Tag: पूर्वराजा

  • लिङदेनको तर्क- राजसंस्था सबैको साझा हो, कुनै दल विशेषलाई बोकेर हिँड्दैन

    लिङदेनको तर्क- राजसंस्था सबैको साझा हो, कुनै दल विशेषलाई बोकेर हिँड्दैन

    राजतन्त्रको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा पुस्तान्तरण भएको छ । लामो समयदेखि पार्टी सत्तामा रहेका कमल थापालाई विस्थापित गर्दै राजेन्द्र लिङ्देनले राप्रपाको कमाण्ड सम्हाल्ने अवसर पाएका छन् ।

    लिङ्देनको विजयले पार्टीभित्र मात्र नभएर बाहिर पनि निकै चर्चा पायो । सामाजिक सञ्जालमा उनीप्रति धेरै सहानुभूति र समर्थन देखिएको थियो । यद्यपि, एजेन्डाका हिसाबले राप्रपाले फरक बाटो लिने सम्भावना छैन । लिङदेन स्वयम् राजतन्त्रक कट्टर हिमायती हुन् ।

    राप्रपाको एकल नेतृत्वको पाएका लिङ्देनसामु अब पार्टी एकतालाई जोगाउने प्रमुख चुनौती छ । अध्यक्षमा उनी निर्वाचित भए पनि पदाधिकारीमा कमल थापा पक्षका धेरै आएका छन् । त्यसैमाथि पहिलो दिनबाटै थापाले निर्मल निवासको नांगो हस्तक्षेप भन्दै कडा टिप्पणी गरेर लिङदेनलाई सहज नेतृत्वको वातावरण नदिने संकत गरिसकेका छन् ।

    थापाको अभिव्यक्तिलाई लिङदेनले कसरी लिएका छन् ? राजसंस्था र हिन्दूराष्ट्रका विषयमा उनको व्यक्तिगत धारण के हो ? यीनै विषयमा केन्द्रित रहेर नवनिर्वाचित अध्यक्षसँग गरिएको कुराकानी नेपाल टकमाः

    तपाईंको विजयले आम राजनीतिक वृत्तमा पुस्तान्तरणको बहस सुरू भएको छ । यसलाई कसरी लिनुभएको छ ?

    हाम्रो पार्टी जीवनकै कमजोर अवस्थामा छ । पार्टीभित्रको आन्तरिक समस्या समाधानको सिलसिला कहाँबाट सुरू गर्ने भन्दा सबैभन्दा पहिला नेतृत्व परिवर्तन नै हुनुपर्छ भनेर हामी निष्कर्षमा पुग्यौं र हामी त्यो कुरामा सफल पनि भएका छौं । राप्रपामा नेतृत्व परिवर्तन भइसकेपछि अब रूपान्तरणको प्रक्रिया सुरू भएको छ ।

    उम्मेदवार हुने कुरामा हामीले पदाधिकारीहरूको पनि निर्वाचन गर्‍यौं । यसमा कोही पक्ष विपक्ष भन्ने कुरै छैन । यो स्थायी गुट होइन । अब राष्ट्रिय प्रजातन्त्र पार्टीमा यो महाधिवेशन पनि स्थायी गुटको सदाको लागि अन्त्य भएको छ । निर्वाचनमा विभिन्न प्यानलमा रहेर उम्मेदवार भए पनि अहिले हामी सबै एक छौं ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीमा भएको नेतृत्व परिवर्तन केवल राष्ट्रिय प्रजातन्त्र पार्टीको लागि मात्रै होइन । अन्य अन्य राजनैतिक पार्टी तथा देशको समग्र राजनीतिमा पनि यसको महत्वपूर्ण प्रभाव राख्छ भन्ने हामीलाई पूर्णविश्वास छ । पुस्तान्तरण र नेतृत्व परिवर्तनको सिलसिला अब बढ्दै जान्छ । यसको नेतृत्व राप्रपाले गर्न पाएको छ भन्ने मलाई लाग्छ ।

    तपाईं अध्यक्षमा निर्वाचित भए पनि केन्द्रीय कमिटीमा अल्पमतमा हुनुहुन्छ । काम गर्न समस्या हुँदैन ?

