Tag: पेरिसडाँडा

  • स्थायी समिति बैठक बस्न पेरिसडाँडा पुगेका माओवादी नेता (तस्बिरहरू)

    स्थायी समिति बैठक बस्न पेरिसडाँडा पुगेका माओवादी नेता (तस्बिरहरू)

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुरू भएको छ ।

    पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सांगठानिक र समसामयिक राजनीतिक विषयमा छलफल मुख्य एजेण्डा छन् ।

    पुसमा राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको माओवादी केन्द्रले चार महिने संगठन विस्तार अभियान चलाइरहेको छ । त्यसको समीक्षा र आगामी रणनीतिबारे पनि बैठकमा छलफल हुने एक स्थायी कमिटी नेताले बताए ।

    गठबन्धन सरकारको काम कारवाही, मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइबारे पनि बैठकमा छलफल भएको छ ।

  • प्रदेश इन्चार्जको रिपोर्टिपछि सकियो माओवादी केन्द्रीय कमिटी बैठक

    प्रदेश इन्चार्जको रिपोर्टिपछि सकियो माओवादी केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भर्खरै सकिएको छ । बैठक भोलि पुन: ११ बजे बोलाइएको छ ।

    सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी पार्टी ब्युँतिएसँगै माओवादी केन्द्रीय कमिटीको यो पहिलो बैठक हो ।

    बैठकमा चार वटा एजेण्डा पेश गरिएपनि राजनीतिक र सांगठानिक अवस्थाबारे प्रदेश इन्चार्जको रिपोर्टिङ गरेका छन् ।

    केन्द्रीय सदस्य युवराज दुलालका अनुसार आज प्रदेश इन्चार्ज र विभागीय प्रमुखले रिपोर्टिङ गरेका छन् ।

    अध्यक्ष प्रचण्डले बैठकको शुरूमै बैठकको औचित्य प्रत्ट्याएका थिए । रिपोर्टिङ सुनेपछि नेता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिक अवस्थाबारे भनाइ राखे ।

    आजको बैठकमा राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, त्यसमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र पार्टीको नाम परिवर्तन र कम्युनिष्ट पार्टीबीच एकीकरणजस्ता एजेण्डा थिए ।

  • पेरिसडाँडामा माओवादीले पनि फेर्‍यो साइनबोर्ड

    पेरिसडाँडामा माओवादीले पनि फेर्‍यो साइनबोर्ड

    काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट नेकपा माओवादी केन्द्र ब्युँतिएपछि पेरिसडाँडास्थित कार्यालयमा पनि साइनबोर्ड फेरिएको छ ।

    विगतमा माओवादी केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा एकतापछि नेकपाका जनवर्गीय संगठनहरुको कार्यालय रहँदै आएको थियो ।

    नेकपा एकता अदालतको आदेशबाट खारेज भएपछि आज नेकपा माओवादी केन्द्रकै बोर्ड राखिएको हो । धुम्बाराहीस्थित कार्यालयमा भने यसअघि नै नेकपा एमालेको बोर्ड राखिसकिएको छ ।

  • नेकपामा अघोषित भागबण्डाः धुम्बाराही ओलीको, पेरिसडाँडा प्रचण्ड-माधवको

    नेकपामा अघोषित भागबण्डाः धुम्बाराही ओलीको, पेरिसडाँडा प्रचण्ड-माधवको

    काठमाडौं । गत महिना पुस ९ गते बबरमहलस्थित कार्की पार्टी प्यालेसबाट केपी ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको घोषणा गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाललगायतका नेता तत्कालीन एमाले मुख्यालय बल्खु पुगे ।

    मदन भण्डारीको सालिकअघि उभिएर मुठ्ठी कस्दै उनीहरूले कसम खाए- पार्टीलाई एकढिक्का बनाएर लैजानेछौं ।

