Tag: नेपाल-भारत मैत्रीपूर्ण खेल

  • नेपाल भर्सेस भारतः पहिलो हाफ गोलरहित बराबरी

    नेपाल भर्सेस भारतः पहिलो हाफ गोलरहित बराबरी

    काठमाडौं । नेपाल र भारतबीच जारी दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवैतर्फबाट गोलका लागि निरन्तर प्रयास भए पनि क्लिनिकल फिनिसिङ नहुँदा डेडलक कसैले तोड्न सकेनन् ।

    तेज तामाङले १३औं मिनेटमा दिएको पासमा मनिष डाँगीले सुन्दर अवसरको पनि फाइदा उठाउन सकेनन् ।

    भारतीय गोलकिपर अमरिन्दरसिंह आउट अफ पोजिसन हुँदा पनि बलमाथिको नियन्त्रण गुमाउँदा मनिष ६ यार्ड बक्सको घेराबाट गोल गर्न असफल रहे ।

    शुरूआतमा भारतमाथि निरन्तर आक्रमण गरेको नेपालका लागि २२औं मिनेटमा पुजन उपरकोटीले पेनाल्टी एरियाबाहिरबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

    २४औं मिनेटमा मैदानको बायाँतर्फबाट बिपिन सिंहले गरेको क्रसलाई ६ यार्ड बक्स नजिक रहेका अनिरुध थापाले बल नियन्त्रणमा लिन नसक्दा नेपाली गोलरक्षक किरणले क्लियर गरेका थिए ।

    नेपालका युवा खेलाडी आयुष घलानले २८औं मिनेटमा अट्याकिङ हाफको दायाँतर्फबाट गरेको सुन्दर क्रसमा आशिष लामाको हेडर प्रयास असफल भएको थियो ।

    त्यसको दुई मिनेट नबित्दै भारतका अनिरुध थापाले पेनाल्टी एरियाभित्रबाट गरेको क्रसमा पुजनले ६ यार्ड बक्स नजिक महत्त्वपूर्ण इन्टरसेप्सन गर्दे नेपालको रक्षापंक्तिमा कुनै खतरा हुन दिएनन् ।

    पहिलो हाफमा नेपालविरुद्ध छिटो-छिटो बल गुमाएको भारतले पोसेसन होल्ड गरेर बिल्ड गर्ने कोसिस गरेको थियो । तर, नेपालको इन्टरसेप्सन र सोलिड डिफेन्स छिचोल्न नसक्दा गोल गर्ने क्लियर मौका सिर्जना गर्न सकेन

    नेपाली रक्षापंक्तिका लागि निरन्तर खतरा बनिरहेका अनिरुध थापाले ४१औं मिनेटमा प्रहार गरेको कर्नरमा चिङलेन सनाले प्रहार गरेको हेडर क्रसबार माथिबाट बाहिरिएको थियो ।

  • नेपाल-भारत फुटबल जारी, मनिषले स्वर्णिम अवसर गुमाए (तस्बिरहरू)

    नेपाल-भारत फुटबल जारी, मनिषले स्वर्णिम अवसर गुमाए (तस्बिरहरू)

    काठमाडौं । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण म्याच दशरथ रंगशालामा जारी छ । शुरूआती २० मिनेटमा दुवै पक्ष गोलका लागि प्रयासरत छन् ।

    अघिल्लो म्याच १-१ को बराबरी खेलेका दुवै टिम दोस्रो म्याचमा जित चाहन्छन् । खेलको पूर्वार्द्धमा नेपालले अग्रता लिने एउटा स्वर्णिम अवसर भने गुमाएको छ । बललाई सही तरिकाले नियन्त्रणमा लिन नसक्दा नेपालका स्ट्राइकर मनिष डाँगी खाली पोष्टमा गोल गर्न चुके । नेपालले सिर्जना गरेका अन्य अवसरमा पनि फिनिसिङ कमजोर देखिएको छ ।

    भारतले पनि नेपालको पोष्टमा एकपछि अर्को प्रयास गरिरहेको छ । नेपाली डिफेन्सले अहिलेसम्म भारतलाई खतरनाक आक्रमणको मौका भने दिएको छैन । नेपालका गाेलकिपर किरणकुमार लिम्बुले केही सुन्दर बचाउ गरेका छन् ।



