Tag: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

  • ज्ञवालीले मन्त्री छँदा पार्टीलाई बुझाए झण्डै १० लाख लेभी

    ज्ञवालीले मन्त्री छँदा पार्टीलाई बुझाए झण्डै १० लाख लेभी

    काठमाडौं । पदमुक्त भएलगत्तै निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो आम्दानी/खर्चको जानकारी गराएका छन् । सामाजिक सञ्जालमा ज्ञवालीले सार्वजनिक गरेको विवरणअनुसार मन्त्रीबाट हट्दा उनको खातामा सात लाखभन्दा बढी बचत छ ।

    उनले लेखेका छन्, ‘हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सयजति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।’

    मन्त्री बनेको अविधिमा आफूले ९ लाखभन्दा बढी लेभी पार्टीलाई बुझाएको ज्ञवालीले बताएका छन् ।

    ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमणवापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक वापतको ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीवापत ३ लाख ७२ हजार ४ सय ९२ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको छ,’ ज्ञवालीले लेखेका छन् ।

    आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) हिजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निवास शनिबार छाड्ने उनले बताएका छन् । मन्त्री पदमा रहँदा आफूलाई सहयोग गर्ने कर्मचारीहरुलाई उनले धन्यवाद दिएका छन् ।

    ज्ञवाली ३० फागुन २०७४ मा परराष्ट्रमन्त्री नियुक्त भएका थिए ।

  • महामारीको वाबजुद नेपालले विकास लक्ष्य भेट्ने परराष्ट्रमन्त्री ज्ञवालीको दाबी

    महामारीको वाबजुद नेपालले विकास लक्ष्य भेट्ने परराष्ट्रमन्त्री ज्ञवालीको दाबी

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्राकृतिक विपत्ती र कोरोना महामारीको वावजुद पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् ।

    काठमाडौंमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ती, महामारीले चुनौति थपे पनि विकासको लक्ष्य भेट्ने बताए ।

    नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेपनि सन २०३० को अन्त्य सम्म दीगो विकासका लक्ष्य भेट्टाउने दृढता व्यक्त गरे ।

    नेपालमा विकास अनुशन्धान प्रतिष्ठान जस्ता संस्थाहरुले नेपालको विकासको सम्भावना र चुनौति पहिल्याउन, सुझाव दिन, नीति निर्माण बनाउन ठूलो भूमिका खेल्न सक्ने पनि बताए ।

    नेपालको विकासमा अध्ययन अनुसन्धानको ठूलो महत्व रहेको भन्दै मन्त्री ज्ञवालीले भइरहेको विकासको अडचन फुकाउन पनि यस्ता संस्था सहयोगी हुने  सुनाए।

    नेपालले २००४ मा स्थापना गरेको विकास अनुसन्धान प्रतिष्ठानले सरकार र सरकारका विभिन्न निकायलाई नीतिगत सहयोग गर्दै आएको छ । विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई संस्थागत संरचनामा गोलबन्द गरी विकास निर्माण, योजना तर्जुमा, जलवायु परिवर्तन, गरिवी निवारण, प्राकृतिक विपत्ती न्यूनिकरण जस्ता क्षेत्रमा नीतिगत सुझाव दिँदै आएको छ ।

     

     

  • नेपाली भूमि र चासोविरुद्ध गतिविधि नगर्न छिमेकी मुलुकलाई परराष्ट्रमन्त्रीको आग्रह

    नेपाली भूमि र चासोविरुद्ध गतिविधि नगर्न छिमेकी मुलुकलाई परराष्ट्रमन्त्रीको आग्रह

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि र चासोविरुद्ध कुनै गतिविधि नगर्न छिमेकी मुलुकहरुलाई आग्रह गरेका छन् ।

    विश्व मामिला परिषदको ७३ औं सभालाई सोमबार सम्बोधन गर्दै ज्ञवालीले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।

    ‘छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धतामा नेपाल अडिग छ’ ज्ञवालीले भने, ‘हामी पनि छिमेकीहरुबाट यस्तै सहकार्य र प्रतिबद्धताको अपेक्षा गर्दछौं ।’