    ओलीलाई कारबाही गरेलगत्तै नेतात्रय त्यहाँ पुग्नुको भित्री आशय चाहिँ मदन र तत्कालीन नेकपा एमालेको सम्पत्तिको स्वामित्वमाथि दाबी गर्नु थियो । अर्थात् विभाजनपछिको आधिकारिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफूहरूकै भएको र पार्टीको सम्पत्तिमाथि पनि आफूहरूकै हक लाग्छ भन्ने सन्देश दिन खोजेका थिए उनीहरूले ।

    सग्लो नेकपाको पनि मुख्यालय बनाउने भनिएको बल्खुमै रहँदा नेताहरूले पार्टी कार्यालयको पुनर्निर्माणको काम चाँडै थाल्ने पनि बताएका थिए । त्यसपछिको विकासक्रम भने नेता त्रयले चाहे झैं भएन ।

    विभाजित नेकपाको ओली पक्षले हालको पार्टी मुख्यालय धुम्बाराहीमा कब्जा जमायो । उपत्यकाबाहिरका तत्कालीन एमाले पार्टी कार्यालय बनाइएका भवन पनि एकपछि अर्को गर्दै ओली पक्षले आफ्नो पकडमा लिन थाल्यो ।

    त्यसपछि आफू नै ‘ओरिजिनल एमाले’ भन्ने नेता नेपालले लगातार असन्तुष्टि जनाइरहेका छन् । आधिकारिक नेकपा नै आफूहरू भएकाले पूर्व माओवादीको मात्रै होइन पूर्व एमालेका सबै भवन र सम्पत्ति आफ्नै हुने दाबी उनले निरन्तर गरिरहेका छन् ।

    धुम्बाराही मुख्यालय र जिल्ला पार्टी कार्यालयहरूमा ओली पक्षले जमाएको पकडलाई उनले बलजफ्ती भनेका छन् । केही दिनअघि याक एण्ड यती होटलमा सम्पादकहरूसँगको छलफलमा पनि नेपालले धुम्बाराहीमा जान नपाएपछि पेरिसडाँडालाई केन्द्रीय कार्यालय बनाइएको बताएका थिए ।

    माथिका सबै सन्दर्भले पार्टीको आधिकारिकता मात्रै नभई, पार्टी सम्पत्तिलाई लिएर पनि विभाजित नेकपाका दुई पक्षबीच पेचिलो लडाइँ हुने संकेत गर्छन् ।

    पूर्व समूह अनुसार कार्यालय

    पार्टी कार्यालय र सम्पत्तिलाई लिएर दाबी भइरहे पनि अहिले विभाजित नेकपाका दुवै पक्षले दुई फरक ठाउँबाट गतिविधि संचालन गरिरहेका छन् ।

    ओली पक्षले पूर्व एमालेको पार्टी कार्यालय रहेको धुम्बाराहीबाट र प्रचण्ड-माधव पक्षले तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडाबाट काम गरिरहेको छ । पार्टी विभाजनपछि एक पटक पनि प्रचण्ड-माधव पक्ष धुम्बाराही पुगेको छैन । ओली पक्ष पनि पेरिसडाँडा पुगेको छैन । ओली पक्षले पेरिसडाँडासहित पूर्व माओवादीको कुनै पनि चल–अचल सम्पत्तिमा दाबी नगर्ने बताइसकेको छ ।

    पार्टी कार्यालय मात्र होइन संसदीय दलको कार्यालय पनि ओली पक्षले तत्कालीन एमालेको प्रयोग गरिरहेको छ भने प्रचण्ड–माधव पक्षले तत्कालीन माओवादी दलको कार्यालय प्रयोग गरेको छ ।

    ‘हाम्रो सबै पार्टी कार्यालय र सम्पत्तिमा दाबी छ । दाबी मात्रै होइन, हाम्रै हो । हाम्रो बहुमत छ, सबै हाम्रै हुन्छ । अहिले संघर्षका कार्यक्रमहरू भएकाले हामीले यतैबाट संचालन गरिरहेको मात्रै हो ।’ –  श्रीराम ढकाल ( पेरिसडाँडा पार्टी कार्यालय सचिव)

