Tag: पेट्रोलियम पदार्थ

  • पेट्रोलियम पदार्थको खपत घटाउन मूल्य समायोजन पहिलो आवश्यकता

    पेट्रोलियम पदार्थको खपत घटाउन मूल्य समायोजन पहिलो आवश्यकता

    नेपालको अर्थतन्त्र अहिले समस्यामा रहेको भनी व्यापक चर्चा हुने गरेको छ । यसमा विदेशी विनिमयको सञ्चितिमा कमी सबैभन्दा ठूलो चिन्ताको विषयको रूपमा देखिएको छ । ६ महिनाभन्दा केही बढीको मात्र आयात धान्नेगर खुम्चिन पुगेको यस्तो सञ्चितिमा समयमै सुधार गर्न नसकेमा बजारमा हल्ला भएजस्तै नेपाल श्रीलंका बन्न पुग्नेमा विवाद छैन । तर यस्तो सञ्चिति बढाउन विभिन्न उपायहरू अपनाउन सुरु गरिसकिएको छ ।

    यस्ता सुधारका विभिन्न उपायहरूमध्ये प्राय सबैले देखेको र भन्ने गरेको विषय पेट्रोलियम पदार्थको नेपालमा आयात र खपत घटाउने नै हो । किनकि रुस-युक्रेन युद्धका कारण विश्वव्यापीकरण यसको अचाक्ली मूल्य बढेको छ र तत्काल यसको मूल्यमा कुनै सुधार आउने खालका सम्भावना पनि कतै देखिएका छैनन् ।

    यता कोभिड महामारी पछाडि चलमलाएको अर्थतन्त्रका कारण सवारी साधनहरूको आयात र बजारमा अत्यधिक प्रयोगका कारण पेट्रोलियम पदार्थको आयात र खपत झन् बढेको छ । सोही कारण यसको खपत तथा आयात जुनसुकै उपायबाट तत्काल नघटाएमा अरू कुनै उपाय अपनाए पनि विदेशी विनिमयको सञ्चिति बढाउन सक्ने अवस्था देखिँदैन । तसर्थ नेपालमा विदेशी विनिमयको सञ्चिति बढाउन पेट्रोलियम पदार्थको खपत घटाउनका लागि के गर्नुपर्ला ? यस सम्बन्धमा केन्द्रित रहेर नै आज यो आलेख तयार गरिएको छ ।

    पेट्रोलियम आयात तथा मूल्य निर्धारण प्रक्रिया र आयल निगमको समस्या

    नेपालमा प्रयोग हुने सम्पूर्ण पेट्रोलियम पदार्थहरू तेस्रो मुलुकबाट भारतहुँदै नेपालमा आउने हो । कच्चा पदार्थ प्रशोधन गर्ने उद्योग ठुलो लगानीको हुने भएकोले नेपालमा हालसम्म स्थापना गर्न सकिएको छैन । त्यस्तो उद्योग स्थापना हुँदा पनि प्रशोधनका लागि ठुलो परिमाणमा कच्चा पदार्थ पैठारी गर्नुपर्ने हुन्छ । तर नेपालको प्रयोगको परिमाण नगन्य मात्र भएकोले नेपालले भारतीय कम्पनीको सहयोगमा तयारी पेट्रोलियम मात्र पैठारी गर्ने गरेको छ ।

    यसरी नेपालका लागि समेत कच्चा पदार्थ भारतमा पैठारी गरी त्यहीँ प्रशोधन गरेर नेपाल आयल निगमले तयारी माल वस्तु पेट्रोल, डिजेल, मट्टितेल, ग्यास र एटिएफ लगायत भारतबाट नेपालमा पैठारी गर्दछ । सोबापत कच्चा पदार्थको लागत र त्यसको प्रशोधन खर्चसमेत आयल निगमले भारतमा भुक्तानी गर्दछ ।

    आयल निगमले पैठारी गर्दा लागेको लागत, आफ्नो प्रशासनिक खर्च, त्यसमा तिर्नुपर्ने राजश्व र सीमित नाफासमेत जोडेर मूल्य कायम गर्नुपर्ने हो । जसलाई आयल निगमले अपनाउने स्वचालन मूल्य प्रणाली भनिन्छ । यही प्रणालीअनुसार मूल्य निर्धारण र विक्री–वितरण गर्नुपर्ने आयल निगम भन्दा स्वचालन भनिएता पनि व्यवहारमा कहिल्यै स्वचालनमा जान सकेन ।

    राजनीतिक दाउपेचका कारण अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा महंगोमा बेचेर बदनामी कमाउने र भाउ बढ्दा राजनीतिक अभीष्टका लागि सस्तोमा बेचेर संस्था नै डुब्ने गरी घाटामा जाने नियति भोग्दै आएको छ । अहिलेको आयल निगमको अवस्था पनि त्यस्तै छ । आउँदो चुनाव र राजनीतिक अभीष्ट पूर्तिको लागि यथार्थ लागतअनुसार मूल्य कायम गर्न नसक्दा भारतको बाटोहुँदै पैठारी गरी ल्याएको पेट्रोलियम सीमावर्ती भारतीय बजारभन्दा निगमले सस्तोमा बेच्दै आएको छ । जसका कारण हाल नेपालका लागि पैठारी गरी ल्याएको विचलन वा चोरी निकासी भई भारतमै गइरहेको छ ।

    सीमावर्ती पम्पहरूमा भारतीय गाडी तथा जर्किन बोकेका मानिसहरूको भीड देखिन्छ । यसैको कारण नेपालमा लकडाउन लगायतको समयमा सवारीसाधनहरू गुडेको नदेखिँदासमेत पेट्रोलियम पदार्थको आयात परिमाण कहिले घटेको देखिँदैन । वास्तवमा आयल निगमको समस्या र नेपालमा पेट्रोलियम पदार्थको पैठारी घटाउन नसकी विदेशी विनिमय सञ्चितिमा देखिएको समस्या पनि केही हदमा अन्तरसम्वन्धित देखिन्छ ।

    पेट्रोलियम खपत कम गर्न अहिले उठेका विषयहरू

    अहिले विदेशी विनिमय सञ्चितिको समस्या समाधानका लागि विभिन्न सरकारी तथा निजी क्षेत्रबाट उठाउने गरेको मुख्य विषय नै पेट्रोलियम खपत कम गर्ने र त्यसको पैठारी घटाउने भन्ने हो । जसका लागी नेपालमा बिजुलीबाट चल्ने इलेक्ट्रिक सवारीसाधनको प्रयोग बढाउने भनेर सबैले भन्ने गरेको सुनिन्छ । सोहीअनुसार त्यस्ता सवारी साधनहरूको पैठारी लगायतमा व्यापक कर छुट दिएको र भन्सारको तथ्यांकअनुसार पनि निकै पैठारी भएको देखिन्छ ।

    तर बजारमा यस्ता सवारीसाधनहरू नगण्य मात्र प्रयोगमा आएको र पुरानै सवारी साधनहरूको बोलवाला छ । अर्थात् यस्ता सवारीसाधनहरू हाल पुराना सवारी साधनहरूलाई विस्थापन गर्ने किसिमले नभई सोखको रूपमा मात्र प्रयोगमा आएका छन् । यसको प्रमुख कारण भनेको बिजुलीबाट चल्ने सवारीसाधनका लागि आवश्यक चार्जिङ स्टेसन लगायतका भौतिक पूर्वाधारको अभाव हो ।

    घरमा चार्ज गरेर घरमै चार्ज गर्न आउनुपर्दा लामो दुरीमा यस्ता सवारीसाधन प्रयोगमा नआउनु स्वाभाविक हो । अर्को इन्धन खपत घटाउन अहिले चर्चामा रहेको जोर–बिजोर नम्बरका सवारीसाधनहरू पालो गरेर चलाउने भन्ने र हप्तामा दुई दिन बिदा गर्ने भन्ने पनि छ । यी दुवै तरिका सवारी साधन कम चलेपछि इन्धन खपत आफै घट्छ भन्ने मान्यतामा आधारित छन् । तर लकडाउनमा प्रायः सवारीसाधन र हाम्रा उद्योगधन्दा नचल्दासमेत पेट्रोलियम खपत नघटेर झन् बढेको अवस्थालाई के भन्ने ? यसले सामान्य नागरिकलाई सवारी साधन नपाएर भिडमा कष्टकर यात्रा गर्नुपर्ने भई सास्ती हुने र हाम्रा विकास–निर्माणका कार्यमा ढिलासुस्तीको बहाना थपिन्छ । यसबाट सक्नेहरूले साना सवारीसाधन बढी खरिद गरी अनावश्यक क्षेत्रमा पुँजी लगानी हुन पुग्ने र समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव पर्न सक्ने सम्भावना झन् बढ्छ ।