    छिमेकी र विश्वका अन्य मुलुकसँग द्धिपक्षीय तहमा मैत्रीपूर्ण सम्बन्ध कायम गर्न नेपाली प्रतिवद्ध रहेको समेत ज्ञवालीले बताए । भारत र नेपालबीचको उच्च तहमा भएको भेटवार्ताले नागरिक तहमा सम्पर्क, सांस्कृतिक सम्बन्ध र आर्थिक साझेदारीको विकास भएको उनले उल्लेख गरे ।

    नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै ज्ञवालीले चीनसँग विगतमा भएको हिमालपार पारवहन सम्झौताले नयाँ आर्थिक सम्भावनाको खोजी गर्ने विश्वास व्यक्त गरे ।

    नेपालका प्रमुख श्रम बजार मुलुकहरुसँग श्रम बजार, ब्यापार, पर्यटन, लगानी र नागरिक स्तरमा हुने संवादलाई समेटेर बृहत आर्थिक सम्झौता गर्न नेपाल तयार रहेको समेत उनले बताए ।

    सार्कको वर्तमान अध्यक्षको हैसियतले नेपाल सबै सदस्य राष्ट्रसंघ नियमित सम्पर्कमा रहेको उल्लेख गर्दै ज्ञवालीले सार्कलाई यसको उद्देश्य प्राप्तीका लागि नयाँ जोशका साथ अघि बढाउनुपर्ने खाँचो औंल्याए । उनले सार्क मुलुकबीच विश्वास स्थापना गर्नु जरुरी रहेको बताएका छन् ।

    नेपाल सदस्यको रुपमा एसिया साझेदारी संवाद (एसीडी) र संवाद सदस्यको रुपमा सांघाइ कोअपरेसन अर्गनाइजेसनको सम्मेलनमा भाग लिन उत्साहित रहेको पनि परराष्ट्र मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

    चाँडै आयोजना हुने सगरमाथा संवाद प्लेटफर्मको माध्यमबाट नेपालले जलवायु परिवर्तनविरुद्धको नीति निर्माणमा योगदान दिने समेत उनले जनाए । सन् २०५० सम्म नेपाल शुन्य कार्बन उत्सर्जनको लक्ष्य राखेर अघि बढेको समेत ज्ञवालीले उल्लेख गरे ।

    १६८ देशसँग कुटनीतिक सम्बन्ध स्थापना भएको उल्लेख गर्दै ज्ञवालीले नेपालको निर्यात व्यापार, वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, पर्यटन उद्योग र नेपाली श्रमिकको हितलाई ध्यानमा राखेर आर्थिक कुटनीति संचालन गर्ने समेत बताए ।

    देश विकास र सांस्कृतिक सम्बन्ध आदानप्रदानमा गैरआवसिय नेपालीको भूमिकाको प्रशंसा गर्दै ज्ञवालीले विदेशमा रहेका नेपालीको ज्ञान र पुँजीको सदुपयोग गर्दै उनीहरुको हितमा काम गर्न सरकार प्रतिबद्ध रहेको समेत जनाएका छन् ।

    राष्ट्रिय आवश्यकतालाई ख्यालमा राख्दै राष्ट्रिय चासोका विषयलाई संरक्षण गर्नु नेपाली परराष्ट्र नीतिको उद्देश्य रहेको समेत ज्ञवालीले बताएका छन् ।

  • परराष्ट्रमन्त्री ज्ञवाली र राष्ट्रसंघीय जलवायु सम्मेलनका अध्यक्षबीच भेटवार्ता

    परराष्ट्रमन्त्री ज्ञवाली र राष्ट्रसंघीय जलवायु सम्मेलनका अध्यक्षबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रसंघिय जलवायु सम्मेलन (कोप-२६)का अध्यक्ष एवं बेलायती सांसद आलोक शर्मा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच भेटवार्ता भएको छ ।

    भेटमा शर्माले नेपालको जलवायु योजना र कार्यक्रमबारे बेलायतले सहयोग गर्ने बताएका छन् । भेटमा क्षेत्रीय जलवायु चुनौतिबारे छलफल भएको समेत शर्माले उल्लेख गरे ।

    केही दिनको नेपाल भ्रमणमा काठमाडौं आइपुगेका शर्मा जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्न हिमालपारिको जिल्ला मुस्ताङ सदरमुकाम जोमसोम पुगेका थिए जहाँ उनले स्थानीय किसानसँग छलफल गरे ।