    यो अल्पमत र बहुमतको कुरा होइन । उम्मेदवार हुने कुरामा हामीले पदाधिकारीहरूको पनि निर्वाचन गर्‍यौं । यसमा कोही पक्ष विपक्ष भन्ने कुरै छैन । यो स्थायी गुट होइन । अब राष्ट्रिय प्रजातन्त्र पार्टीमा यो महाधिवेशन पनि स्थायी गुटको सदाको लागि अन्त्य भएको छ । निर्वाचनमा विभिन्न प्यानलमा रहेर उम्मेदवार भए पनि अहिले हामी सबै एक छौं ।

    – तपाईंले एक छौं भने पनि सपथ ग्रहण समारोहमा कमल थापा आउनु भएन । तपाईंहरू बीचको तिक्तता त्यहीँबाट पुष्टि हुँदैन र ?

    निर्वाचनमा कहिले काहीँ पराजयलाई कसरी स्वीकार गर्ने भन्ने हुन्छ । फराकिलो सोच राखेर तत्काल आफ्नो हारलाई स्वीकार गर्ने र विजयीलाई स्वागत गर्ने प्रचलन छ भने कतिपयले दुई चार दिन त्यो तिक्तता पोख्ने वा सजिलै स्वीकार नगर्ने चलन हुन्छ । यसलाई मैले सहजरूपमा लिएको छु ।

    उहाँ आउन अफ्ठेरो मान्नुभयो । फेरि हामीले सम्पर्क गर्दा अस्वस्थ छु, थाकेको छु, पछि आउँला भन्नुभयो । यसलाई मैले अन्यथा लिएको छैन । यसले पछि समस्या ल्याउँछ भन्ने पनि लाग्दैन ।

    – तपाईंले त निर्मल निवासको साथ पाएपछि मात्रै जित्नुभएको भन्ने पनि छ नि ? कमल थापाले त हारेपछि सार्वजनिकरूपमै बोलिदिनुभयो

    यो एकदमै गलत कुरा हो । हामीले केही महिना अघिमात्रै राप्रपामा अब नेतृत्व परिवर्तन अपरिहार्य र अनिवार्य रहेको ठहर गरेका थियौं ।

    यसलाई बाध्यकारी कदमको रूपमा लिनुपर्छ र सकेसम्म हाम्रा नेताहरूलाई सम्झाउने, उहाँहरूले मान्नुभयो भने सर्वसम्मत रूपले अगाडि जाने नभए प्रतिस्पर्धा गरेर भए पनि नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर सल्लाह गरी अगाडि बढेका हौं ।

    यस्तो विषयमा निर्मल निवासलाई विवादमा तान्नु अत्यन्तै दु:खद कुरा हो । यसले राजसंस्थाको मात्रै अपमान हुँदैन कि देशभरिबाट आएका हजारौं महाधिवेशन प्रतिनिधिसमेत निराश हुन्छन् ।

    – अरुले भनेको भए आंकलन गरिएको भन्न सकिन्थ्यो । तर, अध्यक्षका पराजित उम्मेदवारले नै निर्मल निवासको नांगो हस्तक्षेप भनिसकेपछि केही न केही गडबढी छ भनेर बुझ्न पाइँदैन र ?

    मलाई त्यस्तो लाग्दैन । उहाँले अब किन त्यसरी भन्नुभयो, किन लेख्नुभयो ? हाम्रो श्रद्देय नेता हुनुहुन्छ कमल थापा, उहाँका केही व्यक्तिगत कमजोरीहरू छन् । ती कमजोरीमध्ये छिटो प्रतिक्रिया व्यक्त गर्ने र पछि पछुताउने छ । त्यो मध्येको एउटा घटनाको रूपमा उहाँको ट्वीटलाई लिन्छु ।

    – केन्द्रीय सदस्य राजाराम बर्तौलाले पनि त निर्मल निवासको हस्तक्षेपको छानबिन समिति बनाउन माग गर्नु भएको छ । कहिले बन्छ त समिति ?

    (हाँस्दै) कसले छानबिन गर्ने ? के-को लागि गर्ने ? कहाँ मुद्दा हाल्ने ? यस्ता कुराको के अर्थ छ र ? कार्यकर्ताको अपमान गर्ने, महाधिवेशन प्रतिनिधिहरूको अपमान गर्ने बाहेक यसले केही फरक पार्दैन । यसले उहाँहरूलाई नै घाटा हुन्छ जस्तो लाग्छ । यस्तो कुरा नगरेको भए पनि हुन्थ्यो । तर, यी सबै कुरा समयक्रममा मत्थर भएर जान्छ ।

    – तपाईंको विजयसँगै पूर्वराजाको पनि सक्रियता बढ्ने आकलन गरिएको छ । राप्रपाभित्र पनि अब पूर्वराजालाई कुनै भूमिका दिन लागिएको हो ?

