Tag: पहिरो

  • गुल्मीमा पहिरो हटाउन बम विस्फोट

    गुल्मीमा पहिरो हटाउन बम विस्फोट

    काठमाडौं । कालीगण्डकी करिडोरमा खसेको पहिरो हटाउन नेपाली सेनाले गुल्मीमा बम विस्फोट गरेको छ । करिडोरको रुरु क्षेत्र गाउँपालिका-२ मा पहिरो खसेपछि गत कात्तिक ३ गतेदेखि सडक अवरुद्ध थियो ।

    पहिरो र बीचमा ठूला ढुङ्गा अड्किएका कारण नौ दिनदेखि यातायातका साधनको आवतजावत बन्द रहेको थियो । डोजरले वा अन्य उपकरणले मात्रै पहिरो हटाउन नसकिने भएपछि सेनाले शुक्रबारबाट बम विस्फोट गरेर ढुङ्गा फुटाउने काम गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

    कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र सग्राम शार्दुल गुल्मका उपसेनानी हिक्मतबहादुर चन्द नेतृत्वको संयुक्त टोलीले पहिरो पन्छाउने काम गरिरहेको पौडेलले जानकारी दिए ।

    नेपाली सेनाले बममार्फत ढुङ्गा नफोरेसम्म अरू कुनै उपाय नभएकाले सेनाका प्रक्रियाका कारण केही समय ढिला भएको उनको भनाइ छ ।

    त्यो सडकबाट गुल्मीसहित बागलुङका दैनिक एक डेढ सय बढी सवारी साधन आवतजावत गर्छन् । पहिरोले सडक अवरुद्ध भएपछि बागलुङ बुर्तिबाङसम्मका ठूला गाडी तम्घास भएर गन्तव्यमा पुग्ने गरेका थिए ।

    रासस

  • बाढी, पहिरो र डुबानमा परी ५८ जनाको मृत्यु, प्रदेश १ मा सबैभन्दा बढी मानवीय क्षति

    बाढी, पहिरो र डुबानमा परी ५८ जनाको मृत्यु, प्रदेश १ मा सबैभन्दा बढी मानवीय क्षति

    काठमाडाै‌ं। अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा २० जना गरी जम्मा ५८ जनाको मृत्यु भएको हो ।

    साथै १ नम्बर प्रदेशमा १४ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा २६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

    बाढीको कारण जम्मा १ हजार २८ वटा घर डुबानमा परेका छन् । ३० वटा घर, २ वटा गोठ, ४ वटा पुल, र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय १ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा १ सय ३४ वटा विपद्‍का घटनाबाट १ हजार ५० वटा घर परिवार विस्थापित भएका छन् ।

    कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ । जसमध्ये सल्यान कपुरकोट गाउँपालिका-५ अरिङगालेफेदीस्थित राप्ती राजमार्ग, दैलेख गुराँस गाउँपालिका-४ लुहा खोलास्थित सुर्खेत दैलेख सडक खण्ड, लमजुङ मर्स्याङदी गाउँपालिका-४ अर्खलेबेशीस्थित बेसिशहर मनाङ सडक खण्ड, बैतडी दोगडा केदार गाउँपालिका-६ सल्सेना र चम्तडी भन्ने स्थानमा, ईलाम देउमाई नगरपालिका-३ मुलख्रर्कस्थित झुत्रेखोला नजिक नेपालटार-मंगलबारे सडक खण्ड र दार्चुला शैल्यशिखर नगरपालिका-६ पनेबाज दुधलिगाड, गवानी र सोही नगरपालिका-५ बगौडास्थित सडक खण्ड लगायत विभिन्न स्थानमा भएको सडक अवरोध खुलाउने कार्य हाल जारी छ ।

    साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

  • पहिरोले घर पुर्दा बझाङमा ६ जनाको मृत्यु, २१ जना बेपत्ता

    पहिरोले घर पुर्दा बझाङमा ६ जनाको मृत्यु, २१ जना बेपत्ता

    कैलाली । पहिरोले घर पुरिँदा बझाङमा ६ जनाको मृत्यु भएको छ । खप्तडछान्ना गाउँपालिका-६ कि ६३ वर्षीय धनराज जोशी, रनिआग्री- ५ का बिरु गिरी र उनकी श्रीमती चन्द्रादेवीको मृत्यु भएको छ ।