    नेपाल भ्रमणका क्रममा शर्माले प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौंस्थित जलवायु अभियन्ता, नीजि क्षेत्रका प्रतिनिधि लगायतलाई भेट गरेका थिए ।

    शर्मा शुक्रबार भारततर्फ प्रस्थान गरेका छन् । दुईदिने भारत भ्रमणमा उनले सरकारी, नागरिक समाज र ब्यवसायीलाइ भेटेर जलवायु परिवर्तनको चर्चा गर्नेछन् ।

  • फेरि एक ठाउँमा आउनु नै छ, गालीगलौज नगरौं–प्रदीप ज्ञवाली

    फेरि एक ठाउँमा आउनु नै छ, गालीगलौज नगरौं–प्रदीप ज्ञवाली

    काठमाडौं । परराष्ट्रमन्त्री तथा केपी ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले अहिले छुट्टिएर गएका प्रचण्ड र माधव कुमार नेपाल सहितका नेताहरु मूलधारमै फर्किने भन्दै गालिगलौज नगर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

    उनले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपामा नआई सुख्खै नहुने बताए । अखिल नेपाल महिला संघ केन्द्रिय कमिटिको दोस्रो बैठकमा सहभागी महिला नेताहरुलाई निर्देशन दिँदै उनले दुवै धार फेरि कुनै न कुनै बेला एकै ठाउँमा मिल्ने भएकाले गाली गलौजमा नउत्रन निर्देशन दिएका छन् ।

    उनले भने– कुनै न कुनै मोडमा एउटै धारमा नआइ सुखै छैनऽ त्यसैले गाली गलौज नजानुहोला । गाली गलौजको जिम्मा उहाँहरुलाई नै दिनुहोला, तपाइँहरु त्यस्तो काममा नलाग्नुहोला । उहाँहरुले त राष्ट्रपतिविरुद्ध कस्ता नारा लाउनुभयो देखियो ।

    परराष्ट्रमन्त्री ज्ञवालीले लिपुलेक लिम्पियाधुरा कालापानी लगायतका क्षेत्र नेपालको नक्सामा समेटिएला भनेर कसैले पनि कल्पना नगरेको तर कसैले गर्न नसकेका त्यस्ता काम ओलीको नेतृत्वमा भएको बताए ।

    महाधिवेशनमा जान नसक्ने तर प्रधानमन्त्रीको कुर्सी चाहिने प्रचण्डको लोभका कारण पार्टी एकता भंग भएको उनको भनाइ छ ।

    ज्ञवालीले भने– खुलमटारमा स्वयं प्रधानमन्त्री पुगेर फागुनमै विशेष महाधिवेशन गरौं, म छोड्छु भन्दा पनि प्रचण्ड मान्नुभएन । बाटो र बिजुलीको पोल चाहियो भनेर सांसदहरुलाई बोलाएर प्रधानमन्त्री फाल्ने प्रस्तावमा हस्ताक्षर गर्न लगाइयो । उहाँहरुको षडयन्त्र त्यतिमै मात्र सिमित थिएन राष्ट्रपतिविरुद्ध पनि महाअभियोगमा जाने योजनामा हुनुहुन्थ्यो ।

  • कोभिड भ्याक्सिन : भारतको उच्च प्राथमिकतामा नेपाल

    कोभिड भ्याक्सिन : भारतको उच्च प्राथमिकतामा नेपाल

    काठमाडौं । कोभिड–१९ विरुद्धको खोप वितरणमा छिमेकी मुलुक नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको र खोप चाँडै आपूर्ति हुने भारतले जनाएको छ । भारतको राजधानी नयाँ दिल्लीको तीनदिने औपचारिक भ्रमण सकेर शनिबार काठमाडौं आइपुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिए ।

    उनले नेपाल–भारतको संयुक्त आयोगको बैठकको मुख्य एजेन्डा नै कोभिड–१९ खोप वितरण तथा आपूर्ति रहेको भन्दै भारतले नेपाललाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए । भ्रमणका क्रममा ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग हैदरावाद हाउसमा भेटवार्ता गरेका थिए । सो अवसरमा दुई देशबीच व्यापार, संचार, पारवहन लगायत १७ भन्दा बढी विषयमा छलफल भएको छ ।

