Tag: पशुपतिनाथ

  • पशुपतिनाथमा रातभर धनुर्मास पूजा, आज मन्दिर बन्द

    पशुपतिनाथमा रातभर धनुर्मास पूजा, आज मन्दिर बन्द

    काठमाडौं । प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ । धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण पनि सहभागी हुने विधि छ ।

    पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धुप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ । धनुर्मास पूजाका क्रममा अमालकोट कचहरीका तर्फबाट खिचडी भोग दिइएको द्वारे पूर्ण डङ्गोलले जानकारी दिए ।

    पशुपतिनाथमा महाभोगका लागि ब्राह्मणले दुईवटा खँडकुलामा खिचडी बनाउँछन् । एउटामा सख्खरसहितको र अर्कोमा चिनीसहितको खिचडी बनाउने गरिन्छ । अरु बेलामा पशुपतिनाथमा लगाइने भोगमा नुनिलो सामग्री हुन्छ ।

    आज गुलियो र चिल्लो सामग्री चढाउने विधि रहेको पशुपति क्षेत्रका मूर्त अमूर्त संस्कृतिका बारेमा विशेष खोज गरिरहेका कर्मचारी बरुण खतिवडाले जानकारी दिए । पुस महिनाभर सूर्यनारायण धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा बढी भीडभाड नहुने दिनको साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।

    चान्द्रमास र सौरमास दुवै पुस महिनामा पारेर धनुर्मास पूजाको साइत निकालिन्छ । पहिले पुस महिनामा नौपटकसम्म धनुर्मास पूजा गर्ने गरिएकामा त्यो परम्परा अहिले लोप भइसकेको छ । त्यसबेला भक्तजनले पनि आफ्नो खर्चमा पनि धनुर्मास पूजा गर्न पाउँथे । यो परम्परा पनि अहिले लोप भइसकेको छ । धनुर्मास पूजा गर्नुअघि सोमबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो ।

    बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।

    सोमबार रातभर धनुर्मास पूजा गरेपछि आज पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । आज बिहानैदेखि बेलुकीसम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गरिन्छ । बिहान १२ बजेसम्म एउटा ढोका भने खोलिन्छ । उपवासका दिन बिहानै महादेव कैलाश एवं शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने धार्मिक विश्वाससमेत परम्परादेखि रहेको छ । यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाउने परम्परा सुरु भएको हो ।

    महादेवडाँडामा घाम तापेर बस्ने विश्वासमा कैलाशमा दिनभर खिचडी बनाएर खाने परम्परा भने विगत १६ वर्षदेखि लोप भएको खोजकर्ता खतिवडा बताउनुहुन्छ । बेलुकी भने महादेव कैलाश, शिवपुरी डाँडाबाट घाम तापेर फर्कने विश्वासमा नियमित आरती गरिन्छ । बुधबार बिहानदेखि भने नियमित पूजा आराधना गरी भक्तजनका लागि मन्दिर खुलाइने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।रासस

  • साउनको अन्तिम सोमबार पशुपति परिसरमा भक्तजनको भीड (तस्बिर र भिडियो)

    साउनको अन्तिम सोमबार पशुपति परिसरमा भक्तजनको भीड (तस्बिर र भिडियो)

    काठमाडौं । कोरोना महामारीका कारण देशको प्रमुख धार्मिकस्थल पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि बन्द छ । मुख्य मन्दिर दर्शन गर्न नपाए पनि पशुपतिनाथको प्रवेशद्वारमा आज थामिनसक्नुको भीड थियो ।

    आज साउन महिनाको अन्तिम सोमबार । यसपल्ट साउनमा पाँच सोमबार परेकाले विशेष रुपमा मनाइँदै थियो । त्यसबाहेक अन्तिम सोमबार विशेष पूजा गरी साउनको व्रत सम्पन्न गनुपर्ने भएकाले पनि मन्दिरपरिषरमा व्रतालुहरुको भीड लागेको हो ।

