Tag: पुनर्निर्माण

  • साझा प्रयासमा‍ पुनर्निर्माणको काम ९० प्रतिशत सकिनु सुखद्: अर्थमन्त्री

    साझा प्रयासमा‍ पुनर्निर्माणको काम ९० प्रतिशत सकिनु सुखद्: अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले भुकम्पपछिको पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उत्कृष्ट काम गरेको बताएका छन् ।

    भुकम्पपछिको पुर्ननिर्माणको अनुभव तथा प्रगति अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले प्राधिकरणले उत्कृष्ट काम गरेको बताएका हुन् ।

    भुकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने सबै दातृ निकायहरुलाई अर्थमन्त्री शर्माले धन्यवाद दिए । नेपाल सरकारकै आफ्नो स्रोत र दातृ निकाय सहयोगका कारणले नै पुनर्निर्माणको कार्यले मुर्तरुप लिएको उनको भनाइ छ ।

    ‘पुनर्निर्माण प्राधिकरणको कार्यकाल सकिँदै गर्दा आयोजना गरेको यस अन्तर्राष्ट्रिय सम्मेलन मार्फत पुनर्निर्माण अभियानमा सहयोग गर्नुहुने सबैमित्र राष्ट्रहरु तथा विकास साझेदार निकायहरु लगायत अन्तर्राष्ट्रिय संघ संस्था, पुनर्निर्माणमा प्रत्यक्ष प्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई म धन्यावाद व्यक्त गर्न चाहान्छु’ शर्माले भने ।

    सो क्रममा उनले पुर्ननिर्माण प्राधिकरणका सिईओ, कर्मचारी, भुकम्पका क्रममा दुर्गमस्थानमा गएर सहयोग गर्ने सबै इन्जिनियर तथा प्राविधिकलाई पनि धन्यवाद दिए ।

    २०७२ सालमा गएको भुकम्पका कारण क्षतिग्रस्त भएका भौतिक संरचना, नीजि आवास तथा सार्वजनिक संरचना, पुरातात्विक,सांस्कृतिक तथा एतिहासिक सम्पदाहरु पुनर्निर्माणको महत्वपूर्ण चरण पार भइसकेको उनले बताए ।

    भुकम्पले क्षतिग्रस्त बनाएका विद्यालय, स्वास्थ्य संस्था, सरकारी तथा सार्वजनिक भवन , ऐतिहासिक सम्पदाहरुको पुर्ननिर्माणले नेपालको नयाँ पुस्ताले पुराना संरचना नयाँ स्वरुपमा देख्न पाउने अवसर प्राप्त भएको भन्दै उनले खुसी व्यक्त गरे ।

    भुकम्पका कारण क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको बताउँदा पाउँदा खुसी लागेको अर्थमन्त्री शर्माको भनाई थियो । उनले भने,‘पुनर्निर्माणको वृहत कार्यसम्पादनबाट क्षतिग्रस्त संरचनाको निर्माण मात्रै नभई विपद्काे समयमा निर्णय लिने क्षमता, प्रविधि र कार्य सम्पादन गर्ने क्षमता समेत विकास भएको छ ।’

    राजनीतिक दलहरुको संकल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटिएका जनशक्तिको लगनशिलताका कारण नै पुनर्निर्माणको यतिठुलो जिम्मेवारी संभव भएको भन्दै प्रशंसा समेत गरे ।

    विश्वव्यापीरुपमा भएको वातावरण परिवर्तनका कारण नेपालले भोग्दै आएको विभिन्न प्राकृतिक विपत तथा जोखिमकोरुपमा २०७२ सालमा गएको भुकम्प पनि एक भएको भन्दै उनले यस्तो प्रतिकुल परिस्थितिमा पनि भुकम्पपछिको पुनर्निर्माण सन्तोषको विषय मात्रै नभएर राजनीतिक दल र सबै राजनीतिक दलको एकता, सबै दातृ निकाय तथा संघ संस्था र मित्र राष्ट्रहरुको सहयोग अत्यन्तै महत्वपूर्ण हुने कुरा पुष्टि भएको बताए ।

    पुनर्निर्माणका बाँकी कामहरुलाई यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी शहरी विकास मन्त्रालयलाई र विपत व्यवस्थापन सम्वन्धी कामहरु अगाडि बढाउने गरी विपद व्यवस्थापन प्राधिकरण जिम्मेवारी दिइएको छ ।

