने फेवातालका साथै दृश्यावलोनका लागि सराङ्कोट, विश्वशान्ति स्तूपा, काहुँडाडा, पुम्दीकोट, हुडिकोट, ठूलाकोट, भरतपोखरीस्थित मल्लकालीन कोटभैरव जस्ता धेरै स्थान यहाँका पर्यटकीय आकर्षण हुन् । महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीचभाग भएर बग्ने सेती नदी र पातले छाँगो पोखरा आउने पर्यटकले नछुटाउने गन्तव्य हुन् ।

    यी स्थानका अतिरिक्त रामसार सूचीमा सूचिकृत फेवातालसहित पोखराकै कमलपोखरी, लेखनाथ क्षेत्रका वेगनाश, रुपा, खास्टे, दिपाङ, मैदी, न्युरेनी जस्ता तालले पोखरामा पर्यटकलाई लोभ्याउने गरेको छ । पोखरा हुँदै हिमालपारीको जिल्लास्थित पवित्र तीर्थस्थल मुक्तिनाथको दर्शनमा जाने दर्शनार्थी हुन् वा यही आसपासका तालबाराही, विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेवलगायतका स्थलमा दर्शनका लागि पनि पर्यटक आउने गर्दछन् ।

    कोरोना कहरका बाबजुद पनि चाँडै नै पर्यटन क्षेत्र चलायमान बन्ने विश्वासका साथ पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटकीय ‘ब्रान्डिङ’ गर्ने विषयलाई प्राथमिकतामा राखिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताए। ब्रान्डिङकै क्रममा विगतमा प्याराडाइज पोखराका नामबाट परिचित पोखरालाई अब ‘पोखरा, पियोर एज प्याराडाइज’ भनी उल्लेख गरिएको भण्डारीले जानकारी दिए ।

    पर्यटन क्षेत्रलाई बचाउनका लागि त्यहाँ काम गर्ने मजदूरलाई टिकाउनु जरुरी भएकाले उनीहरूलाई आगामी दिनमा पदयात्रा मार्गको संरक्षण, मर्मतसम्भार आदिमा लगाउने लक्ष्य राखिएको भण्डारीले जानकारी दिए ।

    ‘घरबासका पूर्वाधार विकास आदिका लागि पनि पर्यटन क्षेत्रका मजदूरलाई रोजगारी सिर्जना गर्ने सोचका साथ समुदायमा आधारित रोजगारी सिर्जना गर्ने किसिमका कार्यक्रम पनि अघि बढाउने सोचमा छौँ’, उनले भने । रासस

  • कास्कीमा जेठ १४ सम्म निषेधाज्ञा थपियो

    कास्कीमा जेठ १४ सम्म निषेधाज्ञा थपियो

    पोखरा । कास्कीका जेठ १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कोरोनाको संक्रमण दर दैनिक उकालो लाग्दै नियन्त्रणमा नआएपछि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

    प्रशासनद्वारा जारी सूचनामा आफू सम्मिलित हुने गरी मृत्यु संस्कारबाहेक अरु कुनै गतिविधिमा सरिक नहुन पनि आग्रह गरेको छ ।

    यसअघि जेठ ७ गतेसम्म लकडाउन घोषणा गरिएको थियो । कास्कीमा बुधबारसम्म कोरोनाबाट २ सय २० जनाको मृत्यु भइसकेको छ । बुधबारमात्रै कास्कीका ८ जना संक्रमितको मृत्यु भएको थियो ।

    कास्कीमा अझै ३ हजा ९५६ सक्रिय कोरोना संक्रमित छन् ।

  • पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने

    पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने

    पोखरा । महानगरभित्रका विद्यालयहरुमा वार्षिक परीक्षा नहुने भएको छ । महानगर शिक्षा महाशाखाले मंगलबार एक सूचना जारी गरी परीक्षा नहुने जानकारी गराएको हो ।

    कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएकाले यसअघि भएका त्रैमासिक, अर्धवार्षिक तथा आन्तरिक मूल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्न महाशाखाले निर्देशन जारी गरेको छ ।

    शिक्षा महाशाखा प्रमुख हेमप्रकाश आचार्यद्वारा हस्ताक्षरित सूचनामा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्नासमेत असार १ गतेबाट सुरु गर्न भनिएको छ । तर, कक्षा ८ को हकमा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार अर्को सूचना प्रकाशन गरिने शिक्षा महाशाखा प्रमुख आचार्यले जनाएका छन् ।

    कोरोना महामारी बढ्दै गएपछि केही समय अघि निजी तथा सरकारी विद्यालयका प्रतिनिधिसँग मेयर मानबहादुर जिसीसँग भएको छलफलमा सबै परीक्षा बैशाख मसान्तभित्र सक्ने निर्णय भएको थियो । उक्त बैठकमा मेयर जिसी स्वयं परीक्षा स्थगित हुँदा विद्यार्थीमा मानसिक असर पर्ने भएकाले परीक्षा जसरी पनि सञ्चालन गर्नुपर्ने अडानमा थिए ।

    तर, कास्कीमा दिनानुदिन संक्रमणदर उकालो लागेपछि बैशाख १५ गतेबाट निषेधाज्ञा जारी भएको थियो । जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञा जेठ ७ गतेसम्म लागु हुनेछ । कास्कीमा सोमबारसम्म १४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १० हजार जनाले कोरोना जितिसकेका छन् भने २ सय ९ जनाको मृत्यु भएको छ ।

  • कोभिड बिरामीलाई विवेकशील साझाको ‘तातो भात’

    कोभिड बिरामीलाई विवेकशील साझाको ‘तातो भात’

    पोखरा । गण्डकी प्रदेशको एकमात्र कोभिड अस्पतालमा बिरामीले बेड भरिएपछि अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि उस्तै चाप छ । दैनिक ठूलोमात्रामा कोरोना संक्रमितको संख्या थपिँदै जाँदा अस्पतालका बेडहरु पनि भरिँदै जान थालेका छन् ।

    कोभिड महामारी फैलिँदै जान थालेपछि जेठ ७ सम्मका लागि कास्की लकडाउनमा छ । लकडाउनमा अत्यावश्यकबाहेक होटल तथा रेस्टुरेन्टजन्य सम्पूर्ण गतिविधि बन्द गरिएको छ । यसले एकातिर कोरोना महामारीको ‘चेन ब्रेक’ गर्ने प्रशासनको दाबी छ भने अर्कातिर अस्पतालमा भर्ना भएका बिरामी र कुरुवालाई खाना बस्नको सकस परिरहेको छ ।

    यसको उदाहरण पश्चिमाञ्चल अस्पतालकै कोभिड आइसोलेसनमा भर्ना भएका संक्रमित र उनीहरूका कुरुवालाई लिन सकिन्छ । अस्पताल वरपरका होटल तथा रेस्टुरेन्ट पूर्ण रूपमा बन्द भएपछि विवेकशील साझा पार्टीले ‘कोभिड विरामीलाई तातो भात’ अभियान सञ्चालन गर्ने भएको छ ।

