Tag: नेपाल स्टक एक्सचेञ्ज

  • सरकार परिवर्तनपछि सेयर बजार ‘पर्ख र हेर’ को अवस्थामा

    सरकार परिवर्तनपछि सेयर बजार ‘पर्ख र हेर’ को अवस्थामा

    काठमाडौं । देशमा हुने राजनीतिक उतारचढावको सिधा असर सेयर बजारमा पर्ने गर्छ । त्यही भएर सेयर लगानीकर्ताहरु देशको राजनीतिमा नजर राखिराख्छन् ।

    हालैको सर्वोच्च अदालतको फैसला र त्यसपछि सरकार परिवर्तनले सेयर बजारमा कस्तो प्रभाव पर्ला भन्ने ब्यापक चासो छ । प्रारम्भिक तीन दिनको रुझान हेर्दा नेप्से सकारात्मक दिशातर्फ उन्मुख छ, तर आगामी दिनहरुमा यसै होला भन्ने सकिने अवस्था छैन ।

    गत आइतबार नेप्से कारोबार शुरु हुँदा केपी शर्मा ओलीको सरकार थियो र अर्थमन्त्रीमा थिए विष्णु पौडेल । तर कारोबारको अन्तिम दिन विहीबार आइपुग्दा शेरवहादुर देउवा प्रधानमन्त्री बनेका छन् भने माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्रीका रुपमा आएका छन् । कम्युनिष्ट सरकारसँग आश्वस्त नभएका लगानीकर्ताले विष्णु पौडेललाई अर्थमन्त्री पाएपछि पत्याएका थिए । अहिले जनार्दन शर्मा अर्थमन्त्रीको पहिलो पदभार ग्रहण गर्दा शेयरबजार ‘पर्ख र हेर’ को स्थितिमा छ ।

    गत जेठ ३१ गते नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । नेप्सेको इतिहासमा ३ हजार विन्दु पार गर्नसाथ धितोपत्र बोर्डले असार १ गते ५१ वटा कम्पनीको सूची निकाल्यो । त्यसपछि ओरालो लागेको नेप्से गत आइतबार ७३ अंकले बढ्दै २९ सय विन्दुको छेउ पुग्दा अरबौ गुमाइसकेका लगानीकर्तामा केही आशाको दियो बल्न पुग्यो । सोही दिन कारोबार रकममा पनि धेरै दिनपछि दोब्बरको वृद्धि हुँदै ८ अर्ब पुगेको थियो ।

    सोमबार देशको राजनीतिमा ट्वीस्ट ल्याउँदै सर्वोच्च अदालतको फैसलामार्फत काग्रेसका सभापति शेरवाहादुर देउबा प्रधानमन्त्री बने । त्यसले लगानीकर्ता हतोत्साही बन्दा बजारमा ४५ अंकको गिरावट आयो । तर, कारोबार रकम भने बढेर १० अर्ब पुग्यो ।

    नयाँ सरकारमा अर्थमन्त्री पनि नेपाली कांग्रेसकै हुने सबैको आँकलन थियो । उद्योगपति विनोद चौधरीदेखि ज्ञानेन्द्रबहादुर कार्कीको नाम चर्चामा आएको थियो । त्यही माहोलमा शेयरबजार १६ अंकले बढ्न पुग्यो ।

    सबैको आँकलन विपरित माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्रीका रुपमा आए । विगतमा उर्जामन्त्रीको पदमा रहँदा देशमा लोडसेडिङ अन्त्य गरेको जस पाएका नेता शर्मा बाट लगानीकर्तामा सकारात्मक प्रभाव देखिए पनि पूर्ण विश्वासको अवस्था छैन ।

    बुधबार अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्दैगर्दा शर्माले शेयर बजारमा उत्साह जनाउने का मगर्ने बताएका छन् । तर यी दुई दिनमा शेयर बजार भने धर्मराइरहेको अवस्था छ ।

    नयाँ अर्थमन्त्री नियुक्त भएको दिन बुधबार झिनो एक अंकले बजार बढ्यो भने विहीबार ११.३३ अंकले बढ्दै २८८३.३८ विन्दुमा रोकिएको छ । विहीबार ५ करोड ८५ लाख २ हजार १०९ कित्ताको किनबेचमा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३ सय २ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    लगानीकर्ताले पत्याएका अर्थमन्त्री पौडेल गए पनि अब नेप्से केही समय बढ्ने लयमा रहेको बताउँछन् शेयर विश्लेषक प्रकाश तिवारी । उनका अनुसार नयाँ अर्थमन्त्रीको कारणले नभइ बजार आफ्नै लयमा हिँडिरहेको छ । अब सेयर बजार ३५ सयको हाराहारीमा पुगे पनि पहिलाको जस्तो कुनै पनि कम्पनीको शेयर मूल्य अत्यधिक बढ्ने र घट्ने नहुने उनको भनाइ छ ।

