Tag: पेन्सन

  • भ्रष्टाचार प्रमाणित भए पनि पेन्सन रोक्ने कानून छैन !

    भ्रष्टाचार प्रमाणित भए पनि पेन्सन रोक्ने कानून छैन !

    काठमाडौं । भ्रष्टाचार गरेको पुष्टि भएका अवकाशप्राप्त सरकारी कर्मचारीले कमजोर कानूनी व्यवस्थाको फाइदा उठाउँदै पेन्सन खाइरहेको देखिएको छ । भ्रष्टाचार मुद्धामा दोषी ठहर भएर दुई वर्ष कैदसमेत बसेका पूर्वप्रहरी महानिरिक्षक–आईजिपी ओमविक्रम राणालाई राज्यले पेन्सन सुविधा दिइरहेको नेपाल प्रेसले खुलासा गरेको थियो ।

    यस विषयमा थप अध्ययन गर्ने क्रममा भ्रष्टाचार कसुरमा दोषी ठहर भएका प्रहरीले मात्र होइन, अवकाशप्राप्त निजामती कर्मचारीले पनि पेन्सन सुविधा लिइरहेको भेटियो । पूर्वआईजिपी राणाबारे समाचार बाहिरिएपछि प्रहरी किताब खाना र निजामती किताब खानामा बुझ्दा अन्य दृष्टान्त पनि पाइएको हो ।

    भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४६ मा बहालमा रहेको बेला भ्रष्टाचार गरेको पाइए पूर्वसरकारी कर्मचारीविरुद्ध पनि मुद्दा चलाउन सकिने व्यवस्था छ । बहालवाला कर्मचारीविरुद्ध मुद्दा परेमा फैसला नहुँदासम्म निलम्बित हुने व्यवस्था उक्त ऐनमा छ । अवकाश पाइसकेका कर्मचारीको हकमा के हुने भन्ने उल्लेख छैन ।

    प्रहरी नियमावली २०७१ को दफा २०१ को उपदफा १ मा भ्रष्टाचारमा दोषी भएर सेवाबाट बर्खास्त भएको कर्मचारीले सञ्चय कोष र बिमाबाहेक अन्य कुनै पनि सुविधा नपाउने व्यवस्था छ । यो नियमावलीमा पनि अवकाश पाइसकेका कर्मचारीको हकमा के हुने उल्लेख छैन ।

    एउटै कसुरमा राणासँगै प्रतिवादी बनाइएका तत्कालीन आईजिपी रमेशचन्द ठकुरी पनि भ्रष्टाचारमा दोषी ठहर भएका थिए । उनी सेवामै रहँदा मुद्दा खेप्नु परेकाले उनको पेन्सनका लागि आवश्यक पर्ने पेन्सनपट्टा बन्न पाएको थिएन । त्यसैले उनले पेन्सन पाएका छैनन् ।

    भ्रष्टाचारविरुद्ध कानूनी व्यवस्था कडा छ । भ्रष्टाचारमा दोषी ठहर भएको व्यक्तिले कैद छुटको सुविधा पाउँदैन । यस्तो कसुरमा राष्ट्रपतिबाट सजाय माफी मिनाहा पनि हुँदैन । प्रहरी नियमावली २०७१ को दफा ११३ को उपदफा २ मा भ्रष्टाचारमा दोषि ठहर भएको कर्मचारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गरिने उल्लेख छ । निजामती सेवा ऐन २०४९ ले पनि भ्रष्टाचार ठहर भएका बहालवाला कर्मचारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गरिने भन्ने उल्लेख गरेको छ ।

    सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहाल भ्रष्टाचार कसुरमा दोषी ठहर भएका पूर्वसरकारी कर्मचारीले पेन्सन सुविधा पाउनु अचम्मको विषय भएको बताउँछन् । मागदाबीमा नपरेर उनीहरुले पेन्सन पाइरहेको हो कि भन्ने उनको आशंका छ ।

    कहाँबाट बिग्रियो व्यवस्था ?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले अख्तियार पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका अवकाशप्राप्त सरकारी कर्मचारीले पेन्सन सुविधा पाइरहेको विषयमा जानकार रहेको बताए ।