    साझाको उक्त अभियान अन्तर्गत अस्पतालमा भर्ना भएका कोभिड बिरामी, उनीहरूका कुरुवा र आइसोलेसन वार्डमा कार्यरत स्वास्थ्यकर्मी गरेर दैनिक २ सय छाक खाना खुवाउने तयारी रहेको विवेकशील साझा पार्टीका पोखरा महानगर संयोजक अजय श्रेष्ठले जानकारी दिए ।

    ‘कोभिड अस्पतालका अवस्था बुझ्दै जाँदा पश्चिमाञ्चलमा धेरै बिरामी भर्ना भएको पाइयो । नजिकका होटल, रेस्टुरेन्ट नहुँदा उनीहरू भोकै बस्नुपर्ने स्थिति रै’छ,’ श्रेष्ठले भने, ‘बिरामी र उनीहरूका आफन्तलाई केही भए पनि सहयोग होस् भनेर यो अभियान सुरु गरेका हौं ।’

    अस्पतालमा अहिले ७७ जना भन्दा बढी कोभिडका बिरामी उपचाररत छन् । भर्ना भएका अधिकांश कोभिड संक्रमितको अवस्था गम्भीर छ । अभियान अन्तर्गत आइतबार साँझदेखि नै सुरु खाना खुवाउन सुरु गर्ने संयोजक श्रेष्ठले बताए । प्रत्येक कोभिड संक्रमितका २ जना कुरुवा पनि हुने हुनाले कम्तिमा २ सय छाक दैनिक खुवाउने उनले सुनाए ।

    ‘पहिलो चरणमा हामीले १० दिनका लागि यो अभियान चलाएका हौं । हामीले साँझमात्रै खाना खुवाउने हो,’ श्रेष्ठले भने, ‘त्यसपछि हामीसँग अन्य मनकारी मनहरू पनि पक्कै जोडिनुहुनेछ । त्यहाँहरू जोडिइसकेपछि अझै धेरै समय लैजाने सोचमा छौं ।’

    कोभिड बिरामीका लागि लेकसाइडको गडफाडर पिज्जेरियाको भान्सामा खाना तयार पारिने श्रेष्ठले जानकारी दिए । उनले खानामा ६ दिन शाकाहारी र एक दिन मासु उपलब्ध गराउने योजना रहेको बताए । ‘उहाँहरूलाई हामीले प्याकेट खाना दिने हो । अस्पतालसँग समन्वय गरिसकेका छौं । अस्पतालको प्राङ्गणमा लगिसकेपछि उहाँहरूको आफन्त खाना लिन आउनुहुन्छ,’ उनले भने ।

    पार्टीका महानगर सहसंयोजक विपना कुँवरले पोखराकै गण्डकी मेडिकल कलेजमा पनि अभियान चलाउनेबारे योजना रहेको जानकारी दिइन् । ‘अहिले सरकारी अस्पतालाई नै मुख्य टार्गेटमा राखेका छौं । यहाँ धेरै टाढाका गाउँबाट पनि आउनु भएको रहेछ । उहाँहरूसँग सीमित आर्थिक स्रोत हुने भएकाले भार नपरोस् भन्ने हाम्रो चाहना हो,’ उनले भनिन्, ‘जिएमसीलाई पनि टार्गेट गरेका छौं । त्यहाँ पनि अभियान लैजाने योजना छ ।’

  • विद्यालय बन्द नगर्ने, संक्रमण बढे विद्यालय नै जिम्मेवार !

    विद्यालय बन्द नगर्ने, संक्रमण बढे विद्यालय नै जिम्मेवार !

    पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । त्यसमध्ये अधिकांश संक्रमित कास्कीका छन् । पछिल्लो समय पुष्टि भइरहेका कोरोना संक्रमित विद्यालयस्तरका बालबालिका छन् ।

    आफ्ना स्कुलका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण भेटिएको भन्दै अहिले पोखराका अधिकांश निजी स्कुलले भौतिक पढाइ बन्द गर्दै अनलाइन कक्षा सुचारु गरिसकेका छन् । तर, कोरोना संक्रमण जोखिम बढ्दै गएको समयमा विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा अहिले पोखराका विद्यालय सञ्चालकहरु नै अन्यौलमा छन् ।

    निजी विद्यालयहरु सरकारले तोकेको मापदण्ड पूरा गर्दै विद्यालयलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् भने सरकारी विद्यालयहरु केही समय बन्द गर्नुपर्ने पक्षमा छन् । एसइईलगायत वार्षिक परीक्षाहरु नजिकिँदै गर्दा विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने अन्यौलबीच पोखरा महानगरले शनिबार पोखरा क्षेत्रका विद्यालय सञ्चालकसँग छलफल कार्यक्रम राख्यो ।

    प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले पनि विद्यालय, होस्टल आदिबाट कोरोना संक्रमण बढिरहेकाले केही दिन स्कुल बन्द गर्न सुझाइरहेको छ । ‘युके भेरियन्ट’ प्रजातिको कोरोना महामारीको दोस्रो लहरबारे चर्चा चलिरहँदा सरकारले कास्कीसहित देशभरका १४ जिल्लालाई ‘अतिप्रभावित’ जिल्ला घोषणा गरिसकेको छ ।

    तर, पोखरा महानगरले भने तत्काल विद्यालय बन्द नगर्ने र खुलेका विद्यालयबाट कोरोना संक्रमण फैलिएमा स्वयं विद्यालय नै जवाफदेही हुुनुपर्ने नीति लिएको छ । पोखरा महानगरका मेयर मानबहादुर जिसी अघिल्लो वर्ष पनि कोरोना महामारीका कारण विद्यार्थीले मानसिक यातना भोग्नु परेको र यस वर्ष पनि सोही अवस्था दोहोरिन नदिने बताउँछन् ।

    ‘परीक्षाहरु अहिले तत्काल नगरौं । बैशाख १० गते पछि हुने परीक्षाहरु भने गरौं । अर्को महिनासम्म सबै परीक्षाहरु सकौं,’ छलफलमा उपस्थित विद्यालय सञ्चालकहरुलाई मेयर जिसीले भने, ‘तर, यो माग तपाईंहरुकै हो । भोलि तलमाथि केही भयो भने तपाईंहरु भड्खालामा पर्नुहुन्छ ।’

    ‘कास्की अतिप्रभावित जिल्ला हुँदै होइन’

    कोरोनाको न्यू भेरियन्ट नदेखिएको र हाललाई जोखिम पनि नभएकाले कास्की अतिप्रभावित जिल्ला नभएको मेयर मानबहादुर जिसीले गरेका छन् । छलफल कार्यक्रममा उनले स्थानीय तहसँग छलफल नगरी कास्कीलाई अतिप्रभावित जिल्लामा राखिएको भनाइ राखे ।

    ‘यहाँको वस्तुस्थितिबारे हामी अध्ययन गर्छौं । हामी एनलाइसिस गरिराखेकै छौं । कास्कीलाई कोरोनाको अतप्रभावित जिल्लाका रुपमा नराखेको भए हुन्थ्यो,’ मेयर जिसीले भने, ‘यहाँ धेरै पर्यटक आउने भएर पो हो कि !’ उनले बिनाअध्ययन स्कुलहरु बन्द गर्दा विद्यार्थीलाई मानसिक आघात पुग्ने दाबी गरे ।

    पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्यले स्कुलले पढाउञ्लेज पढाइ जारी राख्ने र समस्या उत्पन्न भएमात्रै निर्णय गरिने सुनाए । उनले भने, ‘अहिले नै पढाइ बन्द गर्ने निर्णय भएको छैन । तर, १० गते पछाडि आफूअनुकुल परीक्षाहरु सञ्चालन गर्ने छलफल भइरहेको छ ।’

    ‘मन्टेश्वरी बन्द नगरौं, परीक्षा हुँदैन’

    २ महिनाभित्र सबै परीक्षा सक्नु पर्ने महानगरको निर्णयलाई भने कास्की मन्टेश्वरी एसोसियसनले विरोध गरेको छ । मन्टेश्वरी कक्षा चलेको ३ महिना पनि पूरा नभइसकेको अवस्थामा आफूहरु परीक्षा लिन नसक्ने एसोसियसन अध्यक्ष मिलन केसीले बताइन् ।

    माघ पछिमात्रै मन्टेश्वरी खुला गर्न अनुमति पाएको र बैशाखमै परीक्षा गर्न नसक्ने केसीको भनाइ छ । ‘ससाना केटाकेटी छन् । उनीहरु भर्खर हामीसँग आएका छन् । यस्तोबला उनीहरुलाई कसरी अघिल्लो कक्षाका लागि पठाउन सकिन्छ ?’ उनले भनिन्, ‘हामी परीक्षा गर्न सक्दैनौं । पढाइ जारी राख्न पाउनुपर्छ । तर, यसका लागि अभिभावकको स्वीकृति हुनुपर्छ ।’

  • बलात्कार मुद्दा मिलाइदिने भन्दै पीडकसँग पैसा असुल्ने वकिल पक्राउ

    बलात्कार मुद्दा मिलाइदिने भन्दै पीडकसँग पैसा असुल्ने वकिल पक्राउ

    पोखरा । बलात्कार गरेको आरोपमा पक्राउ परेका एक प्रतिवादीको मुद्दा मिलाइदिने प्रलोभन देखाएर पैसा असुल्ने एक जना वकिल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार ५८ वर्षीय अधिवक्ता लक्ष्मीबहादुर घिमिरेलाई पक्राउ गरेको हो ।

    लमजुङ दोर्दी गाउँपालिका-३ स्थायी घर भएका घिमिरे पुरानो कानुन व्यवसायी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

    घिमिरेले जबर्जस्ती करणी आरोप पक्राउ परेका आरोपीसँग मुद्दा मिलाइदिने भन्दै एक करोड रुपैयाँ माग गरेको पाइएकाले पक्राउ गरिएको डिएसपी हमालले जानकारी दिए ।

    ‘सुरुमा पीडकसँग एक करोड रूपैयाँ माग गरेका रहेछन् । पछि बार्गेनिङ चल्दै जाँदा १५ लाखमा कुरा मिलेको रहेछ,’ डिएसपी हमालले भने, ‘त्योमध्ये एक लाख १० हजार रुपैयाँ क्यास लिइसकेको रैछ । बाँकी १२ लाखको चेक लिँदा लिँदै राष्ट्र बैंक चोकमा प्रतिनिधि समायौं ।’

    प्रहरीले फागुन १९ गते राष्ट्र बैंक चोकबाट बलात्कार मुद्दा मिलाइदिने भन्दै पीडक परिवारसँग चेक बुझिरहेकोबेला २ जनालाई पक्राउ गरेको थियो । त्यतिबेला प्रहरीले उनीहरूबाट उनीहरूबाट कामना सेवा विकास बैंकको ६/६ लाखका दुई वटा चेक, अन्य विभिन्न बैंकका चेक तथा भौचर, विभिन्न कम्पनीका ४ थान मोबाइल फोन बराबद गरेको थियो ।

    ‘उनीहरूको बयानका क्रममा बुझ्दै जाँदा यसको मास्टरमाइन्ड ‘वकिल साप’ पो रहेछन्,’ डिएसपी हमालले भने । पक्राउ परेका घिमिरेलाई ४ दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले जानकारी दिए ।

    ‘पहिले पक्राउ परेका २ जनालाई ठगी मुद्दामात्रै थियो । तर, अहिले आएको नयाँ अध्यादेश अनुसार बलात्कारजन्य घटनामा मेलमिलाप गर्न नपाइने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बलात्कारका मतियार ठहरिएका छन्,’ उनले भने, ‘घिमिरेलाई त्यही अनुसार कानुनी कारबाही हुन्छ ।’

    पोखराकै एक युवतीलाई पटकपटक बलात्कार गरेको आरोपमा ६ महिनादेखि फरार अभियुक्त करिब २० दिनअघि पक्राउ परेका थिए । पक्राउ परेका ती ५७ वर्षीय पुरुषको मुद्दा मिलाइदिने भन्दै पैसा असुल्ने खोजेको आरोपमा ३ जना पक्राउ परिसकेका छन् ।

    यो पनि पढ्नुहोस्

    बलात्कार मुद्दा मिलाइदिन्छौं भन्दै करोडौं पैसा माग्ने दुई जना पक्राउ

  • पोखरामा ट्राफिक जाम बढ्दो, आकाशेपुल निर्माणमा अलमल

    पोखरामा ट्राफिक जाम बढ्दो, आकाशेपुल निर्माणमा अलमल

    पोखरा । पोखरा पृथ्वीचोक केन्द्र भएर दैनिक एक लाख बढी संख्यामा साना तथा ठूला सवारी साधन गुड्छन् । सवारी साधनको अत्यधिक चाप हुँदा पछिल्लो समय पोखरामा ट्राफिक जाम बढेको छ ।

    विशेषगरी पोखराको पृथ्वीचोक, सिर्जनाचोक, महेन्द्रपुल, सभागृह चोकलगायत ठाउँमा गाडी तथा यात्रुको बाक्लो आउजाउ हुँदा अत्यधिक जाम हुने गर्छ । जामलाई व्यवस्थपान गर्न पोखरा महानगरले आर्थिक वर्ष ०७५/७६ मा एक करोड रुपैयाँ विनियोजन गर्यो । विनियोजित बजेटको उद्धेश्य थियो, ‘व्यस्त चोकमा आकाशेपुल बनाउने, जाम घटाउने ।’

    आकाशेपुलका लागि तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले सांसद पूर्वाधार विकास कोषबाट ५० लाख रुपैयाँसमेत विनियोजन गरिसकेका थिए । शुरुमा ३ ठाउँमा आकाशे पुल बनाउने भनिए पनि पछि महानगरको योजना सिर्जना चोकमा मात्र सीमित भयो ।

    सिर्जना चोकमा आकाशे पुल बनाउन उक्त आर्थिक वर्षको अन्तिम समय जेठमा १५ महिनाभित्र सक्ने गरी महानगरले केएम/जेबिएनएस पोखरा जेबीसँग सम्झौता गर्यो । ०७६ जेठ ५ गते सम्झौता भएको सम्झौताअनुसार २०७७ साउन २७ गते निर्माण सक्ने लक्ष्य थियो ।