     
  • नेपाल-भारतको खेल हेर्न रंगशाला पुगे पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री खाण

    नेपाल-भारतको खेल हेर्न रंगशाला पुगे पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री खाण

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीच आजको दोस्रो मैत्रिपूर्ण खेल हेर्न पुगेका छन् । खेल शुरू हुनुअघि उनी आफ्नो दलबलसहित दशरथ रंगशाला पुगेका हुन् ।

    यसैगरी, गृहमन्त्री बालकृष्ण खाण पनि आजको खेल हेर्न रंगशाला पुगेका छन् । दोस्रो मैत्रीपूर्ण म्याच शुरू हुन लागेको छ । पहिलो म्याचमा दुवै देशले बराबरी खेलेका थिए ।

  • नेपाल-भारत दोस्रो खेलअघि ‘वार्मअप’ मा खेलाडी (तस्बिरहरू)

    नेपाल-भारत दोस्रो खेलअघि ‘वार्मअप’ मा खेलाडी (तस्बिरहरू)

    काठमाडौं । भारतविरुद्ध केही बेरमा नेपालको दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ ।

    साढे ५ बजेबाट खेल शुरू हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलअघि अहिले दुवै टिम वार्मअपमा छन् ।

    साफ च्याम्पियनसिपको तयारीस्वरूप नेपाल-भारतको दुई मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । पहिलो खेल बिहीबार १-१ गोलको बराबरीमा सकिएको थियो । अञ्जन विष्टले ३६औं मिनेटमा गरेको गोलसँगै घरेलु टोलीले अग्रता लिएको थियो ।

    तर, दोस्रो हाफमा नेपालमाथि हावी बनेको भारतका लागि सब्स्टिच्युट खेलाडी अनिरुध थापाले ६०औं मिनेटमा गरेको गोलसँगै स्कोरलाइन बराबरीमा आएको थियो । बाँकी समयमा दुवैतर्फबाट गोल हुन नसक्दा पहिलो मैत्रीपूर्ण बराबरीमा टुंगिएको थियो ।

    दोस्रो खेलको शुरूआती ११ मा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तीन खेलाडी परिवर्तन गरेका छन् । बिहीबारको टोलीबाट अब्दुल्लाले सुमन अर्याल, नवयुग श्रेष्ठ र अञ्जन विष्टको स्थानमा मनिष डाँगी, आशिष लामा र सुजल श्रेष्ठलाई शुरूआती-११ मा समावेश गरेका छन् ।

    यस्तै भारतीय टोलीमा सात खेलाडी परिवर्तन भएको छ । मुख्य प्रशिक्षक इगोर स्टिम्याकले दोस्रो रोजाइका गोलकिपर अमरिन्दर सिंह, प्रितम कोटल, सेरिटोन फर्नान्डेज, अनिरुध थापा, बिपिन सिंह, रहिम अली र ललेङ्मावियालाई मैदानमा उतारेका छन् ।

  • नेपाल भर्सेस भारतः शुरूआती ११ मा तीन खेलाडी परिवर्तन, अञ्जन विष्ट बेन्चमा

    नेपाल भर्सेस भारतः शुरूआती ११ मा तीन खेलाडी परिवर्तन, अञ्जन विष्ट बेन्चमा

    काठमाडौं । भारतविरुद्ध केही बेरमा शुरू हुने दोस्रो मैत्रीपूर्ण खेलको शुरूआती ११ मा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तीन खेलाडी परिवर्तन गरेका छन् । बिहीबारको टोलीबाट अब्दुल्लाले सुमन अर्याल, नवयुग श्रेष्ठ र अञ्जन विष्टको स्थानमा मनिष डाँगी, आशिष लामा र सुजल श्रेष्ठलाई शुरूआती-११ मा समावेश गरेका छन् ।

    साफ च्याम्पियनसिपको तयारी स्वरूप आयोजित दुई मैत्रीपूर्ण खेलको पहिलो खेल बिहीबार १-१ गोलको बराबरीमा सकिएको थियो । अञ्जन विष्टले ३६औं मिनेटमा गरेको गोलसँगै घरेलु टोलीले अग्रता लिएको थियो ।

    तर, दोस्रो हाफमा नेपालमाथि हावी बनेको भारतका लागि सब्स्टिच्युट खेलाडी अनिरुध थापाले ६०औं मिनेटमा गरेको गोलसँगै स्कोरलाइन बराबरीमा आएको थियो ।

