Tag: नैनसिंह महर

  • ‘आमनिर्वाचनमा गठबन्धन हुँदैन, काँग्रेस एक्लैले बहुमत ल्याउँछ’

    ‘आमनिर्वाचनमा गठबन्धन हुँदैन, काँग्रेस एक्लैले बहुमत ल्याउँछ’

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवा पुनः अनुमोदित भएका छन् भने केन्द्रीय समिति पनि देउवाअनुकूल बनेको छ ।

    नयाँ नेतृत्व चयन भएसँगै कांग्रेस सुदृढीकरणको मुद्दा पनि चर्को रूपमा उठिरहेको छ । राष्ट्रियसभाको निर्वाचनसम्म पाँच दलीय गठबन्धनको नेतृत्व गरेको कांग्रेस आमनिर्वाचनसम्म गठबन्धनमै रहन्छ वा रहँदैन भन्ने धेरैको चासो छ ।

    कांग्रेसको एउटा ठूलो पंक्तिले नेतृत्वलाई आमनिर्वाचनमा एक्लै उत्रिनपर्ने दबाब दिइरहेको छ । राष्ट्रियसभाको निर्वाचनसम्म गठबन्धन जारी रहे पनि त्यसपछि कांग्रेस गठबन्धन तोड्नुपर्ने आवाज पनि उठिरहेको छ । यसै सन्दर्भमा लामो समय विद्यार्थी राजनीतिक गरेर अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका नैनसिंह महरसँग गरिएको कुराकानी, नेपाल टकमा ।

    विद्यार्थी राजनीतिपछि पार्टी राजनीतिमा होमिनु भएको छ । कस्तो अनुभूति गर्नुभएको छ ?

    नेपाल विद्यार्थी संघ राजनीति एउटा सिकाइको माध्यम हो । त्यहाँबाट धेरै कुराको सिकाइ भयो । अब पार्टीको राजनीति सुरु भएको छ । भोलि हामी देशको प्रथम व्यक्ति बन्नुपर्ने पनि हुन सक्छ । कांग्रेसका अवधारणा कार्यान्वयन गर्नुपर्ने छ । जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने बेला छ । अब राजनीतिलाई जनतासँग जोड्ने र जनतालाई विकाससँग जोड्ने मेरो मुख्य प्राथमिकता हुनेछ ।

    कांग्रेसको नयाँ नेतृत्वको अब प्राथमिकता के हो ?

    यसपटक हाम्रो नीति महाधिवेशन भएन । नेतृत्व चयनको महाधिवेशन मात्रै भयो । अब नीति महाधिवेशनतर्फ लाग्छौँ । योबीचमा मैले आफ्ना १४ एजेण्डा पेस गरेको थिए । त्यसमा सबैभन्दा ठूलो विषय ‘१४ औँ महाधिवेशनको कार्यभार, सशक्त कंँग्रेस र बहुमतको सरकार’ भन्ने छ ।
    कांग्रेसमा सशक्तीकरणको जरुरत छ । त्यसपछि बन्ने तीन तहको बहुमतको सरकारले जनताको जीवनस्तरमा सुधार गर्ने गरी काम गर्नुपर्छ भन्ने हो ।

    बहुमत त गठबन्धनकै होला नि हैन ?

    होइन, होइन । नेपाली कांग्रेसको एकल कुरा हो ।

    तर, कांग्रेसकै नेताहरु गठबन्धनबिना आमनिर्वाचनमा जान गाह्रो हुन्छ भन्दैछन् । राष्ट्रियसभाको निर्वाचनमा पनि गठबन्धन नै भयो !

    अहिलेको गठबन्धन परिस्थितिले बनाएको हो । तर, नेपाली कांग्रेस एक्लै लडेर बहुमतको सरकार निर्माण गर्न चाहन्छ । गठबन्धनको कुरा त जसको जोसँग पनि हुन्छ । हिजो भएको होइन र ? त्यो कुरालाई पनि हामीले बिर्सेका छैनौँ ।

    गठबन्धन गर्न हामीलाई केही जरुरत थिएन । केपी ओलीको शासनले जनतालाई जति प्रताडित बनायो, संसद् विघटन गर्यो । त्यसको विपक्षमा जनमत बनेको थियो । त्यसको नेतृत्व नेपाली कांग्रेसले गठबन्धनको हिसाबले गरेको हो ।

    ओलीको सरकारले जनतालाई सास्ती दियो भन्नुहुन्छ । अहिलेको देउवा सरकारले चाहिँ जनताको अपेक्षाअनुसारको काम गरेको त ?

