काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट नेपाल सुपर लिग (एनएसएल) साइड– एफसी चितवन र सी डिभिजन छनोटको तयारीमा रहेको झापा एफसीबीच सम्झौता भएको छ ।
नेपालकै पहिलो निजी फुटबल क्लब झापा र चितवनबीच ‘स्ट्रेटिजिक’ सम्झैता भएको चिवतनले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । सम्झौताअनुसार झापा फुटबल क्लबले सी डिभिजन लिगको छनोटका खेल दौरान आईएमई ग्रुपको लोगो अंकित जर्सी लगाउने छ । त्यस्तै खेलाडी विनिमय तथा चितवनको लोगो झापामा प्रोमोट गर्ने लगायतका सम्झौता भएको क्लबले बताएको छ ।
काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) मा शनिबार धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । ट्रफी सार्वजनिक तथा प्रि–म्याच कन्फरेन्समा बोल्दै दुवै टोलीका कप्तानले उपाधि उचाल्ने दावी गरे ।
लिग चरणका खेलबाट शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको काठमाडांै रेजर्सले इलिमिनेटर खेलमा भाग्यमाथि हुँदै अन्तिम दुईमा स्थान बनाउन सफल भएको थियो । यही टोली शनिबार पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको टोली धनगढीविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।
काठमाडौं मैदान उत्रिदा लिग चरण र पहिलो क्वालिफायरमा हारेको बदला लिने अवसर मिलेको छ । टोलीका प्रशिक्षक बालगोपाल महर्जनले यस अघिका दुई खेलमा भोगेको पराजयमा भएका कमी कमजोरीलाई सुधार गर्दै आफ्नो टोली उपाधिलाई मैदान उत्रिने र उपाधि काठमाडौंमा नै राख्ने प्रतिक्रिया दिए ।
प्रशिक्षक महर्जनले केही खेलाडीमा चोट भए प्रतिस्पर्धाका लागि टोली पुग्ने भन्दै फाइनल खेलमा सुखद नतिजा निकाल्नेमा आफ्नो टोली तयार रहेको थपे । कप्तान विकेश कुथुले प्रशिक्षकको भनाईलाई साथ दिँदै पहिलो संस्करणको उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ आफ्नो टोली मैदान उत्रिने प्रतिक्रिया दिए ।
उता पहिलो क्वालिफायरमा काठमाडौंमाथि अतिरिक्त समयमा रोमाञ्चक जित निकाल्दै फाइनलको ढोका खोलेको धनगढीले पनि सहजै उपाधि उचाल्नेमा आत्मविश्वासी देखियो । प्रशिक्षक तोपे फुजाले लिग चरण र क्वालिफयारमा निकालेको जितले खेलाडीमा आत्मविश्वास भएको र फाइनल खेल पनि आफ्नो पोल्टामा पर्ने दावी गरे ।
यस्तै धनगढीका कप्तान किरण चेम्जोङले सुरुआती खेलमा आफ्नो टोलीले सोचे जस्तो प्रदर्शन गर्न नसके पनि पछिल्ला खेलमा लय समात्न सफल भएको भन्दै फाइनलमा पनि राम्रो गर्ने विश्वास व्यक्त गरे ।
सोही कार्यक्रममा विजयी टोलीलाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरियो । फाइनल पुगेको धनगढीले लिग चरणका काठमाडौंलाई २–१ ले पराजित गरेको थियो भने काठमाडौंले इलिमेनेटरको विजयी टोली ललितपुर सिटीमाथि दोस्रो क्वालिफायर खेलमा ३–० को जित निकाल्दै धनढीसँगको भिडन्त पक्का गरेको थियो ।
पहिलो पटक आयोजना भएको फ्रेन्चाई फुटबल प्रतियोगिताको विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ भने व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन ।
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच आज प्रतिस्पर्धा हुँदैछ । खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ ।