    तत्कालीन एमाले दलको कार्यालयमा दलको नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीको नेमप्लेट झुण्डिएको छ । उता तत्कालीन माओवादी केन्द्रको संसदीय कार्यालय रहेको भवन अहिले प्रचण्ड-माधव पक्षले उपयोग गरिरहेको छ । संसदीय दलका नेता प्रचण्ड, प्रमुख सचेतक देव गुरुङलगायतको कार्यालय त्यतै छ ।

    ओलीपक्षीय नेकपाका नेता महेश बस्नेत पूर्व माओवादीका पार्टी कार्यालयहरू प्रचण्ड–माधव पक्षको हुने र साविक एमालेका कार्यालय र सम्पत्ति आफूहरूको हुने लगभग सहमति जस्तै बनिरहेको बताउँछन् ।

    बस्नेतले नेपाल प्रेससँग भने- पहिलेको एमालेको लिगेसी स्वाभाविक रूपमा केपी ओलीसँग हुनेभयो । त्यसो हुनाले स्वाभाविक रूपमा साविक एमालेका कार्यालय र सम्पत्ति केपी ओलीको पक्षमा छ । उहाँहरूले सहज रूपमा छोड्नुभएको छ । उहाँहरूको बनिबनाउ बुझाइ के छ भने माओवादीको पेरिसडाँडादेखि हिजोको माओवादीको सम्पत्ति र कार्यालयहरू उहाँहरूको हुन्छ र हिजोको एमाले केपी ओलीको हुन्छ । यसमा एउटा सहमति जस्तै भएको छ ।

    के होला बल्खु ?

    प्रचण्ड-माधवपक्षीय नेकपाका नेता अमृतकुमार बोहोरा बल्खुस्थित कार्यालयसँग भावना जोडिएको बताउँछन् । ‘बल्खुसँग हाम्रो भावना जोडिएको छ’ उनी भन्छन्, ‘मैले पनि त्यहाँ लामो समय बिताएँ । माधव कमरेडले पनि लामो समय महासचिव रहँदा त्यहीं बिताउनुभयो । त्यसैले हाम्रो भावनासँग जोडिएको स्थानलाई छाड्ने भन्ने हुँदैन ।’

    हाल प्रचण्ड-माधवपक्षीय नेकपाका अध्यक्ष रहेको नेपालले पनि पटक-पटक यस्तै प्रसंग उठाउने गरेका छन् ।

    ७ रोपनी क्षेत्रफलमा फैलिएको तत्कालीन एमालेको पार्टी कार्यालय १२ वैशाख २०७२ मा आएको भूकम्पले भत्किएपछि त्यसलाई भत्काएर नयाँ भवन बनाउने योजना एमालेको थियो । दुई पार्टी एकीकरण (३ जेठ २०७५) पछि बनेको नेकपाले पनि बल्खुमै मुख्यालय बनाउने निर्णय गरेको थियो ।

    माघ १५-१९ (२०७६) मा बसेको नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकले कार्यसम्पादन गर्न अनुकूल हुने गरी तीन महिनाभित्र पार्टी कार्यालय भवनको शिलान्यास गर्ने निर्णय गरेको थियो । त्यस्तै २९ मंसिरदेखि ६ पुस (२०७६) सम्म बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकले गरेको निर्णयको स्वागत गर्दै तीन महिनाभित्रै शिलान्यास गर्ने निर्णय गरेको थियो ।

    योजना अनुसारै काम भएको भए बल्खुमा नेकपाको नयाँ मुख्यालय भवन शिलान्यास भई केही संरचना बनिसकेको हुनेथियो । तर, नयाँ मुख्यालय भवन बनाउने कुरामा शून्य प्रगति छ । भवन भन्नुअघि नै पार्टीमा विभाजन आइसकेकाले त्यो अलपत्र पर्ने अवस्था छ ।