    कोरोना संक्रमणको दर बढिरहेको स्थितिमा स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गर्नुपर्नेमा आनवश्यक भीडले संक्रमणको जोखिम बढाएको छ । भीडमा कतिपयले मास्कसमेत लगाएका थिएनन् ।

  • पशुपतिमा शिवरात्रिको रौनक (तस्बिरहरु)

    पशुपतिमा शिवरात्रिको रौनक (तस्बिरहरु)

    काठमाडाैं । महाशिवरात्रिको दिन आज पवित्र पाशुपत क्षेत्रमा दर्शनार्थीको भीड लागेको छ । सम्भावित कोरोना जोखिमको परबाह नगरी हजारौं दर्शनार्थी पशुपतिनाथ मन्दिर पुगेका छन् ।

    आज पशुपतिका चारै ढोकाहरु खुला गरिएका छन् । अघिल्ला वर्षहरुको तुलनामा यसपल्ट दर्शनार्थीहरुको चाप कम रहेको देखिएको छ ।

    यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    मित्रपार्क-गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली-गौशाला, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल-तिलगङ्गा, पिङ्गलास्थान-सुमार्गीभवन अगाडिबाट चार शिवालय-पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्नसक्ने व्यवस्था गरिएको जनाएको छ ।

    अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना बनाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

    आवश्यकताअनुसार तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन÷तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ ।

             
  • कोरोनाले शिवरात्रिको रौनक कम, सजावटमा पनि अल्छी गर्‍यो कोषले

    कोरोनाले शिवरात्रिको रौनक कम, सजावटमा पनि अल्छी गर्‍यो कोषले

    काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति मन्दिरमा यसपालि पहिलेजस्तो रौनक छैन । बाबाजीहरु कम संख्यामा छन् भने भक्तजनको चहलपहल पनि न्यून छ ।

    कोरोनाको महामारी अझै नसकिएकाले भारत तथा तेस्रो मुलुकबाट आउने बाबा तथा साधुहरूको संख्या घटेको हो । पशुपति क्षेत्र र थापाथलीमा विगतमा जति साधुसन्त महाशिवरात्रि मनाउन नआएको कोषले जनाएको छ ।

    शिवरात्रिमा भारत तथा तेस्रो मुलुकबाट आउने भक्तजनको पनि चहलपहल नभएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए ।

    ‘गत वर्षमा पाँच हजार साधुसन्त आएकोमा यसपालि अहिलेसम्म १ हजार जना मात्रै आइपुगेका छन् । बेलुकासम्म केही थपिन्छन् होला’, उनले भने ।

    कोषले शिवरात्रिलाई लक्षित गर्दै पशुपति मन्दिर क्षेत्रमा गत वर्ष विशेष सजावट गरेको थियो । तर, यसपटक भने जाँगर देखिएको छैन । मन्दिरमा मात्रै सजावट गरिएको छ ।

    पशुपति क्षेत्रमा दर्शनार्थीको भीड हुने भएकाले सवारी साधनलाई वैकल्पिक व्यवस्था गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । चाबहिल, गौशाला, एअरपोर्ट क्षेत्रको ट्राफिक प्रभावित हुने बताइएको छ ।

    महाशिवरात्रिको तयारीस्वरूप आज बिहान पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा सरसफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले गठन गरेको वातावरण सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमितिको आयोजनामा आज बिहान सफाइ गरिएको हो ।

    पशुपति क्षेत्रमा कानूनले मदिरा, गाँजा तथा लागूपदार्थ निषेध गरेकाले यस्ता पदार्थको बिक्री-वितरण र सेवनमा रोक लगाइएको छ ।

    ढकालका अनुसार कोषले स्वास्थ्य मापदण्डहरूलाई प्रभावकारी बनाउन उपसमितिको गठन गरी कार्यविभाजन समेत गरेको छ । शिवरात्रिका लागि १० हजार सुरक्षाकर्मी खटाइएको छ भने स्वयम्सेवक समेत परिचालन गरिने भएको छ ।