    देउवाको सरकार आउने बेला मानिसहरूलाई कोरोनाले पिरोलेको थियो । बुकिङ गरेको भ्याक्सिन पनि कमिसनको खेलमा आउन सकेको थिएन । भारत र चीनबाट पनि ल्याउन सकेन । अरू ठाउँबाट पनि किन्न सकेन । जनताको स्वास्थ्यको विषयमा पनि सरकार भ्रष्ट्राचारमा तल्लीन थियो । त्यसबाट हामीले मुक्ति दिलाएका छौं ।

    अघिल्लो सरकारले बनाएको भूमि आयोगले तीव्र गतिमा काम गरिरहेको थियो । सरकारले खारेज गर्यो, नयाँ काम पनि गर्न सकेन । किन ?

    भूमि आयोग गठन भएको छ । त्यसले विधि निर्माण गर्ने काममा केही ढिलो भइरहेको छ । पछिल्लोपटक भएको प्राकृतिक प्रकोपको क्षति र भूमि वितरण गर्ने कुरा अहिले जनताले चाहेको विषय हो । त्यो कुरा आगामी एक महिना भित्रै कार्यान्वयनको चरणमा अगाडि बढ्छ ।

    सरकारले राजदूतहरू फिर्ता बोलायाे, नयाँ पठाउन सकेन । यो सरकारको असफलता होइन र ?

    सरकार थप परिष्कृत हुनुपर्छ । गल्ती छैन भन्ने कुरा होइन । गल्ती हुन्छन् र त्यो सुधार गर्दै हामी अगाडि बढ्छौं । केपी ओलीको निरकुंश शासनबाट जनतालाई मुक्ति दिएका छौँ । गठबन्धनको सरकार छ । बाँकी रहेको भूमि आयोगको विषय, राजदूतको विषय, जनताको अरू सरोकारको विषय र मूल्य वृद्धिको विषयमा सरकार अझै दृढ संकल्पका साथ अगाडि बढ्नु पर्छ ।

    एमसीसीको कारण सत्तागठबन्धनमा खटपट हुन थालेको हो ?

    त्यस्तो होइन । आमरूपमा अबको निर्वाचनमा गठबन्धनको सम्भावना मैले देखेको छैन र हुनु पनि हुँदैन । सबै ठाउँमा गठबन्धन हुन्छ भन्ने कुरा होइन । केही ठाउँमा योभन्दा अगाडि पनि भएको थियो ।

  • १४ औं महाधिवेशनमा १४ एजेण्डासहित नैनसिंह महर मैदानमा

    १४ औं महाधिवेशनमा १४ एजेण्डासहित नैनसिंह महर मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वअध्यक्ष नैनसिंह महरले पार्टीको आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा मंगलबार पत्रकार सम्मेलन गरी उनले कांग्रेसको केन्द्रीय सदस्य पदमा उठ्ने जानकारी दिएका हुन् । महरले घोषणा गरेका १४ औं महाधिवेशनका १४ एजेण्डा निम्नलिखित छन्-

    १. एक व्यक्ति, एक पद, दुई पटकमात्र

    २. प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशील सदस्यता

    ३. सरकार र पार्टी संचालनका लागि थिंक ट्यांक स्थापना

    ४. बीपी विचारको समयसापेक्ष कार्यान्वयन

    ५. व्यवहार र आचरणमा शुद्धता, आर्थिक पारदर्शिता

    ६. रुपान्तरणका लागि युवा कांग्रेस स्थापना

    ७. नेतृत्व आवधिक कार्ययोजना महाधिवेशनमै

    ८. लोकतन्त्रको संस्थागत विकास तथा असल नेतृत्व, कुशल व्यवस्थापन

    ९. योगदानमा आधारित जिम्मेवारी, मूल्यांकनका आधारमा सम्मान

    १०. निःशुल्क स्वास्थ्य-शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार

    ११. लगानीमैत्री वातावरण, युवा उद्यमशीलता र स्वरोजगार अर्थतन्त्रमा सुधार

    १२. विविधताको सम्मान, रीतिरिवाज र मौलिकताको पहिचान

    १३. कानुनी राज्य, मानव अधिकार, सुशासन र समावेशिता

    १४. राष्ट्रिय स्वार्थकेन्द्रित विदेश नीति