    यस्तै थलारा गाँउपालिका- ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा बेपत्ता भएका २३ जनामध्ये दुईजनाको शव फेला परेको छ ।

    बेपत्ता २१ जनाको खोजी भइरहेको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले नेपाल प्रेसलाई बताए ।

  • पहिरोले घर भत्किँदा हुम्लामा एकैपरिवारका चारजनाको मृत्यु, दुई बेपत्ता

    पहिरोले घर भत्किँदा हुम्लामा एकैपरिवारका चारजनाको मृत्यु, दुई बेपत्ता

    सुर्खेत । हुम्लाको खार्पुनाथ गाउँपालिका- ४ खर्पेलगाउँमा पहिरोले घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । गएराति ८ बजेतिरको सो घटनामा दुईजना बेपत्ता भएका छन् ।

    धनवीरे शाहीको घरमा पहिरो खस्दा उनीसँगै कलबहादुर शाही, श्रीमती आशा शाही र उनका १४, ५ र ३ वर्षीय छोरा पुरिएका थिए ।
    कलबहादुर शाही श्रीमती आशा र २ छोरासमेत ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

    पहिरोमा धनवीरे शाही र १४ वर्षीय छोरा अलेन्द्र शाहीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी हेरम्ब शर्माले बताए ।

    रातिको घटना भएकाले उद्धारमा वाधा भएको र अहिले संयुक्त सुरक्षा टोलीले उद्धार गर्दा ४ जना मृत भेटिएको साथै बेपत्ता बाँकी २ जनाको खोजी भइरहेकी डीएसपी शर्माले जानकारी दिए ।

  • बैतडीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

    बैतडीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

    कैलाली । बैतडीमा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–६ मा पहिरोले घर पुरिदा तीन वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की उनका २४ वर्षीया श्रीमानभानु पार्की र उनकाे तीन वर्षीया छोरी सोम पार्की रहेको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताइन् ।

    उनीहरुको मंगलबार बिहान पहिरोमा पुरिएर मृत्यु भएको भएको उनले बताइन् । यस अघि आजै डोटीमा २ जनाको घर भत्किदा र डडेल्धुरामा १ जनाको पहिरोले घर पुर्दा मृत्यु भएको थियो ।

  • खुर्कोट-दिक्तेल सडकखण्डमा पहिरो, सवारी आवागमन अवरुद्ध

    खुर्कोट-दिक्तेल सडकखण्डमा पहिरो, सवारी आवागमन अवरुद्ध

    काठमाडौं । मध्यपहाडी लोकमार्ग अन्तरगत खुर्कोट–दिक्तेल सडकमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध बनेको छ । उक्त लोकमार्गको हैजारबेसी खण्डमा पर्ने अक्कडेभीरमा आज बिहानै पहिरो गएको हो ।

    अहिले पनि वर्षा नरोकिएको हुँदा पहिरो पन्छाउने काम हुन नसकेको सो सडकखण्डमा ड्यूटीमा रहेकी प्रहरी जवान संगीता शर्माले बताइन् । सवारी अवागमन कहिले सुचारु हुन्छ भन्ने अनिश्चित रहेको उनको भनाइ छ ।

    सडक अवरुद्ध भएपछि त्यहाँ यात्रारत सयौं यात्रु तथा सवारीसाधनहरु अलपत्र परेका छन् । काठमाडौंबाट विभिन्न गन्तव्यमा हिँडेकाहरु बाटो तत्काल नखुल्ने देखेपछि फेरि काठमाडौं फर्किन थालेका छन् ।

  • पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

    पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

    कैलाली । डडेल्धुरामा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको पहिरोमा पुरिएर ज्यान गएको हो ।

    घरमाथिबाट आएको पहिरोमा पुरिएर उनको मृत्यु भएको हो । यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी २ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयकाका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले जानकारी दिए ।

    घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको चन्दले बताए। बाढी र पहिरोबाट ठुलो क्षति हुन नदिन सबै सुरक्षा निकाय लागिरहेको समेत उनले जानकारी दिए ।

