Tag: पर्यटनमन्त्री ढकाल

  • आन्तरिक पर्यटन प्रवर्द्धनमा लाग्न कर्मचारीलाई मन्त्री ढकालको निर्देशन

    आन्तरिक पर्यटन प्रवर्द्धनमा लाग्न कर्मचारीलाई मन्त्री ढकालको निर्देशन

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले आन्तरिक पर्यटन प्रवर्द्धनमा लाग्न निर्देशन दिएका छन् ।

    मंगलबार पर्यटन विभाग र पर्यटन बोर्डको कामको बारेमा जानकारी लिंदै मन्त्री ढकालले आन्तरिक पर्यटन प्रवर्द्धनको काममा जोड दिन निर्देशन दिए ।

    कोरोनाका कारण विदेशी पर्यटकको चहलपहल तत्काल नहुने भएकाले आन्तरिक पर्यटन प्रवर्द्धनमा काम गर्नुपर्ने बताए ।
    उनले कोरोनाका कारण नेपाल भ्रमण वर्ष २०२० नै स्थगित गर्नुपर्ने अवस्था आएको भन्दै उनले व्यवसायीका समस्या समाधानका लागि आफू सहयोगी हुने बताए ।

    उनले विभाग र बोर्डको गतिविधि प्रभावकारी बनाउनका लागि गठन आदेश, कार्यविधि, नियमावलीमा केहीमा संशोधन गर्नुपर्ने भए त्यसका लागि आफू सकारात्मक रहेको बताए । उनले सानातिना नीतिगत समस्या परेका कारण काम हुन नसकेको भए त्यसका लागि आफूले निर्णायक सहयोग गर्ने बताए ।

    कर्मचारीलाई आफूले आफ्नै मूल्यांकन गर्दा समेत उत्कृष्ट काम गर्न अनुरोध गर्दै मन्त्री ढकालले भने ‘सधैंभरि सबैले अवसर पाउँदैनन्, अवसर पाएको समयमा राष्ट्रका लागि जति सकिन्छ त्यति राम्रो काम गरौं । आफू कार्यरत संस्थाको सर्वोपरि हितका निम्ति काम गर्नुपर्छ ।’

    सो अवसरमा मन्त्रालयका सचिव यादव कोइरालाले बोर्डका कर्मचारीले पर्यटन प्रवर्द्धनका नाममा विदेश घुम्ने काम गर्ने गरेको तर त्यसमा गरिएको खर्च अनुसार के उपलिब्ध भयो भन्ने समीक्षाको विषय रहेको बताए ।

    कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले संस्थाको गतिविधि र संरचानाको बारेमा जानकारी गराएका थिए ।

  • मन्त्री फेरिंदा झस्किनुपर्दैन, सबैको अभिभावकत्व ग्रहण गर्नेछु: पर्यटनमन्त्री ढकाल

    मन्त्री फेरिंदा झस्किनुपर्दैन, सबैको अभिभावकत्व ग्रहण गर्नेछु: पर्यटनमन्त्री ढकाल

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताएका छन् ।

    शुक्रबार पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री ढकालले सिंहदरबारमा आज पदभार ग्रहण गर्दै मन्त्रालयको कानूनी समस्या सुल्झाउन तत्काल गरिनुपर्ने निर्णय र मन्त्रिपरिषदमा रोकिएका तथा सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्ने विश्वास दिलाए ।

    उनले भने, “मन्त्री फेरिंदा झस्किनुपर्दैन, अनुशासनमा रहेर काम गर्नुस्, सबैको अभिभावकत्व ग्रहण गर्नेछु, म सपना देखाउँदिन परिणाममा विश्वास गर्छु, त्यसैले सपनामा रङ्गिनेभन्दा व्यावहारिक हुनेगरी योजना निर्माण र कार्यान्वयन हुनुपर्छ ।”

    अतिरिक्त सुविधा र सेवाका निम्ति मन्त्रीप्रति कोही व्यक्ति लालायित हुनु नपर्ने उनको भनाइ थियो । स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा कमाउनु आफ्नो राजनीतिक उद्देश्य नरहेकाले मन्त्रालयभित्रका विकास योजना आर्थिक मितव्ययी र पारदर्शी ढङ्गले अघि बढाइनुपर्नेमा उनले जोड दिए ।