    राजसंस्था अभिभावकीयरूपमा रहनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यो केवल राप्रपाको मात्र नभइ सबै जनताको साझा संस्थाको रूपमा रहनु पर्छ भनेर हामीले सैद्धान्तिक रूपमै यो विषय अगाडि सारेका छौं ।

    समान विचार राख्ने सबै व्यक्ति, समूह, संस्था तथा पार्टीहरूलाई समेत जोड्ने अभियानको सुरूआत गर्दैछौं । एउटा एकीकृत शक्ति निर्माण गरिसकेपछि राजसंस्था हिन्दूराष्ट्र पुन:स्थापनाको कुरा मात्र होइन अरू जनजीविकाका विषयमा पनि हामी वकालत गर्छौं ।

    तर, अब राजा सक्रिय हुने अथवा कुनै दल विशेषलाई बोकेर हिँड्ने भन्ने कुरामा हाम्रो विश्वास छैन । र, राजसंस्था त्यसरी अगाडि आउँदैन पनि । राजा सक्रिय भएर आउने भन्दा पनि नेपाली जनताको चाहना र भावना अनुसार आउने हो । राजसंस्था कुनै व्यक्ति कुनै पार्टीको आवश्यकताभन्दा पनि नेपालको स्थायित्वको आधार भएको हुँदा हामीले नेपालको स्थायित्वको लागि राजसंस्था आवश्यक छ भनेका हौं । राजा सक्रिय भएर आउनु पर्छ भन्ने मलाई लाग्दैन ।

    – राजसंस्था पुन:स्थापनाका लागि तपाईंहरूको भूमिका र पहल कस्तो रहन्छ ?

    पहिलो कुरा समान विचार राख्ने सबै व्यक्ति, समूह, संस्था तथा पार्टीहरूलाई समेत जोड्ने अभियानको सुरूआत गर्दैछौं । एउटा एकीकृत शक्ति निर्माण गरिसकेपछि राजसंस्था हिन्दूराष्ट्र पुन:स्थापनाको कुरा मात्र होइन अरू जनजीविकाका विषयमा पनि हामी वकालत गर्छौं ।

    अहिलेको राजनीतिक प्रणालीले आमूल परिवर्तनका लागि हामीले सडक र निर्वाचन दुवैलाई प्रयोग गर्छौं । जताबाट छिटो हुन्छ त्यतैबाट हामीले आफ्नो मान्यताहरू स्थापित गर्न अग्रसर हुन्छौं ।

    – अहिले तपाईंहरूसँग ३ प्रतिशत पनि मत छैन । राष्ट्रिय पार्टी भन्ने हैसियत पनि छैन । निर्वाचनको तयारी कस्तो हुन्छ ?

    अब राप्रपालाई ३ प्रतिशतमा मात्रै सीमित राख्ने पार्टीको रूपमा राख्दैनौं । देशको अग्रणी शक्तिको रूपमा स्थापित गर्ने सिलसिलामा हामी अगाडि बढेका छौं ।

    हामीले कुनै दल विशेषलाई छान्ने भन्दा पनि तत्कालीन परिस्थितिमा भर पर्ने हुनाले अहिले एकपक्षीय रूपमा हामी फलानो दलसँग गठबन्धन गर्छौं र त्यसलाई महत्व दिन्छौं भन्ने कुरा अन्यथा हुन्छ ।

    आउँदो निर्वाचनमा राप्रपा राष्ट्रिय शक्ति बन्ने, नेपालको राजनीतिको मूल प्रवाहमा अघि बढ्छ ।

    – चुनावमा तपाईंलाई त्यो बेला एमालेले सहयोग गरेको थियो । अब त तपाईं नै नेतृत्वमा हुनुहुन्छ । एमालेसँग कार्यगत एकता हुन्छ ?

    हुन सक्छ । पहिलो हाम्रो प्राथमिकता भनेको आफ्नै वलमा निर्वाचन जित्ने हो । १६५ निर्वाचनमा हामी आफ्नो उम्मेदवार उठाउने र राप्रपा एक्लै चुनाव लडेर जानुपर्छ भन्ने हाम्रो मान्यता हो ।

    तर, समय परिस्थिति अनुसार सबै राजनीतिक दलहरूको गठबन्धन बन्दै आएपछि र त्यो आवश्यकता परेपछि वा अन्य दलसँग कुरा मिलेपछि एमाले अथवा अरू कुनै पनि दलहरूसँग हामी मिलेर गठबन्धन गरेर चुनावमा जान सक्छौं ।

    – तपाईंहरूको प्राथमिकतामा कुन कुन दल छन् त ?

