Tag: पाँचथर

  • आहा! तिम्बुङ पोखरी

    आहा! तिम्बुङ पोखरी

    पाँचथर । प्रदेश–१ को चर्चित पर्यटन गन्तव्य हो, तिम्बुङ पोखरी । पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अनि भारतको सिक्किम राज्यको त्रिकोणात्मक संगमस्थलमा अवस्थित छ, तिम्बुङ पोखरी ।

    तिम्बुङ पोखरी पुग्न पाँचथर र ताप्लेजुङबाट तीन दिनसम्मको पैदलयात्रा गर्नुपर्छ । पाँचथरको फलैंचा तथा ताप्लेजुङको सिरिजङ्घास्थित खेवाङ हुँदै सो ठाउँ पुग्न सकिन्छ ।

    तिम्बुङ पोखरी वरपर हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूधपोखरी, मयुर पोखरी, नीर पोखरीलगायत दर्जनौं पोखरी रहेका छन् ।

    यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जीलिङलगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ । यो क्षेत्र ४ हजार ४८१ मिटरको उँचाइमा रहेको छ ।

    सिदिङ्वा गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाका अनुसार लिम्बू भाषाको तेम्बकबाट तिम्बुङ पोखरी नाम रहन गएको हो ।

    लिम्बू भाषामा ते भनेको बन्दूक र बुङ भनेको पड्किएको आवाज हो । पोखरीको दर्शन गरे मनोकांक्षा पूरा हुने तथा मुक्ति पाइने जनविश्वास रहिआएको छ ।

    अध्यक्ष कडरियाले जैविक, धार्मिक र सांस्कृतिक महत्वको क्षेत्र तिम्बुङ पोखरीको प्रचारप्रसार गर्न महोत्सव समेत आयोजना गर्ने गरिएको बताए । जैविक, धार्मिक र सांस्कृतिक महत्वको बोकेको तिम्बुङ पोखरी पर्यटकीय हिसाबले पनि उतिकै महत्वपूर्ण स्थल हो । तर सडक सञ्जालले जोड्न नसक्दा सोचे अनुसारको पर्यटन प्रवद्र्धनमा यसले स्थान पाउन भने सकेको छैन । यो क्षेत्रमा घुम्न जेठदेखि भदौ महिनासम्मलाई उपयुक्त मानिन्छ । असोजदेखि जाडो बढ्न थाल्छ । चौंरी गोठाला समेत चौंरी लिएर बेंसीतिर झर्छन् ।

    हिउँदयाममा अत्यधिक चिसो हुने र बाक्लो हिउँ पर्ने हुनाले यो क्षेत्र पुग्न हिउँदमा निकै कठिन हुन्छ ।

    पूर्वको गोसाइँकुण्डले परिचित तिम्बुङ पोखरी क्षेत्र दृश्यावलोकन र तीर्थयात्राको लागि अब्बल मानिन्छ । चट्टाने पडाडबीचमा रहेको तिम्बुङ पोखरी मनमोहक छ ।

    हिमालको काखमा रहेकोे सुन्दर तिम्बुङ पोखरी क्षेत्रमा विभिन्न प्रजातिका लेकाली जडीबुटी, लेकाली वन्यजन्तु, फराकिलो नागी चउर त कतै आङ नै जिरिङ्ग हुने खालका पहाडे चट्टानले यसको सौन्दर्यतालाई अझै मनमोहक बनाएको छ । पदमचाल, केन्जो, माइकोपिला, पाँचऔंले, बिख्मा, कुटी, खोकिम जस्ता फूल र जडीबुटी यहाँ पाइन्छन् ।

    तिम्बुङ पोखरी पुगेर दर्शन गरे पुण्य प्राप्ति हुने र मनोकामना पूरा हुने जनविश्वास छ । हरेक वर्ष पाँचथरसहित इलाम, ताप्लेजुङ, तेह्रथुमलगायत तराईका जिल्ला र भारतका विभिन्न ठाउँबाट कैयौं तीर्थयात्री तिम्बुङ पोखरी पुग्ने गर्दछन् । यस पोखरीको आसपासमा १७८ वटा कुण्डहरू रहेको जानकारहरू बताउँछन् ।

    कसरी पुग्न सकिन्छ तिम्बुङ पोखरी ?

