Tag: पूँजीगत खर्च

  • सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन-पूँजीगत खर्च शतप्रतिशत गर्नू

    सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन-पूँजीगत खर्च शतप्रतिशत गर्नू

    काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले अर्थमन्त्रालय तथा विषयगत मन्त्रालयका सचिवहरुसँग पूँजीगत खर्च वृद्धि सम्वन्धमा समीक्षात्मक अन्तरक्रिया गरेका छन् ।

    सो अन्तरक्रिया कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुंगानाले गत आर्थिक वर्ष खानेपानी मन्त्रालयले ३६.८ प्रतिशत, भौतिक निर्माण तथा यातायात मन्त्रालयले ७५.०३ प्रतिशत, शहरी विकास मन्त्रालयले ८७ प्रतिशत , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले र ७७.७९ प्रतिशत र उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पूँजीगत खर्च गरेको जानकारी दिएका थिए ।

    विकासे मन्त्रालयको कम्जोर पूँजीगत खर्चका विवरण सुनेका अर्थमन्त्री शर्माले सम्वन्धित मन्त्रालयका सचिवहरुलाई विनियोजित बजेटनुसार पूँजीगत खर्च न्यून हुनु, आर्थिक वर्षको अन्त्यमा गएर खर्च हुने र समाधानका उपाय बारे जिज्ञासा राखेको अर्थमन्त्रालयले जनाएको छ ।

    जवाफमा सचिवहरुले कोभिड १९ , आयोजनामा दक्ष जनशक्तिको अभाव, पर्याप्त पूर्व तयारी नभएका आयोजनामा रकमको निकासा, ठेक्का प्रकृयामा ठिलाई, बैदेशिक साहयतामा सञ्चालित आयोजनामा रकमको अनिश्चितता, जग्गा प्राप्तिमा कठिनाई, उल्लेखिय साना आयोजनामा रकम विनियोजन, आयोजना सञ्चालनका लागि आवश्यक कार्यविधि निर्देशक तथा मापदण्ड तर्जुमामा ढिलाई र अन्तर मन्त्रालय समन्वयको अभाव जस्ता कारणले आफ्नो मन्त्रालयमा विनियोजन भएका पूँजीगत खर्चको लक्ष्य हासिल गर्न नसकेको बताएका थिए ।

    जवाफमा अर्थमन्त्री शर्माले जवाफमा सचिवहरुले समस्या बताइसकेकाले उक्त समस्याहरुको हल गर्नका लागि आवश्यक सुझाव नेपाल सरकार, मन्त्रिपरिषद र अर्थ मन्त्रालयमा पेस गर्न निर्देशन दिएका थिए ।

    शर्माले परम्परागत ढाँचा र शैलीमा गरिने कामले अपेक्षित नजिता हासिल हुन नसक्ने बताएका थिए । यसका लागि विकास निर्माणमा रहेका जटिलता र प्रकृयामुखी कार्यसम्पादनलाई सुधार गर्न कर्मचारीतन्त्रले आफुमा अन्तरनिहित प्रतिभा , क्षमता र अनुभवको आधारमा नविन सोचका साथ ठोस कार्ययोजना प्रस्तुत गर्नुपर्नेमा शर्माले जोड दिए ।

    सो अन्तरक्रीया कार्यक्रममा विकास प्रकृयामा आम नागरिकको सहभागिताको सुनिश्चितामा शर्माले जोड दिएका थिए । सरकारले लिएको ऋणका आधारमा आयोजनाहरु सञ्चालित भइरहेकाले पूँजीगत खर्च शतप्रतिशत हुनुपर्ने र यसका लागि अर्थमन्त्रालयले पूर्णरुफमा सहयोग र समन्वय रहने प्रतिवद्धता अर्थमन्त्री शर्माले व्यक्त गरेको अर्थमन्त्रालयले जनाएको छ ।

  • पूँजीगत बजेट ९९ प्रतिशत कार्यान्वयन गरेको लुम्बिनी सरकारको दावी, खर्च विवरण आउन बाँकी

    पूँजीगत बजेट ९९ प्रतिशत कार्यान्वयन गरेको लुम्बिनी सरकारको दावी, खर्च विवरण आउन बाँकी

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ९९ दशमलव ४२ प्रतिशत पूँजीगत खर्च गरेको जनाएको छ ।

    आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेश सरकारले करिव शतप्रतिशत पूँजीगत खर्च गरेर अन्य प्रदेशभन्दा अगाडि रहेको दावी गरे । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री चौधरीले लुम्बिनी प्रदेशले इतिहास रचेकोसमेत बताए ।