    यस्तो छ कोरोनाको सतर्कता

    कोषका अनुसार शिवरात्रिमा दर्शन गर्न आउने भक्तजनहरुका लागि कोरोनासम्बन्धी सतर्कतामा खासै कडाइ गरेको छैन । कोषका प्रचारप्रसार समिति सचिव रेवतिरमण अधिकारीले दर्शनार्थीलाई सामाजिक दूरी कायम गर्न आग्रह गरिएको भए पनि व्यवहारमा सम्भव नहुने बताए ।

    उनले नेपाल प्रेससँग भने,‘हामीले आग्रह गरेका छौं, व्यवहारमा कति सम्भव छ त्यो पनि हेर्नुपर्‍यो । सोमबार र शनिबार त खचाखच गरेर भित्र गइराख्नुभएको हुन्छ । खासै व्यवस्थापन गर्न सक्दैनौ । भोलि त झन् भीडभाड भइ नै हाल्छ ।’

    उनले पशुपति आउने दर्शनार्थीलाई मास्क भने अनिवार्य गरिएको बताए ।

    ‘मास्क नभएकालाई भित्र छिराउँदैनौं । स्यानिटाइजर हामीले प्रवेशद्वारमा राखेका हुन्छौं। दर्शनार्थीले पनि आफ्नो सुरक्षा गर्नुपर्‍यो नि । त्यसैको लागि स्यानिटाइजर पनि आफ्नो साथमा राख्नको लागि अनुरोध गर्छौं’, उनले भने ।

    गत वर्षभन्दा यस वर्ष चहलपहलमा निकै कमी आएको उनको अनुभव छ ।

    अधिकारीले थपे, ‘पोहोरजस्तो अलि भीडभाड नहोला । पोहोर प्रचार पनि थियो सजिसजावट पनि थियो । यसपालि हामीले कोभिड र अन्य कारणले सजावट गर्न सकेनौं ।’

  • जलहरीबारे ओलीको स्पष्टीकरण- मैले श्रीमतीलाई बुलाकी हाल्देको होइन

    जलहरीबारे ओलीको स्पष्टीकरण- मैले श्रीमतीलाई बुलाकी हाल्देको होइन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको विषयमा पहिलोपटक सार्वजनिक रूपमा जवाफ दिएका छन् ।

    झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै उनले चाँदीको जलहरी खिइएर सकिएपछि सुनको हालिएको बताए ।

    ओलीले भने, ‘पशुपतिनाथ मन्दिर हिन्दूहरूको आस्थाको थलो हो । सनातन हिन्दू, आदि योगगुरु, आदि योगी, विश्वको सबैभन्दा पुरानो दर्शन, सभ्यताको शुरूआत भगवान शिवबाट भएका हो ।’

    जलहरीबारे उनले भने, ‘नेपाली जनताले मानेको भगवान शिवलाई चाँदीको जलहरी उहिले कुन जमानामा बनाइएको रहेछ । त्यो खिइँदा-खिइँदा सकियो । पाप्रो मात्रै छ । त्यो ठाउँमा १०८ किलो सुनको जलहरी दिइयो । भ्रष्टाचार गरेर कसैलाई दिएको हैन । पशुपतिनाथलाई दिएको हो ।’

  • राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा क्षमापूजा (तस्बिरहरू)

    राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा क्षमापूजा (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा क्षमापूजा गरेकी छिन् ।

    पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि गरिएको क्षमापूजामा राष्ट्रपति सहभागी भएकी हुन् । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ ।

    राष्ट्रपतिले आज क्षमापूजा गरेपछि जलहरी राखिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    पशुपति क्षेत्रमै कालिगड राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ । मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ ।

    सुनको जलहरी बनाउन १०८ किलो सुन लाग्नेछ । गत माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न ३० करोड बजेट व्यवस्थाको घोषणा गरेका थिए ।

              
  • पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    रासस । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ ।

    वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेका हुन्।

    नेपालको संविधान, कानूनको मर्म र भावनाविपरीत सरकारले सुनको जलहरी राख्ने काम गरेको र अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्ने काम गरेको रिटमा उल्लेख छ ।

    नेपालको संविधानविपरीत कार्य तत्काल प्रतिषेध गरी निर्णय बदर गर्न माग गरिएको छ । मन्त्रिपरिषद्को बैठकले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।

     

  • नारायणकाजीको स्पष्टीकरण-पशुपतिनाथबारे हाम्रा नेताको भनाइ तोडमोड गरियो (भिडियो)

    नारायणकाजीको स्पष्टीकरण-पशुपतिनाथबारे हाम्रा नेताको भनाइ तोडमोड गरियो (भिडियो)

    काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाले पशुपतिनाथ र हिन्दू धर्मका विषयमा आफ्ना नेताहरुको भनाइलाई बंग्याइएको भन्दै आपत्ति जनाएको छ । सो पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतवार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पशुपतिनाथ र जनताको धार्मिक आस्थाप्रति सम्मान रहेको बताए ।

    श्रेष्ठले भने, ‘पशुपतिनाथ विश्वभरिका हिन्दूहरूको आराध्यदेव र आस्थाको केन्द्र हो । त्यसको हामी सम्मान गर्छौं र जनताको धार्मिक आस्थाको पनि सम्मान गर्छौं । हाम्रा नेताहरूको प्रस्तुतिलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथजस्तो धार्मिक संस्थालाई संकीर्ण राजनीतिक स्वार्थका लागि उपयोग र तुच्छ स्वार्थका लागि दुरुपयोग नगर्न अनुरोध छ ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि पशुपतिनाथमा पुगेर पूजा अर्चना गरी सुनको जलहरी लगाउने घोषणा गरेपछि प्रचण्ड-माधव पक्षले ओलीले धर्मनिरपेक्षता त्यागेको आरोप लगाएको थियो । माघ २८ गतेको काठमाडौंकाे आमसभामा अधिकांश वक्ताले ओलीको पशुपतिनाथ भ्रमणबारे कडा टिप्पणी गरेका थिए ।

    रघुजी पन्तले २०५८ मा राजा वीरेन्द्रले पशुपतिमा क्षमापूजा गर्दा वंशनाश भएको प्रसंग निकाल्दै ‘ओलीको के हुने हो ?’ भनी प्रश्न गरेका थिए । विश्व हिन्दू महासंघलगायतका संस्थाले नेताहरूको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै हिन्दू धर्म र पशुपतिनाथको अपमान गर्नेलाई बहिस्कार गर्न आह्वान गरेकै बेला प्रवक्ता श्रेष्ठले यस्तो स्पष्टीकरण दिएका हुन् ।

    संघर्षका कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्न सकिएपछि उनले आफैं समय लिएर पशुपतिनाथबारे स्पष्टीकरण दिएका हुन् ।

  • माधवनारायण मेलाका व्रतालु पशुपतिमा, आर्यघाटमा शवदाह रोकियो

    माधवनारायण मेलाका व्रतालु पशुपतिमा, आर्यघाटमा शवदाह रोकियो

    पौष शुक्ल पूर्णिमाबाट शुरु भएको माधवनारायण मेलाका ब्रतालुहरु पशुपतिनाथमा आइपुगेका छन् । नेपाल संवतको आठौँ शताब्दीदेखि एकमहिने यो मेला शुरु भएको थियो ।

    हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला देशभरका पवित्र नदी तलाउ र घाटहरुमा पनि लाग्ने गरेको छ ।

    आराध्यदेव पशुपतिनाथमा भक्तालुहरुले विहानै वागमतीमा स्नान गरेर माधवनारायणको व्रत बसेका छ । माधवनारायणको व्रत बसेका भक्तालुहरु आज विहान पशुपतिनाथ पुगेपछि आर्यघाटमा शवदाह कार्य बन्द गरिएको छ । भष्मेश्वरतर्फ भने शव जलाइन्छ ।