लिग चरणमा मिश्रित नतिजासँगै शीर्ष चारभित्र छनोट भएको दुवै टोलीका लागि यो खेल क्वाटरफाइनल सरहको खेल हो ।
सुरुआती चार खेलमा जितविहनी रहेको ललितपुरले प्रशिक्षक प्रदीप हुमागाईंलाई बर्खास्त गरेपछिको लगातार २ खेल जितेर प्लेअफमा छनोट भएको हो । ललितपुरले लिग चरणमा एक हार, तीन बराबरी र दुई जितको नतिजा निकालेको थियो ।
अर्कोतर्फ निर्णायक खेलमा धनगढी एफसीलाई पराजित गरी बुटवल लुम्बिनी चौथो स्थानमा रहेर प्लेअफमा पुगेको हो । लिग चरणमा यी दुईबीचको खेलमा ललितपुर १–० ले विजयी थियो ।
आजको खेलको विजेता टोलीले भोलि नै इलिमिनेटर खेलमा फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँग खेल्नुपर्नेछ ।
हिजो भएको पहिलो क्वालिफायरमा काठमाडौंलाई अतिरिक्त समयमा पराजित गरी धनगढी एफसीले फाइनलमा स्थान बनाइसकेको छ ।
निर्धारित समयको खेल १–१ गोलको बराबरी भएपछि थपिएको ३० मिनेटको अतिरिक्त समयको १८ औं मिनेटमा मार्की खेलाडी विशाल राईले गोल गरेपछि धनगढीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
त्यसअघि नियमित खेलको ७५ औं मिनेटमा तेज तामाङले गोल गरी अग्रता दिलाए पनि त्यसको तीन मिनेटपछि नै पुजन उपर्कोटीले शानदार एक्रोब्याटिक प्रहारमार्फत बरारबी गोल फर्काएका थिए ।
काठमाडौं । नेपाल सुपर लिग एनएसएलको पहिलो क्वालिफायरका रुपमा फाइनल प्रवेशका लागि शीर्ष स्थानमा रहेर लिग चरण टुंग्याएको काठमाडौं रेजर्स र दोस्रो स्थानको धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजेदेखि सुरु हुनेछ । यो खेलको विजेताले सिधै फाइनल खेल्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरको विजेतासँग इलिमिनेटर खेल खेल्नेछ । यसको अर्थ आजको खेलमा पराजित भए पनि फाइनल प्रवेशका लागि दोस्रो अवसर हुनेछ ।
लिग चरणमा ४ जित, १ बरारबरी र १ हारसँगै १३ अंकका साथ शीर्ष स्थानमा रहेको काठमाडौं उच्च लयमा छ । विकेश कुथु मार्की खेलाडी तथा राष्ट्रिय टोलीको प्रशिक्षक हुँदाहुँदै जिम्मेबारी संहालेका बालगोलपाल महर्जनको चतूर रणनीतिले काठमाडौंलाई एकपछि अर्को खेलमा सफल बनाउँदै लगेको छ ।
काठमाडौंका विदेशी स्ट्राइकर मेसोउके ओलोमोउ उच्च लयमा छन् । प्रतियोगितामा उनले ह्याट्रिकसहित सर्बाधिक ५ गोल गरेका छन् । लिगका पछिल्ला २ खेल काठमाडौंको उच्च लयको सूचक रह्यो ।
जहाँ उसले विराटनगरलाई २–० ले पछि परेको स्थितिबाट पुनरागमन गरी ५–४ गोलअन्तरको जित हासिल ग¥यो । अन्तिम खेलमा मार्की तथा गोलरक्षक विकेशसहित अधिकांश पहिलो रोजाइका खेलाडीलाई आराम दिएर पनि चितवनलाई २–१ ले हरायो ।
लिगको आफ्नो पहिलो खेलमा विराटनगर सिटी एफसीसँग ३–० गोलले पराजित भएयता लगातार सुधारिएको प्रदर्शनसहित धनगढी पनि काठमाडौंजस्तै लिगको एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने टोली हो ।
धनगढीले ३ जित, १ बराबरी र २ हारको नतिजाले १० अंक जोडेर लिग चरणमा दोस्रो स्थानमा रह्यो । लिगको अन्तिम खेलमा अधिकांश दोस्रो रोजाईका खेलाडी उतारेको उसले बुटवल लुम्बिनीसँग १–० को पराजय ब्यहोरेको थियो ।
राष्ट्रिय टोलीका कप्तानसमेत रहेका गोलरक्षक किरण चेम्जोङ प्रेरित धनगढीले अग्रपंक्तिमा ओलावाले अफिजको प्रदर्शनमा निर्भर देखिएको छ ।
