Tag: पहिराे

  • उत्तराखण्डमा पहिरोमा पुरिएर ३ नेपालीसहित १७ जनाको मृत्यु

    उत्तराखण्डमा पहिरोमा पुरिएर ३ नेपालीसहित १७ जनाको मृत्यु

    एजेन्सी । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली पनि छन् ।

    तीन दिनदेखि परेको भीषण वर्षापछिको बाढी र पहिरोमा केही मानिस हराइरहेका छन् । बाढीले सडक, भवन र पुलमा ठूलो क्षति पुर्‍याएको छ भने पर्यटकहरु बिचल्लीमा परेका छन् ।

    पाउरी जिल्लामा वर्षापछिको पहिरोमा बगेर मृत्यु भएका पाँच जनामध्ये तीन नेपाली श्रमिक रहेको जिल्ला म्याजिस्ट्रेट विजय कुमारले भारतीय समाचार संस्था एनडीटीभीलाई बताए ।

    उत्तराखण्डमा अझै केही दिन वर्षा हुने भारतको जलबायु तथा मौसम विज्ञान विभागले जनाएको छ ।

  • अर्घाखाँचीमा पहिरोले घर पुरिँदा बालिकाको मृत्यु

    अर्घाखाँचीमा पहिरोले घर पुरिँदा बालिकाको मृत्यु

    रूपन्देही । अर्घाखाँचीमा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरीमा पहिरोमा पुरिएर जीवलाल सुनारकी ९ वर्षकी छोरी झरनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिएका छन् ।

    निरन्तरको वर्षापछि गएराति खसेको पहिरोले सुनारको घर पुरेको हो । पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन् ।

    स्थानीय मेडिकलमा उपचार गराइरहेका उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । केही दिनयता निरन्तर परेको वर्षाले सदरमुकाम सन्धिखर्कबाट अन्य पालिकामा जोड्ने मुख्य तथा सहायक मार्ग अवरुद्ध भएका छन् ।

  • पाल्पामा घर भत्कँदा ११ वर्षीया बालिकाको मृत्यु, बुटवलमा पहिरोले दर्जन घरमा क्षति

    पाल्पामा घर भत्कँदा ११ वर्षीया बालिकाको मृत्यु, बुटवलमा पहिरोले दर्जन घरमा क्षति

    रूपन्देही । अविरल वर्षापछि आज विहान आएको पहिरोले बुटवल उपमहानगरपालिका-३ ज्योतिनगरमा एक दर्जन घरमा क्षति पुर्‍याएको छ । २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेपछि सो क्षेत्र थप प्रभावित बनेको हो ।

    चुरेबाट खसेको पहिरोले मनमाया भाट क्षेत्री लगायत एक दर्जन घरमा क्षति पुगेको स्थानीयले जनाएका छन् । बुटवल वडा-४ का अध्यक्ष टंक पराजुलीले गैरीगाउँका केही घरमा क्षति पुराएको र वर्षा निरन्तर भएकाले उद्दारमा कठिनाइ भएको बताए ।

    स्थानीयका अनुसार ३ घरमा पहिरो पसेको छ । उज्यालो भइसकेको हुँदा मानवीय क्षति भने भएको छैन । यहि भदौ ११ गते उक्त वस्ती माथिको चुरेमा पहिरो गएपछि स्थानीयहरु सावधानी अपनाउँदै आएका थिए ।

    पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सार्ने काम गरिरहेका छन् । त्यसैगरी पहिरोले क्षति पुग्नसक्ने घरबाट समेत सामान अन्यत्र सार्ने तयारी गरिरहेका छन् ।

    पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोड र त्यहाँ रहेको विजुलीको पोल बगाएको छ । बुटवलको वडा नम्बर ३ र ४ माथि रहेको चुरेमा २ वटा ठूला पहिरो गएकोमा यससँगै ३ ठूला पहिरो गएको छ ।

    उक्त ठाउँमा २०५५ साल भदौ २० गते पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो । पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ती दिएको थियो । पहिरोले बुटवलको वडा नम्बर ३ र २ मा क्षति पु¥याएको नगर प्रमुख शिवराज सुवेदीले बताए ।