  • देशको पहिचानका लागि साँस्कृतिक सम्पदा महत्वपूर्ण: मन्त्री भुसाल (भिडि‌ओ)

    देशको पहिचानका लागि साँस्कृतिक सम्पदा महत्वपूर्ण: मन्त्री भुसाल (भिडि‌ओ)

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले साँस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताएकी छन् ।

    सोमबार ललितपुरस्थित बालकुमारी मन्दिर पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री भुसालले साँस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताएकी हुन् । उनले यही वर्षमा ललितपुरको खोकनामा रुद्रायणीको मन्दिर निर्माण गर्ने बताइन् ।

    ‘ललितपुर कला, संस्कृति, सम्पदाले अत्यन्तै भरिपूर्ण छ, मंगलबजार दरवार स्क्वाएरमा भीमसेन, कृष्णमन्दिर लगायतका धेरै पुनः संरचना भए, बुङमति, रातो मच्छिन्द्रनाथको पुनर्निर्माण हुँदैछ, यही वर्ष नै खोकनामा रुद्रायणीको पुनर्निर्माण हुँदैछ, यसले हाम्रो आफ्नो संस्कृति सम्पदालाई भावि सन्ततीलाई हस्तान्तरण गर्ने प्रक्रिया पनि हो, यो पुनर्निर्माण हुने प्रक्रियाले सयौँ, सयौँ वर्षसम्म रहनेछ, यसको झन्डै ४ करोड रुपैयाँ बजेट लागत छ,यो ललितपुरवासी र नेपालीहरुको लागि नै गर्वको विषय हो, प्रदेश र संघीय सरकारबाट पनि सहयोग गर्नेछौँ ।’मन्त्री भुसालले भनिन् ।

    मन्त्री भुसालले कला, संस्कृति राष्ट्रको पहिचान मात्रै नभएर पर्यटकीय स्थल बन्ने विश्वास व्यक्त गरिन् ।

     

     

  • भुकम्प विनाशको ‘इपिसेन्टर’- पुनर्निर्माण सकियो, रिसोर्टजस्तै सरकारी कार्यालय (तस्बिरहरु)

    भुकम्प विनाशको ‘इपिसेन्टर’- पुनर्निर्माण सकियो, रिसोर्टजस्तै सरकारी कार्यालय (तस्बिरहरु)

    काठमाडौं । २०७२ साल वैशाख १२ को भुकम्पको ‘इपिसेन्टर’गोरखाको बारपाक भएपनि भौतिक र मानवीय क्षतिको ‘इपिसेन्टर’ भने सिन्धुपाल्चोक थियो । भुकम्पले सिन्धुपाल्चोकको सम्पुर्ण सरकारी कार्यालय,९० हजार बढी व्यक्तिको घर मात्रै होइन सम्पुर्ण शैक्षिक संस्थाहरु समेत ध्वस्त भएका थिए ।

    तर भुकम्पको ६ वर्ष र पुनर्निर्माण सुरु भएको ५ वर्ष पुरा हुँदै गर्दा भुकम्पमा क्षति भएका सिन्धुपाल्चोकका सम्पुर्ण सरकारी कार्यालयहरु पुनर्निर्माण सम्पन्न भएका छन् । कार्यालय पुनर्निर्माण सम्पन्न भएका मात्रै होइन अहिलेका कार्यालय हेर्दा कुनै सुविधा सम्पन्न रिसोर्ट भन्दा आर्कषक रुपमा निर्माण सम्पन्न भएका छन् ।

    भुकम्पले क्षतिग्रस्त भएका १६ र एउटा नविनिर्माण सहित १७ सरकारी कार्यालयहरु निर्माण सम्पन्न भएर हस्तान्तरण समेत भएको छ । १६ सरकारी कार्यालय यस अघि नै निर्माण सम्पन्न भएर हस्तान्तरण भएपनि जिल्ला हुलाक कार्यालय भने बुधबार औपचारीक रुपमा हस्तान्तरण भएको छ ।

    अन्य सरकारी कार्यालयहरु निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि ६ महिनादेखि एक वर्षसम्म म्याद थपिएपनि हुलाक कार्यालय भने तोकिएको समयमा नै निर्माण सम्पन्न भएको आयोजना प्रमुख निरौलाले जानकारी दिए ।