    भाडाको साँघुरो घरमा बस्नु पर्दा काममा कठिनाइ उत्पन्न भइरहेको र मनोवैज्ञानिक सन्देश समेत राम्रो नगएको उतिबैले नेकपाले ठहर गरेको थियो ।

    ‘पार्टीको केन्द्रीय कार्यालय भाडाको घरमा सञ्चालन गर्नुपर्दा कार्यसम्पादनमा कठिनाइ उत्पन्न भइरहेको छ’ स्थायी कमिटी बैठकपछि १० पुसमा जारी ७ बुँदे ‘अन्तरपार्टी निर्देशन-३’ मा भनिएको छ, ‘देशको प्रमुख राजनीतिक दलको आफ्नै कार्यालय भवन नहुँदा मनोवैज्ञानिक सन्देशसमेत राम्रो जान सकिरहेको छैन।’

    तत्कालीन एमालेले बल्खुमा कार्यालय निर्माणका लागि २०४८ देखि पार्टीका सांसद र सर्वसाधारणबाट चन्दा संकलन गरेर जम्मा भएको एक करोडभन्दा बढी रकमले सात रोपनी जग्गा किनेको थियो । त्यही जग्गामा २०५० मा करिब एक करोड ५० हजार रुपैयाँ खर्च गरेर भवन बनाइएको थियो ।

    मदन नगरमा आधुनिक र सुविधासम्पन्न पार्टी कार्यालय बनाउने योजना नेकपाको थियो । त्यसै अनुसार तत्कालीन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा भवन निर्माण समिति समेत बनाइएको थियो।

    नेकपाले आफ्नो भवन निर्माण गर्न ‘पार्टीका सम्पूर्ण सदस्यहरूलाई न्यूनतम एक दिनको तलब वा आम्दानी बराबरको सहयोग गर्न र शुभेच्छुकहरूलाई दिल खोलेर सहयोग गर्न’ अपिल पनि गरेको थियो ।

    धुम्बाराहीस्थित पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको भवन भने भाडाको हो । नेकपाले मुख्यालयको रूपमा प्रयोग गरेको उक्त भवनको मासिक भाडा रु.१ लाख ८० हजार तिर्ने गरेको छ । त्यस्तै, पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको मुख्यालयलाई जनवर्गीय संगठनको कार्यालयको रूपमा प्रयोग गरिएको थियो ।

    ‘एमालेका जति जम्मै यतातिर हुनुहुन्छ । महाधिवेशनबाट निर्वाचित आधिकारिक अध्यक्ष को हो ? अनि सम्पत्ति कसको हुन्छ भन्ने कुरा प्रष्ट छैन र ?’ – ईश्वरी रिजाल (धुम्बाराही कार्यालय सचिव)

    आफ्ना नेता मदन भण्डारीको नाममा मदननगर नामकरण गरेको तत्कालीन एमाले पक्ष उक्त ठाउँमा पार्टी कार्यालय बनाउने कुरालाई भावनात्मक रूपमा लिन्छ ।

    साविक एमाले दुई पक्षमा विभाजित भइसकेको अवस्थामा कसले त्यो पाउने भन्ने विषय पनि पेचिलो हुने देखिएको छ । तर, ओली पक्षीय नेता बस्नेत माधव नेपाललगायतलाई भाइ अंश पनि नलाग्ने बताउँछन् ।

    उनको तर्क छ- भाइ अंश लाग्ने गरी विभाजन भएन । साविक एमालेभित्रको द्वन्द्वमा प्रचण्डले खेल्नुभयो । मैले कतिपय ठाउँमा उदाहरण पनि दिने गरेको छु– हाम्रो चेलीलाई लिएर जानुभयो । त्यसो गर्दा हाम्रो गोत्र र थर त लिन पाइँदैन । प्रचण्ड कमरेडसँग माधव कमरेड गएको भनेको चाहिं प्रचण्ड कमरेडको माओवादी लिगेसीसँग जोडिन जानुभएको हो । त्यसैले साविक एमालेभित्र उहाँहरूले धेरै ¥याल चुहाउनु र आँखा गाड्नु चाहिं स्वाभाविक नहोला ।

