Tag: पेट्रोलियम पाइपलाइन

  • पेट्रोलियम पाइपलाइनमा समस्या, बाइपासमार्फत आपूर्ति सूचारु राखिने

    पेट्रोलियम पाइपलाइनमा समस्या, बाइपासमार्फत आपूर्ति सूचारु राखिने

    काठमाडौं । भारतबाट नेपालमा तेल ओसार्न प्रयोग भइरहेको पेट्रोलियम पाइपलाइनमा समस्या देखिएको छ । पर्साको परवानीपुरस्थित पाइपलाइनको भल्बमा समस्या आएपछि तत्काल मर्मत तथा सफाइको तयारी निगमले गरेको छ ।

    निगमका अनुसार सो क्षेत्रमा तेल थिग्रिएर बसेको लेदो जस्तो पदार्थ देखिएपछि आपूर्ति प्रभावित भएको थियो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले पेट्रोलियम पाइपलाइनमा केही वस्तु अड्केर बसेको जस्तो देखिएकाले सफा गर्न लागिएको बताए ।

    उनले भने, ‘पेट्रोलियम पाइपलाइनमा जति चापमा तेल आउनु पर्ने थियो आएन । पर्साको परवानीपुर क्षत्रको पाइपलाइनको भल्ब एक्से गरेर हेर्दा तेल थिग्रिएर बसेको लेदोजस्तो देखियो ।’

    पाइपलाइन मर्मत हुँदा बाइपास बनाएर आपूर्ति सूचारु गरिने उपाध्यायले जानकारी दिए ।

    पाइपलाइन परियोजनाका प्रमुख तथा अमलेखगन्जका प्रमुख प्रदीप यादवले भोलिबाट पाइपलाइन मर्मतको काम सुरु हुने बताए ।

    यादवले भने, ‘जुन चापमा पाइपलाइनबाट तेल आउनु पर्ने हो त्यो चापमा नआएपछि मर्मत सुरु भएको छ । भारतका इन्जिनियरले नै मर्मत गर्ने हो । यसमा नेपालको पैसा खर्च हुँदैन । ७ दिनमा मर्मत सकिन्छ ।’

    प्रत्येक २ वर्षमा पाइपलाइन सफा गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको उनले बताए ।

    २०७६ सालमा मोतिहारी-अमलेखगञ्ज पाइपलाइन निर्माण भएको थियो । यो दक्षिण एशियाकै पहिलो सीमापार पाइपलाइनका रूपमा रहेको छ ।

    नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लागतमा बनेको उक्त परियोजनामा नेपालको रु ७५ करोड लगानी रहेको छ । परियोजनामा भारत सरकारको ४ अर्ब ४० करोड भारु आर्थिक सहयोग रहेको छ । कूल लम्बाई ७० किलोमिटर रहेको सो पाइपलाइन भारततर्फ ३२.५ किलोमिटर र नेपालतर्फ ३७.५ किलोमिटर लामो छ ।

    पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आपूर्ति हुन्छ । निगमका अनुसार पाइपलाइन सञ्चालनमा आएपछि करिब सवा ३ अर्ब रुपैयाँ ढुवानी खर्च बचत भएको छ ।

  • सिलगढी–चारआली पेट्रोलियम पाइपलाइनको काम अघि बढ्दै

    सिलगढी–चारआली पेट्रोलियम पाइपलाइनको काम अघि बढ्दै

    झापा । झापाको मेचीनगरपालिका– १३ स्थित चारआलीमा सिलगढी–चारआली पेट्रोलियम पाइपलाइनको काम अघि बढाइएको छ ।

    चारआलीमा २३ बिघा क्षेत्रफलमा ४० हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारणका लागि संरचना निर्माणको काम अघि बढेको हो ।

    विसं २०७३ मा नेपाल आयल निगमले खरिद गरेको जग्गामा भण्डारण गृह निर्माण प्रक्रिया शुरु भएको निगमका चारआलीका प्रमुख मनिष न्यौपानेले जानकारी दिए ।

    उनका अनुसार उक्त भण्डारणमा १२ हजार ५० किलोलिटर पेट्रोल, २८ हजार ५० किलोलिटर डिजेल, चार सय किलोलिटर मट्टितेल र एक हजार २५० किलोलिटर हवाई इन्धन भण्डारण गर्न मिल्ने गरी डिपो निर्माण हुनेछ ।

    पेट्रोलियम पाइपलाइनको काम आगामी फागुनबाट शुरु हुने भएको छ । पचास किलोमिटर पाइपलाइनको काम शुरु गर्न सोमबार रुट पहिचान (सर्भे) सकिएको छ ।

    करिब रु १० अर्बको लागतमा तीन वर्षभित्र सम्पन्न हुने यस परियोजना दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको हो । पाइपलाइनको लागत खर्च आ–आफ्नो सीमाभित्र सम्बन्धित देशले नै व्यहोर्ने बताइएको छ ।

    सर्भे अनुसार पाइपलाइन भारतको सिलगढीबाट पानी ट्याङकी दक्षिण भेग हुँदै नेपाल–भारत सीमा मेची खोलामुनिबाट नेपाल प्रवेश हुनेछ । यसपश्चात् पूर्व–पश्चिम राजमार्गबाट हुँदै निगमको चारआली डिपोमा भण्डारण गरिने प्रमुख न्यौपानेले बताए ।

    इण्डियन आयल कर्पोरेशन (आइओसी) को सिलगढी डिपोदेखि निगमको झापा, चारआलीस्थित कार्यालयसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन विछयाउने निगमका कार्यकारी प्रमुख सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । जमिनदेखि दुई मिटरमुनि पाइपलाइन विच्छयाइने छ । पाइपलाइन नेपालतर्फ १५ किलोमिटर र भारततर्फ ३५ किलोमिटर विच्छयाउनुपर्ने सर्भे टोलीका इञ्जिनीयर मसिनी खड्काले बताए ।

    आइओसी टोलीसँग मिलेर विस्तृत सर्भे गरिएको उनले जानकारी दिए । भण्डारण गरिएको पेट्रोलियम पदार्थले प्रदेश १ मा ९० दिनसम्म आवश्यक पर्ने मागलाई धान्ने निगमले जनाएको छ । भण्डारण गृह पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटर दक्षिणमा रहेको छ ।