    उता पाल्पाको तानसेनमा घर भत्केर पुरिँदा एक जना १० वर्षीया बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका-५ कैलासनगरमा एकतले ढुङ्गा माटोले बनेको घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जीको मृत्यु भएको हो ।

    राती सुतिरहेकै अवस्थामा घरको पछाडिको गारो भत्किर पुरिएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा मिशन अस्पताल तानसेनमा निधन भएको हो ।

  • मुग्लिन-नारायणगढ सडकमा पहिरो पन्छाउन शुरु

    मुग्लिन-नारायणगढ सडकमा पहिरो पन्छाउन शुरु

    चितवन । लगातारको वर्षापछि पहिरो खसेर हिजो साँझदेखि अवरुद्ध मुग्लिन नारायणगढ सडकमा आज विहानदेखि पहिरो पन्छाउन सुरु गरिएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार डोजर र जेसीबी प्रयोग गरी आज विहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ ।

    हिजो साँझ भरतपुर महानगरपालिका २९ स्थित सेती दोभान र पाँचकिलोमा पहिरो खस्दा सवारी सन्चालनमा अवरोध भएको थियो । रातभर सवारीको लामो लाइन लागेको थियो ।

    ट्राफिक प्रहरीले यो सडकखण्ड प्रयोग गर्नुअघि जानकारी लिएरमात्र निस्कन सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।

  • पहिरोले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइट जाेखिममा

    पहिरोले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइट जाेखिममा

    सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो  खसेकाे छ  ।

    गए राति ९ बजे खसेकाे पहिराेमा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिए।

    अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत् आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिए ।

    निरन्तरको वर्षापछि आएको पहिराेले मेलम्ची भेताङग जोड्ने मोटरबाटोमा पनि क्षति पुगेको छ । यस क्षेत्रमा पैदल हिँड्नसमेत अति डरमर्दो अवस्था रहेको भुजेलले बताए।

    असार १ र त्यसपछिका बाढीपहिराले यस सडकमा यातायातका साधन चलेका छैनन् । पहिरो ठूलो भएको, पुल बगाएको तथा जताततै सडक क्षति भएकाले मर्मतमा समस्या भएको गाउँपालिकाले जनाएको छ ।

  • पाल्पामा पहिरोले ५ घर बगायो, १ जनाको मृत्यु, सिद्धार्थ राजमार्ग अवरुद्ध

    पाल्पामा पहिरोले ५ घर बगायो, १ जनाको मृत्यु, सिद्धार्थ राजमार्ग अवरुद्ध

    रूपन्देही । केही दिनदेखिको वर्षाका कारण खसेकाे पहिरोमा पुरिएर पाल्पाको तिनाउ गाउँपालिका–५ मा बिहीबार एकजनाको मृत्यु भएको छ । पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

    सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदेखोला नजिकै खसेको पहिरोमा चार वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते छन् । हिउँदे खोलामा खसेको पहिरोले ६ घर बगाएको छ । तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पूजा परियारका चार वर्षीय छोरा आरोप बेपत्ता भएका छन् ।

    दोभान प्रहरी चौकीका अनुसार नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ ।

    पहिरोले सिद्धबाबा क्षेत्रमा पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध भएपनि नियमित पानी परिरहेकाले खुलाउने काम शुरू हुन नसकेको प्रदेश ट्राफिक कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए ।

  • भीमदत्त राजमार्गमा पहिरो खस्दा सुदूरपश्चिमका सात जिल्लाको यातायात ठप्प

    भीमदत्त राजमार्गमा पहिरो खस्दा सुदूरपश्चिमका सात जिल्लाको यातायात ठप्प

    पहिराे खस्दा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

    आज बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको स्थानीयवासीले जनाएका छन् ।

    राजमार्ग सञ्चालन गर्न बिहानैदेखि डोजर प्रयोग गरिएका छन । ठूला ठूला ढुङ्गासहित राजमार्गमा पहिरो खसेकाले सञ्चालन हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
    राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रुसँगै मालबाहक सवारीहरु शाहुखर्क वरपर रोकिएको प्रहरीले जनाएको छ ।

    रासस

  • नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

    नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । जेसिभीले ढुङ्गा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक सञ्चालन हुन समय लाग्ने उनले बताए ।