    तर, निर्धारित समयमा काम शुरु हुन सकेन । सम्झौता भएको करिब ५ महिना अर्थात् मंसिरमा मात्रै आकाशे पुलको शिलान्यास भयो । पुलको शिलान्यास गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । अहिले कुल २ करोड ३० लाख ११ हजारको लागतमा सिर्जनाचोकमा ‘स्टिल ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रिज’ निर्मार्णाधीन छ ।

    सम्झौताबमोजिम समयमै आकासे पुल नबनेपछि महानगरले वैैशाखसम्मका लागि समयावधि थप गरेको छ । तर, वैशाखसम्म पनि पुल निर्माणको काम नसकिने देखिएको महानगरकै प्राविधिक बताउँछन् ।

    आकाशे पुलका लागि राखिने पोल बिजुलीको पोलभन्दा अग्लो हुने र त्यसलाई हटाउन विद्युत् प्राधिकरणले ढिलाइ गरेका कारण काम सुस्त बनेको पोखरा ८ वडाध्यक्ष रुद्रनाथ बराल बताउँछन् । ‘पोल हटाउन प्राधिकरणसँग स्वीकृति लिनुपर्छ । स्वीकृति लिएर पनि प्राधिकरणले लामो समयसम्म पोल हटाइदिएन, त्यसले धेरै ढिलो भयो,’ उनले भने ।

    पुलका लागि आवश्यक १६ मिटर उचाइको पोल पाउन गाह्रो भएको र त्यसलाई डिजाइन गरेर बनाउन दिँदा पनि काममा ढिलाइ भएको अध्यक्ष बरालको भनाइ छ । उनले भने, ‘त्यो उचाइको पोल यहाँ नपाइने रहेछ । डिजाइन गरेर प्राविधिकलाई बनाउन लगाउँदा ढिलो भयो ।’

    थपिएको म्याद सकिन २ महिनामात्रै बाँकी हुँदा आकासे पुलको जम्मा ६० प्रतिशत भौतिक प्रगति पूरा भएको इन्जिनियर राजु रेग्मीको भनाइ छ । ‘ग्राउन्ड लेबलका सबै काम पूरा भइसकेका छन् । अब बाँकी भनेको फिटिङको मात्रै काम हो,’ भने, ‘अब धमाधम काम सुरु हुन्छ ।’

    सम्झौताबमोजिम वैशाखमै काम नसकिए पनि चालु आर्थिक वर्षभित्रै सक्ने गरी महानगर लागिरहेको रेग्मीले सुनाए । उनले भने, ‘बीचमा कोरोनाका कारण पनि ढिलाइ भाथ्यो, अहिले विद्युतले पोल पनि हटाइसक्यो । समयमै पुल निर्माण हुन्छ । नभए यही आर्थिक वर्षको अन्त्यमा जसरी पनि सक्ने भनेका छौं ।’

    एक ठाउँबाट चढेर चारै दिशाबाट सजिलै ओर्लन सकिने गरी पुलको डिजाइन गरिएको महानगरको भनाइ छ । पुलका लागि जमिनमुनी सिमेन्ट र माथि बन्ने सबै संरचनामा स्टिल प्रयोग गरिँदैछ ।

  • प्रधानमन्त्री ओली १७ गते पोखरा आउँदै

    प्रधानमन्त्री ओली १७ गते पोखरा आउँदै

    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली फागुन १७ गते पोखरा आउने भएका छन् । आफूनिकट कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा आउने प्रदेश सांसद राजीव पहारीले जानकारी दिए ।

    यसअघि प्रधानमन्त्री ओली फागुन १५ गते जनसभालाई सम्बोधनका लागि आउने कार्यक्रम तय थियो । तर, उक्त सम्बोधन अहिले स्थगित गरिएको छ । ‘त्यो विशेष परिस्थितिका कारण कार्यक्रम स्थगित गर्‍यौं । तर, १७ गते उहाँ आउनुहुन्छ,’ सांसद पहारीले भने, ‘कार्यक्रमको स्वरुप र समयमात्रै परिवर्तन भएको हो ।’

    कार्यकर्ता भेलालाई सम्बोधन गर्न अन्य शीर्ष नेताहरू पनि उपस्थित हुने बताइएको छ ।

    फागुन १५ गते हुने भनिएको जनसभालाई सफल पार्न युवा संघका पूर्वअध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजीव पहारीको संयोजकत्वमा २२ हजार २२२ जनाको स्वयंसेवक समिति गठन गरिएको थियो ।

  • ‘विपद्को कारक नै डोजरे विकास !’

    ‘विपद्को कारक नै डोजरे विकास !’

    पोखरा । गत असारमा पोखरा १८ सराङकोटमा पहिरो जाँदा ५ जनाले ज्यान गुमाए । जन्मदिनको छेको पारेर रमाइलो गरिरहेका उनीहरूको मध्यरातमा आएको पहिरोले ज्यान लियो । बर्खाकै मौसम भएपनि त्यो पहिरोको कारक भने महानगरको बाटो बन्यो ।

    ठेक्का सम्झौता भएर पनि समयमै कालोपत्रे नगर्दा बर्खामा पहिरो निम्त्याएको सरोकारवाला निकायले आवाज उठाएका थिए । असारमै लमजुङ ७ सातबेसीमा पहिरो जाँदा ३ जनाले ज्यान गुमाउनु पर्‍यो । सातबेसीमा गएको पहिरोको कारक पनि बस्तीमाथिबाट गएको बाटोकै कारण थियो । उक्त पहिरोमा परेर ३ जना घाइते भएका थिए ।

    चालु आर्थिक वर्षमा गण्डकी प्रदेशमा बाढी पहिरोबाटमात्रै १ सय २७ जनाले ज्यान गुमाएका छन् । २४ जना अझै वेपत्ता छन् । असार यता भएका ती अधिकांश बाढी पहिरोलगायतका प्राकृतिक विपत्तिको मुख्य कारक भने ‘डोजरे विकास निर्माण’ नै ठहरिए ।

    विकासका नाममा अन्धाधुन्ध बाटो खन्ने र भूगोलको वस्तुस्थितिलाई ध्यान नदिँदा पछिल्लो समय प्राकृतिक विपद् बढ्दै गएको विज्ञ बताउँछन् । शुक्रबार जलवायुजन्य विपद् तथा वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन विषयक कार्यक्रममा बोल्ने अधिकांश वक्ताले अव्यवस्थित विकास निर्माणले गर्दा प्राकृतिक विपद व्यहोर्नु परिरहेको बताए ।

    राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको उक्त कार्यक्रममा वक्ताहरूको मत थियो, ‘गाउँगाउँमा सडक पुर्‍याउने होडबाजीले भूक्षयीकरण भइरहेको छ । विकास नै विपद्को कारक भइरहेको छ ।’

    प्राधिकरणका सहसचिव कृष्णहरि पुष्करले बाटो चाहिने तर, त्यसका लागि व्यवस्थित तरिका नअपनाउँदा धेरै घटना घट्न पुगेको बताए । ‘हामीलाई एकातिर बाटो चाहिएको छ । अर्कातिर अव्यवस्थित तरिकाले डोजरले खनिरहेका पनि हुन्छौं । यसले पहिरोको समस्या निम्त्याइरहेको छ,’ उनले भने ।

