Tag: पुरोहित

  • सोह्रश्राद्धमा पुरोहित पाउनै छाड्यो

    सोह्रश्राद्धमा पुरोहित पाउनै छाड्यो

    गलेश्वर । आज असोज कृष्ण प्रतिपदादेखि सोह्रश्राद्व सुरु भएको छ । बडादसैँको नजिकैमा पितृकार्य सम्पन्न गरेर चाडपर्व मनाउने परम्पराअनुसार आफ्नो घर, डेरा, त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थलमै पितृको श्राद्ध तथा तर्पण गरिने यो पवित्र कार्यका लागि म्याग्दीमा भने पुरोहितको अभाव हुन थालेको छ ।

    संस्कृत पढेका र शुद्धसँग मन्त्र उच्चारण गर्नसक्ने ब्राह्मणको अभावमा श्राद्धलगायत अन्य कर्मकाण्ड गर्न कठिन हुन थालेको छ । पुरोहितको अभावमा एउटैले सात÷आठ वटा श्राद्ध गर्नुपर्ने बाध्यता रहेको यहाँका पुरोहित बताउँछन् ।

    एकै दिन एक ठाउँमा पुजिएका पुरोहित पितृकार्यका लागि अर्को ठाउँमा जान नहुने शास्त्रीय मान्यता रहे पनि काम चलाउन अन्य ठाउँमा समेत जानुपरेको उनीहरूकोे भनाइ छ ।

    विद्यालयस्तरमा संस्कृत शिक्षाको पठनपाठन नहुँदा योग्य पुरोहितको अभावमा श्राद्ध, पूजापाठलगयत कार्यका लागि ब्राह्मण अभाव हुन थालेको बेनी नगरपालिका– २ बगरफाँटका पुरोहित बेदप्रसाद उपाध्याय बताउँछन्।

    ब्राह्मणकै अभावमा जन्म, चुडाकर्म, विवाह र मृत्यु संस्कारसमेतमा अपठेरो परेकाले स्थानीयवासी चिन्तित हुन थालेको उनको भनाइ छ । संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचका कारण ब्राह्मणले संस्कृत पढन् छोडेकाले जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि ब्राह्मणको अभाव हुन थालेको हो ।

    जन्मेदेखि मृत्युसम्म बेद,उपनिषद, पुराण, रुद्रीलगायत ग्रन्थबमोजिम कर्म गर्नुपर्नेमा अहिले कर्मकाण्ड चलाउन नै पुरोहितको अभाव हुने गरेको ज्यामरुककोटका रामकृष्ण घिमिरे बताउँछन् ।‘हिजोआज संस्कृत पढ्ने चलन नै हराउन थालिसक्यो’ उनले भने, ‘संस्कृतको ज्ञान नभएका व्यक्तिले कर्मकाण्ड गराउन नसक्ने हुँदा श्राद्ध, विवाह, न्वारान, मृत्युसंस्कारजस्ता नगरी नहुने कर्म गर्न पनि समस्या हुन थालेको छ ।’

    संस्कृत हिन्दूको जीवन पद्दतिसँग जोडिएको शिक्षा भए पनि हिजोआज संस्कृतप्रति सबैको मोह घट्दै गएको पाइएको छ । गाउँघरतिर संस्कृत नपढेका, बेरोजगार भएर बसेका, नैतिकता नभएका र अन्य कुनै उपाय नभएपछि कर्मकाण्डमा लागेका बाहुनले आफूखुशी ‘धुपं समर्पयामी,नैवेद्यं चढायामी’ भनेर पूजा गराउने गरेको र सङ्कल्पमा पनि सम्वत्सर, नक्षत्र र तिथिसमेत गलत उच्चारण गर्ने गरेका आफूले देखेको पण्डित भीमनाथ पराजुली गुनासो गर्छन ।

    ‘शुद्धसँग बेदका ऋचा उच्चारण गर्न नसक्ने र आचारणमा नरहेका ब्राह्मणले पनि अरु कुनै पेशा गर्न नसकेर कर्मकाण्डमा लाग्दा सबै ब्राह्मणको समेत बदनाम भएको छ’ उनको भनाइ छ । अहिले संस्कृत पढेर भविष्य सुनिश्चित नहुने र कर्मकाण्डलाई व्यावसायिक गराउन नसकेकाले संस्कृतप्रति मानिसको उदासिनता बढेको हुनसक्ने म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक नारायण सुवेदी बताउँछन् ।

    बूढापाका ब्राह्मणको शेषपछि पुरोहितको अभाव हुन थालेको हो । अहिले जिल्लामा पुराण वाचन गर्ने पण्डितको सङ्ख्या दुई तीनभन्दा बढी नरहेको र कर्मकाण्ड गराउने पनि घट्दै गएको जिल्लास्थित ब्राह्मण समाजले जनाएको छ ।

