Tag: पर्यटक

  • पर्यटन प्रवर्द्धनमा बन्दीपुरको पाइला- २ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको तयारी

    पर्यटन प्रवर्द्धनमा बन्दीपुरको पाइला- २ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको तयारी

    काठमाडौं । बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष मनाउने घोषणा गरेको छ । पहाडकी रानी उपनामले परिचित पर्यटकीय गन्तव्य बन्दीपुर पर्यटन प्रवर्द्धन गर्न कस्सिएको हो ।

    पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ आयोजना गर्न लागिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । यससँगै समृद्ध एवं सु-संस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको सङ्ख्या बढाउन पनि बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको उनले जानकारी दिए ।

    अध्यक्ष थापाका अनुसार पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप चलायमान गराउन बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउन लागेको छ । बन्दीपुरका युवाहरूलाई स्वरोजगारबाट रोजगार सिर्जना गरि त्यही व्यवसाय गर्ने वातावरण निर्माण गर्ने, बन्दीपुरका उत्पादनहरूलाई सोही ठाउँमा उपभोग तथा बिक्री वितरण गर्ने र विदेश पलायन हुनबाट युवालाई रोक्ने पनि भ्रमण वर्षले मद्दत पुर्‍याउने उनको भनाई छ ।

    भ्रमण वर्षलाई सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ जनाको भ्रमण वर्ष सचिवालय समेत गठन गरिसकेको छ । सचिवालयमा होटल संघ, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघलगायतको प्रतिनिधित्व रहेको छ ।

    दुई लाख पर्यटक भित्र्याउने लक्ष्य 

    बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । पर्यटकको सङ्ख्यालाई दोब्बर बनाउने योजना सुनाउँदै संयोजक वैश गुरुङले भने, ‘भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रवर्द्धन गरी पर्यटकको सङ्ख्या दोब्बर बनाउने गरी योजना बनाएका छौँ । भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटक बास बस्ने योजना बनाएका छौँ ।’

    भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक आठ लाख पर्यटकलाई बन्दीपुर घुमाउने लक्ष्य रहेको समेत उनले सुनाए ।

    भ्रमण वर्ष सफल पार्न कूल चार करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ । यो खर्च पर्यटक प्रवर्द्धन, पूर्वाधार निर्माण, पर्यटकीय गतिविधि, तालिमहरू, रैथाने बालीका परिकार बनाउन सिकाउने, आफ्नै उत्पादन गराउन खर्च गरिने उनले जानकारी दिए ।

    बन्दीपुर गाउँपालिकाको मुख्य आम्दानी पनि पर्यटन नै हो । विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पुर्‍याउने समेत लक्ष्य लिएको अध्यक्ष थापाले जानकारी दिए ।

    बसाइ लम्ब्याउन पदमार्गको विकास 

    बसाइ पनि लम्ब्याउनु पर्ने आवश्यक रहेको बताउँदै अध्यक्ष थापाले भने, ‘अहिले बन्दीपुरमा आन्तरिक पर्यटकको बसाई वान नाइट स्टे मात्रै रहेको छ । त्यसलाई तीन दिन पुर्‍याउने लक्ष्य छ । भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन बनाइनेछ ।’

    अहिले विदेशी पर्यटकहरूको बसाइ सरदर एक हप्ता रहेको छ । विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पुर्‍याइने भ्रमण वर्षको लक्ष्य छ ।

    पर्यटकको बसाइ लम्ब्याउनका लागि पर्यटकीय स्थल र पदमार्गको विकास गरिएको छ । बिमलनगर–सिद्धगुफा–गुम्बा–बन्दीपुर, मुग्लिङ–लाब्दि–छिम्केश्वरी–हिलेखर्क–धारगाउँ–बन्दीपुर, बन्दीपुर–रामकोट–रुम्सी–सेरेटार–बन्दीपुर पदमार्ग विकास गरिएको छ । यी सबै पदमार्ग एक दिनको हो । छिम्केश्वरी–मनकामना, गोरखा दरबार–लिपकोट–भानुजन्मस्थान–बन्दीपुर पदमार्गको पनि विकास गरिएको छ । यो पदमार्ग दुई दिनको हो ।

    ‘आसपासमा पालिकाहरुको पर्यटकीय गन्तव्य र पदमार्गको विकास गरेर पर्यटकको बसाइ लम्ब्याउने हाम्रो रणनीति छ’, उनले भने ।

    दैनिक १७ सय पर्यटक राख्ने क्षमता 

    गुरुङका अनुसार हाल बन्दीपुरमा ७५ होटल छन् । यसबाहेक चार वटा होमस्टे (घरबास)का साथै समग्र गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक एक हजार सात सय जना अट्ने क्षमता छ ।

    ‘भ्रमण वर्षमार्फत पर्यटकीय सुविधायुक्त होमस्टे सर्किटको प्रवर्द्धन गरिनेछ । विद्यमान पर्यटकीय केन्द्र र उपजहरूका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरिनेछ’, उनले भने ।

    भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटल तथा रेष्टुरेन्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उनको भनाइ छ ।

    उनका अनुसार भ्रमण वर्षमार्फत सांस्कृतिक सम्पदा संरक्षणसहित यामअनुसारको प्याकेज तयार गरिने तयारी छ । सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटकीय सर्किटको प्रवर्द्धन गरिनेछ । पर्यटकको उमेर र रुचिअनुसारको प्याकेज निर्माण गर्नुका साथै ‘गाउँमै कमाऔँ गाउँमै रमाऔँ’ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता पनि बढाइने लक्ष्य रहेको छ ।

    बन्दीपुर नै भ्रमण किन ? 