  • चुरेमा पहिरो, १२ घण्टादेखि यात्रु अलपत्र

    चुरेमा पहिरो, १२ घण्टादेखि यात्रु अलपत्र

    कैलाली । कैलालीको चुरे गाउँपालिका ३ सल्लेरीमा गएको पहिरो अझै हटेको छैन । हिजो साँझ पहिरो गएपछि यहाँ एक हजार बढी यात्रु अलपत्र परेका छन् ।

    डप्रेनीमा पनि हिजो साँझ रुख खसेर सडक अवरुद्ध भएको थियो । प्रहरीले सडक सुचारु गरेपछि फेरी पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    अहिले डिभिजन सडक कार्यालयको जेसीभीको मद्दतबाट सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

  • अनुगमन गर्न गएका मेयर कुटिएको क्षेत्रमा फेरि पहिरो, दुई दर्जन घरमा क्षति(तस्बिरहरु)

    अनुगमन गर्न गएका मेयर कुटिएको क्षेत्रमा फेरि पहिरो, दुई दर्जन घरमा क्षति(तस्बिरहरु)

    रूपन्देही । पहिरो अनुगमनका लागि गएका बुटवल उपमहानगरका मेयर शिवराज सुवेदी कुटिएको लक्ष्मी नगर र ज्योतिनगर क्षेत्रमा फेरि पहिरो खसेको छ । सोमबार खसेको पहिरोका कारण यस क्षेत्रका करिब दुई दर्जन घरमा क्षति पुगेको छ ।

    भदौमा अविरल वर्षापछि खसेको पहिरोका कारण यहाँका १० घर पुरिएका थिए भने दुई दर्जन परिवार विस्थापित भएका छन् ।

    आइतबार रातिदेखिको लगातार वर्षाका कारण चुरेबाट पहिरो खसेको हो । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए।

    आक्रोशित स्थानीय गणेश पंगेनीले सो क्षेत्रमा अवलोकन गर्न पुगेका बुटवल उपमहानगरप्रमुख शिवराज सुवेदीमाथि आज हातपात गरेका थिए।

  • कास्कीमा पहिरो, दम्पतीसहित पाँचजनाको मृत्यु

    कास्कीमा पहिरो, दम्पतीसहित पाँचजनाको मृत्यु

    पोखरा । कास्कीमा पहिरोले पुरिएर ५ जनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । बुधबार रातिदेखिको वर्षाले पहिरो जाँदा पोखरा-२० भलाममा ४ र पोखरा-११ काँहुमा एकजनाको मृत्यु भएको हो ।

    पहिरोले पुरिँदा अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले नेपाल प्रेसलाई जानकारी दिए ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका-२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङको ज्यान गएको हो । तीन वर्षका छोरा बेपत्ता बेपत्ता छन् भने अर्का एक छोरा घाइते छन् ।

    यसैगरी पोखरा-२० भलामकै मुलाबारी देउरालीमा पहिरोले घर भत्किएर २९ वर्षीया विष्णु सार्की र उनका ८ वर्षका छोरा सुजनको पनि मृत्यु भएको प्रवक्ता हमालले जानकारी दिए । बिहानदेखि बेपत्ता उनीहरूको शव दिउँसो १२ बजेतिर डोजरबाट निकालिएको थियो ।

    त्यस्तै पोखरा-११ नमूनाटोलमा पहिरोले घर पुरिँदा ४२ वर्षीय लक्ष्य नेपालीको उपचारको क्रममा मृत्यु भएको डीएसपी हमालले बताए । उनकी १४ वर्षीया छोरी श्रृष्टी उपचारपछि घर फर्केकी छिन् । उद्धारका लागि स्थानीयबासी र सुरक्षाकर्मी खटिएका अहिले पनि खटिरहेको हमालले जानकारी दिए ।

