Tag: पुल निर्माण

  • निर्धारित मितिभन्दा सात महिनाअघि नै तीन पुल निर्माण सम्पन्न

    निर्धारित मितिभन्दा सात महिनाअघि नै तीन पुल निर्माण सम्पन्न

    धनुषा । धनुषाको ढल्केबर–जटही सडक खण्डअन्तरगत मिथिला नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकाबीचमा पर्ने औरही नदीमाथि निर्धारित समयभन्दा सात महिना अगाडि नै तीनवटा पुल निर्माण सम्पन्न भएको छ । रसुवा निर्माण कम्पनीले सात महिना अगाडि नै तीनवटै पुल निर्माण गरी सरकारलाई हस्तान्तरण गरेको हो ।

    ठेक्का सम्झौता अवधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका बेला धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा रसुवा कन्स्ट्रक्सनले सात महिना अगाडि नै तीनवटा पुल निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको हो ।

    ढल्केवर जनकपुर जटही सडकलाई ६ लेनको सडकमा स्तरोन्नति गरेपछि धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा सरकारले ६ लेनको सडकलाई मिल्ने गरी तीन वटा पुल निर्माण गरेको हो । सडक विस्तार भएदेखि सवारी साधनको चाप बढेको र भएको पुरानो पुलबाट आउजाउ गर्न समस्या भइरहेका बेला एकैचोटि तीनवटा पुल बनेपछि सवारी साधनलाई आउजाउ गर्न सहज भएको छ ।

    सरकारसंग भएको सम्झौताअनुसार २०७८ चैत मसान्तमा तीनवटै पुल हस्तान्तरण गर्नुपर्ने भएपनि काम सम्पन्न हुनुपर्ने मिति भन्दा सात महिना अगाडि नै ७७ करोड २७ लाख रुपैयाँको लागतमा पुल निर्माणको काम सम्पन्न भएको हो ।

    नेपाल सरकार र रसुवा कन्स्ट्रक्सनबीच २०७६ असोज ३० गते सम्झौता भइ मंसिरदेखि काम सुरु भएका तीन वटै पुल सवारी साधनका लागि खुला गरिएको छ । औरही खोलामा निर्माण सम्पन्न तीन वटा पुलमध्ये दुई वटा पुल ६ लेन सडकका लागि हुन् भने एउटा पुललाई सर्विस लेनको रुपमा राखिएको छ ।

    पुलको लम्बाई १ सय ४३ दशमलब ५ मिटर र चौडाई ११ दशमलब ६ मिटर छ । सो पुलबाट एकतिरबाट एकपटकमा तिन वटा सवारी साधन चलाउन सकिने र छुट्टाछुट्टै लेनका लागि फरक फरक पुल नेपालमा पहिलो पटक यही निर्माण भएको रसुवा निर्माण कम्पनीका इन्जिनियर धिरेन्द्र साहनी बताए ।

  • तीन वर्षमा बन्नुपर्ने पुल १० वर्षमा बन्यो

    तीन वर्षमा बन्नुपर्ने पुल १० वर्षमा बन्यो

    जनकपुरधाम । सात वर्षअघि नै बनिसक्नुपर्ने सिरहा–धनुषा जोड्ने हुलाकी सडकमा कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

    ४७० मिटर लामो पुल निर्माणका लागि २०६८ जेठ ३१ मै पप्पु–लुम्बिनी जेभीले २४ करोड ६२ लाख ८३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तीन वर्षमा निर्माण गर्नुपर्ने पुलको काम ७ वर्षमा ३५ प्रतिशत सकिएको थियो ।

    सरकारले व्यापक दबाब दिएपछि पप्पुले कामबाट हात झिक्यो । ०७६ असोज १ देखि लुम्बिनी बिल्डर्सले कामको पूर्ण जिम्मेवारी पायो ।

    त्यसपछि पुल निर्माणले गति लियो । अहिले पुलको ९९ प्रतिशत काम सकिएको लुम्बीनी बिल्डर्सका इन्जिनियर सूर्यप्रकाश शर्माले बताए ।

    उनका अनुसार ११ मिटर चौडाइको कमला नदीको पुल १२ एस्पानको छ । नदीमा अहिले दुवैतिर तटबन्ध निर्माण पनि गरिसकेको छ । ‘अहिले फिनिसिङको काम मात्र बाँकी छ’, इन्जिनियर शर्माले भने, ‘१५ दिनभित्रै काम पूरा हुन्छ ।’

    हिउँदमा जसोतसो खोला वारपार गरे पनि बर्षायाममा पुल नहुँदा सडक अवरद्ध हुन्थ्यो । सडक अवरुद्ध भएपछि सिरहा र धनुषाका दर्जनौं गाउँका नागरिक प्रभावित हुन्थे ।

    पुल सञ्चालनमा आएपछि सिरहा सदरमुकामबाट चारपाङ्ग्रे गाडीमा जनकपुरधाम पुग्न ३० मिनेट जति लाग्छ । अहिले पूर्वपश्चिम राजमार्ग घुमेर आउनुपर्दा करिब ३ घण्टा लाग्छ । पुल सञ्चालनमा आएपछि यस भेगको विकास पनि तीब्र गतिले हुने सिरहा सदरमुकामका संजय साह बताउँछन् ।

    तटबन्ध मजबुत बनाउन पहल गर्छुः मन्त्री अरगरिया

    दुई दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले पुलको निरीक्षण गरे । उनले ढिलो गरेर भएपनि पुल निर्माण भएकोप्रति खुसी व्यक्त गरे ।