काठमाडौं । एफसी चितवनमाथि रोमाञ्चक जित निकाल्दै विराटनर सिटी फुटबल क्लब राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगर सिटीले चितवनमाथि २–० को जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
पहिलो हाफमा गोल रहित बराबरी खेलेको विराटनगरले दोस्रो हाफमा आक्राम खेल पस्किएको थियो । काउन्टर गर्दै चितवनलाई दबाब दिएको विराटनगरका लागि पेड्रो मान्जी क्रुजले ७३ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता निकालेका थियो ।
त्यसपछि ८९ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै टोलीको जितको निश्चित गरे । १० मिनेट इन्जुरी समयमा चितवन खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन ।
पहिलो हाफमा विराटनगरलाई दबाबमा राखेको चितवनले केही राम्रा अवसर पाएको थियो । तर चितवनको अग्रपंत्तिले अवसरलाई सदुपयोग गर्न असफल रहेको थियो । दोस्रो हाफमा भने विराटनगर हावी हुँदै चितवनलाई दबाब दिएर खेल पस्किँदा जित निकाल्न सफल भएको थियो ।
जितबाट शीर्ष स्थानमा उक्लिएको विराटनगरले ४ खेलबाट ७ अंक जोडेको छ । गोल अन्तरका आधारमा विराटनगरले धनगढी फुटबल क्लबलाई पछि पार्र्दै शीर्षता कायम गरेको हो । उता अंक गुमाएको चितवनले चार खेलबाट मात्र २ अंक जोडेको छ ।
दुई खेलमा बराबरी र दुई खेलमा अंक गुमाएको चितवनले जारी लिगमा जित विहिन छ । यस्तै ललितपुर सिटी पनि जारी लिगमा जितविहिन टोली हो ।
प्रतियोगितामा मंगलबार बुटवल लुम्बिनी फुटबल क्लब र काठमाडौं रेजर्सबीच खेल हुनेछ । बुटवलले तीन खेलबाट ५ अंक जोडेको छ भने काठमाडौं रेजर्सको समान तीन खेलबाट ४ अंक छ । मंगलबार हुने खेलमा दुबै टोली अघिल्लो चरण प्रवेश गर्न स्पष्ट जितका लागि प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौं । राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ नेपाल सुपर लिग (एनएसएल)का लागि धनगढी फुटबल क्लबसँग अनुबन्धित भएका छन् ।
वैशाख ११ गतेदेखि दशरथ रंगशालामा हुने एनएसएलका लागि धनगढीले हाइ प्रोफाइल फुटबलर किरणलाई आइकोनिक प्लेयरको रूपमा अनुबन्ध गरेको हो । अघिल्लो साता मात्र एसियाली फुटबल महासंघ (एएफसी)का उत्कृष्ट फुटबलर घोषित भएका किरण पछिल्लो समय भारतमा व्यावसायिक फुटबल खेल्दै आएका छन् ।
धनगढीले पत्रकार सम्मेलनको आयोजना गर्दै बिहीबार किरणलाई आइकोनिक प्लेयरको रूपमा सार्वजनिक गरेको हो । क्लबले यसअघि नै राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई कार्की प्लेयरको रूपमा भित्र्याइसकेको छ भने अक्सनबाट १४ जना खेलाडी पनि किनिसकेको छ ।
धनगढीले अक्सनबाट सौजन राई, रूपेश केसी, विजय श्रेष्ठ, योगेश गुरुङ, युद्ध शाही, निराजन महर्जन, विवेक बस्नेत, निशान खड्का, टंक बस्नेत, अशोक खवास, दिनेश राजवंशी, टेकेन्द्र थापा, पुजन उपरकोटी र दर्शन गुरुङलाई किनेको थियो ।
आइकोनिक प्लेयरको रूपमा सार्वजनिक भएसँगै किरणले पाँच वर्षपछी राष्ट्रिय फुटबलमा फर्किनका लागि आफू उत्साहित रहेको बताए ।
‘पाँच वर्षपछि डोमेस्टिक फुटबलमा फर्किन सुपर एक्साइटेड छु,’ किरणले भने, ‘कर्पोरेटले लगानी गरेर नेपाली फुटबलमा नयाँ मोड ल्याएकोमा धनगढीका अनर सुवाषलाई धन्यवाद् ।’
