Tag: पूर्वमाओवादी

  • सामूहिक रूपमा एमाले प्रवेशको तयारीमा पूर्वलडाकु, लेनिन विष्टले भेटे ओली

    सामूहिक रूपमा एमाले प्रवेशको तयारीमा पूर्वलडाकु, लेनिन विष्टले भेटे ओली

    काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालको नेतृत्वमा माओवादी लडाकुहरू सामूहिकरूपमा एमाले प्रवेश गर्ने तयारी गरेका छन् ।  ‘युद्धकालीन अपराध र मुद्दा’ लाई सम्बोधन गर्न एमाले तयार भएकाले समूहमै एमाले प्रवेश गर्ने तयारीमा उनीहरू रहेका हुन् ।

    यसै साता एक कार्यक्रम गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वलडाकुहरूलाई पार्टी प्रवेश गराउन लागेका छन् ।  ‘जनमुक्ति सेनाका योद्धाहरूको माग, गुनासा र अप्ठ्यारा सम्बोधन गर्न एमालेसँग सकारात्मक देखिएको छ । छलफलहरू सकारात्मक हुँदै गएका छन्,’ बहिर्गमित सेनाका अध्यक्ष लेनिन विष्टले भने, ‘सामूहिक पार्टी प्रवेशको लागि मिति चाँडै तोक्ने भन्ने छ ।’

    उनका अनुसार एमाले अध्यक्ष ओलीले सामूहिक पार्टी प्रवेश कार्यक्रमका लागि सचिव टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएका छन् ।
    अध्यक्ष ओली र विष्टबीच पूर्वमाओवादी लडाकुका माग र मुद्दाका बारे तीन चरण छलफल भइसकेको र त्यसको बन्दोबस्त रायमाझीले गराएका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलगायतसँग पनि विष्टको टोलीले पटक-पटक छलफल गरिसकेको छ ।

    ओली पहिलोपटक प्रधानमन्त्री हुँदा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत राहत रकम दिने घोषणा गरेका थिए । बहिर्गमित लडाकुलाई ८४ करोड बजेट छुटाए पनि सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो । तर, गत १ फागुनमा रकम निकासा गर्न आदेश दिए पनि सरकारले त्यसलाई सम्बोधन भने गरेको छैन ।

    ‘राहत मात्र होइन, पूर्वजनमुक्ति सेनालाई राज्यको तर्फबाट सम्मानपत्र, परिचयपत्रको व्यवस्था पनि ओलीज्यू प्रधानमन्त्री हुँदा नै भएको हो । यसले पनि हामीलाई हाम्रा माग सम्बोधन हुनेमा आशावादी बनाएको छ,’ विष्टले भने । उनका अनुसार सामूहिक प्रवेश गर्ने पूर्वमाओवादी लडाकुहरूको नाम संकलन भइरहेको छ ।

  • पूर्वमाओवादी एकताका लागि गजुरेलको शर्त- जनयुद्ध, जनगणतन्त्र र राष्ट्रिय स्वाधीनता (भिडिओ)

    पूर्वमाओवादी एकताका लागि गजुरेलको शर्त- जनयुद्ध, जनगणतन्त्र र राष्ट्रिय स्वाधीनता (भिडिओ)

    काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीबीच एकताका लागि तीनवटा शर्त अघि सारेका छन् । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै गजुरेलले जनयुद्धपूर्वको केन्द्रीय समितिले गरेका प्रतिबद्धता स्मरण गर्न आग्रह गरे ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुराना माओवादी एकताको प्रसंग निकाल्ने गरेको स्मरण गराउँदै गजुरेलले माओवादी एकताका लागि आधार तयार पार्न माओवादी केन्द्रलाई सुझाव दिएका हुन् ।

    ‘पुराना माओवादी एकजुट हुनुपर्छ, एकताबद्ध हुनुपर्छ भनेर प्रचण्डले भन्दै आउँनुभएको छ । हामीले यसलाई सकरात्मक रूपमा बुझ्दै आएका छौं । हामी चाहन्छौं नेपालका सबै कम्युनिष्ट क्रान्तिकारीहरू एक हुनुपर्छ । त्यसका लागि यो महाधिवेशनले आधार तयार पारोस्’, गजुरेलले भने ।

    उनले जनयुद्धपूर्वको माओवादी केन्द्रीय कमिटीको बैठकको प्रतिबद्धता पालना गर्नुपर्ने , जनयुद्धको लक्ष्यअनुसार जनगणतन्त्र स्थापनाका लागि तयार हुनुपर्ने, एमसीसीलगायतका सम्झौता खारेजी र नेपाली भूमि फिर्ताको पक्षमा निर्णय गर्नुपर्ने प्रस्ताव गरे ।

    ‘जनगणतन्त्र स्थापनाको लक्ष्य पूरा गर्ने र राष्ट्रिय स्वाधीनताका पक्षमा उभिने निर्णय यो महाधिवेशनबाट गर्नुहोस् । तबमात्रै माओवादी एकताका लागि छलफल गर्ने ढोका खुल्छ’, उनले भने ।