    कोभिडको कारण रोकिएका नेपाल–भारतबीचका हवाइ तथा स्थलमार्गलाई क्रमशः खोल्ने सहमति भएको छ । हुलाकी सडकअन्तर्गतका १४ मध्ये निर्माण सम्पन्न भएका ११ सडकको हस्तान्तरण प्रक्रिया सुरु गरिने र बाँकी तीन सडकको निर्माण चाँडै सम्पन्न गर्ने निधो भएको छ । रक्सौल–काठमाडौं रेल सेवाको अध्ययन अन्तिम चरणमा पुगेको र निर्माण चाँडै थाल्ने सहमति पनि भएको छ ।

    भैरहवामा एकीकृत चेक पोस्टको काम चाँडै थाल्ने पनि कुरा भएको छ । महाकालीमा निर्माणाधीन चार लेनको सडकलाई भारतको राष्ट्रिय सडक संजालसँग जोड्ने विषयमा भारत सहमत भएको ज्ञवालीले जनाए । यो सडक बने भारतको उत्तराखण्ड र नेपालको सुदुरपश्चिमलाई सुविधा पुग्ने उनले जनाए । भारतले भूकम्पपछिको पुननिर्माणका लागि घोषणा गरेको अनुदान र ऋणलाई उपयोग गर्ने र परियोजनालाई अन्तिम रुप दिने छलफल पनि भएको छ ।

    नेपाल र भारतबीचका पारवहन सम्बन्धी सन्धी एवं सम्झौता पुनरावलोकनको प्रक्रिया चाँडै सम्पन्न गर्ने र वाणिज्य सन्धीको पुनरावलोकन कार्यान्वयन गर्न आवश्यक नियमावली बनाउने सहमति जुटेको छ । व्यापार प्रवद्र्धन गर्ने र यस क्षेत्रका अवरोध हटाउने, नेपालको निर्यात बढाउनको लागि ठोस उपाय अवलम्वन गर्न नेपालले भारतसँग आग्रह गरेको छ ।

    जलमार्गको निर्माण तथा विस्तार, सीमापार आर्थिक क्षेत्रको निर्माण सम्बन्धी विषयमा समेत छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले जनाए । सन् २०१६ मा हस्ताक्षर भएको ऊर्जा व्यापार सम्झौतामा विद्यमान सुधारोन्मुख व्यापार अनुसार क्रसबोर्डर पावर सेयरिङ चाँडै जारी गर्ने सहमति पनि भएको छ । ढल्केवर–मुजफ्पुर उच्च भोल्टको प्रसारण लाइन निर्माण गर्ने, भैरहवा–गोरखपुर उच्च प्रसारण लाइन र सीमापार लाइनको निर्माणलाई उच्च प्राथमिकतामा राख्ने सहमति पनि भएको छ ।

    पञ्चेश्वर बहुेउद्देश्यीय परियोजनाको योजना तयार पार्ने सहमति पनि भएको छ । महाकाली सन्धीको प्रावधान अनुरुप नेपालले पाउनुपर्ने पानीका लागि जनकपुर बाँधमा जेनेरेटर र लिंक च्यानलको काम अघि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिने सहमति पनि भएको छ । महाकाली नदीका विभिन्न तीन ठाउँमा आवतजावत गर्न सकिने पुल निर्माणको पनि कुरा भएको छ ।

    भारतीय भूमिमा निर्मित सडकबाट नेपालको सीमा क्षेत्रमा हुने गाउँ तथा सहर डुबानको समस्या समाधानको लागि विगतमा सम्झौता कार्यान्वयन गर्ने बारे पनि छलफल भएको छ । कृषि क्षेत्रमा थप सहकार्य गर्ने र सरकारले सरकारसँग (जीटुजी) आधारमा मल खरिद गर्ने सम्झौता पनि भएको छ ।

    मन्त्री ज्ञवालीले द्धिपक्षीय सम्बन्ध सुद्धढ गर्नको लागि भ्रमण फलदायी भएको बताउँदै नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक दुबै पक्षलाई अनुकूल हुने समयमा नेपालमा बस्ने सहमति समेत भएको बताए । साथै, शनिबार विहान भारतीय रक्षामन्त्री राजनाथ सिंहसँगको भेटमा दुई देशबीचको समसामयिक विषयमा छलफल भएको समेत मन्त्री ज्ञवालीले बताए ।