    बाँकी समयमा दुवैतर्फबाट गोल हुन नसक्दा पहिलो मैत्रीपूर्ण बराबरीमा टुंगिएको थियो । नेपाली समयअनुसार ५ः३० बजे दशरथ रंगशालामा हुने यो खेल दुई मैत्रीपूर्णमध्ये दोस्रो हो ।

    यस्तै भारतीय टोलीमा सात खेलाडी परिवर्तन भएको छ । मुख्य प्रशिक्षक इगोर स्टिम्याकले दोस्रो रोजाइका गोलकिपर अमरिन्दर सिंह, प्रितम कोटल, सेरिटोन फर्नान्डेज, अनिरुध थापा, बिपिन सिंह, रहिम अली र ललेङ्मावियालाई मैदानमा उतारेका छन् ।

    यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा अनिरुध थापाले ४६औं मिनेटमा मैदानमा प्रवेश गरेर भारतका लागि बराबरी गोलसमेत फर्काएका थिए ।

    नेपाली टोली :

    किरण चेम्जोङ (कप्तान), सुजल श्रेष्ठ, दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, पुजन उपरकोटी, आयुष घलान, मनिष डाँगी, तेज तामाङ, सुमन लामा र आशिष लामा ।

    भारतीय टोली :

    अमरिन्दर सिंह (गोलकिपर), प्रितम कोटल, सेरिटोन फर्नान्डेज, चिङलेनसना सिंह, सुवाषिस घोस, अनिरुध थापा, ललेङ्माविया, बिपिन सिंह, रहिम अल, मनविर सिंह र सुनिल क्षेत्री ।

  • रंगशालामा फुटबलप्रेमीको चहलपहल (तस्बिरहरू)

    रंगशालामा फुटबलप्रेमीको चहलपहल (तस्बिरहरू)

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले करिब ६ वर्षपछि भारतविरुद्ध दशरथ रंगशालामा आज मैत्रीपूर्ण खेल खेल्दैछ । र, स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पालाना गर्दै ५ हजार १ सय दर्शकलाई रंगशालामा अनुमति दिएको छ ।

    यद्यपि, कोरोना भाइरस परीक्षणको नेगेटिभ रिपोर्ट वा डबल डोज भ्याक्सिनेटेड सर्टिफिकेट अनिवार्य गरिएको छ । त्यति हुँदा हुँदै पनि त्रिपुरेश्वरमा दर्शक तथा फुटबलप्रेमीको चहलपहल बढेको छ ।

    नेपाल र भारतबीचको प्रतिद्वन्द्वीताका कारण पनि कोरोना भाइरसको महामारीकै माझमै पनि दर्शकको चहल पहल देखिएको छ । नेपालले पछिल्लोपटक सन् २०१७ मा मुम्बईमा भारतविरुद्ध खेलेको थियो ।

    अक्टोबरमा माल्दिभ्समा हुने साफ च्याम्प्यिनसिपको तयारीमा रहेका दुवै टोली आजको खेलमा जितका लागि खेल्ने छन् ।

     

    तस्बिरहरू : उमेश कार्की । 

  • वरीयतामा उक्लिने भारतको धोको, नेपाल गोलको भोको

    वरीयतामा उक्लिने भारतको धोको, नेपाल गोलको भोको

    काठमाडौं । भारतविरुद्धको फुटबल भन्नासाथै नेपाली फुटबल समर्थकका मुख रसाइहाल्छन् । नेपाली टिम र खेलाडीहरूले पनि सबैभन्दा बढी दबाब भारतविरुद्ध खेल्दा नै महसुस गर्छन् । त्यसैले यी दुई टिमको म्याच, चाहे मैत्रीपूर्ण नै किन नहोस्, दर्शकका लागि प्रतिक्षित नै हुन्छ ।

    करिब चार वर्षपछि भारतसँग नेपालले भोलि मैत्रीपूर्ण खेल खेल्दैछ । सन् २०१७ जुन ६ मा मुम्बई फुटबल एरिनामा भारतसँग २-० गोल अन्तरले पराजित भएको नेपाल भोलिको खेलमा घरेलु समर्थकसामु जितको खोजीमा हुनेछ ।