एनएसएलका लागि क्लबहरूले राम्र विदेशी खेलाडीहरू भित्र्याइरहेको बताउँदै किरणले भने- एनएसएलका लागि उत्कृष्ट खेलाडी देखिरहेको छु । यस्ता खेलाडीहरूको सहभागीताले नेपाली फुटबललाई माथिल्लो स्तरमा पुर्याउँछ भन्ने विश्वास छ ।’
सुपर लिगमा मुख्य प्रशिक्षकको रूपमा आफूलाई मौका दिएकोमा प्रशिक्षक युगलले क्लबलाई धन्यवाद् दिँदै फ्रेन्चाइज लिगको सुरुआत फुटबलको विकासका महत्त्वपूर्ण हुने बताए ।
‘म धनगढीलाई जित दिलाउन आफ्नो पक्षबाट सबै कुरा दिन तयार छु,’ किरणले भने ।
क्लबले बिहीबार नै एनएसएलका लागि मुख्य प्रशिक्षकको रूपमा पूर्व राष्ट्रिय खेलाडी युगल किशोरा राईलाई नियुक्त गरेको छ । मनाङ मर्स्याङ्दी क्लबलाई शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनाइसकेका तोपे फुजालाई प्रशिक्षकको रूपमा अनुबन्ध गरिसकेको छ ।
‘फुटबलको विकास हुन गाह्रो भएको देशमा फ्रेन्चाइज लिग हुनुलाई सकारात्मक रूपमा लिनुपर्छ,’ प्रशिक्षक युगलले भने, ‘हाम्रो अगाडि धेरै चुनौती छन्, त्यसका बावजुद् नयाँ युगको प्रारम्भ भएको छ ।’
किरण जस्ता हाइ प्रोफाइल खेलाडीलाई क्लबमा भित्र्याउन पाएकोमा धनगढी एफसीका मालिक सुवाष शाहीले खुशी व्यक्त गरे । ‘हट् केक’ किरणलाई टोलीमा भित्र्याउन पाउँदा खुशी छु,’ उनले भने, ‘अब मलाई पनि पूर्ण टीम बने जस्तो लागेको छ ।’
काठमाडौं । ललितपुर सिटी एफसीले नेपालमै पहिलो पटक हुन लागेको फुटबलको फ्रेन्चाइज- नेपाल सुपर लिगका लागि क्रोएसियन खेलाडी भिलिम पोसिन्कोभिचलाई अनुबन्ध गरेको छ ।
वैशाख ११ गतेदेखि २५ गतेसम्म हुने प्रतियोगिताका लागि भिलिमलाई अनुबन्ध गरिएको र उनी आइतबार काठमाडौं आइपुगेको ललितपुर सिटी फुटबल क्लबका मुख्य प्रशिक्षक प्रदिप हुमागाईंले जानकारी दिए ।
‘पोसिन्कोभिच नेपाल आइसकेका छन्,’ प्रशिक्षक हुमागाईंले भने, ‘तर, मैले उनलाई भेटको छैन ।’
बोस्निया एन्ड हर्जगोभिनामा जन्मिएका पोसिन्कोभिच २००८ देखि लगातार सिनियर युरोपेली फुटबल खेलिरहेका छन् । युरोपका विभिन्न देशहरू- टर्की, ग्रीस, क्रोएसिया, बुल्गेरिया, बोस्निया एन्ड हर्जगोभिना जस्ता देशका १७ देशहरूमा व्यवसायिक फुटबल खेलिसकेका ३० वर्षीय पोसिन्कोभिचले २०१९मा बुल्गेरियन लिगको उपाधि जितेका थिए ।
त्यस समयमा लोकोमोटिभ प्लोभडिभका खेलाडी रहेका पोसिन्कोभिचले गत सिजन राडनिक बिजेल्जिनाबाट बोस्निया एन्ड हर्जोगोभिनाको प्रिमियर लिग खेलेका थिए ।
लेफ्ट विङ्गबाट खेल्ने पोसिन्कोभिचले २०१९/२० को सिजनमा राडनिकबाट ५ खेल खेल्दै १ गोल गरेका थिए ।
ललितपुरले यसअघि नै राष्ट्रिय टोलीमा नियमित सदस्य अञ्जन विष्टलाई मार्की प्लेयरको रूपमा भित्र्याइसकेको छ भने अक्सनबाट १५ खेलाडी किनेको थियो ।
काठमाडौं । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालीले बैशाखमा आयोजना गर्न लागेको नेपाल सुपर लिग फुटबल प्रतियोगिताका लागि आज खेलाडी लिलामी अर्थात अक्सन हुँदैछ । अक्सन विहान ११ बजेदेखि सुरु हुनेछ ।
नेपालमै पहिलोपल्ट शहरको नामबाट फ्रेन्चाइज टिम निर्माण गरी प्रतियोगिता आयोजना हुन लागेको हो । चौधरी ग्रुपको यो प्रतियोगिताका लागि सात शहरका नामबाट टोली निर्माण भइसकेका छन् ।
