Tag: पुष्पकमल दाहाल

  • माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता

    माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।

    आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको छ । भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय निर्वाचन र शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे कुराकानी भएको थियो ।

    सरकारले ३० बैशाखका लागि स्थानीय तह निर्वाचनको मिति निर्धारण गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा गृहमन्त्री खाणले सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका हुन्।

    स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन चुनावी तालमेल गरेर अगाडि बढ्ने विषयमा कुराकानी भइरहेको छ । त्यस्तै अहिलेको शान्ति सुरक्षाको अवस्था र निर्वाचनमा शान्ति सुरक्षाको अवस्थाबारे पनि कुराकानी भएको थियो ।

  • पोखरा पुगेर प्रचण्डले भने- हामी कसैको वैशाखी टेक्ने हैन, अरू पार्टी माओवादीसँग तालमेल गर्न आउँदैछन् (भिडिओ)

    पोखरा पुगेर प्रचण्डले भने- हामी कसैको वैशाखी टेक्ने हैन, अरू पार्टी माओवादीसँग तालमेल गर्न आउँदैछन् (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‍’प्रचण्ड’ले स्थानीय तहको चुनावमा गठबन्धनको  वैशाखी टेकेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने बताएका छन्।

    आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जानुपर्नेमा बताएका हुन् ।

    उनले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने बताए।

    अध्यक्ष प्रचण्डले भने, ‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ। वडादेखि नै गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो। तर पनि हामीले अन्य दलका पार्टीका नेताहरुसँग गठबन्धन गर्नेमा केही छलफल हुदैछ ।’

    उनले अरू पार्टी माओवादीसँग तालमेल गर्न आउने क्रममा रहेको बताए । उनले भने,‘हामी कसैको बैशाखी टेक्ने हैन, अरु पार्टीपनि माओवादीसँग तालमेल गर्न आउनुपर्छ ।’

  • प्रचण्डको प्रष्टोक्ति– एमालेमा अहंकार र निषेधबाहेक केही छैन, तत्काल सहकार्य हुन्न

    प्रचण्डको प्रष्टोक्ति– एमालेमा अहंकार र निषेधबाहेक केही छैन, तत्काल सहकार्य हुन्न

    विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तत्काल आउने चुनावसम्म एमालेसँग सहमति र सहकार्यको सम्भावना नरहेको प्रष्ट पारेका छन् ।

    विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफूहरु राष्ट्रिय स्वाधीनको जटिल र संवेदनशील विषयमा सहमति हुन्छ कि भनेर केपी ओलीलाई भेट्न जाँदा असाध्यै नकारात्मक रुपमा प्रस्तुत भएकाले सहकार्यको सम्भावना नरहेको बताए ।

    अध्यक्ष प्रचण्डले भने,’हामी नारायणकाजीसहित केही साथीहरु लिएर केपीलाई भेट्न म आफैं गएको थिएँ । तर कहिँ कतै एमालेमा सकारात्मक केही देखिएन । नकारात्मक,निषेधात्मक र अहंकारबाहेक केही छैन । त्यसैले अहिले एमालेको केपी गुटसँग तत्काल कुनै सहमति सहकार्य हुने सम्भावना छैन ।’

    प्रचण्डले कांग्रेससँग भने गठबन्धनको प्रयास हुने तर माओवादी एक्लै आफ्नै बुतामा चुनाव लड्ने प्रष्ट पारे । विभिन्न स्थानीय तहका जनप्रतिनिधि र नेताहरु एमाले प्रवेश गरे पनि उनीहरु पहिले नै खुट्टा उचालेर बसकाले केही फरक नपर्ने उनले बताए ।

  • आफ्नै ताकतमा चुनाव जित्ने कुरालाई प्राथमिकता, तालेमेल गर्दा गठबन्धनकै बीचमा- प्रचण्ड (भिडिओ)

    आफ्नै ताकतमा चुनाव जित्ने कुरालाई प्राथमिकता, तालेमेल गर्दा गठबन्धनकै बीचमा- प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नै ताकत र खुट्टामा उभिएर चुनाव जित्ने कुरालाई पार्टीले प्राथमिकता दिएको बताएका छन् ।

    नुवाकोटमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तालमेल गर्दा सत्ता गठबन्धनकै बीचमा गर्ने नीति रहेको समेत प्रष्ट पारे ।

    अध्यक्ष प्रचण्डले भने,’अब पार्टी पूरै चुनावमा केन्द्रित भएको छ । हामी आफ्नै खुट्टामा उभिएर,आफ्नै ताकतमा जित्ने कुरालाई उच्च प्राथमिकतामा राखेका छौं । कसैसँग तालमेल गर्ने स्थिति भएमा त्यसमा पनि ध्यान दिने र तालमेल गर्दा गठबन्धनकै बीचमा गर्ने नीति छ ।’

    एमसीसीका कारण कतिपय नेता कार्यकर्ताले पार्टी छाडेकोमा प्रचण्डले त्यस्तो गर्नुपर्ने अवस्था नरहेको बताए । उनले माओवादीका कारण एमसीसी जस्ताको तस्त्ै पारित नभएको र देश पनि दुर्घटनाबाट जोगिएका बताए ।

    प्रचण्डले कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट लगायतले माओवादीले एमसीसी पारित गरेको भनेर एमाले प्रवेश गर्नु आफैंमा उदेकलाग्दो कुरा भएको बताए । जसले एमसीसी जस्ताको तस्तै पारित गर्न चाहेको थियो त्यो पार्टीमा जानु पलायनवादीहरुको चरित्र रहेको बताए ।

     

  • ट्याक्टर हाँकिरहेका प्रचण्ड !

    ट्याक्टर हाँकिरहेका प्रचण्ड !

    काठमाडौं । नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड एउटा गाउँमा ट्याक्टरको स्टेरिङ घुमाउँदै छन् ।  कम्युनिष्ट नेताहरुको श्रमजीवी वर्गको प्रतिनिधिपात्र सरह देखिन्छ यो सिर्जना । त्यसैले स्वयं नेता प्रचण्डले पनि नकार्न सकेनन्, सिर्जनालाई राम्रो भने र एकैछिन भावुक बन्दै हेरे ।

    पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनस्थल प्रज्ञा भवनको एउटा कुनामा क्यान्भासमा सजिएको उक्त सिर्जनाले उनलाई मात्र होइन, त्यहाँ उपस्थित सबै कम्युनिष्ट नेतालाई एकपटक टक्क अढ्यायो । उनीहरुले पनि यो झलक हेरे र भने– क्रान्ति उद्योग तथा कृषिबाटै थाल्ने हो, त्यसैले यो कृतिले कम्युनिष्ट चरित्रको मुखाकृति भरिदिएको छ । यो सिर्जना मात्र नभएर सत्य हो, हामी नेपालीको वास्तविक धरातल यही हो ।

    कलाकार केशवराज खनालले प्रचण्डलाई ड्राइभर बनाएर औद्योगिक क्रान्तिको विम्बात्मक कला सिर्जना गरेका छन् । त्यही भवनमा हिजोदेखि समाजवादी क्रान्तिको बहस चलिरहेको छ, अनि यता कलाकार खनालले त्यस बहसका केन्द्रबिन्दु प्रचण्डका हातमा स्टेरिङ थमाइदिएका छन् । त्यो पनि ट्याक्टरको ।

    चालक प्रचण्डको सिर्जना मात्रै होइन समाजवादी दृष्टिकोणका सिर्जनाले यहाँको हल भरिएको छ । भित्र समाजवादी क्रान्तिको विचार मन्थन भइरहेको सन्दर्भ पारेर त्यसकै एउटा कुनामा क्रान्तिकारी कलाकारले समाजवादी क्रान्तिको सन्देश छरेका छन् । चित्र हेरेर उपस्थित नेता तथा कार्यकर्तालाई एकपटक झस्काइदिएका छन् कलाकारले । चित्रले सबैलाई एकपटक वर्गीय धरातलतर्फ फर्काइदिएको छ ।

