Tag: नेवानि

  • निगमको सम्पत्ति ‘कौडीको भाउ’ मा मूल्यांकन गरेर मन्त्रीलाई गुमराहमा राख्ने को हो ?

    निगमको सम्पत्ति ‘कौडीको भाउ’ मा मूल्यांकन गरेर मन्त्रीलाई गुमराहमा राख्ने को हो ?

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बारम्बार भनिरहेका छन्- नेपाल वायु सेवा निगमको अर्बौंको सम्पत्तिलाई कौडीको भाउमा मूल्यांकन गरेर बेच्न खोजियो ।

    ‘एक्सनम्यान’ का रूपमा अघि बढिरहेका मन्त्री आलेले निगमको सम्पत्ति कौडीको भाउमा बेच्न खोज्नेमाथि कारबाही गर्ने भनिरहेका छन् । उनले महाप्रबन्धक डिमप्रसाद पौडेललाई यो समेत कारण देखाउँदै मन्त्रालयमा तानेका छन् ।

    तर, निगमको सम्पत्ति कौडीको भाउमा मूल्यांकन गर्ने व्यक्ति भने नेपाल वायु सेवा निगमकै कार्यकारी पदमा आसीन रहेको दस्तावेज नै भेटिएको छ ।

    हाल निगमको कार्यकारी अध्यक्ष रहेका युवराज अधिकारीले तीन वर्षअघि नै निगमको सम्पत्ति अत्यन्त कम मूल्यांकन गरी निगमलाई निजीकरण गर्न सुझावसहितको प्रतिवेदन दिएका थिए ।

    तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलका पालामा निगमलाई कम्पनी मोडेलमा संचालन गर्न तयारीका लागि डीडीए (ड्यु डिलिजेन्स अडिट) गर्ने सम्बन्धी उपसमिति गठन भएको थियो ।

    २०७५ मंसिर २५ गते गठित उपसमितिको संयोजक तत्कालीन अर्थ विभागका काम निर्देशक युवराज अधिकारी थिए । उनी नेतृत्वको समितिमा निगमकै कर्मचारीहरु दीपेन्द्र सुवेदी, अनिसा खड्का, ललित सापकोटा, तारणीराज दाहाल र प्रतिभा शर्मा सदस्यसचिव थिए ।

    सो समितिले २१ दिनभित्र डीडीए लागू गर्न परमर्शदाता नियुक्त गर्ने कार्यादेश पाएकोमा निर्धारित अवधिमै एसएआर एशोसियट्सलाई निगमको सम्पत्ति मूल्यांकन गर्ने परमादर्श दाता छनौट गरेको थियो ।

    सुनिर ढुंगेलको उक्त चार्टर्ड एकाउन्टेन्ट संस्थाले नै निगमको सम्पत्ति मूल्यांकन गरी प्रतिवेदन पेस गरेको थियो । प्रतिवेदन पेस गर्ने बेला भने निगमको कार्यकारी अध्यक्ष सुशील घिमिरे आइसकेका थिए ।

    युवराज अधिकारीको समितिले पेस गरेको डीडीए रिपोर्टमा निगमको सम्पत्ति जसरी मूल्यांकन गरियो, त्यसैलाई समातेर मन्त्री आलेले कौडीको भाउमा निगम बेच्न खोजियो भनेका छन् । तर, मन्त्री आलेलाई अधिकारीले गुमराहमा पारेको कर्मचारीहरू बताउँछन् । आफैंले कौडीको भाउमा मूल्यांकन गरेको प्रतिवेदन डिमप्रसादको पालामा भएको भनेर उनले गलत ब्रिफिङ गरेको कर्मचारीहरूको भनाइ छ ।

    अधिकारीको उपसमितिले दिएको प्रतिवेदनमा निगमको चल-अचल सम्पत्ति ५४ अर्ब १६ करोड मूल्यांकन गरिएको छ भने ऋणलगायतको दायित्व ४५ अर्ब ९३ करोड कटाउँदा निगमसँग बाँकी सम्पत्ति ८ अर्बको मात्र रहने देखाइएको छ ।

    यो सम्पत्ति मूल्यांकन अधिकारीले छनौट गरेका चार्टर्ड एकाउन्टेन्ट सुनिर ढुंगेलको एसएआर एशोसियट्सले गरेको हो । त्यसबेला हतार हतार सम्पत्ति मूल्यांकन गरेर निगमलाई कम्पनी मोडलमा लगिहाल्ने उद्देश्यले अधिकारीसमेतको समूहले काम गरे पनि उनी त्यसबीचमै अवकाश भए ।