    निर्माण कम्पनी शान्तिदेवी कन्स्ट्रक्सनका प्रमुख प्रभातमान श्रेष्ठले भने आफुहरुलाई दिएको समय भित्रै भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको बताए । श्रेष्ठले भुकम्प पछि पुनर्निर्माण सम्पन्न भएको सिन्धुपाल्चोकको अन्तिम सरकारी कार्यालय हुलाक निर्माण सम्पन्न भएपछि चाँबी आयोजना प्रमुख निरौलालाई हस्तान्तरण गरेका थिए ।

    हुलाक कार्यालय सँगै २०७२ बैशाखको भुकम्पमा ध्वस्त भएका सबै सरकारी कार्यालयको पुननिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई(भवन) का आयोजना प्रमुख सन्तोष निरौलाले भने ।

    रिसोर्ट जस्ता सरकारी कार्यालय

    जिल्लाभरको सरकारी कार्यालयहरुको आर्थिक कारोबारको अडडा कोष तथा लेखा नियन्त्रण कार्यालयमा पुग्दा कार्यालयको भवन यती भव्य,सुन्दर र चिटिक्क छ की भवन भित्र प्रवेश गर्दे गर्दा नेपालकै सरकारी कार्यालय नै हो ? भन्ने लाग्न सक्छ । सेतो र रातो रंगले बाहिर जति सुन्दर छ,भित्र प्रवेश गर्दा त्यो भन्दा पनि आर्कषक र सुन्दर छ ।

    बाहिर शिशाको झ्यालले भवनलाई थप आर्कषक देखाएको छ । जिल्लामा कोष तथा लेखा नियन्त्रण कार्यालय स्थापना भएपछि पहिलो पटक यति सुन्दर र भव्य भवन पाएको छ । प्रत्येक कोठामा आवश्यक कुर्सी,टेबुल,कार्पेटीङ गरेर कोठाहरु सजाइएको छ । कार्यालय प्रमुखको आवसदेखि सबै सुविधा भवन भित्र रहेको छ । भवनमा अपाङ्ग मैत्री छ,चाइनिज दुबो राखेर भवनलाई थप आर्कषक बनाईको छ ।

    ठुला र एउटै रंगमा सजिएका भवनहरु हेर्दा लाग्छ यी भवन जस्तै भवन भित्र बस्ने कर्मचारीहरुको भावना पनि स्वच्छ र सुन्दर भैदिए सेवाग्राहीहरुले कति सजिलो हुने थियो होला ? सरकारी कार्यालयका प्रमुखहरु बस्ने क्वाटरहरु मन्त्री क्वाटर भन्दा बढी आर्कषक र सुविधा सम्पन्न छन्  ।

    संघीय सरकारको अर्थ मन्त्रालयको आधिकारीक कार्यालय कोलेनीकामा कार्यरत सबै कर्मचारीहरुलाई छुट्टै कोठाको व्यवस्था गरिएको छ । कार्यालयका प्रमुख भन्दै थिए–‘कर्मचारी भन्दा कोठा नै धेरै छ ।’

    यस अघिका प्रमुख जिल्ला अधिकारीहरुको क्वाटर एउटा सामान्य जस्ताको टहरो मात्रै भएपनि अहिलेको सिडीओ कार्यालयको क्वाटर मन्त्रीहरुको क्वाटर भन्दा आर्कषक मात्रै होइन सुविधा सम्पन्न पनि रहेको छ । भवनको सजावट मात्रै होइन बाहिर पनि त्यतिकै सुन्दर बनाइएको छ । बिरुवाहरु,दुबो लगाएर बाहिरी परिसर आर्कषक बनाइएको छ ।

    सीडीओ आवस गृहमा आवश्यक फ्रिज,सोफा लगायतका सामग्रीहरु समेत पुननिर्माणको स्टीमेटमा नै थियो । जिल्ला आयोजना कार्यन्वयन इकाईका आयोजना प्रमुख सन्तोष निरौला भन्दै थिए–‘हामीले डिजाई गर्दा नै भित्र आवश्यक पर्नै सबै सामग्रीहरु ठेकेदार बाटै राख्ने गरी इस्टमेट गरेका थियौ ।’

    राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भवन मार्फत ठेक्का प्रक्रिया मार्फत निर्माण सुरु गरिएका भवनहरु निर्माण सम्पन्न भएर सबै सम्बन्धीत कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