    अर्को, ग्यास लगायतको खपत घटाउन घरायसी प्रयोगमा बिजुलीको खपत बढाउने भन्ने विषय चैँ सान्दर्भिक नै देखिन्छ । तर त्यसका लागी भरपर्दो विद्युत् सस्तो मूल्यमा सप्लाई र इन्डक्सन चुल्हो, राइसकुकर आदिको सहज र सुपथ मूल्यमा आपूर्तिको व्यवस्था गर्नुपर्दछ । अर्को महत्त्वपूर्ण तरिका भनेको भारतीय सीमावर्ती क्षेत्रसँग बरावर हुने गरी मूल्य समायोजन गर्ने भन्ने चैँ अति जरुरी छ । बजारमा केही मूल्य बढ्ने र राजनीतिक रूपमा अलोकप्रिय निर्णय हुने भएता पनि यो अति आवश्यक देखिन्छ । यसको विकल्पमा अरू जुनसुकै प्रणाली र प्रक्रिया अपनाउदा पनि यथार्थमा नेपालमा पेट्रोलियम खपत घट्दैन, जसबाट सम्बोधन गर्नुपर्ने समस्या पनि समाधान हुने सम्भावना देखिँदैन ।

    पेट्रोलियम खपत कम गर्न अपनाउनुपर्ने उपायहरू

    विदेशी मुद्रा सञ्चितिमा देखिएको समस्या समाधानका लागि पेट्रोलियम पदार्थको खपत घटाउनु जरुरी देखिएको छ । यसका लागि तत्काल गर्नुपर्ने कामहरूमा स्वचालित मूल्य निर्धारण प्रणालीको यथार्थ कार्यान्वयन गरी सीमावर्ती भारतीय बजारसँग समान हुने गरी मूल्य समायोजन गरिहाल्नु पर्दछ । यसबाट आयल निगमको आर्थिक अवस्था सुधार हुनुका साथै चोरी निकासी भई भारत जाने परिमाण कम भई खपत आफै घट्न पुग्छ ।

    सीमावर्ती क्षेत्रमा खटिएका हाम्रा सुरक्षा निकायहरूलाई व्यापक परिचालन गरी चोरी निकासी नियन्त्रणमा पनि विशेष ध्यान पुर्‍याउनु पर्दछ । पुराना र बारम्बार मर्मत गरिरहनु पर्ने सवारी साधनले पेट्रोलियमको खपत बढी गर्ने हुँदा १५ वर्षभन्दा पुराना सवारीसाधन बजारबाट विस्थापन गर्नु पर्दछ । जसको विकल्पमा बिजुलीबाट चल्ने सवारी साधनलाई प्रोत्साहन गरी त्यसका लागि आवश्यक भौतिक पूर्वाधार चार्जिङ स्टेसनहरू बनाउने र त्यस्ता सवारीलाई कर लगायतबाट समेत प्रोत्साहन दिने नीतिगत व्यवस्था गर्नु पर्दछ ।

    तत्काल अपनाउनु पर्ने यी उपायहरूका साथै दीर्घकालीन रूपमा हामीसँग रहेका खनिजहरू उत्खनन गरेर नेपालमा नै पेट्रोलियम र कोइला आदिको उत्पादन गर्न सकिन्छ । आन्तरिक यातायातमा राष्ट्रको ध्यान केन्द्रित गरी रेल सेवाको विस्तार गर्न अब ध्यान पुर्‍याउनै पर्दछ । यसका साथै सार्वजनिक सवारीलाई विश्वासिलो, भरपर्दो र पर्याप्त र सुविधा सम्पन्न बनाई निजी सवारी प्रयोगमा विभिन्न कारहरू लगाई दुरुत्साहन गर्नुपर्दछ । जसबाट सडकमा सवारी चाप आफै घट्न गएर पेट्रोलियमको प्रयोग, खपत र आयात स्वतः घट्न पुग्दछ ।

    अन्त्यमा

    नेपालको अर्थतन्त्रमा अहिले देखिएको विदेशी विनिमय सञ्चितिको समस्या समाधानका लागी पेट्रोलियम पदार्थको खपत घटाउनु अति जरुरी छ । यसका लागि तत्काल आयल निगमबाट स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याइ सीमावर्ती भारतीय बजारसँग समान हुने गरी मूल्य कायम गर्नुपर्दछ ।

    चोरी निकासी रोक्ने, पेट्रोलियम पदार्थ बढी खपत गर्ने पुराना सवारी साधनहरू विस्थापन गर्ने र बिजुलीबाट सञ्चालन हुने सवारीसाधनको पैठारीमा र करमा सहुलियत प्रदान गरी त्यस्ता सवारी साधन सञ्चालनका लागि चार्जिङ स्टेसन लगायत भौतिक पूर्वाधार विकास गर्नुपर्दछ । दीर्घकालीन रूपमा भने यस्ता पदार्थहरू प्रयोग घटाउन र आत्मनिर्भर हुन आन्तरिक खनिजको उत्खनन गर्ने, वैकल्पिक ऊर्जाको विकासमा ध्यान दिने र रेल यातायातमा प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नु जरुरी छ ।

  • सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ

    सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ

    काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। खाना पकाउने ग्यासको भाउ एक हजार ६ सय पुगेको छ भने पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । खाना पकाउने ग्यासको मूल्य एकैचोटि प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको हो ।

    नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर १६० रुपैयाँ पुर्याएको छ। त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ। यसअघि पेट्रोल १५५ र डिजेल तथा मट्टीतेल १३८ रुपैयाँ थियो।

    त्यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकमा ५ रुपैयाँ बढाएर प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय रुपमा ५० डलर बढाएर प्रतिकिलोलिटर एक हजार ४४५ अमेरिकी डलर बनाएको छ।

  • पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज

    पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज

    काठमाडौं । केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो ।

    निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाउने सहमति भएको थियो । सहमति भएपछि पेट्रोलियम बिक्रेताले निगमको डिपोबाट पेट्रोलियम पदार्थ उठाएका थिए । पेट्रोलियम बिक्रेताले कमिशन वृद्धिको माग गर्दै पेट्रोलियम पदार्थको बिक्रीवितरण रोकेका थिए ।

    पेट्रोलियम बिक्रेताले इन्धनको बिक्रीवितरण बन्द गर्दा देशभर इन्धनको हाहाकार देखिएको थियो । सरकारी स्वामित्वका पम्पमा सवारी साधनको लामो लाइन लागेको थियो । निगम र व्यवसायीबीच सहमति भएपछि आइतबार बिहानदेखि पम्पले पेट्रोलियम पदार्थ उठाउन थालेका थिए । निगमले आइतबार एक हजार ६०० किलोलिटर पेट्रोल र एक हजार १०० किलोलिटर डिजेल बजारमा पठाएको थियो ।

    आज एक हजार १०० किलोलिटर डिजेल र पेट्रोल डिपोबाट वितरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज भएसँगै पेट्रोलपम्प खाली देखिएका छन् । इन्धन भर्न कुनै पनि पम्पमा लाइन बस्नुपर्ने अवस्था नरहेको उनले बताए ।

    निगम र समन्वय समितिबीच पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागका सम्बन्धमा आगामी जेष्ठ १५ गतेसम्ममा सक्ने सहमति भएको थियो ।

    कमिशन र ढुवानी भाडा वृद्धिको माग गर्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले आन्दोलन सुरु गरेको थियो ।

    निगमले अघिल्लो महिना पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को नोक्सानी रहेको भन्दै मूल्य बढे पनि बिक्रेताले कसिमन भने नबढाउने निर्णय गरेको थियो । व्यवसायीले डिजेल÷पेट्रोल र मट्टितेलको बिक्रीबाट प्रतिलिटरको मूल्यबाट ३.३९५ प्रतिशत कमिसन पाउँदै आएका छन् ।

