Tag: पाल्पा एमाले

  • पाल्पा एमालेको अध्यक्षमा घिमिरे निर्विरोध, सचिवमा पोखरेल

    पाल्पा एमालेको अध्यक्षमा घिमिरे निर्विरोध, सचिवमा पोखरेल

    रूपन्देही । नेकपा एमाले पाल्पाको अध्यक्षमा धनेन्द्र घिमिरे निर्विरोध भएका छन् । उनको नेतृत्वमा एमाले जिल्ला कमिटी १ सय ५ सदस्यीय बनेको छ । कमिटीको उपाध्यक्षमा देवीलाल लामिछाने, सचिव भोजराज पोखरेल, उपसचिव टीका थापा र सुनिता शर्मा निर्विरोध भए । जिल्लाका ८१ वटै वडालाई समेटेर जिल्ला कमिटी निर्माण गरिएको छ ।

    तानसेन नगरपालिका–९, तिन्टीआँप मदनपोखरामा एमालेको अधिवेशन शुक्रबार सुरू भएको हो । अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य दलबहादुर रानाले एमाले अझ बढी एकताबद्ध भएर आगामी निर्वाचनको तयारी गर्नुपर्ने बेला आएको बताए । उनले विकास निर्माणका ठूला काम एमाले सरकारले सुरु गरेकाले अब ती काम पूरा गर्न पनि निर्वाचन जित्नुपर्ने बताए ।

  • पाल्पामा एमाले विभाजनको असर न्यून, सबै जनप्रतिनिधि एमालेमै

    पाल्पामा एमाले विभाजनको असर न्यून, सबै जनप्रतिनिधि एमालेमै

    रुपन्देही । पाल्पामा नेकपा एमाले विभाजन असर कम परेको छ । यहाँका कुनै पनि स्थानीय तहका जनप्रतिनिधि एमाले फुटेर बनेको एकीकृत समाजवादीमा लागेनन् । त्यस्तै पार्टीको तत्कालीन ९० जनाको जिल्ला कमिटीका चार जनामात्र गएका एकीकृत समाजवादीमा लागेका छन् ।

    १० पालिका रहेको पाल्पामा एमालेबाट ६ पालिकामा प्रमुख–उपप्रमुख र एक पालिकामा उपप्रमुख गरी १३ जना निर्वाचित भएका थिए ।

    एमालेले तानसेन नगरपालिका, रिब्दीकोट, रम्भा, पूर्वखोला, निस्दी र तिनाउ गाउँपालिकामा प्रमुख तथा उपप्रमुख र बगनासकाली गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । ४ गाउँपालिका अध्यक्ष र ३ पालिकाको उपाध्यक्षमा कांग्रेसले जितेको पाल्पामा माओवादीले भने जिल्लाभरमा ३ वटा वडामा मात्र नेतृत्व पाएको थियो ।

    तानसेन नगरपालिका मेयर अशोक शाही र उपमेयर लक्ष्मीदेवी पाठक, तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती र उपाध्यक्ष दमयन्ती थापा, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण जिसी र उपाध्यक्ष लक्ष्मी खनाल, पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा र उपाध्यक्ष भागीरथी भट्टराई, रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधा श्रेष्ठ, निस्दी गाउँपालिका प्रमुख मुक्तबहादुर सारु उपाध्यक्ष रिताकुमारी अर्याल र बगनाशकाली गाउँपालिका उपाध्यक्षमा सरस्वती चिदी एमालेबाट निर्वाचित भएका थिए ।

    जिल्लाका नेता पनि एमालेमै धेरै

    ‘साविकका ९० जनाको जिल्ला कमिटी हो, उता ३ जना गएको सुनिएको छ, पालिकामा जितेका प्रमुख उपप्रमुख गरी १३ जना सबै एमालेमै छौं, प्रदेश सांसद रमा घर्ती उताको भेलामा गएको सुनेका हौं तर उता मन्त्री नपाएपछि पक्कै जानुहुन्न’, एमाले जिल्ला सचिव ओमबहादुर घर्तीले नेपाल प्रेसलाई बताए ।

    पाल्पामा नेकपा (एस)ले गरेको भेलामा पूर्वसांसद यादवबहादुर रायमाझी, प्रदेश सांसद रमा घर्ती, साविक एमालेका सहसचिव कमल पाण्डे, जिल्ला कमिटीमा रहेका लेखनाथ पोखरेल, चुरा गोदार र मोहन गैरे सहभागी रहेको सो पार्टी जनाएको थियो । तर सांसद घर्तीले आफूले दल रोज्ने समय बाँकी रहेको दावी गरेकी छन् ।

    पाल्पाबाट नेकपा एकीकृत समाजवादीमा राजेन्द्रलक्ष्मी गैरे केन्द्रीय सदस्य बनेकी छन् । सांसद सोमप्रसाद पाण्डे र पूर्वसांसद यादवबहादुर रायमाझी पनि समाजवादी लागिसकेका छन् । यसअघि समानान्तर कमिटी नबनेको पाल्पामा केन्द्रीय सदस्य गैरेले पाल्पामा केही दिनभित्र जिल्ला कमिटी घोषणा हुने जानकारी दिइन् ।

    पाण्डे समाजवादीमा लागेपछि गैरेलाई अवसर

    पाल्पाबाट तीनपटक सांसद बन्दै मन्त्रीसमेत बनेका एमाले केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले पहिले पार्टी विभाजनमा आफू तयार नभएको बताएपनि अन्तिममा समाजवादीमै लागेका छन् ।

    निर्वाचन आयोगमा हस्ताक्षर बुझाउने समयसम्म एमालेमै रहने बताएका पाण्डे सनाखतको दिन भने समाजवादीको तर्फबाट आयोग पुग पनि उनलाई संस्थागत मान्यता भने दिइएको छैन । नेकपा (एस)का अध्यक्ष माधव नेपालका सम्धी रहेका उनी अन्तिम समयमा समाजवादीमा लागेपनि आफ्नो गृहजिल्लामा भने संकटमा परेका छन् ।

    नेपाल समूहमै रहेका पार्टीका युवा नेता ठाकुर गैरेलाई प्रभावमा पार्दै पटक–पटक सांसद र मन्त्री बनेपछि एक्लै अवसर लिएको भन्दै उनको आलोचना हुँदै आएको थियो । तर उनी अर्को पार्टीमा लागेपछि ठाकुरले अवसर पाउने भएका छन् ।

    अनेरास्ववियुको अध्यक्ष बनेदेखि नै चर्चामा आएका युवा नेता गैरेले सोमप्रसादकै समूहमा परेर अवसर नपाएको एमालेका युवा नेता देवराज पोखरेल बताउँछन् । गैरेलाई आफ्नो क्षमता देखाउन पाण्डेको समूहबाट अलग रहन पटक–पटक आग्रह गरेको उनले बताएका छन् ।

    पाल्पाबाट अर्का प्रभावशाली नेता दलबहादुर राना एमालेमै छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको पाल्पामा क्षेत्र नं १ बाट राना र २ बाट पाण्डे प्रतिनिधिसभामा विजयी भएका थिए । प्रदेशसभामा एमालेबाट निर्वाचित ३ र एक समानुपातिक सांसद छन् ।

    निर्वाचित सांसद नारायण आचार्य, युवराज खनाल, डा. पुरन बज्राचार्य एमालेमै छन् । समानुपासिक सांसद रमा घर्ती समाजवादीको भेलामा गएको बताइए पनि उनले आफूले अझै दल नरोजेको र त्यसको लागि समय बाँकी रहेको बताउँछिन् ।