    देश संघीय संरचनामा गएपछि जिल्लामा खारेज भएका कार्यालयका पनि सुन्दर भवनहरु निर्माण भएका छन् । पुन निर्माण प्राधिकरणले सीडीओ क्वाटर,कोलेनीका भवन,वन, कृषि विकास कार्यालय,पशु सेवा कार्यालय,जिल्ला न्यायधिश क्वाटर, भुसंरक्षण,सिञ्चाई,निर्वाचन,रष्ट्रिय अनुसन्धान,शहरी विकास तथा भवन, जिल्ला घरेलु,मालपोत क्वाटर,न्याययिक प्रहरी ब्यारेक र हुलाक सहित १७ सरकारी कार्यालय भवनहरु निर्माण सम्पन्न भएका छन् ।

    १७ सरकारी कार्यालय भवन निर्माण सम्पन्न हुदाँ करिब ६५ करोड खर्च भएको जिल्ला आयोजना कार्यन्वयन इकाई(भवन)का आयोजना प्रमुख सन्तोष निरौलाले जानकारी दिए ।

    निजी आवस पुननिर्माण अन्तिम चरणमा,९४ प्रतिशतले लिए अन्तिम किस्ता

    सरकारी कार्यालय मात्रै होइन भुकम्पपछि पुननिर्माण सुरु भएको ५ वर्षमा सिन्धुपाल्चोकमा ८४ हजार बढी घर निर्माण सम्पन्न भएको छ । २०७२ बैशाख १२ गते भुकम्प गएको ठिक एक वर्षपछि २०७३ बैशाख १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट निजी आवास पुननिर्माणको औपचारीक सुरुवात गरेका थिए ।

    पहिलो पटक प्रधानमन्त्री हुदाँ सुरु भएको निजी आवास पुननिर्माण प्रधानमन्त्री केपी ओलीको दोस्रो कार्यकालमा सिन्धुपाल्चोकमा लगभग अन्तिम चरणमा पुगेको छ ।

    ९१ हजार १२ कुल लाभग्राही रहेकोमा हालसम्म ८९ हजार ४३८ ले पहिलो किस्ता लिएका छन् भने ८७ हजार ९०८ ले दोस्रो र ८३ हजार ९५२ ले अन्तिम किस्ता लिएको जिल्ला आयोजना कार्यान्वयन इकाइका आयोजना प्रमुख सन्तोष निरौलाले बताए ।

    दोस्रो किस्ता लिनेको प्रतिशत ९८ दशमलब २९ रहेको छ भने अन्तिम किस्ता लिनेको प्रतिशत ९३ दशमलब ८७ रहेको छ । कोरोनाको महामरी नभएको भए जेठ भित्रै निजी आवस पुनर्निर्माण सकिने थियो आयोजना प्रमुख निरौलाले भने असारको दोस्रो हप्ता सम्म निजी आवस पुनर्निर्माण सम्पन्न हुन्छ ।

    जिल्लाका १२ स्थानीय तह मध्ये पुनर्निर्माणमा पहिलो नम्बरमा बाह्रविसे नगरपालिका रहेको छ भने दोस्रोमा सुनकोशी गाउँपालिका रहेको छ । जुगल तेस्रो नम्बरमा रहेको छ भने भोटेकोशी अन्तिम नम्बरमा रहेको छ ।

     
     
      
    

     

  • पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि ३३ अर्ब ५५ करोड बजेट विनियोजन

    पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि ३३ अर्ब ५५ करोड बजेट विनियोजन

    काठमाडौं । सिंहदरबार तथा धरहराको प्रवलीकरणका समेत गरी पुर्ननिर्माणको कामका लागि ३३ अर्ब ५५ करोड रुपयाँ बजेट विनियोजन गरिएको छ ।

    भुकम्पपछिको पुनर्निर्माणको कार्यलाई अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरी विश्वसामु प्रस्तुत गरिने भएको छ । भावी पुस्तालाई भुकम्प सम्वन्धि ज्ञान दिलाउनका लागि भुकम्पन संग्राहलयको निर्माण गरिने बजेट मार्फत उल्लेख गरिएको छ ।

    आगामी आर्थिक वर्ष थप १३हजार ७ विद्यालयका १४ हजार १५५ कक्षा कोठा , १० ५ स्वास्थ्य संस्था, १९६ सांस्कृतिक सम्पदा र ३६ सरकारी भवनको निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ ।

    भुकम्पबाट क्षतिग्रस्त राष्ट्रपति भवन , हरीहर भवन , कसरमहल त्रिचन्द्र कलेज लगायतका भवनको पुनर्निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यस्तै आगामी आर्थिक वर्ष ३९ स्थानमा एकिकृत वस्ती निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    आगामी आर्थिक वर्षको पुस मासान्तपछि भुकम्प पुनर्निर्माणको काम सम्वन्धित बिषयगत मन्त्रालयलाई हस्तान्तरण गरिने बजेटमा उल्लेख गरिएको छ ।