  • खोप कार्यक्रम सुरु गरेकोमा भारतलाई नेपालको बधाई, परराष्ट्रमन्त्री भन्छन् : नेपाललाई आशा पलायो

    खोप कार्यक्रम सुरु गरेकोमा भारतलाई नेपालको बधाई, परराष्ट्रमन्त्री भन्छन् : नेपाललाई आशा पलायो

    काठमाडौं । कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम थालनी गरेकोमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई बधाई दिएका छन् । शनिबार बिहान दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भारतमा भ्याक्सिनको सुरुआत हुँदा नेपाललाई भाइरसविरुद्ध लड्ने कार्यमा आशा पलाएको समेत बताए ।

    नेपालले भारतले उत्पादन गरेको भ्याक्सिन नै प्रयोगमा ल्याउने समेत ज्ञवालीको भनाई छ ।

    ‘भारत खोप उत्पादनमा अग्रणी मुलुक हो । यसले हामीलाई आशा जगाएको छ’ ज्ञवालीले भने, ‘यो अवसरका लागि म भारतलाई बधाइ दिन चाहन्छु र खोप उत्पादनकर्ता कम्पनीलाई पनि शुभकामना व्यक्त गर्न चाहन्छु । भारतको छिमेकी हुनुको नाताले पनि यो खोप हामीले पनि पाउनेछौं भन्ने आशा छ ।’

    पूर्वाधार, औद्योगीकरण र दशक लामो लोकतन्त्रको अभ्यासमा भारतले गरेको सफलताप्रति ज्ञवालीले पं्रशसा जनाए । ज्ञवाली तीनदिने औपचारिक भ्रमण पुरा गरेर शनिबार अपरान्ह स्वदेश फर्कँदै छन् ।

  • भारतीय रक्षामन्त्री सिंह र नेपाली परराष्ट्रमन्त्री ज्ञवालीबीच दिल्लीमा भेटवार्ता

    भारतीय रक्षामन्त्री सिंह र नेपाली परराष्ट्रमन्त्री ज्ञवालीबीच दिल्लीमा भेटवार्ता

    काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार बिहान भेटवार्ता भएको छ । तीनदिने औपचारिक भ्रमणको अन्तिम दिन आज ज्ञवालीले दिल्लीमा सिंहलाई भेटेका हुन् ।

    नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल र नेपाली राजदूत निलाम्बर आचार्य पनि सहभागि थिए । भेटपछि ट्वीट गर्दै सिंहले ज्ञवालीसिंह फलदायी छलफल भएको उल्लेख गरेका छन् ।

    भारत र नेपालको सम्बन्ध सरकारबाट नभएर नागरिक–नागरिकबीच निर्देशित रहेको उल्लेख गर्दै उनले दुई देशबीच अनन्त सम्भावना रहेको समेत उल्लेख गरेका छन् । गत बैशाख २६ गते सिंहले नेपालको भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बत जाने सडकमार्ग उद्घाटन गरेका थिए ।

    दिल्लीस्थित नेपाली दुतावासका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्न प्रयास भैरहेको छ । मन्त्री ज्ञवाली आजै अपरान्ह नेपाल वायुसेवा निगमको विमानबाट स्वदेश फर्कने कार्यक्रम छ । शनिबार विहानै ज्ञवालीले नेपाली दुतावासमा भारतीय पत्रकारसँग छलफल गरेका थिए । जहाँ उनले ऐतिहासिक तथ्य र सुगौली सन्धीका आधारमा नेपालले नयाँ नक्सा प्रकाशित गरेको बताएका थिए ।

    शुक्रबार परराष्ट्रमन्त्रीस्तरिय नेपाल–भारत संयुक्त आयोगको बैठक बसेको थियो । बैठकमा नेपाली परराष्ट्रमन्त्री ज्ञवाली र भारतको तर्फबाट विदेश मन्त्री एस जयशंकर सहभागि थिए ।

  • दिल्लीमा परराष्ट्रमन्त्रीले भने– इपिजी प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नहोस्