    बुधबार बिहान ९ बजेदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको सडक साँझ ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको थियो । सडकखण्डको सो क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन ।

    सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिरोका कारण सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । पहिराले सयौँ सवारी साधन रोकिएका छन् ।

    गएको सोमबारदेखि वर्षा रोकिँदा सडक सुचारु भएको थियो । तर बुधबारदेखि पुनः वर्षा सुरु भएसँगै पहिरो खसेको हो । वर्षापछिको पहिरोले तनहुँको डुम्रे–बन्दीपुर सडक पनि अवरुद्ध बनेको छ ।

  • पहिरो खस्न नरोकिएपछि नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

    पहिरो खस्न नरोकिएपछि नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो ।

    राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ ।

    शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएँंगै खुलेको थियो । बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ । यस सडकखण्डमा पाँच स्थान पहिरोको उच्च जोखिममा छ । वर्षा मौसममा पहिरोले दुःख दिने गरेको छ ।

  • नारायणगढ-मुग्लिन सडकमा पहिरो खस्ने क्रम रोकिएन, वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

    नारायणगढ-मुग्लिन सडकमा पहिरो खस्ने क्रम रोकिएन, वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

    चितवन । तीन दिनदेखिको वर्षापछि पहिरो खस्ने क्रम जारी रहँदा चितवन ट्राफिक प्रहरीले नारायणगढ-मुग्लिन सडक भएर यात्रा गर्ने तयारी गरेकाहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ । निरन्तरको वर्षाले ठाउँठाउँमा पहिरो खसेपछि दुवैतर्फ सवारीको लामो लाइन लागेको छ ।

    जिल्ला ट्राफिक प्रमुख भगवानराज थापाका अनुसार आज (शनिबार) दिनभर पहिरो हटाउन लाग्ने देखिन्छ । त्यसका लागि वर्षा रोकिनुपर्छ ।

    घुमाउनेमा ठूलो पहिरो झरेको छ । चौध किलो, सेतीदोभान, पाँच किलो, चार किलो, घोप्टेभीर र कुरिनटारमा पहिरो खसेको छ । हिजो विहानैदेखि ४ किलोको पहिरो हटाउने काम बेलुका ५ बजेतिर सकेर एकतर्फी सवारी सुरु गरेको २ घण्टामै पुनः सोही ठाउँमै पहिरो खसेको थियो ।

    पहिरो हटाउन ५ वटा जेसीबी प्रयोग भएका छन् । फेरि पहिरो नखसे एकतर्फी सडक सुरु गर्न कम्तिमा ७ घण्टा लाग्ने थापाले बताए । काठमाडौं जानेआउने वैकल्पिक सडकका रुपमा हेटौडा–कुलेखानी–दामन–नौविसे, हेटौडा–भैंसे–फर्पिङ दक्षिणकाली वाइपास सडक छन् ।

    यी सडक करिब ४५ किलोमिटर दुरी लामो वाइपास सडक हुन् । यहाँ ससाना गाडीमात्रै चल्न सक्छन् । यस्तै लामोदुरीका सवारीका लागि भने हेटौडा–पथलैया–वर्दिबास–सिन्धुलीनिस्केर बनेपा जान सकिने छ । पूर्वबाट आउने सवारीहरु बद्र्रिबासबाटै सिन्धुली निस्केर बनेपा पुग्न सक्नेछन् । बुटवल, भैरहवाका सवारी पोखरा निस्केर तनहुँहुदै मुग्लिन निस्केर काठ्माडौं जान सक्नेछन् ।

  • पहिरोले सिद्धार्थ राजमार्गको ५० मिटर पक्की सडक बगायो

    पहिरोले सिद्धार्थ राजमार्गको ५० मिटर पक्की सडक बगायो

    रुपन्देही । अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डमा ५० मिटर पक्की सडक नै बगाएको छ ।

    पहिरोले पाल्पा-बुटवल सडकखण्डको तानसेन नगरपालिका-८, गौडेपुल नजिकै करिब ५० मिटर सडक बगाएको हो । पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजनका सूचना अधिकारी शिव खत्रीले जानकारी दिए ।

    डुम्रे खोलामा बहाव बढेको र माथिबाट खसेको पहिरोले राजमार्गको जगैबाट बगाएको छ । यही स्थानमा अघिल्लो वर्ष पहिरो खसेको खसेको थियो ।