    पाँचथरको सदरमुकाम फिदिमदेखि १८ कोस सुदूर उत्तरमा रहेको यस क्षेत्रमा पुग्न जुनसुकै रुट प्रयोग गरे पनि सवारी साधनबाट ओर्लेपछि दुईदेखि तीन दिनसम्म पैदल हिंड्नै पर्छ ।

    यस क्षेत्रको नजिकै कुनै मानव बस्ती छैन । बासको लागि चौंरी गोठ नै यहाँको होटल र लज हुन् । पाँचथरको सदरमुकाम फिदिमबाट गणेशचोकसम्म मेची राजमार्ग र त्यहाँबाट मध्यपहाडी लोकमार्ग प्रयोग गरेर पाँचथरको फलैंचा, ताप्लेजुङको कालिखोला हुँदै तिम्बुङ पोखरी पुग्न सकिन्छ ।

    त्यस्तै मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ भएर पनि यहाँ पुग्न सकिन्छ । अर्काे बाटो इलामको पशुपतिनगरबाट पर्यटकीय स्थल सन्दकपुर–फालोट रुट प्रयोग गरेर पनि तिम्बुङ पोखरीको यात्रा तय गर्न सकिन्छ ।

    न्यानो कपडा, हल्का खालको जुत्ता, टोपी, स्लिपिङ ब्याग र हाई अल्टिच्यूडबाट बच्न मकैको सातु, अदुवा, लसुन, केही एन्टिबायोटिक औषधि र बाटोमा भोक मेट्न प्रशस्तै ड्राइफुड बोक्न भने यस क्षेत्रमा यात्रा गर्दा बिर्सनुहुँदैन ।

    तस्वीर सौजन्य: मनोज उप्रेती

  • बिक्रीका लागि तयार सुन्तला कुहिएर झर्न थाल्यो

    बिक्रीका लागि तयार सुन्तला कुहिएर झर्न थाल्यो

    पाँचथर/रासस । पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक चिन्तामा परेका छन् । टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइने गरेको छ ।

    सुन्तलाको राम्रो उत्पादन हुने फिदिम–७ रानीटारमा पाकेको सुन्तलामा किरा परेको पाइएको छ । रानीटारको नाङ्लपा, हाम्फाबुङ, चिउरीबोटे, चकरुम्बा, माक्लुम्बालगायत टोलमा करिब ४०० रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलामा किरा पर्ने समस्या देखिएको हो ।

    हाम्फाबुङका कृषक देउबहादुर थेबेका अनुसार सुन्तला टिप्नै नपाई झर्न थालेको छ । ‘पोहोर साल झण्डै चार हजार किलो बेचेको थिएँ’, थेबेले भने, ‘यस वर्ष टिप्नै नपाई धमाधम सुन्तला झरिरहेको छ । झरेको सुन्तला कुहिएको छ ।’ मुख्य आम्दानीको स्रोतको रूपमा रहेको सुन्तला कुहिएर जाँदा वर्षभरिको आम्दानी समाप्त भएको अर्का कृषक जयबहादुर नेम्वाङले दुखेसो पोखे ।

    कृषकको गुनासोपछि फिदिम नगरपालिकाले प्राविधिक पठाई सुन्तला कुहिएर झर्ने समस्याको अनुगमन गराएको छ । फिदिम नगरपालिकाको कृषि शाखाका प्रमुख यामबहादुर सङ्ग्रौलाका अनुसार सुन्तलामा ‘फ्रुटफ्लाइ’ नामको किराको सङ्क्रमण देखिएको छ । झिङ्गाजस्तो यो किराले पाकेको फल कुहाउने गर्छ ।

    ‘पोथी किराले फल छेडेर भित्र पसी फुल पार्ने काम गर्छ । फुल लार्भा भएपछि सुन्तलालगायत फल कुहाएर क्षति गर्छ’, सङ्ग्रौलाले भने । फल नलाग्दै फेरेमेन ट्राप र मालाथिन नामक विषादी मिलाएर छर्केको अवस्थामा यो किराको समस्या नहुने उनको भनाइ छ । फलमा लागेको किरा भने नियन्त्रण गर्न नसकिने सङ्ग्रौलाले बताए ।

    यस वर्ष अत्यधिक वर्षाका कारण सुन्तलाको फल नै कम लागेको थियो । पाकेको सुन्तला पनि विगतका वर्षको जस्तो स्वादिष्ट छैन । अधिक वर्षाकै कारण विगतका वर्षको जस्तो स्वाद नभएको जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ का कृषक रुपा लावतीको भनाइ छ ।

    यस वर्ष चाँडै चिसो शुरु हुँदा सुन्तलामा स्वाद नभएको कृषक बताउँछन् । जिल्लाका आठवटै स्थानीय तहमा सुन्तला उत्पादन हुने गरेको छ । जिल्लाका कुरुम्बा, आङ्सराङ, रानीगाउँ, फाक्तेप, फिदिम, रानीटारलगायत स्थानमा बढी सुन्तला उत्पादन हुने गर्दछ ।