    त्यो दुईपक्षीय आवश्यकता भर पर्ने कुरा हो । हामीले कुनै दल विशेषलाई छान्ने भन्दा पनि तत्कालीन परिस्थितिमा भर पर्ने हुनाले अहिले एकपक्षीय रूपमा हामी फलानो दलसँग गठबन्धन गर्छौं र त्यसलाई महत्व दिन्छौं भन्ने कुरा अन्यथा हुन्छ ।

  • पूर्वराजाप्रति देउवा आक्रोशित, शासन गर्ने मन भए चुनाव लड्न चुनौती (भिडिओसहित)

    पूर्वराजाप्रति देउवा आक्रोशित, शासन गर्ने मन भए चुनाव लड्न चुनौती (भिडिओसहित)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रबाट दसैँका अवसरमा व्यक्त भएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । देउवाले पूर्वराजालाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिँदै शासन गर्ने मन भए चुनाव लड्न चुनौती दिएका छन् ।

    गणेशमान स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोशित बनेका हुन् । देउवाले प्रजातन्त्रको पक्षमा आफू उभिँदा तत्कालीन राजाले जेल हालेको भन्दै आफूलाई जेलमा कोचेपछि नेपालमा गणतन्त्रको माहौल सुरू भएको बताए ।

    पूर्वराजाले दसैँका बेला राजा र जनता मिलेरमात्र नेपालमा प्रजातन्त्र जोगिने बताएका थिए ।

  • पूर्वराजाले भनेः राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुँदैन (भिडियाे)

    पूर्वराजाले भनेः राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुँदैन (भिडियाे)

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले नेपालजस्तो मुलुकमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक नहुने आफूले बोध गरेको बताएका छन् । देशको वर्तमान राजनीतिक अवस्थाप्रति पनि उनले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

    विजयादशमीका अवसरमा जारी गरेको शुभकामना सन्देशमा पूर्वराजाले भनेका छन्, ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न वाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध हामीले गरेका छौं ।’

    देशको राजनीतिक व्यवस्था आफू र आफ्नो समूह तथा त्यसभित्रको गुट र उपगूटमा अल्झिएको पूर्वराजाको टिप्पणी छ ।

    ‘कोरोना महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महंगी र अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’ उनले प्रश्न गरेका छन् ।

    कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तरसम्बन्धित हुने भन्दै शाहले त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्नुपर्ने उल्लेख गरेका छन् । उनी थप्छन्, ‘दुर्भाग्यवस शिक्षा तथा स्वास्थ्यका व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टिकरण, प्रशासनिक र राजनीतिक पेशाले सिमित व्यक्तिलाई फाइदा पुर्‍याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको छ ।’

    देशको सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म-संस्कृति संकटमा पार्ने, राष्ट्रहितमा केन्द्रित हनुपर्ने परराष्ट्र नीति असन्तुलित भइ राष्ट्रिय सु्रक्षा स्वार्थमा चुनौती थपिएकाले आफ्नो मन पोलेको उनले बताएका छन् । पूर्वराजाले भनेका छन्, ‘राजसंस्था वैचारिक आस्थाका आधारमा विभेद गर्दैन र त्यो हाम्रो मान्यता पनि होइन न त परम्परा । शाहवंशीय राजपद्दतिको इतिहासले स्पष्ट गरेको छ, राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिरबाट कुनै पनि समस्याको समाधान खोजिदैन ।’

    केही समययता जिम्मेवार एवं देशभक्त नागरिकहरुबाट राष्ट्रको चिन्ताले व्याकुल भइ व्यक्ति विचारहरुले आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चार गराएको पूर्वराजाको बुझाइ छ । प्रजातान्त्रिक, प्रगतिशील या अन्य जुनसुकै विचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास उनले लिएका छन् ।

  • पूर्वराजा ज्ञानेन्द्रः शासनमा चुकेका, जनतासँग झुकेका

    पूर्वराजा ज्ञानेन्द्रः शासनमा चुकेका, जनतासँग झुकेका

    पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह आजबाट ७५ औं वर्षमा प्रवेश गरेका छन् । देशमा कोरोना महामारी जारी रहेको र आफैं केही समयअघि संक्रमित भएकाले पूर्वराजाले यसपाली आफ्नो जन्मदिन मनाएनन् ।