  • दोहोरो अंकले बढेको नेप्सेमा १० अर्ब माथिको कारोबार

    दोहोरो अंकले बढेको नेप्सेमा १० अर्ब माथिको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन आइतबार ५४.२६ अंकले बढेको छ । आज दोहोरो अंकले बढेको नेप्से परिसूचक आज २७३८.३० विन्दुमा पुगेको छ । आज २.०२ प्रतिशतले बढेको नेप्सेमा आज २ करोड १३ लाख २८ हजार ८८२ कित्ताको किनबेचमा १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज कारोबारमा आएका २१४ वटा कम्पनीमध्ये ८ ओटा कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएका छन् । आज कारोबार रकम पनि अन्य दिनको तुलनामा करीब तीन अर्बले बढी भएको छ । अहिले व्यापार व्यावसायका अन्य क्षेत्र बन्द भएकाले पनि लगानीकर्ता शेयर बजारमा आकर्षित भएको लगानीकर्ता बताउँछन् ।

    ‘अहिले लगानीकर्ताले उच्च मनोबलसँगै लगानी गरेकाले पनि बजार बढ्नमा टेवा पुगेको हो,’ लगानीकर्ता विनोद श्रेष्ठले बताए ।

    आज सबैभन्दा धेरै पुर्नबीमा कम्पनीको शेयर कारोबार भएको छ । आज पुर्नबीमाको आज ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी, एनसीसी बैंकको ३१ करोड रुपैयाँ बराबरको भएको छ ।

    त्यस्तै, नेपाल इन्फ्रास्ट्रकचर बैंकको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै रु रु जलविद्युत कम्पनीका शेयर धनीले कमाएका छन् । आज रु रु जलविद्युतको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

    यसैगरी शिखर इन्स्योरेन्स कम्पनीलगायत अन्य सात वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज सबै समूहका उप–सूचकहरु हरिया भएका छन् । आज सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी समूहको उप–सूचक सबैभन्दा बढी ४ दशमलव २८ प्रतिशतले बढेको छ । यसैगरी, जीवन बीमा कम्पनी समूहको उप–सूचक ३ दशमलव ०४ प्रतिशतले बढेको छ ।

  • नेप्सेलाई निफ्राको जवाफ- ‘बण्ड जारी गर्ने विषय पहिलेदेखिकै रणनीति’

    नेप्सेलाई निफ्राको जवाफ- ‘बण्ड जारी गर्ने विषय पहिलेदेखिकै रणनीति’

    काठमाडौं । नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक (निफ्रा) ले नेपाल स्टक एक्सचेन्जलाई जवाफ फर्काएको छ ।

    नेप्सेले चैत ४ गते निफ्रालाई ३० मिलियन डलर लण्डन स्टक एक्सचेन्जमा जारी गर्ने विषयमा स्पष्टीकरण सोधेको थियो ।

    आइतबार जवाफ दिँदै निफ्राले बण्ड जारी गर्ने विषय आफ्नो रणनीतिको एक हिस्सा भएको बताएको छ । जुन कुरा सेयर निष्कासनका लागि तयार पारेको विवरणमा समेत उल्लेख गरेको बैंकको स्पष्टीकरण छ ।

    आफ्नो सेयर नेप्सेमा सुचीकृत हुनुभन्दा अगाडि नै सम्बन्धित नियमक निकायहरूबाट कानूनी व्यवस्था गरेर स्वीकृतिसमेत लिइसकेको बैंकले बताएको छ । बण्ड जारी गर्नका लागि थप सहमति लिँदै तोकिएको ब्याजदरमा चाँडो सम्बन्धित स्टक एक्सचेन्जमा सूचिकृत गराउनेतर्फ बैंकले आफ्नो कामलाई तीब्ररूपमा अगाडि बढाएको समेत जवाफमा उल्लेख छ ।

    लाभांशको बारेमा बैंकले सेयर जारीकै बेलाको विवरण पत्रमा २०७७/७८ मा ८ प्रतिशत दिनसक्ने अनुमान प्रस्तुत गरिएको निफ्राले लेखको छ ।

    साथै निफ्राले सेयर मूल्य प्रभावित हुने विषयमा बैंक सजग रहेको बताएको छ ।

  • ‘टी प्लस टू’ प्रभावकारी कार्यान्वयन नहुनुमा को दोषी ?