  • आजदेखि पेट्रोलियम पदार्थको आपूर्ती सहज हुने

    आजदेखि पेट्रोलियम पदार्थको आपूर्ती सहज हुने

    काठमाडौं । नेपाल आयल निगमले कमिशन रोकेको भन्दै गत शुक्रबारबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलित व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । योसँगै आज बिहान ८ बजेदेखि सम्पूर्ण डीपो सञ्चालनमा आउँदैछन् ।

    पछिल्लो समय इन्डियल आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसको मूल्य बढेर आएको भन्दै निगमले बिक्रेतालाई दिने कमिशन रोकेको थियो ।

    तर, व्यवसायीले ढुवानी नै रोकेपछि शनिबार निगमले ४ बुँदे सहमति गरेको हो । नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच सात दिनभित्र ढुवानी भाडा समायोजन गर्ने सहमति जुटेपछि आन्दोलनका कार्यक्रम स्थगित भएको हो।

  • पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन

    पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन

    काठमाडौं । पछिल्लो समय अत्याधिक रुपमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ ।

    बुधबार सिंहदरवारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । छलफलपछि समितिका सभापती विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्बसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको बताए । उनले नेपाल आयल निगमका जाहेज मागलाई सम्बोधन गर्न पनि सरकारलाई सचेत गराए ।

    उनले भने,‘उपभोक्तालाई मार नपर्ने गरी सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध होस् । यसको लागि नेपाल आयल निगम पनि धरासायी स्थितिमा पुगेको हुनाले सम्बन्धित निकायलाई आयल निगमको जायज मागहरु हुन । मागहरुको व्यवस्था होस् भन्ने सतितिको ठहर रहर रहेको छ । समितिले सम्बन्धित निकायलाई निर्देशन दिन्छौं । नेपाल आयल निगमलाई के निर्देशन दिन्छौं भने उपभोक्ताले सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध होस् । सकभर मूल्य नियन्त्रण गर्ने तर्फ सरकारको ध्यान जाओस् ।’

    सभापति श्रीवास्तवले सरकारले उपभोक्तालाई सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध नगराएकोमा पनि आपत्ति जनाए ।

     

     

  • पेट्रोलियम पदार्थमा एकैपटक ५ रुपैयाँ मूल्यवृद्वि

    पेट्रोलियम पदार्थमा एकैपटक ५ रुपैयाँ मूल्यवृद्वि

    काठमाडौं । नेपाल आयल निगमले एकैपटक पेट्रोलियम पदार्थमा मूल्य ५ रुपैयाँले बढाएको छ । नेपाल आयल निगमको बिहीबार बसेको बैठकले बिहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य  बढाउने निर्णय गरेकाे हाे ।

    निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको खुद्रा विक्रि मूल्यमा प्रति लिटर पाँच रुपैयाँले बढाएर काठमाडौं (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्र)मा प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य एक सय ५०, र एक सय ३३ रुपैयाँ कायम गरेको छ । निगमलाई एलपी ग्यासमा प्रति सिलिण्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा हुँदासमेत बिक्री मूल्य नबढाई अहिलेलाई पुनः यथावत नै राखिएको छ भने हवाई इन्धनमा पनि केही मूल्य समायोजन गरिएको छ ।

    मूल्य समायोजनपछि पनि नेपाल–भारत सीमा क्षेत्रमा अझै पनि पेट्रोल २४ रुपैयाँ २४ पैसा र डिजेल १७ रुपैयाँ ३१ पैसा प्रति लिटरले नेपालतर्फ सस्तो नै रहेको छ । निगम संचालक समितिले मूल्य समायोजनको निर्णयसँगै निगमका स्थायी कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गर्ने, मूल्य संरचनामार्फत् प्रतिशतमा दिइँदै आएको विक्रेता कमिशन अहिलेलाई फागुन ७ गते कायम भए अनुरूप नै यथावत राख्ने निर्णय गरेको निगमका सह–प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।

  • पेट्रोलियम पदार्थको मूल्य भारतले फेरि बढाएर पठायाे (मूल्य सूचीसहित)

    पेट्रोलियम पदार्थको मूल्य भारतले फेरि बढाएर पठायाे (मूल्य सूचीसहित)

    काठमाडौं । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको छ ।

    नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले आज नयाँ मूल्य सूची पठाएको हो ।

    आईसीले पठाएको सूची अनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएको छ ।

    नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ ।
    निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ ।  प्रति महिना निगमले ४ अर्व भन्दा बढी ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमको भनाई छ ।

    *यसअघिकाे समाचार अन्यथा परेकाले सच्याइएकाे छ ।

  • सिलिन्डर बोकेर सत्तारुढ दलनिकट विद्यार्थी सडकमा (तस्बिरहरू)

    सिलिन्डर बोकेर सत्तारुढ दलनिकट विद्यार्थी सडकमा (तस्बिरहरू)

    काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध सत्तारुढ दलनिकट विद्यार्थी संगठनले प्रर्दशन गरेका छन् । आइतबार उनीहरूले राजधानीको आरआर क्याम्सअगाडि खाना पकाउने ग्यास सिलिन्डरसहित प्रर्दशन गरेका हुन् ।

    प्रदर्शनकारीले मलाई बल्न देऊ, आयल निगमका प्रमुख सुरेन्द्र पौडेललाई बर्खास्त गर, आयल निगमले व्यापार गर्न पाइँदैन, मूल्यवृद्धि चाहिँदैनलगायतका प्लेकार्ड बोकेका छन् ।

    संयुक्त विद्यार्थीले गरेको आन्दोलनमा आयल निगमका प्रमुखलाई बर्खास्त गर्न, कालोबजारी नियन्त्रण गर्न माग गरिएको छ ।

    हेर्नुहोस् तस्बिरहरू:

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन (तस्बिरहरू\भिडिओ)

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन (तस्बिरहरू\भिडिओ)

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रतिपक्षी दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

    काठमाडौंको रत्नराज्य क्याम्पसको गेटअगाडि विरोध प्रदर्शनका क्रममा अनेरास्ववियुका विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । सोक्रममा प्रहरीले बलसमेत प्रयोग गरेको छ ।

    पटकपटक भाउ बढाएर जनताको ढाड सेकेको भन्दै तत्काल मूल्यवृद्धिको निर्णय फिर्ता लिन उनीहरूको माग छ ।

    तस्बिरहरू : उमेश कार्की । 

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा विप्लव नेकपाको प्रदर्शन (तस्बिरहरू)

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा विप्लव नेकपाको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संघर्ष थालेको छ ।

    माइतीघरमा भेला भएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मूल्यवृद्धिको विरोध गरेका छन् ।

    मुल्यवृद्धिबाट उपभोक्ता मारमा पर्ने भएकाले जनसरोकारको विषयमा मुकदर्शक भएर हेरिरहन नसकिने भन्दै नेकपाले आजदेखि कात्तिक ३० गतेसम्म चरणबद्ध विरोधका कार्यक्रम घोषणा गरेको छ । नेकपाको संघर्षअन्तर्गत देशव्यापी विरोध प्रदर्शन, चक्का जाम र नेपाल बन्दसम्मका कार्यक्रम छन् ।

    नेकपाले सरकारलाई मूल्यवृद्धि फिर्ता लिन पनि आग्रह गरेको छ ।

    तस्बिरहरू : गौरव पौडेल । 

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई राजनीतिक विषय नबनाउन निगमको आग्रह (भिडिओ)

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई राजनीतिक विषय नबनाउन निगमको आग्रह (भिडिओ)

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन् ।

    बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका हुन् ।अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहँदा नेपालमा पनि मूल्यवृद्धि हुनु स्वभाविक भएको बताए ।

    उनले नेपालमा तेलको मूल्य वृद्धि भएको विषयलाई अनर्गल ग्रचार गरिरहेको बताउँदै राजनीतिक दल र तिनका भातृ संगठनहरुले यसलाई राजनीतिक विषय बनाएको आरोप लगाए ।

    अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर ७ रुपैयाँ तेलको मूल्य बढ्दा नेपालमा ३ रुपैयाँ मात्र बढाइएको बताउँदै कार्यकारी निर्देशक पौडेलले यसले जनतालाई मारमा नपार्ने उनी बताउँछन् । उनले विश्व राजनीतिमा उतारचढाव हुँदा तेलको मूल्य बढीरहेको भन्दै अबको दुई वर्ष तेलको मूल्य स्थिर हुन नसक्ने बताए ।

