Tag: पल्सर स्पोर्ट्स अवार्ड

  • मन्देकाजी र गौरिका सर्वोत्कृष्ट, अरुणा पपुलर

    मन्देकाजी र गौरिका सर्वोत्कृष्ट, अरुणा पपुलर

    काठमाडौं । कराँतेका मन्देकाजी श्रेष्ठ र पौडीकी गौरिका सिंह एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । ललितपुरको सातदोबाटोस्थित कराँते हलमा मंगलबार यसवर्षको अवार्ड प्रदान गरियो । गौरिकाले काठमाडौंमा सम्पन्न १३ औं सागमा ४ स्वर्णसहित ९ पदक जितेकी थिइन् ।

    पुरुषतर्फ वर्ष खेलाडी बनेका मन्देकाजीले १३ औं सागमा दुई स्वर्ण जितेका थिए । गौरिकाले कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायलथनकी सोनी गुरुङलाई पछि पारिन् । मन्देकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपिचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई उछिने ।

    राष्ट्रिय भलिबल टीमकी कप्तान अरुणा शाहीले भने पिपुल्स च्वाइस अवार्डमा बाजी मारिन् । नागरिकको भोट तथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतबाट अरुणाले अवार्ड जितिन् ।

    यस विधामा अरुणाले पौडीकी गौरिका सिंह, कराँतेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारिन् । २७ वर्षिया अरुणाले ३७.५२५ मत प्राप्त गरिन् ।

    गल्फर सुवास तामाङले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । सुवासले १३ औं दक्षिण एसियाली खेलकुद सागमा दुई स्वर्ण जितेका थिए । तेक्वान्दोका प्रशिक्षक नवीनकुमार श्रेष्ठले उत्कृष्ट वर्ष प्रशिक्षकको अवार्ड जिते । उनको प्रशिक्षणमा तेक्वान्दोबाट साग खेलेका २९ खेलाडीले पदक जितेका थिए ।

    तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत स्पेसल अवार्ड पाए । आयशा र सन्तोषीले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तराष्ट्रिय अवार्ड जितेका थिए।

    नेपाली राष्ट्रिय महिला भलिबल टीमले टीम अफ दी इयर अवार्ड प्राप्त गर्न सफल रह्यो । महिला भलिबल टीमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड जितेको थियो ।

    पूर्व टेबलटेनिस खेलाडी गीता क्षेत्री र सिजरिन शाहले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरे । सन् असीको दशकमा यी दुई पाका खेलाडीले सर्वकालिन गौरवको उपलब्धी हात पारे । सन् १९९१ को पाँचौ दक्षिण एसियाली खेलकुदमा प्राप्त दुई स्वर्ण यी दुईको नाममा रह्यो ।

    पारा खेलाडी डिगम सिंह चेम्जोङले पारा एथलिट सम्मान प्राप्त गरेका छन् । मलेसियाका खेल पत्रकार अहमद खवारी इशाले एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड प्राप्त गरे ।

    वर्ष पुरुष, महिला प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गरेका छन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।

  • १० विधामा पल्सर स्पोर्ट्स अवार्ड प्रदान गरिने, पिपुल च्वाइस विधाको मनोनयन सार्वजनिक

    १० विधामा पल्सर स्पोर्ट्स अवार्ड प्रदान गरिने, पिपुल च्वाइस विधाको मनोनयन सार्वजनिक

    यसवर्षको पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा खेलाडी र खेलकर्मीलाई प्रदान गरिने भएको छ । आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले विज्ञप्ती जारी गर्दै पुस २८ गते अवार्ड प्रदान गर्ने जनाएको हो ।

    पुरुष र महिलातर्फ वर्षकै उत्कृष्ट खेलाडी, युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन भने केही दिनमा सार्वजनिक गरिने भएको छ । दीर्घसाधना सम्मान, पारा एथलिट, स्पेसल अवार्ड र टीम अफ दी इयर अवार्ड २८ गते नै घोषणा गरिने भएको छ ।

    उत्कृष्ट पुरुष तथा महिला, पिपुल च्वाइस र प्रशिक्षक विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ । यसपटक एकजना अन्तराष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गरिने भएको छ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।

    यसपटक अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द्र एन्ड कम्पनी प्रालि रहेको छ । मंचले डिजिटल पेमेन्ट पार्टनरको रुपमा इ–सेवासँग सहकार्य गरेको छ । अवार्डमा इ–सेवा भोटिङ ५० प्रतिशत रहने भएको छ ।

    पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपुल्स च्वाइस विधातर्फ पौडीकी गौरिका सिंह, भालिबलकी अरुणा शाही, कराँतेका मन्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनयन भएका छन् । भोटिङको आधारमा यो विधामा विजेता घोषणा गरिनेछ ।