Tag: न्याय

  • डीआइजीले न्याय पाउँदा प्रेम आले खुशी हुनुको अन्तर्य

    डीआइजीले न्याय पाउँदा प्रेम आले खुशी हुनुको अन्तर्य

    काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका अवकाशप्राप्त डीआइजी प्रविण श्रेष्ठलाई तत्काल सेवामै कायम राख्न अन्तरिम आदेश दिँदा एमाले सांसद तथा पूर्वमन्त्री प्रेम आलेले विजयी महशुस गरे ।

    यसको कारण के हो भने, आलेले आफ्नो गृहजिल्ला डोटीका श्रेष्ठको म्याद एक वर्ष थप्नका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री खगराज अधिकारीसम्मलाई आग्रह गरेका थिए ।

    आले मन्त्रीबाट ६ महिना नपुग्दै हट्नुपर्दा अ‍ोलीसँग अशन्तुष्ट त थिए तर गुट नै छाडेर शेरवहादुर देउवालाई विश्वासको मत दिने तहमा पुग्ने घटना भने श्रेष्ठको म्याद थप नहुनु नै थियो ।

    सुदूरपश्चिमका नेताहरुको साझा विशेषता भनेको आफ्नो क्षेत्रका निजामति वा सुरक्षा निकायका अधिकारीहरुलाई न्याय गर्ने नै हो । एमालेको सरकार भएका बेला डोटीका श्रेष्ठले आफ्नो जिल्लाका सांसद अनि सत्तापक्षका नेता आलेसँग एक वर्ष म्याद थपका लागि पावर लगाउनु स्वभाविक थियो ।

    सशस्त्रका डीआईजी प्रवीण श्रेष्ठ आलेका गृहजिल्लाबासी हुन् । उनले आलेबाट ठूलो भरोसा गरेका थिए । किनकी उनको एक वर्ष म्याद थपिँदा आईजीपी हुनेवाला थिए ।

    ओलेले यो कुरा प्रधानमन्त्रीलाई भने । प्रधानमन्त्रीका स्वकीयसचिव राजेश बज्राचार्ययसँग ह्वाट्एपमा भिडियो च्याट नै गर्दै आफूले सिफारिस गरेको व्यक्ति अन्यथा होइन भन्दै डोटीको बासिन्दा रहेका प्रमाण नागरिकता समेत देखाए ।

    गृहमन्त्री खगराज अधिकारी थिए । तर, प्रवीण श्रेष्ठको म्याद थप मन्त्रिपरिषद्मा पुगेर पनि भएन । त्यसपछि उनी झनै रुष्ट भए । म्याद थप नभएपछि श्रेष्ठ केपी ओली सरकारविरुद्ध अदालतमा गए भने आले ओलीविरुद्ध विपक्षी गठबन्धनमा गए । त्यसपछि उनी माधव नेपालसँग भेटेर आफूसँग भएका ६ जना सांसदसहित वार्तामा जुटे ।

    आले अहिले सत्तारुढ गठबन्धनमा छन् । उनले देउवालाई विश्वासको मत दिए, सम्भवतः उनी माधव नेपाल समूहबाट देउवा सरकारमा मन्त्री पनि हुनेछन् । अर्कोतिर अदालतले आफूले सिफारिस गरेका डिआइजीलाई सेवामा बहाल गरिदिएपछि उनी दोहोरो खुसीमा छन् । आले पछिल्लो समय केपी ओलीको नेतृत्व कायमै राखेर एमाले एकताको औचित्य नहुने बताइरहेका छन् ।

    यो पनि पढ्नूस :

    आले इन्ट्रीको अन्तरकथा : आफ्नैले मैदान छाड्दा माधवलाई यसरी मिल्यो क्षतिपूर्ति

    डीआईजी श्रेष्ठको अवकाश तत्काल कार्यन्वयन नगर्न सर्वोच्चको आदेश

  • सरकारी वकिल नै बलात्कारीसँग मिलिन्, पीडित किशोरीलाई अदालतबाट पनि अन्याय

    सरकारी वकिल नै बलात्कारीसँग मिलिन्, पीडित किशोरीलाई अदालतबाट पनि अन्याय

    जनकपुरधाम । बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धान चलिरहेका बेला महोत्तरीकी एकजना बलात्कृत किशोरी अदालतबाट पनि न्याय नपाएर आफैंभित्र गुम्सिएर बसेकी छन् ।

    बर्दिबास नगरपालिकामा पर्ने पशुपतिनगरकी एक दलित बालिका २०७३ वैशाख १८ गते घरमै बलात्कृत भएकी थिइन् । घटनाको झण्डै पाँच वर्ष बित्न लागेको छ । बलात्कृत हुँदा १३ वर्षकी बालिका अहिले १७ वर्षकी भइन् तर न्याय पाइनन् ।