    मन्त्री अरगरियाले पुल निर्माणको ठेक्का पाएका कम्पनीका इन्जिनियरलाई माला लगाएर धन्यावद दिए ।

  • नारायणगढ-बुटवल सडक विस्तारः बर्खाअघि नै पुल निर्माण सक्ने लक्ष्य

    नारायणगढ-बुटवल सडक विस्तारः बर्खाअघि नै पुल निर्माण सक्ने लक्ष्य

    नवलपरासी । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार अन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । आयोजनाको खण्ड-१ मा पर्ने दाउन्ने-गैंडाकोट सडकको गैंडाकोट नगरपालिका क्षेत्रमा निर्माणाधीन सातवटा माइनर ब्रिज (साना पुल) निर्माणमा सम्पूर्ण जनशक्ति केन्द्रित गरिएको आयोजनाले जनाएको छ ।

    आयोजनाका प्रमुख रमेशकुमार दिस्टीले गैंडाकोटको थुम्सीबाट मुकुन्दपुरसम्म सडक डाइभर्सन गरेर सात स्थानमा पुल निर्माणको काम जारी रहेकाले वर्खा अघि नै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिए । ‘सडकलाई डाइभर्सन गरेर माइनर ब्रिजको काम अगाडि बढाइएको क्षेत्रमा मनसुन अगाडि नै काम सक्ने योजना छ,’ दिस्टीले भने, ‘वर्षा अगाडि पुल निर्माणको काम सकियो भने बाढी र भेलले कुनै असर पार्दैन अन्यथा भेलबाट पुलको काम प्रभावित हुनसक्छ ।’ नारायणगढ–बुटवल सडक विस्तारका लागि यस खण्डमा खटिएका सबै मजदुरलाई आवश्यकतानुसार पुल निर्माणको काममा प्रयोग गरिएको दिस्टीले बताए ।

    ‘अहिले यहाँ कार्यरत सबै मजदुर पुल निर्माणका लागि परिचालन गरिएको छ,’ आयोजना प्रमुख दिस्टीले भने, ‘निर्माणाधीन सातवटा माइनर ब्रिजमध्ये तीनवटाको काम अन्तिम चरणमा पुगेको छ ।’ तीनवटा पुलमा एप्रोच रोड (पुललाई सडकसँग जोड्ने बाटो) बनाएपछि सवारी साधन सञ्चालन गर्न सकिने उनले बताए । ‘अन्य पुलमध्ये केहीमा सबस्ट्रक्चर (पिलरको काम( सकिएको छ । केहीमा भने सुपर स्ट्रक्चर (पुल निर्माणका लागि बिम राख्ने तथा ढलान गर्न)का लागि फर्मा राख्ने काम भइरहेको छ,’ उनले थपे ।

    आयोजनाअन्तर्गत खण्ड–१ को काममा अहिले ८० देखि १०० जनासम्म मजदुर प्रयोग हुने गरेका दिस्टीले बताए । ‘कोभिडको असरका कारण काममा ढिलाइ भएको छ, केही मजदुर बिरामी परेर घर गए, केही भने बिरामी हुने डरले काममा आउनै छाडे,’ दिस्टीले भने, ‘मजदुर नहुँदा काममा ढिलाइ भएको हो, निषेधाज्ञाले कुनै असर परेको छैन, स्थानीय प्रशासनबाट पूरै सहयोग पाइरहेका छौं ।’ अहिले पुल निर्माणको काममा स्थानीय मजदुर बढी प्रयोग भइरहेका दिस्टीले बताए ।

    ‘निर्माण कम्पनीले मजदुरलाई आफ्नै क्याम्पमा राखेर निर्माणको काम अगाडि बढाइरहेको छ,’ उनले भने, ‘कोभिडको महामारी सामान्य अवस्थामा आउनेबित्तिकै मजदुरको सङ्ख्या पनि बढ्छ र निर्माणले गति लिनेमा हामी विश्वस्त छौं ।’ आयोजनाको कामको शुरुआती समयमा ६ सय जनासम्म मजदुर निर्माणमा खटिएकामा अहिले घटेका उनको भनाइ छ । साना पुल निर्माणको काम सकिएपछि अन्य कामलाई प्राथमिताका आधारमा अगाडि बढाइने आयोजना प्रमुख दिस्टीले बताए ।

    नारायणगढ–बुटवल सडक विस्तारका क्रममा खण्ड–१ मा साना १०० भन्दा बढी कल्भर्ट निर्माण भइसकेका छन् । सो खण्डमा २२ वटा साना पक्की पुल तथा १२ वटा ठूला पक्की पुल निर्माण हुँदैछन् । फलामे पुल भएको स्थानमा ठूलो पक्की पुल निर्माण हुनेछन् ।

    नारायणगढ–बुटवल सडकको ११४ किलोमिटर क्षेत्रलाई दुईवटा खण्डमा विभाजन गरेर सडक विस्तारको काम अगाडि बढाइएको छ । गैंडाकोटबाट दाउन्ने (६५ किमी) खण्ड–१ र दाउन्नेबाट बुटवल (४९ किमी)लाई खण्ड–२ मानेर विस्तारका लागि ठेक्का दिइएको छ । दुवै खण्डको सडक विस्तारका लागि ग्लोबल टेण्डरमार्फत चाइना स्टेट कन्स्ट्रक्शन इञ्जीनियरिङ कर्पोरेशनले १६ अर्ब ९९ करोड ५२ लाखमा ठेक्का पाएको छ ।

    रासस