    पुष्करले जलवायु परिवर्तन, बाढी पहिरोबारे पुर्वानुमान गर्न नसकिने भएकाले पनि त्यसले ठूलो असर पार्ने बताए । उनले ती घटनाहरूलाई व्यवस्थापन गर्न पनि उत्तिकै गाह्रो रहेको सुनाए । ‘सबैभन्दा महंगो, ठूलो र जटिल भनेकै विपद्, जलवायु परिवर्तन हो । पूर्वानुमान गर्न नसकिने भएकैले कहाँ कस्तो खाल्को पूर्वाधार चाहिन्छ थाहै हुँदैन ।’

    विपद् व्यवस्थापनमा काम गर्ने संघसंस्था, सरकारी निकायबीच सहकार्य नहुँदा पनि प्रभावकारी रुपले काम गर्न नसकिएको पुष्करको गुनासो छ । उनले कुनै अमुक मन्त्रालय वा संघसंस्थाले सहकार्य, समन्वय खोज्नुको साटो एकलौंटी काम गर्न खोजेर झन् समस्या थपिँदै गएको बताए ।

    ‘अहिले आएर पनि १८ औं शताब्दीको शैलीमा काम गर्न खोज्नुहुन्छ । आआफ्नै तालमा ताली बजाउँदै हिँडिरहनुभएको छ,’ पुष्करले भने, ‘यसरी विपद् व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धि हाम्रो अभियान प्रभावकारी रूपले अघि बढ्न पाएको छैन । यसबारे हुने रिपोर्ट, रिसर्च पनि डुब्लिकेसन हुने समस्या बढेर गएको छ ।’

    कार्यक्रममा वक्ताहरूले पछिल्लो समय प्राकृतिक विपद्, जलवायु परिवर्तन विश्वकै चुनौतिका रुपमा आइरहेको र यसका लागि गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए । ‘अहिले त प्राकृतिक विपद्का स्वरुप पनि फेरिन थालेका छन् । पहिले सानोमा रुख रोप्नाले बाढी पहिरो रोक्छ भनेर पढ्यौं,’ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने, ‘तर, पछिल्ला समयका बाढी पहिरो रुख, पातहरू भएको ठाउँमै बढी गएको देखिन्छ ।’
    पोखरेलले जलवायु परिवर्तनले पनि प्राकृतिक विपदको स्वरुप फेरिँदै गएको बताए । तर, जलवायु परिवर्तनलाई चुनौतिका रुपमा नहेरी अवसरका रुपमा पनि लिन सकिने उनको भनाइ थियो । ‘क्लाइमेट चेन्ज चुनौतिमात्रै होइन । अवसर पनि दिन्छ । योबेला हामीले बद्लिएको क्लाइमेट अनुसार चेन्ज हुन सिक्नुपर्छ ।’

    गण्डकी प्रदेश ३७.१ प्रतिशत वनजंगलले ढाकेको छ । अघिल्लो वर्षभन्दा यसवर्ष थोरै पानी परेकाले गण्डकीमा डढेको सम्भावना रहेको राष्ट्रिय जल तथा मौसम विज्ञान विभाग उपमहानिर्देशक डा अर्चना श्रेष्ठले बताइन् ।

    ‘वनजंगलमा डढेलो लाग्न त्यहींकै झारपात सुक्दै गएर फ्युलको भूमिका निभाउनले हो । त्यसमा पनि गण्डकी प्रदेश अत्याधिक चट्याङ पर्ने ठाउँ हो,’ उनले भनिन्, ‘यो वर्ष आवश्यकताभन्दा थोरै जम्मा २० प्रतिशतमात्रै पानी परेकाले पनि यो वर्ष अझै सचेत रहनुपर्छ ।’

    अध्ययन अनुसार चालु वर्षमा मनाङ र नवलपुरमा सर्वाधिक आगलागीका घटना भएका छन् । जसमध्ये मनाङमा मात्रै २ महिनाको अन्तरालमा ५ ठाउँमा आगलागी भएको थियो । सशस्त्र प्रहरी बल, मनाङका डिएसपी होमनाथ पन्थीका अनुसार मनाङमा भएका आगलागीबाट करिब २ हजार ९५० हेक्टर क्षेत्रफल जलेर नष्ट भएको छ ।

    जलवायु परिवर्तन, विवद व्यवस्थापन तथा न्यूनीकरणबारे थुप्रै नीति नियम भएपनि कार्यान्वयनमा हेलचक्र्याइ भएको बताए ।

    विपद आए टेक्ने हाँगो छैन: मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विपद् परिआएको बेला त्यसलाई व्यवस्थापन गर्न प्रदेशसँग टेक्ने हाँगो नभएको बताए । उनले विपद् व्यवस्थापनका लागि कि सिडिओ कार्यलय र कि स्थानीय तहसँग गुहार्नु पर्ने बाध्यता रहेको सुनाए ।

    विपद्‍मा परेकाको उद्धार र व्यवस्थापन गर्न पनि लामो प्रक्रिया अप्नाउनुपर्दा समस्या सुल्झिनुको साटो झनै बल्झिने मुख्मन्त्री गुरुङको भनाइ थियो । उनले विपद् व्यवस्थापनका लागि नेपाली सेनाको रोहवरमा हुने गरी हेली माग गर्दासमेत वेवास्ता गरिएको सुनाए ।

    ‘प्रदेशमा उद्धारका लागि एउटा हेलिकप्टर चाहिन्छ भनेर माग गर्‍यौं । तर, त्यो सिडिओ कार्यालयदेखि आर्मी कमान्ड, हार्मी हेडक्वाटर हुँदै, गृहमन्त्रालयसम्म चिठी पुग्नुपर्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘जमाना आइटीको छ । तर, चिठी ९० सालको शैलीमा पुग्छ । अनि कसरी हुन्छ ?’
    मुख्यमन्त्री गुरुङले सरकारी कार्यालयहरूमा हुने लामो प्रक्रियाले पनि विपद् व्यवस्थापन तथा न्यूनीकरणमा प्रभावकारी भूमिका देखाउन नसकिएको समीक्षा गरे । ‘हामीसँग लम्बेतान प्रोसेस हुन्छ । विधि लामो छ भनेर पहिरो ढिलो खस्छ ? दुर्घटनामा परेको मान्छेले लामो श्वास तानेर बस्छ ?’ उनले प्रश्न गरे ।

    प्रदेशसँग प्राकृतिक विपद् व्यवस्थापन गर्न संरचना, पूर्वाधारको अभाव रहेको बताए । ‘हामीसँग संरचना, इक्विप्मेन्ट केही छैन । वातावरणमा धेरै संकट आइसक्यो । अब यसलाई कन्ट्रोल गर्न निर्मम भएर अघि बढ्न जरुरी छ,’ उनले भने । उनले विपद् व्यवस्थापन गर्न शहरमामात्रै नभई गाउँमा बन्ने घरहरूको तथ्यांक राख्नुपर्ने सुझाव राखे ।

    पोखरा महानगर मेयर मानबहादुर जिसीले समेत विकासको लोभले विनास भइरहेको बताए । उनले विकास निर्माणमा प्राविधिक कुरामा ध्यान नदिँदा क्षति व्यहोर्नु परिरहेको सुनाए । विज्ञ भनिएकाले नै गलत प्रतिवेदन दिँदा पनि प्राकृतिक विपद् व्यहोर्नु परिरहेको उनको भनाइ छ ।

    ‘प्राविधिक कुरोमा ध्यान दिँदैनौं । सडक खनिन्छ, लेबल र स्लोप हेर्देनौं । त्यहाँ पहिरो नगएर कहाँ जान्छ ?’ उनले भने, ‘जंगलजंगलबाट बाटो चाहिने, मन लाग्या ठाउँमा खन्या छ, पहाड सम्याएर घडेरी बनाएर घर बनाया छ । त्यसरी विपद्लाई आफैं सुपारी दिएपछि नआएर के हुन्छ ?’