    बन्दीपुर नै भ्रमण किन गर्ने भन्ने प्रश्नमा सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङ भन्छन्, ‘यो जीवन्त प्राचिन सहर हो । होमस्टेको सर्किटको अनुभव हुन्छ । मनोरम दृश्य, उमेर अनुसारको प्याकेज, प्रकृति र संस्कृतिको खोज अनुसन्धान गर्न, पदमार्गको अनुभव गर्न, भानुभक्तको जन्मस्थल, धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा सहभागी हुन र रैथाने खानको स्वाद चाख्नलाई पनि एक पटक बन्दीपुर पुग्नै पर्छ ।’

    अध्यक्ष गुरुङका अनुसार बन्दीपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम पनि हो । विसं २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांस्कृतिक सम्पदा र प्राकृतिक मनोरमताले बन्दीपुर प्रसिद्ध छ । बन्दीपुर दमौलीबाट १८ किलोमिटर माथि पर्छ । दमौलीबाट डुम्रे हुँदै आठ किलोमिटर उकालो यात्रा गरेपछि बन्दीपुर पुगिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खला देखिन्छ ।

    बन्दीपुरमा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकको पनि रोजाइमा पर्छ । बन्दीपुरमा अमेरिका, अष्ट्रेलिया, जापान, इटाली, भारत लगायत देशबाट पर्यटक आउने गरेका छन् । हालसम्म आएका पर्यटक हरू पर्याप्त नभएकाले विश्वभर प्रचार गरे पर्यटकको सङ्ख्या बढाउने तयारी रहेको उनले जानकारी दिए ।

    ‘बन्दीपुरलाई नेपालमा मात्रै नभएर विश्वमै यसलाई चिनाउन सकिन्छ भन्ने सोचसहित हामी अगाडी बढेका छौँ । बन्दीपुरलाई पर्यटन हिसाबले विश्वभर स्थापित गराउन लागेका छौँ । यससँगै हामीले पर्यटकको रुची अनुसार प्याकेज बढाइरहेका छौँ’, उनले भने ।

    विधार्थीहरुलाई छुटसहित घुम्न आकर्षित गर्ने तयारी रहेको समेत उनले जानकारी दिए । ‘हामीले पर्यटकको उमेर अनुसारको प्याकेज तयार पारेका छौँ’, उनले भने, ‘विद्यार्थीहरू भविष्यका पर्यटक हुन्छन् । पर्यटक प्रवर्द्धन गर्ने पनि उनीहरूले नै हो । तर, उनीहरू सधैँ पैसाको हाराकारबाट गुज्रिरहेका हुन्छन् । तसर्थ त्यस्ता विद्यार्थीहरूलाई छुटको पनि व्यवस्था गर्नेछौँ ।’

    वि.सं २०६८ सालबाट बन्दीपुरमा सामुदायिक होमस्टेहरूको प्रचलन आएको पाइन्छ । हाल सञ्चालनमा रहेका होमस्टेमा रैथाने उत्पादनको ब्राण्डिङ गराउन लगाइने जानकारी दिँदै उनले अगाडी भने, ‘एक होमस्टेमा एक उत्पादनको नामबाट ब्राण्डिङ गरिनेछ । मानौँ १२ वटा होमस्टे छ भने उनीहरूलाई एक÷एक वटा ब्राण्डिङ गर्न दिइनेछ ।’

    पर्यटकको सांग्रिलाकारुपमा बन्दीपुरलाई स्थापित गर्ने कार्य अगाडी बढाइएको समेत उनले जानकारी दिए । बन्दीपुरमा मूर्त एवम् अमूर्त सांस्कृतिक सम्पदाहरू छन् । तिनीहरूको लेखाजोखा राम्रोसँग हुन सकेको छैन । अद्यावधि, अभिलेखीकरण हुन सकेको छैन । तसर्थ सांस्कृतिक सम्पदाहरूको अभिलेखीकरण गर्ने, खोज अध्ययन, अनुसन्धान गर्ने र यसलाई अझ व्यवसाय बनाउन जुटेका छौँ’, अध्यक्ष गुरुङले भने ।

    भ्रमण वर्ष अन्तर्गत बन्दीपुर क्षेत्रको पर्यटकीय आकर्षणमा सुधार, मौलिक सडक बत्तीहरू राखिने, पर्यटन व्यवसायमा सुधार, पर्यटन उद्योगहरूको विस्तृत अध्ययन र तथ्याङ्क सङ्कलन गरिने, स्थानीय उत्पादनहरूलाई प्रवर्द्धन गर्ने र उनीहरूको बजार व्यवस्थापन गर्ने तयारी रहेको समेत उनले जानकारी दिए ।

    ‘भ्रमण वर्षको सन्देशसहित कौरा नृत्यको भव्य प्रदर्शन गरिनेछ । नेपालमै आजसम्म ननाचेको ठूलो सङ्ख्यामा बन्दीपुरको टुँडिखेलमा नचाउने योजना रहेको छ’, अध्यक्ष गुरुङले भने ।

    भ्रमण वर्षको अवसरमा जुनसुकै जातजाति, भाषभाषीको संरक्षण र विकास गर्नका लागि अक्षय कोष स्थापना गरिने तयारी रहेको समेत उनले जानकारी दिए ।