    यदि नेपालबाट राजतन्त्र नउखेलिएको हुन्थ्यो भने राजाको जन्मदिनलाई राष्ट्रिय उत्सवकै रुपमा धुमधामले मनाइन्थ्यो । सक्रिय राजतन्त्रकालमा त सार्वजनिक बिदा नै दिने गरिएको थियो । तर, देश गणतन्त्रमा प्रवेश गरेपछि पूर्वराजा सर्वसाधारणमा परिणत भएका छन् र जन्मदिन उनको निजी विषय मात्र भएको छ ।

    ७५ वर्षको उमेर भनेको जीवनको उत्तरार्ध हो । यो उमेरमा मानिससँग ठूला योजना र महत्वाकांक्षाहरु खासै बाँकी रहँदैनन् । पूर्वराजा ज्ञानेन्द्रसँग अब फेरि शक्तिमा फर्किने लालसा वा अभिलाषा सायद मरिसक्यो । यद्यपि, सडकमा बेलाबखत लाग्ने ‘राजा आउ देश बचाउ’ को नाराले उनलाई पक्कै तरंगित तुल्याउँदो हो ।

    दुईपटक राजा बन्ने ‘भाग्यमानी’

    एउटै व्यक्ति एउटै देशमा दुईपटक राजाका रुपमा गद्दीसिन भएको उदाहरण संसारमा विरलै छन् । यो सौभाग्य राजा ज्ञानेन्द्रले प्राप्त गरे, जबकि उनी राजा बन्ने रोलक्रममै थिएनन् । दुवैपटक उनी भवितव्यले राजा भएका हुन् ।

    २००७ सालमा हजुरबुवा त्रिभुवन जेठा छोरा महेन्द्रसहित देश छोडेर भारतमा शरण लिन पुग्दा तत्कालीन राणा शासकले ४ वर्ष पनि नपुगेका अवोध ज्ञानेन्द्रका शिरमा भारी श्रीपेच लगाइदिएका थिए । राणाहरुले ज्ञानेन्द्रको राज्याभिषेकसमेत गराएर हतारहतार उनको नाममा मुद्रासमेत निष्काशन गर्न भ्याएका थिए ।

    २००७ को दिल्ली सम्झौतापछि त्रिभुवन नेपाल फर्केर राजगद्दी आफैं सम्हाले । मात्र ६२ दिनमा बालक ज्ञानेन्द्रको राजकाज सकियो । पहिलोपटक राजा बन्दाको गतिलो स्मृति पनि ज्ञानेन्द्रको मानसपटलमा नहोला ।

    त्रिभुवनको शेखपछि उनका जेठा छोरा महेन्द्र राजा भए, जो नेपालको इतिहासमै महत्वाकांक्षी र सफल राजाको रुपमा चिनिन्छन् । महेन्द्रपछि आएका वीरेन्द्रमा राजकाज क्षमताको अभाव थियो । तर, पनि आफ्नो शालिन स्वभावका बलमा उनले जनतामाझ राम्रो लोकप्रियता हासिल गरेका थिए । वीरेन्द्रपछिको लाइनमा थिए दिपेन्द्र । तर, अकल्पनीय दरबार हत्याकाण्डसँगै देशको इतिहासले नयाँ मोड लियो । राजपरिवारको वंशनाश भएपछि दोस्रोपटक ज्ञानेन्द्रको शिरमा श्रीपेच सजियो ।

    पहिलोपटक राजा बन्दा ज्ञानेन्द्र एक अवोध शिशु थिए । राजगद्दी खाली नराख्न मात्रै राणाहरुले उनलाई प्रयोग गरेका थिए । दोस्रोपटक राजा बन्दा भने ज्ञानेन्द्र उमेरले पाको मात्रै थिएनन्, उनमा शक्ति अभ्यासको तीव्र लालसा तथा महत्वाकांक्षा पनि थियो । राजा बनलगत्तै उनले आफू ‘वीरेन्द्रजस्तो देखिने तर नसुनिने राजा नबन्ने’ अभिव्यक्ति दिएका थिए ।