    दुई वर्ष बढी त जिल्ला अदालत महोत्तरीमै मुद्दा चल्यो । तर, अदालतले प्रमाण नपुगेको भन्दै आरोपी सोही ठाउँका विजयकुमार सिंहलाई रिहा गर्न आदेश दियो ।

    जिल्ला अदालतबाट न्याय नपाउँदा निराश बनेकी उनी उच्च अदालत जनकपुरमा पुगेकी थिइन् । तर उच्च अदालतले पनि माघ २१ गते जिल्ला अदालतकै फैसला सदर गरिदिएको छ ।

    ती बालिकाका लागि ‘नेपालको कानून दैव जानून्’ जस्तै भएको छ । आरोपीबाट पटक-पटक धम्की पाएको पीडित परिवार अदालतको आदेशमा अभियुक्त रिहा भएपछि झन् असुरक्षित बनेको छ ।

    सरकारी वकिलको असहयोग र चलखेल

    पीडित बालिकाले सरकारी वकिलको असहयोग र रकमको चलखेलका कारण अदालतबाट न्याय नपाएको दुःखेसो गरेकी छन् । जसले उनको पक्षमा लड्नुपर्ने हो उसैले धोखा दिएको बुझाइ पीडित बालिकाको छ ।

    उनले नेपाल प्रेससँग भनिन्, सरकारी वकिल रेखा झाले मेरो मुद्दामा बहस गर्दै आएकी थिइन् । तर अन्तिम दिन उनी आइनन् । पेशी छ भनेर सरकारी वकिल झालाई फोन गर्दा म आज अदालत गएँ भने जागिर नै जान्छ भनिन् ।

    आफूमाथि अत्याचार गर्ने सिंहले अदालतमा रकमको चलखेल गरेको आरोप पीडितको छ । महिला सरकारी वकिल नै बलात्कृत किशोरीको हकमा असहयोगी बनेको बुझाइ धेरैको छ ।

    उनले भनिन्, घटना ढाकछोप गर्न शुरुमा मेरो परिवारलाई ८/१० लाख रूपैयाँ लिएर मिल्न दबाब दिन्थ्यो । तर मलाई न्याय चाहियो भनेर लोभमा परेनौं । अहिले अदालतलाई नै किनेपछि मैले न्याय पाउन सकिनँ ।

    न्याय पाउने आशमा अदालत धाउँदा धाउँदै पीडित परिवारको लाखौं रुपैयाँ खर्च भएको छ । न्यायको लागि कहिले जलेश्वर त कहिले जनकपुर पुग्नुप¥यो । तारिख लिन जाँदा आउँदा ४/५ सय रूपैयाँ एक पटकमा खर्च हुन्थ्यो । उनका बुवाले मजदूरी गरेर कमाएको सबै पैसा सकियो तर न्याय मिलेन ।

    घटना यस्तो थियो

    पीडित बालिका सुकुम्बासी दलित परिवारकी हुन् । फुसको एउटा मात्र घर थियो । त्यसमै आमासँगै चार भाइबहिनी सुतेका थिए । स्थानीय विजय सिंह उनको घरमा पसे र मुखमा कपडा कोचेर बलात्कार गरे । जब उनी छटपटाइन् त्यसपछि आमाले बत्ती बालेपछि भाग्न लागेका विजय सिंहलाई चिनेकी थिइन् ।

    घटनापछि फरार भएका विजयमाथि पीडित परिवारले प्रहरीमा किटानी जोहरी दर्ता गरायो । तर उनी तत्कालै पक्राउ परेनन् । ६ महिनापछि पक्राउ परेका उनी १५ महिनामै रिहा भएका थिए ।

    बलात्कृत भएकी बालिका त्यतिबेला १३ वर्षकी मात्र थिइन् । अहिले १७ वर्षकी भइसकेकी छन् । त्यतिबेला स्थानीय सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् । बलात्कार गर्ने विजय र उनका आफन्तले उल्टै धाकधम्की दिन थालेपछि उनले पढाइ पनि छाडिन् ।

    पीडित बालिका अझै विस्थापित

    घटनापछि पीडित बालिकालाई पटक-पटक मार्ने धम्की दिएपछि उनका बुवा जनकपुर आएर बस्न थाले । भाडामा लिएको कोठामा अहिले उनीसहित परिवार बस्छ । बुवा राजमिस्त्रीको काम गर्छन् ।

    उनी भन्छिन्, म बलात्कृत भएदेखि घर बाहिर जान डर लाग्छ । अदालतले अपराधीकै पक्षमा फैसला गर्दा अहिले झन् बढी डर लाग्न थालेको छ, हामीलाई न्याय रहेनछ ।