    फिफा वरीयतामै आफूभन्दा ६३ स्थान माथि रहेको टोली त्यसमाथि पनि कमजोर इतिहासविरुद्ध नेपालका लागि जित भने छैन । फिफा डेटमा हुने भएकाले यी दुई खेलको नतिजाले वरीयतामा प्रत्यक्ष प्रभाव पर्नेछ । त्यसलाई ध्यानमा राखेर मैत्रीपूर्ण खेल भए पनि भारत जितका लागि कुनै कसर बाँकी छाड्ने पक्षमा छैन ।

    भारतले नेपालविरुद्धको खेलका लागि शुरूआती चरणमा कप्तान सुनिल क्षेत्रीलाई टोलीमा राखेको थिएन । तर, अन्तिम समयमा सर्वाधिक गोलकर्ता समेत रहेका कप्तान सुनिललाई समेटेर टोली पठाउनुले त्यसलाई पुष्टि गर्छ । नेपाली टिमका लागि सबैभन्दा ठूलो चुनौती पनि उनी नै हुन् ।

    नेपालले सन् २०१५ मा भारतविरुद्ध अन्तिम गोल गरेको थियो । लामो समयको गोल खडेरी चिर्दै नेपाली युवा स्टार विमल घर्ती मगरले नेपालका लागि गोल गरेका थिए । भलै नेपाल त्यो खेलमा ४-१ गोलको नतिजामा पराजित भएको थियो । ‘एसीएल टिएर’ बाट पीडित विमल अहिले उपचारका लागि कतारमा छन् ।

    आसन्न एसियन कपको ‘ड्र’सार्वजनिक हुनुअघि भारत प्यालेस्टाइनलाई पछाडि पार्न चाहन्छ । यदि, अहिले एसियन टोलीको वरीयतामा आफूभन्दा एक स्थान माथि रहेको प्यालेस्टाइनलाई पछाडि पार्नसके भारत पोट-१ मा पर्नेछ । जसको फलस्वरूप भारत एसियाका उत्कृष्ट टोलीसँग खेल्नबाट पन्छिन सक्छ ।

    त्यसैले भारतले नेपालविरुद्ध जितका लागि हरसम्भव प्रयास गर्ने निश्चित छ । बुधबार भएको प्रि-म्याच प्रेस कन्फरेन्समा भारतीय टोलीका कप्तान क्षेत्रीले नेपालविरुद्धको खेल कठिन र महत्त्वपूर्ण रहेको बताएका थिए ।

    ‘नेपाल जुनसुकै लयमा भए पनि भारतलाई सधैँ कठिन हुन्छ,’ उनले भने, ‘भोलिको खेलमा पनि हामीले नेपाललाई कमजोर आँकेका छैनौं ।’

    अन्तिम खेलमा गोल गर्ने दुवै खेलाडीबिना भारत

    अन्तिमपटक २०१७ मा मुम्बई एरिनामा भएको खेलमा नेपालविरुद्ध गोल गरेका दुवै खेलाडीबिना भारतीय टोली उत्रिने छ । त्यो खेलमा डिफेन्डर सन्देश झिङ्गन र जेजे लालपेख्लुवाले एक/एक गोल गरेका थिए । जेजे पछिल्लो समय भारतीय टोलीमा छैनन् भने सन्देश युरोपेली फुटबलका लागि क्रोएसिया पुगेका छन् ।

    चार वर्षअघिको त्यो खेलमा नेपालले भारतलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको थियो । तर, सन्देशले ६०औं र जेजेले ७८औं मिनेटमा गोल गरेका थिए । सोही खेलमा विराज महर्जनले ६८औं मिनेटमा रातो कार्ड पाउँदा नेपालले १० जनामा खेल सकाएको थियो ।

    भारतविरुद्ध अन्तिम गोल गरेका विमलबिना नेपाल

    नेपालले सन् २०१५ मा भारतविरुद्ध अन्तिम गोल गरेको थियो । लामो समयको गोल खडेरी चिर्दै नेपाली युवा स्टार विमल घर्ती मगरले नेपालका लागि गोल गरेका थिए । भलै नेपाल त्यो खेलमा ४-१ गोलको नतिजामा पराजित भएको थियो । ‘एसीएल टिएर’ बाट पीडित विमल अहिले उपचारका लागि कतारमा छन् ।