    आधिकारिकता जसको सम्पत्ति त्यसकै हुने दाबी

    ओली पक्षले भाइ अंश समेत नलाग्ने बताइरहेका बेला प्रचण्ड–माधव पक्षले आफूहरू बहुमतमा रहेको दाबी पेश गर्दै आफ्नो पार्टीले आधिकारिकता पाउने र सबै सम्पत्ति पनि आफ्नै हुने जिकिर गरिरहेको छ । शीर्ष नेताहरू समेत यसबारे मुखै खोलेर बोलिरहेका छन् ।

    पेरिसडाँडा पार्टी कार्यालयका सचिव एवम् केन्द्रीय सदस्य श्रीराम ढकाल आफ्नो बहुमत भएकोले सम्पत्ति पनि आफूहरूकै हुने दाबी गर्छन् । ‘हाम्रो सबै पार्टी कार्यालय र सम्पत्तिमा दाबी छ’ उनी भन्छन्, ‘दाबी मात्रै होइन, हामै्र हो । हाम्रो बहुमत छ, सबै हाम्रै हुन्छ । अहिले संघर्षका कार्यक्रमहरू भएकाले हामीले यतै (पेरिसडाँडा) बाट काम संचालन गरिरहेको मात्रै हो ।’

    उनी निर्वाचन आयोगले गर्ने फैसलाका आधारमा पनि यो विषय टुंगिने बताउँछन् । ढकाल भन्छन्- यो विस्तारै मिल्ला । निर्वाचन आयोगले के गर्छ अनि टुंगिन्छ सबै ।

    धुम्बाराही कार्यालयका सचिव एवम् केन्द्रीय सदस्य ईश्वरी रिजाल भने एमालेजति सबै आफूतिर भएको दाबी गर्दै सम्पत्ति पनि आफूहरूकै तर्क गर्छन् । ‘एमालेका जति जम्मै यतातिर हुनुहुन्छ’ उनको भनाइ छ, ‘महाधिवेशनबाट निर्वाचित आधिकारिक अध्यक्ष को हो ? अनि सम्पत्ति कसको हुन्छ भन्ने कुरा प्रष्ट छैन र ?’

  • ओली पक्षले पेरिसडाँडा दाबी नगर्ने, धुम्बाराही र बल्खु नछाड्ने

    ओली पक्षले पेरिसडाँडा दाबी नगर्ने, धुम्बाराही र बल्खु नछाड्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले पेरिसडाँडाको केन्द्रीय कार्यालयमा दाबी नगर्ने भएको छ । तर धुम्बाराही, मदननगर बल्खुलगायत देशभरका तत्कालीन एमालेका कार्यालय र सम्पत्तिमा भने प्रचण्ड–माधव नेपाल समूहले दाबी गर्न नपाउने ओली पक्षले जनाएको छ ।

    ओली निकट नेकपा नेता महेश बस्नेतले आज पोखरा र ललितपुरका अलग अलग कार्यक्रममा सूर्य चिन्हमाथि प्रचण्डको दाबी हास्यास्पद रहेको बताए । उनले भने–प्रचण्ड कमरेडलाई आफू लोकप्रिय छु भन्ने लाग्छ भने आफ्नै गोलाकारभित्रको हँसिया हथौडा चिन्हमा चुनाव लडेर जित्न म चुनौती दिन्छु, तपाईं सूर्यमा आँखा नलाउनुस् ।

    बस्नेतले नेपाल प्रेससँग कुरा गर्दै आफूहरुले विगतमा प्रचण्ड नेतृत्वको पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दाबी नगर्ने र तत्कालीन माओवादीको चल अचल सम्पत्तिमा पनि ओली नेतृत्वको नेकपाको दाबी नरहने बताए । तर तत्कालीन एमालेको पार्टी कार्यालयहरु भने प्रचण्ड पक्षले नपाउने उनले बताए ।