    प्राचिन नेवारी सम्पदा संरक्षित क्षेत्रकोरुपमा पनि बन्दीपुर परिचित छ । बन्दिपुर साहसिक खेलहरू प्याराग्लाइडिङ, रक क्लाइम्विङ, र्‍याफ्टिङ र ट्रेकिङ ट्रेल तथा रुटहरू रहेका छन् ।

  • बन्दीपुर सडक खाना महोत्सवमा ५० हजार पर्यटक

    बन्दीपुर सडक खाना महोत्सवमा ५० हजार पर्यटक

    तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित सडक खाना महोत्सवमा करिब ५० हजार पर्यटकले अवलोकन गरेका छन् । नयाँ वर्षका अवसरमा तीन दिनसम्म सञ्चालन भएको महोत्सवका ५० हजार पर्यटक बन्दीपुर पुगेका हुन् ।

    चैत ३० गतेदेखि सुरु महोत्सव शुक्रबार सकिएको छ । महोत्सव अवलोकनका लागि ५० हजार पर्यटक बन्दीपुर पुगे पनि बेलुका बास बस्ने पर्यटकको सङ्ख्या भने न्यून रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए ।

    ‘दिउँसो आउनेको सङ्ख्या अत्यधिक रह्यो, तीन दिनको अवधिमा बन्दीपुरमा पर्यटकको भीड रह्यो, बास बस्नेको सङ्ख्या भने कमै भयो’, प्रधानले भने । उनका अनुसार बास बस्ने पर्यटकको सङ्ख्या दैनिक दुई हजार रहेको थियो ।

    बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुर र तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुरको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो । बन्दीपुरमा अहिले पर्यटकको उत्साहजनक आगमन नभए पनि नयाँ वर्षसँगै पर्यटकको आगमन वृद्धि हुनेमा व्यवसायी विश्वस्त छन् । सडक खाना महोत्सवमा स्थानीय चुड्का, कौरा, डोको, लाखे नाच प्रदर्शन गरिनुका साथै ‘दि इन्ट्रो व्याण्ड’ को प्रस्तुति रहेको थियो ।

    बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालनमा छन् ।

    बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छन् । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानिवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलमा आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ ।  रासस

  • जनवरीमा करिव १७ हजार पर्यटक नेपाल आए

    जनवरीमा करिव १७ हजार पर्यटक नेपाल आए

    काठमाडौं । गत जनवरी महिनामा १५० देशका १६ हजार ९७५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोरोना महामारीले थलिएको पर्यटन उद्योगमा गत महिना नेपाल भित्रिएका पर्यटकको संख्याले आगामी दिनहरु शुभ रहने संकेत गरेको छ ।

    अध्यागमन विभागका अनुसार २०२२ जनवरीमा नेपाल भित्रने पर्यटकमा १० हजार ८१० जना पुरुष र ६ हजार १५७ जना पहिला रहेका छन् । सो महिना नेपाल प्रवेश गर्ने ८ जनाको भने पहिचान खुलेको छैन ।

    जनवरीमा अष्ट्रेलियाबाट १ हजार २१३, बंगलादेशबाट १ हजार २३६, चीनबाट ३२१, जर्मनीबाट ३६५, भारतबाट ३ हजार ९१६, बेलायतबाट १ हजार ८२४ र अमेरिकाबाट ३ हजार २५७ जना पर्यटक नेपाल आएको विभागको तथ्याङ्कले देखाउँछ ।

    गत जनवरीमा नेपाल भ्रमणमा रहेका १७ हजार ९८४ जना पर्यटक स्वदेश फर्केका छन् । यसरी फर्कनेमा ११ हजार ६१७ जना पुरुष र ६ हजार ३६१ जना महिला पर्यटक रहेका छन् । फर्कनेमध्ये ६ जनाको पहिचान खुलेको छैन ।

    जनवरीमा कूल ३४ हजार ९५९ जना पर्यटकले नेपालमा आवतजावत गरेका छन् ।

    विश्वमा कोरोना महामारी फैलिएपछि सबैभन्दा बढी प्रभावित क्षेत्रमा पर्यटन पनि पर्दछ । कोरोना नियन्त्रण गर्न विश्वभर लकडाउन भएपछि पर्यटकको आवतजावत प्रायः ठप्प बनेको थियो । कोरोना खोपको विकास र प्रयोग बढेसँगै पर्यटकको आवतजावत विस्तारै बढ्न थालेको छ ।

    कोरोना महामारीबीच गत वर्ष सन् २०२१ मा नेपालमा १८१ देशका १ लाख ५० हजार ९६२ जना पर्यटकले भ्रमण गरेका थिए ।

  • कञ्चनजङ्घा क्षेत्रमा किन घटे पर्यटक ?

    कञ्चनजङ्घा क्षेत्रमा किन घटे पर्यटक ?