    र, नेपाल भोलि भारतविरुद्ध मैदानमा उत्रिँदा भारतविरुद्ध गोल गरेका विमल टोलीमा हुने छैनन् ।भारतविरुद्धका पछिल्ला पाँच भेटमा नेपालले गरेको त्यो एक मात्र गोल हो । ती पाँच खेलमा भारतले भने नेपालविरुद्ध ९ गोल गरिसकेको छ ।

    नेपाल र भारतबीच भोलिको खेल साँझ ५:३० बजे दशरथ रंगशालामा शुरू हुनेछ । उक्त म्याचमा कोरोनाविरुद्धका सुरक्षा मापदण्डसहित दर्शकलाई प्रवेश दिइने भनिएको छ । घरेलु दर्शकबीचको खेल्दा नेपाली टिमलाई अतिरिक्त ऊर्जा प्राप्त हुने विश्वास लिन सकिन्छ ।

    नेपाली टोलीः

    किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ, विकेश कुथु, आशिष लामा, अनन्त तामाङ, अञ्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, राजन गुरूङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, तेज तामाङ

    भारतीय टोलीः

    सुनिल क्षेत्री (कप्तान), अमरिन्द्र सिंह, धिरज सिंह मोराङ्थेम, गुरप्रित सिंह सन्धु, प्रितम कोटल, चिङ्लेनसाना सिंह कोन्साम, मन्दर राओ देसाइ, आकाश मिश्रा, राहुल भेके, सुभासिस बोस, सेरिटोन फर्नान्डेज, ललेङ्गमाविया, विपिन सिंह, अनिरुध थापा, साहल अब्दुल समाद, ब्राडोन फर्नान्डेज, लिस्टोन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह वाङजाम, जेकसन सिंह, प्रोनाए हेल्डर

  • प्रशिक्षक अब्दुल्लाह बुबाजस्तै लाग्छ: कप्तान किरण (भिडियो)

    प्रशिक्षक अब्दुल्लाह बुबाजस्तै लाग्छ: कप्तान किरण (भिडियो)

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीलाई प्रशिक्षकमात्रै नभएर बाबुजस्तो व्यवहार गर्ने बताएका छन् ।

    ‘अब्दुल्लाहसँग प्रशिक्षण गरेको ५-६ महिना भयो । अब्दुल्लासँग ट्रेनिङ गरेको । मलाई लाग्छ सबैजना राम्रो ‘सेप’मा छौं । हामी हाइली मोटिभेटेड छौं । कन्फिडेन्ट पनि बढेको छ,’ किरणले भने ‘१३ वर्षको अनुभवमा अब्दुल्लाह कोचमात्रै नभएर बुबाजस्तो ‘ट्रिट’ गर्नुहुन्छ ।’

    भोलिको खेलसँगै किरण चेम्जोङ नेपाली टोलीबाट सर्वाधिक क्याप जित्ने सूचीमा पूर्वकप्तान विराज महर्जनसँग बराबरी गर्नेछन् ।

    ‘राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेर त्यहाँसम्म पुग्नु गर्वको कुरा हो,’ उनले भने, ‘मैले १८ वर्षमा डेब्यू गर्दा म घाइते भएको थिएँ । मलाई करियर सकिए जस्तो लागेको थियो । तर, मैले फाइट गरेँ ।’

    ‘भोलिको खेलमा हाइएस्ट क्याप्ड खेलाडीको कीर्तिमान बन्ने छ,’ उनले भने, ‘कीर्तिमान बनिँदै जान्छ । इतिहास लेखिँदै जान्छ । भोलिको खेल हाम्रो लागि महत्त्वपूर्ण छ । र, म त्यसमा फोकस्ड छु ।’

     

  • पानी परेन भने नेपालविरुद्ध राम्रो फुटबल खेल्छौंः भारतीय प्रशिक्षक इगोर

    पानी परेन भने नेपालविरुद्ध राम्रो फुटबल खेल्छौंः भारतीय प्रशिक्षक इगोर

    काठमाडौं । भारतीय राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक इगोर स्टामिकले नेपालविरुद्धका मैत्रीपूणै खेलमा राम्रो फुटबल खेल्ने बताएका छन् ।

    नेपालले सन् २०१५ पछि पहिलो पटक भारतसँग बिहीबार र आइतबार दशरथ रंगशालामा फुटबल खेल्दै छ । बिहीबार साँझ ५ः ३० बजे नेपाल र भारत ६ वर्षपछि भिड्दै छन् । सन् २०१९ देखि भारतीय टोलीका नेतृत्व गरेका स्टामिकले पहिलो पटक नेपाली टोलीविरुद्ध भारतको टच लाइनमा हुनेछन् ।

    र, भोलिको खेलमा मौसमले साथ दियो र पानी परेन भने राम्रो फुटबलका लागि कोशिस गर्ने उनले बताए । दुवै टोली साफ च्याम्पियनसिपको तयारी गरिरहेकाले मैत्रीपूर्ण खेल फाइदाजनक हुने बताए ।

    ‘पानी परेन भने राम्रो फुटबल खेल्ने प्रयास गर्नेछौं । हामी आफ्नो उत्कृष्ट दिनेछौं । साफ अगाडि यो खेल खेल्न पाउनु राम्रो कुरा हो,’ बुधबार प्रि–म्याच प्रेस कन्फरेन्समा प्रशिक्षक क्रोएसियन प्रशिक्षकले भने, ‘नेपालले पछिल्लो समय राम्रो ‘प्रोग्रेस’ गरेको छ । राम्रो फुटबल खेल्न सक्छ भन्ने देखाएको छ ।’

    आफ्ना समकक्षी अब्दुल्लाह अल्मुताइरीले युवा खेलाडीलाई टोलीमा मौका दिएर राम्रो कार्य गरेको बताए ।

    यस्तै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालसँग खेल्नु सधैँ कठिन हुने बताए ।

    ‘जहिल्यै पनि नेपालविरुद्ध कठिन हुन्छ । नेपाली टोली जस्तो परिस्थितिमा पनि हामीलाई कठिन हुन्छ,’ सुनिलले भने, ‘युवा खेलाडीसँग मैले धेरै खेलेको छैन ।

    ‘हामीले नेपालविरुद्ध सन् २०१५ मा अन्तिम पटक खेलेका थियौं,’ उनले भने, ‘त्यो बेला हामीलाई कठिन भएको थियो । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएका थियौं,’ उनले भने, ‘नेपालविरद्ध गोल गर्न पनि भारतलाई सधैँ कठिन हुने गरेको छ । नेपाल जुन फर्ममा भए पनि हामीलाई खेल्न गाह्रो हुन्छ । त्यही कुरा हामीले प्रशिक्षकलाई पनि भनेका छौं ।’

    नेपालसँग पारिवारिक सम्बन्ध भएका सुनिलले नेपालप्रति आफ्नो हृदयमा ‘सफ्ट कर्नर’ रहेको बताए । पत्रकारहरूसँग नेपालीमै कुरा गर्दै उनले भने, ‘माफ गर्नुस्, राम्ररी नेपाली बोल्न आउँदैन बुझ्न चाहिँ बुझ्छु । मामाहरु यहीँ बस्नु हुन्छ । अहिले पनि धेरै रिलेटिभहरू काठमाडौैं, झापा पोखरामा हुनुहुन्छ । खेल सकिएपछि म भेट्ने कोसिस गर्छु ।’

  • नेपाल-भारत मैत्रीपूर्ण खेलमा दर्शकलाई अनुमति, कोरोना भ्याक्सिन वा पीसीआर रिपोर्ट अनिवार्य

    नेपाल-भारत मैत्रीपूर्ण खेलमा दर्शकलाई अनुमति, कोरोना भ्याक्सिन वा पीसीआर रिपोर्ट अनिवार्य

    काठमाडौं । भोलि (बिहीबार) र आइतबार दशरथ रंगशालामा हुने नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलका लागि सीमित दर्शकका लागि अनुमति दिइने भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बुधबार पत्रकार सम्मेलनमार्फत सरकारले सीमित दर्शक प्रवेशको अनुमति दिएको जानकारी दिए ।

    दर्शकका लागि ५ हजार १ सय टिकट बिक्री हुने र स्वास्थ्य मन्त्रायलले जारी गरेको मापदण्ड पालाना गर्नुुपर्ने एन्फा अध्यक्ष शेर्पाले बताए ।

    प्रवेशका लागि पीसीआर परीक्षण नेगेटिभको रिपोर्ट वा पूर्णरूपमा भ्याक्सिन लगाएको हुनु पर्नेछ ।