  • पुनर्निर्माण प्राधिकरणद्वारा २९४ गुम्बा मर्मत

    पुनर्निर्माण प्राधिकरणद्वारा २९४ गुम्बा मर्मत

  • महाविनाशकारी भूकम्पको ६ वर्ष पूरा

    महाविनाशकारी भूकम्पको ६ वर्ष पूरा

    काठमाडौं । गोरखाको बारपाक केन्द्रबिन्दू बनाएर गएको ७.६ म्याग्निच्युडको महाविनाशकारी भूकम्पको आज छैटौं स्मृति दिवस मनाइँदैछ ।

    राजधानी काठमाडौं उपत्यकासहित मध्य नेपालका १४ जिल्लामा नराम्ररी क्षति पु¥याएको भूकम्पले करिव ९ हजार मानिसको मृत्यु भएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए । अन्य १८ जिल्ला कम प्रभावित बनेका थिए ।

    भूकम्पले गोखरा, सिन्धुपाल्चोक, दोलखा, रसुवा जिल्लाहरुमा बढी क्षति गराएको थियो । भूकम्पमा ८ लाखभन्दा बढी निजी आवास भत्किएका थिए भने करिव १० जना सार्वजनिक बिद्यालयको संरचनामा क्षति पुगेको थियो ।

    भूकम्पले नेपालको पुरातात्विक सम्पदाको रुपमा रहेको धरहरा ढलेको थियो भने थुप्रै सांस्कृति सम्पदामा असर गरेको थियो । पुनर्निर्माणपछि हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ धरहराको उद्घाटन गरेका थिए ।

    भूकम्प गएको ६ वर्षको अवधिमा निजी तथा सार्वजनिक संरचनाहरुको पुनर्निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्रधीकरण स्थापना गरी पुनर्निर्माणको काम सुरु गरेको थियो ।

  • तीन सय वर्ष पुरानो ‘निगु पुखुः’ को पुनर्निर्माण सम्पन्न: ६३ वर्षपछि भरियो बिस्केटका लागि पानी

    तीन सय वर्ष पुरानो ‘निगु पुखुः’ को पुनर्निर्माण सम्पन्न: ६३ वर्षपछि भरियो बिस्केटका लागि पानी

    भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ मा दुई पोखरीको नामले प्रसिद्ध पोखरीमा दुई वर्ष अघिसम्म बालबालिका फुटबल खेल्थे । स्थानीयले मङ्सिरमा सरसफाइ गर्दै धान सुकाउँथे । तीन सय वर्ष पुरानो यो पोखरीलाई वरिपरि घाँस र झारले पहिचान मेटेर नाममा मात्रै सीमित पारेको थियो ।

    आज त्यही पोखरीले स्वरूप फेरेको छ । घाँस र झार छैन । पोखरीमा सुन्दर राता तेलिया इँटाले नयाँ स्वरूप पाएको छ । यो ऐतिहासिक पोखरीलाई मध्यपुरथिमि नगरपालिकाले पुनर्निर्माण गरी बुधबार मात्रै पानी भरेर आफ्नो ३०० वर्ष पुरानै स्वरूपमा फर्काएको छ । लोप भइसकेको ऐतिहासिक नाम ‘निगु पुखुः’ले फेरि प्रसिद्धि कमाएको छ ।

    करिब  १५ करोडको लागत अनुमान गरी नगरपालिकाले प्रसिद्ध ऐतिहासिक निगु पुखुः अर्थात दुईपोखरीको संरक्षण अभियान शुरु गर्दै दुवै पोखरीको परम्परागत शैलीमा पुनःनिर्माण सम्पन्न गरेपछि आउँदो बिस्केट जात्राका लागि पानी भरेको हो ।

    गत बिस्केट जात्राका लागि दुई पोखरीमध्ये एउटा पोखरी पुनर्निर्माण सम्पन्न गरी पानी भरेको नगरपालिकाले सँगैको अर्को ठूलो पोखरीको पनि परम्परागत शैलीमा पुनर्निर्माण गरी पानी भरेर वास्तविक पोखरीकै स्वरूपमा फर्काएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