    मन्त्री चौधरीले पूँजीगततर्फ संघीय सरकार मात्र नभई बाँकी ६ प्रदेशले पनि यत्तिको खर्च गर्न नसकेको जिकिर गरे । आर्थिक वर्ष २०७७/०७८ मा पूँजीगततर्फ बिनियोजित रकम १८ अर्व ६१ करोड ९९ लाख ५२ हजारमध्ये १८ अर्ब ५१ करोड २७ लाख २७ हजार ६ सय ८२ रुपैयाँ अर्थात ९९ दशमलव ४२ प्रतिशत खर्च भएको मन्त्रालयको भनाइ छ ।

    प्रदेश सरकारले चालू खर्चतर्फ ७७ दशमलव ५६ प्रतिशत र ९९ दशमलव ४२ प्रतिशत पूँजीगत खर्च गरी औषतमा ८८ दशमलव ७६ प्रतिशत बजेट तथा कार्यान्वयनमा गरी इतिहास रचेको उनको भनाइ थियो ।

    मन्त्री चौधरीले कार्यक्रमको भौतिक प्रगतितर्फ उत्साहजनक प्रगति भएको र साउनको दोश्रो साताभित्रै प्रदेश सरकारले यसको समीक्षा गरी यथार्थ विवरण बाहिर ल्याउने बताए । उनले सडक, सिंचाई, पुलजस्ता पूर्वाधार निर्माण, कोभिड–१९ को नियन्त्रण र उपचार, प्रदेशको आवधिक योजना निर्माण र कार्यान्वयनमा उल्लेखनीय उपलब्धि हासिल भएको बताएका छन् ।

    प्रदेश सरकारले महत्वपूर्ण कानूनहरुको निर्माण र कार्यान्वयन, २० वर्षे दीर्घकालीन योजना निर्माणको प्रक्रिया प्रारम्भ, लगानी सम्मेलनको बृहत तयारी, एक घर एक धाराजस्ता महत्वपूर्ण कार्यक्रमहरु गरिएको छ । मन्त्री चौधरीले आर्थिक वर्ष २०७५/०७६ मा पूँजीगततर्फ बिनियोजन भएको १६ अर्व ६२ करोड ४३ लाख ९८ हजार मध्ये ६१ दशमलव १९ प्रतिशत र आर्थिक वर्ष २०७६/०७७ मा बिनियोजन भएको १८ अर्ब ५७ करोड ६४ लाख ७९ हजारमध्ये ७९ दशमलव २५ प्रतिशत खर्च भएको जनाए ।

    प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले पूँजीगत खर्चमा यति धेरै प्रतिशत खर्च गर्न सक्नु सकारात्मक भएको बताए । सबै मन्त्रालयगत विवरण आउन त बाँकी छ, शुरुमा विनियोजन भएको पूँजीगत खर्चको करिब शतप्रतिशत खर्च भएको छ, ज्ञवालीले नेपाल प्रेससँग भने ।

    ज्ञवालीका अनुसार प्रदेश सरकारले विनियोजन गरेको १८ अरब ६२ करोड पूँजीगत खर्च शीर्षकमा १८ अर ५१ करोड खर्च भएको छ ।

    ‘कहाँ कहाँ कसरी खर्च भएको छ, भन्ने मन्त्रालयगत विवरण अझै तयार भएको छैन, संघीय सरकारबाट हस्तान्तरण भइआएका योजनाको विवरण र शशर्त योजनामा थप भएको रकमको विवरण आएपछि मन्त्रालयले सार्वजनिक गर्नेछ,’ उनले भने ।

  • स्थानीय तहमा पूँजीगत खर्च बढाउन अर्थमन्त्रीको आग्रह

    स्थानीय तहमा पूँजीगत खर्च बढाउन अर्थमन्त्रीको आग्रह

    काठमाडौं । स्थानीय तहमा पूँजीगत खर्च कम भएको भन्दै अर्थमन्त्री विष्णुप्रसाद पौड्यालले पूँजीगत खर्च बढाउन आग्रह गरेका छन् ।

    आइतबार अर्थमन्त्रलायमा आयोजित छलफलमा बोल्दै अर्थमन्त्री पौड्यालले पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका हुन् ।

    हाल स्थानीय तहमा पुगेको रकममध्ये १२६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । यो रुपैयाँ खर्च गर्नका लगि पौड्यालले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई आग्रह गरे ।

    छलफलमा अर्थमन्त्री पौड्याले स्थानीय तहमा कोभिड–१९ कारण अति प्रभावित र अफ्ट्यारो परेकाहरुलाई पनि सहयोग गर्न समेत आग्रह गरे । यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमुलक बनाउने वातावरण सृजना गर्न पनि उनले छलफलमा बताए ।