    ‘तर हामीले मागदाबी लिँदा ऐनमा भएको व्यवस्थाबमोजिम लिने हो । सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेका हुन् भनेर पर्याप्त प्रमाणसहित मागदाबी लिएर जाने हो । पूर्व कर्मचारीको पेन्सनसमेत रोकी पाउँ भन्नका लागि हामीसँग त्यस्तो कानूनी आधार छैन,’ भण्डारी भन्छन्, ‘तर सर्वोच्च अदालतमा एउटा पुरानो नजिर छ भन्ने सुनेको छु । त्यसमा अवकाशप्राप्त कर्मचारी भ्रष्टाचारमा दोषी ठहर भएर पेन्सनसमेत रोक्का भएको रहेछ ।’

    सर्वोच्चले आफ्ना नजिरलाई टेकेर फैसला गर्ने गरेको भए पनि पूर्वआईजिपी राणाको सन्दर्भमा भने कतै केही उल्लेख गरेको छैन । अख्तियारका सहायक प्रवक्ता भण्डारी कानूनी व्यवस्थामा रहेको ‘अपूर्णता’ का कारण यो स्थिति देखिएको बताउँछन् ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले. पूर्वकर्मचारीका हकमा अदालतबाट हुने फैसलामा उल्लेख भएबमोजिम हुने प्रतिक्रिया दिए ।

    ‘सर्वोच्च अदालतले पेन्सनबारे केही उल्लेख गरेको छैन भने कर्मचारीले पाइरहने भयो,’ एसएसपी केसी भन्छन् । नेपाल प्रेसको सम्पर्कमा आएका अवकाशप्राप्त सरकारी कर्मचारीलाई पेन्सन उपलब्ध गराउने निकाय निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णु खरेलले कतैबाट रोक्न पत्र नआएसम्म पेन्सन गइरहने बताए ।

    ‘राणाको हकमा प्रहरी किताब खानामा बुझ्दा कतैबाट पेन्सन रोक्न पत्र नआएको बुझेँ । हामीले यहाँबाट रोक्न मिल्दैन,’ उपसचिव खरेलले भने । प्रहरी किताब खानाले अवकाशप्राप्त प्रहरी कर्मचारीको पेन्सनपट्टा बनाएर निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई पठाउँछ ।

    ‘पेन्सन पठाउन बन्द गरिनुपर्ने अवस्थामा प्रहरी किताब खानाले आफुलाई आएको पत्र बमोजिम पेन्सनपट्टा रद्ध गरेर त्यसबारे जानकारी गराउँछ,’ खरेलले भने ।

    पूर्वआईजिपी राणाले पेन्सन पाइरहेको सन्दर्भमा प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीहरुले समेत आश्चर्य व्यक्त गरे । बहालवाला कर्मचारीको हकमा कम्तिमा प्रहरी प्रधान कार्यालयलाई जानकारी भए पुग्छ तर अवकाशप्राप्त कर्मचारीको सुविधाको हकमा प्रहरी किताब खाना र निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई पनि जानकारी गराउनुपर्छ ।

    सर्वोच्च अदालतका प्रवक्ता दाहाल अदालतका फैसलाबारे वादी र प्रतिवादीलाई जानकारी गराइने बताउँछन् ।

    ‘हाम्रो काम भनेको फैसला वा आदेशबारे वादी र प्रतिवादीलाई जानकारी गराउने हो । त्यस्ता जानकारीहरु वादी र प्रतिवादीले सम्बन्धित पक्षलाई गराउँछन् होला,’ उनी भन्छन् ।

    अख्तियारका सहायक प्रवक्ता भण्डारीले भने अदालतबाट आफूलाई प्राप्त हुने जानकारी सम्बन्धित निकायहरुमा ‘रिले’ गर्ने काम अख्तियारले नगर्ने गरेको बताए ।

    ‘प्रहरी प्रधान कार्यालय वा अन्य निकायहरुमा जानकारी गराउने काम हामी गर्दैनौँ । यसबारे अदालतमै बुझ्नुपर्ला,’ भण्डारीले भने ।

    याे पनि पढ्नुहाेस् ।

    भ्रष्टाचार गरेर दुई वर्ष जेल बसेका पूर्वआइजीपी राज्यबाट पेन्सन खाँदै

     

  • पेन्सन खाता सक्रिय गराउनु नपर्ने

    पेन्सन खाता सक्रिय गराउनु नपर्ने

    काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले तत्काललाई पेन्सन खाता सक्रिय गराउनु नपर्ने निर्णय गरेको छ ।