  • एमालेमा पूर्वमाओवादीको आकर्षक उपस्थिति, केन्द्रीय कमिटीमा १० प्रतिशत (सूचीसहित)

    एमालेमा पूर्वमाओवादीको आकर्षक उपस्थिति, केन्द्रीय कमिटीमा १० प्रतिशत (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक भन्दै आएका छन् यो- पार्टी २०७५ जेठ २ अघिको एमाले होइन । यो त नेकपा एकताको निरन्तरता हो ।

    तत्कालीन नेकपा विभाजनपछि आफूलाई साथ दिएका पूर्वमाओवादी नेता कार्यकर्ताको मनोविज्ञानलाई बुझेर ओलीले एमालेलाई नेकपाको निरन्तरता भनेका हुन् ।

    सर्वोच्च अदालतबाट एमाले र माओवादी अलग पार्टी बनेको फैसलापछि पनि आफूसँगै रहेको माओवादी पंक्तिलाई विचलित हुन नदिन ओलीले कुनै कसर बाँकी राखेका छैनन् ।

    सरकारमा ७ जनासम्म मन्त्री, तत्कालीन केन्द्रीय कमिटीमा २३ जना केन्द्रीय सदस्य बनाएका ओलीले १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा तत्कालीन माओवादीलाई करिब १२ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेका छन् ।

    १९ पदाधिकारीमध्ये तीनजना पूर्व माओवादीका परेका छन् भने केन्द्रीय कमिटीमा ३३ जना सदस्य निर्वाचित भएका छन् । माओवादी छाडेर एमालेमा रहँदा केन्द्रीय कमिटीमा परेका विषमलाल अधिकारी दनुवारबाहेक सबैले निरन्तरता पाएका छन् ।

    तत्कालीन माओवादीबाट नेकपा विभाजनपछि एमालेमा बसेका करिब एक दर्जन नयाँ अनुहारले केन्द्रीय कमिटीमा प्रवेश पाएका छन् भने अन्यले विभिन्न आयोगको सदस्यमा जिम्मेवारी पाएका छन् ।

    एमाले महाधिवेशनमा करीव डेढ सयजना तत्कालीन माओवादीका नेता कार्यकर्ता प्रतिनिधि बनेको अनुमान छ । एमाले नै नेकपा एकताको निरन्तरता भएको भन्दै तत्कालीन माओवादीका कार्यकर्ता तान्न ओलीले रणनीतिक रुपमै माओवादी पंक्तिलाई सम्माजनक स्थान दिएका हुन् ।

    तत्कालीन नेकपा स्थायी कमिटीमा रहेका चारजना पूर्व माओवादी स्थायी कमिटी सदस्यले विभाजनको बेला ओलीलाई साथ दिएका थिए । तीमध्ये रामबहादुर थापा ‘बादल’ उपाध्यक्ष बनेका छन् भने टोपबहादुर रायमाझी र लेखराज भट्ट सचिव बनेका छन् ।

    मणी थापा र प्रभु साह स्थायी कमिटीमा रहने बताइएको छ । यसपटक तत्कालीन माओवादीबाट संविधानसभा सदस्य भइसकेका निरु दर्लामी कुँवर,बुधनीदेवी महतो,प्रतिक्षा तिवारी जस्ता महिला केन्द्रीय कमिटीमा थपिएका छन् ।

    त्यस्तै पूर्वमन्त्री श्रीप्रसाद जगेबु,संविधासनभा सदस्य बालकृष्ण ढुंगेललगायत नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश भएका छन् ।
    माओवादीबाट एमालेमा रहेका क कसले पाए जिम्मेवारी ?

    पदाधिकारी

    रामबहादुर थापा ‘बादल’ –उपाध्यक्ष

    लेखराज भट्ट–सचिव

    टोपवहादुर रायमाझी–सचिव

    केन्द्रीय सदस्यहरू

    प्रदेश १

    टंक आङबुहाङ

    श्री प्रसाद जगेबु

    पासाङ शेर्पा

    बालकृष्ण ढुंगेल

    प्रदेश २

    उपेन्द्र साह

    प्रभु साह

    रामचन्द्र मण्डल

    ज्वालाकुमारी साह

    कुन्दन कुशवाह

    मोहम्मद समिर

    टेकबहादुर बलम्पाकी मगर

    बुधनी देवी महतो

    प्रतीक्षा तिवारी

    वागमती

    दावा तामाङ

    कमल प्रसाद चौलागाई

    मनोजजंग थापा

    निरु दर्लामी कुँवर

    गण्डकी

    लिलबहादुर थापा

    लुम्बिनी

    मणी थापा

    नविन रोका मगर

    गिरिधारीलाल न्यौपाने

    दिनेश पन्थी

    चन्द्रबहादुर खड्का

    दधिराम न्यौपाने

    कर्णाली

    धर्मराज रेग्मी

    सुदूरपश्चिम

    झपट बोहरा

    गौरीशंकर चौधरी

    लीलाकुमारी भण्डारी