काठमाडौं रेजर्स, ललितपुर एफसी, पोखरा थन्डर्स, चितवन सिटी एफसी, बुटवल लुम्बिनी एफसी, विराटनगर सिटी एफसी र धनगढी एफसी गरी सात टोलीले आजको अक्सनमा बिभिन्न समूहको वर्गीकरणमा परेका १ सय ५८ जना खेलाडीका लागि बोली लगाउनेछन् ।
अक्सनमा ए, बी र सी गरी खेलाडीहरुलाई तीन समूहमा वर्गीकरण गरिएको छ । राष्ट्रिय टोलीबाट खेलेका खेलाडीलाई ए श्रेणीमा राखिएको छ । ए डिभिजन लिग खेलेका बी श्रेणी र अन्य खेलाडीहरु सी श्रेणीमा रहनेछन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले आयोजकलाई १ सय ५८ जना खेलाडीको सूचि उपलब्ध गराएको छ । जसमा ३५ जना ए श्रेणीमा, ६५ जना बी श्रेणीमा र बाँकी सी श्रेणीमा छन् ।
एउटा क्लबले अक्सनमा घटिमा १० लाखदेखि बढीमा १५ लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन् । श्रेणीअनुसार खेलाडीको न्यूनतम मूल्य अहिलेसम्म तोकिएको छैन । एउटा क्लबले ए श्रेणीका बढीमा तीन खेलाडी किन्न पाउनेछन् । बी र सीका गरी ११ खेलाडी किन्न पाउनेछन् ।
एउटा फ्रेन्चाइज टोलीमा २० खेलाडी रहनेछन् । अक्सनबाट आएका १४, मार्की खेलाडी १, विदेशी खेलाडी ३ जना र स्थानीय खेलाडी २ जना रहनेछन् ।
सबै क्लबहरुले मार्की खेलाडी र प्रशिक्षकको टुंगो लगाइसकेका छन् । जसअनुसार काठमाडौंको मार्की खेलाडीमा गोलरक्षक विकेश कुथु, ललितपुरमा स्ट्राइकर अन्जन विष्ट, पोखरामा स्ट्राइकर नवयुग श्रेष्ठ, चितवनमा स्ट्राइकर खरत खवास, बुटवलमा गोलरक्षक विशाल श्रेष्ठ, विराटनगरमा डिफेण्र रन्जित धिमाल र धनगढीमा मिडफिल्डर विशाल राई छन् ।
काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको फुटबलको पहिलो फ्रेन्चाइज लिग- नेपाल सुपर लिगका लागि विराटनगरले राष्ट्रिय टोलीका खेलाडीसमेत रहेका रन्जित धिमाललाई मार्की प्लेयरको रूपमा अनुबन्ध गरेको छ ।
आगामी वैशाख ११ गतेदेखि २५ गतेसम्म दशरथ रंगशालामा हुने लिगका लागि विराटनगरले बिहीबार रन्जितलाई सार्वजनिक गरेको हो । नेपाल सुपर लिगमा ‘सिटी बेस्ड’ सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालमै पहिलो पटक हुन लागेको फुटबलको फ्रेन्चाइजका लागि बाँकी खेलाडीको अक्सन भोलि हुनेछ।
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)का लागि काठमाडौं रेजर्स फुटबल क्लबले मुख्य प्रशिक्षकको रूपमा बालगोपाल महर्जन र मार्की प्लेयरको रूपमा राष्ट्रिय टोलीका गोलकिपर बिकेश कुथुलाई अनुबन्ध गरेको छ ।
वैशाख ११ गतेदेखि २५ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताका लागि मोरङ अटो वर्क्सले स्थापना गरेको काठमाडौं रेजर्सले बिहीबार पत्रकार सम्मेलनमार्फत् बिकेश र बालगोपाललाई सार्वजनिक गरेको हो ।
नेपालमै पहिलो पटक हुन लागेको फुटबलको फ्रेन्चाइजका लागि बाँकी खेलाडीको अक्सन भोलि हुनेछ । प्रतियोगितामा ‘सिटी बेस्ड’ सात टोलीको सहभागिता रहने छ ।
काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको फुटबलको फ्रेन्चाइज लिग- नेपाल सुपर लिग (एनएसएल)का लागि अखिले नेपाल फुटबल संघ (एन्फा)ले अक्सनका लागि १५८ जना खेलाडीको सूची सार्वजनिक गरेको छ ।
आगामी वैशाख ११ गतेदेखि २५ गतेसम्म दशरथ रंगशालामा हुने लिगमा ‘सिटी बेस्ड’ सात फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । अक्सनका लागि एन्फाले ए, बी, सी गरी तीन समूहमा खेलाडीलाई सूचीकृत गरेको छ ।