    यो राजमार्ग मंगलबार बेलुकीदेखि नै अवरुद्ध भएको छ । सडकमा वर्षा नरोकिएकाले सडक डिभिजनले ठूला उपकरण लगाएर काम गर्न सकिएको छैन । मंगलबारदेखि राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधनका चालक र सहचालक अलपत्र छन् ।

  • यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रत्यक्ष प्रभावित हुने

    यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रत्यक्ष प्रभावित हुने

    काठमाडौं । सरकारले यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रभावित हुने अनुमान गरेको छ । बाढी र पहिरो दुवै प्रकारको विपदबाट १६ लाख ८७ हजार ४ सय ९७ घर परिवार प्रभावित हुने अनुमान राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणले गरेको हो ।

    नेपालमा वर्षेनी बाढी पहिरो लगायतका विपदमा परी सयौंको मृत्यु हुने गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक दशकमा ७ सय ५२ जनाको बाढीजन्य घटनामा परेर मृत्यु भएको छ । १ हजार ५ सय ४ वटा बाढीको घटनामा परेका ४ सय ७७ जना अझैं वेपत्ता रहेका छन् ।

    एक दशकको तथ्यांक हेर्दा २०७४ सालमा सबैभन्दा बढी २ सय ३८ बाढीका घटनामा १ सय ६६ जनाको मृत्यु भएको थियो । २०७० र ०७१ मा दुवै वर्ष समान १ सय ३३ जना वेपत्ता भएका थिए ।

    स्थायी र अस्थायी नदीका लागि भौगोलिक प्रणालीमा आधारित बाढी विश्लेषण अनुसार बाढीबाट १६ लाख ८७ हजार ४ सय ८० घरपरिवार प्रभावित हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार सबैभन्दा बढी सुनसरीमा ४ लाख ५ हजार ५ सय १० घरपरिवार प्रभावित हुनेछन् भने दोस्रोमा रौतहटमा १ लाख ६८ हजार ८ सय ३७ घरपरिवार प्रभावित हुनेछन् ।

    तेस्रोमा कञ्चनपुरमा १ लाख ७ हजार ६ सय ४५, चौथोमा सर्लाहीमा १ लाख ४ हजार ६ सय ५६ जना घरपरिवार र पाचौँमा सिराहामा १ लाख २ हजार १ सय २८ घरपरिवार प्रभावित हुनेछन् ।

    विभिन्न जिल्लामा भारनयोग विधि प्रयोग गरेर निकालिए अनुसार पहिरोबाट मात्र १ लाख १७ हजार २ सय १७ घरपरिवार प्रभावित हुने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकरणले जनाएको छ ।

    जसमा सबैभन्दा बढी दोलखाका ८ हजार २ सय ९५ घरपरिवार प्रभावित हुनेछन् भने दोस्रोमा सिन्धुपाल्चोकका ६ हजार ६ सय १३ जना घरपरिवार प्रभावित हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए उनका अनुसार तेस्रोमा बाजुराका ६ हजार १ सय ४१, चौथोमा धादिङका ६ हजार ३८ र पाँचौंमा प्यूठानमा ४ हजार ४ सय ५८ जना प्रभावित हुनेछन् ।

    विगत ९ वर्षको अवधिमा पुर्ण तथा आंशिक गरेर १ अर्ब ६ करोड ३४ लाख ९५ हजार २ सय ४९ बराबरको अनुमानित क्षति भएको जनाइएको छ । जसमा ११ हजार ८२ घर पूर्ण रुपमा क्षति भएका छन् भने ४१ हजार ८ सय २७ घर आंशिक रुपमा क्षति भएका छन् । दुवै गरेर ५२ हजार ९ सय ९ वटा घरमा क्षति पुगेको छ ।

    पछिल्ला १० वर्षमा मुलुकभर बाढीबाट २ लाख ७३ हजार ७ सय ७६ जना प्रभावित भएका पनि प्राधिकरणले जनाएको छ । औषतमा सबैभन्दा बढी महोत्तरीमा १ लाख १ हजार ३ सय ७ जना प्रभावित भएका छन् भने दोस्रोमा मोरङमा ३४ हजार ८ सय ७७ जना प्रभावित भएका छन् ।