    ‘टी प्लस टू’ प्रभावकारी कार्यान्वयन नहुनुमा को दोषी ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले २०७५ पुस ४ गते धितोपत्र सुधारका लागि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष ५८ बुँदे सुझाव पेस गरेको थियो । उक्त सुझाव प्रतिवेदनले धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट चक्र अर्थात कारोबार समय अवधि ‘टू प्लस थ्रि’ लाई ‘टी प्लस वान’मा झार्नुपर्ने माग राखेको थियो ।

    छिमेकी तथा विकसित देशको अभ्यास, प्रविधिको उपलब्धता र नेपाल धितोपत्र सम्बन्धी कारोबार गर्ने संस्थाहरूको क्षमतालाई मध्यनजर गरी टी प्लस टु कार्यान्वयनमा ल्याउन नेपाल धितो पत्र बोर्ड, सीडीएस एण्ड क्लियरिङ्ग हाउस, नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’, ब्रोकर र लगानीकर्ता सहमत भएका थिए ।

    उक्त व्यवस्था कार्यान्वयनका लागि सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘टी प्लस टू’ कार्यान्वयनमा ल्याउने व्यवस्था गर्‍यो । त्यस्तै सीडीएस एण्ड क्लियरिङ्ग कम्पनीले ‘टू प्लस थ्रि’सेयर विनियमयको माध्यमलाई परिवर्तन गरी आफ्नो-आफ्नो विनिमय नीति परिवर्तनका लागि गरी धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट नियमावली २०६९ परिवर्तनका लागि धितोपत्र बोर्डसमक्ष अनुमति मागेको थियो ।

    नेपाल धितोपत्र बोर्डले पनि सीडीएसको अनुमतिलाई अनुमोदन गर्दै गत पुस १६ गते सूचना जारी गर्दै माघ ११ गते देखि ‘टू प्लस टू’ कार्यान्वयनमा ल्याउन धितोपत्र कारोबार गर्ने सबै पक्षलाई आग्रह गर्‍यो ।

    तर ‘टी प्लस टू’लागू भएको ३ दिन वित्न नपाउँदै माघ १४ गते धितोपत्र बोर्डले लगानीकर्ताको गुनासो आएको भन्दै ‘टी प्लस टु’ कार्यान्वयनमा प्रभावकारिता ल्याउन निर्देशन दिएको थियो ।

    सम्वन्धित कारोबार भएको दिनमा नै भुक्तानीका लागि व्रोकरहरूले म्यासेज पठाउँदै तुरुन्त सेयर ट्रान्सफर तथा भुक्तानी दिनका लागि आग्रह गर्ने गरेका छन् । लगानीकर्ताले समयमा नै सेयर ट्रान्सफर तथा सेयर खरिदवापत समयमा नै भुक्तानी दिएपनि लगानीकर्ताले खरिद गरेको सेयर प्राप्त गर्न तथा भुक्तानी प्राप्त गर्न बारम्बार व्रोकरलाई फोन गर्नुपर्ने अवस्था रहेको भन्दै लगानीकर्ताले गुनासो गरिरहेका छन् ।

    यो ढिलाइप्रति नेपाल स्टक एक्सचेन्ज र व्रोकर दुवैले एकअर्कालाई आरोप-प्रत्यारोप गरिरहेका छन् । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद ब्रोकरहरूले कारोबार स्याटेलमेन्टमा ढिलाइ गर्ने गरेको भन्दै आफूहरूकहाँ गुनासो आएको बताउँछन्