    कार्यकारी निर्देशक पौडेलले अहिले निगम डिजेलमा प्रतिलिटर १५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र एलपी ग्याँसमा ७२० रुपैयाँ नोक्शानमा रहेकोदावी गरे । उनले यस आर्थिक वर्षमा निगमले जति नै मूल्य बढाएपनि २० अर्ब नोक्शानमा जाने दाबी गरे । कार्यकारी निर्देशक पौडलले यस वर्षमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १४० रुपैयाँ पुग्ने बताउँदै यसमा अन्यथा मान्नु नहुने बताए ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि बारे यसाे भन्छन्  कार्यकारी निर्देशक पौडेल

    यो सरकारी संस्था हो, अस्वभाविक हुँदैन, सबैचिज पारदर्शी नै हुन्छ, अस्वभाविक भनेर हामीले सोच्नु नै सरकार, निगमप्रति पूर्वाग्रही ढंगले सोचिएको हो, यो १०० प्रतिशत स्वभाविक हो बजारमा लिक्वीडिडी अभावको स्थिती हेर्नुहोस्, अन्तर्राष्ट्रिय बजारमा डलरको गिरावट हेर्नुहोस्, अन्तर्राष्ट्रिय मुद्राको मौज्दातको, घाटकोे स्थिती हेर्नुहोस्, एक वर्षअघि कति मूल्य थियो आज कति छ हुर्नुहोस्।

    आजको दिनमा राजनीति गर्ने एउटै चिज छ, त्यो भनेको तेल हो, तेलमा अन्तर्राष्ट्रिय राजनीति छ, खाडी मुलुकहरु रातारात कसरी धनी भए यो हामीलाई थाहा छ, त्यसैले जहिल्यै पनि विश्वको अर्थतन्त्र अलिकति घटबढ भयो भने तेलको मूल्यले इकोनोमिलाई नराम्ररी हान्छ, तेलको मूल्य अब के हुन्छ भन्ने विषय प्रिडिक्शनकै आधार हो, त्यसैले तेलको मूल्य आगामी २ वर्ष स्थिर हुने स्थिती देखिँदैन, बढ्दै क्रममा हुन्छ, र यो १०० डलर प्रतिब्यारेलसम्म पुग्छ, यो के हो भने आज हामी ८० मा छौँ, निगमलाई ६० डलरमा पुर्याइयो भने हाम्रो मूल्य स्थिर हुन्छ, हामी ८० डलरमा छौँ, अहिले हामीलाई २० डलरको मार छ भने योसय डलर पुग्छ भनेपछि तपाईले हेरिहाल्नुस् कहाँ पुग्छौँ हामी भन्ने कुरो ।’

     ‘निगम अघिल्लो वर्षको जनवरीदेखि घाटामा छ, हामीले मूल्य समायोजन नगरेको होइन, ३३ रुपैयाँ जतिको मूल्य समायोजन गरेका थियौँ, २ वर्षमा १७÷१८ रुपैयाँ पैसा घटाएका छौँ, अहिले स्याल अघिअघि शिकारी पछिपछि भइदियो, मूल्य अघिअघि बढ्छ, हाम्रो मूल्य समायोजन पछिपछि भयो, अझ एलपीजीमा त हामीले समयोजन गर्नै हुँदैन, नोक्शानमै बेच्नुपर्छ भन्नेमै गइयो, अहिलेसम्म हामी सफल पनि थियौँ, निगमले तथ्य, तथ्यांक कहिले पनि लुकाएकै छैन, निगम कहिल्यै ठूलो मार्जिनमा बसेको छैन, एक रुपैयाँ मार्जिन भनेकै हामीलाई साढे २ करोड रुपैयाँ हो भने हामी ५ रुपैयाँ मार्जिनमा बसेका छौँ, डबल भइसक्यो ।

    अघिल्लो आर्थिक वर्ष १५÷१६ महिनाअघि हामी ४० डलरको हाराहारीमा थियौँ, अहिले ८५ डलर भइसक्यो, डबल भइसक्यो, डबल हुँदा हाम्रो मूल्य कति भयो त ? त्यो हिसावले त बढेको छैन, किन बढेन भन्दा हामीले एउटा अन्तर्राष्ट्रिय बजारको परिस्थिती घटीहाल्छ कि, हामीलाई त यो आर्थिक वर्ष सस्टेन गर्ने मात्रै हो, हाम्रो उद्देश्य भनेको नाफा कमाएर धेरै कुरा गर्नुपर्छ भन्ने पनि छैन, नभएका कुरामा लाञ्छना लगाएर, हुँदै नभएका विषयमा गाली गरेर, निगम, कर्मचारीलाई गाली गरेर केही हुँदैन, कि निगम नै चाहिँदैन भन्न सक्नुपर्यो, जुन कुराको विकल्प छैन, गरेर फाइदै छैन, जुन कुरामा राजनीति नै गर्नुहुँदैन, जुन कुरो राजनीतिक विषय नै होइन, त्यसैले हल्ला मच्चाएर इकोनोमी नै सिध्याउने कुरा हो, निगमको हेल्थमा हेलचेक्राइँ गर्नुहुँदैन ।’ 

     

     

  • शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढ्याे

    शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढ्याे

    काठमाडौं । शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमका अनुसार शुक्रबार रातीदेखि पेट्रोल र डिजेल तथा मट्टितेलको मुल्य ३ रुपैयाँले बढेको छ भने आन्तरिक तथा बाह्य हवाई ईन्धनको मुल्य १० रुपैयाँले बढेको छ ।

    ‘निगम संचालक समितिको शुक्रबार बसेको बैठकले शुक्रबार रातिदेखिी १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल र मट्टितेलको साविकको विक्रि मूल्यमा तीन रुपैयाँले वृद्धि गरी काठमाडौ (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्र)को लागि नयाँ खुद्रा विक्रि मूल्य क्रमश १३३ र ११६ तथा आन्तरिक तथा बाह्य हवाई ईन्धनमा साबिकको विक्रि मूल्यमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८ सय ५३ प्रति किलो लिटर र एलपीग्यासमा काठमाडौको साविक बिकी मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँले वृद्धि गरी नयाँ खुद्रा  बिक्री मूल्य १५ सय प्रति सिलिण्डर कायम गर्ने निर्णय गरिएको छ।’ निगमले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारणमा पर्न गएको असुविधा प्रति निगमले माफी माग्दै आगामी दिनमा आवश्यक सहयोगको अपेक्षा पनि गरिएको आयोगका सह-प्रवक्ता पुस्कर कार्कीले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

  • इतिहासकै ठूलो घाटा व्यहोर्दै आयल निगम, पेट्रोलियम आपूर्ति प्रभावित बन्नसक्ने

    इतिहासकै ठूलो घाटा व्यहोर्दै आयल निगम, पेट्रोलियम आपूर्ति प्रभावित बन्नसक्ने

    काठमाडौं । पेट्रोलियम पदार्थको एकाधिकारप्राप्त नेपाल आयल निगम इतिहासकै ठूलो घाटाको दलदलमा फसेको छ । तत्काल मूल्य समायोजन हुन नसके निकट भविष्यमै पेट्रोलियमको आपूर्ति प्रभावित बन्नसक्ने निगमका अधिकारीहरूले बताएका छन् ।

    कयौंपटक पेट्रोलियमको मूल्यवृद्धि गर्दा पनि निगमको घाटा चुलिँदै गएर उच्च विन्दूमा पुगेको छ । अहिलेको मूल्यअनुसार निगमलाई मासिक ४ अर्ब ४४ करोड घाटा छ, जुन अहिलेसम्मकै उच्च हो ।

    अन्तर्राष्ट्रिय बजारमूल्य अनुसार मूल्य घटबढ गर्ने गरी स्वचालित प्रणालीमा गएको भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । पछिल्लोपटक गत असोज ७ गते पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो । त्यसयता चाडबाडले गर्दा मूल्य समायोजन गर्न नसकेको निगम बताउँछ ।

    अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गर्न नसक्दा नै निगमले ठूल्लो घाटा व्यहोर्नु परेको बताइएको छ । निगमका अनुसार अक्टोबर महिनाको सुरुमा इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको मूल्यअनुसार निगमको घाटा १५ दिनमा २ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यही मूल्य कायम रहेमा मासिक नोक्सानी ४ अर्ब ४४ करोड हुनेछ । पछिल्ला महिनामा विश्व बजारमा कच्चा तेलको मूल्य बढिरहेकाले अब पनि बढेर नै आउने निगमको अनुमान छ ।

    हाल पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल प्रतिलिटर ११३ रुपैयाँ, ग्यास प्रतिसिलिन्डर १ हजार ४५० रुपैयाँ मूल्य छ । छिमेकी देश भारतमाभन्दा नेपालमा पेट्रोल ४० रुपैयाँ र डिजेल ४२ रुपैयाँ प्रतिलिटर सस्तो पर्छ । भारतले अन्तर्राष्ट्रिय मूल्यनुसार समायोजन गर्ने र प्रदेश सरकारले समेत कर लिने गरेकाले नेपालमा भन्दा महंगो भएको हो ।

    नेपालमा मूल्य समायोजन नगर्न राजनीतिक दबाब पर्ने गरेको छ । आईओसीले पठाएको पछिल्लो नयाँ मूल्य चाडपर्वको बेला भनेर समायोजन भएन । अरु बेला पनि सरकारको लोकप्रियतामा असर पर्ने भनेर मूल्य समायोजनामा हस्तक्षेप गर्ने प्रचलन छ । विद्यार्थी संगठनहरूले गर्ने सडक आन्दोलनले पनि मूल्यवृद्धि प्रभावित हुन्छ ।

    नेपालमा मूल्य समायोजन नगर्न राजनीतिक दबाब पर्ने गरेको छ । आईओसीले पठाएको पछिल्लो नयाँ मूल्य चाडपर्वको बेला भनेर समायोजन भएन । अरु बेला पनि सरकारको लोकप्रियतामा असर पर्ने भनेर मूल्य समायोजनामा हस्तक्षेप गर्ने प्रचलन छ । विद्यार्थी संगठनहरूले गर्ने सडक आन्दोलनले पनि मूल्यवृद्धि प्रभावित हुन्छ ।

    निगम अहिले इतिहासकै ठूलो मासिक घाटामा रहेको प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

    उपाध्यायले भने, ‘निगमलाई अहिलेको मूल्यअनुसार मासिक ४ अर्ब ४४ करोड घाटा हुने अवस्था आएको छ । अब बेलैमा विचार गरिएन भने निगम २०७० सालभन्दा अगाडिकै अवस्थामा फर्किने छ ।’

    २०७० सालभन्दा पहिले निगमसँग आर्थिक संकटमा परेर नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ऋण लिएको थियो । निगमले मासिक १५ देखि १७ अर्बको पेट्रोलियम पदार्थ आइओसीसँग किन्ने गरेको छ । १७ अर्बको कारोबारमा प्रतिमहिना ४ अर्ब ४४ करोड घाटा हुँदै जाने हो भने पेट्रोलियम पदार्थ किन्न पैसा नभएर आपूर्ति व्यवस्थामा समेत समस्या आउन सक्ने उपाध्यायको भनाइ छ ।

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएकाले नै नेपाल आयल निगमको घाटा चुलिएको हो । भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो भएकाले पनि सीमामा भएका पम्पहरुमा भारतीयहरु डिजेल र पेट्रोल हाल्न नेपालमा आउने गरेका छन् । निगमले घाटा खाएर बिक्री गरिरहेको पेट्रोलियम पदार्थबाट सीमाका केही गाडीहरुले समेत फाइदा लिरहेको उपाध्यायले बताए ।

    पेट्रोल बिक्रीबाट निगमलाई प्रतिलिटर १५ रुपैयाँ एक पैसा, डिजेल बिक्रीबाट १४ रुपैयाँ १६ पैसा, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट प्रतिलिटर ४ रुपैयाँ ५६ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर ५११ रुपैयाँ ८८ पैसा घाटा छ । मट्टितेलको बिक्रीबाट प्रतिलिटर १९ रुपैयाँ ५९ पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धनबाट प्रतिलिटर १० रुपैयाँ ३७ पैसा नाफा छ ।

    निगम केही वर्षअघि ३६ अर्ब ऋणमा थियो । विस्तारै त्यो ऋण तिर्दै निगम नाफामा गएको थियो । तर, अहिलेको अवस्थाले पहिलेकै अवस्थामा पुग्ने भएको छ ।

  • पाँच विद्यार्थी संगठनद्वारा पेट्रोल पम्प र ढुवानी बन्दको घोषणा

    पाँच विद्यार्थी संगठनद्वारा पेट्रोल पम्प र ढुवानी बन्दको घोषणा

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनरत पाँच विद्यार्थी संगठनले भोलिदेखि पेट्रोल पम्पहरू बन्द गर्ने घोषणा गरेको छ ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव पक्ष, जसपा उपेन्द्र पक्ष र जनमोर्चासम्वद्ध विद्यार्थी संगठनले पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघलाई ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोल पम्प र ढुवानीमा प्रयोग हुने ट्यांकर बन्द गर्न भनेको छ ।

    ध्यानाकर्षणको अवज्ञा गरिए उत्पन्न हुने परिस्थितिको जिम्मेवारी व्यवसायी र एसोसियसन नै हुने उनीहरूले चेतावनी दिएका छन् ।

     

  • वर्षमा १५ पटक ईन्धनको मूल्यवृद्धि, तर निगम अझै घाटामा !

    वर्षमा १५ पटक ईन्धनको मूल्यवृद्धि, तर निगम अझै घाटामा !

    काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्षमा १५ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य कुल १८ पटक समायोजन हुँदा ३ पटक मूल्य घटेको थियो । वर्षदिनमा १५ पटक मूल्य बढाउँदा पनि निगमले ‘घाटामै रहेको’ दाबी गर्न छाडेको छैन ।

    मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर १ सय २९ रूपैयाँ, डिजेल र मट्टितेलको मूल्य १ सय १२ रूपैयाँ कायम भएको छ । मंगलबार नै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रूपैयाँ वृद्धि भएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फ प्रति १ हजार लिटर १९ डलरले बढेर ७ सय ५४ डलर मूल्य कायम भएको छ ।

    खाना पकाउने ग्यासको मूल्य पनि २५ रूपैयाँले वृद्धि भई अब प्रतिसिलिन्डर १ हजार ४ सय २५ रूपैयाँ मूल्य कायम भएको छ । मंगलबारको मूल्य वृद्धिपछि पनि पेट्रोलियम पदार्थमा पाक्षिक ९१ करोड रूपैयाँ घाटा व्यहोर्नुपरेको निगमको भनाई छ । यसअघि पाक्षिक घाटा ६५ करोड रहेकोमा मूल्यवृद्धिपछि घाटा अझ बढेको हो । अघिल्लो अवधिमा निषेधाज्ञाका कारण पेट्रोलियम पदार्थको बिक्री कम थियो ।

    मंगलबार मूल्यवृद्धि गर्दा पनि निगम पेट्रोलियम पदार्थमा पाक्षिक ९१ करोड रूपैयाँ घाटा हुनेछ । यसअघि १५ दिनमा निगमलाई ६५ करोड रूपैयाँ घाटा थियो । अघिल्लो मूल्य समायोजनको बेला लकडाउन भएकाले पेट्रोलियम पदार्थको बिक्री कम थियो र घाटा पनि कम थियो ।

    निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल विश्व बजारको मूल्यकै आधारमा नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको बताउँछन् । डलरको मूल्य, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य र राजस्वका कारण पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको पौडेलको भनाई छ ।

    ‘नेपाल आयल निगमले व्यापार गरेको छैन । हामी त भन्सारजस्तै निकाय हो । व्यापार त पम्पहरूले गरिरहेका छन् । इण्डियन आयल कर्पोरेसनले पठाएको मूल्य नै हामीले तोक्ने हो’, पौडेलले नेपाल प्रेससँग भने । पौडेलका अनुसार हाल निगमले पेट्रोलमा ७ करोड, डिजेलमा ४ करोड, मट्टितेलमा २१ करोड, एलपी ग्यासमा ३ करोड र एविएशन टर्बाइन फ्यूलमा १६ करोड रूपैयाँ पाक्षिक घाटा व्यहोरेको छ ।

    कहिले-कहिले बढ्यो पेट्रोलियममा पदार्थको मूल्य ?