    विपद व्यवस्थापन कोषमा करिब १ अर्ब

    यस वर्षको मनसून आपत्कालीन कार्यका लागि पूर्वतयारी तथा प्रतिकार्यका लागि सातै प्रदेशका विपद व्यवस्थापन कोषमा करिव १ अर्ब जम्मा रहेको छ । प्राधिकरणका अनुसार ७ वटै प्रदेशको जोड्दा ९९ करोड ९० लाख ५८ हजार ५ सय ६२ रुपैयाँ मौज्दात रहेको छ ।

    जसमा सबैभन्दा बढी प्रदेश २ मा ४५ करोड ६९ लाख ९ हजार ४ सय ७९ रुपैयाँ जम्मा रहेको छ भने दोस्रोमा बागमती प्रदेशमा २५ करोड ४८ लाख ८४ हजार ६ सय ३३ रुपैयाँ जम्मा छ । यस्तै क्रमशः लुम्बिनी प्रदेशमा १० करोड २ लाख २४ हजार १ सय ९४,प्रदेश नं १ मा ६ करोड ४९ लाख ८३ हजार ७ सय ८७, सुदूरपश्चिम प्रदेशमा ६ करोड ३१ लाख ७४ हजार ११, गण्डकी प्रदेशमा ३ करोड ४२ लाख ५० हजार १ सय ६४ र कर्णाली प्रदेशमा २ करोड ४६ लाख ३२ हजार २ सय ९४ रुपैयाँ मौज्दात छ ।

    ९ जिल्लाका ३६ स्थानीय तहमा पूर्व सूचना प्रणाली विकास

    प्राधिकरणका अनुसार सिन्धुपाल्चोक, गोरखा, रसुवा, जाजरकोट, दैलेख, कालीकोट, स्याङ्जा, म्याग्दी, बाग्लुङ्ग गरी ९ जिल्लाका अति जोखिमयुक्त ३६ स्थानीय तहमा पहिरो प्रभावमा आधारित मनसुन पूर्व सुचना प्रणालीको विकास गर्न सुरुवात गरिएको छ ।

    अहिलेसम्म वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही शहरी क्षेत्रका १ सय ५५ वटा स्वीकृत खुला क्षेत्र र समुदायले प्रयोग गरिरहेका अन्य सामान्य १ सय ९१ खुला स्थानको अभिलेखलाई प्रणालीमा ल्याइएको छ ।

  • इण्डोनेसिया र पूर्वी टिमोरमा बाढी-पहिरोका कारण ५० बढीको मृत्यु

    इण्डोनेसिया र पूर्वी टिमोरमा बाढी-पहिरोका कारण ५० बढीको मृत्यु

    एजेन्सी । इण्डोनेसिया र पूर्वी टिमोरमा आइतबार अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

    लगातार भइरहेको भारी वर्षाका कारण तटबन्धहरुमा पानी ओभरफ्लो भएर थुप्रै टापूका हजारौं घर जलमग्न भएका छन् ।

    बाढी र पहिरोका कारण इण्डोनेसियाको पूर्वी क्षेत्र फ्लोर्स टापूदेखि छिमेकी देश पूर्वी टिमोरसम्म नराम्ररी प्रभाविक भएका छन् ।

    इण्डोनेसियाको आपतकालीन उद्दार एजेन्सीका प्रवक्ताका रादित्य जातीका अनुसार चार उप–जिल्ला र सात गाउँमा बाढीको नराम्रो असर परेको छ । ‘प्रभावित क्षेत्रमा रहेका हाम्रो टिमको जानकारी अनुसार अहिलेसम्म ४१ जनाको मृत्यु भएको छ र २७ जना अझै हराइरहेका छन् । ९ जना घाइते छन्,’ उनले भने ।

    तर पूर्वी फ्लोर्स राज्यका अधिकारीहरुले आफ्नो क्षेत्रमा कम्तिमा ६० जनाको निधन भएको बताएका छन् । राष्ट्रिय सरकारले यसको पुष्टि गरेको छैन ।

    उता पूर्वी टिमोरको राजधानी जिलीमा बाढीका कारण कम्तिमा ११ जनाको निधन भएको छ ।