    तर, करिब ७ वर्ष राजगद्दीमा रहँदा ज्ञानेन्द्रबाट देशका लागि अविस्मरणीय योगदान केही भएन । त्यसबेलाको सबैभन्दा ठूलो समस्या माओवादी जनयुद्धको समाधान निकाल्न उनी चुके । भ्रष्टाचार नियन्त्रणका लागि भनेर बनाएको शाही आयोग अन्ततः अदालतबाट खारेज भयो । केही नेताहरुलाई भ्रष्टाचार आरोपमा जेलमा थुने पनि अदालतले नै भटाभट रिहा गर्यो । ज्ञानेन्द्रले त्यसबेला अदालतलाई आफ्नो नियन्त्रणमा लिन चाहेनन् वा सकेनन् ।

    ज्ञानेन्द्रको राजनीति आलोकाँचो देखियो । देश विकासका निम्ति उनीसँग ठोस भिजन थिएन । आफूविरुद्धको आन्दोलनलाई न उनले निर्णायक दमन गर्न सक न समयमै सम्झौता गर्न । फलतः उनको वाध्यात्मक वहिर्गमन भयो र नेपालबाट राजतन्त्रको जरो उखेलियो ।

    ज्ञानेन्द्रलाई पोल्ने एउटा आक्षेप

    राजपरिवारको दुखदायी विनाश भएको अकल्पनीय घटनापछि ज्ञानेन्द्र राजगद्दीमा आएका थिए । आफ्नै दाजुको सिंगै परिवार कत्लेआम भएको घटना पक्कै पनि उनका निम्ति असैह्य पिडादायी थियो । पत्नी कोमललाई छातिमै गोली लागेको थियो । र, त्यही स्थितिमा उनले देशको अभिभावकको रुपमा गद्दी सम्हाल्नु थियो ।

    तर, अर्कोतर्फ दरबार हत्याकाण्ड ज्ञानेन्द्रले नै गराएको आशंका जनमानसमा व्याप्त भइदियो । तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईले ज्ञानेन्द्रलाई आरोपित गरेर राष्ट्रिय दैनिकमा लेख लेखे । ज्ञानेन्द्र स्वयम्ले दरबार हत्याकाण्डको गहन र पत्यारिलो तवरबाट अनुसन्धान गर्न चुक्दा आफूमाथि लागेको आक्षेपको दाग समयमै पखाल्न सकेनन् । आजका दिनसम्म पनि दरवार हत्याकाण्डमा ज्ञानेन्द्र–पारसको हात रहेको आशंका गर्ने मान्छेहरु छन् । जबकि घटना विवरण, प्राप्त प्रमाण तथा प्रत्यदर्शीको बयान सबैले यो घटनामा एक मात्र जिम्मेवारका रुपमा तत्कालीन युवराज दिपेन्द्रलाई मात्रै औंल्याउँछन् ।

    यस अर्थमा ज्ञानेन्द्रलाई नखाएको विषले अहिलेसम्म पोलिरहेको छ । यदि हत्याकाण्डलगत्तै उनले एउटा गतिलो टिम बनाएर सुक्ष्म अनुसन्धान गराएको भए त्यसबेला नै दुधको दुध पानीको पानी हुन्थ्यो । उनले प्रधानन्यायधीस र सभामुखको दुई सदस्यीय छानविन समिति बनाएर झारा टार्न खोजे । उक्त समितिले निस्कर्षबिनाको सतही र हचुवा प्रतिवेदन गर्यो, जसले जनतालाई ‘कन्भिन्स्ड’ गर्न सकेन ।

    बहिर्गमनपछिको लोकप्रियता

    राजा ज्ञानेन्द्रले पिता महेन्द्रले जस्तै प्रत्यक्ष शासनको भोक देखाएर ‘कु’ को अभ्यास गरे । तर, महेन्द्रको जस्तो ‘फिनिसिङ’ उनमा थिएन । महेन्द्रको ‘कु’ भिजनसहितको थियो र उनी सफल भए । ज्ञानेन्द्रको ‘कु’ मा भिजनरहित थियाे र उनी असफल भए ।
    राजा ज्ञानेन्द्रले नै पुनर्स्थापित गरिदिएको सांसदले नेपालबाट राजतन्त्र फ्याकेर गणतन्त्रमा जाने निर्णय लियो । त्यसपछि ज्ञानेन्द्रले राजगद्दी मात्रै छाड्नु परेको २४० वर्षको इतिहास बोकेको राजतन्त्र नेपालबाट विदा भयो । सक्रिय राजाका रुपमा सत्ता र शक्तिको केन्द्रमा रहेका ज्ञानेन्द्र सर्वसाधारणको हैसियतमा झरे । उनले नारायणहिटी राजदरबार त्याग्नुपर्यो र नागार्जुनको जंगलमा उनको वास भयो ।