    सरकारको विभिन्न सेवाबाट अवकासप्राप्त कर्मचारीले हरेक ६ महिनामा आफ्नो पेन्सन खाता सक्रिय गराउन बैंकमा जानुपर्छ । तर, कोरोना संक्रमण दर बढेपछि आगामी २०७८ असार मसान्तसम्म खाता सक्रिय गराउन बैंक जानु नपर्ने व्यवस्था मिलाइएको छ ।

  • सैनिक सेवा १६ वर्षमा पेन्सन, २० वर्षमा रकम

    सैनिक सेवा १६ वर्षमा पेन्सन, २० वर्षमा रकम

    काठमाडौं । नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (विवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ ।

    पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक–पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संंशोधन अघि बढाएको हो ।

    रक्षा मन्त्रालयको उक्त प्रस्ताव अहिले मन्त्रिपरिषद्मा पुगेको छ । नियमावलीमा अधिकृतभन्दा तल्लो तहका लागि दर्जागत आधारमा स्वेच्छिक अवकासमा जान सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

    विसं २०६० वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएका फलोअर्स र सिपाहीको पेन्सन अवधि १६ वर्ष बनाउन प्रस्ताव गरिएको छ ।

    पिउठ, अमलदार र हुद्दा १७, जमदार १८ तथा सुवेदार र प्रमुख सुवेदारले १९ वर्षमा स्वेच्छिक अवकासमा जान सक्ने नियमावलीले व्यवस्था गरेको छ । सहायक सेनानी तहभन्दा माथिको तहको हकमा भने पेन्सन पाक्ने अवधि २० वर्ष नै कायम हुनेछ ।

    बीस वर्ष सेवा नपुग्दै स्वेच्छिक अवकास लिने त्यस्ता सैनिकले निवृत्तिभरणको रकम भने सेवा प्रवेश अर्थात भर्ना भएको मितिले २० वर्ष अवधि पूरा भएको मितिबाट मात्रै पाउने छन् । सेवाअवधि भने दर्जाअनुरुप अवकास लिएको वर्षकै नै गणना हुनेछ । नियमावली संशोधन भई कार्यान्वयनमा आएपछि अधिकृतभन्दा तल्लो तहमा जागिरमा रहनेले केही हदसम्म राहत महसुस गर्ने छन् ।

    समान पदका सैनिकको निवृत्तिभरण९पेन्सन० सम्बन्धी रही आएको दुई थरी व्यवस्था हटाई उत्प्रेरणा गर्न तथा सैनिक सेवाको कार्य प्रकृति र विशिष्ट विशेषतालाई सम्बोधन होस् भन्ने हेतुले उक्त नियमावली अघि बढाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

    विसं २०६० वैशाख २७ गतेसम्म सिपाहीदेखि हवल्दारसम्म १६ वर्षे सेवा गरेपछि पेन्सन हुने व्यवस्था थियो । लामो समयसम्म पेन्सनसम्बन्धी मुद्दा सम्बोधन नभएपछि अघिल्लो आर्थिक वर्षमा मात्रै एक हजार ६३२ सैनिकले बीचमै सेवा छाडेका थिए ।

    माग सम्बोधन नहुँदा अवकासपछि जीवन धान्न र परिवार पाल्न कठिन हुने जनाउँदै ती सैनिकले वैदेशिक रोजगारीमा जाने सिलसिलामा बीचमै जागिर छाडेका हुन् ।

    सेवा परित्याग गरी वैदेशिक रोजगारीमा जाने तल्लो तह सिपाहीदेखि हवल्दारसम्मको सङ्ख्या अधिक छ । सोह्र वर्षसम्म सेवा गरेको जनशक्ति पनि पेन्सन नभई जागिर छाडेको आँकडाले देखाएको छ ।

    पेन्सनको अवधि २० वर्ष पुर्याएपछि उपदानमा जाने र भगौडाको सङ्ख्या उल्लेखनीय रूपमा बढेपछि सकल दर्जालाई टिकाइराख्न र जनशक्तिको व्यवस्थापन गर्न जङ्गी अड्डालाई मुस्किल परेको थियो । प्रस्तावित नियमावलीमा एकै पटक ठूलो सङ्ख्यामा सेवाबाट बाहिर जान नदिनका लागि विभागीय प्रमुखको स्वीकृतिमा मात्रै स्वेच्छिक अवकास लिन सक्ने व्यवस्था गरिएको छ ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाले राज्यले प्रदान गरेको सेवा सुविधालाई वैदेशिक रोजगारीसँग जोडिएका दुःखकष्ट र आम्दानीलाई तुलना गरेर मात्र उपदान र राजीनामासम्बन्धी निर्णय नगर्न सुझाव दिँदै आउनुभएको छ ।