    आज चित्र प्रदर्शनीको अवलोकन गर्न पुगेकाअध्यक्ष प्रचण्ड पनि त्यो देखेर दङ्ग परे । आफैँ ट्याक्टर ड्राइभर बनेको सिर्जनामा टक्क अडिएर अध्यक्ष प्रचण्डले भने, ‘राम्रो छ, राम्रो गर्नु भएछ, लक्ष्य समात्ने कलाकृति आएको छ ।’

    उनीसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रवक्ता कृष्णबहादुर महरा, नेतृ पम्फा भुसाललगायत नेता कार्यकर्ताले सिर्जना अवलोकन गरे । कलाकारले कुनै राजनीतिक पार्टीको महाधिवेशनमा चित्र सिर्जनामार्फत नौलो अभ्यासको थालनी गरी नेतालाई घच्घच्याउने प्रयासको सहभागीले सराहना गरेका छन् ।

    प्रचण्डलाई चालक बनाइदिने चित्रकार खनाल भन्छन्, ‘मुलुकमा समाजवादी क्रान्ति आवश्यक छ, क्रान्ति त्यतिकै सफल हुँदैन त्यसको आधार भनेको औद्योगिक क्रान्ति हो भनेर समाजवादी दृष्टिकोण पस्किएको हुँ ।’

    खनालले कृषि क्रान्ति र औद्योगिक क्रान्तिको विषय आफूले चित्रमार्फत उठाएको जानकारी दिए। हिमाल, पहाड, तराईमा क्रान्ति आवश्यक छ, विगतमा जनयुद्धको नेतृत्व गर्नुभएका अध्यक्ष दाहालले अब कृषि क्रान्तिको नेतृत्व पनि लिनुपर्छ भनेर चित्र सिर्जना गरेको खनालको भनाइ छ ।

    अर्का ८० वर्षीय अग्रज कलाकार जुलुमलाल चित्रकारले मुलुकको गरिबीको गम्भीर समस्या रङको माध्यमबाट देखाएका छन् ।
    सुत्केरी उतार्न समस्या छ, धान राख्ने घ्याम्पो खाली छ, बच्चाहरु भोकै छन्, मानिस मागेर गुजारा चलाउन विवस छन् । यस्तैयस्तै विषय जोडिएका चित्र चसक्क पार्ने खालको छ ।

    ‘यसले हेर्ने वित्तिकै थाहा हुन्छ, मुलुकमा गम्भीर सामाजिक समस्या छ’, उनले भने, ‘कलामार्फत हामीले नेपाली समाजको रुपान्तरणको विषय उठान गर्न खोजेका छौँ ।’

    सिर्जनामार्फत चित्रकारले मुलुकमा आमूल परिवर्तनको खाँचो औँल्याइदिएका छन् । ‘व्यवस्था परिवर्तन त भयो तर अवस्था उस्तै छ’, कलाकारका सिर्जनाले त्यही बोलिरहेको छ ।

    कलाकार खेम विकेले कम्युनिष्टहरुले मुठ्ठी बाटेर गरिने लाल सलामको अर्थ प्रष्ट्याउने जमर्को गरेका छ । उनको चित्रमा मुठ्ठीको औचित्य के, भनेर कम्युनिष्ट जमघट भएको प्रज्ञा भवनमा गम्भीर प्रश्न छाडेका छन्।

    ‘त्यो मुठ्ठीले सामान्तवादको जिव्रो समाउन सकोस् भन्ने सन्देश हो’, उनले चित्रको उद्देश्यबारे भने । चित्रकला प्रदर्शनीमा समाजवादको यात्रालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । वित्तीय पुँजीवाद, औद्योगिक क्रान्ति, समानता र समृद्धिका चित्र प्रस्तुत गरिएको छ । थाङ्का शैलीबाट जनवादी कलालाई कलाकार कमानसिंह लामाले चित्रमार्फ अभिव्यक्त गरे ।

    कलाकार तथा कला समीक्षक देवेन्द्र थुम्केलीको सिर्जनामा हिजोको दैनिक जीवन कसरी चलिरहेको छ भनी आरन चलाउने मजदुरको कथा उनिएको छ । थुम्केलीले वित्तीय पुँजीवादको विषयलाई सिर्जनामार्फत दृष्टिकाेण प्रस्तुत गरेको बताए । पुँजीपतिको हातमा स्रोत र साधन पुगेको कुरा चित्रमा देखाइएको छ । चीलले साना चरा खाए जस्तो गरेर बहुराष्ट्रिय कम्पनीको हातमा उत्पादन गएको कुरालाई जोड दिन खोजिएको बताउने थुम्केलीका यहाँ समाजवादी यात्राका ६ वटा चित्र प्रदर्शनीमा छ ।

    यही ११ गतेबाट सुरु प्रदर्शनीमा आन्दोलन, गणतन्त्र, जनजीविका, श्रम, मजदुर, वित्तीय पुँजीवाद र त्यसको असर, कृषि तथा औद्योगिक क्रान्ति, सामाजिक न्याय र विभेदरहित समाजको परिकल्पना गरिएका कलाकृति छन् । कलाकारले देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिले नेपालको सार्वभौमसत्तामाथि लगाएको गिद्धेदृष्टिलाई कलात्मक रुपमा उधिनेका छन् ।

    प्रदर्शनीमा अग्रज कलाकार लालमान लामा, एससी सुमन, देवेन्द्र थुम्केली, केशवराज खनाल, पाल्साङ्मो लामा, कमानसिंह लामा, प्रदीप अधिकारी, रविन्द्र श्रेष्ठ, राजकुमार रानामगर, राजकुमार खड्का, लिलाधर केसी, अमर परियार, अमिर शाक्य, खेम विके, झिग्मे लामा, शिव शेर्पाली, निरीमाया लामा, रञ्जु पुलामी मगर, पूर्णिमा पौडेललगायतका कलाकारका तीन दर्जन बढी कलाकृति समावेश छन् ।

    अखिल नेपाल ललितकला सङ्घको संयोजनमा भएको प्रदर्शनीमा समाजवादोन्मुख नेपाली समाजको परिकल्पना गरिएको चित्रहरु समावेश छ । सङ्घका केन्द्रीय अध्यक्ष पाल्साङ्मो लामाले पार्टीको महाधिवेशनको सन्दर्भमा गरिएको कला प्रदर्शनीले नेपाली समाजको बहुआयामिकतालाई कलात्मक रुपमा उतारेको बताए ।

    (रासस)

  • मुलुक चुनावतिर गइसक्यो, निष्पक्ष बनाउन दलहरुबीच सहकार्य आवश्यक- प्रचण्ड

    मुलुक चुनावतिर गइसक्यो, निष्पक्ष बनाउन दलहरुबीच सहकार्य आवश्यक- प्रचण्ड

    रूपन्देही । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीति दलका अधिवेशन चुनाव केन्द्रीत भएको बताएका छन् । उनले यी अधिवेशनले मुलुकलाई चुनावतर्फ लगेको  बताएका छन्।

    आज बुटवलमा माओवादी जिल्ला इन्चार्ज स्व. रामप्रसाद बञ्जाडेको श्रद्धाञ्जली सभामा बोल्दै उनले दलहरू महाधिवेशनमा गएको र ती महाधिवेशनले चुनाबी तयारी गर्न थालिसकेको बताए।

    ‘मुलुक चुनाबतिर गईसकेको संकेत दलका महाधिवेशनहरूका गतिविधिले गरिरहेका छन्’ उनले भने,’चुनाबलाई निष्पक्ष र धाधलीरहित बनाउन दलहरूबीच आपसी समझदारी र सहकार्य जरूरी छ।’

    उनले समाजवाद उन्मुख भईसकेको मुलुकलाई समृद्ध बनाउनका लागि पनि दलहरूबीच सहकार्य जरूरी रहेको बताए।
    ‘संविधानको समावेशी र समानुपातिक मूल्यमान्यतालाई आत्मसाथ गर्दै जनताका चाहना पूरा गर्न सहकार्य र सहमतिको खाँचो छ, उनले भने।