    ताप्लेजुङ । ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन घट्दै गएको छ । कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक विस्तारै बढ्दा कोभिडले असर गरेको थियो ।

    कोभिड–१९ महामारी सुरु भएपछि पछिल्लो दुई वर्ष कञ्चनजङ्घा क्षेत्र सुनसानजस्तै बनेको छ । यो समयमा थोरै पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्काअनुसार महामारी सुरु भएको वर्ष अर्थात आर्थिक वर्ष २०७७/७८ मा ४३ जनाले सो क्षेत्रको भ्रमण गरेका छन् ।

    चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्ममा करिब डेढ सय पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् । चालु आवको पहिलो सिजन (मौसम) मा कूल १४१ पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका परिषद् कार्यालयले जनाएको छ ।

    दुई वर्षसम्म सुनसानजस्तै बनेको कञ्चनजङ्घा क्षेत्र चालु आवमा महामारीको प्रभाव केही कम बनेपछि सीमित सङ्ख्यामा पर्यटकको आगमन भएको हो । यस वर्षको पहिलो पर्यटकीय मौसम असोज र कात्तिक महिनामा अमेरिका, फ्रान्स, ताइवान लगायतबाट पर्यटक भ्रमणमा आएका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले जानकारी दिए।

    चालु आवको पहिलो सिजनमा सेभेन समिट ट्रेक्स प्रालिमार्फत गएका ताइवानका एक नागरिकसहित पाँच आरोहीले कञ्चनजङ्घाको सफल आरोहण गरेका छन् । कञ्चनजङ्घा आरोहण गर्नेमा ताइवानका सेङ को अथ, नेपालीमा दोलखाका निमाग्याल्जेन शेर्पा, पासाङ्रिन्जे शेर्पा, सोलुखुम्बुका ग्लाल्जे शेर्पा र दाकिपा शेर्पा रहेका छन् ।

    परिषद् कार्यालयका अनुसार कञ्चनजङ्घामा आउने बाह्य तथा आन्तरिक पर्यटकमध्ये केही हिमाल आरोहण गर्ने र कोही आधार शिविर भ्रमणको योजनामा आउछन् ।

    कोरोना महामारी सुरु भएको अघिल्लो वर्षसम्म पछिल्लो दशकको अवधिमा पाँच हजार ४२७ पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्क रहेको छ । तथ्याङ्कअनुसार उक्त अवधिभित्र सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा ८०६ जना पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका छन् ।

    हरेक वर्ष साढे पाँचसय, साढे छ सय र साढे सातसयसम्मको हाराहारीमा पर्यटक आउने गरेका थिए । कोरोना महामारीको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेपछि पर्यटन विकासमा अवरोध पुग्नुका साथै यसबाट हुने आम्दानी गुमाउनुपरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बूले बताए । फेम्बूले महामारीको असर समाप्त भएमा कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटकको संख्या भने विगतभन्दा दोब्बर बढीले वृद्धि हुने बताए ।रासस

  • सडकको दुरावस्थाले लुम्बिनीमा पर्यटक बिथोलियो

    सडकको दुरावस्थाले लुम्बिनीमा पर्यटक बिथोलियो

    काठमाडौं । कोरोना संक्रमणको जोखिम कम भएसँगै लुम्बिनी क्षेत्रमा आन्तरिक÷बाह्य पर्यटकको आवागमन बढ्ने अनुमानलाई सडकको अवस्थाले बिथोलेको छ ।

    लुम्बिनी क्षेत्रसम्म पुग्ने सडक मार्गहरुमा मर्मत र बिस्तारको काम चलिरहेकोले लुम्बिनी क्षेत्रमा आन्तरिक÷बाह्य पर्यटकको आवागमनलाई सडकको अवस्थाले बिथोलेको हो ।

    नारायणगढ हुँदै लुम्बिनी पुग्ने पूर्वपश्चिम राजमार्गको बिस्तारको काम भइरहेको छ भने भैरहवा लुम्बिनी सडक खण्डको मर्मतसम्भार भइरहेको छ । सडकको अवस्थाले पर्यटकीय मौसममा पनि लुम्बिनी क्षेत्रका होटल पर्यटन व्यवसायीले लाभ लिन सकेका छैनन् ।

    काठमाडौं बाहिरका धेरै पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो बढ्दा लुम्बिनी क्षेत्र सामान्यमै रहेको छ । लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले लुम्बिनी क्षेत्रको १५ प्रतिशत होटल मात्रै सञ्चालनमा आउन सकेको बताए ।

    विगतमा दशैँ र तिहारको बीचमा लुम्बिनी क्षेत्र घुम्न आउने पर्यटक धेरै भएर सेवा दिन भ्याइ नभ्याइ हुने गरेको तर यो वर्ष खासै पर्यटक नआएको महासचिव अर्यालले बताए ।

    महासचिव अर्यालले भने,‘लुम्बिनीमा दशैँपछि पर्यटकको आगमन, चहलपहल शुरु भएको छ, होटलहरु १५ प्रतिशत मात्रै राम्रोसँग चलिरहेका छन्, त्यही पनि शुन्यमा रहेको व्यवसाय १५ प्रतिशतमा पुग्यो, बिस्तारै तिहारपछि अघि जाला भन्ने अनुमान छ, सीजन त आउँदै छ तर पनि हामीले विदेशी पाहुनाहरुको आगमनको अपेक्षा छैन, आन्तरिक पर्यटक बढ्नुहुन्छ कि भन्ने आशा राखेका छौँ, विद्यार्थी, संघ÷संस्था, लगायतको आगमन केही मात्रामा बढ्नुहुनेछ भन्ने आशा गरेका छाैँ, आशावादी छौँ तर सन्तुष्ट हुने अवस्था छैन, यो वर्ष हामी पूरै पीडित नै छौँ, गत वर्षतिरको व्यापार हेर्दा दशैँ र तिहारको बिचमा धेरै व्यापार हुन्थ्यो, सेप्टेम्बरपछि अन्तर्राष्ट्रिय पर्यटकहरुको पनि आगमनको शुरुवात हुने गर्दथ्यो, पहिला यो बीचमा पसल बन्द गर्ने कि नगर्ने भन्ने कुरामा हामी दोधारमा हुन्थ्यौँ, तर यसपालि त्यस्तो देखिएन, लुम्बिनी कोरोनाबाट मुक्त छ भनेर प्रस्टसँग भन्न सक्छौँ, सरकारले पनि आवश्यक्ताअनुसार कोभिड भ्याक्सिन पठाएको थियो ।’