    उनले भने, ‘एउटा पोखरी गत चैतमा निर्माण सम्पन्न गरी २०७७ को बिस्केट जात्राका लागि पानी भरेका थियौँ, अर्को ठूलो पोखरीको पनि पुनःनिर्माण सकेर आउँदो बिस्केट जात्राका पानी भर्ने काम सम्पन्न भएको छ, पोखरीले नयाँ स्वरूप र नयाँ जन्म पाएको छ ।’

    पानी नसुकोस् भनेर पोखरी निर्माणका क्रममा पिधँमा कालोमाटो छ इन्च, त्यसमाथि तीन इन्च पाँगो माटो र त्यसमाथि फेरि छ इन्च कालोमाटो राखेर त्यसमाथि डाँची अप्पा इँटा ओछ्याएर परम्परागत शैलीमा डाँची अप्पामा अप्पा इँटाको प्रयोग गरी पोखरी पुनःनिर्माण गरिएको छ ।

    निगु पुखुः संरक्षणका लागि नगरपालिकाले विसं २०७५ देखि २०७६ चैतसम्ममा रु एक करोड २५ लाख खर्च गरेको थियो भने उत्तरतर्फको ठूलो पोखरीको संरक्षण एवं पुनःनिर्माणका लागि आव ०७६/०७७ मा नगरपालिकाले एक करोड २५ लाख बजेट विनियोजन गरेको थियो । पोखरीको जीर्णोद्धार गरेर पानी भर्न करिब तीन करोड खर्च भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

    दक्षिणतर्फको पोखरीभन्दा दुई गुणा ठूलो रहेको उत्तरतर्फको पोखरी संरक्षण एवं जीर्णोद्धारका लागि वाग्मती प्रदेश सरकारबाट करिब रु ३९ लाख बजेट आएको थियो ।

    दक्षिणतर्फको पोखरी पाँच फिट गहिरो छ भने उत्तरतर्फको पोखरी सात फिट गहिरो बनाइएको छ । पुनःनिर्माण सम्पन्न गरेर पानी भरेपछि ठूलो पोखरीमा ढुङ्गा चलाउने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गरिने नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

    आकाशेपानीलाई प्रशोधन गरी दुई पोखरीमा पानी भर्ने योजना छ । पोखरीमा मध्यपुरथिमि इनाय टोलको राजगणेशदेखि दिगु भैरवसम्मको पानी जम्मा गरी प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने गरी योजना बनाइएको छ ।

    तीन वर्षमा पोखरीको सम्पूर्ण संरक्षणका काम सम्पन्न गर्ने गरी नगरपालिकाले कुल १५ करोडको लागतसहितको गुरुयोजना निर्माण गरेको थियो ।

    पोखरीको पुनःनिर्माण सम्पन्न गरे पनि दुईवटै पोखरीको वरिपरि पैदलमार्ग निर्माण, आठ वटा परम्परागत शैलीको फल्चाअर्थात् पाटी, दुईवटा पोखरीको बीचको बाटो पुनःनिर्माण गर्नुका साथै नगरको मुख्य सांस्कृतिक केन्द्रका रूपमा यो क्षेत्रलाई व्यवस्थित गर्ने काम भने अबको एक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

    करिब ३०० वर्ष पहिले गङ्गा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुर थिमिवासीलाई पानीको स्रोत दिएको कथन छ । थिमिमा कुनै भवितव्य भएमा, सिँचाइ र अन्य प्रयोजनका लागि पोखरीकै पानी प्रयोग गर्ने प्रचलन थियो ।

    बढ्दो शहरीकरण तथा पानीको वैकल्पिक स्रोत प्रयोग हुन थालेपछि पोखरी संरक्षणमा चासो नहुँदा संरक्षणको अभावमा पोखरी घाँसेचौरमा परिणत भएको स्थानीयवासी बताउँछन् । दुईपोखरीमा बोडेको कमलपोखरी र याता पोखरीबाट पानी ल्याउने गरिन्थ्यो । बढ्दो जनघनत्व र शहरीकरणका कारण पोखरीसम्म ल्याउने पानी बीच बाटोमै टुटेपछि पोखरीमा पानी सुकेको स्थानीयवासीको भनाइ छ ।

    विसं २०१५ मा राजा महेन्द्र भक्तपुर आउँदा दुई पोखरीको पानी हटाएर मैदान बनाई राजालाई स्वागत गरेपछि पोखरीको संरक्षण नहुँदा पानी सुकेको वडा नं ४ का अध्यक्ष कुमार श्रेष्ठ बताउँछन् ।