    उनले नेता बञ्जाडेको योगदानको चर्चा गर्दै योद्धाहरूको सपना पूरा गर्नका लागि माओवादी प्रतिबद्ध रहेको बताए। नेता बञ्जाडेको बुटवलमा दुर्घटनामा परी मृत्यु भएको थियो।

  • बाबुराम, विप्लवहरुलाई अंकमाल गर्ने दिनको प्रतीक्षामा छुः प्रचण्ड

    बाबुराम, विप्लवहरुलाई अंकमाल गर्ने दिनको प्रतीक्षामा छुः प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी छोडेर हिँडेका नेताहरु फर्केर आउने विश्वास व्यक्त गरेका छन् । बाबुराम, किरण, विप्लव लगायतका नेताहरुलाई अंकमाल गर्ने दिनको प्रतीक्षामा आफू रहेको उनले बताए ।

    विप्लव समूहबाट माओवादीमा आएकाहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘बुवाआमासँग झगडा गरेर हिँडेको छोरो बेलुकीपख जसरी पनि घर फर्किन्छ । उ नफर्किएसम्म बुवाआमालाई दिनभरि त्यही छोराको चिन्ताले सताउँछ । मलाई पनि त्यस्तै भएको छ ।’

    प्रचण्डले सबै माओवादीहरु एक ठाउँमा केन्द्रित भएर नेपाली क्रान्तिलाई मौलिक तरिकाले अगाडि लैजानुपर्नेमा जोड दिए ।

    पार्टी प्रवेश गर्नेलाई धन्यवाद दिँदै प्रचण्डले भने, ‘तपाईंंहरुले सही निर्णय लिनुभएको छ । ब्यूँझेर आउनुभयो । अरु पनि चाँडै ब्यूँझिनेछन् । बाबुरामजी, किरणजी, विप्लवजी पनि यसरी नै आउनुहुन्छ भन्ने विश्वास छ । उहाँहरुलाई अंकमाल गर्ने, हात मिलाउने दिनका प्रतीक्षामा छु ।’

  • ‘बडो क्लियर हुनुहोला अर्ली इलेक्सन हुँदैन, प्रधान न्यायाधीशबारे गठबन्धनको साझा धारणा आउँछ’ (भिडिओ)

    ‘बडो क्लियर हुनुहोला अर्ली इलेक्सन हुँदैन, प्रधान न्यायाधीशबारे गठबन्धनको साझा धारणा आउँछ’ (भिडिओ)

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनले प्रधान न्यायाधीशको राजीनामा र महाअभियोगका सम्बन्धमा सत्ता गठबन्धनले सामुहिक धारणा बनाउने प्रष्ट पारेका छन् ।

    अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरु कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाई भएको बताए ।

    शनिबार जनकपुरमा विमानस्थलमा प्रचण्डले गठबन्धन दलको बैठक बस्ने बित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरुले दृष्टिकोण बाहिर ल्याउने समेत बताए ।

    उनले भने, ‘काठमाडौंमा अहिले नेताहरु कोहि कता, कोही कता भएको हुनाले हामीले बैठक बस्न १/२ दिन ढिला भएको छ । बैठक बस्ने वित्तिकै हामी आफ्नो धारणा बाहिर ल्याउँछौं । यसलाई समाधान गर्ने दृष्टिकोणले नै हामी हल गर्छौं । गठबन्धन स्मुथ्ली चलिराख्या छ । कुनै विवाद राजनीतिक वा अन्य विवाद आएको छैन ।’

    अध्यक्ष प्रचण्डले अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना नरहेको बताउ । संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको उनको दावी छ ।

    अध्यक्ष प्रचण्डले भने, ‘अर्ली इलेक्सन हुँदैन । बडो क्लियर हुनुहोला । अर्ली इलेक्सन किन हुँदैन भने हाम्रो संवैधानिक व्यवस्थाले पनि त्यो परिकल्पना गरेको छैन । दोस्रो कुरा सर्वोच्च अदालतले गरेको फैसलाले पनि अर्ली ईलेक्सन हुँदैन । कोही कन्फ्युज हुनु पर्दैन ।’

    प्रचण्डले राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लड्ने सैद्धान्तिक सहमति भईसकेको जानकारी दिए ।

     

  • प्रचण्डको दिक्दारी : बरु राजाको शान थ्यो, राष्ट्रपतिको त इज्जतै छैन (भिडियो)

    प्रचण्डको दिक्दारी : बरु राजाको शान थ्यो, राष्ट्रपतिको त इज्जतै छैन (भिडियो)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर दिक्दारी व्यक्त गरेका छन् । आज सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै उनले राष्ट्रपतिको इज्जतै नरहेको बताए ।

    प्रचण्डको भनाइ यस्तो थियो :

    ‘राष्ट्रपति सबैको अभिभावक भनेर, संविधानको संरक्षक भनेर… अझ म त महिला अघि साने भाको (हाँस्दै)… हेर्नुस् त अहिले राष्ट्रपति कस्तो भयो ? अहिले राष्ट्रपति भन्ने संस्था त… यति… (केही भन्न खोज्दा आफैं रोकिए)…यो भन्दा त… राजाको त एउटा थ्यो नि शान… अहिले त शान पनि छैन, मान पनि छैन, इज्जत पनि छैन । कस्तो भयो त हामीले बनाएको संस्था । राष्ट्रपति त संस्था हो नि ।’

  • कांग्रेस दक्षिणपन्थी होइन, केपी ओली वामपन्थी होइनन् : प्रचण्ड

    कांग्रेस दक्षिणपन्थी होइन, केपी ओली वामपन्थी होइनन् : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरुको गठबन्धन दीर्घकालीन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । सम्पादकहरुसंगको अन्तरक्रियामा बोल्दै दाहालले राजनीतिक र सैद्धान्तिक धरातलमा उभिएको गठबन्धन भएकाले लामो समयसम्म सहकार्य हुने बताए ।

    संविधान, लोकतन्त्र, राष्ट्रियता र जनताको पक्षमा उभिन गठबन्धनमा रहेका सबै दलबीच न्यूनतम सहमति बनेको भन्दै अध्यक्ष दाहालले सरकार बनाउन वा एउटा निर्वाचन जित्नका लागि मात्रै गठबन्धन नगरिएको स्पष्ट पारे । ‘एउटा चुनाव जित्न वा ओली हटाउनका लागि मात्रै नभएर दीर्घकालीन रुपमा संविधान, लोकतन्त्र र राष्ट्रियता जोगाउन गठबन्धन निरन्तर रहन्छ’, दाहालले भने ।

    गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चामा आन्तरिक राजनीतिक समस्या नरहेको भन्दै दाहालले विद्रोहको झण्डा बोक्ने एमालेका माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवका समस्या पनि गठबन्धनको साझा हुने बताए । ‘कांग्रेस, जनमोर्चा र हामीमा समस्या छैन । माधवजी र उपेन्द्रजीहरुलाई परेको अप्ठ्याराहरुमा हामी संगै छौं। त्यसलाई गठबन्धनले साझा रुपमा लिन्छ’, दाहालले भने ।

    नेपालको भूराजनीतिक जटिलताका कारण यसको आफ्नै समस्या भएपनि राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षा गठबन्धनको साझा एजेण्डा रहेको बताए । प्रधानमन्त्री केपी ओलीले दक्षिणपन्थी शक्तिसंग मिलेर वामपन्थी सिध्याउन लागेको आरोप लगाएको भन्दै दाहालले प्रतिवाद गरे ।

    ‘कांग्रेस संविधान र लोकतन्त्र बचाउन हिडेको छ । केपी ओली संविधान र लोकतन्त्र सिध्याउन हिड्नुभएको छ । कांग्रेसले ओलीजीलाई विदेशीको टाङमुनि छिरेको आरोप लगाएको छ । ओलीजी विदेशी दलालको टाङमुनि नै हुनुहुन्छ । त्यसैले कांग्रेस दक्षिणपन्थी होइन, ओलीजी वामपन्थी होइन’, उनले भने ।