    लुम्बिनीलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि सिधा जोड्दै छ र आन्तरिक पर्यटक पनि थपिँदै जाने निश्चित छ । यस्तो अवस्थामा अविलम्व सडक सुधार गर्नु पर्ने आवश्यक्ता रहेको व्यवसायीहरुले बताएका छन् ।

    यसकासाथै लुम्बिनीलाई कोरोना मुक्त क्षेत्र भनेर विश्वभर सन्देश दिनसके पर्यटक बढ्ने निश्चित छ ।

     

  • लकडाउनले अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक अलपत्र

    लकडाउनले अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक अलपत्र

    पोखरा । नयाँ भेरिएन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरु हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार, भ्राका, मनाङ टङ्की मनाङ, हुम्डे र पिसाङलगायतका गाउँहरुमा बसोबास गर्दै आएको बताइएको छ ।

    स्थानीयवासी राम गुरुङले बन्दाबन्दीका कारण हिँडडुल गर्न नपाएका कारण अनुसार उनीहरु त्यहीँ रहनु परेको बताए । उनका अनुसार ती विदेशी पर्यटकहरु सकुशल रहेका छन् ।

    यस गाउँपालिकामा अहिले नयाँ भेरिएन्टसहितको कोरोनाभाइरस देखिन थालेपछि सबैजसो गाउँहरु ‘सिल’ जस्तै भएका छन् । विश्वकै १०औँ नम्बरमा रहेको पर्यटकीय गन्तव्य अन्नपूर्ण पदमार्ग बन्द भएको छ । यहाँका मानिस होटल व्यवसाय बन्द गरेर घरभित्रै छन् ।

    गत मङ्गलबारको पीसीआर रिपोर्टअनुसार एक विदेशी नागरिकसहित जिल्लाभर २८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । हाल जिल्लाभर कोरोना संक्रमित ४४ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

    अहिलेसम्म जिल्लाका दुईवटा गाउँपालिकामा मात्र संक्रमित भेटिएका छन् । यसमध्ये चामे गाउँपालिकामा सात र मनाङ ङिस्याङ गाउँपालिका ३७ जना संक्रमित रहेका छन् ।

    मनाङमा रहेका विदेशी नागारिक मनाङ ङिस्याङ गाउँपालिका मनाङ गाउँमा १४ जना खाङ्सार तिलिचो बेसक्याम्पमा ४, ङावोलगाउँमा ३ र पिसाङगाउँमा १ गरी जम्मा २२ विदेशी पर्यटक जिल्लामा रहेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

    उनका अनुसार वैशाख महिनामा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक मनाङ भित्रिएका थिए । त्यस्तै १९७ जनाले थोरङ्ला पास गरी मुस्ताङ पुगेका छन् भने १० जना मनाङबाट फर्किएका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ ।

    नेदरल्याण्डका नागरिक संक्रमित भेटिएपछि मात्र जिल्ला प्रशासनले जिल्लाभित्र रहेका विदेशी पर्यटकको खोजी गर्न थालेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र मनाङमा तथ्याङ्क रहने भए पनि कुन ठाउँमा कति पर्यटक छन् भन्ने आधिकारिक नभएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए । उनका अनुसार विदेशी नागरिक अन्नपूर्ण क्षेत्रमा रहेका जाँचचौकीमा परमिट दर्ता गरेर आउने हुँदा हामीकोमा कुनै तथ्याङ्क हुँदैन । हामीले अहिले तथ्याङ्क खोजिरहेका छौं’, उनले भने । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले तथ्याङक सङ्कलन गर्दै गरेको र कुन पर्यटक कुन ठाउँमा बसेका छन् खोजी भइरहेको जनाएको छ ।

    अहिले कोरोना ‘हटस्पोट’ जस्तै बनेको मनाङमा रहेका विदेशी नागरिक अलपत्र परेको जानकारीसँगै जिल्ला प्रशासन कार्यलयमनाङले तथ्याङ्क सङ्कलन गर्दै उनीहरुको इच्छाअनुसार चाहेको ठाउँमा पठाउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । उनका अनुसार १ जना नेदरल्याण्डका नागरिक संक्रमित भएको र उनलाई हेलीचार्टर्ड गरी काठामाडौं पुर्‍याइएको छ भने अरु यहाँ सकुसल रहेका छन् ।

    मनाङमा हाल अलपत्रमा रहेका अधिकांश युरोपियाली मुलुकका नागरिक छन् । दुई भारतीय, तीन इजरायली, अरु फ्रान्स, नेदरल्याण्ड र ब्रिटिसका नागरिक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ । देशका ठूला शहरमा भयवह स्थिति आउँदै गर्दा मनाङ छिरेका उनीहरु अहिले मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न गाउँमा बसिरहेका छन् ।

    (सांकेतिक तस्बिर)