    ‘गाविस हुँदासम्म पोखरीमा पानी थियो, नगरपालिका भएदेखि कसैको ध्यान गएन’, श्रेष्ठले भने ‘पोखरी सुक्यो, पहिले सबै काम पोखरीकै पानीले गरिन्थ्यो, अहिले जनप्रतिनिधि आएपछि संरक्षण थाल्यौ, अब पुरानै अवस्थामा फर्किन्छ ।’

    यसअघि २०६५ सालमा नगरपालिकाले १० लाखको लागतमा बार लगाएर संरक्षण प्रयास गरे पनि सफल हुन सकेको थिएन । अब भने निगु पुखुःले पुनर्जीवन पाएको छ ।

  • कमलपोखरी पुनर्निर्माणको काम ३० प्रतिशत बाँकी

    कमलपोखरी पुनर्निर्माणको काम ३० प्रतिशत बाँकी

    रासस । कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको काम भइरहेको छ । आगामी एक महिनाभित्र सबै सक्नेगरी पुनःनिर्माणको काम भइरहेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।

    सौन्दर्यको कामसँगै काठको केही कलात्मक बुट्टा कुँद्ने काम पनि भइरहेको कामपा भौतिक पुर्वाधार महाशाखा प्रमुख राम थापाले जानकारी दिए । उनका अनुसार अबको केही दिनभित्र पोखरीमा पानी राखिन्छ । पुनःनिर्माणपछिको शुरुआती चरणमा एक लाख लिटर पानी भर्ने योजना छ ।

    सम्पदा पुनःनिर्माणलाई पर्यटनसँग जोडेर दिगो व्यवस्थापनमा कामपाको ध्यान केन्द्रित भएकाले अनावश्यक भ्रम सिर्जना नगर्न सबैमा आग्रह गरिएको छ । एक वर्षभित्र सक्ने गरी अघिल्लो असार १९ गते कमलपोखरी पुनःनिर्माणका लागि शिलान्यास भएको थियो ।

    पोखरी पुनःनिर्माणको जिम्मा धनञ्जय कँडेल जेभी रानीबारीले पाएको छ । निर्माण कम्पनीले पोखरीसँगै उद्यान निर्माणको काम पनि गरिरहेको छ । उद्यान अपाङ्गमैत्री हुनेछ भने बीचमा पानीको फोहोरा हुनेछ । पोखरीको चारै कुनामा कमल रोप्नका लागि साना–साना पोखरी बनाइनेछन् । आगन्तुकलाई बस्नका लागि चौतारा पनि निर्माण गरिनेछन् । वरिपरि बिजुली जडान गरेर झिलीमिली पारिनेछ ।

    त्यहाँ खुला व्यायाम गर्ने ठाउँ, ब्याडमिन्टन र बास्केटबल खेल्ने ठाउँ हुनेछ । पूर्वतिर मूलगेट हुने पोखरी प्रवेश गर्न तीनवटा प्रवेशद्वार बनाइने योजनाअनुरुप काम भइरहेको छ । कामपाले यसअघि नै कमलपोखरी विस्तार योजनाअनुरुप महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्ट्स क्लबको भवन र राधे–राधेको सत्सङ रहेको स्थानलाई खुला गरिसकेको छ ।

    कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ । उनले बाहिर चर्चा गरेजस्तो पोखरीमा कङ्क्रिट संरचना प्रयोग नगरिएको पनि दाबी गरे । कामनपाले करिब २४ रोपनीमा कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल २०७६ असारबाट शुरु गरेको हो । त्यसका लागि ६ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरि सिँढी बनाउने काम गरिरहेको छ ।

    कामपा प्रमुख विद्यासुन्दर शाक्यले मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र बचावट, मर्मतसम्भार तथा जीर्णोद्धारको काम कामपाको दायित्व रहेकाले सोहीअनुरुप यस पोखरी पुनःनिर्माण अघि बढाइएको बताए । उनले भने, ‘अहिले कमलपोखरीको मौलिकता बचाउने नारा लागिरहेको छ, यसको मौलिकता के हो हामीलाई दिनुस् भन्दा पुरातत्व विभाग आफूलाई थाहा छैन भन्छ । कमलपोखरी पुनःनिर्माण गर्दा त्यहाँको वातावरण कसरी बिग्रियो भन्दा त्यसको तथ्यमा उत्तर कसैले दिँदैन । यस प्रकारको विरोधलाई कसरी बुझ्नु ? यो त विरोधका लागि विरोध मात्र हो ।’