    उनले पर्यटन मन्त्रालय मातहत ठूला क्षेत्र, धेरै ठाउँमा थला पर्दै, पारिँदै आएकाले कसरी समाधान गर्ने भन्ने चुनौती रहेको उल्लेख गर्दै सरोकारवालासँग समन्वयात्मक ढङ्गले काम गर्दा नै सफलता हासिल हुने विश्वास व्यक्त गरे ।

    मन्त्री बदलिए पनि सरकार र कार्यनीति बदलिएको छैन भन्दै मन्त्री ढकालले योजना समयमै सम्पन्न गर्ने परिपाटीको विकास गर्न मातहत निकायलाई निर्देशन दिए । उनले मुलुक चुनावी वातावरणमा गएकाले राजनीतिक रङले मन्त्रालयलाई असर नगरोस् भन्नेतर्फ सजग रहेर सेवा प्रवाहलाई चुस्त र पारदर्शी बनाइनुपर्नेमा जोड दिए।

    यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा रहनुभएका मन्त्री ढकाल पर्यटनमन्त्री बन्नुभएको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषदमा नौ सदस्य नयाँ थप गर्दै केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए ।

    मन्त्री ढकालको यो तेस्रो मन्त्रालयको जिम्मेवारी हो । यसअघि करीब १४ महीना कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र पछिल्लोपटक १३ महिना स्वास्थ्यमन्त्री बनेका थिए ।

    कोभिड–१९ महामारीको सामना गर्ने अप्ठ्यारो अवस्थामा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाउँदा शक्तिशाली विकसित ठूला राष्ट्रले दिन नसकेको स्वास्थ्य सेवा जनतालाई दिलाउन सफल भएको र पछिल्लो पटक देशका सबै गाउँपालिकामा स्वास्थ्य सेवा विस्तार गर्नेजस्ता स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति ल्याउने गरी काम भएको उनले उल्लेख गरे ।

    मन्त्री ढकालले स्थायी सरकार बनेपछि राजनीतिक दुर्घटना र पार्टीभित्रको दुर्घटनापछि पर्यटनमन्त्रीको जिम्मेवारीमा आएको पनि उल्लेख गरे । यसअघि पदभार ग्रहण गर्दै मन्त्री ढकालले पहिलो निर्णयका रुपमा सङ्घीय मन्त्रालयका बेरुजु जो जसका नाममा छ तत् निकायलाई नै बेरुजुको लगत हस्तान्तरण गर्ने निर्णय मन्त्रिपरिषदमा लैजाने हस्ताक्षर गरे ।

    पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले देशलाई समृद्धिको दिशामा लैजाने प्रमुख आधार पर्यटन र ऊर्जा क्षेत्र रहेको भन्दै महामारीबाट बढी प्रभावित भएको पर्यटनलाई गतिशील तुल्याई बढीभन्दा बढी अर्थोपार्जन हुनेगरी योजनाबद्ध कार्यक्रम अघि बढाउन मन्त्रालय रणनीतिक रुपमा लागिपर्ने बताए।

    उनले कोभिडपछि नेपालमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउनसक्ने भएकाले सोहीअनुरुप पर्यटकीय पूर्वाधार विकास, उनीहरुको बसाइ लम्ब्याउने जस्ता काममा मन्त्रालयले सहजीकरणको भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

    मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारिताका लागि विशेष ध्यान दिइने पनि उनको भनाइ छ । आयोजनाअन्तर्गत निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छन् ।

    सो अवसरमा मन्त्रालय मातहतका पर्यटन विभाग, पुरातत्व विभाग, क्यान, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), नेपाल पर्यटन बोर्डलगायत संस्थाका प्रमुख एवं प्रतिनिधिले मन्त्री ढकाललाई बधाई ज्ञापन गर्दै आफ्ना गतिविधिबारे जानकारी गराएका थिए ।