  • चुरेकाे पहिरो र बाढीले बुटवलमा दर्जनौं  परिवार विस्थापित

    चुरेकाे पहिरो र बाढीले बुटवलमा दर्जनौं परिवार विस्थापित

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ४ वटा वडा चुरेको पहिरो र तिनाउको बाढीले प्रभावित भएका छन् । मुख्यबजारको उत्तरी क्षेत्रमा गएको ढुंगासहितको लेदो पहिरोेले सोमबार थप सात वटा घर पुरिएका छन् भने दुई दर्जनभनदा बढी घर विस्थापित भएका छन् ।

    आइतवार बिहानदेखि उपमहानगरपालिको वडा नं. ३ ज्योतिनगरमाथिको चुरे पहाडबाट खसेको पहिरो सोमबार दिउँसोसम्म रोकिएको छैन । आइतवार स्थानीय मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो झरेकोमा सोमबार थप सातजनाको घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुंवरका अनुसार सोमबार खसेको पहिरोले ७ वटा घर पुरिएका छन् ।
    पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ । अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको छ ।

    बुटवल तथा आसपासको क्षेत्रमा अहिले पनि पानी परिरहेकोले पहिरा सहितको लेदो बगिरहेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीले स्थानीयको सहयोगमा पहिरोबाट प्रभावितहरुलाई उद्दार गरी बुटवल बहुमुखी क्याम्पसमा आश्रय दिएर राखेका छन् ।

    पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडक समेत बगाएको प्रहरी नायब उपरीक्षक कुंवरले बताए । बस्तीमा झरेको पहिरो बुटवल उपमहानगरपालिकाको सहयोगमा पन्छाएर अन्यत्र लैजाने गरिएको कुंवरले जानकारी दिए । २०५५ साल भदौ २० गते पहिरो झरेको स्थानमै पुनः अहिले पहिरो झरेको हो ।

     

    ०५५ सालमा झरेको पहिरोले ५७ घरमा क्षति पुगेको थियो । बुटवलको ज्योतिनगरमा गएको पहिरोको लेदो बगेर बुटवलको मुख्यबजार क्षेत्रसम्म आइपुगेको छ । ज्योतिनगरमा आएको लेदोसहितको पहिरो बुटवल अस्पताललाइनसम्म आएको हो । पहिरो सोमबार पनि आइरहेको छ । वर्षासंगै पहिरो निरन्तर बगिरहेकोले स्थानीय त्रसित छन् ।

    स्थानीय सामान लिएर सुरक्षित स्थानतर्फ सरिरहेका छन् । पहिरोले मुख्य बजार प्रभावित हुन थालेको छ । यसैगरी तिनाउ नदीमा आएको बाढीले सोमबार पनि थप आधा दर्जन घरमा क्षति पुराएको बुटवल वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए । प्रभावित क्षेत्रका नागरिकलाई स्थानीय विद्यालयमा राखिएको उनले बताए ।

  • पहिरोमा परी पूर्वीनवलपुरमा तीन बेपत्ता, एकको उद्धार

    पहिरोमा परी पूर्वीनवलपुरमा तीन बेपत्ता, एकको उद्धार

    नवलपुर । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा पहिरो खस्दा तीन बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा आज बिहान खसेका पहिरामा परी तीन बेपत्ता हुनुका साथै एक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार पहिरोले चार घरेका ५० वर्षीय हस्तबहादुर पुलामीको घरमा पूर्णरुपमा क्षति पु¥याएको छ । उनका अनुसार पहिराले पुरेका अवस्थामा उनलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ । पहिरोमा बेपत्ता भएकाको खोजी जारी छ ।

    पहिरोमा परी पुलामीकी ४० वर्षीया श्रीमती धनमाया , सात वर्षीया नातिनी भूमिसरा र छ वर्षीया नातिनी देउमाया पुलामी बेपत्ता भएका सूचना अधिकारी सिंहले बताए ।

  • पहिरोमा पुरिएर एक जनाको मृत्यु

    पहिरोमा पुरिएर एक जनाको मृत्यु

    रूपन्देही । पहिराेमा पुरिएर अर्घाखाँचीको पाणिनि गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।

    पाणिनि गाउँपालिका-५ मैदानमा खसेको पहिरोमा परि धातिवाङ्ग घर भएका ४५ वर्षका मानबहादुर सुनारको ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