  • तङ्ग्रन थालेको पर्यटन क्षेत्रलाई कोरोना दोस्रो लहरको झड्का

    तङ्ग्रन थालेको पर्यटन क्षेत्रलाई कोरोना दोस्रो लहरको झड्का

    काठमाडौं । विस्तारै तंग्रिन थालेको नेपालको पर्यटन क्षेत्र कोरोना महामारीको दोस्रो वेभसँगै फेरि प्रभावित बनेको छ ।

    अप्रिल महिनामा मात्र २२ हजार ४५० पर्यटक नेपाल भित्रिएका थिए । कोभिड-१९ को पहिलो लहरपछि यो संख्या अहिलेसम्मकै धेरै हो । नयाँ भेरियन्टसहितको संक्रमण दर फैलिएपछि नेपालको आन्तरिक र अन्तराष्ट्रिय उडान रोकिएको छ ।

    गत वर्ष यो समयमा लकडाउन थियो । गत साल अप्रिलमा १४ पर्यटक नेपाल आएका थिए । सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ विदेशी पर्यटक भित्रिएका थिए । यस वर्षभन्दा सन् २०१९ को सो अवधिमा आउने पर्यटकको संख्या ७९.४८ प्रतिशतले बढी हो ।

    यस वर्ष अप्रिलमा आएका मध्ये भारतबाट सबैभन्दा धेरै १३ हजार २०२ जना छन् । अमेरिकाबाट २ हजार ७४०, चीनबाट ८०३, यूके वेलायतबाट ५४० जना नेपाल आएका छन् ।

    पर्यटन विभागका अनुसार यीमध्ये धेरै हिमाल आरोहणका लागि आएका हुन् । उनीहरू अझै आरोहणकै क्रममा छन् । बोर्डले उनीहरुलाई सुरक्षित राख्न समन्वय र उद्धारको काम गरिरहेको छ ।

    भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै विभिन्न देशले भारतमा उडान रोक लगाएको छ । त्यसैले तेस्रो मुलुक जाने भारतीय ट्रान्जिटका रुपमा नेपाल भित्रिएकोले पनि अप्रिलमा पर्यटक बढेको बोर्डले जनाएको छ ।

    गत वर्ष लकडाउनपछि सेप्टेम्बरमा हिमाल आरोहण खुल्ला गरिएसँगै पर्यटक आउनेक्रम बढ्न थालेको थियो । सेप्टेम्बरदेखि अप्रिलसम्म करिब ५७ हजार पर्यटक नेपाल आएका छन् ।

    तथ्यांक अनुसार गत अक्टोबरमा २ हजार २५, नोभेम्बरमा १ हजार ९५६, डिसेम्बरमा ४ हजार २४५, २०२१ को जनवरीमा ८ हजार , फ्रेबुअरीमा ९ हजार र मार्चमा ९ हजार जना भित्रिएका छन् ।

  • अलपत्र पर्यटकको उद्धार गर्न पर्यटन बोर्डको अलग्गै संयन्त्र

    अलपत्र पर्यटकको उद्धार गर्न पर्यटन बोर्डको अलग्गै संयन्त्र

    काठमाडौं । कोरोना नियन्त्रणका लागि उपत्यकालगायत विभिन्न जिल्लामा जारी लकडाउनका कारण अलपत्र परेका पर्यटकको उद्धार र समन्वयका लागि नेपाल पर्यटन बोर्डले विपद व्यवस्थापन तथा संचार सेल गठन गरेको छ ।

    बोर्डका अनुसार सेलले पर्यटकहरूको उद्धार, समन्वय तथा भारतबाट एयर बबलमार्फत आउने यात्रुलाई सहजीकरण गर्नेलगायतको काम गर्नेछ । उद्धारको काममा गृह मन्त्रालय र मातहतका जिल्लास्थित कार्यालयसँग समन्वय गरिने बताइएको छ ।

    बुधबार मात्र २२ पर्यटकलाई उद्धार गरिएको छ । त्यस्तै लाङटाङबाट ५, पोखराबाट ४ युक्रेनी र लुक्लाबाट २ अमेरिकनको उद्धार गरिएको छ ।

    महामारीको समयमा आवश्यक सूचनाको अभावमा कोही पनि पर्यटक अलपत्र नपरुन भनेर बोर्डले उद्धारका लागि अनलाइन ट्राभलर लोकेटरबाट तथ्याङ्क संकलन गरिरहेको छ ।

  • पर्यटकले अब क्वारेन्टाइन बस्न नपर्ने, उद्योग ब्युँताउन यस्ता छन् नयाँ मापदण्ड

    पर्यटकले अब क्वारेन्टाइन बस्न नपर्ने, उद्योग ब्युँताउन यस्ता छन् नयाँ मापदण्ड

    काठमाडौं । सरकारले पर्यटन उद्योगलाई चलायमान बनाउन र नेपाल आउने पर्यटकलाई सहजीकरण गर्न कोभिड-१९ सम्बन्धी स्वास्थ्य मापदण्ड खुकुलो बनाएको छ ।

    मन्त्रिपरिषद्को बिहीबारको बैठकले पर्यटनमन्त्री भानभुक्त ढकालले लगेको पर्यटकीय गतिविधिका लागि नेपाल आउँदा पालना गनुपर्ने मापदण्ड स्वीकृत गरेको हो ।

    नयाँ मापदण्ड अनुसार कोभिडविरुद्धको खोप लगाएका पर्यटकहरू नेपाल प्रवेश गरेपछि पर्यटकीय गतिबिधिमा सहभागी हुन पाउनेछन् । उनीहरूले क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ ।