अक्सन भोलि ११ बजेदेखि होटल सोल्टी क्राउन प्लाजामा हुनेछ ।
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणका लागि धनगढी फुटबल क्लबले नाइजेरियन नागरिक तोपे फुजालाई प्रशिक्षकको रूपमा नियुक्त गरेको छ ।
गो ड्रिमर्स प्रा.लि.को स्वामित्वमा रहेको धनगढी एफसीले प्रशिक्षकको रूपमा नाइजेरियाली नागरिक तोपे अयोडेजी फुजालाई अनुबन्ध गरेको जानकारी प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ । फुजा नेपाली फुटबलमा नयाँ नाम होइन । फुजाकै नेतृत्वमा मनाङमस्र्याङदी क्लबले २०७५ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो, जुन शीर्ष श्रेणीको लिगमा मनाङको कीर्तिमान आठौं उपाधि थियो ।
सन् २००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रुपमा कोचिङ करिअर सुरु गरेका फुजाले नेपालको ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र क्लबबाट २००६ मा डेब्यू गरेका थिए । त्यसपछि भारतमा व्यस्त रहेका उनले सिमला योङ, मुम्बई युनाइटेड, पियरलेस, हिन्दुस्तान एफसी, टलिगन्ज अग्रगामी, मोहम्मडन स्पोटिङ र चेन्नाई एफसीको टिम सम्हालेका थिए । अनि उनी मनाङको जिम्मेवारीमा नेपाल फर्किएका थिए । गत वर्ष २०७६ मा पनि मनाङमै रहेका थिए, जुन सिजन मनाङ लिगमा तेस्रो भएको थियो ।
एक ‘मार्की खेलाडी’ राख्न पाउने प्रावधानअनुसार धनगढीले राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई आइतबार अनुबन्ध गरिसकेको छ ।
गो ड्रिमर्सका प्रमुख सुवास साहीले देशमै पहिलोपल्ट हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिताको धनगढी एफसीको प्रशिक्षकमा तोपे फुजालाई आबद्ध गर्न पाउँदा एकदमै खुशी लागेको बताएका छन् । ‘जीवन नै फुटबलमा बिताइरहेका फुजाले नेपालसहित दक्षिण एसियाली फुटबललाई नजिकबाट हेरिरहेका छन्, नेपाली खेलाडीहरूको स्तर र क्षमताबारे जानकार छन्,’ सुवासले भने, ‘उनको अगामनले धनगढी एफसीेले नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास छ ।’
त्यस्तै, प्रशिक्षक फुजाले एनएसएलको पहिलो संस्करणमा नै महत्त्वपूर्ण जिम्मेवारी पाउँदा निक्कै खुशी र उत्साहित रहेको बताए । ‘उत्कृष्ट मार्की प्लेयर र टिमको सम्पर्कमा रहेका विदेशी खेलाडीहरूले गर्दा मलाई धनगढी एफसीमा सामेल हुने आग्रह स्वीकार्न समय लागेन,’ फुजाले भने, ‘क्लबको व्यवस्थापन र टिम मालिकको लक्ष्य देखेर म निक्कै प्रभावित भएको छु । र, हाम्रो लक्ष्य उपाधि जित्ने नै हो ।’
काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फुटबलको पहिलो फ्रेन्चाइज नेपाल सुपर लिगका लागि एफसी चितवनले भरत खवासलाई मार्की प्लेयरको रूपमा अनुबन्ध गरेको छ ।
आइएमई ग्रुपको गेम अन प्रालिअन्तर्गत रहेको चितवनले राष्ट्रिय टोलीका सदस्यसमेत रहँदै आएका फरवार्ड भरतलाई बुधबार सार्वजनिक गरेको हो ।
त्यस्तै चितवनले प्रशिक्षकमा मेघराज केसीलाई अनुबन्ध गरेको छ । नेपाली खेलकुदका प्रतिष्ठित प्रशिक्षक केसीको टोलीमा सहायक प्रशिक्षक शैलेश कर्मचार्यसमेत अनुबन्ध गरेको चितवनले जानकारी दिएको छ ।