    बस्नेतले भने–हामीलाई प्रचण्डको पार्टी कार्यालय चाहिएको छैन, उहाँहरु नै लिनुहोस् तर तत्कालीन एमालेका हरेक सम्पत्तिमा हाम्रो मात्र हक छ र हामी छाड्दैनौं । पार्टी विभाजन गरेर जानेहरुले पार्टीको सम्पत्तिमा दाबी गर्न मिल्दैन । शुक्रवार मात्र पत्रकार सम्मेलनमा अर्को नेकपाका अध्यक्ष माधवकुमार नेपालले पार्टी कार्यालय र सम्पत्तिहरुमा आफ्नो समूहको हक लाग्ने बताएका थिए ।

  • कुर्सीबाटै गलहत्याए–प्रचण्ड, त्यसपछि चेत्नुभयो–माधव नेपाल

    कुर्सीबाटै गलहत्याए–प्रचण्ड, त्यसपछि चेत्नुभयो–माधव नेपाल

    काठमाडौं । पार्टी विभाजनको अवस्थामा कुन जिल्लामा आफ्नो पक्षको अवस्था कति मजबूत छ भनेर रिपोर्टिङ लिने र माथिबाट आफ्नो रणनीति बुझाउने उद्देश्यले शुक्रवार नेकपाको प्रचण्ड–माधव नेपाल पक्षको पेरिसडाँडाको भेलामा दुवै नेताले केपी ओलीबाट पीडित बनेर आफूहरु मिल्ने ठाउँमा आइपुगेको सुनाए ।

    सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवको भेला गर्ने तयारी अनुरुप पहिलो दिन प्रदेश १ का १४ जिल्लाका नेतालाई पेरिसडाँडा बोलाइएको थियो । भेलामा प्रचण्ड र माधव नेपाल पक्षधर जिल्ला अध्यक्ष,सचिव,केन्द्रीय सदस्यहरु सहभागी थिए । १४ जिल्लाका २८ जना पदाधिकारीमध्ये ओली पक्षका ११ जना र योगेश भट्टराई निकट बलबहादुर साम्सोहाङ सहितका केही बाहेक अरु सहभागी रहेको एक नेताले बताए ।

    भेलामा प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले केपी ओलीका गतिविधिले अब पार्टी एकता जोगिने सम्भावना कम हुँदै गएको बताएका थिए । यद्यपि आफूहरु पार्टी एकता जोगाउन र विधि पद्धति स्थापित गर्न प्रयासरत रहेको बताएका थिए ।

    भेलाका एक सहभागीका अनुसार ओलीविरुद्ध आफूहरु कसरी एकै ठाउँमा मिल्न बाध्य भइयो भन्ने किस्सा पनि रोचक पारामा सुनाएका थिए । ती सहभागीले उपलब्ध गराएको रेकर्डबाट उदृत अंश पढ्नुहोस् ।

    आफैंलाई पेल्न थालेपछि प्रचण्डजीले चेत्नुभयो

    माधव नेपाल 
    केपी ओलीको बारेमा प्रचण्डजीलाई त भ्रम नै थियो । तर हामीले त राम्रोसँग चिनेको र भोगेको हो । प्रचण्डजीले हिजो पार्टी एकतापछि केही समय त ओलीसँग मिलेरै काम गर्नुभएको थियो । हामीलाई निरन्तर पेलेर, अपमान गरेर, जिम्मेवारीविहीन बनाएर राख्दा उहाँले पूर्व एमालेको समस्या भनेर शायद केही वास्ता गर्नुभएन । केपी ओलीले हामीलाई मात्रै पेलिराखेका थिए । पछि आएर प्रचण्डजीलाई नै पेल्न थालेपछि उहाँले देख्नुभयो र चेत्नुभयो ।