    जोकोही व्यक्तिलाई आफूले उपभोग गरिरहेको सामान्य सेवा-सुविधा खोसिँदा पनि निकै ठेस लाग्छ । हामीले देशमा मन्त्री-प्रधानमन्त्री भएकाहरु आफ्नो कुर्सी जोगाउनका लागि के-कस्ता पापड बेल्न तयार हुन्छन् भन्ने देखेकै छौं । त्यस अर्थमा ज्ञानेन्द्रले आफ्नो आसन जोगानका लागि हदैसम्म तिगडम गर्ने वा अन्तिम बल प्रयोग गर्न सक्थे । सेनालाई उतारेर आन्दोलन दमन गर्ने निर्णायक प्रयास गर्न सक्थे । तर, त्यतातिर नलागी उनी जनताको नासो जनतालाई सुम्पिन तयार भए । कुनै थप लफडाबिना नारायणहिटीबाट सरक्क विदा हुँदा जनमानसमा उनीप्रति एकप्रकारको सहानुभूतिको विजारोपण भयो ।

    त्यसयता आजका दिनसम्म आइपुग्दा पूर्वराजाको लोकप्रियताको ग्राफ निकै उकालो लागेको छ । राजनीतिक दलहरु असफल हुँदा र गणतन्त्र असफलताउन्मूख हुँदा जनताको एउटा हिस्साले फेरि पुर्वराजसंस्थातिर फर्केर हेर्न थालेका छन् । राजा आउ देश बचाउको नारा बाक्लै सुनिन थालेकाे छ । देशको युवा पुस्तामा पूर्व राजसंस्थाप्रति नजानिँदो आकर्षण देखिएको छ ।

    अस्ति भर्खर एउटा टेलिभिजन कार्यक्रममा चर्चित नायक पल शाहलाई सोधियो, ‘तपाईं राजा आउ देश बचाउका पक्षमा कि केपीबा आउ फेरि देश चलाउका पक्षमा ?’ धेरै नसोची नायकले जवाफ दिए, ‘म राजा आउ देश बचाउका पक्षमा ।’ उनले देश चलाउन एउटा अभिभावक चाहिएको र त्यो भूमिका राजनीतिक दलहरुबाट पूरा नभएको तर्क पनि गरे ।

    केही समयअघि देशभरका सडकमा राजा फर्काउने मागसहित आन्दोलन चर्केको थियो । त्यो आन्दोलनमा कट्टर राजावादीहरु मात्रै थिएनन्, राजनीतिप्रति निरपेक्ष रहेका युवाहरुको एउटा जमात पनि थियो । सामाजिक सञ्जाल हेर्दा पनि पूर्वराजसंस्थाप्रति पछिल्लो समय जनसमर्थनको ग्राफ उकालो लागेको नै देखिन्छ ।

    यद्यपि, यसबाट पूर्वराजा हौसिनु जरुरी छैन । यो उनीप्रतिको आशाभन्दा पनि वर्तमान राजनीतिप्रति जनताको वितृष्णाको प्रतिफल हो । यही जनसमर्थनको बलमा राजसंस्था पुनर्स्थापन  हुन सक्ने सम्भावना धेरै टाढा छ । राजाको समर्थनमा कुनै बलियो राजनीतिक शक्ति नभएका कारण निकट भविष्यमा गणतन्त्र नै उल्टाउने गरी आन्दोलनको उभार आउन सम्भव देखिँदैन ।

    पूर्वराजासँग अझै तर्सन्छन् दलहरु

    २०६२-६३ को आन्दोलन पनि वास्तवमा राजा फाल्ने मुल उद्देश्यका साथ सुरु भएको थिएन । आन्दोलनको पूर्वार्धमै ज्ञानेन्द्रले लचिलो भएर दलहरुलाई अधिकार प्रत्यायोजन गरेको भए उनको गद्दी गुम्थेन होला । जतिबेला उनी लचिलो बने, त्यतिबेला धेरै ढिलो भइसकेको थियो । दलहरु गणतन्त्रको एजेन्डामा पुगिसकेका थिए ।