मुख्य प्रशिक्षक मेघराज केसीले नेपालमा व्यवसायिक फुटवलको जति विकास हुनुपर्ने थियो, त्यति नभइरहेको अवस्थामा कर्पोरेट हाउसहरूले देखाएको स्वस्फुर्त इच्छाले अब नेपालमा फुटबल खेलको स्तरोन्नतिमा महत्तपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
काठमाडौं । वैशाख ११ गतेदेखि २५ गतेसम्म हुने पहिलो नेपाल सुपर लिग (एनएसएल)मा सात टोली सहभागी हुने भएका छन् ।
आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत् सात फ्रेन्चाइज टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो ।
पूर्व नेपालको विराटनगरदेखि पश्चिमको धनगढीसम्मका- विराटनगर सिटी फुटबल क्लब, चितवन फुटबल क्लब, पोखरा फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी एफसी गरी सात टोली सहभागी हुने भएका हुन् ।
काठमाडौं । नेपालका ठूला व्यावसायिक घरानामाथि खेलकुदलाई उपेक्षा गरेको आरोप लाग्ने गरेको छ । सानो अर्थतन्त्र भएको देशको खेलकुद विकासमा निजी क्षेत्रलाई संलग्न गराएर व्यावसायिक खेलकुदको विकास गर्ने रणनीतिलाई खेल सम्बद्ध अधिकारीहरुले कार्यान्वयन गर्न चुनौती भइरहेका बेला फुटबलमा फ्रेन्चाइज टिम र अक्सनमा आधारित प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को मिति घोषणाले नयाँ आशा पलाएको छ ।
पछिल्लो ४-५ वर्षदेखि नेपाली क्रिकेटमा व्यावसायिक प्रतियोगिता भइरहेका छन् । फ्रेन्चाइज लिग, खेलाडीको अक्सन र छोटो संस्करणका प्रतिस्पर्धात्मक प्रतियोगिताले क्रिकेटको रौनक बढाएको छ । ठीक यस्तै गरी फुटबलमा पहिलोपल्ट फ्रेन्चाइज लिग आयोजनाको मिति सार्वजनिक गरिएको छ, वैशाख ११ देखि २५ सम्म ।
भारतमा ७ वर्षदेखि जारी इण्डियन सुपर लिग (आईएसएल)को सफलताबाट प्रेरित भएर नेपालमा सोही शैलीको लिग संचालन गर्न नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसआईएम) र अखिल नेपाल फुटबल संघ एन्फाबीच सहमति भएको दुई वर्ष भइसकेको छ । सुरुआतको तयारीमा धेरै समय खर्चिएको यो संस्थाले कोरोना महामारीका कारण घोषित कार्यक्रम संचालन गर्न सकेन ।
नेपालको सशक्तमध्येको एक चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी एनएसआईएमका अध्यक्ष हुन् । केही समय नेपाली क्रिकेटका लागि प्रायोजन गर्नुबाहेक चौधरी ग्रुप खेलकुदमा खुलेर आएको यो पहिलोपल्ट हो । ठूला व्यापारिक घरानाको प्राथमिकताका कारण पनि एनएसएलको उत्साह बेग्लै छ ।
एनएसएल आयोजनाका लागि नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसआईएम) र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच सन् २०१९ को जनवरी १ मा सम्झौता भएको थियाे ।
विभिन्न शहरको नामबाट बनाइने ६ फ्रेन्चाइज टिम, खेलाडीलाई वर्गीकरण गरी अक्सनमार्फत अनुबन्धन, सिंगल राउण्ड रोविन, नवनिर्मित दशरथ रंगशालामा प्रतियोगिताको आयोजना र कोरोना महामारीपछिको ठूलो राष्ट्रिय फुटबल प्रतियोगिता । पहिलो संस्करणको एनएसएलका विशेषता हुन् यी । झण्डै डेढ सय फुटबलरलाई अक्सनमार्फत एकै प्रतियोगितामा समावेश गरी पहिलोपल्ट फ्रेन्चाइज लिगको सुरुआत हुने खबरले खेलाडीहरु नै अधिक उत्साहित छन् ।
‘नेपालमै पहिलो पटक आयोजना हुने भएकाले हाम्रो लागि यो विल्कुलै नयाँ अनुभव हुने’ गत सिजन च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका मिडफिल्डर सुनिल बलले भने, ‘मेरो च्यासलसँगको कन्ट्रयाक पनि सकिएको छ । त्यसैले अक्सनमार्फत प्रतियोगिता खेल्ने दिनको पर्खाइमा छु ।’