    स्थानीय मेघराज घिमिरेको घरमा प्लास्टर गर्ने क्रममा शुक्रबार बेलुका घरमाथिबाट आएको पहिरोमा उनी पुरिएका थिए ।

  • म्याग्दीस्थित दानाको ढुंगाखानीमा पहिरो, बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

    म्याग्दीस्थित दानाको ढुंगाखानीमा पहिरो, बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानाको ढुंगाखानीमा पहिरो गएको छ । पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड समेत अवरुद्ध भएको छ ।

    ढुंगाखानीबाट सुख्खा पहिरो खसेपछि करिब ३० मिटर सडक अवरुद्ध भएको बेनी–जोमसोम सडकखण्डका सुपरभाईजर इन्द्रसिंह शेरचनले बताए ।

    स्थानीय प्रहरी र कोरोला सडक आयोजनासंग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको छ । निरन्तर ढुंगा झरिरहेकालेसडक खुलाउन समस्या भएको स्थानीय गंगा पुनले बताए ।

  • पाल्पामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, एक गम्भीर घाइते

    पाल्पामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, एक गम्भीर घाइते

    रूपन्देही । पाल्पामा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । सडकमा फसेको ट्याक्टरलाई निकाल्ने क्रममा खसेको पहिरोमा पुरिएर घाइते भएका एकजनाको मृत्यु भएको हो ।

    तिनाउ गाउँपालिका– ६ डुम्रेस्थित भित्री कच्ची सडकमा फसेको ट्याक्टर निकाल्ने क्रममा पहिरो खस्दा ट्याक्टरमा सहयोगीको काम गर्दै आएका बर्दिया बार बर्दिया ठाकुरबाबा नगरपालिका २ अस्मेरीका २७ वर्षीय मुमलाल पुनको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । पुनको उपचारका क्रममा तानसेस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरीका अनुसार डुँम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्रबको ट्याक्टर हिलोमा फसेको थियो । ट्रयाक्टर फसेपछि लु १ क २४९६ र लु १ क २४९७ नम्वर को जेसिबीले ट्याक्टर निकाल्ने क्रममा अचनाक माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा लु १ क २४९६ नम्रबको जेसिबी चालक रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा घाइते भएका छन् ।

    घाइतेको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

  • पाल्पा पहिरोमा पुरिएका थप एकको मृत्यु

    रुपन्देही । पाल्पामा दुई दिनअघि पहिरोले पुरिएर घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएको छ । घाइते तिनाउ गाउँपालिका-५ गिट्टी खानीका ७५ वर्षीया सुन्दरी गुरुंगेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    उनको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार राति मृत्यु भएको हो । पहिरोमा परी ४५ वर्षीय वीरबहादुर गुरूङ र ४ वर्षीय आरभ परियारको घटनास्थलमै मृत्यु भएको थियो । गत बिहीबार बिहान माथिबाट झरेको पहिरोले पुरिएर ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

  • पहिरोले पाल्पा र दाङमा तीन जनाको मृत्यु

    पहिरोले पाल्पा र दाङमा तीन जनाको मृत्यु

    रुपन्देही । बुधवार रातीदेखि परेको अविरल बर्षापछि आएको पहिरोमा परेर पाल्पामा दुई जनाको मृत्यु भएको छ भने दाङमा घरभित्र च्यापिएर एक बालिकाको मृत्यु भएको छ । पाल्पामा पाँच घर पुरिदा दुई जनाको मृत्यु भएको हो । सात जना घाइते भएका छन ।

    पहिरोमा पुरिएर तिनाउ गाउँपालिका वडा नंं पाँच गिट्टी खानीका ४५ वर्षीय वीरबहादुर गुरुङ र चार वर्षीय बालक आरोप परियारको मृत्यु भएको छ । गुरुङ्गको शव विहीवार विहान र वालक आरोपको शव दिउसो पहिरोले पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    पहिरोमा परी घाइते हुनेमा ७५ वर्षीया सुन्दरी गुरुङ, २६ वर्षीय रमेश परियार, २४ वर्षीय पुजा परियार, ७५ वर्षीय बलबहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दिलबहादुर राना र १५ वर्षीय दिपेश पुन रहेका छन् । घाइते सातजना मध्ये ७५ वर्षीया सुन्दरी गुरुङको अवस्था गम्भीर रहे पनि अन्यको अवस्थामा सामान्य रहेको छ । घाइते सबैको लुम्विनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भइरहेको छ ।