  • माधवनारायण मेलाका व्रतालु पशुपतिमा, आर्यघाटमा शवदाह रोकियो (तस्बिरहरु)

    माधवनारायण मेलाका व्रतालु पशुपतिमा, आर्यघाटमा शवदाह रोकियो (तस्बिरहरु)

    काठमाडौं । पौष शुक्ल पूर्णिमाबाट शुरु भएको माधवनारायण मेलाका ब्रतालुहरु पशुपतिनाथमा आइपुगेका छन् । नेपाल संवतको आठौँ शताब्दीदेखि एकमहिने यो मेला शुरु भएको थियो ।

    हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला देशभरका पवित्र नदी तलाउ र घाटहरुमा पनि लाग्ने गरेको छ ।

    आराध्यदेव पशुपतिनाथमा भक्तालुहरुले विहानै वागमतीमा स्नान गरेर माधवनारायणको व्रत बसेका छ । माधवनारायणको व्रत बसेका भक्तालुहरु आज विहान पशुपतिनाथ पुगेपछि आर्यघाटमा शवदाह कार्य बन्द गरिएको छ । भष्मेश्वरतर्फ भने शव जलाइन्छ ।

    माधवनारायणका व्रतालु बुधबार साँझ पशुपति आइपुगेका थिए । उनीहरु बिहीबार बजे पशुपतिबाट प्रस्थान गर्छन् । उनीहरु पशुपति आएदेखि नफर्किएसम्म आर्यघाटमा शव जलाउन रोकिने प्रचलन छ । विहीबार उनीहरुलाई पशुपतिको दर्शन गराइन्छ ।

    विगतका वर्षमा करिब ४०० ले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ लाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । ३५ महिला र १४ पुरुष गरी ४९ यसपटक व्रतमा सहभागी भएका थिए ।

              

     

     

     

  • नौ महिनापछि खुल्यो पशुपति मन्दिर

    नौ महिनापछि खुल्यो पशुपति मन्दिर

    कोरोना भाइरसका कारण २०७६ चैत ११ गतेदेखि बन्द भएको पशुपतिनाथको मन्दिर आजदेखि भक्तजनकाल लागि खुला गरिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको सुरक्षा मापदण्ड पालना गरेर मन्दिर खोलिएको हो । मन्दिर प्रवेश गर्दा २ मिटरको दुरी राख्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने नियमको व्यवस्था गरिएको छ ।

  • पशुपतिमा आज क्षमा पूजा, भोलिदेखि दर्शनार्थीका लागि खोलिने

    पशुपतिमा आज क्षमा पूजा, भोलिदेखि दर्शनार्थीका लागि खोलिने

    काठमाडौं । कोरोना भाइरसको महामारी सुरु भएसँगै देशव्यापी लकडाउनपछि बन्द रहेको आरध्यदेव पशुपतिनाथ मन्दिरमा आज क्षामा पूजा हुँदैछ ।

    प्राचीनकालदेखि नियमित पूजा हुँदै आएको मन्दिरमा लामो समयदेखि बन्द हुँदा क्षामा पूजा गर्न लागिएको हो ।

    पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डाक्टर प्रदीप ढकालले क्षमा पूजापछि बुधबारदेखि नागरिक स्वास्थ्य सुरक्षा मापदन्ड अपनाएर भोलि (बुधबार)देखि दर्शनार्थीका लागि खोलिन लागिएको जानकारी दिए ।

    बुधबारदेखि मन्दिरको पश्चिम ढोकामात्र खोलिनेछ । सोही ढोकाबाट प्रवेश गर्ने र त्यहीँबाट बाहिर निस्कने व्यवस्था गरिएको छ ।

    मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन ।

    नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो ।

    महामारी लगायत कारण यति लामो समय पशुपतिनाथ मन्दिर बन्द रहेको इतिहास वंशावली लगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि शोध गरेका कोषका पूर्व सदस्यसचिव डाक्टर गोविन्द टण्डनले बताए।