    खोप नलगाएका पर्यटकले भने नेपाल प्रवेश गरेपछि आफ्नै खर्चमा पीसीआर परीक्षण गरी त्यसको रिपोर्ट नआएसम्म होटल क्वारेन्टानइनमा बस्नुपर्ने नियमत बनाइएको छ । परीक्षण नेगेटिभ आएका पर्यटक पदयात्रा वा पर्वतारोहणमा जान पाउनेछन् ।

    पोजेटिभ रिपोर्ट आएकाहरूको हकमा भने अर्को रिपोर्ट नआउन्जेल होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । त्यस्तै पर्यटकहरूका सहयोगी नेपाली सदस्यहरुको एक लाख रूपैयाँको कारोना बीमा सम्बन्धी एजेन्सी वा संस्थाले गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

    १६ बुँदे नयाँ मापदण्ड लागू भएसँगै यसअघिका मापदण्ड खारेज भएका छन् । पर्यटन व्यवसायीहरूको माग बमोजिम नै सरकारले पर्यटकीय गतिविधि सहज बनाउन नयाँ मापदण्ड ल्याएको मन्त्री ढकालले बताए ।

    यस्तो छ पर्यटकीय गतिविधिका लागि नेपाल आउँदा पालना गनुपर्ने मापदण्ड-२०७७

  • सुदूरपश्चिमले गण्डकीलाई ‘क्यु’मा राखेर पर्यटक दिने !

    सुदूरपश्चिमले गण्डकीलाई ‘क्यु’मा राखेर पर्यटक दिने !

    पोखरा । सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट ठूलो मात्रामा भारतीय पर्यटक नेपाल भित्रन्छन् । ती पर्यटक एक दिनमात्रै पनि सुदूरपश्चिममा भुल्ने हो भने प्रदेशले पर्यटनमा कोल्टे फेरिसक्थ्यो । तर, त्यहाँबाट भित्रिएका पर्यटक प्रायः पोखरा हुँदै पूर्व ताक्ने गरेका छन् ।

    भारतको दिल्ली राज्य, उत्तराखण्ड, हरियाना, नैनीताल लगायत ठाउँबाट एकदमै नजिकको प्रदेश पर्ने भएपनि त्यसको फाइदा सुदूरपश्चिमले उठाउन नसकेका त्यहाँका पर्यटन व्यवसायी स्वयं स्वीकार्छन् ।

    पोखराका पर्यटन व्यवसायी तथा सरोकारवाला निकायसँग सुदूरपश्चिम प्रदेशका व्यवसायीले भने, ‘धार्मिक र प्राकृतिक रुपमा धनी भएर पनि हामीले चाहेजति पर्यटक ल्याउन सकेनौं । यसमा सरकारसँगै हामी व्यवसायीको पनि गल्ति छ । गण्डकी प्रदेशसँग सिक्न चाहन्छौं ।’

    सुदूरपश्चिमको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईको आयोजनाको आयोजनामा नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) समूह शनिबार पोखरा आइपुगेको हो ।

    कार्यक्रममा नाट्टामा आबद्ध पर्यटन व्यवसायीले पर्यटनमा गण्डकी प्रदेशभन्दा पछाडि रहे पनि आफूहरुले ५ वर्षभित्र गण्डकीलाई पर्यटक दिन सक्ने दाबी गरेको छन् ।

    ‘प्रकृतिले हामीलाई धेरै दिएको छ । तर, हामीले प्रयोग गर्न सकेका छैनौं,’ नाट्टा सुदूरपश्चिम अध्यक्ष मायाप्रसाद भट्टले भने, ‘अब विस्तारै पूर्वाधार बन्दैछन् । अब भने ५ वर्षमा ‘क्यु’मा राखेर पोखरालाई पर्यटक दिन सक्छौं ।’ उनले सुदूरपश्चिमा पूर्वाधार बन्नुका साथै विभिन्न स्थानीय तहहरुले पनि पर्यटन प्रर्वधनका लागि व्यवसायीलाई सघाउने वचन दिएको जानकारी दिए ।

    सोमबारबार धनगढीबाट अन्तर प्रादेशिक समन्वयात्मक भ्रमण यात्रा सुरु गरेका उनीहरु बिहीबार पोखराका व्यवसायीसँग समन्वय खोज्न आइपुगेका हुन् । एक हप्ते भ्रमणमा निस्किएका व्यवसायी सौराहा बन्दीपुर हुँदै पोखरा आइपुगेका हुन् । उनीहरुले पोखरासँग आफूहरुले पनि पर्यटनमा समन्वय गर्न चाहेको बताए ।

    ‘सुदूरपश्चिमलाई चर्चित कैलाश मानसरोवरको गेट वेका रुपमा अघि बढाइरहेका छौं । यसै पनि हाम्रो प्रदेशमा भिजिटरको कमी हुँदैन,’ नाट्टा सुदूरपश्चिम अध्यक्ष भट्टले भने, ‘यसका लागि हामी गण्डकी प्रदेशका पर्यटन व्यवसायी साथीहरुसँग सकारात्मक समन्वय चाहन्छौं ।’

    भ्रमण कार्यक्रमका संयोजक तथा नाट्टा सुदूरपश्चिम महासचिव पदमविक्रमसिंहले कोभिड महामारीका कारण बाह्य पर्यटक आउन नसक्ने अवस्थामा आफूहरुले आन्तरिक पर्यटकको साथ खोजिरहेको बताए ।