    पोखरी पुनःनिर्माण गर्दा क्षेत्र बढाउन लागिएको प्रसङ्ग उल्लेख गर्दै शाक्यले भने, ‘कामनपाले कमलपोखरी बिगार्न वा नास्न खोजेको होइन । पहिलेभन्दा पोखरीको आकार बढाउन डिलमा रहेको प्रहरी वृत्त स्थानान्तरण गरिसकिएको छ । क्लबको भवन हटाउने काम भएको छ । राजनीतिक अभिष्ट भएका मानिस अहिले सम्पदा अभियानकर्मीको खोल ओढेर विरोधमा आएको महसुस भएको छ । यसमा सबै सतर्क हुन आवश्यक छ ।’

    कमलापोखरी पुनःनिर्माणका क्रममा पोखरीको माटो निकालेर आधुनिक निर्माण सामग्री प्रयोग गरी ऐतिहासिक सम्पदाको अस्तित्व विलिन गर्न खोजिएको भन्दै रानीपोखरीमा जस्तै पुरानै शैलीमा निर्माण गर्नुपर्ने सम्पदाप्रेमी आलोक तुलाधारले धारणा राखे । आधुनिक निर्माण सामग्री प्रयोग नगर्न र पोखरीको अतिक्रमित जमिन फिर्ता ल्याउने विषयमा कामपालाई पटक–पटक लिखितरूपमा ध्यानाकर्षण गराउँदासम्म सुनुवाइ नगरेकाले थप कानूनी प्रक्रिया अघि बढाउने तुलाधरको भनाइ छ ।

  • यस्तो छ आज प्रधानमन्त्री सर्ने सिंहदरबारको भवन र कार्यकक्ष (तस्बिरहरु)

    यस्तो छ आज प्रधानमन्त्री सर्ने सिंहदरबारको भवन र कार्यकक्ष (तस्बिरहरु)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले तीन वर्ष पूरा गरेकै दिन आज सिंहदरबारमा पुनर्निमित प्रधानमन्त्री कार्यालय भवनबाट तीन वर्षका उपलब्धी सार्वजनिक गर्दैछन् । संयोग नै मान्नुपर्छ ओली सरकारको चौथो वर्ष प्रवेशकै दिन सिंहदरवारको प्रधानमन्त्री कार्यालय भवन पुननिर्माण पनि सम्पन्न भएको छ । ओलीले सो भवनको पनि उद्घाटन गर्दैछन् ।

    २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रबलीकरण सम्पन्न भएको छ ।पश्चिमतर्फको भाग केही बाँकी छ  । पूर्व, उत्तर र दक्षिणी भागको प्रवलीकरण र आन्तरिक साजसजावटसमेत सकेर उद्घाटनका लागि तयार पारिएको छ ।

    उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अब यहिँबाट सन्चालन हुनेछ । सिंहदरबारका तीन भाग प्रबलीकरणका लागि फागुन मसान्तसम्मको अवधि भए पनि पहिलो हप्तामै काम सकिएको छ ।

    उत्तर, पूर्व र दक्षिण भाग प्रवलीकरणको लागत ८७ करोड रुपैयाँ रहेको पुननिर्माण प्राधिकरणले जनाएको छ । सिंहदरबार पश्चिमी भाग प्रबलीकरणको काम भने विसं २०७६ चैतमा शुरु भएको थियो । पश्चिमी भाग २०७८ असोजसम्ममा सकिने एकाइले जनाएको छ ।

    सिंहदरबार पश्चिम मूल ढोकाको सेनाको भवन पुनर्निर्माणको काम समेत शुरु भइसकेको छ । सिंहदरबार राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । पश्चिम खण्ड विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो ।

    उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको विसं २०३७ मा पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो ।

    सिंहदरबारको पूर्वी मूल ढोकामा प्रहरीको भवन पनि बनाउन लागिएको एकाइले जनाएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माण गर्ने कि प्रबलीकरण भनेर लामो विवाद भएको थियो ।

    सीसीटिभी जडान, बगैँचालगायत सौन्दर्यकरणका काम सम्पन्न गरिएको छ । हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मौजुदा सङ्गठन संरचनाअनुरुप आवश्यकपर्ने कार्यकक्ष तथा बैठक कक्षसमेत निर्माण गरिएका छन् । साथै फिनिसिङ तथा फर्निचरकोसमेत पर्याप्त तथा उपयुक्त ढङ्गले व्यवस्था गरिएको छ ।