  • २० प्रतिशत युवालाई नीतिगत तहमा समेटिने छ : दाहाल

    २० प्रतिशत युवालाई नीतिगत तहमा समेटिने छ : दाहाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताएका छन् ।

    एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा आज आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन समारोहका क्रममा अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताका बीचमा पुर्‍याउन शिक्षकलाई आग्रह गरे ।

    ‘नेपाली मौलिकताको जनवादी क्रान्तिको कोर्स पूरा भए पनि साम्राज्यवादविरुद्धको लडाइँ बाँकी नै छ’, उनले भने, ‘समाजवादी क्रान्तिबाट सामन्तवादका अवशेष समाप्त पार्न कम्युनिष्ट एकता र आन्दोलनबाट मात्र सम्भव छ ।’

    उनले चुनाव घोषणा गरिसकेको सरकारले संविधान प्रतिकूल मन्त्रिपरिषद् पुनः गठन गरेको जिकिर पनि गरे । उनले यतिबेला कोरोना महामारीविरुद्ध सबै एकताबद्ध भएर जुध्न पनि अनुरोध गरे ।

    सो अवसरमा सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले सरकार र राजनीतिक दलले शिक्षकका माग बेवास्ता गरेको आरोप लगाए । अध्यक्ष अधिकारीले भने, ‘सेना, प्रहरी र निजामती कर्मचारीलाई विभिन्न सेवा दिँदै गर्दा यो मुलुकभित्रकै श्रमजीवी शिक्षकलाई विभेद किन ?’

    कार्यक्रममा सातै प्रदेशका अध्यक्षले सङ्गठनको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो भर्चुअल ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’मा करीब एक हजार शिक्षकको सहभागिता रहेको सङ्गठनका केन्द्रीय महासचिव निमबहादुर केसीले जानकारी दिए ।

  • कोरोना माहामारीबारे विज्ञसँग प्रचण्डको छलफल, भोलि नियन्त्रणका कार्यक्रम घोषणा गरिने

    कोरोना माहामारीबारे विज्ञसँग प्रचण्डको छलफल, भोलि नियन्त्रणका कार्यक्रम घोषणा गरिने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना महामारीबारे विज्ञ र चिकित्ससँग छलफल गरेका छन्।

    प्रचण्डको निजी सचिवालयका अनुसार उनले पार्टी केन्द्रीय कार्यालय पेरिसडॉडामा उक्त छलफल गरेका हुन्।

    ‘आज हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडॉडामा अध्यक्ष कमरेड प्रचण्डले हाल माहामारीका रुपमा फैलिईरहेको कोभिड-१९ का बारेमा विज्ञ एवं चिकित्सकहरु संग छलफल, परामर्श गर्नुभयो,’ सचिवालयको विज्ञप्तिमा भनिएको छ।

    भोलि स्थायी कमिटी बैठक बसेर यसको नियन्त्रण सम्बन्धी कार्यक्रम घोषणा गरिने बताइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘उक्त छलफलका क्रममा आएका सल्लाह एवं सुझावसहित पार्टीले भोलि बिहीबार बस्ने स्थायी समितिको बैठकबाट विभिन्न योजनाहरु र कार्यक्रमहरु निर्णय गरि घोषणा गर्ने कार्यक्रम रहेको छ।’

  • कोरोनाको मारमा परेका श्रमिकको व्यवस्थापन गर्न प्रचण्डको आग्रह

    कोरोनाको मारमा परेका श्रमिकको व्यवस्थापन गर्न प्रचण्डको आग्रह

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसका कारण रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको भन्दै उनीहरुका लागि उचित राहतसहित खाद्यान्नलगायत वैकल्पिक व्यवस्थापन गर्न माग गरेका छन् ।

    १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सबै राजनीतिक कायकर्ता र समाजसेवीहरूमा पनि खुला हृदयले समस्यामा परेका रोजगारविहीन श्रमिकका लागि सहयोगी हात बढाउन अपिल गरेका छन् ।

    महामारीको संक्रमणबाट आफ्नो जीवन रक्षाका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सम्पूर्ण श्रमिक वर्गमा अपिल गर्दै पूर्वप्रधानमन्त्री दाहालले सुस्वास्थ्य र दीर्घायूको कामनासमेत गरेका छन् ।

    श्रमजीवी वर्ग, राज्यको बहुआयामिक विकासका मुख्य आधार रहेको तथा श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव नहुने भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिए पनि श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको बताएका छन् ।

    अध्यक्ष दाहालले पश्चगामी र परिवर्तन विरोधी तत्व श्रमजीवि जनताका अधिकार खोस्न उद्त देखिएकाले प्राप्त उपलब्धिको रक्षाका लागि एकताबद्ध भएर प्रतिवाद गर्न श्रमिक वर्गमा अपिल गरेका छन् ।

  • कोटेश्वरका व्यवसायीको घरमा प्रचण्ड-माधव छलफल

    कोटेश्वरका व्यवसायीको घरमा प्रचण्ड-माधव छलफल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच कोटेश्वरका एक व्यवसायीको घरमा छलफल भएको छ ।

    नेपाल आज विहान झापाबाट फर्किए लगत्तै कोटेश्वरको खरिबोट नजिक चन्द्रलाल श्रेष्ठको घरमा दुई नेताबीच छलफल भएको छ । छलफलमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

    कर्णालीमा माधव नेपाल पक्षको सहयोगमा माओवादी सरकार जोगिएको भोलिपल्ट दुई नेताबीच वार्ता भएको हो । गण्डकीमा पनि एमालेका मुख्यमन्त्रीविरुद्ध कांग्रेस माओवादीले अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

    प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेका प्रचण्डले एमालेबाट निलम्बित नेता नेपालसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । यसबीचमा पनि प्रचण्ड र नेपालबीच कोटेश्वरस्थित व्यवसायी श्रेष्ठ र टपिन्द्र तिम्सिनाको घरमा पटक पटक बैठक भएका थिए ।

  • भारतीय भजनमण्डलीको राजनीति

    भारतीय भजनमण्डलीको राजनीति

    मैले यो लेख दोस्रो विश्वयुद्धको समयमा भारतीय प्रसंगबाट शुरू गर्नु उपयुक्त ठानेको छु । दोस्रो विश्वयुद्धको समयमा ब्रिटिश साम्राज्यवादले भारतमा शासन गरिरहेको थियो । ब्रिटिशहरू भारतीय राजनीतिक पार्टी, मूलतः भारतीय कंग्रेसप्रति कठोर बन्दै गएका थिए । ब्रिटिश साम्राज्यवादको विरुद्ध संघर्षमा होमिएका कंग्रेसका सबैजसो उच्च नेताहरू जेल हालिएका थिए । दोस्रो विश्वयुद्धले भारतमा त्यति ठूलो क्षति भएन । बरु विश्वयुद्धको समाप्ति सँगसँगै ब्रिटिश साम्राज्यवाद भारतबाट लखेटियो ।

    अर्काे पक्ष के थियो भने दोस्रो विश्वयुद्धमा ब्रिटिश, सोभियत संघ र अमेरिकाले जर्मन र इटली फाँसीवादका विरुद्ध बनाएको मित्रपक्षको महागठबन्धन थियो । विश्वयुद्ध शुरू हुनुभन्दा पहिले विश्वका साम्राज्यवादी देशहरूले सोभियत संघलाई ढलाउन चाहन्थे । सोभियत संघका प्रमुख स्टालिन चलाख व्यक्ति थिए । उनले जर्मनीसँग अनाक्रमण सन्धि गरिदिए ।

    त्यसले युद्धलाई केही समयसम्म टार्न सक्यो । त्यो अवस्थासम्म सोभियत संघले आफ्नो स्थिति मजबुत बनाइसकेको थियो । स्टालिनको त्यही रणनीति दोस्रो विश्वयुद्धको लागि विजयी गर्ने आधार बन्यो । भनिन्छ, सोभियत संघको बलिदानी र स्टालिनको साहस, चर्चिलको कूटनीति तथा रुजबेल्टको हतियारले दोस्रो विश्वयुद्धमा मित्रपक्षले विजय हासिल गरेको थियो ।