    सोह्रश्राद्धको पहिलो दिन आज प्रतिपदा तिथिमा आफ्ना पितृको श्राद्ध गर्न ब्राह्मण नपाइएपछि छोरीचेलीलाई टीका लगाइदिएर कर्म पूरा गरेको बगरफाँटकी तिलु बानियाँको भनाइ छ ।

    लाहुरेको जिल्ला मानिने यहाँ कर्मकाण्ड गर्नसक्ने ब्राह्मण औंलामा गन्न सकिने मात्र रहेका र उनीहरु पनि अन्य पेशा व्यवसायमा संलग्न रहेकाले यो समस्या उत्पन्न भएको स्थानीयवासी बताउँछन् ।श्राद्धलाई रुद्री तथा पूजापाठजस्तो जुराएर अर्को दिन गर्न नमिल्ने र तेकिएकै तिथिमा नै गर्नुपर्ने भएकाले पनि समस्या उत्पन्न हुने गरेको यहाँका बूढापाकाको भनाइ छ । रासस

  • पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने

    पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने

    पर्वत । विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पुरोहितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

    बालविवाह र बहुविवाह न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा पुरोहितहरुका लागि आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा उनीहरुले बेहुला र बेहुलीको उमेर २० वर्ष नाघेको छ वा छैन अथवा पहिलो विवाह हो वा दोस्रो वा तेस्रो, त्यो सोधपुछ गरेर मात्र विवाहको काम गर्न सहमत भएको बताएका छन् ।

    ‘बालविवाह र बहुविवाह न्यूनीकरणका लागि पुरोहितहरुको भूमिका महत्वपूर्ण हुने भएकाले वरबधुको जन्मदर्ता र नागरिकताको प्रमाण पत्र हेरर मात्र वैवाहिक कार्यक्रम अघि बढाउन उहाँहरुलाई आग्रह गरिएको छ’, पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले भने, ‘पछिल्लो समय धेरै बालविवाह भएको भन्ने व्यापक गुनासो आएकाले पुरोहितहरूलाई पनि उमेर नपुगेका केटाकेटीको विवाह नगराउन आग्रह गरिएको छ ।’

    कानूनले २० वर्ष उमेर नपुगेको विवाहलाई बदर गरेको छ । बालविवाह गर्ने र गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

    त्यसैगरी बहुविवाह गर्ने वा गराउनेलाई एक देखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजारसम्म जरिवानाको व्यवस्था छ ।बालविवाहपछि भविष्यमा थुप्रै खालका घरेलु तथा लैङ्गिक हिंसाहरु बढ्दै गएका छन् ।

    पुरोहितहरुले विवाह गराउँदै गर्दा २० वर्ष पार गरेको छ कि छैन निक्र्यौल गर्ने र यदि नपुगेको भए उनीहरुलाई विवाह बन्धनमा नवाधिन सल्लाह दिनुपर्ने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए कानूनले बर्जित गरेका कुराहरुलाई समाजका प्रतिष्ठित र बौद्धिक व्यक्तिको रुपमा रहेका पुरोहितहरुले निस्तेज गर्नुपर्ने बताउँदै उनले त्यस्तो विवाह गर्दै गरेको जानकारी पाएमा प्रहरीलाई सूचना दिन समेत सबैमा आग्रह गरे ।

    ‘रीतिअनुसार पुरोहितले विधी पुर्‍याएमा मात्र विवाह हुने हो, यसक्रममा धेरैजसो बालविवाह पुरोहितले विधी पुर्‍याउँछन्’, उनले भने, ‘तिनै पुरोहितहरुलाई एक ठाउँमा भेला गराएर बालविवाहका विविध विषयमा प्रशिक्षण दिएमा न्यूनीकरणमा केही सघाउ पुग्ने अपेक्षा गरिएको छ ।’

    बालविवाह सम्बन्धी कानूनी व्यवस्थाको बारेमा पुरोहितलाई सचेत गराउने, बालविवाह अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउने उद्देश्यका साथ प्रशिक्षण दिइएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।

    बालविवाह हो भन्ने थाहा पाएपछि त्यसलाई रोक्न पहल गर्ने, बालविवाह र बहुविवाह सामाजिक कुरीतिविरुद्ध चेतना अभिवृद्धि गर्न र यस्तो गरेमा परिवार र व्यक्तिलाई हुने नाकारात्मक परिणामको जानकारी दिन पनि पुरोहितहरुलाई उनले आग्रह गरे ।

    विश्व हिन्दु महासङ्घ पर्वतका सभापति लोकनाथ आचार्यले कतिपय बाध्यात्मक अवस्थामा पुरोहितहरुले काम गर्नुपर्ने भएकाले विवाह रोक्नु ठूलो जोखिम हुने बताए । उनले सहज परिस्थितिमा बाहेक सबै ठाउँमा सम्भव हुन नसक्ने बताए ।

    सो अवसरमा बालविवाह र बहुविवाहको कानूनी अवस्थाका बारेमा प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी गराए । रासस