    उनले भने, ‘कोभिडका कारण अझै नाकाहरु पूरै खुल्न सकेका छैनन् । अन्तर्राष्ट्रिय पर्यटक आउने सम्भावना छैन । यस्तोबेला पर्यटन व्यवसायलाई उकास्ने भनेकै आन्तरिक पर्यटनले हो ।’

    सुदूरपश्चिमको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई प्रमुख भोजराज पाठकले कोभिड १९ का कारण थला परेको पर्यटन व्यवसायलाई उकास्न अन्तरप्रदेशीय भ्रमण तथा छलफलमा निस्कको बताए । उनले अन्य प्रदेशको पर्यटन रणनीति बुझ्ने र सुदूरपश्चिम प्रदेशको पनि प्रचारप्रसार गर्नेगरी भ्रमणमा निस्किएको प्रष्ट्याए ।

    नेपाल खुलेको सन्देश बाँड्नुपर्छ !

    सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षका रुपमा मनाएको गण्डकी प्रदेशले सन् २०२० मा सरकारले मनाउने लक्ष्य लिएको नेपाल भ्रमण वर्षलाई सघाउने योजनामा थियो । तर, वर्षको सुरुआतमै विश्वव्यापी महामारीका रुपमा कोरोना भाइरस फैलिएपछि भने योजनामात्रै तुहिएन, व्यवसाय नै ठप्प हुन पुग्यो ।

    नेपालमा कोरोना भाइरस महामारी मत्थर नभइसके पनि लकडाउन खुलिसकेको छ । तर, लकडाउन खुलेपनि पर्यटन व्यवसाय पुरानै लयमा फर्किन सकेको छैन । त्यसमाथि पर्यटनमा ठूलो लगानी भएको पोखराको पर्यटन अहिले नाजुक अवस्थामा पुगिसकेको पर्यटन व्यवसायी स्वयं बताउन थालिसकेका छन् ।

    पोखराको पर्यटनलाई पुनः पुरानै लयमा फर्काउन र व्यवसायको पलायनलाई रोक्न चाँडै नेपालको अन्तर्राष्ट्रि उडान खुला गर्न कार्यक्रममा पोखरेली पर्यटन व्यवसायीले भनाइ राखेका छन् ।

    उनीहरुले कोभिडपछि पर्यटकले शान्त, एकान्त र जंगलको खोजिमा रहेको र त्यसका लागि नेपाल नै उत्तम गन्तव्य हुने दाबी गरे ।

    ‘छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय बजारमा नेपाल पर्यटकका लागि खुलिसकेको सन्देश दिनुपर्छ,’ नाट्टा गण्डकीका अध्यक्ष शोभाकान्त सिग्देलले भने, ‘भोभिडपछि पर्यटकले आयसोलेटेड हुने ठाउँ खोजिरहेकाले त्यसमा नेपालले सजिलै प्रतिस्पर्धा गर्न सक्छ ।’

    पोखरा टुरिजम काउन्सिलका अध्यक्ष गोपी भट्टराईले मापदण्ड पूरा गरेर सबै सीमा नाकाहरु निर्बाध खोल्नुपर्ने माग राखे । ‘राज्यले पर्यटकका लागि पोलिसी बनाइरहेको छ ।

    तर, त्यो पोलिसी कति पर्यटकमैत्री छ त्यसमा पनि ध्यान दिन जरुरी छ,’ उनले भने, ‘घुम्न आएको मान्छे रिफ्रेस हुन आउने हो । १० दिन क्वारेन्टिन बस्न आउने होइन ।’

    भट्टराईले अब पर्यटकका लािग प्रवर्धन शैलीमा पनि नवीन प्रयोग ल्याउनुपर्ने बताए । उनले प्रचारप्रसारमा पुरानै शैली प्रयोग गर्दा पनि पर्यटकलाई अरुचि जाग्ने बताए ।

    उनले भने, ‘अब डिजिटल प्रचारप्रसारमा पनि चेन्ज ल्याउनुपर्छ । पुरानै शैलीमा अल्झिएर अहिलेको पुस्तालाई आकर्षित गर्न सकिँदैन ।’ उनले अहिले पर्यटन व्यवसाय सतप्रतिशत रिस्कमा रहेको बताए ।

    आन्तरिक पर्यटन पुनुरुत्थान समिति, गण्डकी संयोजक अग्नी कँडेलले कोभिड १९ का कारण सम्पूर्ण पर्यटन व्यवसायी मारमा रहेको र यस्तोबेला सरकारले न्यानो हात दिनुपर्ने बताए । उनले विदेशी पर्यटकलाईमात्रै बढावा दिँदा पनि महामारीमा थप्प हुनुपरेको आत्मसमीक्षा गरे ।

    ‘पर्यटक भनेका विदेशीमात्रै भनेर बस्यौं । अहिले महामारीकाबेला पर्यटक आउन छाडेपछि हामी सुक्यौं,’ कँडेलले भने, ‘अब आन्तरिक पर्यटकलाई पनि मजबुत बनाउने गरी पहल थाल्यौं । सुरुआत ग¥यौं भने यसरी महामारीकोबेला खुम्चेर बस्नुपर्दैन । आन्तरिक पर्यटकलाई पनि पर्यटक मान्यौं भने सधैं ऊर्जा र चलायमान भइरहन सजिलो हुन्छ ।’