    भारतीय कम्युनिष्ट पार्टीको दोहोरो चरित्र

    भारतीय कंग्रेसले ब्रिटिश साम्राज्यवादका विरुद्ध ‘भारत छोडो’ आन्दोलन शुरू गरेको थियो । ब्रिटिश शासकहरूले कंग्रेसमाथि भएका दमन बढाएर लगेका थिए । भारतीय कम्युनिष्ट पार्टीले विश्लेषण गर्यो कि— सोभियत संघ र ब्रिटिशले महागठबन्धन गरेर जर्मनका हिटलर र इटलीका मुसोलिनीको फाँसीवाद विरुद्ध लडाइँ गरेकाले ब्रिटिशहरूको विरोध गर्ने उपयुक्त समय नभएकोले सोभियत संघ, ब्रिटिश र अमेरिकी महागठबन्धनलाई साथ दिनुपर्छ । त्यो निर्णयपछि ब्रिटिशहरूले कम्युनिष्ट पार्टीका धेरै नेतालाई जेलमुक्त गरिदिए । कम्युनिष्टहरू भटाभट जेलमुक्त भइरहँदा कंग्रेसका नेताहरू कठोर जेल जीवन विताइरहेका थिए ।

    आफ्नो देशको सार्वभौमसत्ताका लागि लड्नुपर्नेमा भारतीय कम्युनिष्ट नेताहरू सोभियत संघको भक्त हुनुमा उचित देखे जस्तै प्रचण्ड देशको सार्वभौमसत्ता रक्षाको पक्षमा उभिनु भन्दा भारतीय शासकवर्गको भक्त हुनु उचित ठानिरहेका छन् ।

    भारतीय कम्युनिष्ट पार्टी आफ्नो देशको स्वाधीनता विरुद्धको आन्दोलनमा नलागी बेलायतको सेवा गरेको आरोप लाग्यो । भारतमा त्यो आरोप अहिले पनि लगाइने गरिन्छ । भारतीय जनतामा त्यतिबेला कम्युनिष्टहरूलाई साम्राज्यवादको दलाल भनिन्थ्यो र अहिले पनि उनीहरू त्यो आरोपबाट मुक्त हुनसकेका छैनन् ।

    एकातिर भारतलाई बेलायती साम्राज्यवादबाट मुक्त पार्ने नारा दिने, अर्कातिर ‘भारत छोडो’ आन्दोलनबाट पछि हट्ने जुन दोहोरो चरित्र भारतीय कम्युनिष्ट पार्टीले लियो, भारतमा अहिलेसम्म पनि कम्युनिष्ट पार्टी उठ्न नसक्नुको एउटा कारण त्यो पनि हो भनेर विश्लेषण गरिन्छ । बेलायती साम्राज्यवाद विरुद्ध संघर्ष गर्न र आफ्नो देशको स्वाधीनताको लागि स्टालिन र सोभियत संघको गुणगान गाएर बस्नुपर्ने बाध्यता भारतीय कम्युनिष्ट पार्टीलाई थिएन । तर उसले त्यही ग¥यो ।

    भारतीय कम्युनिष्ट पार्टी र प्रचण्ड समूहमा समानता

    भारतीय साम्राज्यवादले प्रचण्डका विपक्षी केपी ओलीलाई अप्ठ्यारोमा पारेको छ भन्दैमा भारतीय शासकवर्ग उनको मित्रपक्ष हुन सक्दैन । पुष्पकमल दाहालले त्यही गल्ती गर्दैछन्, जुन गल्ती दोस्रो विश्वयुद्धमा भारतीय कम्युनिष्ट पार्टीले गरेको थियो । ब्रिटिश साम्राज्यवादले भारतमाथि निरन्तर हमला गर्दा भारतीय कम्युनिष्ट पार्टी चुप लागेको थियो, अहिले प्रचण्डले सहयोगको नाममा खुलमखुला हस्तक्षेपको आह्वान गरिरहेका छन् ।

    केपी शर्मा ओली भारतीय शासकवर्गको आँखामा कसिंगर बनिरहँदा पुष्पकमल दाहाल कसरी आँखामा राखे पनि नबिझाउने नानी बनेका छन् ? प्रचण्डले बारम्बार भारतीय सहयोगको लागि किन आह्वान गरिरहेका छन् ? यो निकै गम्भीर विषय हो ।

    डेढ दशक अगाडिको मात्रै कुरा गर्ने हो भने मोहन वैद्य र सीपी गजुरेल भारतीय जेलमा रहँदा प्रचण्ड बाबुराम कसरी भारतमा खुलमखुला हिंडिरहेका थिए ? ब्रिटिश साम्राज्यवादले भारतीय कम्युनिष्टहरूलाई काखी च्यापिरहँदा दक्षिणपन्थी भनिएको कंग्रेसका नेताहरूले जसरी दुःख पाइरहेका थिए, ठीक त्यसैगरी मोहन वैद्य र सीपी गजुरेल भारतीय जेलमा थिए । प्रचण्डको भारतभक्ति भारतीय कम्युनिष्ट पार्टीको सोभियत भक्तिको नेपाली संस्करण हो ।

    आफ्नो देशको सार्वभौमसत्ताका लागि लड्नुपर्नेमा भारतीय कम्युनिष्ट नेताहरू सोभियत संघको भक्त हुनुमा उचित देखे जस्तै प्रचण्ड देशको सार्वभौमसत्ता रक्षाको पक्षमा उभिनु भन्दा भारतीय शासकवर्गको भक्त हुनु उचित ठानिरहेका छन् ।

    प्रचण्ड कुनै स्टालिन होइनन्, जसले जर्मनीसँग अनाक्रमण सन्धि गरेर आफ्नो शक्ति बढाउने र उसैमाथि प्रहार गरेर विश्वयुद्धमा विजयी हासिल गर्ने । बरु प्रचण्ड तिनै व्यक्ति हुन्, जसले भारतलाई चिठी लेखेर, भारतीय भूमिमै १२ बुँदे समझदारी गरेर सत्तामा पुगे । आफू सत्तामा पुग्नको लागि भारतीय सहयोग रहेको कुरा प्रचण्डले बारम्बार बताउने गरेका छन् ।

    यो दोस्रो विश्वयुद्धको समय पनि होइन र प्रचण्डले आह्वान गर्दैमा नेपाली जनताले विदेशी हस्तक्षेपलाई स्वीकार पनि गर्दैनन् । सर्वाेच्च अदालतको एउटा निर्णयबाट समाधान हुने विषयमा विदेशी हस्तक्षेपको आह्वान प्रचण्डको रोदनबाहेक केही होइन ।

    माओवादीको चिठी र १२ बुँदे

    नेपालमा सशस्त्र संघर्ष गर्नको लागि माओवादीका नेताहरू भारतमा आश्रय लिएर बसेका थिए । माओवादीका ४० बुँदामध्ये करिब एक दर्जन भारतसँग समस्याका विषयमा थिए । सशस्त्र संघर्षको केही समयपछि भारतका विरुद्ध ‘सुरुङयुद्ध’ लडिरहेका नेताहरूलाई भारतले किन आश्रय दिएको थियो ? यसको जवाफ धेरै हुन सक्छ । तर भारतलाई कुनै दखल नगरिने भनेर भारतीय शासकलाई प्रचण्डले पठाएको लिखत एउटा महत्वपूर्ण कारण हो ।

    राजनीतिमा देखिने कुराले मात्रै सबैथोक निर्धारण गर्दैन । धेरै थोक नदेखिने पनि हुन्छन् । प्रचण्ड, बाबुरामले भारतसँग कैयौं अघोषित र खुला सम्झौता गरेका कारण नै तिनीहरूले दिल्लीमा आश्रय पाएका थिए । दिल्लीमा भएको १२ बुँदे सम्झौता त्यसको महत्वपूर्ण कडी हो भन्ने कुरा देशको राजनीतिमा घामजत्तिकै छर्लङ्ग छ ।