    अहिले पनि राजसंस्था पक्षधरहरु नेपालमा गणतन्त्र आउनुमा जनचाहनाभन्दा पनि वैदेशिक शक्तिको हात देख्छन् । खासगरी दक्षिणी छिमेकी भारतले नेपालमा राजसंस्था रहँदासम्म प्रत्यक्ष हस्तक्षेप गर्न नसक्ने महसुस गरी गणतन्त्रको आन्दोलनलाई मलजल गरेको उनीहरुको तर्क छ । २०६२-0६३ को आन्दोलनका क्रममा भएका सभाहरुमा विभिन्न भारतीय नेताहरु आएर भाषणसमेत गर्ने गर्थे । तत्कालीन माओवादी र सात दलबीच चर्चित १२ बुँदे सम्झौता पनि दिल्लीमै भएको थियो, जसले गणतन्त्रको आधार तयार गरेको मानिन्छ ।

    राजाको छोरा राजा हुने व्यवस्था अहिलेको युग सुहाउँदो पक्कै होइन । तर, नेपालको भूराजनीतिले गर्दा राजतन्त्रका केही फाइदाहरु अवश्य थिए । राजसंस्थाजस्तो बलियो र स्थाइ संरचनाले देशमा वैदेशिक हस्तक्षेपलाई केहीहदसम्म भए पनि रोक्न सक्थ्यो । तथापि राजतन्त्रमा वैदेशिक हस्तक्षेप नै थिएन भन्ने चाहिँ होइन ।

    जनताले राजसंस्थाबाट जुन अभिभावकत्व महसुस गरेका थिए, त्यो गणतन्त्रपछि राष्ट्रपतिबाट महसुस गरेका छैनन् । राष्ट्रपति संस्थाले राजसंस्थाको जस्तो गरीमा र ओज कायम गर्न नसकेकै हो । नेपालमा गणतन्त्र ल्याउन भूमिका खेलेका एक पात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै भनेका छन्, ‘राष्ट्रपतिभन्दा त राजाकै शान थियो ।’

    गणतन्त्र आएको डेढ दशकसम्म पनि देशमा यो व्यवस्था संस्थागत हुन सकेको छैन । त्यसैले आजका दिनमा पनि राजनीतिक दल र नेताहरु अहिले पनि पूर्वराजा ज्ञानेन्द्रका अभिव्यक्तिहरुसँग तर्सिन्छन् । तर, पूर्व राजा ज्ञानेन्द्रले भने राजगद्दीबाट उत्रेयता  आफूलाई फेरि पुनिर्थापित गराउन कुनै प्रयत्न गरेका छैनन् । सायद अब गर्ने पनि छैनन् ।

  • पूर्वराजाले हरिद्वारमा भेटे रामदेव, पतञ्जली मुख्यालय अवलोकन (तस्विरहरु)

    पूर्वराजाले हरिद्वारमा भेटे रामदेव, पतञ्जली मुख्यालय अवलोकन (तस्विरहरु)

    काठमाडौं । भारत भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाहले हरिद्वारस्थित पतन्जली योगपीठ समेत अवलोकन गरेका छन् । उनलाई स्वामी रामदेव, आचार्य बालकृष्ण लगायतले स्वागत गरे ।

    हरिद्धारमा आयोजना हुने कुम्भ मेलमा शाही स्नान गरेपछि पूर्वराजा त्यहाँ रहेको पतञ्जली मुख्यालय पुगेका थिए । रामदेव र पूर्वराजाले उक्त अवसरमा भलाकुसारी गरेका थिए ।

    हेर्नूस तस्विरहरु :

  • ज्ञानेन्द्रले भने- जनता र राजाको सहमतिलाई निषेध गर्दा देश जटिलतामा फस्यो

    ज्ञानेन्द्रले भने- जनता र राजाको सहमतिलाई निषेध गर्दा देश जटिलतामा फस्यो

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजा र जनताको सहमतिबाट खडा भएको नेपाल राष्ट्रमा निषेध र विभेदको राजनीति शुरू गरिएकाले मुलुक दिन प्रति दिन जटिलतामा फस्दै गएको टिप्पणी गरेका छन् ।

    ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा बिहीबार पूर्वराजाले शुभकामना सन्देश जारी गर्दै नेपालको अस्तित्व रक्षा जनता र राजाको सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञा गर्दा अहिलेको अवस्था आएको बताएका छन् ।

    सन्देशमा भनिएको , ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्ष पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीतिक शुरू गरिएकोमा मुलुक दिन प्रति दिन जटिलतामा फस्तै गएको महसुस आम नेपालीले गरिरहेका छन् ।’

    पूर्वराजाले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरुको शासन प्रणालीमात्र होइन भन्दै यसलाई सामाजिक पद्धति र सन्तुलित खुसीसँग जोडेर हेरिनुपर्ने समेत बताएका छन् ।

    हेर्नुहोस् सन्देश: