Tag: नेपाल विद्युत् प्राधिकरण

  • कुलमानका हितैषी हितेन्द्र : प्रसारण लाइनका विज्ञ, विरासत जोगाउने चुनौती !

    कुलमानका हितैषी हितेन्द्र : प्रसारण लाइनका विज्ञ, विरासत जोगाउने चुनौती !

    काठमाडौं । विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा दोहोरिने कुलमान घिसिङको प्रयासमा ब्रेक लगाउने हितेन्द्रदेव शाक्य को हुन् ? चार वर्षका लागि उनले प्राधिकरणको नेतृत्व पाएसँगै उनको बारेमा सर्वसाधारणको चासो बढेको छ ।

    नेपाललाई लोडसेडिङ युगबाट बाहिर निकालेर लोकप्रिय बनेका घिसिङकै कारण प्राधिकरणको नयाँ नेतृत्वप्रति आम मान्छेको जिज्ञासा हुनु स्वाभाविक हो । कात्तिक तेस्रो सातादेखि निमित्त प्रबन्ध निर्देशकको रुपमा जिम्मेवारी सम्हालिरहेका शाक्यलाई मन्त्रिपरिषदको सोमबार साँझको बैठकले नियुक्ति दिएको हो ।

    विद्युत् प्राधिकरणमा कुलमानभन्दा सिनियर कर्मचारी हुन् शाक्य । कुलमान दशौं तहबाट एकैपटक १२औं तहको प्रबन्ध निर्देशक बनेका थिए । शाक्य भने १२औं तहका कर्मचारी हुन् । लो प्रोफाइलमा बसेर काम गरेका शाक्यमाथि अब कुलमानले मिडिया र आम जनताबीच पारेको एकछत्र प्रभावले दबाबमा पारिरहनेछ ।

    शाक्यलाई नजिकबाट चिनेका एक सहकर्मीले नेपाल प्रेससँग भने, ‘प्राविधिक रूपमा उनी सक्षम इन्जिनियर हुन् । आर्थिक रूपमा उनको पारदर्शितामाथि अहिलेसम्म कसैले प्रश्न उठाउन पनि सकेका छैनन् । तर, व्यवस्थापनको पाटोमा उनको परीक्षण हुन बाँकी छ । प्राधिकरणको नेतृत्व भनेको प्राविधिक मात्र होइन व्यवस्थापकीय विषय पनि भएकाले कुलमानको जस्तो मिडिया म्यानेज गर्न सकेनन् भने उनी अझ ठूलो दबाबमा पर्नेछन् ।’

    जाडो पिक आवरमा पुगेका बेला केही दिनअघि काठमाडौं उपत्यकामा बेला-बेला बत्ती जाने समस्या हुँदा नै शाक्यमाथि दबाब बढिसकेको थियो । प्रधानमन्त्री स्वयंले चासो राखेका थिए । यद्यपि त्यो लोडसेडिङ नभएर प्राविधिक समस्याका कारण उत्पन्न भएकाले तत्कालै हल भयो । अबको चार वर्ष शाक्य हरेक क्षण नागरिक निगरानीमा हुनेछन् ।

    विद्युत प्राधिकरणमा कुलमानले पनि संस्थाभित्रबाट पूरा सहयोग नपाएकै हुन् । गुटबन्दीको परिणाम थियो त्यो । शाक्यले पनि कुलमानकै अवस्था भोग्नु नपर्ला भन्न सकिन्न । मुलुकलाई लोडसेडिङको अन्धकारमा राख्ने गिरोह पनि प्राधिकरणभित्रै थियो र अहिले पनि त्यो सुषुप्त अवस्थामा मौका पर्खेर बसेको छ । शाक्यले त्यो गिरोहलाई क्रस गर्न सकेनन् भने उनको असफलतासँगै सरकार बदनाम हुने बाटो पनि त्यहींबाट शुरू हुनेछ ।

    को हुन् शाक्य ?

    प्राधिकरणका वरिष्ठतम तहमा काम गरेका शाक्य निमित्त प्रबन्ध निर्देशक बन्नुअघि प्राधिकरणको अर्को सहायक कम्पनी विद्युत् प्राधिकरण इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालक थिए । उनलाई कुलमानले नै सो पदमा पठाएका थिए ।

    यो कम्पनीले मूलतः विद्युत् प्राधिकरणको लागि आवश्यक अध्ययन, अनुसन्धान र परामर्शको काम गर्छ । विदेशी परामर्शदाताहरुको नाममा ठूलो रकम बाहिरिएकाले प्राधिकरणले आफ्ना अब्बल इन्जिनियरसहित प्राविधिक कर्मचारीलाई राखेर यो कम्पनी स्थापना गरेको हो ।

    उनी प्राधिकरणको वरिष्ठ उपकार्यकारी निर्देशक भएका बेला सो कम्पनीको जिम्मेवारी पाएका थिए । कुलमानको अवकाशसँगै शुरूमा तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले प्रशासनतर्फका लेखनाथ कोइरालालाई निमित्त प्रबन्ध निर्देशकको जिम्मा दिए पनि मन्त्रिपरिषद बैठकले वरिष्ठताका आधारमा शाक्यलाई निमित्त दिएको थियो ।

    कतिपयले कुलमानले निरन्तरता नपाएको विरोधस्वरूप प्रधानमन्त्री केपी ओलीले आफ्नो सालो हितेन्द्र शाक्यलाई निमित्तको जिम्मेवारी दिएको भनेर सामाजिक संजालमा चर्चा समेत चलाएका थिए । यद्यपि हितेन्द्रलाई ओलीको सालो भन्नु र काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई सालो भन्नु उस्तै नै हो ।

    ओलीको ससुराली पाटन हो र उनको सालो ज्ञानेन्द्र शाक्य हुन् जो पहिले ललितपुर महानगरपालिकाको वडाध्यक्ष थिए भने अहिले प्रदेशसभा सदस्य छन् । हितेन्द्रदेव शाक्य भने झलनाथ खनालको गृहजिल्ला इलामका बासिन्दा हुन् ।

    शाक्य विद्युत प्रसारण लाइनका विशेषज्ञ मानिन्छन् । त्यसैले उनलाई केही समय एमसीसीमा पनि काम गर्न खटाइएको थियो । एमसीसीले विद्युत प्रसारण लाइनमै सहयोग गर्ने भएकाले विज्ञताका आधारमा उनलाई सो जिम्मेवारी दिइएको थियो । प्राधिकरणका एक इन्जिनियरका अनुसार शाक्यले नेपालको प्रसारण प्रणालीबारे अध्ययन गरेका छ्न् ।

    उनले प्रधानमन्त्री र ऊर्जामन्त्रीसँग भेटेर देशका ७५३ वटै स्थानीय तहमा विद्युत् आपूर्ति र प्रसारण लाइन विस्तारबारे प्रस्तुतिसमेत दिएका थिए । सरकारले प्रसारण लाइनमा विज्ञ भएका कारण पनि शाक्यलाई प्राधिकरणको नेतृत्व सुम्पिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनकै पालामा शाक्य नियुक्त हुने तयारी रहे पनि त्यहीबेला प्रतिनिधिसभा भंग भएकाले यो नियुक्तिमा ढिलाइ भएको हो ।

    शाक्य र कुलमान मिल्ने साथी भएकाले पनि उनले प्राधिकरणलाई सहजरूपमा अघि बढाउने विश्वास उनी निकटहरूको छ । उनलाई प्राधिकरणको भित्री अवस्थाको बारेमा पनि जानकारी रहेको र कुलमानको पालामा के-के भए भन्ने पनि थाहा भएकाले सहज रूपमा प्राधिकरणलाई हाँक्ने विश्वास उर्जा मन्त्रालयको नेतृत्वले व्यक्त गरेको छ । उनी व्यवस्थापनको पनि विद्यार्थी भएकाले प्राविधिक र व्यवस्थापकीय क्षमता देखाउने अवसर छ ।

    शाक्य र कुलमान मिलेर काम गरेका थिए भन्ने दृष्टान्त चाहिं उनी निमित्त कार्यकारी निर्देशक बन्नुअघिको राष्‍ट्रिय समाचार समिति (रासस) को अन्तर्वार्ता पनि हो । त्यस अन्तर्वार्तामा उनले कुलमानलाई निरन्तरता दिए ठिकै छ, हामी मिलेर काम गर्छौं तर बाहिरबाट मान्छे ल्याउने हो भने आफ्नो दाबी रहने बताएका थिए । सरकारले बाहिरबाट मान्छे ल्याउन चाहेन, कुलमानकै सिनियर साथीलाई जिम्मा दियो ।

    शाक्यको लागि कुलमानको विरासत थाम्नु र पछिल्लो चार वर्षमा नाफामा गएको संस्थाको अझ प्रगति गर्नु मुख्य चुनौती हो । प्रसारण लाइनका विज्ञ भएकाले अब थपिने विद्युतको व्यवस्थापन पनि उनको अगाडि चुनौतीका रूपमा उभिएको छ ।

  • लोडसेडिङ हाम्रो इतिहास बनिसक्यो : प्राधिकरण

    लोडसेडिङ हाम्रो इतिहास बनिसक्यो : प्राधिकरण

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालगायत देशका कुनै पनि स्थानमा घोषित वा अघोषितरूपमा विद्युत कटौती नभएको पुनः दोहोर्‍याएको छ ।

    प्राधिकरणले प्राविधिक समस्याका कारण एकाध मिनेट वा केही घण्टा कहीँकतै बिजुली काटिएको भए पनि त्यसलाई लोडसेडिङको रूपमा नबुझ्नन पुनः आग्रह गरेको हो ।

    प्राधिकरणले विगतमा जस्तै उपभोक्ताबाट सक्रियरूपमा साथ र सहयोग प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेको छ । केही समयदेखि अघोषितरूपमा बिजुली काटिन थालेपछि प्राधिकरणले पटक–पटक उपभोक्तालाई सही र तथ्यपूर्ण जानकारी दिने प्रयाससमेत गरेको जनाएको छ ।

    उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सबस्टेशन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत् छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको समेत प्राधिकरणले दाबी गरेको छ ।
    जाडोको समयमा बढी विद्युत् माग हुँदा त्यसबाट पर्ने प्रभावलाई कम गर्नसमेत वितरण प्रणालीमा सुधार तथा अन्य सबै प्रकारका उपायको अवलम्बन गरेको दाबी गर्दै प्राधिकरणले कुनै पनि स्थानमा समस्या देखिएको खण्डमा त्यसलाई निराकरणका लागि आम उपभोक्ताको सक्रिय साथ तथा सहयोगको अपेक्षा गरेको छ ।

    प्राधिकरणको तथ्याङ्कअनुसार विद्युत्को माग सबैभन्दा बढी हुने काठमाडौँ उपत्यकामा यस वर्षको मङ्सिरमा ३४७ पल्ट ट्रिपिङ भएको जनाएको छ । काठमाडौँ उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेशनमा ट्रिपिङ हुँदा कूल २२ घण्टा विद्युत् अवरोध भएको जानकारीसमेत दिएको छ । गत वर्षको मङ्सिरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको प्राधिरकणको विवरणमा उल्लेख छ ।

    प्रणालीमा मागअनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले घोषित÷अघोषितरूपमा विद्युत् कटौती (लोडसेडिङ) नगरिएको प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

    उनले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नुपर्र्नेलगायतका प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भएको हुनसक्ने बताए ।

    “केही स्थानमा सडक निर्माण एवं मर्मतका कारण पनि बिजुली प्रवाहमा अवरोध आएको छ भने केही स्थानमा वितरण प्रणालीको सुधार तथा अन्य कारणले पनि जटिला पैदा भएको छ । त्यसको निरुपणका लागि हामी प्रयत्नशील रहँदै आएका छौँ”, उनले भने ।

    “अहिलेसम्मको तथ्याङ्क हेर्दा गत वर्षको पुसमा भन्दा यस वर्ष ट्रिपिङ कम भएको देखिन्छ, विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिन्छ”, उनले प्राविधिक समस्याका बारेमा जानकारी दिँदै भने, “हामी उपभोक्तालाई गुनासोरहित सेवाप्रवाहमा अहोरात्र खटिरहेका छौँ ।” प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प बत्ती जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्‍यो भन्ने बुझेर डराउनुपर्ने जरुरी नभएको उनको भनाइ छ ।
    “प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ”, कामु कार्यकारी निर्देशक शाक्यले भने । उनले ट्रिपिङ बढी हुने सबस्टेशनको पहिचान गरी सुधार गर्न, त्यहाँको लोड अन्त सार्नेलगायतका काम निरन्तर भइरहेको जानकारी दिए ।

    स्थानीयरूपमा माग धान्न नसक्ने अवस्थामा (ओभरलोड) रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायतका काम गर्दै विद्युत् आपूर्तिमा सुधार गर्न अहोरात्र काम भइरहेको शाक्यले बताउनुभयो । सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युत्का पोल सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालकिो मर्मतसम्भारलगायतका काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम पनि घटेको छ । गत वर्षको मङ्सिरमा यी काम गर्न ४९१ पटक विद्युत आपूर्ति बन्द (सटडाउन) गरिएकामा यस वर्ष ३६२ पटक मात्रै गरिएको छ ।

    विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युत्को मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार काम भइरहेको छ । मर्मतसम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिटो विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील छ ।

    उनले सामाजिक सञ्जाल तथा गलत मनसाय राखेर गरिने प्रचारको पछाडि नलाग्नसमेत उपभोक्तालाई आग्रह गरे । प्राधिकरणले विगतदेखि नै उपभोक्ताको हितलाई केन्द्रमा राखेर काम गरेका कारण काम गर्दै जाँदा देखिने सानातिना समस्यालाई क्रमशः समाधान गर्दै जाने विश्वाससमेत व्यक्त गरे ।