    प्रचण्डका जे–जति गतिविधि र अभिव्यक्ति प्रकट भइरहेका छन्, ती भारतलाई पठाएको चिठी र १२ बुँदे सम्झौतामा उल्लेख नगरिएको अलिखित हिसाबकिताबको चुक्ताका लागि भइरहेका छन् ।

    देशको राजनीतिमा भारतलाई संलग्न गराउनु र तिनीहरूकै आडमा देशमा बारम्बार सरकारको परिवर्तन खोज्नु नेपाली नेताहरूको लगातारको गल्ती हो । भारतले जतिबेला माओवादी नेता–कार्यकर्तालाई पक्रँदै, नेपाललाई बुझाउँदै गरेको थियो त्यस परिस्थितिमा प्रचण्डले कुनै असर नगरिने व्यहोराको चिठी भारतलाई लेखेपछि माओवादीप्रति भारतीय नीति फेरियो । माओवादीले भारतपरस्त नीति लिएपछि अब भारतको लागि माओवादी ठूलो समस्याको रूपमा रहेन । भारतले माओवादी समूहलाई आफ्नो अनुकूलतामा खेलाउँदै गयो ।

    प्रचण्डको ‘कम्फर्टेबल’ सरकार

    नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर नक्शा प्रकाशित गरेपछि भारतीय दबाब धेरै थियो । भारतले नेपालसँग वार्ता गर्न चाहेकै थिएन । त्यो विषयमा केपी ओलीलाई कुनै दबाब वा साथ दिनुपर्ने थियो भने प्रचण्ड माधवकुमार नेपालले दिनुपर्दथ्यो । भारतले चाहेकै समयमा केपी ओलीलाई किन हटाउन खोजियो भन्ने कुरामा अहिले होइन, इतिहासले जवाफ खोज्नेछ ।

    देशका अगाडि अप्ठ्यारो हुँदाहुँदै संसद विघटन गर्ने ओलीको कदम संवैधानिक रूपमा गलत नै थियो भन्ने कुरा पुष्टि भइसकेको छ । संसदमा रहेको जोडघटाउको कुनै प्रष्ट चित्र आई नसकेकाले के हुनेछ भन्न सकिने स्थिति छैन । जे भए तापनि अब संसदले नै ओलीको भविष्यको बारेमा फैसला गर्नेछ । ओली संसद विघटनको बाटोमा नलागेर संसदलाई फैसला गर्न दिएको भए देशले अढाइ महिना दुःख पाउने थिएन । आखिर ओली त्यही ठाउँमा आइपुगेका छन् ।

    संसद पुनस्र्थापनापछि नेकपा अध्यक्ष प्रचण्डले कांग्रेस, आफ्नो समूह र मधेशवादी दलको संयुक्त सरकार गठन गर्नुपर्ने र त्यो भारतको लागि ‘कम्फर्टेबल’ हुने बताएका छन् । प्रचण्डको ‘कम्फर्टेबल’ सरकारको प्रसंग भारतलाई रिझाउने पछिल्लो अभिव्यक्ति हो । प्रचण्डका अभिव्यक्ति मात्रै होइन, गतिविधि पनि भारतलाई रिझाउनमै केन्द्रित छन् । भारतले चाहेकै समयमा ओलीलाई सरकारबाट बर्खास्त गर्न कस्सिनु भारतलाई खुशी बनाउने कामबाहेक अर्काे थिएन ।

    सरकार बाहिर रहनु परेकाले प्रचण्डमा भएका छटपटीहरू छरपस्ट भएका छन् ।

    प्रचण्डले संसद विघटन हुने वित्तिकै भारतलगायत विश्व समुदायबाट सहयोगको अपेक्षा गरेका थिए । नेपालमा विश्व समुदायबाट सहयोग लिनुपर्ने गरी कुनै राजनीतिक जटिलता थिएन । एउटा संसद विघटन भएको थियो । संसद विघटनका बारेमा सर्वाेच्च अदालतमा एक दर्जन मुद्दा विचाराधीन थिए । देशकै सर्वाेच्च अदालतले टुंगो लगाउने विषयमा विदेशी सहयोगको आह्वान गर्ने कार्यलाई कुनै पनि अवस्थामा सही मान्न सकिंदैन ।

    प्रचण्डका जे–जति गतिविधि र अभिव्यक्ति प्रकट भइरहेका छन्, ती भारतलाई पठाएको चिठी र १२ बुँदे सम्झौतामा उल्लेख नगरिएको अलिखित हिसाबकिताबको चुक्ताका लागि भइरहेका छन् ।

    संसद पुनस्र्थापना हुनुभन्दा अगाडिको परिस्थिति हेर्ने हो भने विघटन भएको अवस्थामा चुनावमा र पुनस्र्थापना भएको अवस्थामा संसदमा गणितको खेल हुने निश्चित थियो । तर प्रचण्डले हतारिएर जसरी अन्तर्राष्ट्रिय समुदायमा सहयोगको आह्वान गरे, त्यो खेदजनक थियो । नेपालका आन्तरिक समस्याहरूका बारेमा विदेशीलाई गुहार्नु निश्चित रूपमा भत्र्सनायोग्य कदम हो ।

    भारतले नेपालका विरुद्ध नाकाबन्दी गरेका बेलामा पनि प्रचण्डले नेपाललाई सहयोग गर्न विदेशी समुदायलाई यसरी आग्रह गरेका थिएनन् । आफू राजनीतिको केन्द्रबाट ओझेल पर्ने छाँट देखिएपछि विदेशी गुहार्ने प्रचण्डको प्रवृत्ति देशको लागि निकै घातक छ ।

    केपी ओली सरकारमा रहनु वा बाहिरिनु नेपाली राजनीतिको आन्तरिक पक्ष हो । तर ओलीलाई हटाउनको लागि विदेशीहरूसामु गुहार माग्नु हतास मानसिकता, दब्बुपना र साम्राज्यवादपरस्त नीति हो । प्रचण्डमा देखिएको भारतपरस्त र साम्राज्यपरस्त नीतिले देशको सार्वभौमसत्तालाई कमजोर बनाउने खतरा रहनेछ ।

    भारतलाई रिझाउने बाध्यताको अन्त्य

    प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई रिझाउनै पर्ने बाध्यताबाट धेरै हदसम्म आफूलाई बाहिर निकालेका छन् । नाकाबन्दीको कडा विरोध, चीनसँग पारवहन सन्धि र कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्शा प्रकाशित गरेपछि ओलीले आफ्नो उँचाइ लिएका छन् । केही महिनाअगाडि भारतीय खुफिया एजेन्सी प्रमुख सामन्तकुमार गोयलको भ्रमण बेठीक थियो । ओलीले आफ्नै विगतका उपलब्धिप्रति बञ्चरो हान्ने काम गरेका थिए ।

    केपी ओलीले भारतीय खुफिया एजेन्सीका प्रमुखलाई सुटुक्क बालुवाटार बोलाएर भेट्नु पनि भारतीय हस्तक्षेपलाई निम्तो दिनको लागि हो भन्ने कुरा छर्लङ्ग भइसकेको छ । उनले भेट्नु नै थियो भने परराष्ट्र मन्त्रालयमार्फत किन भेटेनन् र भेटका कुराहरू किन सार्वजनिक गरिएनन् ? देशको हितको लागि भएका प्रत्येक भेटघाटहरू सार्वजनिक गर्दा त्यसले देशको अहित गर्दैन । ओलीले त्यसो गरेनन् ।

    महाकाली सन्धिमा गरिएको गल्ती ओलीले अझै महसूस गरेका छैनन् । भारतसँग गरिएको असमान महाकाली सन्धि २५ वर्षसम्म पनि लागू गरिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली महाकाली सन्धिबाट छिटोभन्दा छिटो पछि हट्नुपर्छ र त्यो सन्धि खारेज गर्नुपर्दछ ।

    नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डता कसैसँग सम्झौता गर्नुपर्ने विषय होइनन् । भारतले नेपाललाई बारम्बार हस्तक्षेप गरिरहेको छ । हस्तक्षेप गरिरहेको त्यही शक्तिलाई प्रचण्डले हस्तक्षेपको लागि आह्वान गर्नु राष्ट्रघाती सोचाइ हो ।

    नेपालले सार्वभौमसत्ता सम्पन्न जनताको मतबाट सरकार सञ्चालन गर्नको लागि विदेशीलाई रिझाउनुपर्ने बाध्यताबाट बाहिर निस्कनुपर्दछ । सत्ताको झगडा देशको आन्तरिक मामला हो । देशको आन्तरिक मामलामा विदेशी हस्तक्षेप निम्त्याउन खोज्नु देश विरुद्धको कुरा हो ।

    जुनसुकै वाद वा विचारधाराको आधारमा किन नहोस्, विदेशभक्ति देशको लागि घातक हुन्छ । नेपालको नयाँ नक्शाको प्रकाशन र संसद विघटनपछि प्रचण्डमा बारम्बार देखिएको भारतभक्ति देशको लागि घातक छ । राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर राजनीति गरिनुपर्दछ । तर देशका नेताहरूले व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर राष्ट्रिय स्वार्थलाई जसरी तिलाञ्जली दिंदै गइरहेका छन्, त्यो निकै दुःखलाग्दो र खेदजनक छ ।

  • प्रचण्डको टिप्पणी- ओलीले मलाई त दुईनम्बरी बनाइदिए (भिडियो)

    प्रचण्डको टिप्पणी- ओलीले मलाई त दुईनम्बरी बनाइदिए (भिडियो)

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतापछि केपी ओलीले आफूलाई दुईनम्बरी बनाइदिएको टिप्पणी गरेका छन् । विभाजित नेकपाको प्रचण्ड-माधव नेपाल पक्षधर शिक्षकहरुको भेलालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले ओलीले बैठकको अध्यक्षता गर्न समेत आफूलाई नदिई दुई नम्बरमा झारेको बताए ।

    भेलामा प्रचण्डले भने- अध्यक्षता आलोपालो गर्ने भनेको तर उनले एक दिन पनि मानेनन् । तीनवटा भोटो बढी फटाएको भनेपछि भैगो त भनेर म फकिईहालेँ । पछि त उहाँले मलाई दुईनम्बरी बनाइदिनुभयो । उहाँ एक नम्बरी, म दुईनम्बरी ।

    अर्को प्रसंगमा प्रचण्डले पार्टी एकता गर्ने बेला ओलीले आफूलाई एकमात्र नेता भन्दै एमाले सम्हाल्ने मान्छे तपाईं नै हो भनेर ल्याएको बताए । तर त्यो जालझेल आफूले तत्कालै बुझ्न सफल भएको समेत सुनाए ।

    उनले भने- अहिले भ्रम फिँजाइँदैछ कि एमाले भनेको हामी हो, उता प्रचण्डसँग जानेहरु भनेका माओवादी हुन् । हिजो ओली नै हुन् एमाले सम्हाल्ने मान्छे तपाईं नै हो भनेर मैले ल्याएको हुँ भन्थे । त्यो जालझेल त एक महिनामै देखियो ।

    ओलीले आफूलाई उपयोग गरेर माधव नेपाललाई चार जिल्लामा सीमित पार्न खोजेको समेत बताए । तर आफूले माधव नेपाललाई साथ दिएर २४ जिल्लाको नेतृत्व माधव पक्षलाई दिलाएको दावी समेत उनले गरे ।

    प्रचण्डले भने- माधव र माधवलाई समर्थन गर्नेलाई निचोर्ने र त्यसपछि प्रचण्डलाई त किचिक्कै पार्ने भन्ने कुरा मैले एक महिनामै बुझिहालेँ । बडो षड्यन्त्रकारी मान्छेको फेला परिएछ भन्ने लाग्यो । तुरुन्तै झगडा गर्न पनि के थालौं, जनताले के ठान्लान् भनेर सहेँ ।

    प्रचण्डले एमाले भनेको केपी ओलीको नेतृत्व हो भन्ने भ्रमलाई तलैदेखि तोड्न शिक्षकहरुलाई आग्रह समेत गरे । ओलीले जेलमा बस्दा चाणक्य नीति र महाभारत मात्र पढेको भन्दै शकुनि खेलमा ओलीलाई कसैले नसक्ने बताए ।

  • बंगलादेशको मोडलमा चुनाव गर्न खोजिएको प्रचण्डको आशंका

    बंगलादेशको मोडलमा चुनाव गर्न खोजिएको प्रचण्डको आशंका

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वंगलादेशको मोडलमा चुनाव गराउने खेल भइरहेको आशंका जनाएका छन् । उनले प्रतिनिधिसभा पुनःस्थापना भएन भने त्यसपछि हुने चुनाव असंवैधानिक,अवैधानिक र अलोकतान्त्रिक हुने बताएका छन् ।

    चितवनमा मंगलवार विहान पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘अदालतको फैसला अन्यथा आयो र चुनाव हुने भयो भने पनि त्यो असंवैधानिक, अवैधानिक र अलोकतान्त्रिक हुनेछ । कसैले त बंगलादेशको मोडलमा अवैधानिक ढंगले गर्न लागिएको चुनाव पनि भन्न थालेका छन् ।’

    गृहजिल्ला पुगेका प्रचण्डले यदि प्रतिनिधिसभा पुनःस्थापना भएन र चुनावतिर मुलुक गयो भने आफ्नो नेतृत्वको पार्टीले भाग नलिने संकेत गरे ।

    उनले  भने, ‘चुनावतिर मुलुक गयो भने मेरो नेतृत्वको पार्टीले के गर्छ भन्‍ने कुरा मेरो भनाइबाटै तपाईंहरूले बुझिसक्नुभयो । तर, त्यसपछि दक्षिणपन्थी र वामपन्थी अतिवादले अराजकताको भूमरी सिर्जना गर्छ । म त शान्तिपूर्ण राजनीतिमा रहन्छु तर मुलुक अराजकतामा जान्छ ।’

    प्रचण्डले संयुक्त आन्दोलनमा जानका लागि आफूले कांग्रेस सभापति शेरवहादुर देउवासँग पनि सोमवार कुरा गरेको बताए । जसपासँग पनि कुरा भइरहेको र मिलेर आन्दोलन गर्दा एक सातामा छिनोफानो हुने उनले बताए ।

  • मर्नबाट बाँचेका मान्छेहरू वलिदानका लागि तयार हौं: प्रचण्ड

    मर्नबाट बाँचेका मान्छेहरू वलिदानका लागि तयार हौं: प्रचण्ड

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा १० वर्षे माओवादी जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धका उपलब्धि गुम्ने खतरा भएको भन्दै वलिदानका लागि तयार हुन आह्वान गरेका छन् ।

    प्रचण्ड-माधव नेपाल पक्षीय नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनयुद्धको उपलब्धि गुम्ने खतरा रहेको बताए ।

    प्रचण्डले भने- हाम्रै आँखा अगाडि जनयुद्धका योद्धा र लाखौं जनताको पहलबाट प्राप्त उपलब्धि कुल्चिने दुस्प्रयास भएको छ । हामी सहन सक्छौं त ? आज हामीले नयाँ संकल्पन गर्ने अवसर पनि हो । तिनीहरूको बलिदानबाट प्राप्त उपलब्धि गुम्न दिने छैनौं । जरुरी परे हामी जो मर्नबाट बाँचेका छौं, जरुरी परे फेरि बलिदान हुन तयार बनौं ।

    पूर्व प्रधानमन्त्री प्रचण्डले आफूहरू मर्नबाट बाँचेका मान्छौं हौ भन्दै संविधानमाथि घात भएको यो बेला फेरि मर्न परे पनि तयार हुने बताए ।

  • जनयुद्धका कमाण्डरलाई जिम्मेवारी नदिएर गल्ती गरेँ: प्रचण्ड (भिडियो)

    जनयुद्धका कमाण्डरलाई जिम्मेवारी नदिएर गल्ती गरेँ: प्रचण्ड (भिडियो)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वजनमुक्ति सेनाहरूलाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने बताएका छन् ।

    बुधबार बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले बहिर्गमित तथा स्वेच्छिक अवकासमा परेका पूर्वजनमुक्ति सेनाहरूलाई पार्टीमा समायोजन गर्ने गरी विशेष प्रदेश कमिटी बनाउने आश्‍वासन दिए ।

    जनमुक्ति सेनाका सबै तहका कमाण्डरलाई पार्टीमा सम्मानजनकरूपमा समायोजन गर्ने नीतिगत निर्णय आफूले गरेको भएपनि तल्लो तहसम्म उचित जिम्मेवारी पाए नपाएको फलोअप नगरेर गल्ती गरिएको भन्दै आत्मालोचना समेत गरे ।

    अध्यक्ष प्रचण्डले जनमुक्ति सेनाको सम्मानमा जनयुद्दका कमाण्डरहरुलाई उपराष्ट्रपति, सभामुख तथा मन्त्री बनाएको पनि स्मरण गराए ।

    अध्यक्ष प्रचण्डले आफू पहिलो पल्ट प्रधानमन्त्री हुँदा जनयुद्धमा ज्यान गुमाउनेलाई राष्ट्रिय शहीद घोषणा गर्ने र जनमुक्ति सेनालाई परिचयपत्र साथ सम्मान गर्ने पहिलो निर्णय गरिएको भएपनि उक्त निर्णय लुकाइएको बताए ।

    उनले जनयुद्धको घाइतेहरुलाई उपचार खर्च बढाउन, जनजिविकाका लागि राहत दिलाउन सरकारसँग पटक-पटक आग्रह गरेपनि अस्वीकार गरेको पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमुक्ति सेनालाई खरिद गर्न खोजेको भन्दै उहाँले भ्रममा नपर्न आग्रह गरे ।

    अध्यक्ष प्रचण्डले सबै बर्हिगमित जनमुक्ति सेनालाई एकैठाउँमा ल्याउनुपर्ने धारणा राखे । केही महिनाभित्रै प्रतिगमनविरुद्दको आन्दोलन जित्ने र जितपछि जनमुक्ति सेनाको भावना र आवश्यकता पूरा गर्ने भएकाले नआत्तिन आग्रह समेत गरे।

     

  • दाहाल स्वदेश फर्किए

    दाहाल स्वदेश फर्किए

    काठमाडौं । पत्नीको उपचारका लागि भारत पुगेका पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल शनिबार स्वदेश फर्किएका छन् । उनी छोरी रेणुको साथ नेपाल वायुसेवा निगमको जहाजमा फर्किएका हुन् ।

    उनी सोमबार पत्नी सीता दाहालको उपचारका लागि नयाँदिल्ली हुँदै मुम्बई गएका थिए । दाहालसँगै छोरी रेणु र गंगा पनि त्यसतर्फ गएका थिए । लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको मुम्बईको न्यूरोजोन ब्रेन एन्ड स्पाइन इन्स्टिच्युटमा उपचार भइरहेको छ ।

    छोरी गंगाका अनुसार सीताको शुक्रबार स्टेम ट्रान्सप्लान्ट गरिएको थियो र स्वास्थ्य अवस्था सुधारोन्मुख छ । ‘तर, जटिल रोग भएकाले ठीक हुन समय लाग्ला’ उनले भनिन् । मुम्बइमा रहँदा दाहालले राजनीतिक भेटघाट गरेको चर्चा चलेको थियो । तर, गंगाले कुनै राजनीतिक भेटघाट नभएको बताइन् । काठमाडौंबाट सीधै मुम्बइको उडान नभएकाले दाहाल परिवार नयाँदिल्ली हुँदै गएको थियो ।

  • दाहाल आज स्वदेश फर्कँदै

    दाहाल आज स्वदेश फर्कँदै

    काठमाडौं । पत्नीको उपचारका लागि भारत पुगेका पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल आज शनिबार स्वदेश फर्कने भएका छन् । उनी छोरी रेणुको साथ दिउँसो नेपाल वायुसेवा निगमको जहाजमा आउन लागेका हुन् ।

    उनी सोमबार पत्नी सीता दाहालको उपचारका लागि नयाँ दिल्ली हुँदै मुम्बई गएका थिए । दाहालसँगै छोरी रेणु र गंगा पनि त्यसतर्फ गएका थिए । लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको मुम्बईको न्यूरोजोन ब्रेन एन्ड स्पाइन इन्स्टिच्युटमा उपचार भइरहेको छ ।

    छोरी गंगाका अनुसार सीतोको शुक्रबार स्टेम ट्रान्सप्लान्ट गरिएको थियो र स्वास्थ्य अवस्था सुधारोन्मुख छ । ‘तर, जटिल रोग भएकाले ठीक हुन समय लाग्ला’ उनले भनिन् । मुम्बइमा रहँदा दाहालले राजनीतिक भेटघाट गरेको चर्चा चलेको थियो । तर, गंगाले कुनै राजनीतिक भेटघाट नभएको बताइन् । काठमाडौंबाट सीधै मुम्बइको उडान नभएकाले दाहाल परिवार नयाँ दिल्ली हुँदै गएको थियो ।

  • प्रचण्डको दाबीः ओली पराजित भइसके, हाम्रो विजयको सुरुवात भयाे

    प्रचण्डको दाबीः ओली पराजित भइसके, हाम्रो विजयको सुरुवात भयाे

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनपछि आफूहरुको विजयको सुरुवात भएको बताएका छन् ।

    ‘पार्टी भित्रको संघर्षलाई देशमा राजनीतिक संकट ल्याउने हदसम्म गएर ओलीजी इतिहासमा प्रतिगमनको बाहक बन्नु दुभाग्यपूर्ण त हो,’ सोमबार पेरिसडाँडामा आयोजित जनसांस्कृतिक महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तर मैले के भनेको छु भने केपी ओली इतिहासमा पराजित हुनुभयो । उहाँ कलंकित हुनुभयो। उहाँले कलंकको टीका लगाउनुभयो । फेरि एकचोटि हाम्रो विजय अभियानको सुरुवात भयो ।’

    प्रचण्डले ओलीलाई ‘श्री ३ महराज’ बन्न खोजेको आरोपसमेत लगाए। भने, ‘केपी ओली सामन्ती शासकजस्तो, श्री ३ महाराज जस्तो, जङ्गे (जङ्गबहादुर राणा) बन्ने बाटोमा हिंड्नुभयो।’

    प्रचण्डले सदन विघटित नभई ओली नेतृत्वको सरकारको विघटन भएको बताए । ‘सदन मरेको छैन, जीवित छ,’ उनको भनाइ थियो, ‘सदन विघटन भएको छैन । विघटन भएको केपी ओलीको सरकार हो ।’

    संविधान र जनताको भावनाविपरीत प्रतिनिधिसभा विघटन गरिएको भन्दै प्रचण्डले अदालतले त्यसको पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे ।

    ‘सम्मानित अदालतले यति सामान्य कुरा, संविधानमा बडो प्रष्टसँग लेखिएको प्रावधान बुझ्दैन भनियो भने अदालतको अपमान गरेको ठहर्छ,’ प्रचण्डको भनाइ थियो, ‘म अदालतको भरोसा गर्न चाहन्छु । छिटो भन्दा छिटो प्रतिनिधिसभा सुरु गर्ने आदेश आउनेमा विश्वास छ ।’

    केहीले आफूहरु सडकमा पुग्यौं भनेर चिन्ता गरेको भन्दै प्रचण्डले आफूहरु सडकमा नभई जनताको बीचमा पुगेको बताए । ‘केपी ओलीलाई धन्यावाद’ उनको भनाइ थियो, ‘उहाँले हामीलाई जनताको बीचमा जाने बाटो देखाइदिनुभयो ।’