    पहिरोले घरसँगै सडकसमेत बगाएको छ । स्थानीय विरबहादुर गुरुङ, रमेश परियार, नरबहादुर राना, हरी दर्लामी र बलबहादुर पुनको घर पुरिएको छ । पहिरोबाट विस्थापितलाई कल्याणी आधारभूत विद्यालयमा बस्ने र खाने व्यबस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए ।

    पहिरोको कारण बुधवार रातीदेखि बन्द भएको सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक अझै सुचारु हुन नसकेको छैन । सिद्धवावा, झुम्सा, पानी मिल, हिउदे खोला, लामेदमारमा खसेको पहिरो हटाउने काम भईरहेको डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताए ।

    यसैगरी बुधबार राति घरको पर्खाल भत्किंदा दाङमा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीया मनिषा चौधरीको तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

    चौधरीसहित उनका नौ वर्षीया छोरी बाटुली पनि घाइते भएकी छन् । घाइते दुवैको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

  • दार्चुलामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

    दार्चुलामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

    कैलाली । दार्चुलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । जिल्लाको नौगाढ गाउँपालिका–३ खार नजिकैको चौखुट्टेमा आएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

    पहिरोले घर पुरिँदा ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्ना र सोही ठाउँकी २९ वर्षीया लक्ष्मण सितौलीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टले बताए ।

    पहिरो गएको स्थान दार्चुला सदरमुकाम खलंगाबाट ८ घण्टाको पैदल दूरीमा पर्छ ।

  • बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन स्थानमा सडक अवरुद्ध

    बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन स्थानमा सडक अवरुद्ध

    कैलाली । बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको तलकोट गाउँपालिका-६ रजाडामा पहिरो जाँदा ६० वर्षीया सुना दमाईको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

    धारामा पानी भर्ने बेलामा पहिरोमा पुरिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रूपक खड्काले जानकारी दिए ।

    अहिले बझाङका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

    उनका अनुसार जयपृथ्वि नगरपालिका-७ स्थित सुबेडा पातली खोला तामेल भिर, छबिसपाथिभेरा १ को बालुवाटारमा सडक अवरुद्ध भएको छ ।

  • धादिङमा पहिरोले पुरिएर स्काभेटर सहित दुई जना बेपत्ता

    धादिङमा पहिरोले पुरिएर स्काभेटर सहित दुई जना बेपत्ता

    धादिङ । धादिङको रुबि भ्याली गाउँपालिका-२ मा सडक खन्दै गर्दा पहिरो खसेर स्काभेटर सहित दुई जना पुरिएका छन् ।

    धादिङबेसी साङकोष तिप्लिङ सोमदाङ सडक निर्माणका क्रममा शुक्रबार साँझ ६ बजे अताखोलामा पहिरो आएको थियो । पुरिएर बेपत्ता हुनेमा डोजरका रुबि भ्याली घर भएका सहचालक जोजो तामाङ र डोजर चालक रहेको त्यहँका वडाध्यक्ष प्रशान्त तामाङले जानकारी दिए ।

    घटना लगत्तै उद्धारका लागि प्रयास गरिए पनि वर्षाका कारण कठिन भइरहेको छ ।

    गाउँमा मोबाइल सम्पर्क टुटेको कारण प्रहरीले आफ्नो आन्तरिक सञ्चार सेटबाट घटनाको जानकारी लिइरहेको र खोजतालसका लागि सेर्तुङमा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

    गाउँपालिका प्रमुख चेरुङ तामाङ र उप प्रमुख बिना लामा काठमाडौंमा रहेकाले शनिबार बिहान हेलिकप्टरबाट घटनास्थल पुगेका छ्न् ।

    सेर्तुङ पूर्व गृहमन्त्री एवम् राप्रपाका वरिस्ठ नेता बुद्धिमान तामाङको गाउँ हो ।