    चालु अबमा सबैभन्दा पहिले २०७७ साउन १७ गते पेट्रोल प्रतिलिटर १ सय २ रूपैयाँबाट मूल्य वृद्धि भएर १ सय ४ रूपैयाँ तथा डिजेल र मट्टितेल ८८ रूपैयाँबाट मूल्य वृद्धि भइ ९० रूपैयाँ पुगेको थियो ।

    साउन ३२ गते पेट्रोल प्रतिलिटर १ सय २ रूपैयाँबाट मूल्यवृद्धि भएर १ सय ५ रूपैयाँ तथा डिजेल र मट्टितेल ९० रूपैयाँबाट ९१ रूपैयाँ मूल्य पुगेको थियो ।

    आवको दोस्रो महिना भदौ १६ गते पेट्रोल प्रतिलिटर १ सय ५ रूपैयाँबाट मूल्यवृद्धि भएर १ सय ७ रूपैयाँ तथा डिजेल मूल्य पुगेको थियो । त्यतिबेला डिजेल, मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य यथावत नै रहेको थियो ।

    त्यसपछि मंसिर २७ गते मात्रै मूल्यवृद्धि भएको छ । २७ गते पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि भएको थियो । ग्यास र हवाइ इन्धनको मूल्य यथावत नै रहेको थियो । एकैपटक २ महिनापछि पेट्रोल १ सय ७ रूपैयाँबाट १ सय ८ रूपैयाँ पुगेको थियो । त्यस्तै डिजेल र मट्टितेलको मूल्यवृद्धि भई प्रतिलिटर ८९ बाट ९० रूपैयाँ पुगेको थियो ।

    कोरोनाको समयमा पेट्रोलियम पदार्थका उपभोक्तालाई केही राहत होस् भनेर सरकारले केही महिना मूल्यवृद्धि गरेन । एकैपटक २०७७ माघ ५ गते मूल्य संमायोजन भएको थियो । जसबाट १ सय ८ रूपैयाँ प्रतिलिटर रहेको पेट्रोल १ सय १० रूपैयाँ पुगेको थियो । डिजेल र मट्टितेल प्रतिलिटर ९१ रूपैयाँबाट मूल्यवृद्धि भई प्रतिलिटर ९३ रूपैयाँ कायम भएका थिए । सो समयमा ग्यास र हवाई इन्धनको मूल्य यथावत नै रहेको थियो ।

    माघ २८ गते पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यवृद्धि भएको थियो । त्यतिबेला पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० बाट १ सय १२ रूपैयाँ कायम भएको थियो । डिजेल र मट्टितेल भने प्रतिलिटर९३ रूपैयाँबाट मूल्यवृद्धि भएर ९५ रूपैयाँ प्रतिलिटर पुगेका थिए । त्यतिबेला खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ४ सय रूपैयाँ पुगेको थियो ।

    फागुन ४ गते पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ मूल्यवृद्धि भइ १ सय १४ रूपैयाँ नयाँ मूल्य कायम भएको थियो । त्यस्तै डिजेल र मट्टितेल प्रतिलिटर २ रूपैयाँ मूल्य वृद्धिभई ९७ रूपैयाँ प्रतिलिटर मूल्य कायम भएको थियो । सो समय हवाइ इन्धनको ६५ रूपैयाँ प्रतिलिटरबाट मूल्यवृद्धि भई ६७ रूपैयाँ प्रतिलिटर मूल्य कायम भएको थियो ।

    फागुन १७ गते पेट्रोलमा २ रूपैयाँ मूल्यवृद्धि भई १ सय १६ रूपैयाँ प्रतिलिटर नयाँ मूल्य कायम भएको थियो । डिजेल र मट्टितेल प्रतिलिटर २ रूपैयाँ प्रतिलिटर मूल्यवृद्धि भई ९९ रूपैयाँ प्रतिलिटर पुगेको थियो । आन्तरिक हावइ इन्धन प्रतिलिटर ६७ रूपैयाँबाट ७२ रूपैयाँ प्रतिलिटरबाट नयाँ मूल्य कायम भएको थियो । भने अन्तर्राष्ट्रिय हवाइ इन्धन प्रतिकिलो लिटर अमेरिकी डलर ८ सय ६८ बाट वृद्धि भई अमेरिकी डलर ८ सय ९३ पुगेको थियो ।

    २०७७ चैत ३ गते पेट्रोल प्रतिलितर २ रूपैयाँ मूल्य वृद्धि भई प्रतिलिटर १ सय १८ रूपैयाँ नयाँ मूल्य कायम भएको थियो । डिजेल र मट्टितेलको प्रतिलिटर १ सय १ रूपैयाँ नयाँ मूल्य काम भएको थियो । त्यस्तै आन्तरिक हावइ इन्धन प्रतिलिटर २ रूपैयाँ मूल्यवृद्धि भई ७४ रूपैयाँ नयाँ मूल्य कायम भएको थियो । सो समयमा अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य पुरानै यथावत रहेको थियो ।

    २०७७ चैत २२ गते पेट्रोलको प्रतिलिटर २ रूपैयाँ मूल्यवृद्धि भई १ सय २० रूपैयाँ प्रतिलिटर पुगेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर २ रूपैयाँ नै मूल्यवृद्धि भई १ सय ३ रूपैयाँ नयाँ मूल्य कायम भएको थियो । २२ गते आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य भने यथावत नै रहेको थियो ।

    २०७८ बैशाख ४ गते पेट्रोल प्रतिलिटर १ रूपैयाँ मूल्यवृद्धि भई १ सय २१ रूपैयाँ प्रतिलिटर मूल्य कायम भएको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर १÷१ रूपैयाँ मूल्य वृद्धिभई १ सय ३ रूपैयाँ नयाँ मूल्य कायम भएको थियो । जेठ २ गते पेट्रोलमा १ रूपैयाँ तथा डिजेल र मट्टितेलमा २÷२ रूपैयाँ मूल्यवृद्धि भई पेट्रोल प्रतिलिटर १ सय २३ रूपैयाँ तथा डिजेल र मट्टितेल १ सय ६ रूपैयाँ नयाँ मूल्य कायम भएको थियो । त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य २ रूपैयाँ वृद्धि भई ७८ रूपैयाँ मूल्य कायम भएको थियो ।

    जेठ २२ गते पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाइ इन्धनको मूल्य २ रूपैयाँले वृद्धि भएको थियो । नयाँ मूल्य अनुसार पेट्रोल १ सय २५, डिजेल तथा मट्टितेल १ सय ८ र आन्तरिक हवाइ इन्धन प्रतिलिटर ८० रुपैया कायम भएको थियो ।

    गत असार ९ गते पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाइ इन्धनको मूल्य २ रूपैयाँले वृद्धि भएको थियो । नयाँ मूल्य अनुसार पेट्रोल १ सय २७, डिजेल तथा मट्टितेल १ सय १० र आन्तरिक हवाइ इन्धन प्रतिलिटर ८२ रुपैया मूल्य पुगेको थियो । भने अन्तर्राष्ट्रिय हवाइ इन्धन प्रतिकिलो मिटर अमेरिकी डलड ७ सय १५ बाट मूल्यवृद्धि भई ७ सय ३५ पुगेको थियो ।

    आर्थिक वर्षको अन्तिम पटक गत असार २२ गते सबै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । पेट्रोल, डिजेल, मट्टितेल प्रतिलिटर २÷२ रूपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै ग्यासमा प्रतिसिलिन्डर २५ रूपैयाँ, आन्तरिक हवाइ इन्धनमा २ रूपैयाँ र अन्तर्राष्ट्रिय हवाइमा इन्धनमा १९ अमेरिकी डलर वृद्धि भएको छ । नयाँ मूल्य अनुसार पेट्रोल १ सय २९, डिजेल तथा मट्टितेल १ सय १२, ग्यास प्रतिसिलिन्डर १ हजार ४ सय २५, आन्तरिक हवाइ इन्धन प्रतिलिटर ८४ रूपैयाँ तथा अन्तर्राष्ट्रिय हवाइ इन्धन प्रति किलोलिटर अमेरिकी डलर ७ सय ५४ मूल्य पुगेको छ ।

    कति पटक घट्यो मूल्य ?