    दिल्लीमा परराष्ट्रमन्त्रीले भने– इपिजी प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नहोस्

    नयाँ दिल्ली –परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी)ले तयार गरेको प्रतिवेदनलाई भारत सरकारले कुनै ढिलाइ बिना कार्यान्वयन गर्नुपर्ने बताएका छन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि शुक्रबार आयोजित इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सको कार्यक्रममा बोल्दै ज्ञवालीले उक्त प्रतिवेदन बुझ्नु र कार्यान्वयन गर्नु दुबै सरकारको दायित्व भएको बताए ।

    प्रतिवेदनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमानिरहेको सन्दर्भमा नेपाली परराष्ट्रमन्त्रीको यस्तो टिप्पणी व्यक्त भएको हो । प्रतिवेदनमा सन् १९५० को शान्ति तथा मैत्री सन्धी एवं विगतका सम्झौतालाई वर्तमान परिवेश र परिवर्तित सन्दर्भमा अपडेट एवं पुनरावलोकन गर्नुपर्ने कुरा समावेश गरिएको छ । बदलिएको राजनीतिक, सामाजिक र आर्थिक आयाममा दुबै देशले सम्बन्ध स्थापना गर्नुपर्ने बेला आएको समेत ज्ञवालीले जोड दिएका छन् ।

    साथै उनले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिइने समेत बताए । दुबै छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध नेपालले चाहेको उनले उल्लेख गरे ‘हामी दुई छिमेकी देशसँग नेपालको तुलना गर्न चाहन्नौं तर, दुबै छिमेकीविरुद्ध नेपाली भूमि एकअर्काविरुद्ध प्रयोग गर्न दिइने छैन’ उनले भने ।

    नेपाल र भारतबीचको सीमा समस्यालाई एकअर्काविरुद्ध आरोप प्रत्यारोप गर्ने भन्दा पनि संयुक्त संवादबाट विवाद समाधानको उपाय खोज्नुपर्छ । भारत सरकारले नक्सा जारी गरेपछि उत्पन्न विवादलाई विदेश सचिवस्तरिय तहबाट टुंग्याउन नेपालले विगतमा पहल गरेको स्मरण पनि ज्ञवालीले गरे ।

    इपिजी प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्नुपर्ने हुन्छ । तर भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन बुझ्न आलटाल गरिरहेका छन् ।

  • हैदरावाद हाउसमा नेपाल-भारत संयुक्त आयोगको बैठक सुरू

    हैदरावाद हाउसमा नेपाल-भारत संयुक्त आयोगको बैठक सुरू

    काठमाडौं। नेपाल-भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सुरु भएको छ। बैठकअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री एस जयशंकरबीच अनौपचारिक छलफल भएको थियो।

    संयुक्त आयोगको बैठकको अध्यक्षता दुवै परराष्ट्रमन्त्रीले संयुक्त रुपमा गर्दैछन्। आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको १२ सदस्यीय टोली बिहीवार नै दिल्ली पुगिसकेको थियो ।

    बैठकमा नेपालले कालापानीलगायत सीमा विवाद टुंग्याउने विषयलाई पनि उठाउने तयारी गरिरहेको छ। तर, भारतले भने सीमा विवादको विषय आयोगमा आउन नदिन चाहेको छ।

  • परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली प्रस्थान

    परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली प्रस्थान

    काठमाडौं । नेपाल भारत संयुक्त आयोगको वैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँ दिल्ली प्रस्थान गरेका छन्। ज्ञवाली परराष्ट्र सविच भरतराज पौडेलसहित विभिन्न बरिष्ठ सरकारी अधिकारीका साथमा केहीबेरअघि दिल्ली प्रस्थान गरेका छन्।

    दुई दिनसम्म चल्ने परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सीमा विवादको विषयलाई उठाउने तयारी नेपालको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सार्वजनिक कार्यक्रममै लिम्पयाधुरा, लिपुलेक र कालापानी नेपालको जमिन भएकाले त्यसलाई फिर्ता ल्याउने बताएका थिए ।

    मन्त्री ज्ञवालीले भारतसँग कोभिड १९ विरुद्धको भ्याक्सिन खरिदका विषयमा पनि कुरा हुने बताएका छन् । यसबारेमा सम्झौता हुने भनिए पनि त्यसको टुंगो लागि नसकेको स्रोतले बताएको छ।