    ‘धितोपत्र बोर्डमा हामी सबै पक्षहरुसँगको सहमतिमा नै टी प्लस टू भुक्तानी प्रणाली कार्यान्वयन भएको हो । सेयर खरिदका लागि लगानीकर्ता साथीहरूले टीएमएसमा २५ प्रतिशत रकम क्लोड्रल जम्मा गरी सेयर खरिद गर्नुपर्ने हुन्छ भने बाँकी रकम समयसीमाभित्र भुक्तानी गर्नुपर्ने हुन्छ भने बिक्री गरेको सेयर उक्त समयभित्र पठाइ सक्नुपर्ने हुन्छ यसमा समस्या देखिन्छ । त्यस्तै व्रोकर कम्पनीहरूले पनि सो समयसीमा भित्र लगानीकर्ताबाट प्राप्त गर्ने रकम लिने र तिर्ने रकम भुक्तानी दिनुपर्ने हुन्छ । लगानीकर्ताले इमान्दारिताका साथ कारोबार गरेपनि ब्रोकरबाट भने भुक्तानीमा ढिलाइ हुने गरेको गुनासो आएका छन ।’

    ‘टी प्लस टू कार्यान्वयनमा नआएको भनेर थुप्रै गुनासो आएको छ , प्रणाली नयाँ भएकाले हामी एक्सनमा गएका छौं । लागानीकर्तासँग उहाँहरूले कसरी पैसा उठाउनुहुन्छ व्रोकरको कुरा हो तर लगानीकर्ताले समयमा नै पैसा पाउँनुपर्छ । यदि उहाँहरुले भुक्तानीमा आलटाल गर्नुभयो भने हामी कारबाही गर्छौं’, साउदले थपे ।’

    के कारबाही हुन्छ त ? भन्ने हाम्रो प्रश्नमा ‘ब्रोकरको कारोबार रोक्कादेखि इजाजत पत्र खारेजीसम्म समेत हुनसक्छ , साउदको भनाइ छ।’

    यता व्रोकर कम्पनीहरू भने यसमा व्रोकरहरूको मात्रै गल्ती नभएको बताउँछन् । स्टक ब्रोकर एसोसियसनका अध्यक्ष सन्तोष मैनाली थुप्रै प्राविधिक पाटोहरूमा समस्या रहेको बताउँछ । ‘हामीले मात्रै भन्दा पनि कहिले काँही एनएचसीलबाट पनि समस्या आउने गरेको छ । भुक्तानी गरेको रकम फिर्ता आउने गरेको, कतिपय ग्राहकको बैंक खाता नम्बर नै वैध नभएको र केही ब्रोकर कम्पनीबाट पनि समस्या आएको हुनसक्छ । त्यसैले एउटा पाटोभन्दा पनि सबै कोणबाट हेर्नुपर्छ’, उनले भने ।’

    धितो पत्र बोर्डका प्रवक्ता नीरज गिरी टी प्लस टू प्रभावकारीरूपमा कार्यान्वयन नहुनुमा स्याटलमेन्ट ग्यारेन्टी फण्डलाई व्यवस्थित र प्रभावकारी नबनाउनु रहेको बताउँछन् । ‘टि प्लस टु प्रभावकारीरुमा कार्यान्वयनमा सेटलमेण्ट ग्यारेन्टी फण्डको समस्या हो । नेप्से ,ब्रोकर र सीडीएससँग मिलेर उक्त फण्डलाई प्रभावकारी बनाउने विषयमा धितोपत्र बोर्डसँग छलफल अगाडि वढिरहेको छ । संभवत यो फण्डको प्रभाकारितासँगै टी प्लस टू ले गति लिन्छ’, उनले भने ।’

    यो फण्ड विगत २ वर्षदेखि सञ्चानलमा छ र उक्त फण्डमा ३५ लाख रूपैयाँ जम्मा भएको नेप्सेले जनाएको छ । यसमा धितोपत्र व्रोकरले मुनाफाको शून्य दशमलव ५ प्रतिशत नेप्सेले केही रकम जम्मा गर्ने गरेका छन् । यस फण्डको आकार वढाउनुपर्नेमा बोर्ड र नेप्सेले जोड दिइरहेका छन् ।

  • शेयर कारोबार समय थप, ३ : ३५ बजेसम्म कारोबार

    शेयर कारोबार समय थप, ३ : ३५ बजेसम्म कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आज भएको शेयर कारोबारमा प्राविधिक समस्या आएकाले समय थप गरेको छ ।

    मंगलबार बजार खुलेदेखि नै टिएमएसमा प्राविधिक समस्या देखिएकाले कारोबार रोकिएपछि समय थप गरेको हो ।

    नेप्सेले ३५ मिनेट कारोबार समय थप गरेको हो । त्यसअनुसार अब ३ ः ३५ बजेसम्म कारोबार खुल्ने बताएको छ ।