    २०७७ भदौं ३१ गते पेट्रोल, ग्यास र हावइ इन्धनको मूल्य यथावत रही डिजेल र मट्टितेलको मूल्य घटेको छ । डिजेट र मट्टितेल प्रतिलिटर ९१ रूपैयाँबाट घटेर ९० रूपैयाँ तोकिएको थियो ।

    त्यस्तै असोज १५ गते पेट्रोल र हवाइ इन्धनको मूल्य यथावत रही पेट्रोल र मट्टितेलको मूल्य घटेको थियो । सो समय डिजेल र मट्टितेल प्रतिलिटर ९० रूपैयाँबाट घटेर ८९ रूपैयाँ नयाँ मूल्य लागु भएको थियो ।

    जेठ २३ गते अन्तर्राष्ट्रिय हवाइ इन्धन प्रतिकिलो मिटर अमेरिकी डलर ७ सय १५ कायम भएको थियो । यसभन्दा पहिले ८ सय ९३ अमेरिकी डलर प्रति किलोलिटर मूल्य रहेकोमा एकैपटक १ सय ७८ अमेरिकी डलर प्रति किलोलिटर मूल्य घटेको हो ।

    कति लिन्छ सरकारले कर ?

    निगमले सरकारलाई १ लिटर पेट्रोलमा २५ रूपैयाँ २० पैसा भन्सार शुल्क, ०.०२५ रूपैयाँ भन्सारको सेवा शुल्क, ४ रूपैयाँ सडक मर्मत शुल्क र १.५० रूपैयाँ प्रदुषण शुल्क, १० रूपैयाँ पूर्वाधार कर र १२ रूपैयाँ ६५ पैसा मूल्य अभिवृद्धि करको रुपमा बुझाउनुपर्छ । उपभोक्ताले अहिले १ लिटर पेट्रोल खरिद गर्दा ५४ रूपैयाँ ४७ पैसाँ सरकारलाई कर तिर्ने गरेका छन् ।

    डिजेलमा सरकारले ३७ रूपैयाँ कर लिन्छ । उपभोक्ताले १ लिटर डिजेल खरिद गर्दा १२ रूपैयाँ भन्सार कर, ०.०२५ रूपैयाँ भन्सार सेवा शुल्क, २ रूपैयाँ सडक मर्मत शुल्क, ०.९३ रूपैयाँ पीएसएफ र १०.६९ रूपैयाँ भ्याट सरकारलाई बुझाउनु पर्छ ।

    उपभोक्ताले पेट्रोलको मौज्दात ब्याज खर्चका लागि १५ पैसा, निगमको प्रशासनिक खर्चका लागि ६८ पैसा, निगमको प्राविधिक नोक्सानीका लागि १२ पैसा, ह्रास खर्चका लागि १ रूपैयाँ ७२ पैसा र निगमको विभिन्न खर्चवापत ४ रूपैयाँ ५७ पैसा कर लिने गरेको छ । यी सबै शुल्कहरु उपभोक्ताबाटै प्रत्यक्ष लिने गरिएका कारण निगमले किन्दा सस्तोमा आएको पेट्रोलियम पदार्थ उपभोक्ताले किन्दा महंगो पर्न गएको हो ।

    भारतमा भन्दा नेपालमा नै सस्तो !

    भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो छ । भारतमा भन्दा नेपालमा तेलको मूल्य सस्तो भएकाले नेपालबाट भारत तेल तस्करी हुने गरेको पाइन्छ । भारतको रक्सौलमा पेट्रोल प्रतिलिटर १ सय ६४ रूपैयाँ १९ पैसा पर्छ । नेपालको वीगञ्जमा भने १ सय २७ रूपैयाँ ५० पैसा मूल्य रहेको छ । सीमाना वारिपारी ३६ रूपैयाँ ६९ पैसा मूल्य फरक रहेको छ । भारतबाटै आयात हुने पेट्रोल भारतमा भन्दा प्रतिलिटर नेपालमा ३६ दशमलव ५९ प्रतिशत सस्तो रहको छ ।

    त्यस्तै डिजल पनि भारतमा भन्दा नेपालमा नै सस्तो रहको छ । भारतमा प्रतिलिटर १ सय ५३ रूपैयाँ ९४ पैसा मूल्य रहेको छ । नेपालमा १ सय १० रूपैयाँ ५० पैसा प्रतिलिटर मूल्य रहेको छ । भारतमा भन्दा नेपालमा प्रतिलिटर ४३ रूपैयाँ ४४ पैसा प्रतिलिटर सस्तो रहेको छ ।

    भारतबाटै ल्याउने तेल कसरी हुन्छ सस्तो ?

    भारतमा संघीय सरकारसँगै प्रदेश सरकारहरुले पनि थप कर लिने गरेकाले नेपालमा भन्दा भारतमा तेलको मुल्य मंहगो हुन्छ । नेपालमा पेट्रोलियम पदार्थमा केन्द्र सरकारले मात्रै कर लिने गरको छ । भारतमा भन्दा नेपालमा ‘ओभरहेड रेट’ कम हुने भएको पनि सस्तो भएको निगमको भनाई छ ।

     

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन पाँच विद्यार्थी संगठनको माग

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन पाँच विद्यार्थी संगठनको माग

    काठमाडौं । विपक्षी गठबन्धनसम्वद्ध पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।

    नेपाल आयल निगमको कार्यालयमा उनीहरूले मूल्य वृद्धि फिर्ता नलिए कडा आन्दोलमा उत्रने चेतावानीसमेत दिएका छन् ।

    कोरोना महामारी र बन्दाबन्दीको कारण उपभोक्ताको जन(जीवन कष्टकर भएको अवस्थामा अत्यावश्यकीय उपभोग्य वस्तुमा मुल्यवृद्धि हुनु अत्यन्तै आपत्तिजनक भएको उनीहरूको टिप्पणी छ ।

    विद्यार्थी संगठनको ज्ञापनपत्रमा भनिएको छ,’जनतालाई राहत र सहुलियतको जरुरत रहेको अवस्थामा थप पीडा र आहत दिने यो मुल्यवृद्धि घोर जनविरोधी र घातक रहेको छ । ‘

    विगतमा दुई रङ्गको ग्यास सिलिण्डर वनाई विद्यार्थीलाई परिचयपत्रको आधारमा सहुलियत दरमा एलपी ग्यास उपलब्ध गराउने गरी विद्यार्थी आन्दोलन र नेपाल आयल निगमबीच भएको सहमति कार्यान्वयन गर्ने प्रक्रिया तत्काल अघि बढाउन पनि उनीहरूले माग गरेका छन् ।

  • किन बढाइयो पेट्रोलियम पदार्थको भाउ ? (भिडियाे)

    किन बढाइयो पेट्रोलियम पदार्थको भाउ ? (भिडियाे)

    काठमाडौं । नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपरेको बताएको छ ।सञ्चारकर्मीसँग शुक्रबार कुराकानी गर्दै नेपाल आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्नुपर्ने अवस्था आएको बताए ।

    हाल आयल निगम निरन्तर घाटामा गइरहेको भन्दै उनले नाफा कमाउने उद्देश्यका लागि नभई कम्पनीको नोक्सानीलाई घटाउनको लागि मुल्यवृद्धि गरीएको उनले प्रष्टयाए । आगामी दिनमा पनि मुल्यवृद्धि हुनसक्ने उनको भनाई छ । उनले भने,‘तेल उत्पादनको कटौती आफ्नो ठाउँमा छ । लगानीकर्ताहरु क्रुड र डलरमा केन्द्रीत भएको अवस्था छ ।

    हामीले लागत नै महंगोमा किनिसकेपछि कम्पनीले त नाफै नगरेपनि नोक्सान त सहनु भएन नि भन्ने हिसाबले, नोक्सानीलाई कम गर्दै जाने रणनीति अन्र्तगत । नाफा कमाउने त कुनै उद्देश्य छैन । अरु नोक्सानीमा नजाओस् भन्ने ध्यानमा राख्दै कार्यविधिको अधिकारको पनि न्युनतम भन्दा न्युनतम प्रयोग गरेर मुल्य बढाएको स्थिति हो ।’