    विदेशी कम्पनीले ३५ वर्ष उमेर पार नगरेका भूपू सैनिकलाई प्राथमिकता दिने भएकाले त्यस्ता कम्पनीले उपलब्ध गराउने आकर्षक सुविधाले पनि सैनिकको मन लोभ्याएको हो । वर्तमान प्रधानसेनापतिले शुरु गर्नुभएको नेतृत्व सवांद कार्यक्रममा खासगरी जवान तहबाट बलिदानीका आधारमा तलब कम भएको गुनासो नै बढी आउने गरेको छ ।

    उमेरभित्रै दोस्रो वृत्ति विकास शुरु गर्न सहज हुने भएकाले सङ्गठनले प्राथमिकताका साथ अघि सारेको पेन्सनसम्बन्धी नीतिलाई सरकारले अनुमोदन गर्नु उपयुक्त हुने पूर्वउपरथी होम लावतीको सुझाव छ ।

    निकै शारीरिक परिश्रम गर्नु पर्ने तल्लो दर्जाका सैनिक परिवारलाई स्वास्थ्य, शिक्षा, तालिम, आवास, बीमा र रोजगारका क्षेत्रमा सरकारले थप प्रोत्साहनका सेवा सुविधा उपलब्ध गराउन आवश्यक छ ।

    पूर्वउपरथी जगदीशचन्द्र पोखरेल भन्छन्, ‘तालिम प्राप्त, अनुभवी, क्षमतावाहन र अनुशासित जनशक्ति बाहिर जाँदा विप्रेषणको माध्यमबाट मुलुकलाई समेत ठूलो योगदान पुग्ने हुँदा उठिरहेको पेन्सनको कुरा राज्यले सुनिदिँदा राम्रो सन्देश प्रवाह हुन्छ ।’

    सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले सङ्गठनभित्र प्राथमिकताका साथ निरन्तर उठ्दै आएको आवाजलाई सम्बोधन भई हौसल्ला मिलोस् भन्नका लागि र सरकारलाई पनि एकै पटक ठूलो आर्थिकभार नपरोस् भन्ने हेतुले पेन्सनसम्बन्धी नियमावली पुनरावलोकनका लागि मन्त्रालय समक्ष अनुरोध गरेको बताए ।  रासस

  • सैनिक सेवा नियमावली संशोधन, सिपाहीको पेन्सन १६ वर्षमै

    सैनिक सेवा नियमावली संशोधन, सिपाहीको पेन्सन १६ वर्षमै

    काठमाडौं । नेपाली सेनामा जागिर खाएका सिपाहीको १६ वर्षमै पेन्सन हुने गरी सैनिक सेवा नियमावली संशोधन भएको छ । ईश्वर पोखरेल रक्षामन्त्री भएकै बेला अघि बढेको नियमावली संशोधनपछि अब नेपाली सेनाका तल्लो दर्जाका फलोअर्स र सिपाहीले १६ वर्षमै पेन्सन पाउने भएका छन् ।

    त्यस्तै प्युठ, अमलदाार र हुद्दाको पेन्सन १७ वर्षमा हुनेछ भने जमदारको १८ वर्षमा पेन्सन हुने गरी नियमावली संशोधन भएको छ । सुवेदार र प्रमुख सुवेदारको १८ वर्षमा पेन्सन हुनेछ भने सहायक सेनानीभन्दा माथिका सबै दर्जाका अधिकृतहरुको पेन्सन २० वर्षमा हुने भएको छ ।

    सेनाका तल्लो तहका कर्मचारीको पेन्सन अवधि घटाउन लामो समयदेखि माग हुँदै आएकोमा प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालमा सैनिक सेवा नियमावली २०६९९ मा संशोधन गरी माग पूरा गरिदिएका हुन् ।

    यसैबीच नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले सैनिक सेवा नियमावली संशोधनको लागि कानुन मन्त्रालयबाट सहमति आए पनि मन्त्रिपरिषदबाट पारित हुन बाँकी रहेको नेपालप्रेसलाई बताए ।