    तर भारतमा निर्मित खोपको प्रभावकारिता पुष्टि भएमा नेपालले भारतकै खोपलाई प्राथमिकता दिने भएको छ।

  • परराष्ट्रमन्त्री दिल्ली जाँदै, सीमा विवाद र काेराेना खाेप नेपालको प्राथमिकतामा

    परराष्ट्रमन्त्री दिल्ली जाँदै, सीमा विवाद र काेराेना खाेप नेपालको प्राथमिकतामा

    काठमाडौं । नेपाल भारत संयुक्त आयोगको वैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज दिल्ली जादैछन् । परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सीमा विवादको विषयलाई उठाउने तयारी नेपालको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सार्वजनिक कार्यक्रममै लिम्पयाधुरा, लिपुलेक र कालापानी नेपालको जमिन भएकाले त्यसलाई फिर्ता ल्याउने बताएका थिए ।

    उनले परराष्ट्रमन्त्रीको भारत भ्रमणमा यी विषयमा कुरा हुने बताएका छन् । मन्त्री ज्ञवालीले भारतसँग कोभिड १९ विरुद्धको भ्याक्सिन खरिदका विषयमा पनि कुरा हुने बताएका छन् । यसबारेमा सम्झौता हुने भनिए पनि त्यसको टुंगो लागि नसकेको स्रोतले बताएको छ । तर भारतमा निर्मित खोपको प्रभावकारिता पुष्टि भएमा नेपालले भारतकै खोपलाई प्राथमिकता दिने भएको छ ।

    शुक्रवार हुने संयुक्त आयोगको बैठकको अध्यक्ष परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरले संयुक्त रुपमा गर्नेछन् । बैठकमा नेपालले यसपटक सीमा विवादलाईनै प्रमुख रुपमा उठाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सीमा विवादलाई समाधान गर्न सचिवस्तरीय संयन्त्र छ । त्यसलाईनै मन्त्रीस्तरीय बैठक समयसीमा तोकेर जिम्मेवारी दिनसक्ने सम्भावना रहेको छ ।

    कालापानी र सुस्ता क्षेत्र बाहेक अन्यत्र सीमा समस्या जटिल नरहेकोले यही विषयमा बढी छलफल गर्ने नेपालको चाहना छ । प्रधानमन्त्रीले कालापानी,लिपुलेक र लिम्यिाधुरा नेपालको भूभाग भएकाले त्यसलाई फिर्ता ल्याइने र सन् २०२१ नेपाल र भारतबीचको समस्या समाधान भएको वर्षका रुपमा रहन सक्ने कुरा हालै भारतीय टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा बताएका छन् ।

  • परराष्ट्रमन्त्री माघ १ मा दिल्ली जाने प्रधानमन्त्रीद्वारा जानकारी

    परराष्ट्रमन्त्री माघ १ मा दिल्ली जाने प्रधानमन्त्रीद्वारा जानकारी

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी माघ १ गते भारत भ्रमणमा जाने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा नेकपाले आयोजना गरेको प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्रीको भ्रमणमा सिमा नाकाहरुको विषयमा भारतसँग कुरा हुने बताए ।

    प्रधानमन्त्रीले गौरीफण्टा नाका सुचारु गर्ने र अन्य नाका व्यवस्थित गर्ने लगायत राष्ट्रहितको विषयमा कुरा हुने बताए । नाकाबन्दीका डेटर सामना गर्दा जनताले साथ दिएको स्मरण गर्दै ओलीले देशको हितमा सरकारले कसैसँग नझुकी काम गर्ने बताए ।

    प्रधानमन्त्रीले ५८ वर्षदेखि हडपिएको नेपाली भूभाग समेटेर नक्सा पारित गर्ने र संविधान संशोधन गर्ने काम आफ्नो नेतृत्वमा भएको भन्दै ओलीले त्यहि दिनदेखि आफूविरुद्ध पार्टीभित्रबाट षडयन्त्र शुरु भएको दावी गरे ।

    ओलीले नेपाली भूमि फिर्ता ल्याउने बताए । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री ज्ञवाली भारत भ्रमणमा जादैछन् ।