Tag: परराष्ट्रमन्त्री ज्ञवाली

  • राष्ट्रपतिको खोप कूटनीतिलाई ‘राजनीतिकरण’ नगरौं : परराष्ट्रमन्त्री ज्ञवाली

    राष्ट्रपतिको खोप कूटनीतिलाई ‘राजनीतिकरण’ नगरौं : परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुुमार ज्ञवालीले राष्ट्रपतिको खोप कूटनीतिलाई लिएर राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

    एमाले स्थायी कमिटी बैठकपछि बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता समेत रहेका नेता ज्ञवालीले भने, ‘नागरिकलाई खोप ल्याएर जीवन रक्षा गर्नु न्यूनतम मानवीय कुरा हो । यसको कुरामा क्षुद्र ढंगले टिप्पणी गर्नु उचित होइन ।’

    केही राजनीतिक दलका नेताहरुले खोप आपूर्तिमा भैरहेको राष्ट्रपतिको सक्रियताप्रति आपत्ति जनाएका थिए । यसतर्फ लक्षित गर्दै ज्ञवालीले भने, ‘यस्ता मामिलालाई राजनीतिकरण नगर्न र टिप्पणी नगर्न म आग्रह गर्छु ।’

    सर्वोच्च पदाधिकारी, संविधानको रक्षक र अभिभावकको हैसियतले राष्ट्रपतिले आफ्नो हैसियतलाई प्रयोग गरेको बताउँदै ज्ञवालीले न्यूनतम प्रोटोकल बुझ्न आग्रह गरे ।

    परराष्ट्र मन्त्रालयले पनि आफ्नो ढंगले काम गरिरहेको जानकारी उनले दिए । जीवन रक्षाको लागि राष्ट्रपतिले काम गरेकाले यसलाई सकारात्मक रुपमा लिन ज्ञवालीले आग्रह गरे ।

    कांग्रेस लगायतका विपक्षी दलले राष्ट्रपतिको खोप सक्रियतालाई लिएर विरोध गरिरहेका छन् । राष्ट्रपतिले खोप आपूर्तिको पहल गर्न चीन, भारत, अमेरिका, रुस समकक्षीहरु र र बेलायती महारानीलाई पत्राचार तथा टेलिफोन संवाद गरेकी थिइन् ।

    राष्ट्रपतिको संवाद लगत्तै चिनियाँ राष्ट्रपतिले १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।

  • परराष्ट्रमन्त्री ज्ञवाली र श्रीलंकाली समकक्षीबीच टेलिफोन वार्ता

    परराष्ट्रमन्त्री ज्ञवाली र श्रीलंकाली समकक्षीबीच टेलिफोन वार्ता

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रीलंकाली समकक्षी दिनेश गुनावर्देनाबीच टेलिफोन वार्ता भएको छ ।

    श्रीलंकाली विदेश मन्त्रालयका अनुसार द्धिपक्षीय चासो र मिलेर अगाडि सकिने उपायका बारेमा संवाद भएको थियो ।

    श्रीलंकाली विदेशमन्त्रीका अनुसार संवादका क्रममा कोभिड-१९ महामारीसँग जुध्ने बारेमा छलफल केन्द्रित थियो । साथै, भ्रमण र पर्यटन कार्यक्रम, अन्तराष्ट्रिय मञ्चमा समझदारी समेत छलफल भएको जनाइएको छ ।

    लुम्बिनी बिमानस्थल, बौद्ध तीर्थयात्रा र सांस्कृतिक कार्यक्रमका बारेमा समेत छलफल भएको जनाइएको छ । दुई विदेशमन्त्रीबीच छलफल भएको बारेमा नेपालको परराष्ट्र मन्त्रालयले समेत पुष्टि गरेको छ ।

  • दिल्लीमा परराष्ट्रमन्त्री ज्ञवालीको उच्चस्तरीय राजनीतिक भेटवार्ता हुँदै

    दिल्लीमा परराष्ट्रमन्त्री ज्ञवालीको उच्चस्तरीय राजनीतिक भेटवार्ता हुँदै

    काठमाडौं । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन नयाँ दिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।

    आजै अपराह्न स्वदेश फर्किन लागेका ज्ञवालीले आजै केहीबेरमा भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेट गर्दैछन् । प्रधानमन्त्री नरेन्द्र मोदीपछिको बरियताका नेता राजनाथ सिंह नेपाल मामिलाका विज्ञ पनि हुन् ।

    नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न भारतीय पक्षले मन्त्री ज्ञवालीसँग उच्चस्तरीय भेट तय गरेको हो । दुवै देशको नक्सा विवादपछि चिसिएको सम्बन्ध सुधार गर्नलाई भेटवार्ता सहयोगी हुने अपेक्षा गरिएको छ ।

    मन्त्री ज्ञवालीको प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर यसको आधिकारिक पुष्टि भएको छैन । यसैबीच, आजै विहान परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय संचारकर्मीसँग दिल्लीस्थित नेपाली दुतावासमा पत्रकार सम्मेलन गरे ।