    मेयर जिसीले भने विपद् व्यवस्थापनमा संघ र प्रदेश सरकारको महत्वपूर्ण भूमिका हुनुपर्ने मत राखे । ‘संघ र प्रदेशले विपद् व्यवस्थापनका लागि नीति बनाइदिने हो । त्यसलाई कार्यान्वयनमा लैजाने काममात्रै पालिकाको हो,’ उनले भने । विपद्को बेला आदेश उद्धारमा खटिनुपर्नेमा आदेश पर्खेर बस्नुपर्ने परम्पराको अन्त्य हुनुपर्ने उनले सुझाव दिए ।

  • पोखरेली होटलका भ्यालेन्टाइन अफर: जोडीलाई ताल घुमाउनेदेखि आकाशमा उडाउनेसम्म

    पोखरेली होटलका भ्यालेन्टाइन अफर: जोडीलाई ताल घुमाउनेदेखि आकाशमा उडाउनेसम्म

    पोखरा । स्वदेशी तथा विदेशी पर्यटकले गुल्जार भइरहने ठाउँ हो, पोखरा । हिमशृंखला हेर्दै निलाम्मे तालतलैया हेर्दै रमाइरहेका पर्यटकको घुइँचो लाग्छ । धेरैको सपनाको ठाउँ पनि हो पोखरा ।

    पोखरामा विशेष गरी नयाँ वर्ष, दशैंतिहारको समयमा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । यसबाहेक भ्यालेन्टाइन डे (प्रणय दिवश)को समयमा प्रेमिल जोडीको पनि ठूलै उपस्थिति हुन्छ ।

    कोरोना कहरका कारण यस वर्ष अघिल्ला वर्षमा चहलपहल नभए पनि पोखराका केही होटलहरुले प्रणय दिवस विशेष केही अफर ल्याएका छन् ।

    लामो समय पसल व्यापार बन्द गरेर बस्नु परेको र कोरोनाका कहर अझै मत्थर भइनसेकाले पनि साना होटल तथा रेस्टुरेन्टले पनि अघिल्ला वर्षहरुमा झैं यस वर्ष विशेष अफर ल्याउन नसकेको व्यवसायीहरु बताउँछन् ।

    ‘भ्यालेन्टाइन डेको समयमा चिनियाँ नयाँ वर्ष पर्छ । यही समयमा उनीहरु बढी नेपाल घुम्न आउँथे । भारतीयहरु पनि यही समयलाई नै चुनेर पोखरा आउँथे,’ पश्चिमाञ्चल होटल संघका अध्यक्षसमेत रहेका शेरमाउन्ट होटलका सञ्चालक विकल तुलाचन भन्छन्, ‘तर, यो वर्ष अघिल्ला पटकजस्तै साना होटलहरुले ठूला अफरहरु ल्याउन सकेका छैनन् ।’

    पोखराका सीमित होटल तथा रेस्टुरेन्टले मात्रै प्रणय दिवशलाई लक्ष्य गरेर अफर ल्याएको तुलाचनले जानकारी दिए । उनीहरुले होटल तथा रेस्टुरेन्टले दिँदै आएका प्याकेजमा छुट, डुंगा सयरदेखि लाइभ म्युजिकसम्मको अफर ल्याएका छन् । त्यसबाहेक पोखराका होटल तथा रेस्टुरेन्टले विशेष अफर भने ल्याएका छैनन् ।

    कोरोना महामारीसँगै बन्द भएको पोखरा चिप्लेढुंगाको मेलोडी लन्ज एन्ड क्याफे भ्यालेन्टाइन डेलाई लक्षित गरेर पुनः सुरु हुँदैछ । मेलोडीका म्यानेजर राम गुरुङले प्रणय दिवशलाई लक्ष्य गरेर लाइभ म्युजिकदेखि प्रेम गजलसम्मको अफर ल्याएको सुनाए । उनले भने, ‘लामो समय बन्द रहेको मेलोडी फेरि रिओपनिङ गर्दैछौं । फेब्रवरी १४ लाई टार्गेट गरेर पोखराका चर्चित कलाकारको प्रस्तुतीसँगै गजलहरु प्रेम जोडीलाई सुनाउने जमर्को गरेका छौं ।’

    पोखरा लेकसाइडस्थित रानीवन अक्र्याडले प्रणय दिवशलाई लक्षित गरेर ‘कपल अफर’ ल्याएको छ । कपल अन्तर्गत ५ हजार रुपैयाँमै होटलको फुल प्याकेजसँगै एक घन्टा डुंगा सयर सुविधा पनि थप गरिएको सञ्चालक हरि भुजेलले जानकारी दिए ।

    ‘प्रणय दिवसका बेला पोखरामा बढी जोडी आउने समय हो । योबेला उनीहरुलाई लक्ष्य गरेर केही प्याकेज ल्याएका छौं,’ भुजेलले भने, ‘प्रेम जोडीलाई फेवाताल घुमाउने गरी अफर ल्याएका छौं ।’ उनले उक्त प्याकेजका लागि अरु समयमा जोडीले १४ हजार रुपैयाँसम्म पर्ने बताए ।

    पोखरामा प्रणय दिवशको बेला लेकसाइड मात्रै नभई पोखरा आसपासका होटलहरुमा पनि भरिभराउन हुने गर्दछन् । पोखरा आसपासका काहुँडाँडा, सराङकोट, लब्ली डाँडा, पुम्दीभुम्दी ह्वाइट स्तुप आदि ठाउँ ‘डेटिङ स्पट’का रुपमा चुनिने गर्दछन् ।

    भ्यालेन्टाइन डे (प्रणय दिवस)को समयमा आकाशमा युगल जोडीको फन्को लगाउनेहरुको पनि कमी हुँदैन । पोखरेली हावामा कावा खाँदै रमाउने लक्ष्य राखेका जोडीका लागि पोखराको बगैंचा होटलले युगल अल्ट्रालाइट अफर ल्याएको छ ।

    होटलका पोमनारायण श्रेष्ठले होटलले दिँदै आएको प्याकेजमा ५० प्रतिशत छुटसहित अल्ट्रालाइट अफर ल्याएको बताए । उनले भने, ‘अल्ट्रालाइटमा आकासमा उड्न चाहने जोडीलाई ९ हजारमै उड्न पाइने अफर ल्याएका छौं ।’

  • राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणले पोखरामा जाग्यो उत्साह

    राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणले पोखरामा जाग्यो उत्साह

    पर्यटकीय शहर पोखरा पछिल्ला वर्षहरुमा खेल पर्यटनको गन्तव्यसमेत बनेको छ । वर्षभरि नै यहाँ खेलकूद गतिविधि सञ्चालन हुने गर्दछन् । रङ्गशालाको ४२५ रोपनी जमीनमा फुटबल, क्रिकेट, भलिबल, टेनिस, आर्चरीलगायत सबै खेलका पूर्वाधार एउटै थलोभित्र रहेकाले पोखरा रङ्गशाला ‘स्पोर्टस् कम्प्लेक्स’ समेत बनेको छ ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी यहाँ हुने खेल प्रतियोगिता खेल्न आउँछन् । गत वर्ष सम्पन्न सागपछि पोखराले विश्व खेलकूदको मानचित्रमा समेत आफूलाई स्थापित गरेको छ । ‘खेलकूदको हब’ पोखरामा कोभिड–१९ ले भने लामो समय खेल क्षेत्रलाई शून्यतामा पुर्‍यायो । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले मङ्सिर पहिलो साता खेल गतिविधि तथा प्रशिक्षण पुनः सञ्चालन गर्ने निर्णय गरे पनि विगतका वर्षहरुमा सञ्चालन हुने फुटबल, क्रिकेट, भलिबललगायत खेलका प्रतियोगिताले अझै निरन्तरता पाउन सकेको छैन । रोकिएका ठूला प्रतियोगिताहरु सञ्चालन हुने नहुने द्विविधा अझै छ ।

    खेलकूदको उर्वर भूमिमा लामो समय प्रतियोगिता शून्य प्रायः रहेका अवस्थामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि यतिबेला पोखरा आएको छ । आगामी विश्वकप फुटबल तथा एसियन कप छनोटको तयारीमा रहेको राष्ट्रिय टोलीले शुक्रबार साँझदेखि पोखरा रङ्गशालाभित्रको फुटबल मैदानमा प्रशिक्षण सञ्चालन गरेको छ । सिनियर राष्ट्रिय टोली बन्द प्रशिक्षणका लागि लामो समयपछि यहाँ आएको हो ।

    कोरोनाले खेल क्षेत्र प्रभावित भएका बेला एक दशकपछि राष्ट्रिय फुटबल टोली यहाँ आएर प्रशिक्षण शुरु गरेपछि पोखराका खेलकर्मी उत्साहित बनेका छन् । कोभिड-१९ ले शून्यतामा पुर्‍याएको खेल क्षेत्रलाई माथि उठाउन राष्ट्रिय टोलीको प्रशिक्षणले सघाउ पुग्ने र खेलकूद नगरीमा विस्तारै खेलकूद क्षेत्र चलायमान हुने विश्वास पोखरेलीको छ । यसबाट पोखराको खेल पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ ।

    पोखरामा १९ वर्षदेखि निरन्तर आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शुुरु भएपछि पोखरा कोभिडबाट सुरक्षित रहेको र अब खेलकूद गतिविधि अघि बढाउन सकिन्छ भन्ने माहोल सिर्जना भएको बताउनुभयो ।

    आफूहरुलाई समेत आहा रारा गोल्डकपका लागि तयारी अवस्थामा लाग्नु पर्दछ भन्ने सन्देश मिलेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “राष्ट्रिय टोलीको प्रशिक्षण यहाँ सञ्चालन हुनु पोखराका लागि महत्वपूर्ण छ । यहाँको प्रवद्र्धन, खेलकूद प्रतियोगिता पुनः सञ्चालन र पोखरा सुरक्षित रहेको सन्देश प्रवाह गर्न सघाउ पुग्दछ ।” विगतमा स्तरीय पूर्वाधार अभावमा महत्वपूर्ण प्रतियोगिता सञ्चालन नभएको अवस्थामा गत वर्ष सम्पन्न १३औँ सागलाई लक्षित गरी निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम भएको भनाइ अध्यक्ष थापाको छ ।

    नेपालले एक दशकअघि पाकिस्तान र भूटानसँग पोखरामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसपछि लामो समय राष्ट्रिय टोलीको खेल यहाँ हुन सकेको छैन । आगामी चैतमा हुने विश्वकप छनोटका बाँकी खेलका लागि राष्ट्रिय टोलीले डेढ महिना काठमाडौँमा कृत्रिम मैदानमा प्रशिक्षण गरेको थियो । पोखरामा नवर्निमित प्राकृतिक मैदानमा अभ्यास गर्न पाएपछि खेलाडीसमेत उत्साहित छन् । गत वर्ष घरेलु प्रतियोगिता खेल्न आउँदा भन्दा अहिले मैदान राम्रो पाएपछि खेलाडी सन्तुष्ट देखिएका छन् ।

    सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एसियन कपको छनोट चरणका बाँकी तीन खेल नेपालले चाइनिज ताइपेईसँग चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग जेठमा खेल्नेछ ।

    राष्ट्रिय टोलीका सिनियर खेलाडी विराज महर्जन पोखरामा आरामदायी मैदान र वातावरणमा प्रशिक्षण गर्न पाउँदा सबै खेलाडीले रमाइलो महसुस गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरामा अभ्यास गर्न पाउँदा टोलीका सबै खेलाडी उत्साहित छौँ । यहाँको प्रशिक्षणले घरेलु मैदानमा हुने वल्र्ड कप छनोट खेलमा राम्रो गर्न हौसला मिल्नेछ, राखेप र एन्फाले यससँगै विदेशी भूमिमा समेत ‘एक्सपोजर म्याच’ र ‘ट्रेनिङ’को व्यवस्था गरे अझै राम्रो हुन्थ्यो ।”

    टोलीमा रहेका अधिकांश खेलाडी २३ र १९ वर्षमुनिको रहेकाले समेत उनीहरुलाई मैत्रीपूर्ण खेलको आवश्यक रहेको बताउँदै विराजले सिनियर जुुनियर टोलीले कम्बिनेशनबाट टोलीको मनोबल उच्च रहेको उल्लेख गर्नुभयो । नेपाली टोलीलाई प्रमुख प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण गराउनुभएको छ । टोलीले तीन महिनाअघि नै काठमाडौँबाहिर तालीमको योजना बनाएको थियो ।

    पोखरा आगमन र प्राकृतिक मैदानमा अभ्यासको राम्रो वातावरणबाट खेलाडी खुशी भएको प्रमुख प्रशिक्षक महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “घरेलु मैदानमा राम्रो नतीजाका लागि टोलीले तयारी गरिरहेको छ । काठमाडौँबाहिर लगेर प्रशिक्षण गराउने योजनाअनुसार पोखरा आएका छौँ । यहाँको अभ्यासले टोलीको मनोबल उच्च बनाउनेछ ।”