    अहिले ओलीले राज्यशक्तिको दुरुपयोग गरेर, अव्यावसायिक मिडिया हाउस, अव्यावसायिक पत्रकारको पंक्ति खडा गरेर, पत्रकार खरिद गरेर पार्टीभित्र भएका छलफल र सहमतिलाई तोडमरोड गर्न लगाएर गलत कुरालाई सही साबित गर्न अनेकौं प्रचारबाजी गर्दैछन् । वास्तवमा ओली गोयबल्सको प्रचारशैलीमा लागेका छन् । पार्टीभित्र यो अहिलेको परिस्थिति निर्माण गर्ने केपी ओली नै हो । प्रचण्डजीलाई म केही भन्दिनँ ।
    हामी पार्टीमा विधि पद्दति स्थापित गर्न लाग्ने हो । पार्टी एकताको पक्षमा तपाईहरु पनि लाग्नुस्, गलत प्रचारको भण्डाफोर गर्नुस् ।

    कुर्सीबाट गलहत्याएर सातजनाको लहरमा पुर्‍याए

    प्रचण्ड
    वास्तवमा माधवजीले भनेको कुरा सही नै हो, म हुबहु समर्थन गर्छु । त्यतिबेला म पनि भ्रममै परेको हुँ । यत्रो पार्टी एकता गरिएको छ, होला त नि भनियो । केपी ओलीले जे भन्छन् लौ होस् भनेर छाड्दै गएँ ।
    मरिहत्ते गरेर मलाई एक नम्बर अध्यक्ष बनाऊ भन्नुभयो । पार्टीको हितको लागि हो भनेर लौ तपाई नै एक नम्बर हो भनेर भन्दिएँ । बैठकको अध्यक्षता त मैले नै गर्नुपर्ने भयो भन्नुभयो । धेरैचोटि गनगन गर्नुभयो । नत्र त हाम्रो आलोपालो बैठकको अध्यक्षता गर्ने भन्ने विधानकै व्यवस्था थियो ।

    मैले लौ भैगो त बैठकको अध्यक्षता गरे पनि गर्नुस् भनेर छाड्दिएँ । उहाँले जिद्दी गर्दै जानुभयो, मैले छाड्दै गएँ । उहाँले भनेको मान्दै मान्दै गएँ । प्रधानमन्त्रीको पूरै कार्यकाल मलाई चाहियो भन्नुभयो त्यो पनि मान्दिएँ । अन्तिममा त मलाई नै घोक्रेठ्याक लाएर कुर्सीबाटै निकाल्दिए । मलाई त रबरस्टाम्प जस्तै बनाइदिए ।

    अन्ततः मलाई नै घोक्रेठ्याक लगाएर सात जनाको पंक्तिमा पाे हाल्दिनुभयो । जब उहाँले सात जनाको पंक्तिमा हाल्दिनुभयो त्यो बेला माधव नेपालले मलाई के भन्नुभयो भने–जानुस् न अलि पर्तिर सर्नुस् म यहाँ बस्छु भनेर भन्नुस् न ।
    मैले चाहिं त्यसो नभनेर मलाई तपाईले दुई जना अध्यक्षको ठाउँबाट सात जनाको लहरमा पठाउनुभयो, अब म यतै बस्छु भनेर भनेँ । माधवजी र मैले भनेको कुरा सायद मिल्यो जस्तो लाग्छ ।

    वास्तवमा परिस्थितिले हामी माधवजी र मलाई एक ठाउँमा ल्यायो । आज हामी सबै सिनियर र जेनुइन लिडरहरु एक ठाउँमा आइपुगेका छौं । तपाईहरु कुनै पनि कुप्रचारको भ्रममा नलाग्नुस् । सशक्त भएर संगठित ढंगले पार्टीको विधि विधानको पक्षमा उभिनुस् ।

    केपी ओलीका सबै तरिका र व्यवहार हेर्दा एउटै पार्टीमा बस्ने खालको छैन, अलग पार्टी बनाउने कोशिश भइरहेको छ । कहिले गर्नुहुन्छ तर उहाँको तरिकाले म अलग बस्छु भन्ने बताइरहेको छु । कहिले फुटाउने भन्ने मात्रै हो ।