फुटबलसँग सरोकार राख्नेहरु यसलाई नेपाली फुटबलमा नयाँ आयामको सुरुआत मान्छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले एनएसएल नेपाली फुटबलमा व्यावसायिकताको अर्को चरण भएको टिप्पणी गरे । ‘यो फ्रेन्चाइज लिगलाई हामीले व्यावसायिक ट्रायलका रूपमा हामी सुरु गर्दैछौं’ उनले भने, ‘यसले खेलाडीसँगै एक वर्षका लागि खेलाडीहरू अनुबन्ध गरेका क्लबहरूलाई पनि आर्थिक भार कम हुनेछ ।’
‘ए’ डिभिजन लिग खेल्ने क्लबहरूले एक वर्षका लागि खेलाडी अनुबन्ध गरेका हुन्छन् । र, प्रतियोगिता नभएको समयमा पनि खेलाडीलाई तलब दिइरहेका हुन्छन् । तर, एनएसएलमा खेल्ने भए भने खेलाडीहरूलाई त्यो समयको तलब लगायतका सुविधा पनि फ्रेन्चाइज क्बलहरूले नै प्रदान गर्ने भएकाले क्लबलाई आर्थिक राहत हुने भनाइ अध्यक्ष शेर्पाको छ ।
‘एन्फाले ट्रान्सफर विन्डो खोल्छ, त्यो अवधिमा कुनै पनि प्रतियोगिता हुँदैन’ उनले भने, ‘त्यो समयमा अनुबन्ध गरेका क्लबले खेलाडी रिलिज गर्ने, बेच्ने र लोनमा पठाउन पनि सक्नेछन् यसले खेलाडी र क्लब दुवैलाई फाइदा हुन्छ ।’
फुटबल र खेलाडीका लागि पनि फाइदा नै हुने तर्क चलिरहँदा विभिन्न क्लबमा आवद्ध खेलाडीको हकमा फ्रेन्चाइज लिग खेल्न पाउने कि नपाउने चर्चाको विषय बनेको छ । एन्फाले एक महिनाअघि मात्रै २०७८ का लागि वार्षिक क्यालेण्डर सार्वजनिक गर्दा एनएसएलको नाम उल्लेख नभएकाले प्रतियोगिताको आधिकारिकतामै एकाथरीले प्रश्न उठाएका छन् । तर, त्यो समयमा एन्फाका कुनै पनि प्रतियोगिता नहुने भएकाले विभिन्न क्लबहरूमा आवद्ध खेलाडीहरूले पनि यसका लागि उपलब्ध हुने क्लब तथा एन्फाले बताएको छ ।
एन्फा अध्यक्ष शेर्पाले कुनै प्रतियोगिता नहुने त्यो अवधिका लागि एन्फाको आग्रहमा क्लबहरुले खेलाडी रिलिज (फुकुवा) गर्न सक्ने बताए । आयोजक एनएसएलले पनि क्लबसँगको छलफलबाट नै अक्सनका लागि खेलाडीको सूची तयार गर्ने बताएको छ ।
‘हामी खेलाडी अनुबन्ध भएका क्लबहरूसँग छलफल तथा सम्झौता गर्छाैं’ एनएसएलका सीईओ सुदीप शर्माले नेपाल प्रेससँग भने, ‘त्यसमा एन्फाले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्छ ।’ नेपालको फुटबलको नै विकास गर्ने हेतुले यो लिगको आयोजना गर्न लागिएकोले सबैले सहज वातावरण बनाउने विश्वास उनको छ ।
गत सिजनको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष छिमी उर्गेन गुरुङ समझदारी गरेर अगाडि बढ्न सकिने बताउँछन् । ‘हामीले यसअघि राष्ट्रिय टोलीका खेलाडीहरूलाई एन्फाको पत्र आएपछि रिलिज गर्ने गरेका थियौं’ उनले भने, ‘एनएसएलका लागि कुनै प्रकारको सम्झौता गरेर बेच्न, लोनमा पठाउन वा रिलिज गर्न पनि तयार छौं ।’
फ्रेन्चाइज लिगको अवधारणा खेलाडीका लागि सबैभन्दा राम्रो हुने भएकाले क्लबले यसलाई सकारात्मक रूपमा लिनुपर्ने अध्यक्ष गुरुङले भनाइ छ । ‘क्लबसँग एक पटक सल्लाह गर्नुभयो भने अझै उत्तम हुन्थ्यो’ उनी भन्छन्, ‘दुई महिनाको लागि मात्रै खेलाडी रिलिज गर्दा सो अवधिमा घाइते अथवा केही भयो भने त्यसले क्लबलाई फाइदा गर्दैन । त्यसैले व्यावसायिक हिसाबमा बसेर सम्झौता गर्न सकिन्छ ।’