    आयल निगमले असार ९ गते राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल÷मट्टीतेलको साबिकको विक्रि मुल्यमा २ रुपैयाँ वृद्धिगरी नयाँ खुद्रा विक्रि मुल्य क्रमशः १२७ रुपैयाँ, ११० रुपैयाँ कायम गरेको छ ।

    त्यसैगरी आन्तरिक उडानको हवाइ इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरी ८२ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको हवाइ इन्धनमा अमेरिकी डलर २० ले वृद्धि गरी नयाँ विक्रि मुल्य अमेरिकी डलर ७४५ प्रति किलोलिटर कायम गर्ने निर्णय गरेको छ । यति वृद्धि गर्दापनि आयल निकै अझै घाटामा रहने आयल प्रवन्ध निर्देशक पौडेलले जानकारी दिए ।

     

     

  • पेट्रोलियम पदार्थ आयातको अवरोध हट्दै, ट्यांकरचालकलाई खोप लगाउने सहमति

    पेट्रोलियम पदार्थ आयातको अवरोध हट्दै, ट्यांकरचालकलाई खोप लगाउने सहमति

    काठमाडौं । पेट्रोलियम पदार्थको आयातमा भएको अवरोध मंगलबारदेखि हट्ने भएको छ । कोरोनाविरुद्धको खोप लगाउन नपाएका कारण आन्दोलित भएका ट्यांकर चालकले आइतबारदेखि पेट्रोलियम पदार्थको आयात ठप्प बनाएका थिए ।

    अत्यावश्यक सेवामा पर्ने पेट्रोलियम पदार्थको ढुवानीलाई सुचारु गर्न बागमती प्रदेशका ट्यांकर चालक र सहचालकलाई खोपको व्यवस्था गर्ने सहमतिपछि आन्दोलन फिर्ता भएको हो । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले ट्यांकर चालक संघले राखेका जायज माग पूरा गर्न निगम तयार रहेको बताए ।

    पौडेलले भने, ‘हामीले उद्योग मन्त्रालयसँग कोरोनाको खोप मागेका छौं । मन्त्रालयले सीसीएमसीलाई खोपको लागि पत्र लेखेको छ । भोलि खोपको व्यवस्था हुन्छ र तेलको ढुवानी सेवा सञ्चालनमा आउने छ ।’

    नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय थानकोट डिपोमा भोलिबाट चालक र सहचालकलाई कोरोना विरुद्दको खोप लगाएर ढुवानी सेवामा फर्काइने जानकारी दिए । ‘अहिले हामीसंग १० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ उपलब्ध छ । मंगलबारदेखि आयात सुचारु भएपछि तत्काललाई समस्या देखिदैन’, उपाध्यायले नेपालप्रेससंग भने । निगमका अनुसार भैरहवामा ६ सय, विराटनगरमा ६ सय, नेपालगञ्जमा २ सय ५० र चारआलीमा ६० जना चालक र सहचालकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

    उद्योग मन्त्रालयले अत्यावश्यक सेवामा सक्रिय व्यक्तिका लागि कोरोना खोपको प्रबन्ध गर्न सीसीएमसीलाई पत्राचार गरिसकेको मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । ‘ट्यांकर चालकका लागि २ हजार ५०, ढुवानी सेवाका लागि ४ हजार ६ सय, नेपाल आयल निगमका लागि १ हजार, यातायात व्यवसायीको लागि १ लाख ४० हजार र ग्यास बिक्रेताको लागि ४ हजार ६ सय डोज खोप मागेका छौं । सीसीएमसीले प्राथमिकताका आधारमा उपलब्ध गराउछौं भनेको छ’, केसीले भनिन् ।

    नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले कोरोनाविरुद्धको खोप उपलब्ध गराउने डिपोका ट्यांकर चालकले आयात सुचारु गर्ने जानकारी दिए । खोप नलगाएका चालकले भने अहिले नै आयातको काम नगर्ने लामाको भनाई छ । हालसम्म ५० चालक र १३ सह चालक कोरोना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । थानकोट र अमलेखगन्ज गरेर झण्डै २२ सय चालक तथा सहचालकले खोप लगाउन बाँकी रहेको लामाले बताए ।

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कुनमा कति बढ्यो ?

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कुनमा कति बढ्यो ?

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले सोमबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनकाे मूल्य वृद्धि गरेको हो । पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर २–२ रूपैयाँले बढेको छ ।

     

  • पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइयाे

    पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइयाे

    नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रु ८१ करोड घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो ।

    निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ । आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर रु एकका दरले वृद्धि गरिएको छ ।

    नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १२१ पुगेको छ । डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर रु १०४ पुगेको छ । आन्तरिक उडानतर्फको हवाइ इन्धनको साविकको बिक्री मूल्यमा रु दुई वृद्धि हुँदा प्रतिलिटर रु ७६ पुगेको छ । खाना पकाउने ग्याँस र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको भने मूल्यवृद्धि गरिएको छैन ।

    निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ६ रुपैयाँ ७२ पैसा, डिजलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु ४१७ ४७ पैसा घाटा रहेको छ ।

    त्यस आधारमा १५ दिनमा रु ७० करोड ६६ लाख घाटा हुनेछ । निमगका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपाल भारत सीमाको रक्सोलको तुलनामा वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजल प्रतिलिटर ३५ रुपैयाँ ४१ पैसा नेपालतर्फ सस्तो छ ।

  • ‘पेट्रोलियम पदार्थको मूल्य ठूलो लेभलमा नै समायोजन हुनसक्छ’ (भिडियो)

    ‘पेट्रोलियम पदार्थको मूल्य ठूलो लेभलमा नै समायोजन हुनसक्छ’ (भिडियो)

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेल लगायतको पेट्रोलियम पदार्थको मुल्यवृद्धिमा सरकार र आयल निगमको भूमिका नहुने बताएका छन् ।

    तेलको मूल्य निर्धारण स्रोतमा हुने मूल्यको घटबढले निर्धारण गर्ने पौडेलले बताए । डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मुल्यलाई घटबड गराउने उनको भनाइ छ ।

    बाहिर भनेजस्तो निगमको आन्तरिक खर्च र व्यवस्थापनको खर्च धान्ने विषय मूल्यसँग नजोडिने उनले जानकारी दिए । आयल निगमको खर्च धान्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था नरहेको समेत उनले बताए ।

    आयल निगमले मूल्यवृद्धि हुँदा पनि कममात्रै बढाएर बिक्री गरेको छ । मूल्यवृद्धि लामो समयसम्म रहे ठूलै लेभलको मूल्य समायोजन गर्नुपर्ने अवस्थासमेत आउन सक्ने निगमले बताएको छ ।

    पौडेलले भने ‘यो मूल्यवृद्धि यसरी लामो समय रहने हो भने हामीले कुनैपनि प्वाइन्टमा आएर चाहीँ ठूलो लेभलको मूल्य समायोजन गर्ने परिस्थिति हुन्छ ।’

    हाल निगमले पेट्रोलको मुल्य प्रतिलिटर १ सय १६ रुपैँया, डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ९९ रूपैँया र खाना पकाउने एल पी ग्याँसको मूल्य १४ सय रूपैँया कायम गरेको छ ।

     

  • मूल्यवृद्धिको विरोधमा आयल निगमअघि अनेरास्ववियूको प्रदर्शन (तस्बिरहरू)

    मूल्यवृद्धिको विरोधमा आयल निगमअघि अनेरास्ववियूको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा प्रचण्ड-माधव पक्षीय नेकपानिकटको विद्यार्थी संगठन अनेरास्ववियूले आयल निगमअघि प्रदर्शन गरेको छ ।

    मूल्यवृद्धिले सर्वसाधारणलदाई मार परेको भन्दै विद्यार्थीहरूले निगमको आयव्यय सार्वजनिक गर्नुपर्ने, भाउ तत्काल घटाउनुपर्नेलगायतका माग राखेका थिए ।

    निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल तथा मट्टीतेलमा साविक मूल्यमा दुई रूपैयाँ बढाएको थियो ।

    नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ११४, डिजल र मट्टीतेलको ९७ तथा हवाई इन्धनको मूल्य ६७ रूपैयाँ तोकिएको छ ।