    सुशील घिमिरेको पालामा पेस भएको प्रतिवेदन डिमप्रसाद पौडेल महाप्रबन्धक भएपछि उनले अध्ययन गर्दा निगमको सम्पत्ति अस्वाभाविक कम मूल्यांकन भएको भन्दै यसलाई स्वीकार नगर्ने बताए । अर्थमन्त्रालयसँग पौडेलले सम्पत्ति पुनः मूल्यांकनको आग्रह गरे ।

    उनले यो मूल्यांकन विश्वास गर्न लायक नभएको भन्दै पुनः मूल्यांकनका लागि अर्थमन्त्रालयबाट अनुमति लिएपछि पौडेलविरुद्ध निगममा आन्दोलन सुरू भएको थियो ।

    निगमलाई निजीकरण गर्न खोजेको भनेर पौडेलविरुद्ध आन्दोलन भयो, जबकी सम्पत्ति मूल्यांकनदेखि कम्पनी मोडलमा लैजाने प्रक्रिया चाहिँ उनी निगममा आउनुभन्दा धेरै वर्ष पहिले नै सुरू भइसकेको थियो ।

    त्यसपछि अर्को संयोग भयो । पौडेलले निगमलाई निजिकरण गर्न लागेको भनेर कर्मचारी युनियनहरूले आन्दोलन गरिरहेका बेला सरकारले युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष नियुक्त गर्‍यो र कर्मचारी आन्दोलन पनि टुंगियो ।

    निगमको सम्पत्ति ८ अर्बमात्र मूल्यांकन निकालेर कम्पनीमा लैजान सिफारिस गर्ने अधिकारीले ‘काँक्रो चोरले खुदी जति आफूले खाएर बियाँ अर्काको निधारमा टाँसेर चोर प्रमाणित गर्न’ खोजेजस्तै डिम आफ्नो प्रतिवेदन डिमप्रसादको निधारमा टाँस्न खोजे ।

    मन्त्रीलाई गुमराहमा राख्ने उनको यो शैली काँक्रा चोरकै जस्तो देखिएको निगमका निर्देशकहरू नै बताउँछन् । अधिकारीले नियुक्त गरेका परामर्शदाताको मूल्यांकन अस्वाभाविक देखिएपछि पुनःमूल्यांकन गर्न खोज्ने पौडेलमाथि उल्टै आरोप लगाउनुमा परामर्शदाता नियुक्तिमै उनले आर्थिक लेनदेन गरेको आरोपसमेत छ ।

    सिनामंगलको जग्गा प्रतिआना ३४ लाख

    युवराज अधिकारीको उपसमितिले बुझाएको डीडीए रिपोर्टमा निगमको केन्द्रीय कार्यालय रहेको न्यूरोडस्थित कान्तिपथ-२२ को १४ रोपनी ७ आना १ पैसा १ दाम जग्गाको प्रतिआना २ करोड ५ लाखको दरले मूल्यांकन गरिएको छ ।

    निगमको कार्यालय रहेको जग्गाको मूल्य प्रतिआना २ करोड ५ लाखमात्र मूल्यांकन गर्नु नै अस्वभाविक छ । किनकी न्यूरोडको जग्गा ५ करोड रूपैयाँ आनासम्म कारोबार हुने गरेको छ ।

    अझ अस्वाभाविक चाहिँ सिनामंगलस्थित निगमको ३४ रोपनी १३ आना जग्गाको मूल्यांकन प्रतिआना ३४ लाख ४० हजार गरिएको छ । सिनामंगलमा ३४ लाख आना जग्गा कहाँ पाइन्छ ?

    यी उदाहरणमात्र हुन्, डीडीए रिपोर्टमा निगमको सम्पत्ति कम मूल्यांकन गरेर कौडीको भाउमा बेच्न खोजिएकै हो । तर, त्यो मूल्यांकन भने अहिलेका निगमकै कार्यकारी अध्यक्ष युवराज अधिकारीको अगुवाइमा भएको तथ्य नै आइसकेको छ ।

  • हाकिमलाई ‘…चोर देश छोड’ भन्दै कर्मचारीको अभद्र नारावाजी, बिजुली र नेट पनि काटिदिए (भिडियो)

    हाकिमलाई ‘…चोर देश छोड’ भन्दै कर्मचारीको अभद्र नारावाजी, बिजुली र नेट पनि काटिदिए (भिडियो)

    काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीको आन्दोलन अराजक बन्न थालेको छ । महाप्रबन्धकलाई अभद्र गाली गर्दै कर्मचारीले आज नारावाजी गरेका छन् ।

    निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल ६ दिनपछि बिहीबार कार्यालय आएका थिए । उनी आउनासाथ कर्मचारीले कार्यालय घेराउ गरे । एक ट्रक प्रहरीका सुरक्षामा आएका महाप्रबन्धकलाई कर्मचारीले भेट्टाउन सकेनन् । त्यसपछि उनका विरुद्धमा कर्मचारीले नारावाजी सुरू गरे ।

    आन्दोलित कर्मचारी पौडेलको कार्यालयमा पसेर धरपकड गर्ने प्रयासमा थिए । तर, प्रहरीले उनीहरूलाई रोक्यो । त्यसपछि कर्मचारी एक ढिक्का बनेर कार्यालयको ढोकाअघि नारावाजी गरिरहे । कर्मचारीले ‘डिमे चोर, देश छोड’ भन्दै अभद्र नारा लगाएका थिए ।

    यति मात्र होइन, करिव २ घण्टा कार्यालयमा बिताएका महाप्रबन्धकलाई काम गर्न नदिन भनेर कर्मचारीले निगमको बिजुली बत्ती र नेटको लाइन काटिदिए ।

    ‘महाप्रबन्धक आएर अफिसको कुनै पनि काम नगरुन् भनेर बत्ती र नेट काटेका हौं,’ नेपाल वायुसेवा कर्मचारी पूर्वमहासचिव नरेश यादवले बताए ।

    सयौँ कर्मचारीको नारावाजीबीच महाप्रबन्धक पौडेल चार तलामाथिबाट प्रहरी घेरामा तल ओर्लिए । कर्मचारीले पत्तै पाएनन् । वायुसेवा निगमको गेट अगाडि तयारी अवस्थामा राखिएको गाडीमा कतिखेर प्रहरीले उनलाई रेस्क्यू गर्‍यो कसैलाई पत्तो भएन । कर्मचारी यताबाट गयो, उताबाट गयो भन्दै भवन वरीपरी घुमिरहे । तर, पौडेल सुटुक्क बाहिरिइसकेका थिए ।

     निगमको संचालक समितिले गत बिहीबार निगमलाई कम्पनीमा लैजाने आशयका साथ प्रस्तावित मोडल पर्यटन मन्त्रालय पुर्‍याएसँगै कर्मचारीले आन्दोलन गर्दै आएका छन् । बुधबार महाप्रबन्धक पौडेलले आन्दोलनरत कर्मचारीलाई वार्तामा बस्न आह्वान गरेका थिए । तर, नायब प्रबन्धक गणेशबहादुर चन्दको संयोजकत्वमा वार्ता आह्वान गरेपछि पुनः कर्मचारी विच्किएका हुन् ।

    महाप्रबन्धकभन्दा तल्लो तहका नायब प्रबन्धकसँग आफूहरू वार्तामा नबस्ने नेपाल वायुसेवा कर्मचारी संगठनका पदाधिकारीले बताएका छन् । ‘वार्तामा हामी उहाँले बनाएको व्यक्तिसँग बस्दैनौ । पर्यटन मन्त्रालयसँग मात्र वार्ता हुने छ,’ आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष ऋषिकेश पन्थीले भने ।

  • नेवानीका प्रबन्ध निर्देशकको कार्यकक्षमा लगाइएको ताला प्रहरीले खुलायो

    नेवानीका प्रबन्ध निर्देशकको कार्यकक्षमा लगाइएको ताला प्रहरीले खुलायो

    काठमाडौं । नेपाल वायु सेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलको कार्यकक्षमा कर्मचारीले लगाएको ताला प्रहरीले खुलाएको छ ।

    संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई ताला खुलाउन पत्राचार गरेपछि प्रहरी लगाएर ताला तोडिएको हो ।
    असार १८ गतेदेखि निगमका कर्मचारीले निगमलाई पव्लिक लिमिटेड कम्पनीमा लैजान लागिएको विरोधमा तालाबन्दी गरेका थिए । प्रहरीले ताला खुलाए पनि प्रबन्धन निर्देशक पौडेल भने कार्यालयमा गएका छैनन् ।

    पौडेलले निगमलाई निजीकरण गर्न खोजिएको भनेर अनावश्यक भ्रम फिँजाइएको बताउँदै आएका छन् ।