    विश्वकप छनोट प्रतियोगिताअघि टोलीलार्ई विदेशमा प्रशिक्षण र मैत्रीपूर्ण खेलका लागि खाडी मुुलुकहरुसँग कुराकानी भइरहेको प्रशिक्षक महर्जनले जानकारी दिनुभयो । राष्ट्रिय टोली आगामी माघ २१ गतेसम्म पोखरामा रहेर प्रशिक्षण गर्नेछ । पर्यटकीय शहर पोखरामा राष्ट्रिय टोलीलाई नयाँ वातावरणमा ‘रिफ्रेसमेन्ट’ सहितको प्रशिक्षण गराउने एन्फाको योजना छ ।

    एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापाले खेलाडीलाई मनोवैज्ञानिकरुपमा खुशी र तयार बनाउनका लागि स्तरीय मैदानमा अभ्यास तथा खान बस्नका लागि राम्रो सुविधा उपलब्ध गराइएको बताउनुभयो । पोखरा बसाइ र प्रशिक्षणले खेलाडी खेलामा राम्रो गर्न उत्प्रेरित हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “खेलाडी खुशी भएपछि मात्र राम्रो खेलमा नतिजा पनि राम्रो आउँछ ।”

    सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एसियन कपको छनोट चरणका बाँकी तीन खेल नेपालले चाइनिज ताइपेईसँग चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग जेठमा खेल्नेछ ।

  • पोखरामा फिल्म सुटिङ र प्रदर्शन खुला गर्ने निर्णय, जिफानले ल्यायो राहत प्याकेज

    पोखरामा फिल्म सुटिङ र प्रदर्शन खुला गर्ने निर्णय, जिफानले ल्यायो राहत प्याकेज

    पोखरा –गुरुङ फिल्म एसोसिएसन (जिफान)ले फिल्म प्रदर्शन र छायांकन खुला गर्ने निर्णय गरेको छ । बुधबार बसेको जिफान बैठकले दस महिनादेखि रोकिएका फिल्म गतिविधिलाई खुला गर्ने निर्णय गरेको हो । जिफानलाई नेपाली भाषाको फिल्मपछि ठूलो बजार मानिन्छ ।

    नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष भोजबहादुर गुरुङले सुटिङ र स्क्रिनिङ खुला भएको जनाउँदै फिल्म बनाउनेलाई प्रोत्साहित गर्न राहत प्याकेज पनि ल्याइएको बताए । ‘अब सिनेमा घरमै गुरुङ फिल्म प्रदर्शन हुन्छन्’ उनले भने, ‘अबको मुख्य प्रतिस्पर्धा नेपाली फिल्मसँग हुनेछ । अब हामीले फिल्म निर्माणमा गुरुङ समुदाय र संस्कृतिको सौन्दर्य शाष्त्र उत्खनन गर्नेछौं ।’

    ‘कोभिड अगाडि हामी बलिउड स्टोरी टेलिङबाट प्रभावित थियौं । अब भने गुरुङको मौलिक मूल्य र सौन्दर्यको खोजी गर्नेछौं ।’

    जिफानले फिल्म निर्मातालाई १०–१० हजार दरले राहत दिने निर्णय पनि गरेको छ । ३ फिल्म छायांकनमा जाने तयारीमा छन् भने पाँच फिल्म रिलिज तयारीमा छन् । लकडाउनका कारण करोडभन्दा बढीको रकम फसिरहेको जिफानको तथ्यांकमा उल्लेख छ । ‘कोभिड अगाडि हामी बलिउड स्टोरी टेलिङबाट प्रभावित थियौं । अब भने गुरुङको मौलिक मूल्य र सौन्दर्यको खोजी गर्नेछौं ।’ गुरुङ फिल्मलाई अब च्यारिटी शैलीमा नभएर १४ दिनको अन्तरमा रिलिज गर्ने उनले जनाए । यसका लागि जिफानले मिडटाउन सिनेमाज् मल्टिप्लेक्ससँग सहकार्य गर्ने भएको छ ।

    यसैको तयारीस्वरुप शनिबार पोखरामा ‘ङ्हेल्स्यो’ फिल्म प्रदर्शन गरियो । ४ सय जना दर्शकले फिल्म हेरेको र दर्शक फिल्म हेर्न आतुर छन् भन्ने सन्देश यसले प्रवाह गरेको अध्यक्ष गुरुङले बताए । कोभिड–१९ मापदण्डलाई पालना गरेर फिल्म प्रदर्शन र छायांकनलाई अगाडि बढाउने जिफान बैठकको निष्कर्ष छ । ‘शनिबार नौ महिनापछि फिल्म देखाउँदाको दर्शकीय उपस्थितीले हामीलाई ढुक्क बनाएको छ’ गुरुङले भने, ‘अब फिल्म गतिविधिलाई स्वास्थ्य सतर्कताको साथ अगाडि बढाउनेछौं ।’

    मिडटाउन सिनेमाज् मल्टिप्लेक्सले भारी छुटमा गुरुङ फिल्मलाई हलमा देखाउने तयारी गरेको छ । हल प्रमुख उत्तम द्धाले गुरुङ फिल्मलाई ३० प्रतिशत छुटमा प्रदर्शन गर्न लागिएको बताए । ‘यतिबेला हामी पैसा कमाउनेभन्दा पनि फिल्मको माहौल बनाउने काममा केन्द्रित हुन्छौं’ द्धाले नेपाल प्रेससँग भने, ‘पोखरेली संस्कृति र पर्यटनमा गुरुङ फिल्मको योगदानप्रति हामी सँधै आभारी छौं ।’

    जिफानले तत्काले अन्तराष्ट्रिय बजारको विकल्पमा आन्तरिक बजारको खोजी गर्ने निर्णय समेत गरेको छ ।

  • अंग्रेजी नयाँवर्षमा पोखरामा महोत्सव हुने

    अंग्रेजी नयाँवर्षमा पोखरामा महोत्सव हुने

    अंग्रेजी नयाँवर्ष २०२१ को छेकोमा पर्यटकीय नगरी पोखरामा सडक महोत्सव आयोजना हुने भएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपालले पत्रकार सम्मेलन गर्दै पोखरा सडक महोत्सवको बाइसौं संस्करण पुस १५, १६ र १७ गते गर्न लागेको जानकारी दिएको छ ।

    लेकसाइडमा हुने महोत्सवलाई कोभिड–१९ को स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आयोजना गरिने जनाइएको छ । यसअघि पाँचदिनसम्म हुने महोत्सव घटाएर तीन दिनमा झारिएको महोत्सव संयोजक बसन्त गौतमले बताए । लेकसाइडको हल्लनचोकदेखि बसुन्धरा पार्कसम्मको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ ।

    राती हुने लाइभ कन्सर्ट र फनपार्कको कार्यक्रम पनि यसपटक स्थगित गरिएको छ । डुंगा दौड, टेनिस प्रतियोगिता, तारो हान्ने, बीच भलिबल प्रतियोगिता समेत हुनेछन् । संयोजक गौतमले पोखरा खुल्लै भएको र पाहुनालाई स्वागत गर्न पर्यटन व्यवसायी तयार भएको सन्देश महोत्सवले दिने बताए ।

    पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले सुस्ताएको पर्यटन क्षेत्रलाई गति दिन महोत्सव महत्वपूर्ण हुने बताए । पर्यटकको बसाइ लम्ब्याउनु महोत्सवको उद्देश्य हुने उनको भनाई छ ।